किन हुन्छ पुरुष र महिलामा बाँझोपन ? यसरी सम्भव हुन्छ उपचार
काठमाडौं । प्रत्येक ६ जोडीमध्ये १ जनामा बाँझोपनको समस्या हुने गर्दछ । कुनै पनि जोडीको एक वर्षसम्म गर्भधारण गर्ने प्रयास विफल हुन्छ भने उनीहरु एक वा दुवैमा बाँझोपना भएको बुझिन्छ । बाँझोपन भन्ने बित्तिकै मानिसहरुले सामान्य रुपमा महिलालाई हुने समस्याको रुपमा बुझ्छन् । तर, बाँझोपनको समस्या महिलालाई मात्र हुँदैन । महिला र पुरुष दुबै बाँझोपनको समान रुपमा सिकार हुन्छन् । सय जना दम्पतीमा चाहेको बेला १५ जनामा गर्भ नबस्ने समस्या हुन्छ । चाहेको बेला भन्नाले १ वर्षसम्म परिवार नियोजनको कुनै पनि साधन प्रयोग नगरी यौन सम्बन्ध राख्दा पनि गर्भ नबस्नु हो । यसलाई निःसन्तानपन भनिन्छ । यो दुई प्रकारको हुन्छ । एउटा रहेको छ प्राइमरी इनफर्टिलिटी जो कहिले पनि बच्चा नपाएकालाई भनिन्छ । दोस्रो, सेकेण्डरी इनफर्टिलिटी जो एक पटक बच्चा भइसकेर पनि दोस्रो पटक बच्चा हुँदैन । साधरणतय महिलाको कारणले गर्भ नबस्ने समस्या ४० प्रतिशत जति हुन्छ भने पुरुषको कारणले ३० प्रतिशत जति हुन्छ । र, दुवै जनाको कारण वा बिनाकारण बच्चा नबस्ने समस्या ३० प्रतिशत हुन्छ । पुरुषलाई किन हुन्छ बाँझोपन ? गर्भ बस्नलाई लाखौं सुक्रकिट बन्नु पर्छ । त्यसैले सुक्रकिट धेरै नबन्नु पुरुषमा बाँझोपन हुनुको एक कारण हो । राम्रोसँग विकास नभएको टेसटिसका कारण पनि पुरुषमा बाँझोपनको समस्या हुन्छ । टेसटिसहरु पेटमा विकास हुन्छ । पुरुष बच्चा जन्मँदा नौं महिना पुगेर जन्मेपछि टेसटिस अण्डकोषमा आएर बाहिर निस्केर बस्छ । कतिको भित्रै अड्केर बसेको पनि हुन्छ । त्यस्तो अवस्थामा पनि सुक्रकिट बन्दैन र बाँझोपन हुने गर्दछ । टेस्टिस (अण्डकोष) को वरिपरि भेरिकोसिल (रगतको नशाहरु फुल्ने समस्या) को कारण पनि शुक्रकिट नबन्ने हुन्छ । शुक्रकिट बन्ने तापक्रम भनेको ३३–३४ डिग्रि सेन्टीगे्रड हो । शरीरको तापक्रम ३७ डिग्रि सेन्टीगे्रड हुन्छ । यसै कारण टेसटिस शरीरभन्दा केही टाढा रहेको हुन्छ । जसले गर्दा तापक्रम नियन्त्रण भएर शुक्रकिट बन्छ । तर, केही मानिसहरु एकदमै तापक्रम भएको ठाउँमा काम गर्छन्, एकदमै टाईट लुगा लगाउँछन्, तातो पानीमा धेरै नुहाउँछन् भने उनीहरुमा पनि शुक्रकिटको संख्या कम हुन्छ । अर्काे कारण भनेको संक्रमणले हो । सिफिलिस, गोनोरिया जस्ता यौन रोगले शुक्रकिट आउने बाटो बन्द गरिदिन्छ । सेतो पदार्थ आउँछ तर त्यसभित्र शुक्रकिटहरु हुँदैनन् । अर्काे कारण हो एन्टीक्यान्सर औषधी र साईटोटक्सिक औषधी । त्यसले पनि शुक्रकिट नबन्ने हुन्छ । कसैले रेडियोथेरापी दिएको छ वा शरीरमा विकिरणको प्रयोग धेरै भएको छ भने पनि शुक्रकिट उत्पादनमा समस्या हुन्छ । यस्तै, सर्जिकल अपरेसन गरेर टेस्टिस निकालिएको छ वा हर्नियाको अपरेसन गर्दा टेसटिसको तापक्रम गडबड भएको छ भने पनि पुरुषमा बाँझोपनको समस्या हुन्छ । महिलालाई किन हुन्छ बाँझोपन ? डिम्बा अण्डा नबन्नु महिलामा बाँझोपन हुनुको मुख्य कारण हो । यो नबन्ने अवस्थालाई पोलिसिस्टिक ओभरियन डिजिज भनिन्छ । केमोथेरपी, रेडियोथेरापी, ओषधीको प्रयोग र अन्य धेरै कारणले अण्डा बन्दैनन् । फ्यालोपिन ट्युब बन्द भएर पनि समस्या उत्पन्न हुन्छ । यस्तो समस्या भएको अवस्थामा अण्डा बन्ने तर पाठेघरसम्म नपुग्ने अवस्था रहन्छ । यस्तै, पाठेघर नै खराब भएर पनि महिलामा बाँझोपनको समस्या देखिन्छ । उपचारहरु के के छन् ? सबैभन्दा पहिला के कारण बाँझोपन भएको भन्ने पत्ता लगाउन जरुरी छ । किनभने हरेक समस्याको भिन्नाभिन्नै उपचार विधि छ । जस्तै शुक्रकिट कम भएको छ भने त्यो किन कम भयो भन्ने पत्ता लगाउन पर्छ । अण्डा नबन्ने समस्यो हो भने अण्डा बनाउने औषधीको प्रयोग गर्नुपर्छ । यस्तै, फ्यालोपिन ट्युब बन्द छ भने नली खोल्ने अप्रेसन गर्नुपर्छ । पाठेघरमा मासु पलाएर वा पाठेघरकै अन्य समस्याले बच्चा नबसेको हो भने त्यो निकाल्न सकिन्छ । त्यसैले पहिला कारण पत्ता लागउनु पर्छ । जस्तै अण्डा बनेको छ कि छैन भनेर अल्टा«साउण्डबाट हेर्न सकिन्छ । शुक्रकिट ठिक छ कि छैन भनेर ल्याबमा जाँच्न सकिन्छ । यस्तै, नली खुला छ कि छैन भनेर हिस्टेरोसाल्पिङ्गोग्राम, सानोस्टेरोग्राम अथवा ल्याप्रोस्कोपी गरेर हेर्न सकिन्छ । के कारणले बच्चा नभएको हो भनेर पत्ता लगाउने विधिहरु छन् । यसरी कारण पत्ता लागेपछि सोही अनुसार उपचार गर्नुपर्छ । आईभिएफ र आईयुआई उपचार विधि यदि पुरुषको सुक्रकिट नै छैन र भित्र टेसटिसमा मात्र त्यो छ भने त्यसलाई लिएर टेस्ट्युब बेबी बनाउन सकिन्छ । यदि पुरुषको भित्र शुक्रकिट पनि छैन र बाहिर पनि छैन भने उसले आफ्नो पार्टनरलाई दोस्रो पुरुषको शुक्रकिट राखेर प्रसोधन गरेर पाठेघरमा राख्न सकिन्छ । यसलाई कृत्रिम गर्भाधान भनिन्छ । कृत्रिम गर्भाधान दोस्रो व्यक्तिको सुक्रकिट लिएर पनि गर्न सकिन्छ र आफ्नै श्रीमानको पनि लिएर गर्न सकिन्छ । यसलाई आईयुआई भनिन्छ । यसमा महिलाको डिम्बा भित्रै बन्छ र शुक्रकिटलाई मात्र भित्र पठाइन्छ । यो गर्नको लागि १० देखि १५ हजार खर्च लाग्दछ । यस्तै महिलाको लागि भने आईभिएफ विधि पनि छ । बच्चा बसाउने यो अर्को विधि हो । यसले महिलाको अण्ड बनाउने काम गर्छ । साधारणतः महिलालमा एक महिनामा एउटा अण्डा बन्छ । औषधीहरु दिएर महिनामा ५–७ वटा अण्डा बनाउन सकिन्छ । त्यो बनेको अण्डा वा डिम्बलाई अल्ट्रासाउण्डको माध्यमबाट योनीबाट सुईको माध्यमले सबै निकाल्न्छि । यसरी निकालिएको अण्डामा पुरुषको शुक्रकिट मिसाइन्छ । अनि ४८ घण्टापछि कुन कुनमा गर्भधान भएको छ भनेर हेरिन्छ । त्यसपछि त्यसमध्येको बनेको दुई भु्रण योनीबाट सुइको माध्यमबाट पठाईन्छ । यो दुईटा नली काटेको महिलामा पनि गर्न सकिन्छ । यो विधिको उपचार गर्नको लागि औषिधी उपचारसहित २ लाख रुपैयाँसम्म खर्च लाग्ने गर्दछ । निसन्तान पनबाट बच्ने उपायहरु –तौल बढी र कम पनि हुनुहुँदैन –नियमित व्ययाम र तागतिलो खाना खाने –पुरुषहरुले धेरै गर्मी ठाउँमा काम नर्गने, टाईट कपडा नलगाउने उमेरले बाँझोपनमा प्रभाव पार्छ उमेरले बाँझोपन प्रभाव पार्छ । सानो उमेरले बाँझोपनमा खासै प्रभाव नपारेपनि ३५ वर्षपछि महिलाहरुमा बच्चा बस्ने सम्भावना कम भएर जान्छ । एक महिलामा डिम्ब उत्पादन हुन फोलिकलको आवश्यकता पर्छ । उमेरको बृद्धिसँगै फोलिकल उत्पादनमा कमी हुँदै जान्छ । एक जना महिलामा जीबनभर ५ सय फोलिकल मात्रै बन्छ र उमेर बढेसँगै घट्दै जान्छ । तर यसको मतलब ३५ वर्षपछि बच्चा हुनै सक्दैन भन्ने भने होइन । एउटा महिला र पुरुषको लागि बच्चा पाउन उपयुक्त उमेर २० वर्षदेखि ३० वर्ष रहेको छ । (परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीका निर्देशक जागेश्वर गौतमसँग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानीमा आधारित)
३५ अर्ब लगानीमा सुरुङमार्ग बनाउछु भन्ने कम्पनीले ५ वर्षदेखि गरेन लेखापरीक्षण
काठमाडौं । काठमाडौं– हेटौंडा सुरुङमार्ग बनाउन ९ वर्षअघि स्थापना भएको नेपाल पुर्वाधार विकास कम्पनीले कम्पनीको हैसियतमा गर्नुपर्ने आवश्यक न्यूनतम काम पनि गर्न छोडेको छ । कम्पनी स्थापना भएको ४ वर्षसम्म लेखापरीक्षण नियमित भएपनि विगत ५ वर्षयता भने लेखापरीक्षण भएको छैन । कम्पनीले प्रत्येक वर्षको लेखापरीक्षण प्रतिवेदन कम्पनी रजिष्टार कार्यालयमा बुझाउनु पर्ने भएपनि विगत ५ वर्षदेखि प्राप्त नभएको कार्यालयले जानकारी दियो । २०७१ साल पछि नेपाल पुर्वाधार निमार्ण कम्पनीले कम्पनी रजिष्ट्रार कार्यलयमा लेखा परीक्षण प्रतिवेदन सहित अन्य आवश्यक कागजात बुझाएको छैन । कम्पनी रजिष्ट्रार कार्यलयका सूचना अधिकारी सन्तोष दाहालले २०७१ सालयता कम्पनीले लेखापरीक्षण प्रतिवेदन नबुझाएको जानकारी दिए । समयमै विवरण नबुझाउने कम्पनीलाई कार्यालयले कारबाही गर्ने गर्छ । सुरुङमार्ग निमार्ण गर्न स्थापना भएको कम्पनीेले ५ वर्षसम्म पनि लेखा परीक्षण नगर्दा कसरी बन्छ भनेर सेयर लगानीकर्ताहरुले समेत पश्न गर्न थालेका छन् । कम्पनी स्थापना हुदा ७ सय ८७ जना संस्थापक सेयरधनी थिए । अधिकृत पुँजी १८ अर्ब र जारी पुँजी १८ अर्ब रुपैयाँ राखेर कम्पनी स्थापना भएको थियो । कम्पनी स्थापना हुदा कुशकुमार जोशीको ११ हजार कित्ता, सुभासचन्द्र ढकुरीको १० हजार कित्ता, जयराम लामिछानेको १० हजार कित्ता, प्रदिपजंग पान्डेको १० हजार कित्ता, शिदिलाल श्रेष्ठको १० हजार कित्ता, सुकुन्तलाल हिराचनको १० हजार कित्ता र विक्रम पान्डेको १० हजार कित्ता सेयर थियो । यस्तै, राजाराम केसीको १० हजार कित्ता, राजुमान महर्जनको १ हजार कित्ता र मोहन बस्नेतको १ हजार कित्ता सेयर थियो । कम्पनी स्थापना भएको केही वर्षदेखि नै कम्पनीलमा खिचतानी सुरु भएको सेरयधनीहरुको नै भनाई छ । कम्पनीले सुरुङमार्ग निमार्ण गर्छु भनिरहदा कम्पनीले आफ्नो बुझाउनु पर्ने लेखा परीक्षण प्रतिवेदनसमेत कम्पनी रजिष्ट्रार कार्यालयमा बुझाउन सकेको छैन । यस वर्षमा साधारणसभा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । नेपालमा दर्ता भएका कम्पनीहरुले प्रत्येक वर्षको पुस मसान्तसम्ममा साधारणसभा गरी कम्पनी रजिष्ट्रार कार्यलयलाई लेखा परीक्षण प्रतिवेदन बुझाउनु पर्छ । नबुझाएमा कम्पनी रजिष्ट्रार कम्पनीले जरिबाना तिराउँछ । सुरुङमार्ग निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन निवर्तमान अध्यक्ष कुशकुमार जोशीले नेतृत्व गरेका थिए । जोशीलाई नै अध्यक्ष बनाएर कम्पनी दर्ता भयो पनि । कम्पनीले सन् २०१२ मा सरकारसँग गरेको सम्झौता अनुसार काम भएको भए १ जनवरी ०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न हुन्थ्यो । सरकारसँगको पहिलो सम्झौता अनुसार निर्माण सम्पन्न हुने मिति सकिएको २ वर्षभन्दा बढी समय भएपनि सुरुङमार्ग बनाउने काम सुरु भएकै छैन । पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग बनाउनका लागि गैरआवासीय नेपाली, स्वदेशी उद्योगपती र स्थानीयहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । त्यसअनुसार जनताबाट ३१ करोड ७६ लाख रकम उठाइसकेको थियो । यो कम्पनीले सुरुङ मार्ग निर्माण गर्न राखेको प्रस्तावलाई ०६९ वैशाखमा मन्त्रिपरिषदले पारित गरेको थियो । संस्थापक अध्यक्ष कुशकुमार जोशी, त्यसपछि गैरआवाशीय नेपाली संघका अध्यक्ष भवन भटट्, लाल केसी र फेरि भवन भटट् अध्यक्ष भएका छन् । तर, कम्पनीले सुरुङमार्ग बनाउने सम्भावना न्यून छ भने कम्पनीले सरकारी मापदण्ड अनुसारका काम पनि गर्न छोडेको छ । सम्बन्धित सामग्री पूर्वाधार विकास कम्पनी कोमामा, प्रदेश सरकारसँग लफडा, पीडितको पैसा फिर्ता दिएको दाबी सुरुङमार्गः देखायो विकासको आश, बनायो स्थानीयको बिल्लीबाठ निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र
नलगाड जलविद्युतकाे मुआब्जा विवाद सुल्टियाे, निर्माण गर्न १ खर्ब २३ अर्ब लाग्ने
जाजरकोट । नलगाड जलविद्युत् आयोजनाबाट लामो समयदेखि थाँती रहेको मुआब्जाको वितरणको विवाद सुल्टिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको कुरा सुल्ट्याएको हो । मुआब्जा वितरणमा विभेद भएको भन्दै आलोचना गर्दै आएका स्थानीयवासी माग सम्बोधन भएपछि मुआब्जा वितरणको बाटो खुलेको छ । पीडितले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जामन्त्री वर्षमान पुनलगायतलाई भेटेर मुआब्जाको रकम बढाउन माग गरेका थिए । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार चार हजार ६०५ रोपनी जग्गाको मुआब्जा वितरणको कुरा टुङ्गो लागेको हो । प्रतिरोपनी रु छ लाखका दरले मुआब्जा रकम दिने सहमतिपछि विवाद मत्थर भएको छ । अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले लिएका छन् । आयोजना निर्माणस्थलमा प्रभावित हुने क्षेत्र बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाभित्र पर्ने नलगाड नदीमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाबाट यहाँका फलाम, तामाखानी, जलचर, कस्तुरी, चिरकालिज, सुनगिद्ध, मृग, शिलाजितलगायतका जडीबुटीलाई पर्ने प्रभावका विषयमा यहाँका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीलाई सही रूपमा व्यवस्थापन गर्नुपर्ने र आयोजना निर्माणस्थलबाट विस्थापित भएकालाई राज्यले कति वर्षसम्म सहयोग गर्ने हो त्यो समेत किटान गर्न आग्रह गर्दै सकेसम्म स्थानीयस्तरमै बसोबासको व्यवस्थापन गर्न आग्रह गरेका छन् । सरकारले आयोजनाको डिपिआर छिटो निर्माण गरी निर्माण प्रक्रियामा लैजाने तयारी गरेको छ । कर्णाली प्रदेशको सामरिक महत्वको रूपमा हेरिएको यो आयोजना निर्माण गर्न कम खर्चिलो हुनुका साथै सजिलोसमेत भएको ऊर्जाविज्ञको तर्क छ । केही दिनअघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह थियो । जापानी व्यवसायी एवं जाइकाले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि इच्छासमेत देखाएका छन् । आयोजना निर्माणका लागि रु १२३ अर्ब लाग्ने अनुमान गरिएको छ । वातावरणीय व्यवस्थापन अनुमानित लागत रु ५६ अर्ब लाग्ने आयोजनाले बताएको छ । साढे छ वर्षभित्र निर्माणकार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाको बाँध भरिँदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । यो समुद्र सतहदेखि एक हजार ५८० सम्मको उचाइमा पुग्ने छ । पाँच सय ४५ मिटर चौडाइ र २१० मिटर अग्लो जलाशय हुनेछ । आठ हजार ३०० मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डिपिआरमा उल्लेख छ । सरकारले आयोजना प्रभावित ६५७ भन्दा बढी घरपरिवारलाई रु दुई अर्ब ७२ करोड मुआब्जा बाँड्ने तयारी थालेको छ । आयोजनाले पार्ने वातावरणीय एवं जैविक प्रभाव न्यून गर्नुपर्ने र वातावरणीय संरक्षण नियम २०५४ लाई ध्यान दिनुपर्नेमा जोड दिँदै काम गर्न आग्रह सरोकारवालाले गरेका छन् । आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र कार्बनडाइअक्साइडको उत्सर्जन हुनबाट सात लाख १७ हजार टन बचत हुनेछ । आयोजनाले क्षेत्रीय पूर्वाधारको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, ग्रामीण अर्थतन्त्रको विकास र विस्तार एवं रोजगारीको सिर्जना, व्यापार व्यवसायको अवसरमा वृद्धि हुनेछ । आयोजनाबाट नलगाड नगरपालिका–५ र ७, बारेकोट गाउँपालिका– १, २, ५, ६, ७ र ८ प्रभावित हुनेछ । अहिले नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत रूपमा निर्माण हुने विद्युत् उत्पादनगृहको अवस्था (कमजोर, जटिल) पत्ता लगाउन सुरुङको काम चलिरहेको छ । तीस महिनाभित्र निर्माणकार्य पूरा गर्ने भनी गरिएको सम्झौता सकिएर थपिएको छ महिनासम्म म्याद गुज्रिँदासमेत अझै डिपिआरको काम पूरा हुनसकेको छैन । रासस
बीएस६ इञ्जिन सहित हुण्डाई भेन्युको नयाँ संस्करण आउँदै, थपिनेछन् यस्ता विशेषता
काठमाडाैं । हुण्डाईले २०२० संस्करणको ‘भेन्यु’ लाई अर्को महिना भारतिय बजारमा सार्वजनिक गर्ने भएको छ । पहिलेको भेन्युको तुलनामा नयाँ भेन्युमा विभिन्न परिमार्जनका साथै केही फिचरहरु पनि थप गरिने भएको छ । प्रमुख परिमार्जनको रुपमा २०२० भेन्युमा बीएस६ मापदण्डको १.५–लिटर डिजेल इञ्जिन जडान गरिनेछ । हाल बजारमा उपलब्ध रहेको भेन्युमा बीएस४–मापदण्डको १.४–लिटर डिजेल इञ्जिन समावेस छ । नयाँ भेन्यु पहिलेजतिनै भेरियन्टहरुमा उपलब्ध हुनेछ । थप फिचरहरुको रुपमा चाहिँ इन्ट्री–लेभल ई र मिड लेभल एस भेरियन्टहरुले अल्टरनेटर म्यानेजमेन्ट सिस्टम (एएमएस) को विशेषता पाउनेछन् जसले ब्याट्रीको आयुलाई बढाउन मद्दत गर्दछ । त्यसैगरी एउटा टप भेरियन्ट एसएक्सले चाहिँ क्रमशः टायर प्रेशर मोनिटरिङ्ग सिस्टम र बाँकी टप भेरियन्ट एसएक्स प्लस र एसएक्स (ओ) ले चाहिँ थप एउटा १२–भोल्टको ब्याट्री पाउनेछन् । यसका प्रतिष्पर्धी महिन्द्रा एक्सयुभि३००, मारुती सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट र टाटा नेक्शन लगायतहरु नयाँ इञ्जिनका साथ अपडेट भएर आइसकेका छन् । भेन्युमा अटोमेटिक गियरको अप्सन उपलब्ध छैन भने टाटा नेक्सन, एक्सयुभि३०० र किया सोनेट लगायतमा चाहिँ यो फिचर समावेश छ । त्यसैले भेन्युको लागि यी कारहरु कडा प्रतिष्पर्धीको रुपमा उभिएका छन् । नयाँ इञ्जिन र थप फिचरहरु समावेश गर्नुले भेन्युको लोकप्रियता बजारमा बढाउला कि यसको बजार प्रदर्शन आफ्नो प्रतिष्पर्धी भन्दा फितलो भएर जाला ? त्यो त समयले नै बताउने छ ।
कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत संयुक्त सुरक्षाकर्मीको टोलीले घरदैलो अभियान शुरु गरेको हो । खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी गराउँदै कुनै पनि भाइरसको सङ्क्रमणबाट कसरी बच्ने भन्नेबारेमा जानकारी गराउँदै संयुक्त टोली घरघरमा पुगेको हो । प्रजिअ पाण्डेले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै पनि समस्या देखिए यहाँ गएर जाँच गराउन सक्नेबारेमा जानकारी गराएका थिए । चीनको उहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले स्थानीयवासीले घर छाड्न थालेको र उनीहरु त्रासमा रहेको चर्चा चलेपछि स्थानीयवासीलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको महासेनानी शिव पौडेलले जानकारी दिए । टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको उनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको, मास्क कसरी लगाउने, दैनिक हात कसरी धुनेलगायतका बारेमा जानकारी गराइएको पौडेलले बताए । घरदैलोमा स्थानीयवासीलाई प्रहरी उपरीक्षक प्रधानले रुघाखोकी नसरोस् भनेर पनि सावधानी अपनाउनुपर्ने बताउँदै नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने, मुखमा मास्क लगाएर काम गर्नुपर्नेजस्ता सावधानी अपनाउनुपर्ने बारेमा जानकारी गराएका थिए । घरदैलोमा स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको भन्दै कोठामा बस्नेहरु केही दिनका लागि दुई/चार परिवार गाउँ फर्किएको बताए । बारीमा काम गर्न हातमा सामान बोकेर गएकाहरुको फोटो खिचेर, काममा गएकाहरुको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले समाचार बनाएर उल्टै गलत हल्ला गरेको क्वारेन्टाइन नजिकै घर रहेकी खड्काले बताए । स्थानीय वासुदेव लामिछाने क्वारेन्टाइनमा बस्नेहरुलाई घृणा गर्नुपर्ने कुनै कारण नभएको र बस्ती छाड्नुपर्ने कुनै कारण नभएको बताउँदै यहाँका वास्तविक बासिन्दाले बस्ती नछाडेको भनाइ राखे । भाडामा बस्नेहरु केही परिवार गाउँ फर्किएका र आफन्तकोमा गएको बताउँदै उनले यसैलाई आधार बनाएर बस्ती खाली भो भन्न नहुने बताए । भूकम्पमा पनि गाउँ छाडेका भाडामा बस्नेहरुले अहिले पनि कोठामा ताल्चा लगाएको बताउँदै उनले सरकारले समयमै चेतना फैलाउन नसक्दा स्थानीयवासी लामो समय त्रासमा बस्नुपरेको गुनासो स्थानीयवासीको छ । स्थानीयवासी राजाराम भण्डारीले भने, ‘सरकार आफैँले यहाँका बासिन्दालाई आतङ्कित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो, शुरुमै यहाँका जनतालाई तथ्य कुरा जानकारी गराएको भए, चेतना अभिवृद्धि गरेको भए र स्थानीयवासीसँग बेलाबेलामा अन्तरक्रिया गरेको भए कुनै पनि विरोध आउँदैनथ्यो, यसबारेमा जानकारी लिन जाने स्थानीयवासीलाई प्रहरीले लाठी तेस्र्याएपछि विरोधको आवाज आएको हो ।’ उनले मुस्कानसहितको सेवा भनेर प्रहरीले जतिसुकै नारा घन्काए पनि प्रहरीको जनताप्रति गर्ने व्यवहार र शैलीमा कुनै परिवर्तन नआएकाले प्रहरीकै शैलीका कारण विरोध भएको हुनसक्ने बताए । जनतासँग प्रत्यक्ष जोडिने प्रहरीले नै जनतालाई अझै पनि डण्डा देखाएर तर्साउन खोज्छ भने जुनसुकै ठाउँमा पनि गलत सन्देश जाने भन्दै सरकारले समयमै जनतालाई जानकारी गराउन नसक्दा विरोध आएको र त्रासमा बस्नुपरेको स्थानीयवासीको भनाइ छ । सरकारले चीनको उहानबाट उद्धार गरेर ल्याएका १७५ जनालाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण भइरहेको छ । उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छैन । रासस
किसानलाई ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गर्दै वाग्मती प्रदेश सरकार
हेटौँडा । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो । प्रत्येक कृषकको समेत ५० प्रतिशत लगानी हुनेगरी ढुवानी ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गरिने जनाइएको छ । त्यसरी अनुदान प्राप्त गर्ने प्रदेशभरका १३ कृषकको नाम छनोट कार्यसमेत सम्पन्न गरिएको बताइएको छ । कृषि निर्देशनालयका अनुसार त्यसरी छनोट गरिएका प्रदेशका १३ किसानमध्ये आठले पिकअप गाडी, दुईले ट्र्याक्टर र तीन जनाले ढुवानी ट्रक प्राप्त गर्नेछन् । प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन कृषकलाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई कृषिमा प्रयोग हुने उपकरण उनीहरुको समेत थप लगानीमा वितरण गर्न लागिएको निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिए । उनका अनुसार त्यस्ता कृषि उपकरण प्राप्त गर्न ती किसानले कम्तीमा ४०० रोपनी जग्गामा तरकारी, फलफूल तथा अन्नबाली लगाएको हुनुपर्ने छ । प्रदेश सरकारले कृषि उपजको वृद्धिका लागि साना किसानलाई पनि अलग्गै कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको मन्त्रालयले जनाएको छ । आधुनिक कृषि प्रणाली अपनाई पशुपालन तथा कृषि उत्पादन गर्ने व्यावसायिक कृषकलाई सरकारले सहयोग गर्ने प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा बताउँछन् । त्यसरी गरिने कृषिमा जैविक कृषि प्रणाली अपनाउने कृषकलाई सरकारले प्रथमिकता दिने उनको भनाइ छ ।रासस
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
मुग्लिन । सवारी दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आज बिहान ४ः३० बजे चितवनको इच्छाकमना गाउँपालिका–६ जलवीरेमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४०३ नंको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना८ख ६९८० नंको गिट्टी बोकेको टिपर एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परेका सवारी साधन सडकमै तेर्सिएपछि सडक अवरुद्ध भएको थियो । क्रेनको सहायताबाट हटाएपछि बिहान ७ः१५ बजेबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा ट्रकका चालक सामान्य घाइते भएका थिए । घाइते चालकलाई उपचारका लागि काठमाडौँ लगिएको छ भने टिपर चालक प्रहरीको नियन्त्रणमा छन् ।रासस
अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला साेमबारदेखि शुरु
बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु भएको छ । गलकोट कला प्रतिष्ठानद्वारा आयोजित कार्यशालाको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री गुरुङले कलाका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको चिनारी विस्तार गर्न कार्यशाला सहयोगी बन्ने धारणा राखेका छन् । ‘दश देशका मूर्तिकारले यहाँको सन्देश लिएर जानुहुनेछ, एक करोडमा नहुने प्रचार उहाँहरुले गरिदिनुहुन्छ’, मुख्यमन्त्री गुरुङले भने, ‘पर्यटन प्रवद्र्धनका हिसाबले पनि मूर्तिकला कार्यशालाको महत्व छ ।’ विश्व प्रसिद्ध मूर्तिकारका कलाकृति सङ्ग्रहित गर्न पाउनु गलकोटको मात्रै नभई देशकै गौरवको विषय भएको उनको भनाइ छ । सङ्घीय व्यवस्थाकै कारण भौगोलिक हिसाबले विकट गाउँहरुमा विकास गतिविधि र सचेतनाको लहर बढेको मुख्यमन्त्री गुरुङले बताए । उनले जनताको हित र मुलुकको समृद्धिका लागि सङ्घीय व्यवस्था ल्याइएको धारणा राखे । साथै, आउँदो तीन वर्षभित्र गण्डकी प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । यही फागनु २१ गतेसम्म चल्ने कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन् । मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा छन् । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए । उनका अनुसार कलाकारले आजदेखि कलाकृति बनाउन शुरु गर्नेछन् । अन्तर्राष्ट्रिय स्तरमा ख्याति आर्जन गरेका मूर्तिकारहरुले सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राख्ने प्रतिष्ठानको योजना छ । कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिएका छन् । यस्तै जुन इचिरो सुगीमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), लिन ली जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल), जर्जलुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युड्मेले कार्यशालामा सहभागी छन् । कार्यशालामा सहभागिताका लागि अन्तर्राष्ट्रिय स्तरमा आवेदन माग गरिएको थियो । प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिन देश विदेशका गरी २०५ मूर्तिकारले आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको थियो । कलाकारले कार्यशालामा बसेर राजनीतिक दलका नेता, धार्मिक गुरु, देवीदेउता र आफ्नो देशको संस्कृति झल्कने मूर्ति कुँद्न पाउने छैनन् । मानव सभ्यता, वेषभूषा, प्रकृति आदि विषयमा प्रतिकात्मक मूर्ति बनाउनेछन् । आर्थिक वर्ष २०७३/७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो । हालसम्म पूर्वाधार निर्माणमा रु ८६ लाख ९३ हजार खर्च भइसकेको छ । कार्यशाला सम्पन्न गर्दासम्म थप रु एक करोड ४१ लाख ७८ हजार खर्च हुने प्रतिष्ठानले जनाएको छ । कार्यशालाको खर्च झण्डै रु दुई करोड ३० लाख नाघ्ने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु ४० लाख बजेट छुट्टिएको थियो । गलकोट नगरपालिकाले पनि रु तीन लाख बजेट विनियोजन गरेको थियो । नगरको बजेटबाट कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । चालू आवमा गण्डकी प्रदेश सरकारले रु ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट रु १० लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु पाँच लाख सहयोग प्राप्त भएको छ । यस्तै व्यक्तिगतरूपमा सहयोग जुट्ने क्रम पनि जारी छ । कार्यशालाका लागि स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीले करिब रु ३० लाख मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क दिएका थिए । रासस