काठमान्डौ इन्ष्टिच्युट अफ टेक्नोलोजिका विद्यार्थीले हेरचार डटकममा इन्टर्न गर्न पाउने
काठमाडौं । काठमाडौं इन्ष्टिच्युट अफ टेक्नोलोजीका विद्यार्थीले हेरचार डटकममा इन्टर्न गर्न पाउनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हेरचारका प्रबन्धक उत्सव भट्टराई र काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजिका प्रबन्ध निर्देशक सुनिल कुमार चालिसेले हस्ताक्षर गरेका हुन् । पहिलो सम्झौताअनुशार हेरचारले काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजिका विद्यार्थीहरुलाई अझ सक्षम र दक्ष बनाउनको लागि इन्टर्नको व्यवस्था गरेको छ भने दोस्रो सम्झौतामा काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजिमा अबका दिनहरुमा आइपर्ने मर्मत तथा संम्भार सम्बन्धि कार्यहरुको सेवा हेरचारले दिने व्यवस्था गरेको उल्लेख गरिएको छ । ५वर्ष भित्रमा ५ हजार भन्दा बढी युवाहरुलाई देशमै रोजगारी दिने लक्ष्य लिएर हिडेको हेरचारले दक्ष प्राविधिकहरु उत्पादन गरिरहेको शैक्षिक संस्था काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजीसँगको सम्झौताले थप उर्जा प्रदान गरेको हेरचारका प्रबन्धक उत्सव भट्टराईले बताए । आफ्नो संस्थाबाट प्राविधिक सम्बन्धि शिक्षा हासिल गरी हेरचार जस्तोसंस्थामा आफ्ना विद्यार्थीहरुलाई इन्टर्न गराई विद्यार्थीहरुको रोजगारीको बाटो अझ सुनिश्चित गराउन पाउ“दा आफुलाई धेरै खुसि लागेको काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजिका प्रबन्ध निर्देशक सुनिल कुमार चालिसेले बताए । सञ्चालनको दुई वर्षमै नेपालका बैङ्क, इन्स्योरेन्स, व्यापारिक घरानाहरु सहित व्यक्तिगत घरहरु गरी १ हजार भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको हेरचार डटकमको युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने लक्ष्यमा काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजि संस्थाको साथले हौसला प्रदान गरेको प्रबन्धक भट्टराईले बताएका छन् ।
वित्तीय सुधारमा लम्कीँदै बीमा समिति, जोखिममा आधारीत पुँजी सम्बन्धि निर्देशिका जारी
काठमाडौं । बीमा समितिले जोखिममा आधारीत पूँजी सम्बन्धि निर्देशिका जारी गरेको छ । समितिले बीमा कम्पनीहरुमा स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने उदेश्यका साथ उक्त निर्देशिका जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा बजारमा रहेका केही सामान्य समस्याहरु हामीले समाधान गर्न खोजेको बताए । हाम्रो उदेश्य बीमा कम्पनीहरुलाई कारबाही मात्र गर्ने भन्दापनि बीमा बजार तथा कम्पनीको अवस्था सुधारमा लाग्ने उनको भनाइ छ । निर्देशिका अनुसार बीमा कम्पनीहरुले आफ्नो जोखिमको मापन गर्नुपर्नेछ । यसरी कम्पनीहरुले जोखिमको मापन गर्नुको कारण आफ्नो तथा बिमितको उदेश्यमा पुग्न सहज होस भन्ने हो । बीमा कम्पनीमा अनुशासन तथा सुशासन ढंगबाट चलाउनु पर्ने, बीमा कम्पनीहरुले जोखिमको पहिचान गर्नुपर्ने सोही अनुसार पोलिसीको अवस्था निश्चित गर्नुपर्ने तथा बोर्ड तथा उच्च तहबाट जोखिम व्यवस्थापनमा कदम चाल्नुपर्नेछ । यस कारण आवश्यक छ जोखिम नियन्त्रण बीमा कम्पनीहरुरको मुख्य काम नै जोखिम बहन गर्ने भएकाले कम्पनीले जोखिम नियन्त्रणमा ध्यान दिनु पर्ने निर्देशिकामा उल्लेख छ । बीमा कम्पनीहरुले धारण गर्ने जोखिम क्षमताको प्रभाव सम्पूर्ण आर्थिक क्षेत्रमा पर्छ । जोखिम बहन गर्ने सकारात्मक संस्कारबाट नै जोखिम व्यवस्थापनमा मद्धत पुग्ने निर्देशिकामा उल्लेख छ । जोखिमको पर्याप्त नियन्त्रण गर्नु पर्ने, बीमा व्यवसायको विवेकपूर्ण आचरण हुनुपर्ने, वित्तीय जानकारीहरुको सन्दर्भमा रिर्पोट विश्वसनीयता खुलाउनु पर्ने लगायत विषय निर्देशिकामा समेटिएका छन् समितिले रिक्स म्यानेजमेन्ट फ्रेमवर्क समेत तयार गरेको छ । सो फ्रेम वर्कमा आइडेन्टीफाइ रिक्स, एनालाइसीस रिक्स, इभ्यालुयट रिक्स तथा ट्रिट रिक्स शिर्षक रहेका छन् । सो फ्रेम वर्क अनुसार बीमा कम्पनीहरुले आफ्नो जोखिम पहिचान गर्ने, त्यसकोलागि आवश्यक अनुमान गर्ने तथा जोखिमको समाधान तर्फ काम गर्छन् । जोखिम मापनलाई शुन्यदेखि ४ भागमा विभाजन गरिएको छ । अति न्यून जोखिम, न्यून जोखिम, मध्यम जोखिम, उच्च जोखिम तथा अत्याधिक जोखिम शिर्षकमा मापन गर्न मिल्ने जनाइएको छ । यस्तै, निर्देशिकामा डाटा इन्टीग्रीटी एवम् साइबर रिक्स, स्टार्टटेजिक रिक्स, लिगल रिक्सहरु समेटीएका छन् । बीमा समितिले आगामीमा दिनमा बीमाको पहुँच वृद्धिमा मात्रै नभई आफूहरु बीमाको गुणस्तरमा समेत केन्द्रित रहने बताएको छ । यस्तो छ पूर्णपाठ: [pdf id=198072]
सीपी मैनाली चढेको कार दुर्घटनामा
काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् । उनी महोत्तरीको बर्दिबासमा बिहिबार दुर्घटनामा परेकाे जनाइएकाे छ । उनकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएकाे जनाइएकाे छ । अहिले उनकाे बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।
एनएमबी बैंकको सेयरमा किन बढिरहेको छ आकर्षण ? (समग्र विश्लेषण)
काठमाडौं । लामो समयसम्म एनएमबी बैंक बिस्तारै आफ्नो गतिमा अगाडी बढ्ने मध्यम बैंकको रुपमा रहदै आयो । चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंक बनिसकेपछि भने बैंकको व्यवसायको दर, नाफा मात्र उच्च छैन, सेयर कारोबारमा देखिने गरी गतिविधि बढेको छ । गत साताको सेयर कारोबार रकम आधारमा बैंक प्रमुख १० भित्र अटाएको छ भने बजार पूँजीकरणको आधारमा सूचीकृत कम्पनीहरुमध्ये चौंथो स्थानमा छ । लामो समयसम्म मर्जरको कारण कारोबार रोकिएको बैंकबाट लगानीकर्ताले कारोबार खुला भएपछि मात्रै करीब ३६ प्रतिशत प्रतिफल पाएका छन् । यस्तो प्रतिफल बुधवारसम्मको मूल्य परिवर्तनबाट मात्रै सम्भव भएको हो । आज हामी बैंकको वित्तीय अवस्था, सेयर कारोबारमा रहेको आकर्षण लगायतको आधारमा विश्लेषण गर्दैछौं । परिचय २०६५ सालमा स्थापना भएको एनएमबी बैंक पछिल्लो समय मर्जर र प्राप्तमा जोड दिदै अगाडी बढ्यो । हालै ओम डेभलपमेन्ट बैंक प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजीमा करीब २० प्रतिशतले वृद्धि भएको हो । हाल बैंक कञ्चन विकास बैंकलाई प्राप्ति गर्ने तयारीमा समेत छ । बैंकले क्लिन इनर्जी डेभलपमेन्ट, भृकुटी डेभलपमेन्ट बैंक, प्रुडेन्सियल फाइनान्स लगायतलाई समेत मर्ज गरेको थियो । –बजार पूँजीकरण आधारमा चौंथो स्थानमा आयो बैंक –सेयर अत्यधिक खरिद चाप क्षेत्रमा –ओमबाट आएको प्रिमियम लाभांश पाइने आशमा आकर्षण –खराब कर्जा र कर्मचारी खर्च वृद्धि मर्जरसँगै बैंकको कर्मचारी संख्या पनि निकै बढेको छ । हाल बैंकमा १ हजार ५ सय २३ कर्मचारी छन् । संख्यामा भएको वृद्धिको कारण कर्मचारी खर्चमा उच्च वृद्धि देखिएको छ । गत आव अन्त्यमा यस (बोनस बाहेक) मा ४३.२५ प्रतिशतले वृद्धि भएर १ अर्ब नाघेको छ । बैंकका लगानीकर्ता वार्षिक वित्तीय विवरण अनुसार बैंकमा नेदरल्याण्ड्सको एफएमओको १७ प्रतिशत लगानी छ भने मलेशियाको यङ लियनको ५.२३ प्रतिशत सेयर लगानी छ । गोल्याण समूहको समेत बैंकमा पकड छ । हाल बैंकमा यही समूहबाट अध्यक्षको रुपमा पवनकुमार गोल्यान छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी छन् । उपाधी बैंकले लगातार दुई वर्ष बैंक अफ दी इयरको अवार्ड पाएको छ । लण्डनको फाइनान्सियल टाइम्स् दी बैंकरबाट एनएमबी बैंकले सन् २०१७ र २०१८ मा यस्तो उपाधी पाएको थियो । सहायक कम्पनी बैंकको शतप्रतिशत लगानीमा सहायक कम्पनी एनएमबी क्यापिटल सञ्चालनमा छ । कम्पनीले मर्चेन्ट बैंकरको रुपमा मात्र नभई सामुहिक लगानी कोष पनि सञ्चालन गरिरहेको छ । त्यस्तै बैंकको ५१ प्रतिशत सेयर स्वामित्वमा एनएमबी लघुवित्त कम्पनी पनि सञ्चालनमा छ । बैंकले लगानीको रुपमा सूचीकृत भएको सेयरमा ६० करोड ६८ लाख र सूचीकृत नभएको सेयरमा ६३ करोड ३२ लाख लगानी गरेको छ । बैंकले गत आव अन्त्यसम्म १० करोड २९ रुपैयाँ बराबरको सम्पती खराब भएका ऋणीहरुबाट सकारेको छ । कानुनी काम कारवाही बैंक र त्यसअघि मर्जर भएका संस्थाहरुको कर निर्धारणको विषयमा सर्वोच्च र पुनरावेदन अदालतमा मुद्दा चलिरहेको छ । करीब १७ करोड ५० लाख रुपैयाँ करमा विवाद रहेको हो । बैंकले सकारेको जग्गाको विषयमा समेत मुद्दा परेको छ । यो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचराधिन अवस्थामा छ । लाभांश दर बैंकले यसपटकको ३५ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । बैंकले विगत ५ वर्षमा बार्षिक औषत २१.८४ प्रतिशत लाभांश दिएको छ । बैंकले बोनस सेयरलाई चुक्ता पूँजीमा समायोजन गरिसकेको देखिदैन । चालु आवको हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई १ अर्ब ११ करोड रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको बोनस सेयर समायोजन पछिको चुक्ता पुँजीको आधारमा ८ प्रतिशत हो । निश्चय नै आव अन्त्यमा यो दर बढ्नेछ । बैंकको मर्जर अघि २ अर्ब ५१ करोड सेयर प्रिमियम रहेकोमा हाल २ अर्ब २४ करोड रहेको विवरण प्रकाशित गरेको छ । यसबाट समेत लाभांश दिन केही रकम प्रयोग भइसकेको देखिन्छ । तर, बैंकले सेयर प्रिमियममा ओम डेभलपमेन्टबाट आएको रकम देखाएको छैन । प्राप्तिको क्रममा एनएमबी र ओमको सेयर स्वाप रेसियो १ सय बराबर ७६ अनुपात कायम भएको थियो । यसको अर्थ बैंकको सेयर प्रिमियममा ६० करोड रुपैयाँ बढ्नु पर्ने हो । तर यस्तो वृद्धि भएको छैन । यता बैंकले ६२ करोड रुपैयाँ गैरसञ्चालन आम्दानी देखाएको छ । भविष्यमा प्रिमियम वापतको रकम समेत लाभांश दिन सक्ने व्यवस्था छ । वित्तीय अवस्था एनएमबी बैंकले चालु आवको दोस्रो त्रैमाशमा ४७.४० प्रतिशतले नाफा बढाएको छ । बैंकको नाफा १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । नाफा रकमको आधारमा समग्र वाणिज्य बैंकहरुमध्ये एमएमबी बैंक सातौं स्थानमा छ । बैंकको जगेडा तथा सञ्चित कोषमा ७ अर्ब ६६ करोड रुपैयाँ छ । बैंकको व्याज आम्दानी ३२ प्रतिशत बढेको छ भने खुद व्याज आम्दानी ३६ प्रतिशतले वृद्धि भएको छ । ७ अर्ब १ करोड ब्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानीमा २ अर्ब ७३ करोड पुगेको छ । खुद व्याज आम्दानीसँगै फि, कमिशन र अन्य आम्दानी बढेको छ । तर, यसले पनि कुल सञ्चालन नाफा भने २ प्रतिशतले घटेको छ । १ अर्ब ५१ करोड सञ्चालन नाफा भएको छ । गत वर्ष ९ करोड १४ लाख प्रावधान राखेको बैंकले यो रकम बढाएर ६० करोड पु¥याएको छ । खराब कर्जा अनुपात बढेर १.९६ प्रतिशत छ । नोक्सानी व्यवस्थामा १ सय ३१ प्रतिशत रकम राखेको छ । निक्षेप प्राथमिक पुजीको आधारमा कर्जा लगानी अनुपात ७७.५५ प्रतिशत छ । बैंकलाई थप लगानीको लागि स्पेस कम भइसकेको छ । कोष लागत ७.३२ प्रतिशतबाट बढेर ७.७० मा पुगेको छ । बैंकको पूँजी लागत उच्च रहेको, कर्जा दिदा लिने व्याजदर (१०.१२) उच्च रहेकोले प्रतिस्पर्धी क्षमतामा यसले केही कमि ल्याएको छ । बैंकको प्रतिसेयर आम्दानी ३०.४० प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ८८ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.८१ प्रतिशत छ । प्रतिसेयर आम्दानी र नेटवर्थ औसतभन्दा माथि नै रहेपनि मूल्य आम्दानी अनुपात भने औसतभन्दा निकै तल छ । यसले बैंकको सेयरले अझै उचित मूल्य नपाएको देखाउँछ । बैंकले हाल घोषणा गरेको बोनस सेयर समायोजनपछि प्रतिसेयर आम्दानी केही घट्नेछ । बुलिश प्रवृत्ति विगत एक वर्षमा १ सय ३४ दिन मात्र कारोबार भएको बैंकको सेयर हालसम्मकै उच्च विन्दुमा छ ।बैंकको सेयर १४ दिने आरएसआई सुचकको स्केल ९६.०९ मा छ । बैंकको सेयरमा अत्यधिक खरिद चाप रहेको देखाउँछ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । २१ दिने सिम्पल मुभिङ एभरेज रेखालाई ७ दिने रेखाले काटेर केही माथि लागेको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्छ । ३० कारोबार दिनको पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे आगामी ३० दिनमा ५ सय २९ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ३ सय ९५ मा पहिलो टेवा पाउने देखाउँछ । बैंकको सेयर मूल्यले अन्तिम दिन डोजी मैनवत्ति बनेको छ । यसले मूल्य घट्न सक्ने सम्भावनालाई पनि देखाइरहेको छ । यो संकेत दरिलो होइन । तर, वर्षकै उच्च विन्दुमा मूल्य रहेकोले प्रोफिट बुकिङमा लगानीकर्ता लाग्न सक्ने सम्भावना छ । हालसम्म अत्यधिक खरिद चाप नै देखिएकोले डराई हाल्नु पर्ने अवस्था छैन । तरपनि ध्यान दिनुपर्ने अवस्थामा भने मूल्य आएको छ ।
माथिल्लो तामाकोसीको ठाडो सुरुङमा ३ सय ५५ मिटर पेनस्टक पाइप जडान, असारभित्रै विद्युत् उत्पादनको लक्ष्य
काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ३ सय ५५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २ सय २० मिटर र माथिल्लो ठाडो सुरुङमा १सय ३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । अब तल्लो र माथिल्लो ठाडो सुरुङमा क्रमशः १ सय ४७ र १ सय ७१ मिटर पाइप जडान गर्न बाँकी छ । माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमशः ७ र ५ दिनमा आइसकेकोले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले जानकारी दिएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङकोबीचमा रहेको तेर्सो भागमा पाइप जडान सुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने बताइएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारहरुसँग संयुक्त रुपमा निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गरे । ठेकेदार कम्पनीहरुले आफ्नो तालिका अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यकारी निर्देशक घिसिङले अगामी असारभित्र कम्तिमा पनि एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाइ त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिए । पहिलो युनिबाट विद्युत् सुरु भएपछि बाँकी ५ युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुने छ । ‘निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री, ऊर्जा मन्त्रीलगायतको गम्भीर चासो छ, त्यसैले जुनसुकै अवस्थामा पनि चालू आर्थिक वर्षभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नुपर्ने भएकाले आफूले जनाएका प्रतिबद्धता अनुसारका समय तालिकामा रहेर काम गर्नुहोला। आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न हामी संधै तयार छौं’, घिसिङले भने । लट २ को ठकेदारले पनि विगतमाभन्दा काममा केही सुधार गरेको देखिएको घिसिङले बताए । पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका टेक्स्म्याकोका प्रमुखलाई फोन गरी निर्माणमा ढिलाइ नगरिदिन आग्रह गरे । केही महिनाअघि ऊर्जा जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरे, कार्यकारी निर्देशक घिसिङ, माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठसहितको टोलीले कलकत्तास्थित टेक्स्म्याकोको मुख्यालय गई कम्पनीको उच्च व्यवस्थापनलाई भेटी निर्माणमा तिब्रता दिन आग्रह गरेको थियो । श्रेष्ठका अनुसार सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कंक्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ । विद्युत गृहका सम्पूर्ण उपकरणहरु जडान भई तयारी अवस्थामा रहेका छन् । प्रसारण लाइनको १ सय २७ वटा टावर निर्माण र ४७ किलोमिटर टार टाङ्ने कार्य सम्पन्न भएको छ । रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २ सय २० केभी सबस्टेसनको लिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ । उपकरणहरु जडान गरी चार महिनाभित्रमा सबस्टेसन संचालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
विद्युतीय बस खरिद प्रक्रिया अघि बढ्याे
काठमाडाैं । विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका बारेमा आवश्यक तयारी अघि बढाएको हो । समितिको सुझावकै आधारमा खरिद प्रक्रिया अघि बढ्ने मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए । उनका अनुसार साझा यातायात सहकारी संस्थाबाट पैसा फिर्ता लिइएपछि मन्त्रालयले खरिदका लागि आवश्यक तयारी अघि बढाएको छ । उनले भने, “विद्युतीय बसको स्पेशिफिकेशन, मोडालिटिलगायतका कुरामा छलफल भइरहेको हो ।” सरकारले विद्युतीय बस खरिदका लागि गत असारमा संस्थाको रु तीन अर्ब बराबरको शेयर खरिद गरेको थियो । पहिले दिइएको भन्दा संस्थाले ‘स्पेशिफिकेशन’ फरक भएको र बस खरिद अघि नबढेको भन्दै सरकारले चार महिनापछि कात्तिकमा सो रकम फिर्ता गरेको हो । संस्थालाई दिइएको रकमसँगै ब्याजसमेत फिर्ता लिइएको मन्त्रालयका प्रवक्ता प्रधानले बताए । रकम फिर्ता भएसँगै सरकारले नयाँ प्रक्रियाबाट खरिद प्रक्रिया गर्न तयारी अघि बढाएको हो ।
नास्टमा युवा वैज्ञानिक फोरम स्थापना हुने
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताएका छन् । बुधबार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उनले वैज्ञानिक क्रियाकलापमा प्रोत्साहन र युवा वैज्ञानिकका कार्यक्रमलाई सहजीकरण गर्न उक्त फोरमको थालनी गरिन लागेको जानकारी दिए । ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ गत कात्तिक ४ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको थियो । गत असोज १ गते राष्ट्रिय नवप्रवर्तन ढाँचा, प्राज्ञ– प्रतिष्ठानको सहयोगी हात सर्वसाधारणसम्म पुर्याउन नागरिकसँग नास्ट, देश र विदेशमा रहेका प्रतिभाशाली वैज्ञानिकको ज्ञान तथा सीप उपभोग गर्न तथा वैज्ञानिक परिचय प्रकाशनको तयारी गरिएको कार्यक्रममा जानकारी दिइयो । यसैगरी, विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा भित्र्याउन प्राथमिता दिइएको र विज्ञान र प्रविधिका क्षेत्रका विषयवस्तुमा छलफल गर्न महिनाको एकपटक वार्ताको थालनी तथा सातै प्रदेशमा एक/एक प्राज्ञ–प्रतिष्ठानका विषयगत अनुसन्धान केन्द्र खोलिने तयारी गरिएको उनले जानकारी दिएव् । कार्यक्रममा नास्टले सिटी नेट, च्याउ उत्पादन, भू–क्षय रोकथाम, घाँस उत्पादन र वातावरणीय सुधार गरी सामाजिक आर्थिक रुपान्तरणमा उपयोगी देखिएको जुनकावा प्रविधि हस्तान्तरण गर्न सम्बन्धित निकायसँग समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरेको जानकारी दिइयो । नास्टका अतिरिक्त विभिन्न प्रयोगशालाबाट दिँदै आइरहेको वैज्ञानिक परीक्षण सेवालाई एउटै छातामुनि ल्याउने उद्देश्यले नास्ट विश्लेषण सेवा केन्द्र, संस्थाको गतिविधि चुस्तदुरुस्त बनाउन मोबाइल एप्स र नास्टलाई योजनाबद्ध विकास र व्यवस्थित पार्न गुरुयोजना अघि बढाइएको नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए । उनले भने, “ महिला वैज्ञानिक फोरम, विगतमा नास्टले नसमेटेका चार कुलपति राष्ट्रिय नवप्रवर्तन, महिला वैज्ञानिक, उत्कृष्ट विज्ञान शिक्षक र उत्कृष्ट विद्यार्थी पुरस्कारको स्थापना गरी वितरणको शुरुआत पनि यसै वर्षदेखि गरिएको छ ।” ‘ नेपाल जर्नल अफ साइन्स एण्ड टेक्नोलोजी’को आगामी दुई महिनाभित्र नयाँ प्रकाशन तयारी भएको कार्यक्रममा जानकारी दिइयो ।कार्यक्रममा नास्टको प्रयोगशालामा कार्यरत कर्मचारीलाई जोखिमभत्ता वितरण गर्न बजेट व्यवस्था गरिएको जानकारी दिइयो । रासस
त्रिविकाे स्नातकाेत्तर तह दोस्रो र चौथो सेमेस्टरकाे परीक्षा तालिका सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकाेत्तर तहकाे परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिविले स्नातकाेत्तर तह अन्तगर्तकाे मानविकी तथा सामाजिक शास्त्र संङ्कायको दोस्रो र चौथो सेमेस्टरको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा तालिका अनुसार स्नातकाेत्तर दोस्रो सेमेस्टरको परीक्षा चैत ९ गते देखि २३ गतेसम्म रहेको छ भने स्नातककाेत्तर चौंथो सेमेस्टरको परिक्ष चैत ७ गते देखि २० गतेसम्म रहेको छ । [pdf id=198029] [pdf id=198037]