विकासन्युज

ट्राफिक प्रहरीद्वारा २१ जना ट्याक्सी चालक सम्मानित, को को भए ?

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार असल ट्याक्सी चालकलाई सम्मान गरेको छ । विभिन्न मितिमा भाडाकारमा छुटेका नगद, गरगहना र महत्वपुर्ण सामानहरु यस महाशाखामा आफै बुझाउन ल्याउने २१ जना भाडाकार चालकलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा युवराज राना मगर, यज्ञ प्रसाद बराल, कुल बहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनिल थापा मगर, अबदेश कुमार झा, प्रविन तामाङ, सुर्य बहादुर तामाङ, कृष्ण बहादुर खत्री, कृष्ण घिसिङ, नेत्र प्रसाद तामाङ, रामचन्द्र मोत्तान, रोएत बहादुर रोक्का, जम्क श्रेष्ठ, रिध बहादुर क्षेत्री, नविन सिग्देल, तुलसी राम खनाल, विष्णु आले, नेत्र बहादुर मगर, मनि श्रेष्ठ र निलहरि ढुगेंल रहेका छन् । चालकलाई सम्मान गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरूले देखाएको यो ईमान्दारिताले समाजमा अरू मान्छेहरूलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको बताए । प्रमुख ढकालले भने, ‘ट्राफिक क्षेत्रमा देखिएको समस्याको समाधानको मुख्य आधार नै चालक रहेकोले सडकलाई अनुशासित र मर्यादित बनाउने काम चालकको हो, तपाईँहरु त्यो कार्यमा लाग्नुहोस्, सडकमा देखिएका समस्या समाधान हुन्छ, तपाईँहरुलाई परेको समस्या समाधान गर्न हामी तयार छौँ ।’ उनले  ट्राफिक प्रहरी र सवारी चालक दुश्मनका रुपमा नभई मित्रको रुपमा व्यवहार गर्नुपर्ने बताउँदै पहिला आफू सुध्रिए मात्र अरु सुध्रिन्छन् भन्ने परिपाटीको विकास गर्नु जरुरी भएकाे बताए । आज सम्मानित हुने चालकहरूमध्ये चालक नविन सिग्देलले अन्दाजी १० लाख ६६ हजार मूल्य पर्ने सुनको १३ तोला बराबरको गरगहना, ल्याप्टप थान १ थान, महत्वपुर्ण कागजपत्र भएको लगेज ब्याग आफै बुझाउन ल्याएका थिए । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार यस आव २०७६र७७ मा ट्रयाक्सीमा मात्रै ३९५ वटा सामान छुटेको निवेदन परेको थियो र ट्राफिक प्रहरीको सक्रियतामा अन्दाजी १ करोड ४८ लाख ६० हजार ३६५ मूल्य बराबरको सामान २८० जना सम्बन्धित सामान बुझाईसकेको छ भने ५२ वटा सवारीको नम्बर खुल्न नआएकोले अनुसन्धान जारी रहेको छ ।

सामसङको दुईवटा नयाँ मोबाइल सेट नेपाली बजारमा, ५ हजारमा नै अर्डर गर्न सकिने

काठमाडौं । सामसङको ग्यालेक्सी एस २० र एस २० प्लसको प्रि अडर खुला गरेको छ । यी मोबाइल सेट फाल्गुन ३० गतेदेखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २० तथा एस २० प्लसमा नेपालका कुनै पनि सामसङको स्टोरमा पाँच हजार जम्मा गरेर अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २० प्लस अग्रिम अर्डर गरेका ग्राहकहरूले ग्यालेक्सी बड्सप्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभि ६ हजारमा खरिद गर्न सक्न पनि कम्पनीले जनाएको छ । प्रि–अडर गर्ने उपभोक्ताले तोकिएको मितिभन्दा अगाडि पाउने पनि कम्पनीले जनाएको छ । स्थानीय बजारमा ग्यालेक्सी एस २० को बजार मूल्य १ लाख ७ हजार ५ सय र एस २० प्लसको १ लाख १९ हजार ५ सय रूपैयाँ रहेको छ । त्यसमा उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सकिने, जीवन्त रूपमा फोटो खिच्ने तरिका एवं आफ्नो विषयवस्तुलाई बेग्लै तरिकाबाट प्रस्तुत गर्ने स्वतन्त्रता रहेको कम्पनीले जनाएको छ । यस्तै ग्यालेक्सी एस २० अग्रिम अर्डर गरेका ग्राहकले ३ हजार थप गरी ग्यालेक्सी बड्सप्लस वा ३२ इन्चको सामसङ टिभी ९ हजारमा खरिद गर्न सक्नेछन् ।

स्वास्थ्य मन्त्रीका सय दिनः बजेट खर्च २४ प्रतिशत,काेरोनाको कारण अन्य योेजना अलपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतबार आफुले सय दिनमा गरेको कामको फेहरिस्त सुनाए । उनले आफु मन्त्रालयमा आएको एक सय दिन पुगेको भन्दै पत्रकार सम्मेलन राखेर २२ बुँदे काम कारबाही र उपलब्धि पनि सुनाए । तर, मन्त्रालयले हासिल गरेका ती उपलब्धि तथा कार्ययोजनाहरुले मन्त्रालयको बजेट खर्चमा भने थोरै मात्र भूमिका खेलेको देखिन्छ । चालु आर्थिक वर्षमा स्वास्य तथा जनसख्या मन्त्रालयका लागि ४२ अर्ब ६७ करोड ९ लाख रुपैयाँ विनियोजन भएपनि खर्च भने न्युन देखिन्छ । मन्त्रालयले हालसम्म करिब २४ प्रतिशत मात्र खर्च गरेको छ । औषधी खरीद, अस्पताल स्वास्थ्य चौकी निर्माण तथा बजेट बाँडफाँटमा भएको विलम्बका कारण खर्च कम भएको मन्त्रालयले जनाएको छ । आफुले सोचेभन्दा बेग्लै र कार्ययोजनामा नपरेको काम गर्नु परेकोले पनि मन्त्रालयको बजेट खर्च सोचेअनुरुपको नभएको मन्त्री ढकाल बताउँछन् । उनले आफ्नो दुई महिनाको समय कोरोना संक्रमणको प्रतिकार्यमै खर्च भएको बताए । कोरोना संक्रमणको विषय आफ्नो कार्ययोजना भित्र नपरेको भएपनि विश्वभर कोरोनाको सन्त्रास फैलिन थालेपछि प्राथमिकताका साथ यही विषयमा सबैभन्दा बढी समय खर्चिएको उनको भनाइ छ । मन्त्री ढकालले कोरोनाको कारण आफ्नो नियमित र कार्ययोजनामा परेका कमाहरु गर्न नपाउँदा सोचे अनुरुपको प्रगति गर्न नसकेको स्वीकारे । उनले ढकालले विर अस्पतालको दुवाकोटमा सेवा विस्तार हुने काम अगाडि बढेको बताएका छन् । सरकारले अस्पताल विस्तारको लागि २०७३ सालदेखी रकम विनियोजन गर्दै आएको छ । दुवाकोटमा एक हजार शैयाको अस्पताल र अहिले वीर अस्पतालमा हुन नसकेको विशिष्टिकृत सेवा दुवाकोटबाट दिने लक्ष्य सरकारको छ । वीर अस्पताललाई अत्याधुनिक सेवा सुविधासहित विस्तार गर्ने निर्णय गरी सोहीअनुसार सरकारले भक्तपुरको ५ सय रोपनी जग्गा अस्पतालको नाममा पास गरेको थियो । यस्तै, सरकारले चालु आर्थिक बर्षमा अस्पताल सेवा विस्तारको लागि ४० करोड रकम विनियोजन गरेको छ । उक्त सुविधासम्पन्न अस्पतालको संरचना निर्माण गर्न ३५ अर्ब लाग्ने अनुमान गरिएको छ । यस्ता छन् मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरु: नीतिगत व्यवस्था तथा प्रणालीगत सुधार १. मिति २०७६/८/१६ देखि २० गतेसम्म राष्ट्रिय संयुक्त वार्षिक समीक्षा सम्पन्न गरिएकाे। २. स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि मिति २०७६/९/३ गते माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यको समपस्थितिमा स्वास्थ्यक्षेत्रका विज्ञहरूसँग परामर्श बैठक सम्पन्न भएको । ३. मिति २०७६/९/२९ मा प्रदेश सामाजिक विकास मन्त्री र सचिवहरूसँ मा. मन्त्री स्तरीय समीक्षा बैठक सम्पन्न भएको थियाे । ४. “स्वास्थ्य क्षेत्रमा साझेदारी निर्देशिका २०७६“ मन्त्रिपरिषदबाट स्वीकृत भई लागू भएको । ५. आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयारीका लागि “स्वास्थ्य क्षेत्रको योजना तर्जुमा मार्ग निर्देशन २०७६“ स्वीकृत भई लागू भएको। ६. मुख्य तथा सहायक राजमार्ग नजिक अवस्थित स्वास्थ्य संस्थाहरूमा ट्रमा सेन्टर स्थापना तथा संचालन गर्न एक कार्यविधिको निर्माण गरिएको । ७. सिकलसेल एनिमियाको प्रभावकारी व्यवस्थापनका लागि “सिकलसेल एनिमिया परामर्श सेवा कर्नर स्थापनाको कार्यविधि“ तयार भएको । ८. “राष्ट्रिय स्वास्थ्य वित्त रणनीति“ तर्जुमा गर्न वस्तुस्थिति विश्लेषण सम्पन्न भएको । ९. स्वास्थ्यजन्य फोहर व्यवस्थापन सम्बन्धी राष्ट्रिय स्तरको कार्यशाला गोष्ठी मिति २०७६/८/२४ देखि २६ सम्म काठमाण्डौमा सम्पन्न भएको । १०. घरमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित गर्न “घरमा आधारित स्वास्थ्य सेवा मापदण्ड र कार्यविधि २०७६“स्वीकृत भएको । ११. संघीय “राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति २०६७“ लाई आवश्यक संशोधन गरी स्वीकृत भएको । १२. “विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम संचालन कार्य्विधि २०७६“ स्वीकृत भएको । १३. दूरचिकित्सा सम्बन्धी मापदण्ड तथा कार्यविधि तयार भएको । १४. विभिन्न परिषद् तथा प्रतिष्ठानमा रिक्त रहेका पदहरूमा पदाधिकारीहरू नियुक्ति गरिएको । १५ बिमस्टेक टास्कफोर्सको परम्परागत उपचार पद्धति विषयक अन्तर्रािष्ट्रय गोष्ठी सम्पन्न भएको । १६. प्रादेशिक प्रयोगशाला स्थापनाको लागि प्रारम्भिक कार्य अगाडि बढेको। १७. साबिकको क्षेत्रीय क्षयरोग केन्द्र पोखरालाई गण्डकी प्रदेशमा हस्तान्तरण गरिएको । कर्मचारी समायोजनको धेरै जसो काम सम्पन्न भैसकेकाले सोकालागि गठित समिति विघठन गरी बाँकीका कार्य कर्मचारी प्रशासन महाशाखाबाट सम्पादन गर्ने व्यवस्था मिलाईएको । १८. जनस्वास्थ्य सेवा नियमावली तथा सुरक्षित मातृत्व एवम प्रजनन स्वास्थ्य नियमावलीको मस्यौदा अन्तिम चरणमा रहेको। अनुगमन १. मन्त्री र राज्यमन्त्रीबाट दर्जन बढी केन्द्रीय अस्पताल प्रतिष्ठानहरूको स्थलगत अनुगमन २. न्यूनतम सेवा मापदण्ड ९ वटै संघीय अस्पतालहरूमा लागू भएको। ३. १५औं योजनाका २ वटा रूपान्तरणकारी कार्यक्रमहरू र ६ वटा प्रमुख कार्यक्रमहरू छनौट । रूपान्तरणकारी कार्यक्रमहरू: १. स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार प्रमुख कार्यक्रमहरू: १. सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सबलीकरण कार्यक्रम । २.एकीकृत खोप तथा पोषण ३.एकीकृत रोग रोकथाम तथा नियन्त्रण कार्यक्रम ४. विकासमा जनसांखिक लाभांशको उपयोग कार्यक्रम ५. एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन तथा डिजिटल हेल्थ कार्यक्रमस ६. आप्रवासन स्वास्थ्य कार्यक्रम सेवा प्रवाह: १. प्रत्येक स्थानीय तहमा एक अस्पतालको नीति अनुरुप १५ शैया सम्मका थप २३६ स्वास्थ्य संस्था सूचीकृत गरिएको। २. पछिल्लो ३ महिनामा छात्रवृत्तिमा अध्ययन गरेका १८२ जना विशेषज्ञ चिकित्सकहरूलाई देश भरिका विभिन्न अस्पतालहरूमाखटाइएको। ३. स्वास्थ्य बीमा कार्यक्रम थप २६ स्थानीय तहमा विस्तार गरी हालसम्म ५१ जिल्ला, ५०५ स्थानीय तहमा लागू भई बीमित गर्नेकोसंख्या २६ लाख ३४ हजार ३ सय २६ पुगेको। ४. वीर अस्पतालमा २० आई सि यू शैय्या थप गर्न प्रक्रिया अगाडि बढेको । ५. वीर अस्पतालको द्वाकोटमा सेवा विस्तार गर्ने सम्बन्धमा चिनीया पक्षबाट औलाइएका विषयवस्तुहरू नेपाल सरकारको तर्फबाटसम्बोधन गरिने प्रतिबद्धता पत्र अर्थ मन्त्रालय मार्फत चिनीया पक्षलाई पठाइएको । ६. ९ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूको लागि देश भरी फाल्गुण र चैत्र दुई महिनामा २ चरणमा सम्पन्न गर्ने गरी दादुरा रुबेला खोप अभियानको मिति २०७६।११।१ गते शुभारम्भ भएको। ७. खोप लाई सुरक्षित तरिकाबाट भण्डारण गर्न, कोल्ड चेनको गुणस्तर र पहुँच बढाउन देशभरका थप १९० स्थानमा रेफ्रिजेरेटरहरुजडान गरिएको। ८ तराईका १९ जिल्लाहरुमा जन्मे देखि ५ वर्ष मुनिका १८ लाख १२ हजार बालबालिकालाई पोलियो उन्मुलनको लागि थप मात्रापोलियो खुवाउने अभियान संचालन गरिएको। ९. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञानराष्ट्रिय प्रतिष्ठानको सिनेट बैठक सम्पन्न भएको। अध्ययन अनुसन्धान: १. नेपालमा क्षयरोगको अवस्थाबारे यथार्थ जानकारी लिने उद्देश्यले पहिलो पटक क्षयरोग प्रिभेलेन्स सर्भे सम्पन्न भई प्रारम्भिक प्रतिवेदन तयार भएको छ। २. स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने सेवासम्बन्धि हरेक ५.५ वर्षमा हने गरेको नेपाल स्वास्थ्य संस्था सर्वेक्षणको दोस्रो सर्वेक्षणको कार्य प्रारम्भ भएको। कोरोना महामारी व्यवस्थापन सम्बन्धि १. बिश्वमा हाल फैलिएको कोरोना संक्रमणको रोकथाम, शिघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न सहज हुने उद्देश्यले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रोटोकल तथा कार्य योजना तयार गरीएको। २. विभिन्न निकायहरुसँगको समन्वयमा चीनको युआन प्रान्तमा रहेका १७५ विद्यार्थीलाई नेपाल ल्याई १४ दिन क्वारेन्टाईनमाराखिएकामा हिजो फाल्गुन १७ गते अन्तिम पटकको नमुना परीक्षण गरिएको । ३. त्रिभुवन अन्तर्रा्स्ट्रिय विमानस्थलको स्वास्थ्य कक्ष (जभबतिज मभकप) लाई थप जनशक्ति तथा तीन वटा मेसिन थप गरी सबै प्रभावित मुलुकबाट नेपाल आउने यात्रुको अनिवार्य जाँच गर्ने प्रबन्ध मिलाईएको। ४. तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको। ५. सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेशसँग समन्वय गरी तहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउनस्वास्थ्य टोली परिचालन गरिएको। ६. कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको । ७. उपत्यकाका सबै हब अस्पतालहरूसँग विभिन्न चरणमा पूर्व तयारीका लागि बैठक तथा छलफल गरीएको साथै सबै हब अस्पतालहरुको वृस्तित अनुगमन गर्न व्यवस्था मिलाईएको ८. मिति २०७६/११/१७ मा प्रधानमन्त्री निवासमा सम्पन्न उच्च स्तरीय बैठकबाट प्राप्त सुझावहरुका आधारमा मन्त्रालयबाट थपयोजना बनाई कार्यान्वयन गर्ने तयारी गरिएको । अन्य १. स्वास्थ्य नीतिमा उल्लेख भएको “एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्थाको“ अवधारणालाई २०७७ बैशाख १ गते देखि नेपाल सरकारका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुबाट विस्तारित स्वास्थ्य सेवा तथा थप सुविधासहित कार्यान्वयन गरिने। २. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सबै कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराइने तथा अन्य मन्त्रालय र सरकारी निकायका कर्मचारीलाई समेत यस कार्यक्रममा आबद्ध गराउनका लागि अनुरोध गरी पत्राचार गरिने ।

नेपालमा ८१ हजार हेक्टर जमिनमा उखु खेती, वैज्ञानिक प्रविधिको अभावमा फस्टाएन व्यवसाय

हेटौँडा । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये करिब ८१ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये ३३ औँ स्थानमा नेपाल रहेको छ तर यस्तो अवस्थामा पनि उखु खेती फस्टाउन सकेको छैन । नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रम जितपुरका अनुसार आव २०७४।०७५ मा नेपालमा ४३ लाख मेट्रिक टन उखु उत्पादन भएको थियो । सो वर्ष लगभग १३ लाख १५ हजारभन्दा बढी घर परिवार प्रत्यक्ष रूपमा उखु खेतीमा संलग्न रहेको र हजारौँ श्रमिकले रोजगारी पाई जीविकोपार्जन गरिरहेको उखु बाली अनुसन्धान कार्यक्रमद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख छ । चिनी उद्योग र चिनीको बजारीकरणका कारण हजारौँ व्यक्ति र परिवारले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन । उखु खेतीको विकास गर्न सके चिनी उद्योगबाट निस्कने ‘बाइ प्रोडक्ट्स’मा आधारित मोलसेसबाट स्प्रीड मदिरा, प्रेसमबबाट जैविक मल, बोक्राबाट कागज, काडबोर्ड, रस उमाल्दा निस्कने रापबाट विद्युत् उत्पादन गर्न सकिने थुप्रै उद्योगहरुको एउटा शृङ्खला नै चल्नेसक्ने भएको हुनाले थप हजारौँ प्रत्यक्ष रोजगार र मुलुकमा रोजगार सिर्जना गर्नसक्ने तथा राजश्व प्राप्त गर्ने अवस्था रहेको छ । त्यस्तै मोलासेसबाट इथानोल उत्पादन गरी वैज्ञानिक मापदण्डअनुसार इन्धनमा मिसाउन सकिन्छ । इथानोलको प्रयोगबाट इन्धनको आयातमा केही मात्रामा भए पनि कटौती गरी विदेशी मुद्रा बचत गर्ने र वातावरणमा पनि अनुकूल सिर्जना गर्न सकिने सो अनुुसन्धान कार्यक्रमका प्राविधिक एवंं विज्ञहरु बताउँछन् । त्यस्तै रस उमाल्ने बोइलरबाट निस्किने बाफबाट मिल सञ्चालन हुने याममा सानो सानो क्षमताको विद्युत् उत्पादन हुँदै आएको छ । उपलब्ध तथ्याङ्कअनुसार सन् १९८६ देखि २०१७ सम्ममा उखुको क्षेत्रफल तीन गुणा र उत्पादकत्व आठ गुणाभन्दा अत्याधिकले बढेको बताइन्छ तर यस्तो अवस्थामा पनि नेपालमा उखु उत्पादनमा वृद्धि भए पनि क्षेत्रफल र उत्पादनमा उल्लेखनीय सुधार हुन नसकेको पाइएको छ । उखु उत्पादनको कमीले चिनी उद्योग र कृषक दुवैले खासै प्रगति गर्न सकेका छैनन् । बाली उत्पादन लागतमा वृद्धि तथा गुणस्तरीय उत्पादन नहुनाले कृषकको आय आर्जन बढ्न सकेको छैन । उत्पादित उखुबाट राम्रो परिमाणमा चिनी उत्पादन हुन नसकेकाले पनि चिनी मिलहरूले उखुको आवश्यक मूल्य दिन सकेका छैनन् । उखुको उत्पादकत्व वृद्धि नहुनाको पछाडि धेरै कारणहरु भए पनि उन्नत उखु खेती र प्रविधिमा कृषकले ध्यान नदिनु एक महत्वपूर्ण कारण देखिएको छ । त्यस्तै वैज्ञानिक र प्राविधिक ज्ञानको अभाव पनि छ । कृषकहरुमा कम लागतमा धेरै उत्पादन लिने विभिन्न प्रविधिहरुको बारे जानकारी नहुँदा उनीहरूले राम्रो उत्पादन र मुनाफा गर्न सकिरहेका छैनन् । बारा जिल्लाको जितपुरमा देशको एक मात्रै उखु अनुसन्धानसम्बन्धी कार्यालय राष्ट्रिय उखुबाली कार्यक्रम रहेको भए पनि कृषकहरुलाई यसबारे जानकारी नभएको त्यहाँका कर्मचारीहरूले बताएका छन् । अनुसन्धान कार्यक्रमबाट विकसित प्रविधिको जानकारी नभएको त्यहाँका वरिष्ठ प्राविधिक अधिकृत रामकृष्ण रजक भन्छन् । यस अनुसन्धान कार्यक्रमले नेपाल सरकारको विनियोजित बजेट तथा कम वैज्ञानिक जनशक्ति भए पनि उखुको विभिन्न उन्नत जात, प्रविधि र रोगबारे अनुसन्धान गरिरहेको अनुसन्धान कार्यक्रम संयोजक तुफैल अख्तरले बताए । उनका अनुसार सो कार्यालयमा प्राविधिक र वैज्ञानिक जनशक्तिकाे अभाव रहेको छ । कलैयाका उखु किसान रामनारायण यादवले सरकारबाट प्राप्त हुनुपर्ने मलखाद र तालीम नभएको तथा चिनी उद्योगले समयमा भुक्तानी नदिँदा साहुको ऋणमा किसान डुबिरहनु परेको गुनासो गर्छन् । उता सुनसरीको इष्टर्न सुगर मिलका क्यान अफिसर सुरेश मेहेताले चिनी मिलको आवश्यकताअनुसार उख उत्पादन नभएकाले उखु खेतीमा राज्यले समेत लगानी गर्नुपर्नेमा जोड दिए । रासस

युवामा आलस्यपन हटाउन कोकाकोलाले ल्यायाे नयाँ क्याम्पेन

काठमाडौं । कोकाकोला नेपालले नयाँ क्याम्पेन सुरु गरेकाे छ । किशोर/ किशोरी र युवालाई  लक्षित गर्दै दिउँसोको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरहरुलाई नछुटाउन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको हाे । यो नयाँ क्याम्पेनको ट्यागलाइन “दिउँसै झप् भफ्, कोकले अप” रहेको छ, अर्थात यदि  तपाईंलाई दिउँसाे निन्द्राले झप् झ्प बनायो भने कोकले तपाईंको मुड र इनर्जीलाई बुस्ट गराउँछ । यस क्याम्पेनका बारेमा कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले नयाँ क्याम्पेनका मार्फत कोका–कोलाले उपभोक्ताहरुलाई कोक खाएर आफ्नो दिउँसलाई अपलिफ्ट गर्न प्रत्सोहान गर्ने बताए । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले दिनभर हाम्रो दैनिक तालिका सुस्त भइरहेको हुन्छ र इनर्जीको स्तर कायम गर्नु नै आफैमा एउटा कार्य हुन सक्छ । यो नयाँ क्याम्पेन भनेको कोका–कोला खाएर दिउँसको झप् झ्पलाई भगाएर रिफ्रेस हुँदै आफ्नो क्रियाकलाप जारी राख्ने बताएका छन् ।

नेपाल र बंगलादेशबीच वाणिज्य वार्ता हुँदै, व्यापार घाटा न्यूनीकरणमा जोड

काठमाडौं । नेपाल र बंगलादेशबीच बंगलादेशको ढाकामा २० र २१ फागुनमा वाणिज्य वार्ता हुने भएको छ । दुई दिनसम्म चल्ने व्यापार वार्ताको लागि नेपाली टोली आज ढाका प्रस्थान गर्ने भएको छ । बैठकमा नेपाल र बंगलादेशबीच विभिन्न ९ ओटा मुद्धामा छलफल हुने छ । नेपालबाट निर्यात योग्य २० प्रकारका नेपाली वस्तुको निर्यात र बंगलादेशीबाट सोही परिमाणको वस्तुको आयातका विषयमा छलफल हुने छ । वार्तामा नेपालले अदुवा, चिया, हर्बलका प्रडक्ट, अम्रिसाेकाे कुच्चो, धागो, तरकारी र फलफुल जस्ता वस्तुको निर्यातको विषयमा छलफल हुने छ । छलफलका क्रममा उक्त वस्तुमा लगाइएको उच्च भन्सारदर घटाउन नेपाली पक्षले पहल गर्ने छ । नेपालबाट बंगलादेशतर्फ विभिन्न करिब ८० ओटा वस्तुको निर्यात सम्भावना छ । नेपालबाट डेरीका प्रडक्ट, तरकारी, धागो लगायतका वस्तु नेपालबाट बंगलादेश निर्यात सम्भावना छ । वार्तामा नेपालको साल्ट ट्रेडिङ र बंगलादेशको नेशनल ट्रेडिङबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर हुनेछ । यस्तै, दुई देशको क्वारेन्टाइनका विषयमा पनि समझदारी पत्रमा हस्ताक्षर हुने छ । सन् २००९ सम्म बंगलादेशसँगको व्यापारमा नेपाल नाफामा थियो । पछिल्लो समयमा नेपालको बंगलादेशसँग व्यापार घाटा छ । नेपालबाट निर्यात बढाएर व्यापार घाटालाई न्यूनीकरण गर्ने विषयमा वार्ता केन्द्रित हुने वाणिज्य सहसचिव नवराज ढकालले बताए । ‘वार्तामा बंगलादेशको बंगलाबन्ध नाकाको स्तरोन्नतीमा पनि नेपालले जोड दिइने छ, दुई देशका नागरिकलाई एकअर्को देशमा भ्रमणमा जाँदा भिषा सहजै उपलब्ध गराउने विषयमा पनि छलफल हुन्छ,’ ढकालले भने ।

भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाइँदै

चितवन । भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको सेवनमा प्रतिबन्ध गरिएको जानकारी दिए । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार अनुगमन गरिएको र महानगरलाई सुर्तीजन्य पदार्थरहित बनाउन अभियान प्रभावकारी बनेको बताए । अनुगमन टोलीले शैक्षिक सङ्घसंस्था, सरकारी कार्यालय, अस्पताल बालगृहलगायत निकाय आसपासका क्षेत्रमा हुने सुर्तीजन्य पदार्थको बिक्री भए/नभएको अनुगमन गरिरहेको छ । शैक्षिक सङ्घसंस्था, अस्पताल लगायतका निकायको एक सय मिटरको वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न ऐनले रोक लगाएकाले त्यसको कार्यान्वयमा महानगरका अधिकारीहरु जुटेका हुन् । महानगरका उपसचिव प्रधुन्नप्रसाद उपाध्यायकोे नेतृत्वमा प्रत्येक दिनजसो बजार अनुगमन गरिँदै आइएको छ । अनुगमनका क्रममा ३५ पसलमध्ये १३ पसलमा यस्ता सामग्री पाइएको र चुरोट सेवन गर्दै गरेका दुईजना व्यक्तिलाई समेत कारवाही गरेको उनले जानकारी दिए । महानगरपालिकालाई ध्रुम्रपानरहित शहर (स्मोक फ्री सिटी) बनाइँदैछ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको हो । महानगरप्रमुख रेनु दाहालका अनुसार ध्रम्रपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ । गत महिना इन्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा उनले भरतपुर महानगरलाई ‘स्मोक फ्री’ सिटी बनाउने प्रतिबद्धता जनाएकी थिइन् । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा ४ अनुसार सार्वजनिकस्थल, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जनस्थल, होटल रेष्टुरेन्ट, खेलकूदस्थल, व्यवसायस्थल, धार्मिकस्थल, सार्वजनिक सवारीसाधन, प्रतीक्षालय तथा ध्रुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णतः निषेध गरिएको छ । होटल रेष्टुरेन्टहरुमा तोकिएको स्थानमा मात्र यसको सेवन गर्न पाइनेछ । तोकिएको स्थानमा अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ । रासस

यस वर्ष कर्णालीमा ३६ हजार परीक्षार्थीले एसईई दिँदै

सुर्खेत । आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख मोतिलाल शर्माले जानकारी दिए । “साधारण र प्राविधिक धारको नियमिततर्फ ३२ हजार ८९६ र प्राविधिक धारतर्फ ५६८ परीक्षार्थी छन्”, राससँगको कुराकानीमा उनले भने, “ग्रेड वृद्धि साधरणधारतर्फ दुई हजार ८१३ र प्राविधिक धारतर्फ २२ ले परीक्षा सम्मिलत हुँदैछन् ।” उनले कर्णालीभरिमा १७६ परीक्षा केन्द्र रहेकाे बताएका छन् । त्यसमा १७६ केन्द्राध्यक्ष, २४२ सहायक केन्द्राध्यक्ष, एक हजार ८११ निरीक्षक, ३६२ परीक्षा सहायक, ७२३ कार्यालय सहयोगी र दुई हजार ६५५ सुरक्षाकर्मीगरी जम्मा पाँच हजार ९६९ जनशक्ति प्रत्यक्षरुपमा परिचालन गरिने छन् । यो परीक्षामा पाँच लाख ६५ हजार १३६ मूलसहित तीन लाख ९५ हजार ५९५ थप उत्तरपुस्तिका कर्णालीका दशवटै जिल्लामा निर्देशनालयले पुर्याइसकेको उनले बताए । उत्तरपुस्तिका छपाइ, ढुवानी र परीक्षा सञ्चालनका लागि रु एक करोड ९० लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ । उत्तरपुस्तिका छपाइ र ढुवानी जिम्मा जनक शिक्षा सामग्रीलाई दिएको परीक्षा शाखा प्रमुख शर्माले जनाउनुभयो । उनका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन प्रत्येक जिल्लाका, एकाइ प्रमुख, सामाजिक विकास कार्यालयका प्रमुख, मानव स्रोत विकास केन्द्रका प्रमुखलाई अनुगमन तथा आचारसंहितासम्बन्धी दुईदिने कार्याशाला गोष्ठी गरिएको छ । स्थानीय तहमा भने माध्यमिक शिक्षा व्यवस्थापनसम्बन्धी प्रत्यक्ष संलग्नताको कानूनी आधार नभएकाले परीक्षाको व्यवस्थापकीय पाटोमा सहयोग गर्न स्थानीय सरकारका प्रमुख, शिक्षा हेर्ने अधिकृतलाई अनुरोध गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ । रासस