विकासन्युज

नेपाल लिकर्स र गायक दिपक बज्राचार्यबीच सांगीतिक सहकार्य

काठमाडौं । नेपाल लिकर्स प्राइभेट लिमिटेड तथा गायक दिपक बज्रचार्यसंग सांगितिक सहकार्य सम्बन्धि सम्झौता भएको छ । विगत लामो समयदेखि गायक बज्राचार्यसंग नेपाल लिकर्सले विभिन्न कार्यक्रमको सहकार्य गर्दै आइरहेको थियाे । सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरुप सोमबार उक्त सम्झौता गरिएको हो । नेपाल लिकर्सका अध्यक्ष राजेश विर सिहं तुलाधरले नेपाली संगित हाम्रो पहिचान भएकोले यसको प्रर्वद्धनका लागि गायक बज्राचार्यसंग सहकार्य गरिएको बताए । उनले गुणस्तरको मामिलामा वर्षैदेखि नेपालीमाझ लोकप्रिय रहेकोले यसलाई सांगितिक क्षेत्रले अझ उत्साहित गर्नेमा विश्वस्त रहेको बताए । यसले नयाँ कलाकारलाई समेत प्राेत्साहित गर्दै आगामी दिनमा नेपाली कलाकारको उत्थानमा लागि रहने अध्यक्ष तुलाधरको भनाई छ । नेपाल लिकर्सले नेपालमा एन्टिकुइटी व्लू व्हिस्की, सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रियर व्हिस्की, रोयर च्यालेन्ज व्हिस्की, व्लू रिव्याण्ड जिनको उत्पादन गर्दै आएको छ । उत्कृष्ठ कच्चापदार्थ तथा उच्च स्तरिय प्रविधीबाट अन्तराष्ट्रिय स्वाद तथा स्टान्डर्डको मदिरा नेपालमा उत्पादन गर्दै आएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको पुनः बोलपत्र आह्वान

दमौली । तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि तेस्रो पटक बोलपत्र आह्वान भएको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ जलविद्युत् आयोजनाले गत वैशाख १२ गते आह्वान गरेको दोस्रो पटकको बोलपत्रमा छनौट भएका चार कम्पनीको प्राविधिक प्रस्ताव रद्द भएपछि आयोजनाले शुक्रबार पुनः तेस्रो पटक बोलपत्र आह्वान गरेको हो । बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गर्दा १९ कम्पनीले चासो देखाए पनि चार वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । चार वटा कम्पनीले पेश गरेको प्राविधिक प्रस्तावलाई एशियाली विकास बैंक (एडिबी) ले सारभूत रुपमा प्रभावग्राही हुन नसकेको भन्दै रद्द गरिदिएको थियो । उक्त कामका लागि चीनको चाइना गेजुवा गु्रप अफ कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, चाइना नेसनल इलेक्ट्रिक इन्जिनीयरिङ कर्पोरेसन लिमिटेड तथा सोङ डा कर्पोरेसन भियतनाम र कालिका कन्स्ट्रक्सन नेपाल जेभीले बोलपत्र पेस गरेका थिए । तेस्रो पटक आह्वान गरिएको बोलपत्रको म्याद वैशाख १ गते (१३ अप्रिल) सम्म रहेको आयोजनाका सञ्चारविज्ञ सचेन गौतमले जानकारी दिए । पहिलो प्याकेजको कामका लागि असोजसम्म निर्माण कम्पनीसँग सम्झौता हुने र कात्तिकदेखि निर्माण कम्पनीलाई आयोजनास्थलमा खटाउने तयारी छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत् गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुख्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर ब्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाको विद्यृतगृह निर्माणका लागि २८ करोड ८० लाख डलर, प्रशारण लाइन तथा सबस्टेशन निर्माणका लागि एक करोड ५० लाख डलर, ग्रामीण विद्युतीकरणका लागि असी लाख डलर, जग्गा प्राप्ति तथा पुनःस्थापनाका लागि तीन करोड मिलियन डलर, वातावरण व्यवस्थापनका लागि दुई करोड १० लाख डलर, पूर्वाधार निर्माण तथा भन्सार एवं कर प्रयोजनका लागि चार करोड ६० लाख डलर, आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि दुई करोड ५० लाख डलर खर्च हुने अनुमान छ । यसका लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ सालको असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको छ । ‘केवल टनेल’ दुई महिनामा सकिने आयोजनाको दोस्रो प्याकेजअन्तर्गतको कामको ठेक्का पाएको सिनो हाइड्रोले केवल टनेलको कामलाई भने तीव्रता दिएको छ । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । उक्त प्याकेजका लागि सिनोले हाल केवल टनेल खन्ने काम गरिरहेको सिनो हाइड्रोका कमर्सियल म्यानेजर सुरेश चित्रकारले राससलाई जानकारी दिए । “पावरहाउसमा तारहरु लैजानका लागि १८७ मिटर सुरुङ खन्ने काम भइरहेको छ, दुई महिनाभित्र सुरुङ खनेर सकिनेछ,” उहाँले भन्नुभयो । उक्त सुरुङ खनेर सकिएपछि ‘मेन एक्सेस टनेल’ निर्माण शुरु गरिनेछ । कोरोना भाइरसको सङ्क्रमणका कारण आयोजनाको काममा केही असर परेको सिनो हाइड्रोले जनाएको छ । चीनबाट थप कामदार आउन नपाएका कारण काममा अलि अलि असर परेको चित्रकारले जानकारी दिनुभयो । “काम नै रोकिएको अवस्था भने होइन तर नयाँ कामदार आउन नपाएकाले केही असर भने परेको छ,” उनले भने । रासस

फलामे छडको कच्चापदार्थ आयात घट्याे, राजश्व सङ्कलन प्रभावित

भैरहवा । भैरहवास्थित भन्सार कार्यालयबाट फलामे छड बनाउन आवश्यक कच्चापदार्थ ‘एमएस बिलेट’ आयातमा कमी आउँदा राजश्व सङ्कलन समेत प्रभावित भएको छ । दोस्रो ठूलो सो भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को पुस महिनासम्म नौ हजार ८४१ मेट्रिक टन मात्र सो कच्चा पदार्थ आयात भएको छ । गत आवको सो अवधिमा २९ हजार ९०३ मेट्रिक टन आयात भएको थियो । २० हजार ६१ मेट्रिक टन कच्चापदार्थको आयातमा कमी आएको प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिए । कच्चा पदार्थ आयातमा कमी आउँदा राजश्वमा समेत कमी आएको छ । गत वर्षको पुससम्म दुई अर्ब २० करोड ४८ लाख ९२ हजार राजश्व असुली भएकोमा चालुआवको पुस सम्ममा ९५ करोड ९७ लाख २२ हजार मात्र असुली भएको छ । सो अवधिमा उठेको राजश्वमा एक अर्ब २४ करोड ५१ लाख ७० हजार कमी भएको भन्सार अधिकृत गोपाल शर्माले जानकारी दिए । पञ्चकन्या, लक्ष्मी, काठमाडौँ, एसआर, एभरेष्ट रोलिङ जस्ता ठूला छड उद्योगले यो भन्सार हुँदै भारतबाट कच्चापदार्थ ल्याउने गर्दछ । यसरी कच्चापदार्थको आयातमा कमी हुनु पूर्वाधार विकासका काम कमी हुनु बुद्धिजीवीहरु बताउँछन् । रासस

समीक्षाले दिने भईन् प्रधानमन्त्री ओलीलाई मिर्गौला, बुधबार प्रत्यारोपण हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण हुने भएको छ । बुधबार महाराजञ्ञ स्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीलाई समीक्षा संग्रौलाले मिर्गाैला दिने भएकी हुन् । प्रधानमन्त्री ओलीको दास्रो पटक हुन लागेको मिर्गाैला प्रत्यरोपण भाञ्जी पर्ने समिक्षा संगौलाले दिने भएकी छिन् । यस अघि बुहारी नाता पर्ने अन्जान घिमिरे मिर्गौला दिएकी थिइन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यरोपणको सफलता दर ९८ प्रतिशत छ।

अर्थमन्त्री र सेयर बजारको लुकामारीः खतिवडा नै दोहोरीने भनिएपछि नेप्सेमा उच्च गिरावट

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार सम्हालेको अघिल्लो दिन २०७४ फागुन १४ गते नेप्से १३ सय ५८ अंकमा थियो । खतिवडा अर्थमन्त्री भएर आएको केही दिनमै सेयर बजार नियमित रुपमा ओरालो लाग्यो । मन्त्री भएको तेस्रो दिन सेयर बजारकै कारण उनको आलोचना गरिएको थियो। फागुन १७ गते बिबिसीसँगको अन्तर्वातामा उनले सेयर बजार अनुत्पादक भएको टिप्पणी गरेका थिए। खतिवडाले पुँजीबजारबारे पहिलो टिप्पणी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा दिने कर्जा (मार्जिन लेन्डिङ) अनुत्पादक लगानी भएको उनको धारणा निकै आलोचित बन्यो । उनले त्यति मात्र भनेनन् सेयर बजारमा लहडका भरमा लगानी गर्नु हुँदैन, लहडमा लगानी गरेकाले बजार अस्वाभाविक रुपमा बढेको थियो, अहिले घट्नु सही, स्वाभाविक र सुधार हो भन्ने धारणा राखे । यो भनाइले पुँजीबजारमा झन् नकारात्मक प्रभाव पर्यो। लगानीकर्ताहरु उनी प्रति रुष्ट मात्र भएनन् उनको राजीनामा समेत माग गरे । त्यसपछि अर्थमन्त्रीले सेयर बजारको बारेमा सार्वजनिक सभामा बोल्न छोडका थिए । केही साताअघि उनी अर्थमन्त्रीबाट बाहिरे हल्ला थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा‍‍. खतिवडाको कार्यकाल २० फागुन अर्थात भोली सकिँदैछ । तर, उनलाई अर्थमन्त्रीको रुपमा पुनः दोहोर्याउने हल्ला पनि बजारमा छ । यसले पनि सेयर बजारमा प्रभाव पारेको हुन सक्ने जानकारहरु बताउँछन् । पुँजी बजारका लगानीकर्ता अर्थमन्त्री नफेरिने भएपछि सेयर बजार घटेको बताउँछन् । केही दिन अगाडि अर्थमन्त्री हट्ने भने र बढेको सेयर बजार पुनः खतिवडा नै दोहोरिने भएपछि आज ९६.०६ अंकले सेयर बजार घटेको छ । सोमबारको सेयर कारोबार नियमित समय अगाडि नै बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशतले घटेसँगै आजको लागि सम्पूर्ण कारोबार बन्द भएको हो । बजार एकैदिन ९६.०६ प्रतिशतले घटेर १४९५.३० अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ६.०४ प्रतिशतले घटी हो । सोमबार कारोबार खुलेदेखि नै नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको थियो । बजार खुलेको करिब दुई घण्टाको अवधिमा ५ प्रतिशतले घटेर ४० मिनेटको लागि बजार बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि परिसूचक अघिल्लो दिनको तुलनामा ६ प्रतिशतले घटेपछि सोमबारको लागि कारोबार बन्द गरिएको नेप्सेले जानकारी दिएको छ । सोमबारको सेयर बजार घट्नुको कारण अर्थमन्त्री यथावथ रहनु भएको जानकारहरु बताउँछन् ।  कतिपय लगानीकर्ताले मन्त्रिपरिषद् पुर्नगठन हुँदा अर्थमन्त्री परिवर्तन भएर सेयर बजारको उकालो लाग्न सक्ने कल्पना गरेका छन् ।

निजी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग राख्दै धर्ना

काठमाडौं । निजी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग राख्दै संस्थागत विद्यालय शिक्षक युनियनले धर्ना दिएको छ । लामो समयदेखि विभिन्न प्रतिष्ठान र कार्यरत कामदाहरुका प्रतिनिधिबिच सैद्धान्तिक सहमति भएपनि हालसम्म संस्थागत विद्यालयका शिक्षकहरुलाई समाजिक सुरक्षा कोषमा आबद्ध नगरेको भन्दै उनीहरुले सोमबार सामाजिक सुरक्षा कोषको कार्यालयमा धर्ना दिएका हुन् । कोष सुरु भएको एक वर्ष ३ महिना बितेर तीन पटक थप्दा पनि आठ हजार पाँच सय शिक्षकलाई कोषमा नसमेटिएको प्रति उनीहरुले विरोध जनाएका छन् । उनीहरुले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सम्पूर्ण बिद्यालयहरु शिधाधिशिघ्र सुचिकृत गराउने वातावरण बनाउन जोडदार माग गरेका छन् । उनीहरुले संस्थागत भनिने निजी विदयालयहरुले शिक्षक कर्मचारीहरुलाई नियुक्ति पत्र नदिएको,शिक्षा ऐन अनुसार बिद्यालय व्यवस्थापन समिती नबनाएको, नेपाल सरकारले तोकेको तलब बिदा बीमा उपादान लगाएतका सेवा सुबिधा नदिएको भन्दै विरोध जनाएका छन् । यी समस्यालाई यथाशीघ्र समाधान गर्ने आग्रह गरेका छन् । उनीहरुले विभिन्न अहिले एक दिने मात्र धर्ना भएकोले थप आन्दोलनका कार्यक्रमहरु पछि तय गरिने बताएका छन् ।

कृषि ऋणकाे ५० प्रतिशत ब्याज अनुदान दिँदै गण्डकी प्रदेश सरकार

कास्की । गण्डकी प्रदेश सरकारले कृषकलाई सहज तथा सुलभ वित्तीय पहुँच अभिवृद्धिका लागि कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवको स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रदेशमा पहिलोपटक व्यावसायिक कृषि ऋणको ब्याज अनुदान वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको हो । कृषिमा आकर्षण बढाउँदै उत्पादन वृद्धिका माध्यमबाट प्रमुख खाद्यन्नमा आगामी तीन वर्ष भित्रमा आत्मनिर्भर बन्ने लक्ष्य सरकारको छ । कृषकले बैंक तथा वित्तीय संस्थाबाट कृषि प्रयोजनका लागि लिएको कर्जाको ५० प्रतिशत ब्याज सरकारले एक वर्षका लागि अनुदान स्वरुप उपलब्ध गराउन कार्यविधि निर्माण गरी व्यावसायिक कृषक, फार्म, कम्पनी, कृषक समूह तथा सहकारीसँग प्रस्ताव आह्वान गरिसकेको मन्त्रालयले जनाएको छ । आवेदकले अनुदान लिनका लागि व्यावसायिक कार्ययोजना सहित तोकिएको समयसीमाभित्र पेश गर्नुपर्ने बताइन्छ । न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु ५० लाख सम्मको कृषि ऋणको पचास प्रतिशत ब्याज अनुदान दिने भए पनि यसअघि राज्यका कुनै पनि निकायबाट अनुदान लिइसकेका कृषक तथा कृषि उद्यमीलाई यो सुविधा उपलब्ध नहुने जनाइएको छ । तरकारी उत्पादन, भण्डारण बिक्री वितरण तथा प्रशोधन, बीउबिजन उत्पादन, पुष्प व्यवसाय तथा बागबानी, पशुपन्छीपालन, फलफूल उत्पादन तथा प्रशोधन र बिक्री वितरण, दुग्ध उत्पादन, च्याउ उत्पादन, पशु बधशाला, आलु तथा खाद्यान्न बाली उत्पादन, मौरीपालन, पशुपन्छीजन्य उद्योग तथा कृषि वन प्रणालीमा समावेश व्यवसायहरुमा ब्याज अनुदान उपलब्ध गराउने नीति मन्त्रालयले अघि सारेको हो । यस्तै प्राङ्गारिक तथा जैविक मल, विषादी, कपास, ऊन तथा रेशम खेती, जौ, फापर तथा सिलामको उत्पादन, बिक्री वितरण तथा भेडाच्याङ्ग्रा तथा चौँरी लगायतबाट ऊनको उत्पादन, प्रशोधन तथा बिक्री वितरण जस्ता व्यवसायमा समेत अनुदान प्रदान गर्ने योजना रहेको बताइन्छ । मन्त्रालयले ब्याज भुक्तानीमा अनुदान उपलब्ध गराउन चालू वर्षमा रु तीन करोड विनियोजन गरेको सो मन्त्रालयका मन्त्री लेखबहादुर थापामगरले जानकारी दिए । सो रकमबाट यस वर्ष रु ६० करोड बराबरको कृषि ऋणमा अनुदान उपलब्ध गराउने लक्ष्य राखिएको छ । “कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकीकरण र यान्त्रिकीकरणका लागि कृषकलाई सहज वित्तीय पहुँच अभिवृद्धिका लागि ब्याज अनुदान दिने नीति अघि सारिएको हो । आवेदकलाई प्रतिस्पर्धाका आधारमा छनोट गरी रु पाँच लाखदेखि बढीमा रु ५० लाख सम्मको ऋणमा अनुदान उपलब्ध गराउँछौँ”, उनले भने । अनुदान वितरणबाट युवावर्गलाई कृषि क्षेत्रमा आकर्षित गर्न सकिने, आयआर्जन तथा रोजगारीमा वृद्धि हुने तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्न सकिने विश्वास लिइएको छ । मन्त्रालयले ब्याज अनुदान उपलव्ध गराउने ऋणमा सम्बन्धित ऋण प्रवाह गर्ने संस्थाले ११ प्रतिशतभन्दा बढी नहुने गरी कायम गर्नुपर्ने र ऋणको ब्याजबाहेक अन्य कुनै पनि प्रकारको शुल्क लिन नपाइने कार्यविधिमा उल्लेख गरिएको मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले जानकारी दिए । सरकारले ल्याएको ब्याज अनुदान वितरण कार्यक्रमप्रति कृषकहरु उत्साहित देखिए पनि वितरणको माध्यम उत्पादनसँग जोडिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय पशुपालक कृषक समाजका गण्डकी प्रदेशका अध्यक्ष दीपक तिमिल्सिनाले कृषि पेशामा आकर्षण पैदा गर्नका लागि कार्यक्रम उपयुक्त रहे पनि अनुदान वितरणको माध्यम उत्पादनसँग जोड्नुपर्ने र त्यसलाई व्यवस्थित गर्न आग्रह गरे । कृषि प्रयोजनका लागि ऋण लिने र अन्यत्र लगानी गर्ने प्रवत्तिसमेत रहेकाले लगानी कृषिमा भए/नभएका बारेमा समेत सरकारले विशेष ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए । उनले भने, “ब्याज अनुदानको कार्यान्वयन गर्दा राजनीतिक आस्था, जातीय, लैङ्गिक आधारमा भन्दा पनि न्याय, समानता र उत्पादनलाई प्रमुख आधार बनाइनु आवश्यक छ । उत्पादन गरेर राज्यलाई दिएको योगदानका आधारमा वितरण मुख्य आधार बन्नुपर्दछ ।” प्रत्येक जिल्लामा रहेका कृषि ज्ञान केन्द्र तथा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रबाट कार्यक्रमको सहजीकरण तथा मन्त्रालयबाट सञ्चालनको योजना बनाएको छ । रासस

एनआईसी एशियाको नयाँ शाखारहित बैंकिङ्ग सेवा प्युठानको लामाचौरमा

काठमाडौं । एनआईसी एशिया बैंकले प्युठानको स्वर्गद्वारी नगरपालिका , लामाचौरमा आफ्नो ५५ औं बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त बैंकिङ्ग सेवाको उद्घाटन आइतबार सोही वडाका अध्यक्ष नरबहादुर बुढामगरले गरेका हुन् । यस शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा बैंकले गोपाल कृष्ण बुढामगरलाई नियुक्ती गरेको छ । ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै, सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयवासीहरूले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ । यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५१ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिंदै आएको छ ।