विकासन्युज

अब स्वदेशमै हुन्छ चट्टान र सुरुङ इञ्जिनीयरिङको पठनपाठन

कास्की । पूर्वाधार विकासमा पाइला चाल्दै गरेको नेपालमा पहाडी भौगोलिक अवस्थाका कारणले समेत विकासमा अवरोध ल्याइरहेको छ । अग्ला पहाड छिचोलेर सडक, खानेपानी, सिँचाइलगायतका आयोजना निर्माण गर्न समय र लागतसमेत बढी लाग्ने गरेकामा सरकारले द्रुत विकासका लागि सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षमा देशका विभिन्न १२ स्थानमा सुरुङगार्ग निर्माणको योजना अघि सारिएकामा नौबिसे–नागढुङ्गा शिलान्यास भए पनि आवश्यक दक्ष प्राविधिक र इञ्जिनीयरिङ जनशक्तिको अभावमा अन्य आयोजना अघि बढ्न सकेको छैन । त्यही अभावलाई स्वदेशमै आवश्यक दक्ष जनशक्ति उत्पादन गरी परिपूर्ति गर्ने लक्ष्यसहित नेपालमा पहिलोपटक इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा स्नातकोत्तर तहमा चट्टान तथा सुुरुङ (रक एण्ड टनेल) इञ्जिनीयरिङको अध्यापन शुरु गर्न लागिएको छ । क्याम्पसले आवश्यक भर्ना कार्यक्रमसमेत प्रकाशन गरेको छ । पहिलोपटक २० जनाको कोटा तय भएकाले चैत तेस्रो हप्ताभित्रमा भर्ना कार्यक्रम सम्पन्न गरेर आगामी वैशाख १६ गतेबाट कक्षा सञ्चालन गरिने क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताए । गत कात्तिकमा सो विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकहरुको सम्मेलनमार्फत स्नातकोत्तर तहको कोर्षको ढाँचामा रहेर चट्टान तथा सुरुङ इञ्जिनीयरिङको पाठ्यक्रमको प्रारम्भिक ढाँचा तयार गरिएको थियो । सो पाठ्यक्रमलाई इञ्जिनीयरिङ अध्ययन संस्थान सिभिल इञ्जिनीयरिङ विषय समितिले अन्तिम रूप दिएको थियो । त्यसलाई विद्या परिषद्मा लगेर त्यहाँबाट पाठ्यक्रम स्वीकृत भएपछि त्रिवि कार्यकारी परिषद्ले कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्रदान गरेको बताइन्छ । स्नातकोत्तर तहमा भौगोलिक अवस्थाको अन्वेषण, चट्टान तथा सुरुङ डिजाइन, कन्स्ट्रक्शन, सञ्चालन, मर्मत तथा सुरक्षालगायतका विषय कोर्षमा समावेश गरिएको छ । ‘ब्याचलर अफ सिभिल इञ्जिनीयरिङ’को कोर्षमा टनेल इञ्जिनीयरिङका केही विषय अध्यापन हुने भए पनि स्नातकोत्तर तहमा यस विषयलाई मात्र समेटेर पहिलोपटक अध्यापन गर्न लागिएको बताइन्छ । यसबाट स्नातकोत्तर तहमा सो विषय अध्ययनका लागि विदेश जानुपर्ने बाध्यतासमेत हट्ने भएको छ । “नेपाली भौगोलिक अवस्थाअनुसार तीव्र पूर्वाधार विकासका लागि सुरुङ निर्माणको विकल्प छैन, त्यसका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न आवश्यक सम्पूर्ण प्राज्ञिक प्रक्रिया पूरा गरेका छौँ, आगामी वैशाख १६ गतेबाट कक्षा सञ्चालन गर्दछौँ”, क्याम्पस प्रमुख पौडेलले भने । गण्डकी प्रदेश सरकार, नर्वेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी(एनटिएनयु) विश्वविद्यालय तथा नेपाल टनेलिङ एशोसिएशनलगायतका सङ्घसंस्थाले समेत कार्यक्रम सञ्चालन लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइन्छ । क्याम्पसले कार्यक्रम सञ्चालनको तयारी शुरु गरे पनि आवश्यक दरबन्दी तथा ल्याबलगायतका पूर्वाधार अभाव रहेको जनाएको छ । विदेशमा सो विषय अध्यापन गरेर आएकाले सहयोगको प्रतिबद्धता जनाएकाले शुरुआतमा उनीहरुमै निर्भर रहने योजना क्याम्पसको छ । विदेशमा रहेका विषयविज्ञ नेपाली तथा विदेशीसमेत अध्यापनका लागि आउन इच्छुक रहे पनि त्रिविको न्यून पारिश्रमिकका कारण कठिनाइ भएकाले सरकारले विशेष व्यवस्था गर्नुपर्ने माग क्याम्पसको छ । क्याम्पस प्रमुख पौडेलले भने, “सडक, जलविद्युत्, रेलमार्ग तथा अन्य पूर्वाधारका लागि हाम्रोजस्तो भूगोलमा सुरुङ निर्माणको विकल्प छैन, त्यसका लागि देशभित्रै जनशक्ति उत्पादन गर्ने योजना हो । वर्तमान सरकार र प्र्रधानमन्त्रीको इच्छा साकार पार्न हात उठाएका छौँ, सरकारको सहयोग हामीलाई चाहिन्छ ।” गण्डकी प्रदेश सरकारले समेत यस विषयको अध्यापनका लागि शुरुदेखि नै सक्रियता देखाएको थियो । चालू आवको नीति तथा कार्यक्रममा टनेल इञ्जिनीयरिङ विषय अध्यापनका लागि पाठ्यक्रम तयार गर्न रु १० लाख बजेट विनियोजन सरकारले गरेको थियो । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पहाडैपहाड भएको प्रदेशको विकासका लागि इञ्जिनीयरिङको जनशक्ति विकास गर्न सरकारले शुरुआतदेखि नै चासो दिएर सहकार्य गरेको बताउँदै नयाँ विषयको अध्यापनका लागि आगामी दिनमा समेत आवश्यक सहयोग गर्ने बताए । “रक एण्ड टेनल नेपालका लागि नौलो प्रविधिको पढाइ हो । त्यसका लागि सरकारले क्याम्पससँगको समन्वयमा आवश्यक साधन स्रोत उपलब्ध गराउन प्रतिबद्ध छ”, मन्त्री बस्नेतले भने । रासस

उद्योग वाणिज्य महासंघको चुनाव सार्न दबाब

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सार्न दबाब परेकाे छ । चैत २८ र २९ गते हुने भनिएको महासंघको ५४औं  वार्षिक  साधारणसभा सार्नका लागि प्रदेश संघहरुले दवाव दिएका हुन् । विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड १९) को कारण देखाउँदै उनीहरुले महासंघको साधारण सभा सार्न दबाब दिएकाे बुझिएको छ । स्रोतका अनुसार प्रदेश महासंघहरुले कोराेना भाइरसको कारण देखाउँदै आफूहरुले प्रदेशको साधारणसभा गराउन नसकेको भन्दै महासंघलाई पत्र पठाइसकेका छन् । केही प्राविधिक कारणले उनीहरुले महासंघ भन्दा एक महिना नै गर्नु पर्ने साधारणसभा गर्न सकेनन्, अहिले कोरोनाको कारण देखाएर महासंघको नै साधारण सभा सार्न दवाव दिइरहेका छन्, यसले महासंघलाई प्रभाव नपर्ला,’ स्रोतले भन्यो । महासंघको विधानका अनुसार महासंघको साधारण सभा हुनुभन्दा एक महिना अगाडि नै प्रदेश महासंघहरुले आफ्नो साधारण सभा गरिसक्नु पर्ने हुन्छ । तर, उनीहरु अहिले प्रदेशको साधारण सभा गर्ने मनसायमा देखिँदैनन् । उनीहरुले अहिले महासंघलाई कोरोनाको कारण देखाउँदै पत्र पठाइसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले महासंघको साधारणसभा सार्न नभई प्राविधिक कूरा र अब प्रदेश महासंघहरुले कसरी सधारणसभा गराउने भन्ने विषयमा निर्देशन माग्न पत्र पठाएको बताए । ‘प्रदेश महासंघको साधारणसभा माघ महिनाभित्रै गर्नु पर्ने विधानमा लेखिएको छ, महासंघको कार्यसमितिले साधारणसभा गर्ने निर्णयकाे ढिलाईका कारण हामीले माघमा साधारणसभा गर्न सकेनौ,  महासंघले एक्कासी चैत २८/२९ गते तोक्यो, त्यो भन्दा अगाडि हामी गर्न सक्ने अवस्थामा छैनौं’, उनले भने । सबै केन्द्रको साधारणसभामा व्यस्त भएकोेले पनि प्रदेशहरुले साधारणसभा गर्न नसकेको उनको भनाइ छ । ‘सरकारले नगर्नु भनेको छ, सरकारले भनेको मान्नै पर्यो, सबै तयारी गर्न सजिलो छैन, राज्यले सार् भन्यो भने सार्नु पर्ला,’ उनले भने । महासंघले साधारणसभा सार्ने कि नसार्ने भन्ने विषयमा अहिले भन्न नसकिने बताएको छ । यसका लागि फागुन ३० गते कार्यसमितिको बैठक बोलाएको बताइएको छ । यद्यपी शुक्रबार मात्रै महासंघले ५४औं वार्षिक साधारण सभा हुने भन्दै परिपत्र जारी गरिसकेको छ । महासंघले परिपत्र जारी गरेपनि महासंघका प्रतिनिधिहरुबिच भने चुनाव सार्नका लागि छलफल शुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले सार्वजनिक सभा समारोह नगर्न निर्देशन दिएसँगै महासंघमा चुनाव सार्नका लागि छलफल शुरु भएको हो । महासंघको २८ र २९ चैत्रमा हुने साधारणसभापछि हालको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने महासंघको व्यवस्था अनुसार गोल्छा अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्षमा रोचक भिडन्त हुँदैछ । चुनावका लागि यतिबेला उम्मेद्वारहरु भोट माग्न खटिएका छन् । उम्मेद्वारहरु भोटका लागि दौडिरहँदा यता महासंघको नेतृत्वले भने २८ चैतका लागि तोकिएको अधिवेशन स्थगन गरी नयाँ मिति तय गर्न छलफलमा जुटेको छ । सम्बन्धित समाचारः कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न १२ वर्षपछि पक्राउ

कलैया । पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिएका छन् । विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाने क्रममा तत्कालीन अवस्थामा भूमिगत रहेको नेकपा माओवादीले अपहरण गरेको थियो । अपहरणपछि निर्मम हत्या गरी शवलाई गाडेको अवस्थामा ३५ दिनपछि टङ्गीया बस्तीको जङ्गलमा शव सडेगलेको अवस्थामा कुकुरको सहयोगमा प्रहरीले बरामद गरेको थियो । हत्यामा संलग्न हरेराम पटेल, लालबहादुर चौधरी, रामएवाल सहनी र मैनेजर गिरी रहेका छन् । गिरी भने जेल जीवन भोगी जेलमुक्त भइसकेका छन् भने अन्य तीन जना अहिलेसम्म फरार रहेका छन् । तिनीहरुको पनि खोजी भइरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। हत्यामा संलग्न रहेकालाई आजीवन करावासको फैसला सुनाइएको थियो ।रासस

परीक्षा सञ्चालन तथा पठनपाठन बन्द गर्ने निर्णय फिर्ता

कैलाली । धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय आज फिर्ता लिएको छ । कोरोना भाइरस (कोभिड– १९) महामारीका रुपमा फैलिँदै गइरहेको र यसको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै शुक्रबार बसेको सरोकारवालाको बैठकले सम्पूर्ण शैक्षिक संस्थामा अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा र पठनपाठन रोक्ने निर्णय गरेको थियो । तर उपमहानगरपालिकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सम्पन्न गरिसक्नुपर्ने भनी पत्राचार गरेको पत्र प्राप्त भएको भन्दै आज पुनःशिक्षा सरोकारवालाको बैठक बोलाएर निर्णयमा पुनःविचार गरिएको नगर प्रमुख नृपबहादुर वडले बताए । उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई यथाशीघ्र परीक्षा सञ्चालन गरी चैत ५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको बताइएको छ । रासस

पञ्चकन्या ग्रुपले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । पञ्चकन्या ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । शुक्रबार आयोजित उक्त कार्यक्रम एक–आपसमा शुभकामना आदान–प्रदान गरी मनाइएकाे हाे । कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक सुश्री नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो । सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिएका थिए भने ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरुसमेत कार्यक्रममा प्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थल किन बन्द गर्दैन सरकार ?

काठमाडौं । कोरोना भाइरस विश्वभर फैलिएपछि नेपालमा पनि ठूलो त्रास फैलिएको छ । सरकारले कोरोना फैलने त्रासले नेपालभित्र अत्यावश्यक अवस्थामा मात्र घरबाट बाहिर निष्कशन, धेरै मासिन जमघट हुने कुनै पनि कार्यक्रम आयोजना नगर्न निर्देशन दिएको छ । कोरोना फैलिएको देशबाट नेपाल आउने विमानलाई नेपाल सरकारले किन रोक्दैन ? किन अन्तराष्ट्रिय विमानस्थल बन्द गर्दैन ? अन्तराष्ट्रिय विमानस्थल बन्द गर्दा वा विदेशीहरु प्रवेश गर्ने नाका बन्द गर्दा के नेपाली भोकै मर्छन् ? सरकारको प्राथमिकता कोरोना महामारी रोक्ने हो कि अन्तराष्ट्रिय विमानस्थल बन्द गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्छ, विश्व सम्बन्धमा खलल पर्छ भनेर विमानस्थल चालु राख्ने ? किन सरकारले महामारीलाई प्रवेशको लागि ढोका खुला राखेको छ ? सर्वसार्धारणले प्रश्न गरिरहेका छन् । तर सरकार महामारीको ढोका बन्द गर्न तयार छैन । ‘नेपाल कोरोनामुक्त देश हो । विदेशीलाई नेपाल ल्याएर सुरक्षित बाँच्न दिनुपर्छ’ भन्ने पर्यटन मन्त्री योगेश भट्टराईको विचारपथमा सरकार हिडिरहेको आभास सर्वसाधारणलाई भईरहेको छ । सर्वोच्च अदालतले समेत अन्तर्राष्ट्रिय उडान बन्द गर्न नेपाल सरकारलाई आदेश दिएको छ । तर अदालतको आदेश समेत सरकारले मानिरहेको छैन । सरकारी अधिकारीको तर्क अन्तर्राष्ट्रिय नागरिक उड्यन संस्था (आईकाओ), विश्व स्वाथ्य संगठन र अन्तर्राष्ट्रिय हवाई उडान सम्बन्धि सम्झौताहरुको आधारमा हवाई सेवा बन्द गर्न नसकिने सरकारी अधिकारीहरुको भनाई छ । ‘सर्बोच्च अदालतको आदेश वा सर्बसाधारणको भावनालाई मात्र आधार मानेर हामीले अन्तर्राष्ट्रिय उडानहरु बन्न गर्न सक्दैनौ । आईकाओ, डब्लुएचओ, अन्तराष्ट्रिय हवाई उडान सम्झौताले के भन्छ ? अन्तराष्ट्रिय अभ्यास के छ ? त्यसका आधारमा हामीले निर्णय लिनुपर्छ’ एक उच्च सरकारी अधिकारीले भने । नेपालबाट उडान जाने सबै देशमा कोरोना देखिएको तर नेपालले एक्लै चाहेर ती देशबाट हवाई सेवा बन्द गराउन नसक्ने उनको तर्क छ । विमानस्थलबाट कोरोना भाइरस नेपाल छिर्न सक्ने आशंकासहित त्यसलाई रोक्ने विषयमा मन्त्रालयमा नागरिक उड्यन प्राधिकरण प्रतिनिधि र विज्ञसँग पटक पटक छलफल भएको तर विमानस्थल बन्द गर्ने निर्णय नभएको स्रोतले बतायो । अरु देशले गरेको अभ्यास कोरोना भाइरस उत्पत्तिको देश चीन जाने सबै उडान अमेरिकाले बन्द गरेको तर अमेरिकाले चिनियाँ जहाज आउन नरोकेको उनले बताए । त्यस्तै, भारतले चीनतर्फको सबै उडान बन्द गरेको तर चीनबाट भारत जाने उडान भारतले नरोकेको उनले बताए । नेपालको हिमालयन एयरलाईन्सले चीनतर्फ साताको १५ वटा उडान भर्ने गरेकोमा कोरोना प्रकोपपछि सबै बन्द गरिएको तर चिनियाँ जहाज नेपाल आउने काम नरोकिएको उनले बताए । ‘पहिला चीनबाट सातामा ५० जहाज नेपाल आउँथे, अहिले सातामा ८ वटामा सीमित भएको छ’ उनले भने । दक्षिण कोरियाबाट सातामा ५ विमान नेपाल आउने गरेकोमा हाल ४ वटामा झरेको छ । नेपाल एयरलाईन्सले भने जापानमा अहिले पनि सातामा ३ वटा उडान जारी राखेको छ । धेरै देशले आफ्ना नागरिकलाई अत्यावश्यक पर्दा मात्र विदेश भ्रमणमा जान भनेकोले हवाई उडानको संख्यामा उच्च गिरावट देखिएको छ । विकसित देशहरुले हवाइ जहाजमा एक जना मात्र कोरोना संक्रमित यात्रु प्रवेश गरेमा विमानका सबै यात्रु, चालक तथा कर्मचारीलाई समेत कोरोना संक्रमणको जोहिम हुने भन्दै कडा स्वास्थ्य जाँच गरिरहेका छन् । विदेशी एयरपोर्टमा यसरी गरिने चाँजमा विश्वस्त हुँदै नेपाल सरकारले कडा कदम नचालेको जानकारहरु बताउँछन् । बन्द गर्दा नराम्रो सन्देश विमानस्थल बन्द गर्दा झन् नराम्रो सन्देश जाने सरकारी अधिकारीहरुको तर्क छ । ‘विदेशमा ६० लाख भन्दा बढी नेपाली छन् । उनीहरु नेपाल आउन चाहेको अवस्थामा फिर्ता हुन सरकारले सहयोग गर्नुपर्छ । यस परिवेशमा विमानस्थल बन्द गर्ने निणर्य गर्दा नराम्रो सन्देश जान्छ’ उनले भने । कोरिया, मलेसिया, जापान लगायत देशमा जाने नेपालीहरु कोरोनाको त्राससँगै नेपाल फर्कन चाहेका छन् । ‘हामीले विदेशी नागरिकलाई मात्र हेरेर भएन, आफ्नै देश फर्कन चाहाने नेपालीलाई पनि हेर्नुपर्छ’ उनले भने ।  सरकारले पछिल्लो समय विदेशीलाई दिने भिषमा कडाई गरेको, बढी जोखिम भएको देशका नागरिकलाई अनअराईवल भिषा बन्द गरेको, भिषा पाएका विदेशीले स्वास्थ्य परिक्षणको रिपोर्ट पेस गर्नु पर्ने लगायतको व्यवस्था गरिएको ती अधिकारीले बताए ।

प्रोफिट बुकिङको कस्तो प्रभाव रहला नेपाल लाइफको सेयरमा ? (समग्र विश्लेषण)

काठमाडौं । बीमा कम्पनीहरु सेयर लगानीकर्ताहरुको लागि खास हुने गर्दै आएका भएपनि यी क्षेत्रका कम्पनीहरुमा पहिलेको तुलनामा कम आकर्षण छ । यद्यपि कम आपुर्तिले यी कम्पनीका सेयरमा भने मूल्य उच्च नै रहने गरेको छ । गत साताअघिको बुलिश बजारमा समेत यी कम्पनीको सेयरमा उछाल आयो । अहिले प्रोफिट बुकिङ दर पनि यिनै कम्पनीमा उच्च छ । गत साताको सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रह्यो । कम्पनीको १ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भयो । यो कम्पनीको कारोबार बढ्दा अझै किन्ने कि बेच्ने ? यो कम्पनीको अहिले वित्तीय अवस्था के छ ? प्राविधिक विश्लेषणले लगानीसम्बन्धमा के भन्छ ? यिनै पाटोलाई यो विश्लेषणमा हेरिने छ । परिचय २०५८ साल बैशाखदेखि सञ्चालनमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हाल यो क्षेत्रको अग्रणी कम्पनीको रुपमा रहेको छ । जर्मनीको ह्यानओभर री–लाइफ री–इन्स्योरेन्स कम्पनीबाट नेपाल लाइफ कम्पनी कै समेत बीमा गरिएको छ । कम्पनीमा ४ सय ३० कर्मचारी कार्यरत छन् भने १ लाख १० हजार ६ सय १२ अभिकर्ताले कम्पनीको लागि बीमा पोलिसी बिक्री गरिदिने काम गर्दै आएका छन् । कम्पनीले नौलो धन वर्ष, जीवन उन्नति योजना, जीवन साहारा, नौलो जीवन सम्वृद्धि, सदाबाहर जीवन बीमा, स्मार्ट जीवन बीमालगायतका योजना सञ्चालन गरिरहेको छ । उपाधी कम्पनीले सन् २०१८ मा नेपाली राष्ट्रिय आर्थिक पत्रिका कारोबार दैनिकबाट सो वर्षको लागि बेस्ट इन्स्योरेन्स कम्पनी अफ दी इयर अवार्ड प्राप्त गरेको छ । सेयर लगानीकर्ता कम्पनीमा संघइ, अग्रवाल र गोल्यान समूहको पकड छ । यी सूमहको कम्पनीमा ४६ प्रतिशतभन्दा बढी सेयर लगानी छ । कम्पनीमा संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी छ । गोविन्दलाल संघइ कम्पनीका अध्यक्ष छन् भने प्रमुख कार्यकारी अधिकृतमा विवेक झा छन् । अन्य लगानी कम्पनीले ५५ कम्पनीको सेयरमा लगानी गरेको छ । हालको बजार मूल्यको आधारमा यो लगानी रकम २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । कम्पनीले ६६ अर्ब रुपैयाँ बराबर दीर्घकालिन तथा अल्पकालिन लगानी र कर्जा लगानी गरेको छ । लाभांश दर कम्पनीले २०७४/७५ को बार्षिक वित्तीय विवरण हालै मात्र पारित गरेको छ । सो अवधिसम्म ५ वर्षमा कम्पनीले बार्षिक औसत ४७.९२ प्रतिशत लाभांश वितरण गरेको छ । बोनश दर बीमा योजना खरीद कर्ताहरुलाई कम्पनीले प्रतिहजार रुपैयाँ बराबर ६५ देखि ८२ रुपैयाँसम्म बोनस दिदै आएको छ । बीमा योजना अनुसार भने बोनस दर फरक फरक हुने गर्छ । हाल नयाँ कम्पनीहरुबाट समेत उच्च बोनस दर दिइन थालेकोले कम्पनीले दिने बोनस दर दोस्रो स्थानमा छ । जीवन बीमा कोषहरुले सञ्चालन गरेको बिभिन्न योजनाहरुबाट भएको आम्दानीहरु पूँजीगत जगेडा कोष, बिशेष जगेडा, अन्य जगेडालगायतका शिर्षकहरुमा राखिएको हुन्छ । यी आम्दानीहरु (बीमा शुल्क, लगानी वा कर्जाबाट भएको आय) बाट दाबी भुक्तानी, आयकर लगायतका खर्च कटाएपछि बाँकी हुने रकमलाई बीमा कम्पनीहरुमा बचत भनिने चलन छ । यही बचत रकम बार्षिक रुपमा जीवन बीमा कोषमा सारिने गरिन्छ । बर्ष अन्त्यमा यस्तो कोषको मूल्यांकन गरेर वास्तविक दायित्व निकालिन्छ र सोभन्दा बढि भएको रकम (दायित्वमुक्त रकम) को १० प्रतिशत नाफामा र बाँकी बीमा योजना खरिद गरेका ग्राहकहरुलाई बोनस दर दिन प्रयोग हुन्छ । वित्तीय अवस्था चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरण अनुसार समग्र बीमा कम्पनीहरुमा खुद बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ पहिलो स्थानमा छ । खुद नाफाको आधारमा पनि कम्पनी पहिलो स्थानमा छ । कम्पनीको दोस्रो त्रैमाशमा भने नाफा २५ प्रतिशतले वृद्धि भएर ३५ करोड रुपैयाँ पुगेको छ । हरेक वर्षमा बीमांकीय मूल्यांकन हुने भएकोले यस्तो मूल्यांकनपछि बार्षिक नाफा थप वृद्धि हुन सक्छ । कम्पनीको बचत शतप्रतिशतले वृद्धि भएर ११ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये ११ अर्ब ६९ करोड जीवन कोषमा सारिएको छ भने १७ करोड ८४ लाख नाफा नोक्सान हिसाबमा सारिएको छ । योसँगै जीवन बीमा कोष ३७ प्रतिशतले वृद्धि भएर ७७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषमा समेत २८ प्रतिशतले रकम बढेर ४७ करोड पुगेको छ । यो कोष जति वृद्धि हुँदै गयो, कम्पनीबाट पुनरबीमाको नाममा बाहिरीने रकममा कटौती गर्न थप सहयोग पुग्दै जानेछ । कम्पनीसँग आफैले दायित्व लिन सक्ने (बीमा शुल्क रिटेन गर्ने) क्षमता बढ्दै जान्छ । –एक वर्षयताकै उच्च मूल्य १४९४ रुपैयाँबाट घट्दै –समग्र क्षेत्रगत उतारचढावभन्दा कम, नेप्सेमाभन्दा अधिक वित्तीय विवरणमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अझै १२ कम्पनीले बीमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउन सकेका छैनन् । पूँजी आधामा कम्पनी पहिलो स्थानमा छ । यस बर्ष जारी भएका बीमा लेखहरुबाट कम्पनीले १४ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हालसम्मको कुल यस्तो आर्जन भने १ खर्ब ५ अर्ब छ । कम्पनीले हालसम्म २१ हजार ३ सय ४७ बीमा लेखको दाबी भुक्तानी गरेको छ । यसमार्फत कम्पनीबाट ३ अर्ब १९ करोड ग्राहकले लगिसकेका छन् । कम्पनीमा परेका दाबीमध्ये भुक्तानी हुन बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको छ । दाबीको अन्तिम मूल्यांकनपछि कति भुक्तानी दिनुपर्ने वा दिनपर्ने वा नपर्ने निर्णय हुने गर्छ । गत आवको बार्षिक वित्तीय विवरण अनुसार कम्पनीको पर्सिसटेन्सी रेसियो उच्च (९२.१२ प्रतिशत) छ । यसले ग्राहकहरुले कम्पनीको बीमा लेख ( बीमा योजना) लाई कत्तिको निरन्तरता दिएका छन् भन्ने देखाउँछ । यो दर उच्च हुनु राम्रो संकेत हो । हाल कम्पनीमा १२ लाख ५८ हजार बीमालेख कायम छ । कायम बीमा लेख संख्याको आधारमा कम्पनी दोस्रो स्थानमा छ । रिलायबल लाइफ नयाँ कम्पनी भएपनि पहिलो स्थानमा छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.७७ छ । प्रतिसेयर आम्दानी निकै कम भएपनि मूल्य उच्च भएकै कारण मूल्य आम्दानी अनुपात ७८ प्रतिशतसम्म छ । यसले कम्पनीले कमाएको एक रुपैयाँलाई लगानीकर्ताहरुले ७८ रुपैयाँसम्म तिरेको देखाउँछ । यो जोखिम भने हो । यद्यपि बीमा कम्पनीमा केही वर्षदेखि नै यो प्रवृत्ति देखिएको छ र यसलाई नेपाली सेयर लगानीकर्ताहरुले पचाइरहेका छन् । उच्च उतारचढाव कम्पनीको सेयर मूल्य परिवर्तनको आधारमा गणना गरिएको स्ट्याण्डर्ड डेभिएसन (एसडी) ले मूल्यमा उच्च उतारचढाव नै रहेको देखिन्छ । समग्र नेप्से परिसचकमा १ सय २१ दिनमा भएको परिवर्तन अंकको आधारमा एसडी १७.७१ छ । जबकि कम्पनीको परिवर्तित अंकको आधारमा एसडी २४.२१ छ । तर, यही समूहको सूचकको परिवर्तित अंकको आधारमा भने यो कम उतारचढाव सहितको रहेको छ । जीवन बीमा कम्पनी समूह सूचकको एसडी १ सय ५४.१८ छ । बुलिश प्रवृत्ति कायमै कम्पनीको सेयर मूल्य एक वर्षयताकै उच्च मूल्य १४९४ रुपैयाँ पुगेर घट्ने क्रममा छ । यद्यपि मूल्य बुलिश प्रवृत्ति मै रहेको बिभिन्न प्राविधिक विश्लेषणका सूचकले देखाउँछ । कम्पनीको १४ दिने आरएसआई सुचक हाल सन्तुलित क्षेत्रमा छ । हाल यो स्केलको ५५.७९ मा आएको छ । ७ दिने सिम्पल मुभिङ एभरेज रेखा २१ दिनेभन्दा माथि नै छ । यसले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गर्छ । यी रेखालाई विशेष याद गरिराख्नु पर्ने देखिन्छ । यदी ७ दिने रेखालाई काटेर २१ दिने रेखामाथि लागेमा मूल्य घट्न सक्छ । मूल्य अन्तिम दिन बढेकोले पीभट विश्लेषणले भने अब आगामी एक महिनामा कम्पनीको मूल्य १ हजार ४ सय ५९ को पहिलो लिएर अगाडी बढ्ने र घट्न थालेमा १ हजार ७९ मा समेत टेवा परिक्षण गर्नेछ । कम्पनीको सेयर मूल्यले अन्तिम दिन डोजी आकृति बनाएको छ । मूल्य घट्दो क्रममा बनेको यो आकृतिले मूल्यमा सुधार आउने संकेत गर्छ । यो दरिलो संकेत भने होइन । लगानीकर्ताहरुले किनबेचको निर्णय गर्नुअघि केही समय कुर्नु सही हुन्छ ।

आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुग्यो हिंसापीडित आश्रयस्थल

रोल्पा । जिल्ला सदरमुकाम लिवाङमा रहेको हिंसापीडित महिला तथा बालबालिका अल्पकालीन आश्रयस्थल आर्थिक अभावले बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७३ मा स्थापना भएको सो आश्रयस्थल सञ्चालन गर्न अर्थाभाव भएपछि बन्द हुने अवस्थामा पुगेको जनाइएको छ । न्यायका लागि सदरमुकाम आउने हिंसापीडित महिला र बालबालिकाको लागि आश्रयस्थल अति प्रभावकारी बन्दै आएको थियो । साविकको महिला तथा बालबालिका कार्यालयको सहजीकरणमा सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको सो आश्रयस्थल पछिल्लो समय कसरी सञ्चालन गर्ने भन्ने अन्योल बढ्दै गएको छ । हालसम्म ३१२ ले आश्रय लिइसकेका छन् । तीमध्ये आठ पुरुषसमेत रहेको सहकारी संस्थाले जनाएको छ । बीसदेखि ४९ वर्ष उमेर समूहका हिंसापीडित भएर आश्रय लिएको देखिन्छ । सो उमेर समूहका २०२ जनाले सेवा लिएका छन् । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ५१ र ४९ देखिमाथि उमेर समूहका ५९ जनाले यो सेवा लिएको संस्थाका सचिव भावना शर्माले जानकारी दिएकी छन् । जातिगत रूपमा सबभन्दा धेरै दलित हिंसाबाट पीडित भएर आश्रय लिन आएको देखिन्छ । ब्राह्मण क्षेत्री ५९, जनजाति ८६ र दलित १६७ जनाले आश्रय लिएको उनले बताइन् । जिल्लामा जनजातिको बाहुल्य रहे पनि कम सङ्ख्यामा रहेका दलित नै हिंसामा पर्ने देखिएको संस्थाले जनाएको छ । हिंसाको मूल कारण अशिक्षा र गरिबी भएकाले यसको मारमा गैरदलितभन्दा दलित नै बढी देखिएको शर्माले बताएकी छन् । आश्रय लिनेमध्ये ठूलो सङ्ख्याका हिंसापीडित घरेलु हिंसाका छन् । शारीरिक हिंसा १२, मानसिक हिंसा ६१, सामाजिक हिंसा १७ र बालबाविवाहका आठ जनाले आश्रय लिँदा घरेलु हिंसाका २१० जनाले आश्रय लिएको सो संस्थाको तथ्याङ्कमा उल्लेख छ । बलात्कृत आठ र इँटाभट्टा जाने आठ जनाले समेत आश्रय लिएका छन् । आश्रयस्थललाई बन्द हुन नदिन आफूले सक्दो समन्वय गरिरहेको जिल्ला समन्वय समिति प्रमुख राजबहादुर बुढाले जानकारी दिए । प्रदेश सरकार तथा स्थानीय सरकारसँग यसको निरन्तरताका लागि आफूले बजेट विनियोजन गर्न समन्वय गरेको उनले बताए । आश्रयस्थल सञ्चालक समितिका अध्यक्ष तुलसी आचार्यले आश्रयस्थलको निरन्तरता जरुरी भएकाे बताए । रासस