व्यापारीले भने: हल्लाकाे पछि नलाग्नुस्, कुनै पनि उपभोग्य वस्तुको अभाव छैन
काठमाडौं । बजारमा उपभाेग्य वस्तुकाे अभाव भइरहेकाे हल्ला चलिरहेकाे बेला व्यापारीहरुले कुनै पनि उपभाेग्य वस्तुकाे अभाव नभएकाे बताएका छन् । विश्वभर कोरोना भाइरसको संक्रमण क्रम बढ्दै गएका बेला उपभोग्ताले हल्लाको पछि लागेर वस्तुको मौज्दातको राख्न थालेकाे बेला उनीहरुले यस्ताे प्रतिक्रिया दिएका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ती सचिव डा. बैकुण्ठ अर्यालले पनि उपभोग्ताले हल्लाको भरमा नै उपभोग्य वस्तुहरुको खपत बढाएको बताए । ‘उपभोक्ताहरु हल्लाको पछि लागेर बजारमा उपभोग्य वस्तु अभाव हुने हो कि भन्ने डरले चाहिनेभन्दा धेरै वस्तु किन्न थालेका छन्, बजारमा आवश्यक पर्ने वस्तु भएकाले आवश्यताभन्दा धेरै वस्तु नकिन्न आग्रह छ,’ अर्यालले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोरोनाको त्रासले औषधी अभाव हुने हो कि भनेर उपभोक्ताले चाहिनेभन्दा धेरै औषधी किन्न थालेको बताए । ‘बजारमा आवश्यक पर्ने औषधीको अभाव हुँदैन, भारतले केही औषधीमा प्रतिबन्ध लागाए पनि चीनले औषधी उत्पादन गर्ने कच्चा पदार्थ दिन तयार रहेको छ,’ कोइरालाले भने । नेपाल चेम्बर अफ कर्मशका अध्यक्षे राजेशकाजी श्रेष्ठले माक्स उत्पादकसगँ चेम्बर अफ कर्मशले ७ रुपैयाँ किनेर ५ रुपैयाँमा बिक्री गरिरहेकाे बताए । दुई दिन पछि बजारमो मागभन्दा धेरै उत्पादन हुने श्रेष्ठकाे भनाइ छ । नेपालमा तेल, चामल र दाल बिक्रेता सघंका अध्यक्ष अनिल पराजुलीले नेपालमा तेल, चामाल र दाल ५ महिनालाई पुग्ने अवस्थामा रहेको बताए । साल्ट ट्रेडिङ कर्पोरेशनका सिइयो उर्मीला श्रेष्ठले नेपालमा नुनको आयात तथा विक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी १० महिनासम्मलाई पुग्ने नुन मौज्दात रहेको बताइन् ।
बजारमा उपाभोग्य सामानको अभाव नहुने साल्ट ट्रेडिङको दावी, नुन मात्रै १० महिना बढीलाई मौज्दात
काठमाडौं । नेपालमा नुनको आयात तथा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा उपभोग्य सामानको अभाव नहुने बताएको छ । कोरोनाको संक्रमण फैलिएपछि छिमेकी देश चीनले व्यापारिक नाका बन्द गरेपनि हाललाई त्यसको प्रभाव नेपाली बजारमा नपर्ने कम्पनीले दावी गरेको छ । कम्पनीले करिब एक लाख ५५ हजार २ सय ९ मेट्रिक टन(मे. टन) आयोडिनयुक्त नून बफर स्टक मौज्दात रहेको बताएको छ । करिब एक लाख ३२ हजार ७ सय ९ मेट्रिक टन आयोडिनयुक्त नून गोदाममा र २२ हजार ५ सय मे. टन मार्गस्थल गरी सो मात्राको नून मौज्दात रहेको छ । सो परिमाणको आयोडिनयुक्त नूनले देशभरीका जनताहरुलाई करिब १० महिना भन्दा बढी समयसम्म आपूर्ति व्यवस्था मिलाउन कर्पोरेशनको क्षमता रहेको छ । त्यस्तै, चिनीको आपूर्तिमा समेत कुनै अभाव हुन नदिन कपोरेशनसँग हाल २५ सय मे. टन गोदाममा र मार्गस्थलमा ७५ सय मे.टन गरी जम्मा १० हजार मे. टन स्टक मौज्दात रहेको कर्पोरेशनले जनाएको छ । कर्पोरेशनको गोदाममा युरिया २७ हजार १ सय ४५ मे टन, डिएपी १३ हजार ४ सय ३३ मे टन र पोटास ८३.३० मे टन गरी ४० हजार ६ सय ६२ मे टन स्टक रहेको छ । कर्पोरेशनसँग न्यूज प्रिन्ट, आर्ट पेपर लगायत प्रयोजनको लागि हाल करिब ८०० मे टन कागज स्टक मौज्दात रहेको छ । कर्पोरेशनले विगतमा नेपालमा भएकाे अघाेषित नाकाबन्दी, विनाशकारी भूकम्प लगायतका समयहरूमा कही कतै कुनै अभाव नहुने गरी आयोडिनयुक्त नुनको आपूर्ति व्यवस्था मिलाउँदै आएको छ । कर्पोरेशन अन्तर्गत केन्द्रिय लगायतका ४९ कार्यालयहरु, विभिन्न दुर्गम जिल्लाहरुमा बिक्री केन्द्र ३१ कायालयको अलावा ६ हजार डिलर तथा किराना खुद्रा पसलहरु मार्फत नेपालभरी अति आवश्यक वस्तु नून लगायतका वस्तुहरुको आपूर्ति सजिलै गर्दै आएको छ ।
प्रधानमन्त्री सक्रिय हुन अझै ६ महिना लाग्ने, शुक्रबार डिस्चार्ज हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिलाको जस्तै सक्रिय हुन ६ महिना लाग्ने प्रधानमन्त्रीका चिकित्सकहरुले बताएका छन् । यस्तै प्रधानमन्त्रीले एक महिनामा बैठक राख्न सक्ने तर भिडभाडमा जान नहुने डा. दिव्यसिंह शाहले बताइन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीका शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएकी हुन् । यस्तै प्रधानमन्त्रीलाई हालकाे लागि डिस्चार्ज नगर्न चिकित्सकलहरुले बताएका छन् । ओली निवासमा जाँदा भेटघाट बढ्नुको साथसाथै अन्य कार्यक्रममा पनि सक्रियता बढ्ने सम्भावनाका कारण संक्रमणको जोखिम ज्यादा हुने भएकोले केहि दिन अस्पतालमै राख्न परिवारका सदस्यले आग्रह गरेपछि डिस्चार्ज नगर्ने चिकित्सकले बताएका छन्। उनकाे डिस्चार्ज शुक्रबार हुनसक्ने शाहले बताइन् । प्रधानमन्त्रीको गत बुधबार मिर्गौला प्रत्यारोपण भएको थियो।
आर्थिक संकट झेल्न सरकारी राहतकाे खाँचो
काठमाडौं । चीनबाट विस्तार भएको कोराना भाइरस तीन महिना नबित्दै विश्वका १०९ देशमा फैलिएको छ । यस भाइरसबाट एक लाख १० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३ हजार ५०० भन्दा बढीको ज्यान गएकोछ । त्यो भन्दा ठूलो समस्या के छ भने यो रोगको औषधि पत्ता नलागेकोले विश्वभरका सबै मानिस त्रसित भएका छन् । र, यसको प्रत्यक्ष असर विश्व अर्थतन्त्रमा परेको छ । मंगलबार नेपालको सेयर बजार ८६ अंकले घट्यो । गत विहीबार पनि यसरी नै घटेको थियो । नेपालमा मात्र होइन, विश्वभरको सेयर बजार राताम्म भएका छन् । सेयर जस्तै विश्व बजारमा पेट्रोलिम पदार्थमा मूल्य घटिरहेको छ । एक वर्षअघि प्रतिव्यारेल ७० अमेरिकी डलर भन्दा माथि रहेको कच्चा तेलको मूल्य अहिले प्रतिव्यारेल ३३ अमेरिकी डलरमा झरेको छ । अमेरिकी डलर धेरै महँगो भएको छ । त्यस्तै, सूनको मूल्य बढिरहेको छ । मंगलबारको लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्री मूल्य ११८ रुपैयाँ ८४ पैसा तोकेको छ । यो अहिलेसम्म कै सबैभन्दा महँगो मूल्य हो । यसको अर्थ विश्वभर पुँजी उत्पादन मुलक क्षेत्रमा नभई अनुत्पादक तर सुरक्षित संचितीको क्षेत्रमा प्रवाह भईरहेको छ । विश्व अर्थतन्त्रा ठूलो संकट देखिएको र नेपाली अर्थतन्त्रले पनि ठूलै संकटको सामाना गर्नु पर्ने अवस्था आएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन् । ‘नेपालबाट निर्यात कम हुने भएकोले अरु देशलाई भन्दा कम नकारात्मक असर पर्छ । तर कोरोनात्रासले नेपालका उद्योग, व्यापार र सेवा सबै क्षेत्रलाई ठूलो क्षति पुग्दैछ’ गोल्छाले भने । स्थिति जटिल बन्दै गएकोले व्यवसायिक क्षेत्रलाई राह्रात दिने कार्यक्रम सरकारले ल्याउनु पर्ने नेपाल सिमेन्ट उत्पादक संघका वरिष्ठ उपाध्यक्ष डा ताराप्रसाद पोखरेल बताउँछन् । ‘संकटको बेलामा बाँच र बचाऊ अभियान चलाउनुपर्छ’ पोखरेल भन्छन्–‘यस्तो बेलामा सरकारले कर छुटको कार्यक्रम ल्याउनुपर्छ । बैंकको व्याजदर घटाउने र कर्जा भुक्तानी कार्यकालिमा खुकुलो बनाईदिनुपर्छ ।’ विश्वभर राहत योजना विश्व बैंकले कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पार्ने क्षति न्यूनिकरण गर्नको लागि १२ अर्ब अमेरिकी डलरको राहत योजना घोषणा गरेको छ । त्यस्तै, अमेरिकाको राष्ट्रपति डोनाल्ट ट्रमले कर छुटको सम्भाविन योजनाहरु बनाउने काम गरिरहेको सोमबार घोषणा गरेका छन् । उनले गत महिनामा नै कोरोना विरुद्ध लड्न ८ अर्ब ३० करोड अमेरिकी डलरको योजनामा हस्ताक्षर गरिसकेका छन् । अष्ट्रेलिया सरकारले पनि कोरोनाभाइरसबाट पर्ने असरलाई कम गर्न साना तथा मझ्यौला व्यवसायी र वृद्धवृद्धा सहयोग गर्ने योजना बनाउने लागेको छ । नेपाल सरकारले पनि नेपाली व्यवसायीहरुलाई परेको संकट झेल्न सरकारले सहयोग गर्नुपर्ने आवाज व्यवसायीहरुले उठाएका छन् । विश्व अर्थतन्त्र संकटमा परेको र त्यसमा नेपाल पनि फसेको बेलामा नेपालका ट्रेड यूनियनहरु भने सुविधा कटौति हुन नहुने भन्दै आन्दोलित हुँदैछन् । ट्रेड यूनियनहरुको राजनीतिले व्यवसायिक क्षेत्र झन् तनावमा परेको छ ।
अब व्यवसायीले नयाँ ग्यास सिलिन्डर बेच्न नपाउने
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ती सचिव डा. बैकुण्ठ अर्यालले नयाँ ग्यास सिलिन्डर नबेच्न व्यासायीलाई आग्रह गरेका छन् । बजारमा ग्यास अभाव हुन नदिनकाे लागि नयाँ ग्यास नबेच्न उनले आग्रह गरेका हुन् । नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा आयाेजना गरेकाे कारोना भाइरसको सन्दर्भमा आपुर्ति व्यवस्थाका विद्यमान स्थिति बारे अन्र्तक्रिया कार्यक्रमममा उनले सो कूरा बताएका हुन् । यतिखेर कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै नागरिकहरुमा त्रास छ । कोरानाको त्राससँगै बजारमा उपभोग्य सामान पनि अभाव हुने होकि भन्ने पनि चिन्ता बढेको बेला सचिव अर्यालले बजारमा ग्यास अभाव हुन नदिन नयाँ सिलिण्डर नबेच्न व्यवसायीलाई आग्रह गरेका हुन् । उनी केही दिन अघि मात्र बजारमा सामानको अनुगमनमा निस्केका थिए । बजारमा उपभोग्य सामानको कृतिम अभाव सिर्जना गर्नेलाई पनि कारबाही गर्दै आएको छ । हाल बजारमा विशेष गरी माक्सको मात्र अभाव रहेका बताइएको छ । तर, उपभोक्ताहरु भने ग्यासको पनि अभाव हुने होकि भनेर ग्यास भण्डारण गर्न लागेका बेला उनले व्यवासायीलाई सो कूरा आग्रह गरेका हुन् ।
कोरोना संकटबारे सरकारका प्रवक्ता भन्छन्: सबै डाक्टर नबनौं
काठमाडौं । सरकारले कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको विषयमा अध्ययन गर्न गठन गरेको समितिको बैठक बसेको छ । सो बैठकमा जोखिम व्यवस्थापनबारे छलफल भएको छ । बैठकमा निजी क्षेत्रसँगको सहकार्यमा गरिनुपर्ने प्रमुख कार्यहरुका बारेमा छलफल भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यस्तै, अत्यावश्यक बस्तुहरु, खाद्यान्न, पेट्रोलियम पदार्थ तता औषधी जस्ता बस्तुहरुको स्टकको अवस्था के कस्तो छ भन्ने विषयमा पनि छलफल भएको छ । भारतले औषधी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पर्न सक्ने असरको बारेमा पनि छलफल भएको मन्त्री खतिवडाले जानकारी दिए । आयातको लागि भन्सार विन्दुमा आइपुगको औषधीको प्रक्रिया पूरा गरेर नेपाल भित्र्याइने उनले जानकारी दिए । पछिल्लो समयमा नेपालमा निजी क्षेत्रबाट मास्क उत्पादन बढेको मन्त्री खतिवडाले जानकारी दिए । मास्क उत्पादन बढेसँगै जोखिमयुक्त क्षेत्रमा काम गर्नेहरुले लगाउनु पर्ने उच्च सुरक्षा सहितको मास्कको बारेमा जानकारी गराउने निर्णय पनि भएको छ । सरकारले आफूलाई चाहिने औषधी मात्रै खरिद गर्न र अस्वभाविक रुपमा संचय नगर्न आम सर्वसाधारणसँग अनुरोध गरेको छ । यस्तै, चाहिनेभन्दा बढी ग्यासका सिलिण्डर घरमा जम्मा नगर्न पनि मन्त्री खतिवडाले अनुरोध गरे । भारत भएर आउने व्यापारमा कुनै पनि अवरोध नभएको भन्दै उनले भारतको प्रतिबन्ध लगाएको केही औषधी आयातमा भने समस्या रहेको बताए । भारतबाट आउने पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा पनि समस्या नभएकोले चाहिनेभन्दा धेरै नकिन्न उपभोक्तालाई आग्रह गर्न सरकारले व्यापारीसँग अनुरोध पनि गरेको छ । सूचना सम्प्रेषणमा स्वास्थ्य मन्त्रालयले आवश्यक जानकारी दिए भएकोले त्यसैमा भर पर्न मन्त्री खतिवडाले आग्रह गरे । जथाभावी सुचना सम्प्रेषण हुँदा सर्वसाधारणमा भ्रम उत्पन्न भएको उनको भनाइ छ । ‘स्वास्थ्य मन्त्रालयले आवश्यक सुचना सम्प्रेषण गर्छ, सरकारले सम्प्रेषण गरेको सुचनामा नै भर परौं, हामी सबै डाक्टर नबनौं, आफै धेरै जान्ने नहौं, यस्तो हुँद स्थिति अलि भयावह हुन सक्छ, जुन अहिले आवश्यक छैन, संयमले काम गर्नुपर्छ,’ मन्त्री खतिवडाले भने । सरकारले कोरोना भाइरसबाट उत्पन्न हुने संकट सामना गर्नको लागि अन्य राजनीतिक दलहरुसँग पनि परामर्श गर्ने भएको छ । अहिले स्टकमा रहेका सामानमा औषधीको स्टकले ४ देखि ५ महिनासम्म पुग्न सक्ने रहेको छ । खाद्यान्न ६ महिनाको लागि पुग्न सक्ने र पेट्रोलिय पदार्थ ३ महिनाको लागि पुग्ने रहेको छ । दैनिक उपभोग्य बस्तुको कालाबजारी र लुकाउनेप्रति सरकार कठोर रुपमा प्रस्तुत हुने उनले बताए । सबैले व्यवसायिक अनुशासनमा रहेर काम गर्न सरकारले सबैसँग अनुरोध पनि गरेको छ । बैठकमा सरकारका मन्त्रीहरु, निजी क्षेत्रको प्रतिनिधिमुलक संस्थाका अध्यक्ष तथा पदाधिकारी तथा नेपाल सरकारका उच्च अधिकारीहरुको सहभागिता थियो ।
प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम संखुवासभामा
काठमाडौं । प्रभु बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम संखुवासभाको विकट क्षेत्र चिचिला गाउँपालिकामा भएको हो । चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधी, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाज लगायतका व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आप्mना भनाईहरु राख्दै स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने बारेमा बताएका थिए । चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रुपमा परिचित भएको भएतापनि नगदेबालीको रुपमा अलैंची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नको लागि स्थानीयबासीहरु नै अग्रसर भई लागेमा आर्थिक रुपमा सम्पनन हुन सकिने बताए । कार्यक्रममा प्रमुख अतिथी चिचिला गाउँपालिकाका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभु बैंक र सेजनलाई विशेष धन्यबाद दिए । कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतम, बरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा एवं प्रभु बैंक खाँदबारी शाखा कार्यलयका शाखा प्रमुख सुमन बस्नेत लगायतले वित्तीय व्यवस्थापनबारे आ–आप्mना भनाईहरु राखेका थिए ।
नेपाल वायुसेवा निगमले दोहा उडान स्थगित गर्यो
काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो । कतारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि निगमले उक्त मुलुकको उडान स्थगन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । “कतारले अस्थायी प्रतिबन्ध लगाएका १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपालीले पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगन गर्नुपरेको हो”, निगमको विज्ञप्तिमा भनिएको छ । निगमले २०७६ फागुन २६ गते र सो भन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने जनाएको छ । त्यस्तै, टिकटको उडानको मिति दुई पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ । निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो । यसअघि हिमालय एयरलाइन्सले सोमबारदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान रोक्ने निर्णय गरेको थियो । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई दोहा उडान स्थगन गरिएको कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले बताएका छन् । रासस