सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा गर्यो एमडीआरटी कार्यक्रम
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा एमडीआरटी(मिलियन डलर राउन्ड टेबल) कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले गरिएकाे थियो । कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले एम्डीआरटी के हो, यसको प्रक्रिया, आवश्यकता र लाभहरुको बारेमा प्रकाश पार्दै सिटिजन लिडरहरुलाई प्रेरित गराएका थिए । साथै, उनले एमडीआरटीको लागि योग्य हुन आवश्यक कुराहरुमा जोड दिए । सोहि कार्यक्रममा एमडीआरटीमा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरुलाई तथा यसको लक्ष्य लिएका सिटिजन लिडरहरुलाई सम्मान पनि गरिएको थियो । समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउदै एमडीआरटी जस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने बताए ।
भूकम्प पीडितको काँधमा ऋणको बोझ
बलेवा । वर्षौ बित्दासमेत यहाँका भूकम्प पीडितले राज्यले घोषणा गरेको पुनःनिर्माण अनुदान नपाएको गुनासो गरेका छन् । बागलुङमा सूचीकृत भएकामध्ये केहीले दोस्रो र तेस्रो किस्ताको अनुदान पाउन कठिन भएको बताएका छन् । एकमुष्ट रु तीन लाख अनुदान पाउनुपर्नेको सङ्ख्या जैमिनी नगरपालिका वडा नं १ र २ मा धेरै छ । त्योबाहेकका ६८ बनिसकेका घरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिने अनुदान पाउन कठिन भएको छ । विशेष गरेर प्राधिकरणले प्राविधिक पठाउनुअघि बनेका घरले अनुदान पाएका छैनन् । सूचीकृत भएर पहिलो किस्ता पाएका केही र दोस्रो किस्तासमेत पाएका धेरैको तेस्रो किस्ताको रकम रोकिएको प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बागलुङले जनाएको छ । अनुदान नपाउनेले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । “पालमुनी कहिले पानी कहिले चिसो, केटाकेटी त जोगाउनै पर्यो भनेर ऋण गरी घर बनाइयो”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेम लम्सालले भने, “कसैको आशा थिएन्, सरकारले हेर्ला भन्ने त थियो ।” सरकारले उनीहरुको घर निर्माण गर्ने बेलासम्म पुनःनिर्माण प्राधिकरण गठन गरिएको थियो तर काम शुरु भएको थिएन । घर बनाएर सकेको भोलिपल्टै मजदुरी गरी ऋण तिर्ने काममा लागेका लम्साल र नेपाली जस्ता कयौँले अझै ऋणको भारी बोकिरहेका छन् । सरकारले निजी निवास पुनःनिर्माणको लागि अनुदान दिने घोषणा गर्यो । सोहीअनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन भएर काम चलिरहेको छ । तर उनीहरु जस्तै कयौँ पीडितले भने राहतभन्दा धेरै पीडा भोग्दै आएका छन् । पहिले सरकारले खटाएका प्राविधिकले जाँच गरेर सिफारिस भएका घरलाई मात्रै अनुदान दिने भनिएकाले उनीहरुका घर सरकारले बनाएको कार्यविधिमा परेका थिएनन् । वास्तविक भूकम्प पीडित भएकाले पीडितको सूचीमा सूचीकृत भएर पहिलो किस्ताको रकम मात्रै त्यस्ता घरले पाएका थिए । “प्राविधिकले सिफारिस गरेअनुसार घर बनाउनुपर्ने भन्ने कुरा आयो, हाम्रो घर त बनिसकेको थियो”, लम्सालले भने, “पछि पहिलै बनेका घरले पनि एकमुष्ट पाउने भन्ने सूचना आएकाले प्रक्रिया पूरा गरेर गयौँ तर रकम पाइएको छैन ।” निजी आवास पुनःनिर्माणको अनुदानका लागि धाउदा समयको बर्बादी मात्रै भएको लम्साल बताउँछन् । उनीहरुले अहिलेसम्म दोस्रो र तेस्रो किस्ताको रकम पाएका छैनन् । जैमिनीमा मात्रै ४२ परिवारले प्राविधिक आउनु पूर्वनै घर बनाएको भनेर निवेदन दिएका छन् तर एकमुष्ट आउने भनिएको रकम अहिलेसम्म आएको छैन । राष्ट्रिय पुनःनिर्माण निर्देशक समितिको विसं २०७५ माघ ३ गते बसेको बैठकले पहिले नै घर बनाएकालाई थप समस्यामा पारेको छ । निर्णयको १ नम्बर बुँदामा उल्लेख भएको व्यवस्थाअनुसार जिल्लाभरका ६८ पीडित परिवारलाई रकम उपलब्ध गराउन नसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइका स्रोतव्यक्ति विक्रम सापकोटा बताउँछन् । उनका अनुसार, प्राविधिक आउनुपूर्व घर बनाइसकेका ३७७ परिवारले एकमुष्ट रु तीन लाख भुक्तानी पाएका छन् । “निर्णयअनुसार कार्यविधि बनेको छ, कार्यविधिले रोकेको कुरा हामीले गर्न मिलेन”, सापकोटाले भने, “बाँकी पीडितको अवस्थाबारे रिपोटिङ भएको छ, माथिबाटै निर्णय होला ।” अनुदानको भुक्तानी लिएकामध्ये अधिकांश प्राविधिक पुग्नु अगावै घर बनाएका तर प्राविधिककै सिफारिसमा दोस्रो किस्ताको रकम पाएका छन् । पीडितहरु प्राविधिकको लापरवाहीका कारण आफूहरुले पाउने रकम रोकिएको बताउँछन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले भन्नुभयो, “प्राविधिक र जनप्रतिनिधिले मनलाग्दी गरेका कारण हामीलाई थप पीडा आइलाग्यो ।” आशा देखाएको अनुदान नपाउदा आफूहरुलाई थप पीडा भएको उनीहरुको गुनासो छ । जिल्ला कार्यान्वयन एकाइले भने प्रक्रिया पूरा भएका कसैको पनि अनुदान नरोकिएको जनाएको छ । “यसवर्ष बजेट नपुगेकाले प्रक्रिया पुगेकाको पनि रकम पठाउन सकिएको छैन”, एकाइका सूचना अधिकारी चुर्णबहादुर कार्कीले भने, “दोस्रो किस्ता पाउनुभनेको प्राविधिक हिसाबले पास भएरै पाउनु हो, भवनले के कसरी काम गरिरहेको छ थाहा भएन ।” चालू आवमा बागलुङमा निजी निवास पुनःनिर्माणको लागि मात्रै रु १२ करोड बजेट थियो । जिल्लामा सूचीकृत भएका दुई हजार ६३१ पीडित छन् । पीडितमध्ये दुई हजार २२६ ले पहिलो किस्ता, एक हजार ५९९ ले दोस्रो किस्ता र एक हजार ३२९ ले तेस्रो किस्ताको रकम पाएका छन् । पूर्णक्षति नभएर प्रबलीकरण गर्नुपर्ने १६१ परिवारमध्ये हालसम्म ८७ परिवारले सम्झौता गरेर पहिलो किस्ता लगिसकेको कार्कीले जानकरी दिए । दुई जनाले दोस्रो किस्ताको रकम पाएका छन् । रासस
धनी बन्नबाट तपाईंलाई रोक्ने केहि गलत धारणाहरु, कसरी जित्ने यी भ्रमहरुलाई ?
काठमाडाैं । जीवनमा कसरी आर्थिक सफलता हासिल गर्ने वा सम्पत्तिको आर्जन कसरी गर्ने भन्ने विषयमा तपाईंले प्रशस्तै सोच्नुभयो होला । यदि तपाईंले जीवनमा धन आर्जन गर्न अथक प्रयास गर्नुभएको छ, तर पनि सोचेजति कमाउन सक्नुभएको छैन भने तपाईं अबसम्म यो निष्कर्षमा पुगिसक्नुभयो होला कि धन भन्ने चिज जोसुकैको भाग्यमा छैन । तपाईंको श्रोत तथा पुँजीको कमी, काम गर्ने वातावरणको अभाव, लगानी डुब्छ कि भन्ने डर, सेवा तथा वस्तुबजारको सिमितता लगायतका कारण तपाईंले यो पनि सोचिसक्नुभयो होला कि यो संसारमा धनीहरुले मात्र अझै धेरै धन कमाउन सक्छन् र बाँकीले कदापी धन आर्जन गर्न सक्दैनन् । अमेरिकाका लगानी विज्ञ, सेल्स ट्रेनर तथा हाउ रिच पिपल थिङ्क र हाउ मनी वर्कस् जस्ता पुस्तकका लेखक स्टिभ सिइबोल्डले किन कसैलाई प्रशस्त सम्पत्ति कमाउन अप्ठेरो हुन्छ भन्ने प्रश्नको जवाफ खोज्न जीवनको ३६ वर्ष अध्ययनमा लगाए । अध्ययनको क्रममा उनले १३ हजार भन्दा बढी मल्टि-मिलिनार र अन्य मध्यमवर्गीय मानिसहरुसँग अन्तर्वार्ता गरे । यति धेरै अध्ययन र मिहेनतको निष्कर्ष उनले के निकाले भने अत्याधिक धनआर्जन गर्ने व्यक्तिहरुले आफ्नो जीवनलाई भिन्न किसिमको सोच, विश्वास, दर्शन र रणनीतिका साथ अगाडी बढाएका हुन्छन् । उनीहरुको धनआर्जनको रहस्य न त उनीहरुसँग पहिल्यैदेखि भएको सम्पत्ति हो न सो सम्पत्ति र श्रोतको सदुपयोगद्वारा संचालन गरेको व्यापार वा अन्य कर्म नै, बरु उक्त रहस्य त उनीहरुको सोचको स्तर र निर्णय क्षमता लगायतका गुण हुन् । ‘अर्को अर्थमा भन्नुपर्दा धनी बन्नका लागि तपाईंले धनी मानिसले झैँ सोच्न जरुरी छ,’ आफै एक मध्यमवर्गीय व्यक्तिबाट मल्टि-मिलिनारको हैसियतसम्म पुगेका सिइबोल्ड प्रष्ट्याउँछन्, ‘जसै मैले यस अवधारणालाई अंगिकार गरेँ तब मैले पनि यथेष्ठ धन कमाउन थालेँ । यसै सोचलाई विश्वास गरी मैले आफ्नो व्यवसाय थालेँ र अन्तत सेल्फ-मेड मल्टि-मिलिनार बन्न सफल भएँ ।’ आफ्नो अध्ययनको आधारमा उनै सिइबोल्डले पहिचान गरेका तपाईं- हाम्रो धेरै धन कमाउने बाटोमा तगारो बन्नसक्ने वा बनेका केहि मध्यमवर्गीय गलत मानसिकता तल उल्लेख गरिएका छन् । १. कडा मिहेनत (भलै त्यो मैले घृणा गर्ने जागिरमै किन नहोस्) ले धनी बनाउँछ आफूलाई मनै नपर्ने जागिर वा काम भएता पनि अधिकांश मानिस आयको बाटो पहिल्याउने अवसरको खोजीमा आफ्नो चाहनासँग सम्झौता गर्छन् र सोप्रति प्रतिबद्ध भएर लाग्न थाल्दछ । सोहि काम वा जागिर उनीहरुको जीवनको यति अभिन्न अंग बन्न पुग्छ कि केहि वर्षभित्रै उनीहरु कतै म सो जागिरबाट निकालिनु पर्ने त हैन वा कहिले पदोन्नती होला भन्ने सोचमै निबृत्त हुने दिनसम्मको यात्रा तय गरिसक्छन् । किन यस्तो हुन्छ थाहा छ ? किनकी उनीहरु यहि मान्न थाल्छन् कि उनीहरुको जीवनमा धनी बन्न सघाउने एउटा मात्रै उपलब्ध माध्यम भनेको यहि जागिर नै हो । तर सत्य के हो भने सो जागिर वा कामले उनीहरुको आथिक उन्नती नभइरहेको अवस्थामा पनि अब कहाँ जाने र के गर्ने भन्नेमा निर्क्यौल निकाल्न नसकेकै कारण उनीहरु जवनभर त्यहि जागिरको दास बन्न पुग्छन् । मानवशास्त्री हाडास विइसले आफ्नो पुस्तक वि ह्याभ नेभर बिन मिडिल क्लासः हाउ सोसल मोबिलिटी मिसलिड्स अस पुस्तकमा तर्क गरेकी छिन्, ‘मिडिल क्लासको सोच मेरिटोक्रेसी (आफ्नो क्षमता एवं योग्यतामाथि विश्वास गर्ने प्रणाली) सँग बलियोरुपमा गाँसिएको हुन्छ र उनीहरुलाई लाग्छ कि क्षमता र मिहेनतको प्रदर्शनका कारण उनीहरु आयआर्जन गर्ने उचित स्थानमा पुग्छन् र सोहि स्थान (कार्यालय, कम्पनी लगायत) ले उनीहरुलाई अझ धनी बन्न सहयोग गर्छ ।’ तर अर्कातर्फ धनी बन्ने सोच भएका व्यक्तिहरु भने ‘परिपूर्णता’का लागि काम गर्ने गर्छन् । उनीहरु पैसा कमाउनका लागि आफ्नो इच्छासँग सम्झौता गर्दैनन् । बरु त्यहि काम गर्छन् जसलाई उनीहरु माया गर्छन् र जे गर्दा उनीहरु रमाउँछन् । यहि कारण उनीहरु ‘गर्नका लागि मात्र’ काम गर्दैनन् बरु आफ्नो सम्पूर्ण जोश, जाँगर, मन र मस्तिष्क लगाएर कार्यसम्पादन गर्दछन् । यसको परिणामस्वरुप उनीहरुको कामको उचित मूल्यांकन हुन्छ र उनीहरु असाधारण कमाइद्धारा सम्मानित हुन्छन् । आफ्नो सोच बदल्नुस्ः कमाउनका लागि आफूलाई जाँगर नलाग्ने काम गर्नुको सट्टा त्यहि काम गर्नुस्, जसलाई तपाईं मन पराउनुहुन्छ । आफ्नो काममा पूर्ण लगाव भएर सफलता र आर्थिक लाभ हासिल गरेको व्यक्तिसँग कुरा गर्नुस् र उनीहरुको सफलताको कथाबाट आफू पनि उत्प्रेरित हुनुहोस् । २. औपचारिक शैक्षिक योग्यताविना धन कमाउन सकिँदैन मध्यमवर्गका मानिसहरुले औपचारिक शिक्षामा गरेको लगानीको परिमाणले भविष्यमा आर्जन हुने धनको मात्रालाई निर्धारणा गर्दछ भन्ने भ्रम पाल्दछन् । तर राम्रो विश्वविद्यालय र उच्च अंकले मात्र धन आर्जन गर्न सक्षम बनाउँथ्यो भने तपाईं आफ्नै वरपरका व्यक्तिहरुको अवलोकन गर्नुस् जसले राम्रो डिग्री हासिल नगर्दा पनि अत्याधिक धन आर्जन गरेका छन् । उदाहरणको लागि करिब ३२ अर्ब अमेरिकी डलरका मालिक डेल कम्प्युटर कम्पनीका सीइओ माइकेल डेलले टेक्सास विश्वविद्यालयमा भर्ना भएकै वर्ष अध्ययनलाई बिचमै त्यागी निस्केका थिए । यसैगरी, औपचारिक अध्ययन नसकेका एप्पलका सहसंस्थापक स्टिभ जब्स्ले बिचमै कलेज त्याग्नु ‘जीवनकै सबैभन्दा उत्कृष्ट निर्णयमध्येको एक’ भएको बताएका थिए । विश्वका धेरै अर्बपतीहरु तपाईँले जिवनमा पाउने आर्थिक सफलतासँग तपाईँले कति पाठ्य-सामाग्री घोक्नुभयो वा कुन स्तरको शैक्षिक डिग्री प्राप्त गर्नुभयो भन्ने कुराको कुनै सम्बन्ध नरहेको मत राख्दछन् । बरु उनीहरु आफूले काम वा लगानी गर्न चाहेको क्षेत्र वा विषयमाथिको विज्ञता र शक्तिशाली व्यक्तिहरुसँगको संजाल निर्माणले आफूले हात पर्ने कुल सम्पत्तिको परिमाणमा प्रभाव पार्ने विश्वास राख्दछन् । आफ्नो सोच बदल्नुस्: औपचारिक शिक्षाले तपाई“को आर्थिक सफलता वा सम्पत्तिको आर्जन सुनिश्चित गर्दैन । बरु आफूलाई गर्न मन लागेको काम वा क्षेत्रको बारेमा धेरैभन्दा धेरै जानकारी हासिल गर्नु फाइदाजनक हुन्छ । अझ सो विषयसम्बन्धी छोटा अनलाईन कोर्स गर्दा अथवा अन्य विविध तरिकाले स्वअध्ययनमा लाग्दा झनै प्रभावकारी हुने अध्ययनहरुले देखाएका छन् । ३. भाग्यमानी मानिसले मात्रै धन कमाउँछन् औसत मानिसले यो संसारमा धेरै कम मान्छे मात्र धनी हुन सक्छन् र धन कमाउनेहरुले आफ्नो क्षमताभन्दा पनि भाग्यको कारणले कमाएको हो भन्ने सोच राख्दछन् । यसका साथै धन कमाउनका लागि गरेका प्रयासहरुले उचित सफलता दिन नसक्दा उनीहरु आफ्नै भाग्यलाई धिक्कार्न थाल्छन् । अझ यति सम्मकी आफूले बस्तु वा सेवाको बिक्रीको क्रममा मानिसलाई मार्नु हुन्न भन्ने सोच राखी सामाग्रीको मूल्य पनि कम राख्छन् । यसको विपरीत धनी बन्नसक्ने क्षमता भएका मानिसले भने पुँजीवादी अर्थ व्यवस्था भएको देशको नागरिक भएको नाताले उनीहरु मनग्ये धन कमाउन पाउनु आफ्नो अधिकार भएको ठान्दछन् । उनीहरु अरुका लागि सामाग्री, सेवा वा समाधानको विकास गरी बिक्री गरेको बदलामा ग्राहकहरुसँग पैसा लिनु सामान्य सोच्दछन् । र उनीहरु भाग्यलाई भन्दा पनि आफूले गरेको मिहेनत, सोच र बुद्धिमानी कार्य वा व्यापार शैली लगायतलाई धन आर्जनको कारण मान्दछन् । आफ्नो सोच बदल्नुस्ः धन हासिल गर्नका लागि भाग्य हैन, तपाईंलाई सहि सोच्ने, उत्कृष्ट ब्यवस्थापन गर्ने तथा उचित निर्णय लिने क्षमताको आवश्यकता पर्दछ जुन जोकोहिले पनि बिस्तारै सिक्न सक्दछन् । ४. धेरै धनले मानिसलाई नराम्रो बनाउँछ हुनत सम्पत्ति मानव सेवा र सामाजिक भलाई गर्ने तथा संसारबाट दुखलाई अन्त्य गर्ने महत्वपूर्ण साधान भएता पनि औसत मानिसहरुले भने धनले मानिसलाई भ्रष्ट, कञ्जुस, नीच एवं स्वार्थी बनाउ“छ भन्ने सोच्दछन् । सम्पत्ति कमाउने मान्छेले अरुलाई थिचोमिचो गरेर मात्र धन कमाउँछ र समस्या पर्दा कसैलाई पनि सहयोग गर्दैन भन्ने ठान्दछन् । तर धनी मानिसहरु भने संसारमा कुनै पनि प्रकारको शक्ति, स्वतन्त्रता र प्रतिष्ठ नै मानिसको सच्चा परिचय हुने तर्क गर्दछन् । अध्ययनहरुले के देखाएका छन् भने यदि कसैले छल गरेर, धोका दिएर तथा ठगेर सम्पत्ति कमाएको छ भने उ पछिसम्म खराब हुन्छ तर यदि कसैले इमान्दारितापूर्वक मिहेनत गरेर आर्थिक सफलता हासिल गरेको छ भने उ पछिसम्मै अझ बढी नम्र, कोमल र दयालु हुन्छ । त्यसोत अमेरिकका सबैभन्दा धनी दानबिरहरु बारे विकासन्यूजमा केहि दिनअघि ऐजेन्सीहरुको सहयोगमा एउटा रिपोर्ट प्रकाशित गरिएको थियो जसमा उनीहरुले आफूले कमाएको हिस्साबाट संसारभरका दिनदुखीहरुको भलाइका लागि अर्बांै अमेरिकी डलरबराबरको दान गरेको विषयलाई समेटिएको थियो । यसले पनि धनी मानिस स्वार्थी हुन्छन् भन्ने अवधारणा गलत भएको प्रमाणित गर्दछ । आफ्नो सोच बदल्नुस्ः यदि तपाईं दयालु र विनम्र हुने दिशामा अग्रसर हुनुहुन्छ भने धनले तपाईंको नैतिक चरित्रलाई अझ सुधार गरी तपाईंलाई मानवहितको बाटोमा थप अग्रसर हुन प्रेरणा दिन्छ । ५. आर्जित धनको प्रयोग गर्नु ठिक होइन औसत मानिसहरु प्रायजसो दरिद्र मानसिकताबाट ग्रसित हुन्छन् । उनीहरु आफूले गरेको आम्दानीलाई खर्च नगरी साँचेर राख्नुपर्नेतर्फ सचेत रहन्छन् । केहि आवश्यकताको परिपूर्ती गर्नपर्ने अवस्थामा पनि सजिलै पैसा निकाल्न चाहँदैनन भने कमाइसकेको पैसा खर्च गर्दा फेरी त्यो पैसा कहिल्यै पुर्नहासिल गर्न सकिँदैन भन्ने भ्रम उनीहरुले पालेका हुन्छन् । अझ, आफूले कमाएको कमाइ कसैले चोर्ला, ठगेर भाग्ला भन्ने खालको असुरक्षित सोचबाट गुज्रीरहेका हुन्छन् उनीहरु । तर धनी व्यक्तिहरु भने कमाइलाई साँचेर राख्नुभन्दा पनि झनै सहजरुपमा अझ बढी धन आर्जन गर्ने काममा लगाउँछन् । उनीहरुले आफूले गरेको कामबाट भइरहेको कमाइको अध्ययन गरि सो कमाइलाई त्यहि काममै लगाउन चाहन्छन् । अझ गरिरहेको कामभन्दा कुनै फरक काममा थप आर्थिक लाभ छ वा सो काम सम्पन्न गर्न अझै सजिलो छ भने सोहि क्षेत्रमा आफ्नो कमाइलाई लगाउने प्रबृत्तिका हुन्छन् उनीहरु । आफ्नो सोच बदल्नुस्ः गरिरहेको कामका लगानी थप्न वा नयाँ क्षेत्रमा लगानीको बिस्तार गर्न तथा अतिरिक्त कमाइ हुने काम गर्नका लागि जोखिम मोल्ने क्षमतालाई बढाउनुहोस् । ६. पैसाले मानिसलाई चिन्ता र तनाव दिन्छ सम्पत्ति कमाउँदा समाजले कुरा काट्ने, आफन्तले डाहा गर्ने, लुटपात अथवा चोरी लगायत हुनसक्ने र अनावश्यक रुपमा दुष्मनी कमाइने लगायतको डर र चिन्ताले पनि कतिपय मध्यमवर्गीय मानिसलाई सम्पत्ति आर्जनको बाटोमा लाग्न दिँदैन । यसका साथसाथै सम्पत्ति कमाउन पनि गाह्रो हुने र सोभन्दा गाह्रो सम्पत्तिको व्यवस्थापनमा हुने लगायतको सोचबाट उनीहरु पीडित भएका हुन्छन् । तथापी, धनीहरुको नजरमा भने सम्पत्तिको व्यवस्थापन बुद्धिमानी दिमागको उपज हो । उनीहरु आफ्नो तर्क र विबेकको प्रयोगसहित सम्पत्ति केका लागि र किन कमाउने तथा कहाँ र कसरी खर्च गर्ने भन्नेमा विश्वस्त हुन्छन् । उनीहरुका लागि सम्पत्ति भनेको थप विकल्प तथा अवसरहरु श्रृजना गर्ने माध्यम हो । भने अझ बढी पैसा कसरी कमाउने भन्ने सवालमा उनीहरुले आफ्नो भावनात्मक पक्षलाई एकातिर पन्छाइ, बौद्धिक पक्षको मात्र प्रयोग गर्दछन् । यसै प्रसंगमा आयरल्याण्डका लेखक जोनाथन स्विफ्टले भनेका छन्, ‘एक विवेकी मानिसले आफ्नो मुटुमा होइन, दिमागमा पैसा राख्दछ ।’ आफ्नो सोच बदल्नुस्ः आफ्ना लागि आर्थिक रणनीतिको विकास गर्नुस् र सोप्रति अडिग रहन आफ्नो सम्पूर्ण ध्यान लगाउनुस् । ७. जिन्दगीमा सबैभन्दा ठूलो शान्ति र सन्तुष्टि नै हो धन आर्जन गर्ने बाटोमा लागेर सफलता पाउन नसकेका वा धन आर्जन गर्ने बाटोमा लाग्न नसकेका मध्यमवर्गीय मानिसले जीवनमा सबैभन्दा ठूलो सम्पत्ति भनेकै शान्ति र सन्तुष्टि हो भन्ने विचारलाई प्राथमिकता दिन्छन् । सम्पत्ति आर्जन गर्ने यात्रामा मानिसले शान्ति, सन्तुष्टि र अमनचयन त्याग्नुपर्ने भन्ने उनीहरको सोच रहन्छ । तर आर्थिकरुपमा सफल मानिसले भने जिवनको सबैभन्दा ठूलो सुख नै भौतिक सुख भएको र सम्पत्तिको आर्जनविना कुनै पनि भौतिक उपलब्धि तथा सुख हासिल गर्न सकिँदैन भन्ने सोच राख्दछन् । त्यसैगरी आफूले आर्जन गरेको सम्पत्तिलाई उनीहरु भौतिक तथा अन्य सुख प्राप्त गर्न र जिवनलाई सहज र सुखी बनाउनतर्फ लगाउँछन् । धनी मानिसहरु आशावादी हुनुका साथसाथै जिवनमा आइपर्ने संघर्ष र कष्टसँग सहजै हार नमान्ने किसिमका हुन्छन् । आफ्नो सोच बदल्नुस्ः ठूलाठुला सपना तथा लक्ष्य हासिल गर्ने कार्य प्रेमीप्रेमिकासँग पार्कमा टहलिनजस्तो सजिलो हुँदैन । सुरु-सुरुमा केहि अप्ठेरो झेल्नुपरेता पनि सम्पत्ति हासिल गरिसकेपछि पाइने आनन्द र सन्तुष्टिको कुनै मूल्य हुँदैन ।
माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्माले दिए राजीनामा, कामु सीईओ सन्तोष कोइराला
काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतबाट सुमन शर्माले राजीनामा दिएका छन् । फागुन ३० देखि लागू हुने गरी उनले राजीनामा दिएका हुन् । उनको राजीनामा बैंक सञ्चालक समितिले गत शुक्रबार नै स्वीकृत गरेको छ । सञ्चालक समितिले चैत १ गतेदेखि लागू हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष कोइरालालाई दिएको छ । कोइराला सोही बैंकमा साढे दुइ वर्ष अघिदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । त्यसअघि २ वर्ष नायव महाप्रबन्धक थिए । नायव महाप्रबन्धक र नायव प्रमुख कार्यकारी अधिकृत गरी बैंककाे दाेस्राे बरियतामा बसेर उनले साढे ४ वर्ष जिम्मेवारी समालेका छन् । सन् २००० मा बैंक अफ काठमाण्डूबाट बैकिङ करिअर शुरु गरेका कोइरालाईसँग बैंक अफ काठमाण्डू, सानिमा र माछापुच्छ्रे बैंकमा करिब २० वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका कोइरालासँग बैंक सञ्चालन, व्यवसाय विस्तार, जोखिम न्यूनिकरण, सञ्चार, विश्लेषण र नेतृत्व विकासका क्षेत्रमा राम्रो ज्ञान भएको बैंकले जनाएको छ । अस्थिरता पछिल्ला वर्षमा माछापुच्छ्रे बैंकको उच्च व्यवस्थापन तथा प्रमुख कार्यकारी अधिकृतमा छिटोछिटो परिवर्तन देखिएको छ । तुलसीराम गौतमले ४ वर्ष कार्यकाल पूरा गरी छोडेपछि बनेको प्रमुख कार्यकारी अधिकृतहरुले कार्यकाल पूरा नगर्दै छोडेका छन् । गौतमपछि निरज श्रेष्ठले पनि कार्यकाल पूरा नगर्दै बैंक छोडेका थिए भने सुमन शर्माले पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा २३ महिना मात्र बिताएका छन् । शर्मालाई चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको थियो । माछापुच्छ्रे बैंकमा मात्र हाेइन, बैंकहरूबीच प्रतिस्पर्धाले धेरै बैंककाे प्रमुख कार्यकारी अधिकृतकाे पद अस्थिर बन्दै गएकाे छ ।
चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः नेतृत्वका लागि मात्र नभई व्यवसायीलाई संरक्षण गर्ने नेतृत्व चाहिँन्छ
काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । तर विश्वभर फैलिरहेको कोरोना भाइरसकै कारण पनि साधारणसभा सर्ने सम्भावना बढी छ । सो साधारण सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुँदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न हामीले स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्त कुमार श्रेष्ठ, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशब प्रसाद भण्डारी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल र गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीलाई सोधका छौं । उनीहरुले महासंघको अबको नेतृत्वले सरकारसँग सहकार्य र व्यवसायीका समस्या सुनिदिने र नेतृत्वमात्र नभएर व्यवसायीलाई संरक्षण गर्ने नेतृत्व आवश्यक रहेको धारणा राखेका छन् । साहसिक नेतृत्वको आवश्यकता छ बिक्रान्त कुमार श्रेष्ठ, अध्यक्ष, स्याङ्जा उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्वले सबै व्यवसायीको हक समान हो भन्ने ठानोस् । समान व्यवहारले काम गरोस् । हामी साना तथा मझौला व्यवसायीहरुका धेरै समस्याहरु छन् । ती समस्याहरुलाई साहसिक तरिकाले समाधान गर्ने नेतृत्व हामीलाई आवश्यक छ । हामीले गाउँपालिकादेखि केन्द्रसम्म कर तिर्नु पर्ने अवस्था छ । यसको अन्त्य गरोस् । बंैंकले ७ प्रतिशत भनेर ऋण दिन्छ पछि ८ प्रतिशत लिन्छ । यो प्रवृतिलाई व्यवस्थित गर्ने नेतृत्व हामीलाई चाहिन्छ । सबैको अपेक्षा भनेको जसले सबैलाई समान व्यवहार गरेर अगाडि बढ्छ त्यही हामीलाई चाहिन्छ । सरकारसँग लविङ गर्न खालको हुनु पर्छ केशब प्रसाद भण्डारी, अध्यक्ष नवलपरासी उद्योग वाणिज्य संघ सरकारसँग उद्योगी व्यवसायीका समस्यालाई सरल रुपले पुर्याइदिने नेतृत्व आवश्यक छ । हामीलाई कर ठूलो समस्याका रुपमा देखा परेको छ । हामी लगानी गर्न खोज्छौं तर हामीलाई त्यो खालको वातावरण सिर्जना हुँदैन । अबको नेतृत्वले निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने हुनु पर्छ । उद्योग र व्यवसायीलाई हेर्ने दृष्ट्रिकोण एउटै हुनु पर्छ । कुनै पनि कानुनी कूराहरु ल्याउँदा हामी निजी क्षेत्रको सहकार्य बिना सफल र देश सम्बृद्ध बन्न सक्दैन । हामी सँग सहकार्य गरेर अगाडि बढ्ने सिर्जना अबको नेतृत्वले गर्नु पर्छ । यो निर्वाचनको अपेक्षा सरकारसँग लविङ गर्न सक्ने नेतृत्व हुनु पर्यो । जिल्ला नगरका व्यवसायीका भावना बुझ्ने नेतृत्व हुनुपर्छ । गैर कानुनी रुपबाट हुने कामलाई रोक्नु पर्यो । हाम्रा धेरै समस्या छन् । यसको नेतृत्व आउने नेतृत्वले गर्न आवश्यक छ । सबै व्यवसायीलाई समान व्यवहार गर्ने नेतृत्व आवश्यक छ खिम बहादुर हमाल, अध्यक्ष बुटवल उद्योग वाणिज्य संघ उद्योगी व्यवसायीका समस्यालाई पहल गरी समाधान गर्नतर्फ अगाडि बढ्ने नेतृत्व हामीलाई आवश्यक छ । नेपाल उद्योग वाणिज्य महासंघमा अब आउने नेतृत्वले सबै उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्न सकोस् । देशमा रोजगार सिर्जना गर्ने मूख्य भूमिका उद्यागी व्यवसायीको हुन्छ । यसका लागि नीति नियमहरु सजिलो बनाउनका लागि अबको नेतृत्वले भूमिका खेल्न सक्नु पर्छ । अबको नेतृत्वले राम्रो काम गरोस् भन्ने हामीले अपेक्षा गरेका छौं । करको कुरामा धेरै समस्या छ । यसको समस्या निराकरण गर्ने काम भइरहेको छैन । ठूला घराना र उद्योगीहरुका समस्याहरुलाई मात्र सुन्ने र बुझ्ने मात्र नभई समग्र व्यवसायीको हितमा काम गर्न सक्ने हुनु पर्छ । हाल हामी साना व्यवासयीहरुका धेरै समस्याहरु छन् । ती समस्याहरुलाई सरल रुपमा लिएर राज्यसँग वार्ता गर्न सक्ने हुनु पर्छ । नेतृत्वका लागि मात्र नभई व्यवसायीलाई संरक्षण गर्ने खालको नेतृत्व हामीलाई आवश्यक छ । श्रीप्रसाद भलामी ,अध्यक्ष ,गुल्मी उद्योग वाणिज्य संघ हालसम्मको नेतृत्वले सशक्त रुपमा निजी क्षेत्रका माग राख्न सकिरहेको अवस्था छैन । हाम्रा धेरै मागहरु छन् । जुझारु नेतृत्व हामीलाई आवश्यक छ । नेतृत्वका लागि मात्र नभई व्यवसायीलाई संरक्षण गर्ने खालको नेतृत्व हामीलाई आवश्यक छ । हाम्रो समस्या ढुवानीको छ । हाम्रो पहाडमा साना व्यवसायी मात्र छौं । यो समस्यालाई समाधान गर्ने नेतृत्व हामीलाई आवश्यक छ । नेपाल उद्योग वाणिज्य महासंको अब आउने नेतृत्व कुशल सक्षम र सबै व्यवसायीका पिर मर्का बुझ्ने खालको हुनु पर्छ । हामी जिल्ला नगरका व्यवसायीका समस्याहरु अहिले सम्म राज्यसम्म पुगाउने प्रयास महासंघले गर्न सकेको अवस्था छैन । त्यो अवस्थालाई अबको नेतृत्वले गहन रुपमा लिन सकोस् हाम्रो यही अपेक्षा छ । सम्बन्धित समाचार: उद्योग वाणिज्य महासंघको चुनाव सार्न दबाब कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्
चेक बाउन्सको आरोपमा गुरागाईं पक्राउ
तुलसीपुर । जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा इटहरीबाट भोजराज गुरागाईंलाई पक्राउ गरेको छ । बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका–५ निवासी गुरागाईंलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमीत खड्काले बताए । पीडित मान कम्पनीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाईंविरुद्ध बैँक कसुर मुद्दा दर्ता गरेको थियो । गुरागाईं विरुद्ध एक महिनाअघि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि उनी लुकीछिपी बसेको अवस्थामा मङ्गलबार साँझ इटहरीबाट प्रक्राउ गरी दाङ ल्याइएको हो । गुरागाईं विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक खड्काले बताएका छन् । गुरागाईंले दिएको रु तीन लाख २० हजारको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए । रासस
अनिश्चित बन्यो इपानकाे निर्वाचन
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)काे निर्वाचन अनिश्चित बनेकाे छ । विद्यमान विधान संशोधन गरी नयाँ ढाँचामा जाने योजनामा समस्या उत्पन्न भएपछि निर्वाचन उत्पन्न भएकाे हाे । संशोधन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको विद्यान फिर्ता आएपछि निर्वाचन अनिश्चित भएकाे हो । इपानले संशोधन गरेर पठाएको विधानमा जलविद्युत क्षेत्रमा योगदान गरेका अगुवा जलविद्युत उद्यमी, विज्ञ समेटेर ७ जनाको सल्लाहकार समिति बनाउने निर्णय गरेको थियो । यस्तै, आवश्यकता अनुसार क्षेत्रगत, विषयगत उपसमिति बनाउने निर्णय पनि भएको थियो । तर, यो व्यवस्था जिल्ला प्रशासनले ऐनविपरित रहेको किटान गरेको छ । विद्यमान ९ जनाको कार्यसमिति संशोधन गरी २३ पुर्याउने, प्रदेश प्रतिनिधि तोक्ने र विज्ञहरूको उपसमिति बनाउने प्रक्रियामा जिल्ला प्रशासनले रोक लगाएको छ । संस्था दर्ता ऐन अनुसार उपसमिति र प्रदेश संयोजक नियुक्ति गर्ने प्रक्रिया नभएकाले विधान संशोधनमा समस्या देखिएकाे हाे ।
लघु जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ छिपखोलामा बन्दै गरेको ४० किलोवाटको लघु जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको लगानीमा आयोजना निर्माण भइरहेको छ । चालू आर्थिक वर्षभित्र सम्पन्न हुने गरी काम अगाडि बढाइएको छ । आयोजनाको ८५ प्रतिशत काम सकिएको बताइएको छ । आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु एक करोड १४ लाख, गाउँपालिकाबाट रु २१ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु २० लाख, स्थानीयको सामाजिक कोषबाट रु सात लाख र स्थानीय ४० घरधुरीबाट प्रतिघर रु १० हजारका दरले रु चार लाख लगानी भएको छ । उपभोक्ता समिति अध्यक्ष नरहरि पुनले निर्माण सकिन लागेको बताएका छन् । गाउँपालिकाले थप बजेट विनियोजन गरेपछि चालू वर्षभित्र काम सकिने उनले बताए । छिट्टै बिजुली बल्ने भएपछि स्थानीय उपभोक्ता खुशी भएका छन् । विद्युत्गृह तथा लाइन विस्तारका लागि आवश्यक सम्पूर्ण सामग्री आइसकेका छन् । सामग्री जडान गरेर विद्युत् बाल्न मात्रै बाँकी रहेको उनले बताएका छन् । गाउँमा आयोजनाको पोल गाड्ने र तार तान्ने काम सकिएको छ । बजेट अभावमा आयोजना एक वर्ष ढिलो हुने अनुमान गरिएको भए पनि फागुन १९ गते बसेको कार्यपालिकाको बैठकले विद्युत् शीर्षकको कूल बजेटमध्ये आधा यसमै लगानी गर्ने निर्णय गरेपछि निर्माण सकिने भएको वडा नं २ का वडाध्यक्ष जीवन केसीले बताए । रासस