दैनिक उपभोग्य सामानमा कालोबजारी गर्ने ५ जना व्यापारी कारबाहीमा
काठमाडौं । सरकारले दैनिक उपभोग्य सामानमा कालोबजारी गर्ने ५ जना व्यापारीलाई कारबाही गरेको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अनुगमन गर्दा उपभोग्य सामानमा कालोबजारी गर्ने ५ जना व्यापारीलाई कारबाही गरेको बताइएको छ । उद्योग वाणिज्य तथा वाणिज्य आपुर्ति राज्यमन्त्री मोतिलाल दुगडले सामानमा कालोबजारी गर्ने ५ जना व्यापारीलाई कारबाही गरेका बताए । उनले विश्वभर काेराेनाकाे त्रास भइरहेकाे बेला सामानमा कालाेबजारी गर्ने व्यापारीलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने विकासन्यूजसँग बताए । विश्वरभर फैलिरहेको कोराना भाइरस ( कोभिड १९)को त्राससँगै दैनिक उपभोग्य सामानमा अभाव हुनेभन्दै उपभोक्ताले सामान भण्डारण पनि गर्न थालेका छन् । त्यही मौका छोपेर उनीहरुले सामानमा कालोेबजारी गर्ने प्रवृति पनि बढाएका हुन् । बजारमा उपभोग्य सामानको अभाव नभएपनि कृतिम अभाव सुरु गरेका छन् । व्यापारीहरुको यो प्रवृतिलाई रोक्न सरकारल अनुगमन टोली पनि बनाएको छ । बजार अनुगमनको क्रममा ती ५ जना व्यापारीलाई कारबाही गरेको हो । सरकारले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनै पनि अभाव नहुने बताइरहेकाे छ । अत्यावश्यक वस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही गर्ने पनि चेतावनी दिएकाे छ।
ट्याक्सी चालकको दबाबमा विभाग, पठाओ र टुटुल नचलाउन निर्देशन
काठमाडौं । ट्याक्सी चालकको दबाबमा यातायात व्यवस्था विभागले पठाओ र टुटुल रोक्न निर्देशन दिएको छ । मंगलबार ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई सरकारले कानुन विपरित सेवा प्रदान गर्न छुट दिएसँगै भन्दै विभाग घेराउ गरेका थिए । ट्याक्सी सञ्चालकहरुको दबाबपछि मंगलबार राती विभागले साे सूचना जारी गरेको हाे। विभिन्न प्रयोजन लागि दर्ता भएका सवारी साधनले आफूखुसी भाडा तोकी सार्वजनिक सवारीको रुपमा प्रयोग नगर्न सरकारले चेतावानी दिएको छ । यातायात व्यवस्था विभागले जारी गरेकाे सूचनामा कानुन उल्लंघन गरी अन्य प्रयोजनका लागि दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा २०४९ को दफा १२ को उपदफा १ मा अनुसार कारवाही हुने व्यवस्था रहेकाे छ । गत २०७५ माघमा विभागले यस्तै कारबाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए ।
कोरोनाले नेपाली अर्थतन्त्रको खम्बा हल्लायो, आधा रेमिटान्स आउने देशमा नेपालीलाई ‘नो इन्ट्री’
काठमाडौं । वैदेशिक रोजगार गन्तव्यमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएसँगै रेमिट्यान्समा प्रभाव पर्ने देखिएको छ । नेपालको अर्थतन्त्रको मूल आधारको रुपमा रहेको रेमिट्यान्स आय घट्ने देखिएको हो । रोजगारीको गन्तव्य मुलुकमा कोरोना संक्रमणसँगै त्रासका कारण कम्पनीहरु बन्द गर्नु पर्ने अवस्था आएको छ । कम्पनी नै बन्द हुँदा नेपालीको रोजगारी गुम्ने र कोरोना संक्रमको शंका तथा प्रभावका कारण पनि बैदेशिक रोजगारीमा रहेका नेपालीको आम्दानी घट्ने देखिएको हो । कोरोना असरको कारण नेपालमा भित्रने रेमिटान्स घट्ने अनुमान नेपाल राष्ट्र बैंकले गरेको छ । नेपालमा आउने रेमिटान्समध्ये करिब ५० प्रतिशत खाडी देशबाट आउने र ती देशमा कोरोना प्रभाव देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । ‘नेपाल आउने रेमिटान्समा करिब ५० प्रतिशत खाडी देशबाट आउने गरेको छ, यसमा पनि सबैभन्दा धेरै रेमिटान्स आउने कतारबाट हो, कतार नेपालसहितका विदेशी कामदार लिन बन्द गरेको कारण रेमिटान्स कम हुने देखिन्छ,’ राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख समेत रहेका डा. भट्टले भने । कोरोना प्रभाव देखिनु अघि नै नेपालमा आउने रेमिटान्सको बृद्धिदर करिब स्थीर रहेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको ६ महिनासम्म गत आर्थिक वर्षको तुलनामा ०.९ प्रतिशतले मात्रै रेमिटान्स बढेको छ । यस्तो अवस्थामा कोरोना प्रभावले बैदेशिक रोजगारी संकटमा पर्ने हुँदा रेमिटान्स आय घट्ने अनुमान अधिकारीहरुको छ । अहिलेसम्म विश्वका १ सय १० देशमा कोरोना संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा राखेको छ । तर, नेपालमा अहिलेसम्म कोरोना संक्रमण भएको फेला परेको छैन । वैदेशिक रोजगारीमा जान रोक लगाएका मुलुकबाट नै आधाभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएको छ । केही दिन अगाडी कतार जानकै लागि करिब ३५ हजार नेपाली कामदारको भिसा आइसकेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । कोभिड १९ को संक्रमण बढेसँगै कतारले नेपालसहित १४ देशका नागरिकलाई देश भित्रिन रोक लगाएको छ । साउदीलगायत अधिकांश देशहरुले अन्तराष्ट्रिय उडान अवतरणमा रोक लगाएका छन् । नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरु कतार, साउदी अरब, बहराइन, जापान, दक्षिण कोरिया, कुवेत जस्ता देशले विदेशी कामदार लिन रोकिसकेका छन् । गत वर्ष मात्र ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको थियो । गत आर्थिक वर्षमा पनि ५ लाखभन्दा बढी नेपाली विदेश गएका थिए । गत वर्षको तथ्यांक हेर्दा बढी रेमिट्यान्स (करिब १८ प्रतिशत) कतारबाट भित्रिएको छ भने यएईबाट १३.४ प्रतिशत, साउदी अरेबिया १२.५ प्रतिशत, मलेसियाबाट ९.७ प्रतिशत रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै, छिमेकी राष्ट्र भारतबाट करिब १४ प्रतिशत रेमिटान्स भित्रिएको थियो । वैदेशिक रोजगारीको मुख्य गन्तव्य रहेको देशमा कोरोनाको प्रभाव बढेसँगै देशको आर्थिक खम्बाको रुपमा रहेको रेमिट्यान्सको अवस्थामा कमी आउनेछ । त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा मात्र ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कलङ्की–धोबीखोला सडक विस्तार तत्काल शुरु नहुने
काठमाडाैं । चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ । नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का कारण तत्काल चिनियाँ टोली आउने सम्भव नभएकाले निर्माण तत्काल शुरु नहुने देखिएको हो । चिनियाँ टोली यही महिना आउने तयारी भए पनि रोगका कारण तत्काल आउने नदेखिएको सडक विभागले जनाएको छ । चक्रपथको कोटेश्वर–कलङ्की खण्ड निर्माण गरेको चीन सरकारले नै कलङ्की–धोबीखोला निर्माणका लागि विस्तृत अध्ययन गरेको थियो । पहिलो खण्डमा निर्माण शुरु हुँदा पनि सडकमा रहेका संरचना नहटेका कारण यो खण्डमा पहिले संरचना हटाउने गरी सहमति भएको थियो । झण्डै सबैतिर निर्माणस्थल खाली भइसकेको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए । महाराजगञ्ज क्षेत्रमा केही घरहरु हटाउन बाँकी भए पनि अरु स्थानमा सडकको अधिकार क्षेत्रमा रहेका बिजुललीका खम्बा, टेलिफोनको खम्बा, खानेपानीको पाइप, ढल, रुखलगायत हटाइएको छ । उनले भने, “हामीले आवश्यक तयारी गरिसकेका छौँ चिनियाँ टोली आउन नसक्ने हुँदा काम शुरु नहुने देखिएको छ ।” निर्माणस्थल खाली गरेर आगामी महिनासम्म निर्माणका लागि हस्तान्तरण गर्ने सरकारको योजना थियो । सो सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । कोटेश्वर–कलङ्की सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार र सहायक चार गरेर जम्मा आठ लेन नै रहने बताइएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने डिजाइनमा उल्लेख छ । रासस
बाढीपीडितलाई शिविर खाली गराउन प्रशासनको निर्देशन
सुर्खेत । सुर्खेत जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ । सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका १५ घरधुरी बाढीपीडितलाई उक्त स्थान छाड्न निर्देशन दिएको हो । विसं २०७१ मा इत्राम, नेवारेखोलाको बाढीबाट विस्थापित बनेका यहाँ बस्दै आएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले विस्थापितका नाममा सार्वजनिक जग्गा अतिक्रमण बढेको बताए । सरकारी जग्गा अनधिकृत रूपमा सधैँभरि व्यक्तिले भोगचलन गर्न नपाउने उनको भनाइ छ । विस्थापित रामकुमारी खत्रीले आफूहरुसँग घरवास, जग्गा/जमिन नहुँदा सरकारी जग्गामा आश्रय लिन बाध्य भएको बताए । प्रशासनले एकाएक टहरा खाली गर्न निर्देशन दिएपछि विस्थापितहरु आक्रोशित भएका छन् । “सरकारले घरवास बनाइदिनुको साटो उल्टै त्रिपालको सहारामा बसेकालाई लखेट्दैछ, यसबाट हामी चिन्तित बनेका छौँ”, उनले भने, “घरबारविहीन भएका बेला प्रशासनले यहाँ ल्याएर राख्यो, अहिले स्थायी बसोबासको टुङ्गो नलाग्दै लखेट्न थालियो ।” प्रदेश सरकारले जग्गाधनी पुर्जाका आधारमा विस्थापितलाई आवास निर्माणमा बजेट उपलब्ध गराउँदै आएको छ । रासस
मोहनापुल–अत्तरिया सडक निर्माणको म्याद एक वर्ष थपियो
अत्तरिया । कैलालीमा निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माण अवधि एक वर्ष थप गरिएको छ । निर्माण सम्पन्न सम्झौता अवधि सकिएको नौ महिनापछि सडकको म्याद थप गरिएको हो । एक नं प्याकेजको म्याद विसं २०७७ मङ्सिर ६ गतेसम्म र दोस्रो तथा तेस्रो प्याकेजको मङ्सिर १५ सम्मका लागि म्याद थप गरिएको मोहनापुल–अत्तरिया सडक योजना कार्यालय धनगढीका योजना प्रमुख होमबहादुर एसीले बताए । निर्माण कम्पनीले विसं २०७४ जेठमा २४ महिनाभित्र निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता गरेकामा सम्झौताअनुसार गत जेठमा सम्पन्न हुनुपर्ने काम आधा मात्रै सकिएपछि म्याद थप गरिएको जनाइएको छ । चालू आवको माघ मसान्तसम्म छ किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको योजना कार्यालयले जनाएको छ । सङ्घीय सरकारको बजेटमा निर्माणाधीन कूल साढे १४ किलोमिटर लामो यो सडकखण्डको १० किमी छ लेन र साढे चार किमी चार लेनको हुनेछ । रु एक अर्ब ६८ करोड लागत रहेको उक्त सडक निर्माणका लागि तीन खण्डमा छुट्याई ठेक्का दिइएको छ । भन्सार–रोडस्थित मोहनापुलबाट अत्तरियाचोकसम्म १४ दशमलव १७ किलोमिटर लामो तथा ३२ दशमलव दुई मिटर चौडा सडक निर्माण गरिनेछ । दुवैतिर तीन–तीन मिटर फुटपाथ रहने छ । लेन सडकमा ८० किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सकिने छ । विसं २०७४ जेठमा मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माण शुरू भएको थियो । यो अवधिसम्म ७० प्रतिशत मात्र काम भएको सडक योजना कार्यालयले बताएको छ । निःशुल्क स्वास्थ्य परीक्षण धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । डाइग्नोस्टिक्सको तेस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा मानव सेवा आश्रम तारानगरमा रहेका अनाथ, असहाय, घरबारविहीन २९ वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो । स्वास्थ्यकर्मीसहितको टोली आश्रममै पुगेर निःशुल्क रगत, मधुमेह, मिर्गौला, एचआइभी, हेपाटाइटिस ‘बी’ परीक्षण गरी फलफूल वितरण गरेको प्रालिका प्रबन्ध निर्देशक महेन्द्र साउदले बताए । धनगढी उपमहानगरपालिका–५ टिसीएनचोकस्थित धनगढी डाइग्नोस्टिक्सले वार्षिकोत्सवका अवसरमा विशेष छुट अफर ल्याएको हो । आफनो तेस्रो वार्षिकोत्सवका अवसरमा डाइग्नोस्टिक्सले होलबडी प्याकेज रु पाँच हजार, मिनी होलबडी प्याकेज रु दुई हजार र थाइराइड जा“च रु ५०० मा गराउन लागेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष मीनबहादुर धामीले जानकारी दिए । विभिन्न निःशुल्क शिविरसमेत आयोजना गरी सेवामुखी काममा सक्रिय धनगढी डाइग्नोस्टिक्स सेन्टरले वार्षिकोत्सवका अवसरमा सो सुविधा दिइएको जनाएको छ । हालसम्म डाइग्नोस्टिक्स सेन्टरले ६७० को निःशुल्क मधुमेह जा“च, सात हजार बढीको सिकलसेल जा“च गरेको डाइग्नोस्टिक्स प्रालिका प्रयोशाला प्रमुख नीरज भट्टको भनाइ छ । रासस
कैलालीमा निर्माणाधीन बसपार्कको काम ९० प्रतिशत सम्पन्न
काठमाडाैं । कैलालीको टीकापुरमा निर्माणाधीन बसपार्कको काम ९० प्रतिशत सकिएको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको बसपार्कको अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । बसपार्क निर्माणका लागि १८ महिनाभित्र काम सक्ने गरी विसं २०७५ माघ २ गते राजेन्द्र रोयल जेभी धनगढीले ठेक्का लिई निर्माण शुरु गरेको हो । विसं २०७७ साउन ४ गतेभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि त्यसअगाडि नै काम सम्पन्न गर्ने लक्ष्य लिएर काम भइरहेको निर्माण कम्पनीका इञ्जिनीयर झङ्कर थापाले बताए । बसपार्कमा एकतलाको टर्मिनल भवन निर्माण भएको छ । त्यसमा टिकट काउन्टर, रेष्टुरेन्ट, महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण भएको छ । “बसपार्क क्षेत्र पूरै आरसिसीसहितको ढलान गरिएको छ, त्यहाँ बसपार्कमा लामो दूरी र छोटो दूरीका लागि छुट्टाछुट्टै पार्किङ स्थान बनाइएको छ”, इञ्जिनीयर थापाले भने, “बसपार्कभित्र मोटरसाइकल, अटोरिक्साका लागि पनि पार्किङको व्यवस्था छ ।” इञ्जिनीयर थापाले अबको केही दिनमा बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गर्ने बताए । लामो समयपछि टीकापुरको बसपार्क व्यवस्थित बन्न थालेपछि यहाँका नागरिक पनि खुशी भएका छन् । स्थानीय केशरी सोडारी व्यवस्थित बसपार्क निर्माण हुँदा यहाको विकासमा सहयोग पुग्ने बताउँछन् । “बसपार्क बनेपछि लामो दूरीका बस पनि यहाँ आउनेछन्, जसले व्यापार वृद्धिमा सघाउँछ”, सोडारी भन्छन्, “बसपार्क बन्दै गर्दा आसपासका घर अहिले नै भाडामा गइसकेका छन् ।” टीकापुरमा अहिले व्यवस्थित बसपार्कसहित छ लेनको सडक कालोपत्र, ब्लक ‘ए’ का सबै सडक कालोपत्र र दृश्यावलोकन स्तम्भसहितको घण्टाघर निर्माण भइरहेका छन् । “भौतिक संरचना बनाउँदा ती संरचनाको दिगोपनामा ध्यान दिनुपर्दछ, त्यसमा हामी सचेत भएका छौँ”, नगरप्रमुख तपेन्द्र रावलले भने, “हामीले संरचना निर्माण गर्दा प्रयोेग गरिने सामग्रीको गुणस्तर र प्राविधिक पक्षमा निगरानी गरिरहेका छौँ, टीकापुरमा ठूला पूर्वाधार बन्न थालेका छन्, यसले विकासमा सहयोग पुगेको छ ।” बसपार्क निर्माणको लागि राजेन्द्र रोयल जेभी धनगढीले रु आठ करोड ३३ लाखमा ठेक्का लिएको हो । रासस
ब्रुमर सञ्चालनको एक वर्षः अपेक्षा अनुरुप देखिएन सडक सफा
काठमाडाैं । सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले ब्रुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको एक वर्ष बितेपनि अपेक्षा अनुरुप यहाँका सडक सफा देखिँदैन । कामपाले हालसम्ममा ब्रुमरमन्त्रमार्फत सडक सफा गरेर पाँच हजार ७९ टन धुलो सङ्कलन गरिसकेको छ । पानी परेको दिनबाहेक अन्य दिन अहिले दैनिक सात यन्त्रले सडक सफा गरिरहेको छ । कामपाले ब्रुमर सञ्चालन गरेको एक वर्ष हुँदासम्म महानगरको सडकमा धुलो कम भएको छैन । बाहिरी ठूला सडकमा केही कम भए पनि भित्री सडकमा एकपटक पनि उक्त यन्त्र पुगेको छैन । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाहिरी सडकमा सहज रूपमा ब्रुमर सञ्चालन गर्ने अवस्था रहेको भए पनि भित्री सडकमा अझै पनि सहज रूपमा सञ्चालनको अवस्था छैन । जसले गर्दा यातायातको साधनमार्फत भित्री सडकको धुलो ठूला सडकमा आउँछन् र फोहर देखिन्छन् । सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ । महानगरले सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । गत फागुन २८ गते इटालीबाट ल्याइएका उक्त यन्त्र प्रयोगमा ल्याइएका हुन् । ब्रुमर सञ्चालनका लागि कामपाले पाँच वटा सडक निर्धारण गरेको छ । सोही रुटअनुरुप काम गरिहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको बताइएको छ । महानगर क्षेत्रमा पर्ने सबै खाल्डाखुलडी पुर्ने काम कामपाको नभएको जनाइएको छ । आठ मिटर कम चौडाका सडक मात्र कामपाको अधिकारभित्र पर्दछ, बाँकी अन्य सडक विभाग मातहतमा पर्दछ । पछिल्लो समय सडक विभागले ठूला सडकको खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ । सडकको मुख्य स्थान न्यूरोड, रत्नपार्क, जमल, कालिमाटी कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी विभागले पुरिरहेको छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको थियो । महानगरसँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको छ । उक्त यन्त्रले पानी नपरेको दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सडक सफा गर्दै आएको छ । ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताका रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् । खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुनधारास्थित धरहरा, दरबार हाइस्कूल, रानीपोखरी, काठमाडौँ भ्यूटावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगर वातावरण विभागले जनाएको छ । स्थानीयवासीको गुनासो कामपाका नागरिकले भने ब्रुमर प्रयोगमा आए पनि सडक सफा नभएको भन्दै गुनासो गरेका छन् । कालिमाटीका स्थानीयवासी विष्णु कँडेलका अनुसार ब्रुमर सञ्चालनमा आएको एक वर्ष हुँदासम्म शहरमा अपेक्षाअनुरुप धुलो कम हुनसकेको छैन । समस्याजस्ताको तस्तै छ । “यही अवस्था रहिरहने हो भने महङ्गो रकम खर्च गरेर बु्रमर खरिद गर्नुको कुनै अर्थ छैन”, कडेँलले भने । भित्री सडकमा ब्रुमर पुगेन भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौँ महानगरपालिका (कामपा)लाई ब्रुमर सञ्चालन गर्न समस्या परेको छ । विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात बु्रमर सञ्चालन गर्दै आएको छ । त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ । मुख्य सडकमा खाल्डाखुल्डी देखिँदैन । भएका खाल्डा पुर्ने काम जारी छ । सडक चिल्ला र आकर्षक बन्दै छ । ठाउँठाउँमा रङरोगन लगाएर सौन्दर्यकरणका काम भइरहेको छ । अहिलेको अवस्था नै पर्याप्त नभए पनि उपत्यकाको सडकमा सकारात्मक सुधार आएको छ । सरकारले उपत्यका भित्रिने शाखा सडकको स्तरोन्नतिसमेतलाई प्राथमिकता दिएर काम गरिरहेको छ । पछिल्लो १०० दिनमा मात्रै सरकारले काठमाडौँ उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको छ । यद्यपि भित्री र शाखा सडकमा समस्या यथावत छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसमेत राखेको छ । उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको प्रगति क्रमशः भएको पाइन्छ । तर साना सडकको मर्मतसम्भारका लागि सम्बन्धित निकायले त्यति ध्यान नदिँदा ठूला सडकमा पनि त्यसको असर परेको कामपाले जनाएको छ । रासस