अब विदेशबाट आउने सबैले क्वारेन्टाइनमा बस्नु पर्ने
काठमाडौं । अब विदेशबाट आउने सबैले क्वारेन्टाइनमा बस्नु पर्ने भएकाे छ । शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गर्दै विदेशबाट आउने सबैले क्वारेन्टाइनमा बस्नु पर्ने बताएकाे हाे । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै विभागले विदेशबाट आउनले नागरिकलाई नेपाल प्रवेशमा कडाइ गर्ने जनाएकाे छ । विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार शनिबार मध्यरातदेखि आगामी अप्रिल ३० सम्मका लागि यी प्रावधान लागू हुनेछन् । शनिबारदेखि नेपाल आउने सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म अनिवार्य रुपमा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने विभागले प्रष्ट पारेको छ । यस्तै, विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी नेपाल प्रवेश गर्दा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने जनाइएको छ । विभागका अनुसार कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ निलम्बन गरिएको छ । पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको ‘स्वाब’ परीक्षण रिपोर्ट पेश गर्नुपर्ने छ । गैरआवासीय नेपालीका हकमा पनि यो प्रावधान लागू हुने विभागले जनाएको छ ।
आशा लघुवित्तको फिल्ड व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने फिल्ड व्यवस्थापन तालिम तथा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले गरेका हुन् । फागुन २९ र ३० गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत ६० जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा तालिमको उद्देश्यबारे दुलालले प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । कार्यक्रममा फिल्ड ब्यवस्थापन सम्बन्धी तालिम मेघ राज गजुरेलले प्रशिक्षण दिएका थिए । साथै, उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा तथा दिपेन्द्र खनाल ले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति दिए भने जिवसन धामीले सुचना प्रविधी सम्बन्धी तालीम प्रदान गरेका थिए । वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत ५४ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब रु. २ अर्ब ३१ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ७१ करोड भन्दा बढी निक्षेप संकलन रहेको छ ।
सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न
मेलम्ची । भूकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पपछि चार वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षा अस्थायी सिकाइ केन्द्रमै सञ्चालन भएको थियो । परीक्षा केन्द्र कायम भएका केही विद्यालय भारतीय राजदूतावासमार्फत निर्माण शुरु गरिए पनि टहरामै बसेर परीक्षा दिन भने नपर्ने जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इञ्जिनीयर शेरबहादुर पुजाराले बताए । यस वर्ष जिल्लाबाट चार हजार १०४ परीक्षार्थी एसइइमा सहभागी हुँदैछन् । परीक्षार्थीमध्ये एक हजार ८३४ छात्र र दुई हजार २६७ छात्रा छन् । भूकम्पपछि अस्थायी सिकाइ केन्द्रमा नै एसइई परीक्षा सञ्चालन हुने गरेको भए पनि सबै विद्यालय पुनःनिर्माण सम्पन्न भएपछि यस वर्ष भने परीक्षार्थीले सुविधासम्पन्न विद्यालयमा बसेर परीक्षा दिन पाउने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइले एसइई परीक्षाका लागि २३ परीक्षा केन्द्र निर्धारण गरेको छ । सम्बन्धित परीक्षा केन्द्रका प्रधानध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको समन्वय एकाइ सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए। जिल्लाका सामुदायिक र संस्थागत गरी यस वर्ष १४९ विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुन लागेको प्रमुख सुवेदीले बताए । सामुदायिक १३६ र संस्थागत १३ विद्यालय छन् । एसइई परीक्षाका लागि सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिकासमेत लगिसकिएको छ । माध्यमिक परीक्षा सञ्चालक समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अन्य सुरक्षा निकायसँग समन्वय गरेर परीक्षा केन्द्रमा सुरक्षाकर्मीसमेत खटाइएको प्रमुख सुवेदीले जानकारी दिए । प्राविधिकधारतर्फ एसइईमा सहभागी हुने सबै परीक्षार्थीका लागि सदरमुकाम चौतारास्थित कृष्णरत्न गङ्गा माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्राविधिकधारतर्फ यस वर्ष १३२ परीक्षार्थी सहभागी हुँदैछन् । सिन्धुपाल्चोकमा चार सामुदायिक विद्यालयमा बाली विज्ञान र सिभिल इञ्जिनीयरिङ विषयका पढाइ हुने गरेको छ । त्यस्तै, ग्रेडवृद्धि परीक्षामा पनि १६ परीक्षार्थी सहभागी हुन लागेको समन्वय एकाइका प्रमुख सुवेदीले जानकारी दिए । तेइस परीक्षा केन्द्रमध्ये शारदा मावि बाह्रबीसेमा सबैभन्दा बढी ३६३ तथा सबैभन्दा कम महेन्द्रकान्ति मावि कालिकामा ८१ परीक्षार्थी मात्रै छन् । परीक्षाकेन्द्र रहेका सबै विद्यालय सुविधासम्पन्न रुपमा निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख यमबहादुर खड्काले जानकारी दिएका छन् । परीक्षा केन्द्र कायम भएका सबै विद्यालय निर्माण सम्पन्न भएका छन् । यस वर्ष परीक्षार्थीलाई कुनै असहज नहुने प्रमुख खड्काले जिकिर गरे ।
नागरिक लगानी कोषद्वारा रक्तदान कार्यक्रम
काठमाडौं । नागरिक लगानी कोषले ३० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार भएको उक्त कार्यक्रमको सुरुवात कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका हुन् । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्र कुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, विभागीय प्रमुखहरु शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे लगायतको उपस्थिति रहेको थियो । सो रक्तदानमा कोषका कर्मचारी र अन्य सहभागी गरी करिव ५० जनाले रक्तदान गरेका छन् ।
अझैँ आइपुगेन रेल, अबकाे भाका चैत १८
काठमाडौं । सरकारले भारतमा बनेका दुई रेल नेपाल आइ पुग्छन् भनेको पनि महिनौं बित्यो । रेल विभागले यसअघि पटक–पटक रेल नेपाल आइपुग्ने मिति तय पनि गर्यो । तर, अहिले सम्म न रेल नेपाल आइपुग्यो नत त्यसको लागि भौतिक संरचना तयार पार्यो । विभागले सुरुमा दशैं लगत्तै नेपाल रेल आइ पुग्ने बतायो । त्यतिखेर पनि विविध कारण रेल नेपाल आउन नसकेको भन्दै माघको लागि मिति तोक्यो । विभागले माघमा रेल ल्याउनका लागि भौतिक संरचना तयार नभएको भन्दै माघमा पनि रेल ल्याउन सकेन । अहिले नेपालले खरिद गरेका दुई रेल भारतमा तयार भइसकेका छन् । तर, नेपालले रेलका लागि आवयक पर्ने भौतिक संरचना तयार नभएको भन्दै अहिले रेल ल्याउन नसकिने बताएको छ । भारतको जयनगरदेखि धनुषाको जनकपुर हुँदै कुर्थासम्म ३५ किलोमिटर दूरीमा सञ्चालन हुने भनिएको रेल सेवा सञ्चालनमा ढिलाई भइरहेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले अब चैत १८ अर्थात मार्च ३१ मा रेल नेपाल आइपुग्ने बताए । उनले आजसम्म नेपालमा भौतिक संरचना निर्माण भइनसकेकोले ल्याउन ढिलाई भएकाे बताए । बरु उनी यस अघि पटक–पटक रेल ल्याउने समय नतोकेको जिकिर गर्छन् । ‘यसअघि हामीले संरचनाहरु निर्माण गरिसकेको थिएनौं, भत्केका रेलका लिकहरु निर्माण गरिरहेका थियौं, हामीले अहिले त्यो पनि निर्माण गरिसकेका छौं,’उनले भने । उनले एउटा एसी, २ वटा जनरल बोगी र एउटा इन्जिनको आधा भागको बोगी गरेर ५ वटा बोगी सहितको रेल भारतमा बनेर तयारी अवस्थामा रहेको बताए । ‘भारतमा बनिसकेको रेल ल्याएर नेपालमा थन्क्याउने कूरा भएन, हामीसँग रेल चलाउने जनशक्ति पनि छैन, न कुनै कार्यविधि छ, त्यसकारण पनि ढिलाई भएको हो, रेल निर्माणमा कुनै समस्या छैन, भारतमा रेल निर्माण भइसकेको छ,’ मिश्रले भने । नेपाल सरकारले भारतको कोनकोन रेलवे कर्पोरेशन लिमिटेडसँग २ वटा डेमु रेल खरिद गर्ने निर्णय गरेर भुक्तानी समेत पठाइसकेको छ । सरकारले २ वटा डेमु रेलका लागि कोनकोन रेलवेलाई ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैंयाँ भुक्तानी पठाइसकेको बताइको छ । सम्झौता अनुसार नेपालमा रेल आइसकेपछि बाँकीको रकम भुक्तानी गरिने छ । एसी बोगी र जनरल बोगीमा १ पटक कम्तिमा पनि १ हजारदेखि १ हजार २०० जना यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति नेपालमा नभएका कारण बनिसकेको रेल समेत नेपाल ल्याइएको छैन । तत्कालका लागि जयनगरदेखि कुर्थासम्म ३४ किलोमिटर मात्र रेल सञ्चालन हुने उनको भनाइ छ । २ सय कर्मचारीका लागि पुनस् विज्ञापन गर्ने तयारी रेल विभागले रेल सञ्चालनका लागि २ सय कर्मचारीहरु राख्ने भएको छ । २२६ जना जनशक्ति आवश्यक पर्ने भनी मन्त्रिपरिषद् बैठकबाट निर्णय भएर स्वीकृत भइसकेको छ । सरकारको निर्णय अनुसार नेपाल रेल्वे कम्पनीको सम्पर्क कार्यालय काठमाडौंले फागुन ९ गते १५ दिने म्यादभित्र आवेदन भर्न भन्दै २६ जना जनशक्तिका लागि विज्ञापन खोलेको थियो । एक जना सिनियर सेक्सनल इन्जिनियर सिग्नलिङ, ८ जना स्टेसन मास्टर, १ जना चिफ पावर कन्ट्रोलर, १ जना चिफ लोको इन्स्पेक्टर, ३ जना लोको पाइलट, ३ जना सहलोको पाइलट, ३ जना पीवे सुपरभाइजर, ३ जना मेकानिक, ३ जना प्वाइन्ट्स म्यान गरी २६ जना प्राविधिक जनशक्तिका लागि आवेदन माग गरिएको थियो । कम्तिमा ५ वर्षको अनुभव भएको, चालकका लागि लाइसेन्स भएको नेपाली नागरिकका लागि विज्ञापन खोलिएको थियो तर नेपालमा आवश्यक अनुभव पुग्ने जनशक्तिको आवेदन नै परेन । तोकिएको म्यादभित्र एउटा पनि आवेदन नआएको रेल्वे विभागका मेकानिकल इन्जिनियर नवराज भट्टले बताए । श्रम ऐनको दफा २२ मा नेपालमा जनशक्ति नपाउँदा मात्र विदेशी जनशक्ति लिन पाउने प्रावधान रहेका कारण जनशक्ति नपाइएको प्रमाणित गर्न २६ जनाको विज्ञापन गरिएको भट्ट बताउँछन् । रेल्वे चालकका लागि लाइसेन्स अनिवार्य हुनुपर्छ तर नेपालमा रेल चालकको लाइसेन्स प्रदान गर्ने सरकारी निकाय नै छैन ।
लुम्बिनी विकास बैंकको संचालकमा केशव खतिवडा
काठमाडौं । लुम्बिनी विकास बैंकको संचालकमा केशव खतिवडा नियुक्त भएका छन् । फागुन २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले खतिवडालाई रिक्त सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक खतिवडाले संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी दिप इन्भेष्टमेन्ट प्रा.लि.को तर्फबाट सञ्चालक पदको जिम्मेवार सम्हाल्ने छन् ।
भारतीय प्रधानमन्त्री मोदीकाे प्रस्ताव: कोरोना विरुद्द एक भएर लडौं
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रको एउटा साझा रणनीति बनाउन प्रस्ताव गरेका छन्। उनले संसारभर फैलिरहेको यो रोगकाे सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा सशक्त रणनीति तय गर्न प्रस्ताव गरेका छन्। ‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं,संयुक्तरुपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेश गर्न सक्छौं र स्वस्थ ग्रहका लागि योगदान पुर्याउन सक्छौं,’ उनले ट्विटमार्फत् सो प्रस्ताव सार्वजनिक गरेका छन्। दक्षिण एसियाका ८ मुलुकमध्ये भारत र पाकिस्तानमा कोरोनाका कारण एक-एक जनाको मृत्यु भएको छ भने भारतमा ७५ र पाकिस्तानमा २२ जना संक्रमण भएको पाइएको छ। अफगानिस्तानमा ९, माल्दिभ्समा २, श्रीलंकामा ३, बंगलादेशमा ३, भुटानमा १ (अमेरिकी नागरिक), र नेपालमा १ (निको भइसकेको) जना संक्रमित फेला परेका छन्। नेपालमा देखा परेकाे व्यक्तिमा भने निकाे भइसकेकाे छ ।
सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो दुई नयाँ बचत खाता
काठमाडौं । सिटिजन्स बैंकले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालनमा ल्याएको लछ । उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ बैंकले उक्त दुई नयाँ खाताको शुभारम्भ गरेको हो । ५ हजार रुपैयाँमा खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५० प्रतिशतको उच्च ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्त गर्न सक्ने छन् । यस योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति रू ५० हजारको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र रू ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ । साथै, रु शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५०% ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापन लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति रू २५ हजारको स्वास्थ्य बीमा (अस्पतालभर्ना खर्च) र रू ३ लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराईने छ । बैंकले दुबै योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागी विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । यी दुबै योजनामा निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क अन्तर शाखा कारोबार निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्मार्ट बैंकिंग सुविधा (मोबाईल) सुविधा दिएकाे छ । त्यसैगरी, अनलाइन कारोबार गर्न सुरक्षित थ्री डी सेक्योर प्रविधिमा निःशुल्कदर्ता, लकरको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५०% छुट, नेपाल भरीका जुन सुकै एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९१ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट पाँचला भन्दा बढी खग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।