
काठमाडाैं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा काेराेना भाइरसबाट संक्रमित बिरामीकाे मृत्यु भएकाे भन्ने सन्देशकाे अडियाे गलत भएकाे अस्पतालका अध्यक्ष बसन्त चौधरीले बताएका छन्। सामाजिक सञ्जालमा हल्ला भएजस्ताे अस्पतालमा कुनै काेराेना भाइरस संक्रमितकाे मृत्यु नभएकाे चौधरीले बताएका छन् । हालसम्म नर्भिकमा जाँच भएका कुनै पनि विरामीमा कोभिड १९ का पत्ता नलागेका उनले बताएका छन् ।
अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई काेराेना लागेकाे र एक जनाकाे मृत्यु भएकाे भन्ने सामाजिक सञ्जालमा फैलिएकाे सूचना हल्ला मात्र रहेको बताउँदै चौधरीले हल्लाकाे पछि नलाग्न आग्रह गरे। उनले ट्विटमार्फत् नियतबस गराइएको हल्ला भएकाले यस विषयमा साइबर क्राइम ब्यूरोमा जानकारी गराइएको उल्लेख गरेका छन्।
‘शनिवार बिहानैदेखि नै फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड १९का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको पाउँदा नर्भिक इन्टरनेशनल हस्पिटल परिवार आश्चर्यचकित भएको छ’ नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले भने ‘राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सवै निकाय एक जुट भै समस्यासँग लड्नु पर्ने आजको चूनौतीपूर्ण अवस्थामा यस्ता खाले भ्रामक समाचारप्रति हामी घोर खेद प्रकट गर्दछौं ।’
अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखाएको र नेपालमा एकदमै फैलिसकेको भन्दै आतंक मच्चाउन खोजिएको छ। नर्भिक अस्पतालमा काम गर्ने घर नजिकै बस्ने स्टाफले भनेको भनिएको छ। उसले पुल्चोकमा रहेको नर्भिक अस्पताल भनेको छ। नर्भिक पुल्चोकमा हैन थापाथलीमा छ। अडियोमा हिमाललाई फोन गरेर कुरा सुनाउन खोजेको जस्तो बनाइएको छ। तर यो फोन वार्ता भने हैन। किनभने फोनमा एकतर्फी कुरा मात्र छ।
उक्त अडियाे शनिबार विहानै देखि भाइरल बनेकाे थियाे । साेही अडियाेलाइ आधार मानेर केही अनलाइनले समाचार बनाएका छन् । अडियाेमा आधारित समाचारमा कुनै पनि सत्यता नभएको जनाउँदै भ्रम फैलाउने कार्य पूर्णतया सामाजिक अपराध भएकाे र निन्दनीय भएकाेले दाेषी व्यक्तिकाे पहिचाहन गरी कारवाही गर्न अस्पतालले माग गरेकाे छ ।
सरकारले कोरोनाको परीक्षण हुने अस्पतालको सूचीमा नर्भिक पर्दैन। भाइरसकाे परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुन्छ। नेपालमा हालसम्म भएको परिक्षणमा एक जनामा मात्र कोरोना संक्रमण देखिएकोमा उनी उपचारपछि निको भइसकेका छन्। पछिल्लो समय भएका परीक्षणमा संक्रमण देखिएको छैन।