तराई पढ्न गएका ३ सय विद्यार्थी फर्काउन ३० लाख विनियोजन
काठमाडौं। डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि रु ३० लाख रकम छुट्याएको छ । काइके गाउँकार्यपालिकाको आपतकालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३०० विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको हो । देशव्यापीरूपमा कोरोनाको त्रासका कारण नेपालगञ्ज, काठमाडाँै, पोखरा, सुर्खेतलगायतका जिल्लामा पढ्न गएका विद्यार्थीहरु घर फर्कन चाहेकाले उनीहरुलाई फर्काउनका लागि बैठकबाट रु ३० लाख रकम छुट्याइएको गाउँपालिकाका अध्यक्ष अङ्गत रानाले जानकारी दिए । आफू बसेको ठाउँबाट हवाईजहाज वा गाडी जुनसुकै सवारी साधनबाट घर फर्कने विद्यार्थीको भाडा गाउँपालिकाले व्यहोर्ने उनले बताए । विद्यार्थीका लागि छुट्याइएको रु ३० लाख रकमबाट मास्क, स्यानिटाइजर र साबुन खरिद गर्ने बताइएको छ । रासस
सोमबार प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुन
काठमाडौं । साताको दोस्रो दिन तोलामा ५ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ७७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी ५ सय रुपैयाँ बढेर सोमबार प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सरकारकाे करोना कोषमा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनले १ करोड सहयोग गर्ने
काठमाडौं। सरकारद्वारा घोषणा गरिएको ‘कोरोना कोष’ मा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनले एक कराेड रूपैयाँ सहयोग गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको उक्त काेषमा फाउन्डेसनले साे मात्राकाे सहयाेग गर्न लागेकाे हाे । बसन्त चाैधरीले ट्विटर मार्फत उक्त रकम बराबरकाे सहयोग गर्ने घोषणा गरेका हुन् । ‘नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गर्दछौं।’ उनले ट्विटरमा लेखेका छन् । मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोषको घोषणा गरेको थियो। सो कोषमा मन्त्रीहरूबाट एक महिनाको पारिश्रमिक योगदान गर्ने बताइएको थियो।
लक्ष्मी बैंक अब काभ्रेको पनौतीमा पनि, शाखा संख्या १२१ पुग्यो
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १२१औँ शाखा काभ्रेको पनौतीमा संचालनमा ल्याएको छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ४ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १५० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
अष्ट्रेलियामा आजबाट लकडाउन सुरु
काठमाडौं । अष्ट्रेलियामा आजबाट लकडाउन सुरु भएको छ । अत्यावश्यक ठाउँहरु बाहेक अष्ट्रेलियामा सबै ठाउँहरु आजबाट बन्द गरिने भएकाे हो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आजबाट लकडाउन गर्न घोषण गरेका हुन् । क्यासिनो, बार, नाईटद क्लब, सिनेमा घर, जिम सेन्टर जस्ता मनोरन्जनका स्थानहरु बन्द हुनेछन् भन रेष्टुरेन्टहरुमा टेकअवेको मात्र व्यवस्था हुनेछ । सुपरमार्कट, पेट्रोल स्टेसन, फामेर्सी, अस्पताल, सपिङ मल, बैंकहरु खुला हुनेछन् । यसका साथै पार्क जस्ता सार्वजनिक ठाउँहरु पनि खुला हुनेछन् । यद्यपी विद्यालयहरु बन्द नहुने मोरिसनल बताएका छन् । तर अभिभावकहरुले चाहेको अवस्थामा आफ्ना छोराछोरीलाई घरमै राखेर अनलाईन कक्षाहरु उपल्बध भए लिन सक्ने उनले बताएका छन् । यस्तै अष्ट्रेलिया बासीहरुलाई पुर्ण रुपमा घरबाट निस्कन रोक भने लगाईएको छैन । उनीहरुलाई मानिसहरुसँग बाहिर निस्कँदा कम्तिमा पनि एक मिटरको दुरी राख्न आग्रह गरिएको छ । यस्तै उनीहरुलाई अनावश्यक यात्राहरु पनि नर्गन अनुरोध गरिएको छ ।
देशैभर लामो दूरीका सवारीसाधन बन्द, काठमाडौंका सडक हुन थाले खाली
काठमाडौं । लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएसगैँ काठमाडौंका सडक खाली हुन थालेका छन् । सरकारले सोबारदेखि देशैभर लामो दूरीको सवारीसाधान सञ्चालनमा रोक लगाए पछि काठमाडौंका सडक खाली हुन थालेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट बच्न सरकारले आजदेखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । कोरोना भाइरसको त्रास बढेसँगै सरकारले सावधानी अपनाउन सवारीसाधन बन्द गर्ने निर्णय लिएको थियो । कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले चैत १० देखि २१ गते सम्मकालागि लामो रूटका सार्वजनिक सवारीसाधन संचालन बन्द गर्ने घोषणा गरेको थियो । ७ चैत (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै आजदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनमा रोक लगाएको घोषणा गरेका थिए । केहिदिनयता गाडी नचल्ने भएपछि उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चैत ७ गते काठमाडौं उपत्याकाको विभिन्न नाका हुँदै १ लाख ३० हजार ८ सय २२ जना र चैत ८ गते २ लाख ६ हजार ३ सय ३९ जना यात्रु बाहिरिएका छन् । ९ चैतदेखि संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू देशैभर २१ चैतसम्मका लागि बन्द गरिसकिएको थियो । शिक्षण संस्थाहरू यसअघि नै बन्द भइसकेका छन् भने परीक्षा पनि स्थगित गरिसकिएको छ । सरकारी प्रावधान अनुसार लामो दूरी भन्नाले २५० किलोमिटरभन्दा टाढालाई मानिन्छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अहिलेको अवस्थामा रोगबाट जोगिन सबैले स्वास्थ्य सतर्कता अपनाउनका लागि लामो दूरीका सवारीसाधन बन्द गरिएको बताए ।
साेमबारदेखि नेपालका सबै सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्काे निर्णय
काठमाडाैं सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । साेमबार विहान १० बजेदेखि सबै नाका बन्द हुनेछ । भारतमा कोरोनाको संक्रमणकाे फैलावट उच्च रूपमा देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने निर्णय लिएकाे हाे । भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ । मन्त्रिपरिषदको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको हो ।
सोमबारदेखि सेयर बजार बन्द, सेबोनको पक्षमा अर्थमन्त्री बोलेपछि नेप्से लत्रियो
काठमाडौं । सोमबारदेखि आगामी आइतबारसम्म सेयर बजार बन्द हुने भएको छ । आइतबार नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले पाँच कार्यदिन सेयर काराेबार बन्द गर्ने निर्णय गरेकाे बाेर्डका कार्यकारी निर्देशक तथा प्रबक्ता निरज गिरीले जानकारी दिए । धिताेपत्र सम्बन्धि कानुनले पाँच दिनसम्म बजार बन्द गर्न निर्देशन दिन सक्ने अधिकार धिताेपत्र बाेर्डलाइ दिएकाेले साेही अनुसार निर्णय भएकाे उनले बताए । ‘आगामी आइतबारसम्म सेयर बजार बन्द हुन्छ । त्यसपछि अवस्था हेरेर बाेर्डले निर्णय लिन्छ’ विकासन्युजसँग प्रवक्ता गिरीले भने । आइतबार विहानैदेखि सेयर कारोबार खुला गर्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद भएको थियो । नेपाल धितोपत्र बोर्डले पुँजी बजार अत्यावश्यक सेवाभित्र नपर्ने जनाउँदै कारोबार बन्द गर्न बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्जलाई मौखिक निर्देशन दिएको थियो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनका आधारमा बजार बन्द गर्नुपर्ने धितोपत्र बोर्डको भनाई थियो । पुँजी बजारका अगुवा लगानीकर्ताले पनि गत विहीबार देखि नै कोरोना महामारीका कारण बजार संकटमा परेको तर्कसहित बजार बन्द गर्न माग गरेका थिए । तर नेप्सेले सेयर बजारलाई सधैं स्वतन्त्र छोड्नु पर्ने र सेयर किन्ने वा बेच्ने लगानीकर्ताको संबैधानिक अधिकार हनन् गर्न नहुने तर्क गर्दै बजार बन्द नगर्ने अढान लिएको थियो । २०७२ सालमा भने भूकम्प पछि पनि सेयर बजार २२ दिन बन्द गरेर खुला गरिएको थियो । बजार बन्द गर्न बोर्डले दिएको निर्देशनको पालना नेप्सेले नगरेपछि अर्थमन्त्रीले आईतबार धितोपत्र बोर्ड र नेप्सेका अध्यक्ष, कार्यकारी प्रमुख र सञ्चालकहरु राखेर सहमतिको प्रयास गरेका थिए । बैठकमा धितोपत्र बोर्डबाट अध्यक्ष भिष्मराज ढुंगान, सञ्चालक यज्ञप्रसाद ढुंगेल, कार्यकारी निर्देशक निरज गिरी सहभागि थिए भने नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, सञ्चालक रमेश अर्याल र महाप्रबन्धक चन्द्रसिंह साउद सहभागि थिए । बैंठकमा अर्थमन्त्री युवराज खतिवडाले नियामक निकायले गरेको निर्णय अनुमति प्राप्त संस्थाले मान्नु पर्ने सामान्य अभ्यासको पनि परिपालना नभएको र सानोतिनो विषयमा अनावश्यक विवाद गरेको टिप्पणी गरेका थिए । २०७२ सालको भूकम्पपछि २२ दिन बजार बन्द भएको उदाहरण दिदै अर्थमन्त्रीले संकटको बजारमा बजारमा स्थायीत्व दिन नियामकले आवश्यक निर्णय लिनु पर्ने उनको भनाई थियो । स्रोतका अनुसार दुई पक्षीय बैठकमा अर्थमन्त्रीले सेबोनको पक्ष लिएपछि नेप्सेका पदाधिकारीहरु लत्रिएको थिए । बैंठकमा नेप्सेका पदाधिकारीले धितोपत्र बोर्डको लिखित निर्देशन आएपछि त्यसका पालना गर्ने बताएका थिए । स्रोतका अर्थमन्त्रालयमा भएको बैठक सकिएपछि साँझ धितोपत्र बोर्डको सञ्चालक समितिले यो साताको लागि सेयर बजार बन्द गर्ने निर्णय लिएको हो ।