कैलालीमा निषेधाज्ञा जारी
काठमाडाैं । कोरोना भाइरसको रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अहिले २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भइसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । सोमबार बिहानै देखि सुदूरपश्चिम प्रदेशका मुख्य शहर कैलालीको धनगढी, अत्तरिया, टीकापुर तथा कंचनपुरको महेन्द्रनगर बजार पूर्ण रुपमा बन्द रहेका छन् । भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै भारतको सीमा नाकासँग जोडिएका यी शहरहरुमा आवात जावत देखि हिँडडुलमा कडाई गरिएको छ । यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू नै जारी गरेको छ ।
नेपाली कामदार फिर्ता गर्न थाले विदेशी कम्पनी, दुई देशका ३ सय ३६ जना फिर्ता गर्न पत्राचार
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीलाई रोजगारदाता कम्पनीले फिर्ता गर्न थालेका छन् । विश्वभर फैलिएको कोरोना सन्त्रासको कारण कम्पनी बन्द भएकोले कामदार फिर्ता प्रक्रियामा त्यस्ता कम्पनी लागेका हुन् । यसै क्रममा दुबई र बहराईनका कम्पनीहरुले ३ सय ३६ नेपाली स्वदेश फिर्ता पठाउने प्रक्रिया सुरु गरेका छन् । ती दुई देशका कम्पनीहरुले नेपालका वैदेशिक रोजगार व्यवसायीलाई पत्र पठाउँदै कामदार फिर्ता लैजान आग्रह गरेका छन् । दुबइ र बहराइनका कम्पनीले नेपाली कामदार फिर्ता लिन आग्रह गर्दै वैदेशिक रोजगार व्यवसायी संघ तथा सम्बन्धित म्यानपावरलाई पत्र पठाएका हुन् । वैदेशिक रोजगार रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारीमा विभिन्न मुलुुकका रोजगारदाता कम्पनी बन्द भएसँगै नेपालीलाई फिर्ता पठाउने पत्र आउन थालेको बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले वैदेशिक रोजगारीमा तथा अध्ययन एवंम भ्रमणका लागि विदेशीयका नागरिकको अवस्थाप्रति संसारभरका सरकार केन्द्रित भएका छन् । ‘हालसम्म बहराईन र दुबईका ८ कम्पनीमा कार्यरत ३ सय ३६ नेपाली कामदारलाई फिर्ता पठाउन कम्पनीले सन्देश संप्रेषण गरेका छन्’ महासचिव श्रेष्ठले भने । बहराईनको राजधानीमा रहेको फोर सीजन होटलमा कार्यरत ४८ नेपालीलाई नेपाल फिर्ता गर्ने तयारी भएको भन्दै उक्त होटलले सूचना पठाएको छ । कोरोना भाइरसको संक्रमण फैलिए र होटल बन्द भएसँगै त्यहाँ कार्यरत सबै विदेशी नागरिकलाई आफ्नो देश फर्काइरहेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघलाई पत्राचार गरेको छ । मिलेनियम् एयरपोर्ट होटेल दुबई बन्द भएसँगै त्यस होटलमा कार्यरत ४ नेपालीलाई नेपाल फर्काउने तयारी गर्दै कम्पनीले पत्रचार गरेको थियो । ग्रान्ड कोज्मोपलिटन् होटल, दुबईमा कार्यरत १९ नेपाली कार्यरत छन् । कोरोना भाइरसको संक्रमणकै कारण होटल बन्द भएसँगै नेपाल फिर्ता पठाउन पत्रचार गरेको छ । दुबईमा रहेको ५ तारे रेडिसन होटल बन्द भएसँगै त्यहाँ कार्यरत ४७ जना नेपाली देश फर्काउनका सन्देश प्राप्त भएको छ । त्यस्तै दुर्बइमा रहेको अर्काे ५ तारे होटल इन्टरकन्टिनेंटल पनि बन्द भएको भन्दै त्यहाँ काम गरिरहेका १ सय २० जना नेपालीलाई नेपाल फर्काउन पत्र आएको छ । क्राउन प्लाजा दुबई पनि बन्द भएको छ । त्यहाँ रहेका ७८ जना नेपालीलाई नेपाल फर्काउन पत्र आएको छ । उक्त प्लाजाभित्र रहेका १२ वाटै रेष्टुरेन्ट बन्द भइसकेको जानकारी आएको छ । नियमित रुपमा देशभरिका धेरै कार्यक्रम हुने तथा खेलाडीको आकर्षित गर्न अब्बल रहेको अबूधाबी गल्फ क्लब बन्द भएको छ । त्यहाँ रहेका १३ जना नेपाली फर्काउन उक्त क्लबले पनि सन्देश पठाएको छ । दुबईमा रहेको अरबियन होटल ग्रुप पनि बन्द भएको र त्यहाँ रहेका ७ जना नेपालीलाई नेपाल फर्काउन उक्त कम्पनीबाट सन्देश प्राप्त भएको श्रेष्ठले जानकारी दिए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जुनसुकै मुलुकमा रहेका नागरिकलाई रोग संक्रमण भएमा दुवै देशको सहमतिविना पठाउन नपाउने घोषणा गरेको छ ।
आज क्षणिक वर्षाको सम्भावना
काठमाडाैं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनसँगै स्थानीय वायु सक्रिय भएकाले अपराह्नपछि बदली भई वर्षा भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार प्रिमनसुनको समय भएकाले पहाडी भू–भागको मौसम अपराह्नपछि परिवर्तन भइरहन्छ । प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने मौसमविद्को भनाइ छ । मार्चदेखि शुरु हुने प्रि मनसुन मेसम्म चल्छ । भोलि देशको पश्चिमी भूभागमा सामान्य बदली रही पश्चिम पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जनाइएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव चार डिग्री र अधिकतम तापक्रम २४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
काेराेना राेकथामका लागि कृषि विकास बैंककाे एक करोड २५ लाख सहयाेग
काठमाडौं । कृषि विकास बैंकले कोरोना कोषमा एक करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणकाे लागि नेपाल सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा बैंकले सो मात्राको रकम सहयोग स्वरुप उपलब्ध गराएको हो । कोभिड-१९ कोरोना नामक भाईरसले आम विश्वसमुदायलाई त्रसित बनाई रहेको यस अवस्थामा नेपाल र नेपाली जनता पनि उच्च जोखिममा रहेको यस विपतको घडीमा कोभिड-१९ कोरोना नामक भाईरससंग सावधानी पूर्वक डटेर सामाना गर्नका लागि व्यक्तिगत सुरक्षा सामाग्री, स्वास्थ्य उपकरण, नमूना परिक्षण किट र क्वारेण्टाईन लगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन उक्त सहयोग गरेको हो । मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोषको घोषणा गरेको थियो। सो कोषमा मन्त्रीहरूबाट एक महिनाको पारिश्रमिक योगदान गर्ने बताइएको थियो।
वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको लर्को
काठमाडाैं । सरकारले भारत र चीनसँग जोडिएको सबै नाकामा एक साताका लागि आवागमन बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको आज बिहानैदेखि लर्को लागेको छ । सरकारले गरेको उक्त निर्णय कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई निर्देशन दिए पनि एकाबिहानै काठमाडौँलगायत नेपालका विभिन्न शहरमा काम गर्ने भारतीय आफ्नो देश फर्किने क्रममा वीरगञ्ज नाका हुँदै भारततर्फ जानेहरुको बिहानैदेखि ताँती नै लागेको थियो । अति आवश्यक सामान बोकेका मालबाहक ट्रक, तेल बोकेका ट्याङ्कर एकाबिहानै भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेको छ । भारतबाट नेपाल आउने पैदलयात्रीलाई जाँच गरी तथा हेल्थ डेस्कमा स्वास्थ जाँच गरी छाड्दै गरेको छ । त्यहाँ रहेका वीरगञ्ज महानगरपालिकाका अहेव जितेन्द्रप्रसाद गुप्ताले थर्मामिटरबाट सामान्य जाँच गरी छाड्ने गरेको छ । एक जना मात्र स्वास्थकर्मीले पैदलयात्रीलाई स्वास्थ जाँच गर्ने गरेकाले भीडको कारण समस्या परेको बताएका छन् । आज बिहानैदेखि नेपालबाट भारत तथा भारतबाट नेपालतर्फ एक हजारभन्दा बढी पैदलयात्री प्रवेश गरेको त्यहाँ रहेका सशस्त्र प्रहरीले जनाएको छ । भारतको विहारमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएपछि सो रोगको सङ्क्रमण फैलिन नदिन नेपाली सीमामा रहेका सशस्त्र प्रहरी तथा नेपाली सेनाले कडाइका साथ जाँच गर्ने गरेको स्थानीय प्रशासनले जनाएको छ । यसैबीच जिल्ला प्रसाशन कार्यालय पर्साको आइतबार बसेको सुरक्षा समितिको बैठकले भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले वीरगञ्ज रक्सौल नाका भएर नियमितरूपमा आवतजावत गर्नेबाहेक भारतका विभिन्न स्थानबाट आउने भारतीयलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । रासस
सेयर बजार बन्द गर्नु उपयुक्त होइन, खुल्ला गर्ने यस्ता छन् ३ विकल्प
काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न भन्दै नियामक निकाय धितोपत्र बोर्डले यो साता सेयर बजार बन्द गरेको छ । सेयर बजार बन्द गर्नु नै अहिलेको लागि उपयुक्त विकल्प हो भन्ने एकथरीको तर्क छ भने बजार बन्द गरेर आफ्नो स्वामित्वको निर्वाध भोगचलन गर्न पाउने संबैधानिक अधिकार कुण्ठित गरियो भन्ने अर्काथरीको तर्क छ । अहिलेको अवस्थामा यी दुबै तर्क सही छन् । किन सही छन् भने संकटको बेलामा मानिसले सही निर्णय लिन सक्दैन, सही निर्णय लिन नसक्ने बेलामा गरिएको सेयर किनबेच सही निर्णय हुँदैन । त्यसैले अहिलेको त्रासदीपूर्ण अवस्थामा सेयर बजार खोल्नु हुदैन । फेरि सरकारले कोरोना संक्रमणबाट बच्न भन्दै विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्वोधन गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जानकारी गराएका छन् । सरकारले २५ जनाभन्दा बढी जम्मा हुन रोक रोक लगाएको छ । यस्तो बेलामा सेयर बजार बन्द गर्नु ठीक कदम हो । तर, नेपालको संविधानले नागरिकलाई सम्पत्तिमाथिको हक पनि पद्रान गरेको छ । आफ्नो सम्पत्तिको निर्वाध भोगचलन गर्न पाउने संबैधानिक अधिकार सेयर बजार बन्द गर्ने नियामक निकायको निर्णयको कारण कुण्ठित भयो भन्ने तर्क गर्नेहरु पनि छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमण देखिएको छैन । संक्रमण देखियो भने फैलन सक्छ भनेर सरकारले उच्च सावधानी अपनाएको बेला मात्रै हो । सावधानी अपनाएकै बेलामा नागरिक अधिकार कुण्ठित गर्नु उपयुक्त नहुने यसको विपक्षमा रहेकाहरुको तर्क छ । त्यसोभए सरकारले गरेको निर्णय कार्यान्वयन पनि हुने, कोरोना संक्रमण विस्तार पनि रोकिने र नागरिक अधिकार कुण्ठित हुनबाट पनि जोगिने कुनै उपाय छैन ? नियामक निकायले बजार बन्द गर्न निर्णय दिनुअघिदेखि नै आफूहरु मध्यमार्गी उपायको विषयमा छलफलमा जुटिसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउँछन् । ‘नेप्सेमा कारोबार हुने सेयर भनेको नागरिकको सम्पत्ति हो, धितोपत्र बोर्डले यो साताको लागि बजार बन्द गर्ने निर्णय गरेको छ, तर एक सातामै कोरोना संक्रमणको सम्भावना नसकिन पनि सक्छ, त्यसैले कुन विधि र विकल्प अपनाएर नागरिकको सम्पत्ति बन्धक नहुने तथा सम्भावित कोरोना महामारीको संक्रमणबाट पनि जोगिने भनेर हामीले छलफल गरिरहेका छौं,’ प्रमुख कार्यकारी अधिकृत साउदले विकासन्युजसँग भने । नेप्सेले छलफल गरेका विकल्प के कस्ता हुन् भन्ने बारेमा साउदले खुलाएनन् । कोरोना संक्रमणले आक्रान्त देशहरुमा पनि सेयर बजार खुलिरहेका छन् । नेपालमा संक्रमण पनि देखिएको छैन । अहिले नेपालले गरेको भनेको सम्भावित संक्रमण विस्तार रोक्नको लागि शतर्कता मात्रै हो । अरु देशको पुँजी बजारको पूर्वाधार र हाम्रो पूर्वाधार तुलना गर्न सकिने खालको छैन भन्ने तर्क पनि आएको छ । यस्तो समस्याको बेलामा पूर्वाधार तयार पार्न दबाब दिने कि बजार बन्द गराउन उक्साउने भन्ने अर्काे प्रतिप्रश्न हो । नेपाली सेयर बजारमा अझै पनि म्यानुअल कारोबारको हिस्सा धेरै छ । अनलाइन कारोबार गर्नेहरुको संख्या कम छ । यही बेलामा अनलाइन कारोबारलाई प्रोत्साहित गर्ने प्रकारका गतिविधि गर्नु उत्तम र दीर्घकालिन फाइदाको कुरा हो । शतर्कता अपानाएकै अवस्थामा सेयर बजार बन्द गर्ने हो भने संकट आएको अवस्थामा के गर्ने भन्ने अर्काे समस्या पनि आउन सक्छ । किनभने धितोपत्र बोर्डले बढीमा ५ दिन बजार बन्द गर्न पाउने कानुनी अधिकार पाएको छ । शतर्ककताकै समयमा बोर्डले सो अधिकार प्रयोग गरिसक्यो । समस्या नै देखियो भने बोर्डले अब के गर्छ ? सेयर कारोबार बन्द गर्नु राम्रो कुरा होइन । यसले अविश्वास नै पैदा गर्छ । यस्तो बेलामा नियामक निकायसहित सरोकारवालाले ३ विकल्पमा बजार खुल्ला गर्न सक्छन् । पहिलो विकल्प पहिलो विकल्प भनेको विनाशर्त बजार खोल्ने नै हो । बजारले बजारको स्वभाव अनुसार काम गर्न पाउनु पर्छ । अहिले बजार धेरै घट्यो भने फेरि बढ्छ । बजार भनेको नै यही हो । योभन्दा पहिला २९३ विन्दुमा नेप्से परिसुचक पुगेको बेलामा कोरोना आएको थिएन । भूकम्पको त्रासदी पनि थिएन । अर्थमन्त्री पनि बजारमैत्री भनेर चिनिएका तत्कालिन एमालेका नेता सुरेन्द्र पाण्डे थिए । तर बजार घट्यो । र, जतिबेला बजार बढेर १८८१ विन्दुमा पुगेको थियो, त्यो बेला पनि त्यस्तो उत्पादत केही भएको थिएन । बजारले आफ्नो गति, विश्लेषण र स्वभाव अनुसार प्रतिक्रिया जनाएको थियो । दोस्रो विकल्प दोस्रो विकल्प भनेको बजारका प्राविधिक मापदण्डलाई निश्चित समयका लागि थप कसिलो बनाएर बजार खुल्ला गर्ने भन्ने हो । जस्तो कि अहिले एकै दिन बजार ६ प्रतिशतले घट्यो वा बढ्यो भने बन्द गरिन्छ । निश्चित अवधीको लागि यो ६ प्रतिशतको सीमालाई २ वा ३ प्रतिशतमा झारौं । अर्थात सर्किट ब्रेकका जे जति व्यवस्थाहरु छन्, तिनलाई केही समयको लागि कसिलो बनाएर बजारलाई सकेसम्म स्वभाविक बन्न प्रेरित गर्ने भन्ने हो । यस्तै, कारोबार समय पनि अहिलेकोबाट घटाएर २ वा ३ घण्टा बनाउन सकिन्छ । तेस्रो विकल्प तेस्रो विकल्प धितोपत्र कारोबारको अन्तराष्ट्रिय मूल्य र मान्यता अनुसारको छैन । यो विकल्प ‘संकट नै सिर्जनाको जननी हो’ भन्ने सिद्धान्तमा आधारित छ । त्यो भनेको के हो भने बजार खोल्ने । तर, यसरी खुल्ला गरिएको बजारमा एक दिनमा एक जनाले निश्चित रकम बजारको सेयर खरिद विक्री गर्न पाउने परिमाणात्मक बन्देज लगाउन सकिन्छ । जस्तो कि कसैलाई अस्पतालमा औषधोपचार गर्न ५० हजार रुपैयाँ चाहिएको छ भने उसले सो बराबरको सेयर बेचेर नगद बनाउन पाउने बाटो खुल्ला गर्नै पर्छ । उदाहरणको रुपमा कुनै सेयरधनीले एक सातामा वा १५ दिनमा ५० हजार रुपैयाँ बराबरको मात्रै सेयर बेच्न पाउने व्यवस्था गर्ने हो त्यसले सेयर बजारमा धेरै असर पार्दैन । सो लगानीकर्ताले राखेको सेयर विक्री भएन भने नागरिक लगानी कोषले किन्ने अन्तिम विकल्प राख्न सकिन्छ । तर, यसको कार्यान्वयन गर्न केही नीतिगत कठिनाइहरु छन् । अहिलेको व्यवस्थाले कोषलाई केही समस्या हुन सक्छ । कोष व्यवस्थापनलाई संचालक समितिले निश्चित परिमाणको सेयर किन्न अधिकार दिएकोले सो सीमाभित्रको सेयर खरिद गर्न कुनै समस्या नभएको कोषका उपकार्यकारी निर्देशक डा. इन्द्र कट्टेल बताउँछन् । कोष व्यवस्थापनलाई संचालक समितिले दिएको सीमा बृद्धि गर्नुपर्ने अवस्था रह्यो भने त्यसको बाटो खुल्ला राख्नुपर्ने हुन सक्छ । रकमका आधारमा परिमाणात्मक बन्देज नलगाउने हो भने गत विहीबारको सेयर मूल्यलाई त्यसबाट घटबड नहुने गरी फिक्स्ड गर्न सकिन्छ । यस्तो व्यवस्था निश्चित अवधिको लागि मात्रै गर्न सकिन्छ । तर, खरिदकर्ता निश्चित गरेर वा मूल्य फिक्स्ड गरेर गरिने कारोबार सेयर कारोबारको सैद्धान्तिक दायराभित्र पर्दैन । यो विकल्प भनेको संविधानले व्यवस्था गरेको सम्पत्तिमाथिको नागरिकको हक कुण्ठित हुनबाट जोगाउनका लागि मात्रै हो । विकल्प अरु पनि हुन सक्छन् । संकटको समयमा बजारमा अनावश्यक चलखेल गर्ने तत्व हावी हुन सक्छ । यस्ता तत्वलाई मुन्टो उठाउने ठाउँ नै नदिने प्रबन्ध गरी सेयर कारोबार खुल्ला राखिनु पर्छ । बजार खुल्ला राख्दा सेयर बजारको अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार नै खुल्ला गर्नुपर्छ, त्यति पनि हुन सकेन भने संविधानको व्यवस्था अनुसार नागरिककको सम्पत्तिमाथिको अधिकार कुण्ठित हुन दिनु हुदैन ।
नेपालमा थप एक जनालाई देखियो कोरोना
काठमाडाैं । नेपालमा थप एक जनालाई काेराेना देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एक जनामा काेराेना देखिएकाे बताएका हुन् । उनले साेमबारकाे पत्रकार सम्मेलनमा थप एक जनामा काेराेना देखिएकाे बताएका हुन् । फ्रान्सबाट कतार हुँदै आएकी ती महिलामा हिजाे साँझ मात्र काेराेना पाेजेटिभ देखिएकाे उनले बताए । अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए । १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए। फ्रान्समा पढ्न गएकी ती विद्यार्थीकाे नाम, ठेगाना खुलाउनु राम्राे नहुने मन्त्री ढकालले बताए । ‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने। याेसँगै हालसम्म नेपालमा काेराेनाकाे दुई केस देखा परेका छन् । पहिलाे ससंक्रमित भने निकाे भएर घर गईसकेका छन् ।
त्रिशुली गल्छी जलविद्युत आयोजनाको पीपीए खारेज
काठमाडौं । ७५ मेगावाटको त्रिशुली गल्छी जलविद्युत आयोजनाको विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) खारेज भएको छ । नुवाकोट र धादिङमा निर्माण हुने भनिएको जलविद्युत आयोजनाको नेपाल विद्युत प्राधिकरणले सोमबार सार्वजनिक सूचना गरी सम्झौता खारेज गरिएको जानकारी गराएको छ । पीपीएमा भएको व्यवस्था बमोजिम आयोजनाको प्रवर्द्धक कम्पनी सिद्धकाली पावरले लगानी जोहो (वित्तीय व्यवस्थापन) गर्न नसकेको भन्दै सम्झौता खारेज गरिएको जानकारी गराएको हाे । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले आयोजनाको उत्पादन अनुमतिपत्र पनि गत मंसिरमा खारेज गरिसकेको छ । मन्त्रालयले अनुमपति पत्र खारेज गरी आयोजनालाई बास्केटमा राखेको छ । प्राधिकरण र कम्पनीबीच २०७३ जेठ २०मा पीपीए भएको थियो । पीपीएको दफा ३८.२मा भएको प्रावधान बमोजिम कम्पनीले २१ महिनाभित्र वित्तीय व्यवस्थापन गर्न नसकेपछि सम्झौता खारेज गरिएको प्राधिकरणले जानकारी दिएको छ । दफा ३८.२मा सम्झौता लागू भएको २१ महिनाभित्र आयोजनाको वित्तीय व्यवस्थापन समापन भएको विवरणसहितको जानकारी दिनु पर्ने र त्यस्तो विवरण प्राधिकरणमा प्राप्त नभएमा सम्झौता स्वतः खारेज हुने व्यवस्था छ । आयोजनाको अनुमानित लागत १५ अर्ब ५० करोड रुपैयाँ थियो । त्यसमध्ये ९ अर्ब ८३ करोड रुपैयाँ चिनियाँ कम्पनीले लगानी गर्ने र बाँकी नेपाली लगानीकर्ताबाट जुटाउने गरी समझदारी भएको थियो ।