शङ्कास्पद बिरामी बढेसँगै बागलुङमा कोभिड–१९ सङ्क्रमण रोक्ने तयारी
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न र फैलिन नदिन भएका प्रयासकै बीच मङ्गलबार बिहानै बागलुङमा एक्कासी त्रास छायो । गत सोमबार कतार एयरवेजमार्फत काठमाडौं आएकी एक किशोरीमा कोरोनाको सङ्क्रमण रहेको पुष्टि भएको समाचार काठमाडौँमा सार्वजनिक भएसँगै उनीसँगै एउटै जहाजमा आएका एक युवा जिल्लामा रहेको खबरले यहाँका स्थानीयमा भय उत्पन्न गर्यो । सरकारले उनीसँगै आएकाहरुको खोजी थालेको थियो । ती युवतीसँग कतारबाट सँगै आएका एक युवा बागलुङको ढोरपाटनमा रहेको पुष्टि भएपछि मङ्गलवार बिहान उनको खोजी शुरु भयो । त्यस लगत्तै ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीसहित स्वास्थ्यकमकर्मीको समूह उनको घरमै पुगेर ‘होम क्वारेनटाइन’ मा बस्न आग्रह गरेर फर्किएको छ । त्यसको केही समयमा ती युवासँग काठमाडौँदेखि बागलुङ आएका दुई जना युवाको विषयमा पनि खुल्न आयो । उनीहरु आफ्ना बुबाको काजकिरियामा रहेको खुलेपछि नगरप्रमुख नेपालीसहितको समूहले काजकिरिया सकिएपछि पनि १४ दिन नपुग्दासम्म एकान्तमा बस्न सुझाएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा मिलन मल्लले बताए । स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने सुरक्षा कवच (प्रसनल प्रोटेक्टिभ इक्युपमेण्ट) को अभाव हुँदा बागलुङमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको परीक्षणका लागि लिइने नमूना सङ्कलनसमेत प्रभावित भएको छ । सुरक्षा कवचको अभावका कारण गत चैत ५ गते फ्रान्सबाट कतारको हुँदै नेपाल आएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक महिलाको नमूना सङ्कलन गर्न नसकिएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । सोमबार काठमाडौंमा कोरोना सङ्क्रमणको पुष्टि भएकी महिलासँगै आएकी बागलुङकी महिलालाई पनि केही दिनदेखि ज्वरो आउने, रुघा लाग्नेलगायतका लक्षण देखा परेपछि उनको परिवार मङ्गलबार अस्पतालको सम्पर्कमा आएको थियो । काठमाडौंकी महिलामा सङ्क्रमण देखिएपछि परिवारले अस्पतालमा सम्पर्क गरेर उनी बिरामी रहेको जानकारी गराएको भए पनि कोरोना परीक्षणका लागि नमुना सङ्कलन गर्न कठिन भएको धौलागिरी अञ्चल अस्पतालका डा पुजन मल्लले जानकारी दिए । अस्पतालले सोमबारदेखि शङ्कास्पद बिरामी आउन थालेपछि सुरक्षा कवच तथा अन्य प्राविधिक सामग्रीको व्यवस्थापनमा लागेको छ । बुधबार मात्रै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.शैलेन्द्र बि।पोखरेलले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग पहल गरेर पाँचथान सुरक्षा कवच प्राप्त गरेकाले बुधबार बिहानसम्म उनको घाँटीको स्वाब लिने काम हुने अस्पतालले जनाएको छ । यो भन्दा पहिले भारतको पट्नाबाट बागलुङ आएका एक जना शङ्कास्पद बिरामीको सोमबार घाँटीको स्वाब नमुना लिएर परीक्षणका लागि पठाइ सकिएको छ तर नतिजा आइसकेको छैन । कोरोना सङ्क्रमणले समस्या बढाएकै बेला बागलुङ बजारस्थित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर भने बन्द भएको सूचना आयो । अस्पतालले ढोकामै सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरेको जानकारी गराएको थियो । कोरोना भाइरस परीक्षण लगायतका सामग्री नभएकोले अस्पताल बन्द गरिएको सूचनामा उल्लेख छ । “हामीले ४ दिनअघिदेखि सामग्री मगाएका थियौँ, प्राप्त भएको छैन”, अस्पतालका अध्यक्ष सन्तोष रावलले भने । उनले सामाग्री आएमा तत्काल खुलाउन पनि सकिने बताए । सरकारी अस्पतालमा सामग्री र बीमाको कार्यक्रम हुने तर निजीमा नहुने भएकोले डाक्टर तथा कर्मचारीले पनि काम गर्न नमानेको उनको भनाइ छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले यस्तो अवस्थामा अस्पताल बन्द गर्नु राम्रो नभएको र निजी अस्पतालको दर्ता र कारवाहीको प्रकृया स्थानीय तहमा गएकोले खोल्न सुझाव मात्र दिएको बताए । “यस्तो बेलामा आकस्मिक सेवा मात्रै दिएको भएपनि राम्रो हुन्थ्यो” उनले भने । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले वर्तमान अवस्थामा कुनै जानकारीविना ढोकामा सूचना टाँसेर अस्पताल बन्द गर्नु अत्यन्तै गैरजिम्मेवारीपूर्ण काम भएको बताए । उनीहरुले किन अस्पताल बन्द गरेका हुन् स्पष्टीकरण सोधेर तत्काल कारवाही प्रकृया अगाडि बढाउने पनि उनले बताए । अस्पतालमा आउने सबै प्रकारका बिरामीको उपचार दिनुपर्ने बेला बन्द गर्ने काम मानवीयता बिरुद्धको भएको भन्दै जिल्लाभर नै विरोध भएको छ । सर्वसाधारणको चर्को बिरोध र सरोकारवालाको दवाव पछि अस्पताल प्रशासनले अस्पताल सञ्चालन हुने मङ्गलवार साँझ बताएको छ । विश्वव्यापी रुपमा कोरोना सङ्क्रमणको असर बढेसँगै विदेशबाट गाउँ फर्किएका ८ जनालाई यहाँको एक वडाले ‘होम क्वारेनटाइन’मा राख्ने भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीले विदेशबाट आएका आठ जनालाई होम क्वारेनटाइनमा राख्ने तयारी थालेको हो । वडा अध्यक्ष चित्रकला श्रीसको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले भारत, युएइ, कतार तथा जापानबाट घर फिर्ता भएकोहरुलाई १४ दिनसम्म आफ्नै घरमा अन्य व्यक्तिको सम्पर्क बाहिर रहेर बस्न आग्रह गर्ने निर्णय गरेको हो । कोरोनोको सम्भावित जोखिमलाई ध्यानमा राखेर क्वारेनटाइनमा राख्ने निर्णय गरिएको अध्यक्ष श्रीसको भनाई छ । सरकारले घोषणा गरेको लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्न सर्वसाधारणले अटेर गरेपछि यसलाई प्रभावकारी बनाउन बागलुङमा सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकपछि बागलुङका प्रमुख जिल्ला अधिकारी गैलोचन सैंजुले मङ्गलबार आदेश जारी गर्दै सेना परिचालन गरे । आदेशमा निषेधाज्ञा जारी गरिएकाले त्यसलाई प्रभावकारी बनाउन नेपाली सेनालाई परिचालित हुन अनुरोध गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरी सोही ऐनको दफाको ६ को उपदफा २ बमोजिम नेपाली सेनाको अर्जुनबाण गण घोडाबाँधे ब्यारेकलाई परिचालित हुन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अर्जुनबाण गणका गणपति मिलनध्वज खाँडले आफुहरु प्रजिअको आदेशअनुसार परिचालित भएको पुष्टि गरे । कोरोना (कोभिड–१९) को सङ्क्रमणबाट जोगाउन देशभर लकडाउनको घोषणा गरेसँगै जिल्ला प्रशासन कार्यालय र यहाँका सरोकारवालाले क्वारेनटाइन निर्माणलाई तिब्रता दिएका छन् । बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित रामरेखा आधारभूत विद्यालयमा २० जना बिरामी अट्ने क्षमताको क्वारेनटाइन बनाउन लागिएको हो । यो बाहेक यहाँका केही विद्यालयका प्राङ्गडलाई आपतकालीन अवस्थामा प्रयोगमा ल्याउन सकिने जिल्ला सुरक्षा समितिले जनाएको छ । सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरस रोकथामको लागि आइसोलेसन वार्ड बनाउन सकिने व्यवस्था गरेसँगै रामरेखा आधारभूत विद्यालयमा २० जना क्षमताको क्वारेन्टाइन निर्माण थालिएको प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले जानकारी दिए । सदरमुकाम बाहिरका स्थानीय तहले पनि क्वारेन्टाइन निर्माण लगायतका कामलाई तिब्रता दिएका छन् । स्वास्थ्य संस्थाहरुलाई तयार राख्ने, आपतकालीन रेस्पोन्स् टिम बनाउने कामहरु भैरहेको पालिका प्रमुखहरुले विज्ञप्तीमार्फत जानकारी गराएका छन् । सदरमुकामको अञ्चल अस्पतालले दुई शैयाको ‘आइसोलेसन वार्ड’ बनाएको छ । तर केही शङ्कास्पद बिरामी देखा परेपछि थप व्यवस्थापनमा लागिएको अस्पताल विकास समितिका सदस्य शालिकराम शर्मा बताउनुहुन्छ । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण मुलुक नै लकडाउन भएको बेला काँठेखोला गाउँपालिकाले आफ्ना विपन्न जनतालाई राहत सहयोग उपलब्ध गराउने भएको छ । सवै आ–आफ्ना घरमा बस्नुपर्ने भएपछि बिहान बेलुका छाक टार्न समस्या भएका गाउँपालिकाभित्रका विपन्न जनतालाई खाद्यान्न राहत वितरण गर्न लागिएको पालिका अध्यक्ष अमर थापाले बताए । यो राहत दैनिक श्रमका आधारमा हातमुख जोर्ने नागरिकलाई मात्र रहेको उनले बताए । “पालिकाभित्रका विपन्न जनता, जसलाई लकडाउनका कारण बिहानबेलुका छाक टार्न समस्या छ उनीहरुलाई खाद्यान्न वितरण गर्न लागेका छौ” अध्यक्ष अमर थापाले भने । प्रारम्भिक राहतको रुपमा प्रत्येक परिवारलाई एक बोरा चामल र दाल दिने तयारी गरेको उनले भने। परिस्थिति हेरेर राहत र सहयोगको मात्रा बढाइने छ । खाद्यान्न राहत वडा अध्यक्षमार्फत विपन्न परिवारको घरमा नै पुराइने ब्यवस्था मिलाइएको छ । जिल्लामा कोरोना सङ्क्रमणको त्रास रहेको स्थानीय बताउँछन् । बागलुङ बजारमा व्यवसाय गर्दै आएका बलेवाका नन्दप्रसाद घिमिरेले “शान्त भएपछि व्यपार गरौँला यो बेला पसल बन्द गरेर घरैमा गएर बस्ने भन्दै लकडाउनको घोषणासँगै मङ्गलवार राती घर फर्किए । उनले जस्तै देशका ठूला शहर र जिल्ला सदरमुकामबाट गाउँमा फर्किनेहरुका कारण यतिबेला बागलुङका गाउँहरु भरीभराउ छन् । ‘दशैंमा भन्दा धेरै मान्छे गाउँमा छन्’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका जीवन शर्मा भने । ठूला शहर र विदेशबाट समेत गरेर बागलुङका गाउँहरुमा दशौं हजार मानिस भित्रिएका छन् । बागलुङमा कोरोनाको त्रासका कारण भएका प्रभावका आलावा स्थानीय प्रशासनले बुधबार देखि सेना परिचालनको आदेश गरेसँगै रातारात हिँडेर बजार छेउका गाउँहरुमा पुग्नेहरुको सङ्ख्या समेत उल्लेख्य रुपमा बढेको देखिएको छ । यतिखेर भने बागलुङ बजार सुनशान बन्दैछ । सडकमा प्रहरी मात्र देखिन्छन् । अत्यावश्यक सेवा प्रवाह गर्ने पानी, दुध, खाद्यान्न, अस्पताल लगायतका क्षेत्रमा समेत लकडाउनको प्रभाव छ । त्यस्ता ठाउँ र पसल पनि आधामात्र ढोका खुलेको अवस्थामा देखिन्छन् । बजारमा सामान्य व्यपार व्यवसाय गर्नेदेखि कर्मचारीसम्म गाउँ फर्किएका छन् । यहाँका बजार क्षेत्रका स्थायी बासिन्दा बाहेक नगन्य रुपमा मात्रै सर्वसाधारण बजार क्षेत्रमा छन् । रासस
अब धरानको बीपी कोइराला अस्पतालमा पनि कोरोना परीक्षण गरिने
काठमाडौं । सरकारले अब पूर्वको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोराना परीक्षण गरिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलन गर्दै बीपी कोईराला धरानमा पनि कोराना परीक्षण गरिने बताएका हुन् । उनले काेराेना परीक्षणका लागि किटजन्य सामाग्री पठाएको बताए । मन्त्री ढकालले यससँगै सरकारले सातै प्रदेशमा छिटै नै काेराेना परीक्षण ल्याब संचालनमा ल्याउने जानकारी दिए । हाल काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण भइरहेको छ।
कोरोना सोचेभन्दा छिट्टै नियन्त्रणमा आउँछ-नोबेल पुरस्कार विजेता माइकल लेभिटकाे प्रक्षेपण
एलए टाइम्स । नोबेल पुरस्कार विजेता तथा स्ट्यान्फोर्ड विश्वविद्यालयका बायो–फिजिसिस्ट (जैविक विज्ञ) माइकल लेभिटले गत जनवरीमै कोरोना भाइरस संक्रमितको तथ्यांक विश्लेषण सुरू गरेका थिए । उनले चीनको तथ्यांक केलाउँदै जे प्रक्षेपण गरे, त्यो ठ्याक्कै मिल्न आयो । संसारका अरू धेरै स्वास्थ्य विशेषज्ञले चीनमा कोरोना भाइरस संक्रमण महिनौं वा वर्षौंसम्म रहने अनुमान गरेका थिए। लेभिटले भने त्योभन्दा धेरै अगाडि नै चीनको महामारी मत्थर हुँदै जाने हिसाब निकाले। आज उनले भनेअनुसार नै चीनमा कोरोना संक्रमण नियन्त्रित हुँदै गएको छ। अहिले यी नोबेल विजेताले अमेरिका र अन्य मुलुकमा पनि यस्तै नतिजा प्रक्षेपण गरेका छन्। जति बेला संसारका धेरै सरुवारोग विशेषज्ञले चीनको महामारी महिनौं वा वर्षौंसम्म रहने चेतावनी दिँदै दसौं लाख मान्छेको मृत्यु हुने अनुमान गरेका थिए, लेभिट त्यसमा सहमत थिएनन्। तथ्यांकबाट त्यो हदसम्मको मानव विनाश पुष्टि नहुने उनको भनाइ थियो। खासगरी सरकारले सामाजिक दुरी कायम राख्न ‘लक(उन’ को निर्देशन जारी गरेका क्षेत्रमा संक्रमण फैलिने क्रम कम हुँदै गएको उनको तर्क थियो। ‘अहिलेको अवस्थामा सुधार आउनेछ, हामीले धैर्य भने छाड्नु हुन्न,’ उनले भने। लेभिटले चीनमा गरेको तथ्यांक विश्लेषण यस्तो थियोः जनवरी ३१ को दिन चीनमा कोरोना भाइरस संक्रमणबाट ४६ जनाको मृत्यु भयो। यसको ठ्याक्कै अघिल्लो दिन मृत्यु हुनेको संख्या ४२ थियो। उनका अनुसार, दैनिक मृत्यु संख्या बढे पनि मर्नेहरूको वृद्धिदर घट्दै गएको थियो। यति मात्र होइन, नयाँ बिरामी संख्या पनि पहिलेभन्दा कम अनुपातमा बढेको थियो। यो चीनमा महामारी अवस्था विस्तारै सहज हुँदै गएको पहिलो संकेत थियो। यसलाई लेभिटले कार रेसिङसँग दाँज्दै भनेका थिए, ‘महामारीलाई खुला राजमार्गमा कुदिरहेको रेसिङ कारसँग तुलना गरौं। कारले आफ्नो गति बढाइरहेकै छ, तर सुरूआतमा जुन रफ्तारले उसको गति बढेको थियो, अहिले त्यो रफ्तार कम भएको छ।’ ‘यसले के देखाउँछ भने संक्रमणबाट मान्छे मर्ने क्रम आगामी एक सातापछि कम हुँदै जानेछ,’ लेभिटले फेब्रुअरी १ मा लेखेको यो रिपोर्ट चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसलगत्तै उनले चीनमा कोरोना भाइरसबाट हुने मृत्यु संख्या हरेक दिनजसो घट्दै जाने अनुमान गरे। तीन सातापछि लेभिटले ‘चाइना डेली न्यूज’ लाई अन्तर्वार्ता दिँदै भाइरस वृद्धिदर उच्चतम विन्दुमा पुगेको बताए। चीनमा करिब ८०,००० व्यक्ति संक्रमित हुने र ३,२५० जनाको मृत्यु हुने उनको प्रक्षेपण थियो। उनको भविष्यवाणी धेरै हदसम्म सही साबित भयो। मार्च १६ सम्म चीनमा संक्रमित संख्या ८०,२९८ पुग्यो भने ३,२४५ जनाको ज्यान गयो। झन्डै १ अर्ब ४० करोड जनसंख्या भएको यो मुलुकमा हरेक वर्ष करिब १ करोडको मृत्यु हुन्छ। कोरोना भाइरस पुष्टि भएका नयाँ बिरामी संख्या पनि प्रतिदिन करिब २५ मा झर्यो। गएको बुधबारयता पहिलेजस्तो सामुदायिक स्तरमा भाइरस फैलिएको पाइएको छैन। सन् २०१३ मा रसायनशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका लेभिट अब अमेरिका र अन्य मुलुकका लागि यस्तै ‘टर्निङ प्वाइन्ट’ को आंकलन गर्दैछन्। उनले दैनिक ५० भन्दा बढी नयाँ बिरामी भइरहेका ७८ वटा मुलुकको तथ्यांक विश्लेषण गरेका छन्। त्यसमध्ये धेरैमा ‘‘सुधारको संकेत’ देखिएको उनको भनाइ छ। उनी आफ्नो विश्लेषणमा कुल बिरामी संख्या हेर्दैनन्। दैनिक कति जना नयाँ व्यक्तिमा यो भाइरस देखियो भन्ने तथ्यांक मात्र हिसाब गर्छन्। र, हरेक दिनको तथ्यांकलाई अघिल्लो दिनसँग तुलना गरेर नयाँ बिरामी बढ्ने क्रम केलाउँछन्। ‘संख्यात्मक रूपले हेर्दा अवस्था चिन्ताजनक नै छ, तर विस्तारै सुधार हुँदै गएको संकेत पनि देखिँदैछ,’ उनले भने। उदाहरणका लागि, दक्षिण कोरियामा कुल बिरामी संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ, तर हरेक दिनको छुट्टाछुट्टै तथ्यांक हेर्ने हो भने नयाँ बिरामी संख्या अघिल्लो साताको दाँजोमा घटेको छ। अहिले यो दुई सयभन्दा कम छ। यसले महामारीको ताप विस्तारै मत्थर हुँदै जाने संकेत देखाउँछ। इरानमा पुष्टि भएका नयाँ बिरामीको दैनिक संख्या गत साताभरि लगभग समानान्तर रह्यो। गत आइतबार १,०२८ जना नयाँ बिरामी भेटिएकामा सोमबार यो संख्या १,०५३ थियो। यो पक्कै पनि कम संख्या होइन, लेभिटले भने, ‘तर यसले भाइरस संक्रमण मध्यम विन्दुमा पुगेको देखाउँछ।’ इटालीमा भने अहिले पनि बढ्दो क्रममै छ। त्यहाँ गत साताभरि हरेक दिन नयाँ बिरामी संख्या वृद्धि भइरह्यो । प्रारम्भिक चरणको महामारी नियन्त्रण गर्न सफल केही ठाउँमा संक्रमण फेरि फर्किनसक्ने अधिकारीहरूको भनाइ छ। चीन आफूकहाँ महामारी थामिए पनि ढुक्क छैन। अहिले तीव्र गतिले फैलिरहेका ठाउँबाट फेरि आफूकहाँ संक्रमण भित्रिनसक्नेमा ऊ सतर्क छ। उसको सम्पूर्ण प्रयास दोस्रो चरणको संक्रमण नियन्त्रण गर्नमा केन्द्रित छ। अन्य देश पनि यही चुनौतीसँग जुधिरहेका छन्। लेभिट आफ्नो प्रक्षेपण एकदमै कम तथ्यांकमा आधारित रहेको स्वीकार्छन्। कतिपय देशमा व्यापक रूपले परीक्षण हुन सकेको छैन। यसले नयाँ बिरामीमा संक्रमण देखिने क्रम स्वाभाविक रूपले थोरै छ। यस्तो तथ्यांक अपूर्ण भए पनि ‘जुन ठाउँमा हरेक दिन लगातार बिरामी संख्या घट्दै गएको छ, त्यहाँ केही न केही आकलन गर्न सकिने’ उनी बताउँछन्। अर्को शब्दमा भन्दा, तथ्यांक अपूर्ण भए पनि त्यसै आधारमा हरेक दिनको बिरामी संख्या दाँजेर सामान्य निष्कर्ष निकाल्न सकिन्छ। कोरोना भाइरसका कारण हुने मृत्युको तथ्यांकले लेभिटको प्रक्षेपणलाई केही बल भने दिन्छ, उनी भन्छन्, ‘मृत्यु र नयाँ बिरामी हुने क्रम धेरै हदसम्म मिल्दोजुल्दो छ।’ डायमन्ड प्रिन्सेस क्रूज जहाजको उदाहरण लिउँ, जसमा ३,७११ मान्छे थिए। तीमध्ये ७१२ जनामा संक्रमण देखियो, आठ जनाको मृत्यु भयो। ‘यो तथ्यांकबाट संक्रमित व्यक्तिहरू रहेको कुनै निश्चित ठाउँमा महामारी फैलिने अवस्था कस्तो छ भनी केलाउन सकिन्छ,’ लेभिटले भने। डायमन्ड प्रिन्सेस जहाजको तथ्यांकबाट उनले के अनुमान लगाएका थिए भने, नयाँ व्यक्तिमा संक्रमणको जोखिम आगामी दुई महिनामा दोब्बर हुनसक्छ। दुई महिना अवधिसम्म धेरै मान्छेमा मृत्युको जोखिम अत्यन्तै कम हुन्छ। यसको मतलब, संख्या दोब्बर भए पनि मृत्यु जोखिम अत्यन्तै कम हुने लेभिटको अनुमान हो। ‘लेभिटको यो प्रक्षेपण सही छ कि छैन भनी समयले देखाउनेछ,’ म्यासाचुसेट्स विश्वविद्यालयका जैविक तथ्यांकशास्त्री निकोलस रिचले भने, ‘मेरो विचारमा बढीभन्दा बढी विज्ञले आ–आफ्ना अवधारणा अगाडि ल्याए नीति निर्मातालाई आगामी साता वा महिनाहरूमा कस्तो कदम चाल्ने भनी निर्णय लिन सजिलो हुनेछ।’ लेभिट कोरोना संक्रमण नियन्त्रण गर्न सामाजिक दुरीलाई अपरिहार्य मान्छन्। खासगरी ठूल्ठूला जमघट निषेध गर्नु अनिवार्य भएको उनको भनाइ छ। ‘धेरै मान्छेमा यो नयाँ भाइरससँग जुध्ने प्रतिरोधात्मक शक्ति छैन। कोरोनाविरुद्धको खोप पनि महिनौं टाढा छ,’ उनले भने, ‘त्यसैले यो साथीहरूसँग बाहिर जमघट गर्ने सही समय होइन।’ अनुवाद/साभार : सेतोपाटी
वैदेशिक रोजगारीमा रहेका नेपालीको साहारा बन्न राजदूतावासलाई आग्रह
काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै विदेशमा रहेका नेपालीको सुरक्षाबारे सरकारले सो देशको दूतावासलाई व्यवस्थापन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समा नेपालीको अवस्थाबारे जानकारी लिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको उपस्थितिमा इजराइल, दक्षिण अफ्रिका, मलेसिया, जापान, दक्षिण कोरियामा रहेका नेपालीको अवस्थाबारे उक्त भिडियो कन्फ्रेन्स गरेका हुन् । उक्त छलफलमा भिसा सकिएर नेपाल आउने क्रममा रहेका नेपालीले काम गर्ने कम्पनीसँग समन्वय गरि गाँस, बास र अति आवश्यक सेवा सुविधा व्यवस्थापन गर्न सम्बन्धित दूतावासलाई पहल गर्न सरकारले दिएको छ । नेपालीको उच्च मनोबल खस्किन नदिनको आग्रह गरेको छ । त्यस्तै, सोमबार मध्यपूर्व, अफ्रिकास्थित नेपाली राजदूतसँग त्यहाँको अवस्थाबारे छलफल गरेका थिए ।
राजकुमार चार्ल्सलाई कोरोना संक्रमण
लन्डन । वेल्सका राजकुमार चार्ल्स फिलिप आर्थर जर्जलाई कोरोना संक्रमण भएको छ । क्लेरेन्स हाउसले राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेकाे हाे । एलिजावेथ द्वितीयका जेठा छोरा ७१ वर्षीय चार्ल्सलाई सामान्य कोरोनाका लक्षण देखिएको बताइएको छ । तर, उनको अवस्था भने सामान्य रहेको प्रवक्ताले जनाएका छन् । त्यसैगरी उनकी पत्नी डचेस अफ कोर्नवाल, क्यामिलालाई पनि कोरोना परीक्षण गरिएको थियो । तर, उनलाई भने कोरोना नेगेटिभ देखिएको बीबीसीले जनाएकाे छ ।
अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने एनआरएनएको तयारी, एक साता भित्र भित्र्याइसक्ने
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरनो विरुद्ध जुध्न घोषणा गरेको १ करोड रूपैयाँ सहयोगबाट सरकारलाई उक्त स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराउन लागिएको हो । स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट गैरआवासीय नेपाली संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको संघले जनाएको छ। पन्तले स्वास्थ्य सामग्री नेपाल भित्राउन पहल गरिदिने मन्त्री ज्ञवाली र नेपाल सरकारलाई गैरआवासीय नेपाली समुदायका तर्फबाट हार्दिक धन्यवाद दिएका छन् । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको छ । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधी सहितको एक कार्यदल गठन गरेको हो । संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार चीनबाट उक्त सामग्री संकलन गर्न नेपाल सरकार समक्ष आग्रह गरेको छ । ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी बनेको केसीले जानकारी दिएका छन्। नेपाल सरकारले एक साता भित्र ती सामग्री संकलन गरेर नेपाल भित्राउने तयारी गरेको केसीले जनाए । यसअघि गैरआवासीय नेपाली संघले विश्वभर रहेका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी समेत गरेको छ । संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोनापीडित राहत कोष संकलन समिति, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको थियो।
को हुन् कोरोना संक्रमण भएका तेस्रो व्यक्ति ?
काठमाडौं । बुधबार कोरोना संक्रमण पुष्टि भएका तेस्रो व्यक्ति धादिङको स्थायी बासिन्दा रहेको स्वास्थ्य मन्त्रलायले बताएको छ । मन्त्रलायले बुधबार पत्रकार सम्मेलन गर्दै ती व्यक्ति धादिङका रहेकाे बुझिएकाे हाे । उनी हाल ३२ वर्षका भए । उनी चैत ६ गते दुबई सारजाहबाट एयर अरेवियाकाे फ्लाईट नम्बर जि ९५३७ मार्फत नेपाल आएका थिए । कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि उनी ११ चैतमा परीक्षणका लागि टेकु अस्पताल पुगेको स्जास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । हिजो मात्रै उनलाई असहज स्थिती आएपछि टेकु अस्पतालमा भर्ना भई जाँच गर्दा पोजेटिभ देखिएको हाे । उनी अहिले उपचाररत छन् ।
आपूर्तिमा सहजता ल्याउन चेम्बर अफ कमर्सले गठन गर्यो समन्वय समिति, को को छन् ?
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उपाभोग्य वस्तुको आपूर्तिमा सहजता ल्याउन नयाँ समन्वय समिति गठन गरेको छ । कमर्सले हाल लकडाउन भएको परिस्थितिमा औषधी, मास्क, खाद्यन्नको आपूर्तिमा सहज हुने हेतुले ६ जनाको नयाँ समिति गठन गरिएको चेम्बरका निर्देशक सुस्मिता लालले बताएकी छिन् । उक्त समितिमा दीपक मल्होत्रा, देवेन्द्र भक्त श्रेष्ठ, मृगेन्द्र मेहर श्रेष्ठ, कृष्णमान श्रेष्ठ, निरज राई र राजेन्द्र सिम्खडा रहेका छन् । कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न सरकारले मंगलबारदेखि लकडाउन गरेको छ ।