किष्ट शिक्षण अस्पतालका सबै स्रोत कोरोना नियन्त्रणमा परिचालन
काठमाडौं । कोरोना भाइरसको आशंका बढेसँगै किष्ट शिक्षण अस्पतालले आफ्ना सम्पूर्ण साधन तथा स्रोत परिचालन गर्ने भएको छ । अस्पतालमा रहेका चिकित्सक कर्मचारी टोलीलाई सुरक्षित गर्दै सर्वसाधारणलाई सेवा परिचालन गर्ने भएको हो । यस अवस्थालाई नियन्त्रण् गर्न अस्पतालका विशेषज्ञ चिकित्सक १ सय २०, मेडिकल अफिसर ३५, इन्र्टन चिकित्सक ७०, नर्स १ सय ५० लगायत अन्य प्राविधिक, प्रशासनीक कर्मचारीसहित अस्पताल परिवार प्रतिबद्ध छ । यस विकट परिस्थीतिमा अस्पताल स्थानीय प्रशासन एवं स्वास्थ तथा जनसंख्या मन्त्रालयसंग निरन्तर समन्वयमा रहनेछ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालयले बेला बखतजारी गरेको निर्देशन यस शिक्षण अस्पतालले अवलम्बन गरिरहेको छ । लकडाउनको स्थितिमा कोभिड १९ को स्क्रीनिंगका लागि अस्पतालले फीवर क्लिनिकका संचालन गरी सर्बसाधारणलाई विषेश सेवा दिइरहेको बारे जानकारी गराएको छ । फीवर क्लिनिकका बाहेक अस्पतालले दिने अन्य विशेषज्ञ सेवाहरु जस्तैः प्रसूति, खोप, इमर्जेन्सी शल्यक्रिया, हेमो डायलाइसीस आदि सेवा समन्वयात्मक डंगले सुचारु भइरहेको छ । उपचारमा खटिने चिकित्सक टोलीका लागि आवश्यक पर्ने सुरक्षाका सामग्रीहरु (पिपिई) स्थानीय बजारमा नपाईरहेको अवस्थामा स्थानीय सरकार एवं नेपाल सरकारलाई उपलब्ध गराइदिन अनुरोध गरीएको छ । यस विकट घडिमा अस्पतालले प्रोटेक्टिव गाउन ह्यान सेनिटाइजर आदी साधनहरु समेत निमार्ण गरी प्रयोगमा ल्याएको छ । अस्पतालले प्रथम चरणमा ५ वटा बेड भएको आइसोलेसन वार्डबाट सेवा सुरु गरेकोमा हाल आएर थप ६० बेडको डेडिकेट् आइसोलेसन वार्ड, (जसका लागि डेडिकेट् लिफ्ट छुटटईएको), र २२ वेडको आईसियू उपलब्ध गराई सेवा दिइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
क्वारन्टाइनमा बस्ने थपिँदै, धमाधम तयार हुँदै शय्या
महोत्तरी। आफ्नै घरमा स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या महोत्तरीमा सात पुगेको छ । गत शुक्रबार (चैत ७ गते) साउदी एवरवेजबाट घर फर्केका थप दुई जना सम्पर्कमा आएपछि जिल्लामा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढेको हो । सो विमानबाट घर फर्केका जिल्लाका ११ मध्ये पाँच जना दुई दिनपहिलेदेखि नै स्वास्थ्य जाँचपछि क्वारेन्टाइनमा बस्दै आएका छन् । सउदी एयरवेजबाट घर फर्केका ११ मध्ये चारसँग सम्पर्क हुन अझै बाँकी छ । चारै जनाको घर ठेगाना र नाम यकिन भइसकेको हुँदा उनीहरुलाई सम्पर्कमा ल्याउन प्रयत्न भइरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । गत शुक्रबार सउदी एवरवेजबाट आएकी एक युवतीमा कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भएपछि सो विमानबाट आएका अन्यको खोजी थालिएको हो । अहिले सम्पर्कमा आएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको जनाइएको छ । सबैलाई आआफ्नै घरमा समयसमयमा स्वास्थ्यकर्मीको निगरानी हुने गरी क्वारेन्टाइनमा राखिएको हो । जिल्लामा ‘लकडाउन’ मा कडाइ गरिँदै लगिएको छ । रमिते बनेर सवारी साधन लिई बजार निस्कने क्रमशः घट्दै गएका छन् । जिल्लामा पहिलो दिन गत मङ्गलबार ‘लकडाउन’ अवज्ञा गर्ने २०० भन्दा बढी सवारी साधनलाई चेतावनीसहित छाडिएको थियो । दोस्रो दिन बुधबार सो सङ्ख्या घटेर ९५ मा झरेको र आज बिहीबार भने मुख्य सडकमा सवारी साधन लिएर हिंँड्ने कमै देखिएका छन् । यसैबीच कोरोना सङ्क्रमण रोक्न महोत्तरीमा धमाधम क्वारेन्टाइन बनाइँदैछन् । जिल्लामा भारत र अन्य मुलुकबाट घर फर्कनेहरु थपिँदै जाँदा उनीहरुलाई सुरक्षित राख्न क्वारेन्टाइन बनाउन थालिएको हो । बर्दिबास नगरपालिकामा ५५ शय्याको क्वारेन्टाइन तयार भएको छ । बर्दिबास-४ स्थित सशस्त्र प्रहरी बलको दुई नम्बर वाहिनीमा तीन दक्ष चिकित्सक र पाँच स्वास्थ्यकर्मीसहित ३८ शय्या र बर्दिवास-१ स्थित बर्दिबास सेवा समितिको भवनमा दुई दक्ष चिकित्सक र चार स्वास्थ्यकर्मीसहित १७ शय्याको क्वारेन्टाइन तयार भएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए । यसबाहेक जलेश्वरमा २० र पिपरामा१५ गरि ३५ शैयाको कोरेन्टाइन तयार छ । यसैगरि जिल्लाका सबै ९१५ वटै० स्थानीयतहमाक्वारेन्टाइन निर्माण गर्न आवश्यक समन्वयभइरहेको प्रजिअखत्रीले जानकारी दिए । यसैबीच क्वारेन्टाइन बनाउन ठाउँको खोजी भइरहेका बेला राजपा नेपालकी नेत्री तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले बर्दिबास-१४ मा आफूले सञ्चालन गर्दै आएको होटल पावन मिथिलाको भवन उपलब्ध गराइने बताउनुभएको छ । यसैगरी बर्दिबास-१४ स्थित होटल शुभसन्ध्या पनि आवश्यकतानुसार क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने होटल प्रबन्धक दीपक कार्कीले बताएका छन् । सरकारले कोरोना सङ्क्रमण बढ्न नदिन गत मङ्गलबारदेखि एहप्ते ‘लकडाउन’ शुरु गरेसँगै बजार, यातायात बन्द गरिएका छन् । जिल्लाका ११ भारतीय सीमावर्ती नाका यसअघि गत आइतबार नै बन्द गरिएका छन् । सरकारले लकडाउन गरेयता व्यापार व्यवसाय रोकिएपछि बर्दिबास-१ का हर्कबहादुर तामाङले आफ्नो घरका १७ सटर (व्यापार प्रयोजनका कोठा) को भाडा यो असर रहुञ्जेल नलिने बताएका छन्। बर्दिबास उद्योग वाणिज्य सङ्घले गत आइतबार कोरोना सङ्क्रमण बढ्न नदिन बजार र व्यापार बन्द गर्ने निर्णय गरेसँगै घरधनीलाई भाडा मिनाहा गर्न आग्रह गरेपछि तामाङले यस्तो घोषणा गरेका हुन् । तामाङले आफ्ना १७ सटरबाट मासिक रु पाँच लाख भाडा लिँदै आएका थिए । यसैगरी अन्य घरधनीलाई पनि फराकिलो मन बनाउन सङ्घका अध्यक्ष प्रल्हाद क्षत्रीले आग्रह गरेका छन् । रासस
व्यापार घाटा कम गर्ने रणनीतिः उर्जामन्त्रीले कुलमानलाई भने, ‘इन्डक्सन प्रयोग गर्नेलाई महसुल कम लिनु’
काठमाडौं । सरकारले विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत् महसुलमा छुट दिने भएको छ । ‘लकडाउन’ का बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै सरकारले विद्युत् महसुलमा छुट दिने भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई एक सय ५० युनिटसम्म विद्युत् महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरी इन्डक्सन चुल्हो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएका हुन । ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ, विद्युत् हाम्रो आफ्नै उत्पादन हो,यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ, ’उनले भने । मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रह समेत गरे । ‘महसुल छुट नदिँदा पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्छ, ‘छुटपछि त झन् सस्तो पर्न आउँछ, विद्युतको आन्तरिक खपत बढाउन पनि मन्त्रालयले यस्तो निर्णय गरेको हो,’ इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई एक सय ५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन मन्त्री पुनको निर्देशन छ । मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने जानकारी दिए । बिहान बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकोमा अहिले त्यो माग घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ । यसअघि बुधबार बसेको नोवेल कोरोना (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो ।
डब्ल्यूएचओले भन्यो: जुनसुकै बेला पनि सकरात्मक समाचार आउन सक्छ, ६ प्रकारका औषधिको महापरीक्षण सुरु
काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) संसारभरका देशलाई महामारीको लागि औषधिको महापरीक्षण गर्न आग्रह गरेको छ । डब्ल्युएचओले सबैभन्दा प्रभावकारी रेमडेसिवीर, क्लोरोक्विन, हाइड्रोक्सीक्लोरोक्विन, रिटोनावीर, लोपिनावीर र इन्टरफेरान औषधिको महापरीक्षणका लागि आग्रह गरेको हो । यी अौषधिको प्रयोगले कोरोना भाइरसको संक्रमण निको भएका थिए । कोरोना भाइरसको संक्रमण भएका व्यक्तिलाई निको पार्नका लागि प्रयोग भएका औषधिको महापरीक्षण सुरु भएको हो । विश्व स्वास्थ्य संगठन ले यी ६ प्रकारका औषधिको मिश्रण वा यसैको सहायतामा अन्य कुनैको मिश्रण बरदानसावित हुनसक्ने विश्वास लिएको छ । यी औषधिबाटै कोरोना भाइरसलाई हराउन सक्ने विश्वास डब्ल्युएचओको लिएको छ । रेमडेसिवीर, क्लोरोक्विन, हाइड्रोक्सीक्लोरोक्विन, रिटोनावीर, लोपिनावीर र इन्टरफेरान औषधिसँगै संसारभरका वैज्ञानिक तथा चिकित्सकहरुले अन्य औषधिमा पनि अनुसन्धान जारी राखेका छन् । यी औषधिले कोरोना भाइरसका संक्रमित, उपचारमा संलग्न चिकित्सक र रोगीका परिवारलाई सहयोगी बन्नसक्ने अपेक्षा डब्ल्युएचओले गरेको छ । डब्ल्युएचओका अनुसार चीन, अमेरिका, फ्रान्स, स्पेन, इरान, दक्षिण अफ्रिका, दक्षिण कोरियालगायतका देश अहिले महापरीक्षणमा जुटिरहेका छन् । अबको एक महिनामा कुनै नतिजामा पुग्न सकिन्छ । अहिले सबै समयमा खराब समाचार मात्र आएको र अब भने जुुनसुकै समयमा सकरात्मक समाचार आउन सक्छ । के काम गर्छ महापरीक्षणका भइरहेका औषधिले ? रेमडेसिवीर : रेमडेसिवीरले जिलिड साइन्सेजले इबोलाको उपचारका लागि बनाएको हो । यसले भाइरसलाई मानिसको शरीरमा पुगेर नयाँ भाइरस बनाउन रोक्छ । अमेरिकाको सबैभन्दा पहिलो कोरोना संक्रमित व्यक्तिमा रेमडेसिवीर नामक औषधि चलाइएको थियो । क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विन : यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने भाग नष्ट हुने र भाइरस आक्रमणका लागि असफल तथा कमजोर हुन्छ । क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विन औषधिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वकालत गरेका थिए । उनले यो औषधिलाई गेम चेन्जर भनेका थिए । डब्ल्युएचओको वैज्ञानिक समितिले यो औषधि खारेज गरेको थियो । तर जेनेभामा भएको डब्ल्युएचओको वैज्ञानिको बैठकले यो औषधि महापरीक्षणका लागि पठाउने निर्णय भने गरेको छ । यो औषधिको विषयमा संसारभरबाट माग आएपछि महापरीक्षणका लागि पठाइएको हो । रिटोनावीर लोपिनावीर : यो औषधि चीनको वुहानमा प्रयोग गरिएको थियो । एचआइभी रोक्नका लागि यसको प्रयोग गरिएको थियो । हल्का संक्रमणका लागि रिटोनावीरको र धेरै संक्रमण भएमा लोपिनावीरको प्रयोग गरिन्छ । यो औषधिले शरीरमा भाइरसको आक्रमण हुने ठाउँमा पुगेर भाइरस र मानिसको कोशिकालाई छुट्टाउने काम गर्छ । इन्टरफेरान–भिटाका : यो औषधि साउदी अरेबियाले मिडिलइष्ट रेस्पिरेटरी सिन्ड्रमको समयमा संक्रमित बिरामीमा प्रयोग गरिएको थियो । यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने टिस्युलाई नोक्सान पुर्याउँछ । त्यसको असरस्वरुप भाइरसको प्रभाव कम हुँदै जान्छ । एजेन्सी ।
चीनियाँ कम्पनीकाे नेपाललाई २ हजार किट उपहार हस्तान्तरण
काठमाडौं । चीनको बेइजिङ म्यानुसिपाल ट्रेड र कर्मश ब्युरोले ३० हजार अमेरिकी डलर मूल्य बराबारको २ हजार टेस्ट किट नेपाललाई हस्तान्तरण गरेको छ । कोरोना भाइरस अर्थात कोभिड १९ को परक्षणको लागि पर्याप्त सामाग्री नभएको कारण टेस्ट किट बेइजिङ स्थित नेपाली दुतवासलाई बुधबार हस्तान्तरण गरिएको हाे । उक्त किट नेपाल सरकारलाई चाइनिज कम्पनीले उपहार स्वरुप प्रदान गरेको हो । बेइजिङ म्यानुसिपाल ट्रेड र कर्मश ब्युरोको लागि काठमाडौंबाट काम गरिरहेको ईन्टरनेसनल ईन्भेस्मेन्ट एण्ड कर्पोरेशन कन्सल्टिङ सर्भिसेस कम्पनि प्राईभेट लिमिटेडका अनुसार उक्त किट कोरोनाको पर्याप्त परीक्षण हुन नसकेको कारणले प्रदान गरिएको जनाइएको छ । राजदुतावासले किट बिहिबार तिब्बत आइपुग्ने र त्यहाँबाट स्थलमार्ग हुँदै काठमाडौं ल्याउने तयारीमा रहेको जनाएको छ । एजेन्सीकाे सहयाेगमा
लकडाउन: पूर्वाधारमा कार्यरत मजदुर प्रभावित, पसलमा खाद्यान्न समेत नपाएको दुःखेसो
काठमाडौं । भौतिक पूर्वाधारका विभिन्न आयोजनामा कार्यरत मजदुर ‘लकडाउन’बाट प्रभावित भएका छन् । सरकारले कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरण गर्न चैत ११ गतेदेखि देशभर लकडाउन गरेपछि विशेषगरी जिल्लाका विभिन्न आयोजनामा कार्यरत मजदुरलाई खाद्यान्न आपूर्तिमा कठिनाइ परेको बताइएको छ । अस्थायी रुपमा बसेका मजदुरसँग खाद्यान्न सकिएको र व्यवस्थापन गर्न मागभइ आएको नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । जिल्लामा अहिले सबै आयोजनाको काम रोकिएको बताइन्छ । सङ्खुवासभाबाट यहाँ आइ सेती नदी नियन्त्रण आयोजनामा कार्यरत मजदुर विक्रम राइले अहिले काम पनि बन्द भएको र पसलमा खाद्यान्न समेत नपाएको दुःखेसो व्यक्त गरे । अस्थायीवास बनाएर बसेका आफूहरुलाई काम पनि नभएको र कहिले खुल्छ भन्ने पनि एकिन नहुँदा घर फर्कन नपाएको उनले बताए । सङ्घले जिल्लाका विभिन्न आयोजनामा कार्यरत दश हजार हाराहारीको सङख्यामा मजदुर प्रभावित भएको जनाएको छ । उनीहरुलाई वैकल्पिक व्यवस्था मिलाउन जिल्ला प्रशासनलाई माग गरेको सङ्घले जनाएको छ । दिनहुँ गुनासो आएकाले मजदूरलाई आ–आफ्नो स्थानमा पु¥याउने व्यवस्थाका लागि प्रशासनसँग अनुरोध गरिएको सङ्घका अध्यक्ष सुरेश श्रेष्ठले बताए । “अहिले व्यवसायीको साइटमा खानेकुरा नहुँदा मजदुर भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । खाद्यान्न पु¥याउन सकिने अवस्था छैन । गुनासो फोनमा सुन्ने बाहेक अरु विकल्प छैन।”उनले भने,“जिल्लामा सबै योजनाको काम अहिले पूर्ण बन्द भएको अवस्थामा मजदुर आआफ्नो घर जान चाहेकाले उनीहरुलाई सम्वन्धित स्थानमा पु¥याउनका लागि प्रशासनसँग अनुरोध गरेका छौँ । ” प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले मजदुलाई खाद्यान्न आपूर्तिका लागि प्रशासनले सहयोग गर्ने जानकारी दिए । निर्माण व्यवसायी सङ्घसँग कुन आयोजनामा कति मजदुर प्रभावित भएको बारेमा एकिन तथ्याङ्कको माग गरिएको उनले बताए । “निर्माण व्यवसायीबाट मजदुरको बारेमा दैनिक गुनासा आएका छन् । हामीले त्यसको अहिल्यै केही योजना बनाएका छौँ। उनीहरुलाई सम्वन्धित ठाउँमा लैजानका लागि कति जना अप्ठ्यारोमा परेका छन् भनेर पहिला लिष्ट मागेका छौँ।” प्रजिअ ढकालले भने । रासस
घरमा बसेर कोरोना मात्रै यादमा आउँछ ? छिनमै भुल्ने विशेषज्ञ डाक्टरको सल्लाह यस्ताे छ
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढिरहँदा सबै यो देखेर त्रसित छन् । कतै मलाई पनि कोरोना लाग्ने त होइन भन्ने डर मानिसमा बढ्दै छ । सरकारले पनि कोरोनाको जोखिम न्युनिकरणका लागि देशैभर लकडाउनको घोषणा गरिसकेको छ । अहिले सबै मानिसहरु घरमा छन् । यो समय अरुभन्दा पनि कोरोनाको डरले कोरोना मात्रै यादमा आएको पनि हुन सक्छ । यदि तपाइलाई पनि यस्तै हुन्छ भने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले कोरोनालाई मनबाट हटाउन र घरमा बसेर निम्ललिखित कार्यहरु गर्न सकिन्छ भनेर सुझाव दिएका छन् । कोरोनाको संक्रमण रोक्न र भुल्न घरभित्र के गर्ने? ड्ड कोरोना भाइरस ओसिलो ठाउँ, फलाम, प्लास्टिक, घाम नलाग्ने कोठा तथा सवारीसाधनमा ४ घण्टादेखि १ हप्तासम्म बाँच्न सक्छ। यो लक डाउनको अवधिमा साबुन पानी वा स्प्रिट कपासले गाडी, ढोकाको ह्यान्डल, ग्रिल, टेबल, कुर्सि लगायतका सामान सफा गरौँ । -लगाउने तथा ओच्छ्यानका कपडा दैनिक घाममा सुकाउने गरौँ । – कोठामा घाम, हावा ओहोरदोहोर गर्ने व्यवस्था गरौँ । – आफूले लगाएका औंठी, सिक्री, डोरी, घडी, ब्रासलेट आदि सफा गरौँ । – परिवारका सबै सदस्यको लागि १÷१ वटा निजी साबुन र साना सफा टाबेलको व्यवस्था गरौँ । – घरमा रहेका ड्रम, बाल्टिन, मग, बाटादेखि अन्य भाँडाकुँडा माझेर घाममा सुकाउने गरौँ । – दैनिक नुहाउने र घाम ताप्ने गरौँ । – भर्यांङ तथा कौसीको रेलिङ सफा गरौँ । – आफ्ना निजी सामान जस्तै मोबाइल फोन, ब्याग आदिलाई सफा गरेर घाम सुकाऔं। – पटकपटक हात धुने गरौँ । – सफा गर्दा डेटोल, स्प्रिट, साबुन पानी प्रयोग गर्न सकिन्छ। – घरमा बस्दा स्यानिटाइजरको प्रयोग नगरौं। साबुनपानी नै हितकारी हुन्छ। – घरमा बसेर अध्ययनशील बनौं यी सबै कार्य गर्यो भने तपाई व्यस्त हुन सक्नुहुन्छ र तपाइलाई कोरोनाको याद आउँदैन । यी कार्य गर्दा काेराेनाबाट बच्न पनि सकिन्छ । जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेको फेसबुक पेजबाट
चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने
काठमाडौं । घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बस्ने घरधनीबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराइएको थियो । बैठकमा सहभागी कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार त्यस्तो पाइएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ । उनले भने, “कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस् भनेर प्रमुख जिल्ला अधिकारीले भने। त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने छ ।” अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्यकर्मीले कार्यदलका सदस्यलाई गुनासो गरेको बैठकमा जानकारी गराइएको थियो । बैठकले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई अहिले भएको सेवालाई यथावत राख्दै गुणस्तर सुधार गरी बहिरङ्ग सेवा र आइसोलेसनको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । सो अस्पतालमा हाल १० श्ययाको सघन उपचारकक्ष, १० श्ययाको एचडीयु र ५० साधारण श्यया रहेको छ । कार्यदलका प्रवक्ता अधिकारीका अनुसार आवश्यकताअनुसार श्यया थप समेत गर्ने बैठकमा छलफल भएको थियो । कोरोना भाइरसको आशङ्का भई गम्भीर भएका बिरामीलाई जिल्लामा सञ्चालन भइरहेकामध्ये एक अस्पतालको सघन उपचारकक्षमा उपचार गर्ने विषयमा छलफल भएको थियो । अधिकांशले पहिलो चरणमा भरतपुर अस्पतालको सघन उपचारकक्षमा राखेर उपचार गराउनुपर्ने र अस्पताल भरिएपछि चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र निजी अस्पतालका सघन उपचारकक्षमा उपचार गर्दा उपयुक्त हुने सुझाव दिएका थिए । भरतपुर अस्पतालमा रहेको २० श्ययाको सघन उपचारकक्षलाई विस्तार गर्नुपर्ने र त्यस्ता बिरामीको उपचारका लागि चिकित्सक, कर्मचारीको एउटै संयन्त्र बनाउन उपयुक्त हुने सुझाव आएको अधिकारीले जानकारी दिए । बैठकले कोरोनाको आशङ्का भई गम्भीर रहेका बिरामीलाई भरतपुरसहितका अस्पतालमा उपचारको व्यवस्थापन गर्नका लागि विशेषज्ञ चिकित्सक र अस्पतालका उच्च अधिकारीलाई जिम्मेवारीसमेत दिएको छ । कोरोना उपचारमा प्रत्यक्षरूपमा संलग्न भई क्वारेन्टाइनमा बस्नुपर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि स्थानीय होटलमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमणको आशङ्कामा घरबाटै स्वाब लिनुपर्ने बिरामीका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिने भएको छ । सुरक्षाकर्मीको सहयोगमा घरमै पुगेर स्वाब लिइने छ । कार्यदलले विभिन्न स्थानबाट माग र खरिद गरेका उच्चस्तरका र सर्जिकल मास्क भरतपुर अस्पताल, निजी मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, निजी अस्पताल, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई आजै वितरण गरेको जनाएको छ । भित्र बिरामीसँग हेलमेल हुनेका लागि एन–९५ र बाहिर काम गर्नेका लागि सर्जिकल मास्क वितरण गरिएको अधिकारीले जानकारी दिए । बैठकले विभिन्न उपसमिति बनाउन डा अधिकारीलाई जिम्मा दिएको र बाहिरबाट आएका र उच्च जोखिम भएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । बैठकमा कार्यदलका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायत सदस्यको उपस्थिति थियो । रासस