अब व्यापारीले घरघरमा गएर सामान पुर्याउनु पर्ने
काठमाडौं । अब व्यापारीले सामान सकिएकाका घरमा गएर पुर्याएर आउनु पर्ने भएको छ । बिहीबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन फोनबाट वस्तुको माग संकलन र ‘डेलिभरी भ्यान’बाट आपूर्ति गर्ने निर्णय गरेको छ । दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन गृह मन्त्रालयले व्यापारी र बिक्रेतालाई निर्देशन दिएको छ । बिक्रेतालाई आवश्यक पर्ने सुरक्षा, भ्यानको पास लगायत सुविधा जिल्ला प्रशासन, स्थानीय तह र वडा कार्यालयबाट उपलब्ध हुने निर्णय बैठकले गरेको छ । प्रवक्ता केदारनाथ शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा सर्वसाधारणलाई घरभित्रै बसिदिन अपिल समेत गरिएको छ । अब केही सरकारी निकाय, निजी क्षेत्रका ठूला खाद्य स्टोर र तथा अनलाइन सपिङले अत्यावश्यक वस्तु होम डेलिभरी गर्नुपर्ने भएको छ ।
श्रीलंकामा ऋणीलाई सावा व्याज तिर्न ६ महिनासम्म छुट, कर्फू नलागेको दिन ८ देखि १ बजेसम्म बैंक खाेल्नै पर्ने
काठमाडौं । विश्वभर संक्रमण फैलिएर सन्त्रास बढाइरहेको कोरोना संक्रमणबाट थला परेको अर्थतन्त्रलाई राहत दिन विश्वमा विभिन्न प्रकारका राहत प्याकेज घोषणा हुन थालेका छन् । यही सन्दर्भमा दक्षिण एशियाली सहयोग संगठन (सार्क) सदस्य राष्ट्र श्रीलंकाको केन्द्रीय बैंकले ऋणीलाई विभिन्न प्रकारका राहत कार्यक्रम अघि सारेको छ । श्रीलंका केन्द्रीय बैंकले विभिन्न ७ वुदे निर्देशन जारी गर्दै राहत कार्यक्रम घोषणा गरेको छ । जसमा ऋणको सावा व्याज तिर्ने तिर्ने म्याद ६ महिनासम्मका लागि छुटदेखि अन्य विभिन्न प्रकारका राहत कार्यक्रम छन् । श्रीलंका केन्द्रीय बैंकले स्वाराेजगार मुलक भाडाका सवारी सधान, तीन पांग्रे सवारी साधन, स्कुल भ्यान, लरी, विभिन्न प्रकारका मालसामान ओसार पसार गर्ने साना सवारी साधन तथा स्वरोजगारमूल बस सेवा संचालन गरेकाहरुले लिएको ऋणको साँवा व्याजको किस्ता ६ महिनासम्मको लागि नतिर्दा हुने व्यवस्था गरेको छ । यस्तै, अधिकृतस्तरभन्दा तल्लो तहका कर्मचारीले लिएको ऋणको किस्ता आगामी ३० मेसम्म नतिर्दा हुने व्यवस्था गरिएको छ । १० लाख रुपैयाँसम्मको पर्सनल ऋण तथा लिजिङ रेन्टलमा ३ महिनासम्म साँवा व्याजको किस्ता तिर्नुपर्ने छैन । यस्तै, कोरोना भाइरस संक्रमणको कारण समस्यामा परेका साना तथा मझौला उद्योग प्रतिष्ठान, पर्यटन, गार्मेन्ट उद्योग, उत्पादन मुलक उद्याेग, सूचना प्रविधि तथा सोसँग सम्बन्धित सहयोगी क्षेत्रले लिएको ऋण तिर्ने म्याद पनि ६ महिना थप गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चालु पुँजी कर्जा ४ प्रतिशत व्याजमा दिने निर्णय भएको छ । साना तथा मझौला उद्योग प्रतिष्ठान, पर्यटन, गार्मेन्ट उद्योग, उत्पादन मुलक उद्याेग, सूचना प्रविधि तथा सोसँग सम्बन्धित सहयोगी क्षेत्रमा प्रवाह हुने कर्जाकाे व्याज ६ महिना पछि भुक्तानी हुने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाइ निर्देशन दिएकाे छ । उल्लेखि सुविधाका लागि ग्राहकसँग अप्रिल ३० तारिकसम्म डकुमेन्ट लिन र प्राप्त निवदेन उपर ४५ दिनभित्र निर्णय दिन केन्द्रीय बैंकले निर्देशन जारी गरेकाे छ । अप्रिल ३० तारिकसम्मको लागि ५० हजार रुपैयाँसम्मको क्रेडिट कार्ड प्रदान गर्नुपर्ने र सोको व्याज बढीमा १५ प्रतिशत मात्रै हुनुपर्ने तथा यस्तो व्याजमा पनि ५० प्रतिशत छुट दिनुपर्ने केन्द्रीय बैंकको निर्देशन छ । सटही गर्न बाँकी रहेका ५ लाख रुपैयाँसम्मको चेक साट्ने समय बढाएर अगामी ३० अप्रिल तारिकसम्म बनाउन केन्द्रीय बैंकले भनेको छ । बैंक वित्तीय संस्थाका सबै शाखाहरु कर्फू नलागेको दिनमा विहान ८ बजेदेखि १ बजेसम्म न्यूनतम कर्मचारी राखेर खुल्ला गर्नुपर्नेछ । कर्फु लागेको दिनमा पनि बैंक वित्तीय संस्थाको कर्पाेरेट कार्यालय खुल्ला गरेर खाद्यान्न, औषधी, ट्राभल जस्ता क्षेत्रको कारोबार नियमित गर्न ती कार्यालयहरुले कारोबार गर्नुपर्नेछ । यसको विस्तृत निर्देशन आगामी २७ मार्चमा दिने श्रीलंकाको केन्द्रीय बैंकले भनेको छ ।
चौधरी फाउण्डेसनले खडा गर्यो ‘कोरोना रेस्पोन्स टिम, अत्यावश्यक उपचार सामाग्री सहयाेग गर्ने
काठमाडौं । चौधरी फाउन्डेसनले कोभिड १९ को उपचार गर्दा आवश्यक हुने सामाग्री उपलब्ध गर्नका लागि ‘कोरोना रेस्पोन्स टिम’ खडा गरेको छ । संसारभर कोरोनाले महामारी फैलाइरहेका अवस्थामा फाउन्डेसनले देशभरका स्वास्थ्यसंस्थाहरुमा कमिको रुपमा देखा परेको पिपिई जस्ता आवश्यक सामाग्री प्रदान गर्न ‘कोरोना रेस्पोन्स टिम’ खडा गरेको हो । फाउण्डेसनले स्वास्थ्यकर्मीलाई कोराना परीक्षण र उपचारको लागि अति आवश्यक रहेको पर्सनल प्रेटेक्टिभ ईक्युपमेन्ट अर्थात पिपिई, मास्क, एन ९५ मास्क जस्ता अत्यावश्यक सामाग्री प्रदान गर्ने लक्ष्य लिएको छ । फाउण्डेसनले मंगलबार प्रदेश नं ५ का आन्तिरक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी मार्फत क्वारेन्टाईन सेन्टरलाई अत्यावश्यक पिपिई र अक्सिजन जेनेरेटिङ एपरेटस प्रदान गरेको थियो । फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सामाग्री प्रदान गरेका थिए । यस्तै, सोही दिन नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई पनि पिपिई प्रदान गरिएको थियो । यसका साथै सरकारसँगको सहकार्यमा फाउण्डेसनले प्रदेश नं ४ लाई पनि पिपिई, आईसोलेन किट, मेमिकल मास्कहरु प्रदान गरेको थियो । फाउण्डेसनले लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज)का लागि पनि पिपिई, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेको थियो । ‘आजको आवश्यकता पैसा होइन, यी उपकरणको सहज आपूर्ति हो, उपचारको अभिभारा बोकेका स्वास्थ्यकर्मीको सुरक्षा हो, यसतर्फ हामी अत्यन्तै सजग र संवेदनशील छौं , आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य सामग्री उपलब्ध गराउने लक्ष्यसाथ अगाडि बढिरहेका छौं,’ चाैधरीले भने । फाउण्डेसनले कोभिड १९ को रोकथाम र उपचारका लागि आवश्यक सामाग्री भारतबाट आयात गर्नका लागि परराष्ट्र मन्त्रालय, नयाँदिल्लीस्थित नेपाली दूतावास र सम्बन्धित सरकारी निकायसँग सम्पर्कमा रहेर पहल गरिरहेका पनि बताएको छ ।
आईएमई डिजिटल कारोबार सिक्ने र सिकाउने दुबैले पैसा पाउने
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दो छ । नेपाल पनि यसबाट अछुतो रहन सकिरहेको छैन । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले लक डाउन पनि घोषणा गरिसकेको छ । अझ यसको संक्रमण नफैलियोस् भन्नका लागि सरकारले सबैलाई बाहिर ननिस्कन आग्रह गरेको छ । साथै,पछिल्लो समय नोटबाट पनि कोरोना सर्छ भन्ने कूरा आइसकेपछि सरकारले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल भुक्तानी सेवामा जोड दिन निर्देशन दिइसकेको छ । घरमै बसेको मानिसहरुसम्म वित्तीय कारोबारको पहुँचको गर्न र कोरोनाको संक्रमण पनि रोक्नका लागि सरकारले अहिले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल भुक्तानी सेवामा जोड दिन बताइरहेको छ । यही समयमा नेपालको डिजिटल पेमेन्टका लागि पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) को अनुमति पाएको सबैभन्दा पहिलो संस्था आईएमई–पेले विभिन्न सेवा तथा सुविधाहरु ल्याउने भएको छ । हाल कोरोनाको महामारीले नोटको कारोबारले निम्त्याउने जोखिम र घरमै बसिरहेका आफ्ना सेवाग्राहीलाई मध्येनजर गर्दै आईएमई-पेले विभिन्न योजनाहरु ल्याउने विकासन्यूजसँग बताएको छ । आईएमई-पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले अहिले व्यापारभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्व र सेवामा लाग्नु पर्ने बताए । सरकारले पनि सबै बैंक तथा वित्तीय संस्थाकलाई डिजिटल भुक्तानीमा जोड गर्न निर्देशन दिएसँगै आफूहरुले पनि विभिन्न कारोबारमा सेवा थप्ने योजना बनाएको उनले बताए । के छ नयाँ योजना ? आईएमई-पेले अहिले अन्य धेरै सेवाभन्दा पनि लक डाउनको समयमा नागरिकलाई डिजिटल कारोबारमा सचेतना जगाउने उद्देश्य लिएको सीईओ नाहाटाकाे भनाइ छ । ‘एउटा मान्छेले यसको बारेमा ज्ञान लिएर मात्र हुँदैन, डिजिटल सेवा ग्रहण गर्नेमा पनि डिजिटल सेवा सम्बन्धी ज्ञान हुनु पर्यो, त्यसैले हामीले अहिले डिजिटल कारोबार सिकाउने पट्टी जोड दिएका छौं,’ नाहाटाले भने । यसमा सिकाउनेले पनि २५ रुपैयाँ बोनस पाउने छ भने सिक्नेले पनि २५ रुपैयाँ पाउने उनको भनाइ छ । सेवाग्राहीले मोबाइलमा कूनै पनि अनलाइन सेवाका एपहरु डाउनलोड गरी त्यो एप साथी वा आफन्तलाई रेफर गर्यो भने उनीहरुले २५/२५ रुपैयाँ पाउनेछन् । ‘यो समय क्यासलेस बनाउने भन्दा एकले अर्कालाई डिजिटल कारोबार सिकाउने हो, त्यो भएपछि सिक्नेको विश्वास बढ्छ र डिजिटल कारोबार गर्न सक्छ,’ उनले भने । आईएमई पेले सेवाग्राहीलाई मध्येनजर गर्दैै निशुल्क डिजिटल क्याससिङको पनि योजना ल्याएको छ । सेवाग्राहीले आइएमई पेका एजेन्टमार्फत पैसा झिक्यो भने निःशुल्क गरिने बताएको छ । ‘एटिएममा पैसा निकाल्न जानु भयो भने २५ रुपैयाँ लाग्छ, तर त्यही पैसा आईएमई पेमा तानेर नजिकको एजेन्टमा गएर क्यासवाउट गर्नु भयो भने त्यो हामी सबै निशुल्क गर्नेछौं,’ उनले भने । साथै आईएमई-पेका ग्राहकहरुले एकआपसमा रकम ट्रान्सफर गर्नसक्ने र त्यसका लागि कुनै पनि पैसा नलाग्ने बताइएको छ । एजेन्टलाई कमिसन र प्रयोगकर्तालाई ‘पेब्याक’ आईएमईले आफ्नो सेवा विस्तार गर्न रकम ट्रान्सफर गरिदिने र आईएमई-मार्फत् वस्तु तथा सेवाहरु खरिदबिक्री गर्ने प्रयोगकर्तालाई निश्चित प्रतिशत ‘पेब्याक’को समेत व्यवस्था गरेको छ । प्रयोगकर्ताले मोबाइल तथा इन्टरनेट सेवाको बिल भुक्तानी गर्दा केही प्रतिशतसम्म रकम फिर्ता पाउनेछन् । यस्तै, बिजुलीको बिल भुक्तानी गर्दा, एयरलाइन्स, केबलकार, रेष्टुरेन्ट तथा पसलहरुमा सामान किन्दा समेत निश्चित प्रतिशत रकम फिर्ता गर्ने व्यवस्था गरेको हो । अहिले सरकारले डिजिटल कारोबारको भुक्तानी सीमा बढाएसँगै सेवाग्राहीले मोबाइलबाट पनि धेरै भुक्तानी तथा रकम ट्रान्फर गर्नसक्नेछन् । नाहाटाले हाल आईएमई-पेको १० लाख युजर र देशभर २५ हजारभन्दा बढी एजेन्ट बनाइसकेको बताए । हाल भएका आईएमईका एजेन्हरुमार्फत् नै प्रयोगकर्ताहरुको संख्या वृद्धि गरिँदै लगिएको उनकाे भनाइ छ । कसरी सहभागी हुने ? आईएमई–पेमा सहभागी हुन एउटा क्लाइन्टले केही गर्नुु पर्दैन, मोबाइलको प्लेस्टोरमा गएर आईएमई–पे टाइप गर्ने बित्तिकै त्यहाँ एजेन्ट र युजरको लागि छुट्टाछुट्टै एप आउँछ । कुनै पनि व्यक्तिले आफूले चाहेको एप डाउनलोड गर्न सक्नेछन् । तर, एजेन्टको लागि भने आईएमई–पेको आधिकारिक डिलरमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसका लागि आईएमईका सम्बन्धित कार्यालयले त्यस्तो डिलरको काम गर्दै आएको सीईओ नाहाटाले जानकारी दिए । युजरका लागि भने एप डाउनलोड गरी आफ्नो मोबाइल नम्बर भेरिफिकेसन गरेपछि कुनै पनि एजेन्टमार्फत् रकम जम्मा गर्न वा सम्बन्धित बैंक खातासँग आईएमई–पे एकाउन्ट लिंक गरी सीधै चाहेको रकम ट्रान्सफर गर्न र इपेमेन्टमार्फत् वस्तु तथा सेवाहरु खरिद गर्न सकिन्छ ।
सिलिन्डरमा आधा ग्यास भरेर बेच्न उद्याेगिलाई निर्देशन, उपभाेक्ता ठगिने जाेखिम
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बजारमा अब आधा ग्यास मात्र भरेको सिलिन्डर आउने भएको छ । नेपाल आयल निगमले आधा ग्यास मात्र भरेको सिलिन्डर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल भारतबाट नेपालमा मागभन्दा धेरै ग्यास आउदा पनि समस्या देखिएकोले निगमले आधा ग्यास भरेको सिलिन्डर मात्र बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको बाताए । ‘नेपाली बजारमा खपत हुनेभन्दा धेरै ग्यास भारतबाट आएको छ, ग्यासमा समस्या नआओ भनेर नेपाल आयल निगमले आधा ग्यास भरेको सिलिन्डर मात्र बजारमा पठाउन लगाएको हो,’ पौडेलले भने । उनले बजारमा ग्याँसको अभाव हटाउन भारतबाट पहिलेको तुलनामा धेरै ग्याँस बुलेट आयात गर्दापनि अभाव हट्न नसकेपनि आधा ग्यास भरेर बिक्री गर्ने तयारी अघि बढाउन लागिएको बताए । हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ भने अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका अनुसार आधा भरिएको ग्यासको मूल्य उपभोक्ताले ६ सय ८७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । आधा ग्यास भरेको सिलिन्डर बजारमा पठाउँदा उपभाेक्ता ठगिने जाेखिम बढी हुने उपभाेक्ताबादी कानुन व्यवसायी ज्याेति बाँनियाँले बताए । ग्यास बिक्रेतासँग ग्यास सिलिण्डर ताैलने उपकरण नभएकाेले उपभाेक्ता ठगिने उनकाे भनाइछ ।
घरमै बसेर दैनिक नयाँ नयाँ नाटक हेर्न सकिने, शुरू हुँदै छ थिएटर फेस्टिभल
काठमाडौं । ‘लक डाउन’को गम्भीर समयलाई मध्यनजर गर्दै विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर मल-कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन् । ‘कोभिड-१९को महामारीले पैदा गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताए । ‘तर यो महोत्सव भर्चुअल हुनेछ । हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ । घरमै बसेर नाटक हेर्न सकिनेछ, प्रतिक्रिया दिन सकिनेछ,’ उनले भने । हरेक साँझ ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल (www.fb.com/theatremall) बाट एउटा नाटक देखाइनेछ । थिएटर मल तथा टिसिसी नेपालका अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, ‘सेल्फ क्वारेन्टाइनमा बसिरहँदा पनि रङ्गमञ्चबाट टाढा हुन नपरोस् भन्ने हाम्रो ध्येय हो । यसले रङ्गमञ्चका कलाकार र दर्शकबीच अन्तरक्रियाको अवसर पनि सिर्जना गर्छ ।’ महोत्सवको पहिलो दिन विश्व रङ्गमञ्च दिवसको सन्देश वाचन गरिने र सम्भव भएसम्म अग्रजहरूको रेकर्डेड शुभकामना सन्देश पनि नाटकअघि देखाइने उनले जानकारी दिए । ‘यस्तो विपद, दुःख र भिन्न वातावरणमा नेपाली रङ्गमञ्चले पनि खास केही गर्न सक्ने अवस्था छैन । रङ्गमञ्च आफैमा त्यस्तो जटिल माध्यम हो जसले दर्शक र जनतासँग नाटकमार्फत प्रत्यक्षमात्र सञ्चार र संवाद गर्न सक्छ । त्यसकारण रङ्गमञ्चले यो बेला नाटकघरमा वा कुनै पनि मञ्चमा नाटक मञ्चन गरेर सञ्चार र संवाद गर्न सक्दैन,’ उनी भन्छन्, ‘तर पनि यस्तो संकटपूर्ण र जटिल अवस्थामा दर्शक र रङ्गप्रेमीहरूलाई दैनिक जीवनयापन सहज बनाउन र मानसिक रूपमा साथ दिन भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडियो फेसबुकको भित्तामा प्रस्तुत गर्दैछौं । यसबाट थिएटरको वास्तविक आनन्द, अनुभूति र अनुभव लिन नसकिए पनि क्वारेन्टाइन अवधिलाई रङ्गमञ्चसँग जोडिरहन मद्दत गर्छ भन्ने विश्वास छ ।’ उनले ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा आफ्ना नाटकको भिडियोसहित सहभागी हुन सबै रङ्गकर्मीहरुलाई आग्रह पनि गरेका छन् । महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव-२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ । विश्व रङ्गमञ्च दिवस अर्थात २७ मार्चकै दिन सुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ । महोत्सवको स्लोगन ‘क्वारेन्टाइन, इट्स योर टाइम’ तय भएको छ भने सब स्लोगन ‘फाइभ पिएम, इट्स थिएटर टाइम’ रहनेछ । लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ । थिएटर मलकै नाटकबाट सुरु गरेर अरू इच्छुक थिएटरहरूका नाटक पनि पालै–पालो प्रस्तुत गर्दै जाने योजना रहेको फेस्टिभल प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले जानकारी दिए । उनले भने, ‘लाइभ स्ट्रिमिङ थिएटर टाइम जस्तै ठिक समयमा हुनेछ र थिएटरकै नियमहरू लागू हुनेछ ।’ उनले लाइभ स्ट्रिमिङ पछि नाटक पुनः हेर्न नपाइने भएकाले दर्शकलाई समय छुट्याउनसमेत आग्रह गरे । फेस्टिभल संयोजक सञ्जिता पराजुलीका अनुसार लाइभ स्ट्रिमिङ भएका नाटकको भिडियो डाउनलोड गर्न र मोबाइल वा क्यामेराले खिच्न निषेध छ । त्यसो गरिएको पाइएमा सर्वाधिकार र साइबर कानुन लागू हुने उनले बताइन् । उनी भन्छिन्, ‘हामीलाई थाहा छ- हामीले यो समयमा जे काम गर्दैछौं, रङ्गमञ्चका दर्शकको मनोभावना बुझरै गर्दैछौं । उहाँहरू जिम्मेवार हुनुहुन्छ भन्ने विश्वास छ । सिर्जनामाथिको सर्वाधिकारलाई उहाँहरूले सम्मान गर्नुभएको छ र गर्नु हुने नै छ ।’ फेस्टिभलको लाइभ स्ट्रिमिङ संयोजन रमेश भट्टराईले गर्दैछन् । अन्य बेलाको महोत्सवमा जस्तै यसमा पनि नाटक सुरु हुनुअघि उद्घोषण हुने उनले बताए । उनी भन्छन्, ‘त्यस अवधिमा ‘कोरोना (कोभिड १९) बारे सामान्य जानकारी र क्वारेन्टाइन बस्दाका नियमहरू समेत उद्घोषण गरिनेछ ।’ नाटकको समयावधि १ घण्टादेखि २ घण्टासम्मको हुने र लाइभ स्ट्रिमिङ भिडियो सार्वजनिक रूपमा शेयर गर्न सकिने उनले जानकारी दिए । लाइभ स्ट्रिमिङपछि थिएटर मलकै फेसबुक पेजमा अन्तरक्रिया गर्न सकिनेछ । फेस्टिभलबारे बढिभन्दा बढि रङ्मञ्चप्रेमीलाई सूचना पुगोस् भन्ने हेतुले सामाजिक सञ्जालमा राख्न जानकारीमूलक प्रचार सामग्री तयार पारिएको पब्लिसिटी डिजाइन संयोजक सुजिता महर्जनले बताइन् । त्यसलाई बढीभन्दा बढी शेयर गरिदिनु हुन पनि उनले आग्रह गरिन् । महोत्सव सफल पार्न मिडियाको ठूलो हात रहने भन्दै त्यसमा सहयोग गरिदिन मिडिया कोअर्डिनेटर कला अनुरागीले अनुरोध गरेका छन् । ‘संकटको समयमा सिर्जनात्मक कार्य गर्नु चुनौतिपूर्ण छ । तर यस्तै समयमा सिर्जनाको शक्ति र यसले प्रदान आत्मबलको अनुभूति गर्न सकिन्छ’, उनले भने, ‘त्यसैले संकटको समयमा हुने यस्ता सकारात्मक तथा सिर्जनात्मक कार्यको प्रचारमा मिडियाले प्राथमिकता दिनेछ भन्ने विश्वास छ ।’
लक्ष्मी ग्रुपले कोरोना संक्रमण रोकथाम कोषमा १ करोड सहयोग गर्ने घोषणा
काठमाडौं । लक्ष्मी ग्रुपले गर्याे कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड सहयोग गर्ने भएको छ । साथै फिभर क्लिनिक स्थापनाका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए छ । लक्ष्मीग्रुप, देशको एक अग्राणी कर्पोरेट हाउसले नेपाल सरकारबाट स्थापति र सञ्चालितविशेष “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष“ मा १ करोड को आर्थिक सहयोग गर्ने घोषणा गर्दछ । विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमण भयाभह रुप लिदै गएको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको खतरा बढ्दै गएको अवस्थामा नेपाल सरकारद्धारा स्थापित उक्त कोषलाई सहयोग गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि सहयोग निरन्तर रहने जनाएको छ । सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंगको लागि फिभर क्लिनिकहरु स्थापना गर्ने पहल शुरु गरेको छ । यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग गरि ह्ेल्थ अ्याट होम क्लिनिकमार्फत साझेदारको रुपमा कार्य गर्नेछ । क्लिनिकमार्फत निम्नअवस्था रहेका सर्वसाधारणहरुलाई सेवाहरु प्रदान गर्नेछ । जो पछिल्लो १४ दिनमा विदेशमा रहेका थिए । त्यस्तै कोरोना भाइरस संक्रमित मानिसको सम्पर्कमा आएको हुन सक्ने, कोरोना भाइरसको लक्षण देखिएका साथै परामर्श दिन वा विश्वस्त हुन चाहने अन्य रोगीका लागि उक्त क्लिनिकले काम गर्ने छ । सम्भावित लक्षण देखिएका बिरामीहरुलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधै नपठाई क्लिनिकमार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गर्ने गर्दछ । जसले गर्दा अस्पतालका आपतकालिन बिभाग वा संक्रमण रोकथाम बिभागका स्रोत साधनहरुलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केद्रित हुन मद्दत गर्दछ । अन्य देशहरूमा पनि यस्ता ज्वरोको स्क्रीनिङ क्लिनिकहरुले अस्पतालका आपतकालीन कोठाहरुमा वास्तविक रुपमा दबाब कम गर्न मद्दत पुर्याएको छ ।
कोरोना विरुद्धको कोषमा विशाल ग्रुपकाे एक करोड सहयाेग, आवश्यक सामग्री पनि उपलब्ध गराउने
काठमाडौं । विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले कोरोना भाइरस विरुद्धको अभियानमा एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । फाउन्डेशनले कोरोना भाइरस (कोभिड–१९) को संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न उक्त रकम प्रदान गर्ने भएको हो । साथै, यसको रोकथाम तथा नियन्त्रकालागि आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउने फाउन्डेशनले जनाएको छ । फाउन्डेसनले अब एन९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ । ‘यो संकटविरुद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिवद्ध सबै सहकर्मीहरुप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’ कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले वीर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहरु वितरण गरेको थियो । फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशाल ग्रुप सम्मान गर्न चाहन्छ । हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ । यो विषम परिस्थितिमा भीजी फाउन्डेसन आफ्नो स्रोत र सीपको माध्यमबाट मुलुकलाई सहयोग गर्न प्रतिबद्ध छ र भविष्यमा आवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर छ ।