विकासन्युज

कोरोना संक्रमित नेपाली युवती अनुभवः निको हुने छाँटकाँटै छैन, तपाईहरु सावधान रहनुस् 

काठमाडाैं । कोरोना संक्रमित एक जना नेपाली युवतिले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै कोरोना भाइरसको पीडा व्यक्त गरेकी छन् । हाल बेलायतको लण्डनमा बस्दै आएकी ती महिलाले आफुर्लाइ कोरोना भाइरस संक्रमण भएको १३ दिन बितिसक्दा पनि निको हुने छाँटकाँट नदेखिएको बताएकी छन् । लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको, तर छिट्टै निको हुने सम्भावना नदेखिएको भन्दै सावधान रहन आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै भनेकी छिन,‘१० दिनको सेल्फ आइसोलेसन पछि कोभिड १९ सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ सबैले साबधानी अपनाउन सक्नुहुनेछ, हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’ उनले कोरोना भाइरसको पीडा निकै भयानक भएको भन्दै सबैलाई सावधान र सचेत रहन अनुरोध गरेकी छन् । अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) विश्वका १९५ देशमा पुगेको छ । कोरोना भाइरसका कारण बिहीबार अपरान्हसम्म २२ हजार २६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म यो भाइरसबाट ४ लाख ८७ हजार ४३४ मानिस संक्रमित भइसकेका छन् । यो भाइरसको संक्रमणमा परेका एक लाख १७ हजार ५६४ मानिस ठीक भएका छन् । यस्ताे छ उनकाे फेसबुक स्टाटस

सोभनदेवको उदारता, कोरोना कोषमा व्यक्तिगत कमाइबाट साढे ५ लाख सहयोग

काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकरी अधिकृतले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा एक महिनाको तलव ५ लाख ५१ हजार ४१३ रुपैयाँ ९४ पैसा बुझाउने घोषणा गरेका छन् । उनकाे याे निर्णयसँगै अरू बैंकका प्रमुख कार्यकारी अधिकत लगायत उच्च अाय भएका मानिसहरूलाइ काेराेना काेषमा पैसा हाल्न नैतिक दवाव पर्ने देखिएकाे छ । देश लकडाउन सँगै दैनिक ज्यालादारीमा काम गर्नेहरुको हालत खराव भएको तर्फ उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् । ज्यालादारीहरु र वेरोजगारहरुको दैनिकी चलाउनको लागि यतिबेला कर्पोरेट क्षेत्रले विशेष ध्यान दिनुपर्नेमा उनको भनाई छ । विश्व स्वस्थ्य संगठनले बैंकहरुसँग संस्थागत सामाजिक उत्तरदाहित्व शिर्षकमा धेरै पैसा हुने गरेको र त्यो पैसा कोरोना संक्रमणले ल्याएको संकटका सामनाका लागि खर्च गर्न जोड दिएकोले नेपाली बैंकहरुले यसमा ध्यान दिनुपर्ने उनले बताएका छन् । महामारी र लकडाउनको समयमा बस्तु तथा सेवा आपूर्तिमा ठूलो समस्या आउने भएकोले बैंकहरुले ऋणिहरुलाई कारोबार सहज बनाउन कर्जा सीमामाअतिरिक्त १० प्रतिशत चालु पुँजी उपलब्ध गराउनु पर्नेमा उनले जोड दिएका छन् ।

१० दिनमा ११ अर्ब रुपैयाँ निकाले जनताले

काठमाडौं । पछिल्लो १० दिनमा सर्वसाधारणले बैंकबाट ११ अर्ब रुपैयाँ निकालेका छन् । नोटबाट कोरोना संक्रमणको जोखिम बढी हुने सन्देश सञ्चार माध्यमबाट आउन थालेपछि भने अनलाइन पेमेन्टमा वृद्धि आएको नेपाल राष्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले बताए । चेकको कारोबारमा भने उच्च गिरावट आएको छ । विहीबार करिव २ अर्ब रुपैयाँ बराबरको चेक कारोबार भएको नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले जानकारी दिए । सामान्य अवस्थामा दैनिक औषत ३५ अर्ब रुपैयाँ बराबरको चेक भुक्तानी हुने गरेको उनले बताए । आर्थिक कारोबार सुस्त भएकोले आइपीएसबाट पनि साढे दुई अर्ब रुपैयाँ मात्र कारोबार भएको छ । गत फागुनमा आइपीएसबाट दैनिक १२/१३ अर्ब रुपैयाँको कारोबार हुने गरेको प्रधानले बताए । त्यस्तै, गत फागुनमा कनेक्ट आईपीएसबाट दैनिक दुई अर्बको कारोबार हुन थालेको छ । पछिल्लाे समय यस्ताे काराेबार पनि निकै भएकाे छ । आईपीएसबाट संस्थागत कारोबार हुने तर कनेक्ट आईपीएसबाट व्यक्तिगत तवरमा साना कारोबार हुने भएकोले आईपीएसको कारोबार धेरै भएको उनले बताए । ६३ अर्ब अधिक तरलता नेपाल राष्ट्र बैंकको अनुशन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका प्रवक्ता डा. भट्टका अनुसार चैत १२ गते साँझसम्ममा बैंक तथा वित्तीय संस्थामा ६३ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । कुनै पनि बैंक तथा वित्तीय संस्थाका ग्राहकले जुनसुकै बैंकको एटीएमबाट पैसा सेवा शुल्क विना नै झिक्न पाउने सुविधा भएपछि एटीएमको कारोबार वृद्धि भएको बैंकर्सहरुले बताएका छन् । बैंकबाट पैसा निकाल्ने क्रम वृद्धि भईरहदा बैंकमा नोट अभाव हुने जोखिम कति छ ? भन्ने प्रश्नमा डा भट्टले नोटको अभाव नहुने बताए । सामान्य अवस्थामा भन्दा दशैंको बेलामा ४० देखि ५० अर्ब नोट बैकिङ प्रणाली वाहिर जाने गरेको जानकारी दिदै १०/१२ अर्ब रुपैयाँ बाहिर जाँदैमा शंका गर्नु नपर्ने उनकाे भनाइ छ । डा भट्टका अनुसार हाल ५३९ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ । आवश्यककता पर्दा राष्ट्र बैंकले नोट सर्कुलेशन वृद्धि गर्न सक्छ ।

काेराेना विरुद्ध लड्न टेकुसहित देशैभर चौधरी फाउन्डेसनको सहयोग

काठमाडौं । चौधरी फाउन्डेसनले कोरोनाभाइरस (कोभिड-१९)को रोकथाम र उपचारका लागि बिहीबार पनि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र मास्क वितरण गरेकाे छ । देशभर खटिएका फाउन्डेसनका टोलीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय बर्दिया, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, जिल्ला प्रशासन कार्यालय कैलाली, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, प्रदेश १ को प्रादेशिक अस्पताल, कान्ति बाल अस्पताल महाराजगन्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र रुकुम (पश्चिम) जिल्ला अस्पताललाई पीपीई हस्तान्तरण गरे । फाउन्डेसनले बुधबार पाल्पा जिल्ला अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थ पोस्ट (भेडाबारी, नवलपुर), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज)मा सुरक्षा उपकरण वितरण गरेको थियो । फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले ट्विट गर्दै २/३ दिनभित्रमा धेरैभन्दा धेरै केन्द्रमा सामग्री पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । देशभर अभाव देखिएका परीक्षण किट, मास्क, स्यानिटाइजर, अक्सिजन उपकरण, भेन्टिलेटर जस्ता सामग्री चीनका सान्जेन, ग्वान्जाओलगायत शहरमा तयार राखिए पनि ढुवानी असहजता देखिएको भन्दै उनले विमान व्यवस्थापनका लागि सरकारसँग आग्रह गरेका छन् । ‘अबको समस्या पीपीईमात्रै होइन, उपचार सामग्रीको पनि हो । ती सामग्री चीनबाट ल्याउनका लागि विमान व्यवस्थापन गरिदिन सरकारी निकायसँगै हाम्रा मित्र, साझेदारहरूसँग नियमित सम्पर्कमा छौं,’ उनले भनेका छन् । अधिकांश सुरक्षा उपकरणहरू नेपालमा निर्माण नहुने भएकाले विदेशकै भर पर्नुपरेको उनले बताएका छन् । ‘भारत आफैं कोरोनाविरुद्ध संघर्ष गरिरहेको अवस्थामा त्यहाँ यी सामग्रीहरू निर्यातका लागि अहिले प्रतिबन्धित छन् । तर, पनि हामीले दूतावासहरू र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग आग्रह गरिरहेका छौं,’ चौधरीले भनेका छन् । आफूहरू जतिसक्दो चाँडो र जतिसक्दो धेरै सुरक्षा उपकरण वितरण गर्न दत्तचित्त रहेको पनि उनले बताएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघले सरकारी र विपद् व्यवस्थापन काेषमा २ करोड सहयोग गर्ने

काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि दुई भिन्नाभिन्नै कोषमा वैदेशिक रोजगार व्यवसायी संघले २ करोड सहयोग गर्ने निर्णय गरेको छ । सरकारले स्थापना गरेको कोषमा १ करोड र भैपरी आउने समस्यालाई ध्यानमा राख्दै केहि दिन अगाडी विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा निर्माण भएको विपद् व्यवस्थापन समितिमा १ करोड दिने निर्णय संघले गरेको जानकारी दिए । सिएसआर अन्तर्गत वैदेशिक रोजगार व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशतबाट उठ्ने व्याजमध्येको १ करोड रुपैयाँ कोरोना व्यवस्थापनका लागि सरकारी स्थापना गरेको कोषमा दिने निर्णय गरेको छ । ८ सय ५४ व्यवसायीबाट उठेको ४ अर्ब ३३ करोड रुपैयाँ बराबारको नगद धरौटी रहेको संघले जनाएको छ । उक्त धरौटी रकम बराबरको व्याजको माग राष्ट्र बैंकसँग गरेपछि सो रकमको १० प्रतिशत बैंकले राखेको बाँकी रहेको ९० प्रतिशत रकमको २५ प्रतिशत (करिब ९५ करोड)को व्याज संघले पाउछ । पछिल्लो सात महिनामा ९५ करोडको ७ महिनाको व्याज ६ करोड ७७ लाख जम्मा भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी लिए । ‘सो व्याज ‘व्यवसायिक कल्याणकारी कोष’ का विशुद्ध व्यवसायको हित तथा प्रर्वद्धनका लागि कोष परिचालन हुन्छ तर विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोनाले अछुत रहन नसकेको नेपालमा विपद् व्यवस्थापन गर्न सरकारले निर्माण गरेको कोषलाई सहयोग स्वरुप उक्त रकम दिने निर्णय गरेको हौं’ महासचिव श्रेष्ठ भने । आगामी दिन आउने समस्यालाई मध्यनजर गर्दै वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि वैदेशिक रोजगार बोर्डले मात्र उद्धार गर्न गाह्रो पर्ने हुँदा आगाकी दिन वैदेशिक रोजगार व्यवसायी संघको पुन रुपमा सहयोग रहने संघले जानकारी दिएको छ ।

लक डाउनको बेला सकेसम्म खानेपानी आपूर्तिमा कमी हुन दिने छैनौ : केयुकेएल 

काठमाडौं | सरकारले कोरोना भाइरस कोभिड १९ को सम्भावित सङ्क्रमणबाट बच्न देशभर लक डाउन गरेपछि  काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले  उपत्यकामा  खानेपानीको आपूर्ति र गुणस्तर मापनलाइ निरन्तरता दिइरहेको छ । केयुकेएलले आफ्ना कर्मचारीहरु मार्फत खानेपानी वितरण सेवालाई निरन्तरता दिइरहेको जनाएको छ । लक डाउनको  आज तेस्रो दिन बिहिबार केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यको नेतृत्वमा  केयुकेएल को टीम ले महाकाल चौर शाखा र बासबारी शाखा को निरीक्षण गर्यो । केयुकेएलको टीमले  दुवै शाखामा खानेपानीको गुणस्तर मापन गरेको थियो । खानेपानीमा हुनुपर्ने क्लोरिनको मात्रा छ कि छैन भन्ने परीक्षण गर्दा दुवै शाखामा आवश्यक मापदण्ड रहेको प्रमुख शाक्यले बताए । ‘लक डाउनको समयमा  खानेपानीको अभाव नहोस भन्नका लागि केयुकेएलले पहिलो प्राथमिकता दिएर अस्पतालमा ट्याङ्कर मार्फत खानेपानी वितरण गरिरहेको शाक्यले जानकारी दिनुभयो । लक डाउनको समयमा मान्छेलाइ चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा खानेपानी नै हो । झन हात धुन र सरसफाइ गर्न पानी नभै हुदैन ।’ उनले भने, ‘यस्तो बेलामा पनि कर्मचारीहरुले काम गरिरहेका छन । हामीले खानेपानीको वितरण र गुणस्तर के कस्तो छ भनेर निरीक्षण गरेका हौ । दुवै शाखामा राम्रो रहेको पायौ ।’ अहिले सुख्खा समय भएकाले खानेपानीको माग धेरै रहेको र जे जस्तो भएपनि सेवा दिइरहेको उनले बताए । ‘खानेपानी मन्त्रालय र मन्त्री ज्यूको बेला बेला हामीलाई निर्देशन प्राप्त भैरहेको छ । मन्त्री ज्यूबाट साथ र सहयोग पाइरहेका छौ ।’ शाक्यले भने, ‘यस्तो बेला हामीले कुनै कसर बाकी नराखी काम गरिरहेका छौ र आम उपभोक्तालाई सेवा दिइरहेका छौ, सके सम्म खानेपानी आपूर्तिमा कमी हुन दिन्नौ ।’ 

भारतको बम्पर प्याकेजः ८० करोडलाई खाद्यान्न,कोरोना उपचारमा संलग्नलाई ५० लाखको बीमा,साढे ८ करोड किसानलाई २ हजार रुपैयाँ

काठमाडौं । भारतले ८० करोड नागरिकलाई तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ । पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल तीन महिनासम्म निशुल्क दिने भारतले घोषणा गरेको हो । भारतले कोराना भाइरसको उपचारमा संलग्नलाई ५० लाख रुपैयाँको बिमाको घोषणा गरेको छ । प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत भारतले यस्तो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, भारतले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने भएको छ । हाल विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमण फैलिरहेकाे बेला विभिन्न देशका सरकारले आफ्ना नागरिकलाई विभिन्न किसिमका प्याकेजहरु ल्याइरहेका छन् ।

श्री राधा माधव समितिले कोराना कोषलाई १५ लाख दिने

काठमाडाैं । श्री राधा माधव समिति नेपालले नेपाल सरकारद्वारा आव्वहान गरिएको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार अभियानलाई सघाउन १५ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम श्री राधा माधव समिति नेपालद्वारा नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैकमा खोलेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गरिएको हो । श्री राधा माधव समिति नेपाल, विद्वत समाज नेपाल र डिभाईन युथ क्लव नेपालद्वारा कोरोनाको संत्रास शुरु हुनासाथ मुलुकभरका सयौं विद्यालय, मठमन्दिर, वृद्वाश्रम लगायत बढी भिड हुने स्थानहरुमा कोरोना रोकथाम सम्वन्धी प्रयोगात्मक संचेतना कार्यक्रम संचालन गरेको थियो ।