‘मेट्रो वान’ मा कल गर्नुहोस्, सित्तैमा खान पाउनु हुनेछ
काठमाडौं । उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ । राहत वितरणका लागि विभिन्न बैंक तथा व्यवसायीसँग समन्वय थालिसकेको कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनले आफ्नै पहलमा आजदेखि उक्त अभियान शुरु गरेको जानकारी दिएका हुन् । पहिलो चरणमा २५८ जनालाई पुग्ने खाद्यान्न सङ्कलन भइसकेको र आज वितरण गरिने पोखरेलले बताए । मागका आधारमा तीनै जिल्लामा निःशुल्क राहत दिइने उनले बताए । मुलुकमा कोभिड-१९ को सङ्क्रमणको जोखिम बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर नस्निकन आदेश जारी गरेको आज छैठौँ दिन हो । लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउने कामदार तथा विपन्न र गरिब परिवारमा समस्या बल्झिँदै छ । दैनिक दाताले दिएको सहयोगमा चल्ने आश्रम, संरक्षण केन्द्र र बाल तथा वृद्धाश्रममा समेत समस्याको चाङ चुलिएको छ । लकडाउन जति दिन बढ्छ उनीहरुको दैनिकी थप कष्टकर हुँदै जान्छ । ‘मानवीयताका लागि जे सकिन्छ सहयोग गरौँ भनेर लागेका छौँ, कोही पनि भोकै बस्नु नपरोस् भनेर पैसा कै अभावमा भोकै बस्न बाध्य भएका नागरिकलाई निःशुल्क खाद्यान्न वितरण गर्न लागेका छौँ’, डिआइजी पोखरेलले भने, ‘समस्या हुनेले सिधै मलाई (मेट्रो वानमा) फोन गर्न सक्नुहुन्छ, प्रहरीको १०० नम्बर वा नजिकको प्रहरी कार्यालयमार्फत सम्पर्कमा आउन सक्नुहुन्छ, हामी राहत लिएर आउने छौँ ।’ कसैले आफ्नो घरमा भएर पनि या किनेर खान सक्ने आए भने कारवाही गर्ने चेतावनी प्रहरीको छ । त्यसका लागि मातहतका प्रहरी प्रभाव र वृत्तले छानविन गर्न छन् । वास्तविक प्रभावितलाई मात्रै राहत दिइनेछ । ‘हाम्रो अभियान भनेको हुँदै नभएका, अलपत्र परेका र किनेरसमेत खान नसक्नेका लागि हो, दाताको सहयोग नपाएर सञ्चालनमै समस्या परेका आश्रमका लागि हो’, पोखरेलले थपे । उनका अनुसार आज एनआइसी एशिया बैंकको सहयोगमा झण्डै पाँच लाख बराबरको राहत वितरणको तयारी गरिएको छ । प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल, दुई किलो चना, एक किलो नून, आधा लिटर तेल र एक प्याकेट मसला प्याकेजका रुपमा राहत सामग्री वितरण गरिनेछ । अन्य बैंकबाट पनि सहयोगमा सहकार्य गर्ने जानकारी आएको र यो कार्यक्रमलाई लकडाउनको अवधिभर निरन्तरता दिने पोखरेलले बताए । उपत्यकाको मातहतका प्रहरीलाई वास्तविक अभाव भएकाको विवरण ल्याउनसमेत भनिएको छ । राहत सामग्री प्रहरी आफैँले सुरक्षित तवरमा वितरण गर्ने जनाइएको छ । यो कार्यक्रम उपत्यकाको तीनै जिल्लामा लागू गरिएको छ । पैसा नभएर एक छाक खानबाट कोही पनि बञ्चित नहोउन् भनेर उनीहरुका लागि निःशुल्क खाद्य सामग्री वितरण गर्न लागिएको हो । प्रहरीले अभाव भएकालाई सम्पर्कमा आउन अनुरोधसमेत गरिएको छ । विश्वमा कोरोना भाइसरको महामारी फैलिरहेका बेला नेपालमा अहिलेसम्म पाँच जनामा रोगको सङ्क्रमण भएको पाइएको छ । जोखिम कायमै भएकाले अझै सतर्कता अपनाउनुपर्नेछ । लकडाउन प्रभावकारी देखिए पनि बिहान बेलुका उल्लङ्घन गर्ने क्रम भने रोकिएको छैन । प्रहरीले अहिले त्यस्ता व्यक्तिलाई सडकमै होल्ड गर्न थालेको छ । रासस
WHO भन्छः चुरोट खानेलाई कोरोनाको जोखिम उच्च छ
काठमाडौं । विश्व स्वास्थ्य संगठनले चुरोट खानेलाई कोरोना भाइरसको जोखिम उच्च रहेको बताएको छ । ध्रुमपान वा सूर्तिजन्य पर्दाथको सेवनबाट कोरोना भाइरस कोभिड–१९ अर्थातको संक्रमण बढ्ने संगठनको भनाइ छ । चुरोट वा खैनी बाँडेर खाँदा पनि एक मानिसबाट अर्को मानिसमा संक्रमण फैलने जोखिम रहने कारणले यसबाट सजग रहन आग्रह गरेको छ । धुम्रपानले स्वासप्रश्वास प्रणाली कमजोर पनि बनाउँछ । चीनमा कोरोना भाइरसको मृत्युदर नियाल्दा महिलाको तुलनामा पुरुषले धेरै ज्यान गुमाएको देखियो, यस्तो हुनु पछाडिको कारण धुम्रपान सेवन पनि हुनसक्ने विज्ञहरु बताउँछन् । चीनमा महिलाको तुलनामा पुरुषले धेरै धुम्रपान गर्ने गर्छन् । फोक्सोको समस्या पनि धुम्रपान गर्नेमा धेरै देखिन्छ ।
बझाङ उद्योग वाणिज्य संघले पनि शुरु गर्यो कोरोना भाइरस रोकथाम कोष
काठमाडौं । बझाङ उद्योग वाणिज्य संघले पनि कोरोना भाइरस रोकथाम विपत कोष शुरु गरेको छ । संघले आइतबार एक सूचना सार्वजनिक गर्दै कोष सुरु गरेको बताएको हो । जिल्लामा कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न कोष खडा गरेका बताइएको छ । साथै संघले कोरोना भाइरस रोकथाम रोकथाम कोषमा सहयोगको लागि अपील पनि गरेको छ । संघले कोषमा सहयोग गर्नेका लागिसम्र्पक व्यक्ति पनि तोकेको छ । त्यसका लागि संघका अध्यक्ष दान बहादुर सुर्मेली, सचिव संकर रसाइली र कार्यालय सचिव निम बहादुर थापालाई सम्पर्क गर्न जानकारी गरेको छ । हालसम्म संघले ४५ हजार रुपैयाँ लगायतका सामाग्रीहरु सहयोग पाइसकेको सूजनामार्फत जनाएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को महामारी रोकथामका लागि अहिले कोरोना रोकथाम कोष सुरु हुने क्रम बढेदै गएको छ ।
अरबौंको किस्ता सार्न र जरिवाना नलिन यातायात व्यावसायीले अर्थमन्त्रालयलाई बुझाए ज्ञापन पत्र
काठमाडौ. । बैंककहरुबाट प्रवाह गरिएको ऋणको किस्ता सार्न र जरिवाना नलिन नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले अर्थ मन्त्रालयलाई ज्ञापान पत्र बुझाएको छ । आइतबार नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका पधाधिकारीहरुले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना ज्ञापनपत्र बुझाएका हुन ।
चलचित्र कलाकार संघले कोरोना नियन्त्रण कोषमा दियाे एक लाख रूपैयाँ
काठमाडौं । नेपाल चलचित्र कलाकार संघले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख एक हजार रूपैयाँ सहयाेग गर्ने भएकाे छ । संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले सरकारले स्थापना गरेको उक्त कोषमा साे मात्राकाे रकम सहयाेग गर्ने निर्णय गरेका हुन् । संघका अध्यक्ष रबिन्द्र खडकाको निर्देशनमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहमतिमा कोषमा १ लाख एक हजार रूपैयाँ प्रदान गर्ने निर्णय भएको हाे । साथै, लक डाउनको अवधीमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने दाजु भाई दिदीबहिनीहरूका साथै श्रमिक चलचित्रकर्मीहरू पनि समस्यामा पर्न आएकोले संघले यस सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएकाे छ ।
कोरोना भाइरसबाट बच्नकाे लागि घर कसरी सफा गर्ने ?
काठमाडौं । कोरोनाभाईरसको त्रासमा अहिले आधा विश्व लकडाउनमा गएको छ । लकडाउनमा गईसके पनि हामीहरु अझै पनि यो संक्रमणको अब असर गर्दैन भनेर ढुक्क हुन सक्दैनौं । अधिकांश मानिसहरु अहिले घरभित्र नै छन् र अहिले मानिसहरुको लागि घरमा भाईरसबाट कसी बचाउने भन्ने रहेको छ । धेरै मानिसहरुमा यसलाई लिएर धेरै प्रश्न रहेको छ । पुरा घर सफा गर्नको लागि केही समय अवश्य लाग्दछ तर दिनमा एकपटक घर सफा गर्नाले यसले भाईरसको संक्रमण फैलनबाट बचाउन ठुलो मद्दत गर्दछ । प्रस्तुत छ न्युवर्क टाईम्सकी संवाददाता तारा पार्कर पोपले विशेषज्ञहरुसँग कुरा गरेर तयार पारेको घर सफा गर्न विषयको विभिन्न ७ प्रश्नको उत्तर १. घरलाई भाईरसबाट टाढा राख्न कति दिनमा घर सफा गर्नु पर्छ ? – दिनमा एक पटक । अन्य सरसफाई गर्ने क्रममा । २. के पुछ्दा मात्रै पनि भाईरसहरु मर्छन ? – यदि ९९.९ प्रतिशत किटाणु मार्न स्प्रेहरु प्रयोग गरेर पुछ्दा भने पक्कै पनि भाईरसहरु मर्छन । ३. के गर्नु यदि मसँग सरसफाई स्प्रे छैन भने ? – साबुन पानीको एकैठाउँमा राखेर पनि घरलाई सफा गर्न सकिन्छ । एक बाटा पानीमा केही मात्रामा लिक्विड साबुनका केही थोपा वा सरफ पनि प्रयोग गर्न सक्नुहुन्छ । यद्यपि साबुन पानीले सबै किटाणु मार्दैन तर त्यसलाई रगटेर सफा गर्दा भाईरस लगायतका अन्य फोहोरहरु जाने गर्दछन् । ४. सबैभन्दा बढी मानिसहरुले छुने सतह कुन कुन हो ? ढोकाको समात्ने ठाउँ बत्तिको स्वीच फ्रिजर माईक्रोवेभको ढोका टिभीको रिमोट दराजको ढोका टोईलेटको ढोका धाराको समात्ने ठाउँ ५. के मैले सरसफाई गर्ने बेला पन्जा लगाउनुपर्छ ? घरको सरसफाई गर्दा पन्जा लाउन जरुरी मानिन्छ तर यदि पन्जा नभएको अवस्थामा सरसफाई पछि राम्रोसँग हात साबुन पानीले धुनुहोस् । ६. के मैले लगाएको पन्जा सरसफाई पछि धुन जरुरी छ ? यदि तपाई उक्त पन्जा पुर्ण प्रयोग गर्दै हुनुहुन्छ भने त्यसलाई धुन जरुरी छ । बाथरुम र अन्य ठाउँको लागि फरक पन्जा प्रयोग गर्नुहोस् सरसफाई गरिसकेपछि …… -पन्जालाई राम्रोसँग साबुन पानीले धुने -त्यसलाई राम्रोसाग सुकाउने -पन्जालाई सुरक्षित स्थानमा राख्ने -एकपटक हात धुने ७. म मेरो घरलाई सफा राखिरहन के गर्न सक्छु ? घर पुग्ने बित्तिकै जुत्ता घर बाहिर नै राख्नुहोस् र त्यसलगतै साबुन पानीले हात धुने गर्नुहोस् ।
सनराइज बैंकले पाटन अस्पताललाई दियो २० थान पीपीई
काठमाडौं । सनराइज बैंकल पाटन अस्पताललाई २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) दिएको छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले अस्पतालका डा.विष्णु प्र. शर्मालाई सो मात्राको पीपीई हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताएका छन् । विश्वलाई नै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको छ । त्यसमा पनि सीमित स्रोत साधनबाट समेत अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय छ । यो कठिन परिस्थितीमा काम गरिरहनु भएका तमाम डाक्टर र नर्सहरुले हौसला प्रदान गर्न सानो सहयोग गरेका हौं बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने भनेर प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए ।
बेल्जियमको एक बिरालोमा देखियो कोरोना भाईरस
बेल्जियम । बेल्जियका स्वास्थ्य अधिकारीहरुले एक बिरालाेमा उसको मालिकबाट कोरोना भाईरस (कोभिड १९) सरेको बताएको छ । मानिसदेखि जनावारमा यसरी रोग सर्नु निकै नै दुर्लभ केस रहेको उनीहरुले बताएका छन् । भाईरोलोजिस्ट स्टेफन भ्यान गच्टले शुक्रबार एक प्रेस सम्मेलनमा बिरालोमा कोभिड १९ पुष्टि भएको अन्तराष्ट्रिय संचारमाध्यम द बे्रसेल्स टाईम्सले जनाएको छ । मालिकले बिरालो बिरामी हुनुभन्दा एक हप्ता अघिदेखि कोभिड-१९ को लक्षण देखिएको बताईएको छ । यसअघि हंङकङमा दुई कुकुरमा कोभिड-१९ देखिएको थियो । तर बिरालोमा संक्रमण देखिनु कुनै नौलो कुरा नभएको र अहिलेसम्म बिरालेबाट मानिसमा संक्रमण हुने कुनै पुष्टि नभएको पशु चिकित्सकहरु बताउँछन् ।