विकासन्युज

कोरोना संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य- स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरस संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकाे छ । काेराेना भाइरस  (कोभिड १९) सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  कोरोना भाईरस संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । ‘सबैकाे स्वास्थ्य सामान्य छ, हामीले स्वास्थ्य सामाग्रीकाे व्यवस्था पनि गिररहेका छाैं, त्यस्तो कूनै आतिनु पर्ने अवस्था छैन,’ उनले भने । हालसम्म ९ सय १७ जनाको काेराेना परिक्षण भएको छ जसमा ९ सय १२ जना नेगेटिभ देखिएको छ भने ५ जनामा पोजेटिभ देखिएको छ । यसमा एक जना भने निको भएर घर फर्किसकेका छन् ।

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख तीन गतेसम्म बन्द

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बैशाख तीन गतेसम्म बन्द गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकल सो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

रोमनियामा ५ सय नेपाली अलपत्र, तत्काल नेपाल ल्याउन नसकिने

काठमाडौं । कोरोनाको संक्रमण फैलिएसँगै वैदेशिक रोजगारी रहेका नेपाली कार्यरत कम्पनीबाट तलबविहिन बस्न बाध्य भएका छन् । महामारीको रुपमा संसारभर संक्रमण फैलिएको कोभिड १९ को कारण रोमनियामा रहेकामध्ये ५ सय नेपाली श्रमिक तलबविहिन बस्न वाध्य भएका छन् । ती नेपाली केही दिनदेखि कम्पनीमा काम ठप्प भएको र कोठामा नै बेतलबी बसिरहेको वैदेशिक रोजगार व्यवसायी संघलाई जानकारी प्राप्त भएको छ । त्यस्तै रोमनियामा ७ सय नेपाली कामदारलाई भने कम्पनीले बन्दको अवधिमा ७५ प्रतिशत पारिश्रमिक दिने घोषणा गरेको छ । रोमनियामा केही दिनदेखि होटल, रेष्टुराँ तथा जमघट बन्द छन् । केही दिन अगाडी दुवई तथा बहराईनका केही कम्पनीहरुले कामदार फिर्ता लैजान वैदेशिक रोजगार व्यवसायीलाई पत्राचार गरेको थियो । संसारभरी कोरोना भाइरसको महामारी फैलिएसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीको विषयमा छलफल भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । ‘विश्वका अधिकांश देश लकडाउन छन्, देशहरुले अन्तर्राष्ट्रिय उडान बन्द गरेका छन्, त्यसकारण विदेशमा रहेका नेपालीलाई तत्काल फर्काउन सक्ने अवस्था छैन्,’ महानिर्देशक दाहालले भने । रोमनियामा २ हजार ५ सय नेपाली युवा कार्यरत रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

मेटलाईफका सम्पूर्ण शाखाहरु बन्द, बीमा सेवा अनलाईनबाट लिन सकिने

  काठमाडौं । मेटलाईफ इन्स्योरेन्स कम्पनीले कोभिड नाएन्टीनका कारण सम्पूर्ण बीमा सेवाहरु बन्द भएपनि अनलाईनबाट हुने सेवाहरु निरन्तर चल्ने जनाएको छ । कम्पनीले बिमितलाई पर्न सक्ने असहजतालाई ध्यान दिँदै यस्तो व्यवस्था गरेको हो । के के छन् कम्पनीले जारी गरेकाे सूचनामाः – लक डाउनको अवधिका कारण बीमाशुल्कको भुक्तानी हुन नसकेका सबै सक्रिय बीमालेखहरुलाई निरन्तरता दिने । – लकडाउनका कारण भुक्तानी हुन नसकेका बीमाशुल्क सार्वजनिक सेवाहरु पुनः सुचारु भएको १५ दिन भित्र भुक्तानी गरेमा कुनैपनि बिलम्ब शुल्क नलाग्ने । – कम्पनीको वेवसाईट अनलाईन बीमाशुल्क भुक्तानी सेवा सुचारु राख्ने । – अत्याआवश्यक सेवासम्बन्धि सम्पूर्ण कार्यहरु कर्मचारीले घरबाटै संचालन गर्ने । – फाने, फेसबुक र इ–मेलको मार्फत ग्राहकहरु, कर्मचारीहरु तथा अभिकर्ता लगायतका व्यवसायिक साझेदारहरुलाई आवश्यक जानकारी सेवा प्रदान गर्ने । – मेटलाईफ, नेपालका सबै विद्यमान, दुर्घटना र स्वास्थ्य बीमा लगायतका व्यक्तिगत तथा सामूहिक जीवनबीमा लेखहरु, बीमालेखका सर्तहरुको अधिनमा रहि सदा झैँ रक्षावरण प्रदान गरिने छ । सम्पर्कका व्यक्तीको रुपमा मेट लाईफले कर्मचारीहरु प्रजनी शाही, सलीना शाक्य र मनोज नेपाललाई तोकेको छ ।

अति समस्यामा परेका ग्राहकले बालाजुबाट ‘नेपाल ग्यास’ पाउने

काठमाडौं । कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा समस्या देखिएको छ । अन्य समयको तुलनामा ग्यासको आयात उल्लेख्य बढाइए पनि बजारमा अझै ग्यासको अभाव सल्टिन सकेको छैन । नेपाल आयल निगमले पछिल्लो महिनामा झण्डै ४५ हजार मेट्रिकटन ग्यास आयात गरिएको जनाएको छ । त्यसअघि उच्च माग भएको अवस्थामा पनि नेपाली बजारमा मासिक ३८ हजार मेट्रिक ग्यासको खपत हुँदै आएको थियो । ग्यासको बढ्दो अभावसँगै सरकारको निर्देशनमा ग्यास उद्योगीले ७.१ किलोग्राम ग्यास तौल भएको सिलिण्डर आजदेखि बजारमा ल्याइसकेका छन् । तर पनि ग्यासको अभाव हट्न सकेको छैन । यसैबीच उपत्यकामा धेरै उपभोक्ता रहेको नेपाल ग्यास कम्पनीले अत्यावश्यक अवस्थाका उपभोक्तालाई सोमबारदेखि बालाजुस्थित औद्योगिक क्षेत्रबाट ग्यास वितरण गरिने जनाएको छ । बिहान ९ः३० देखि अपराह्न १ः३० बजेसम्म उद्योग बाहिर औद्योगिक क्षेत्रको गेटबाट ग्यासको बिक्री वितरण गरिने कम्पनीले जनाएको छ । ग्यासको माग पूरा गर्न क्षेत्रगत हिसाबमा दैनिकरुपमा ग्यास पठाउने काम गरिरहेको जनाउँदै कम्पनीले अति समस्या भएका ग्राहकको समस्या सम्बोधन गर्न उद्योग बाहिरबाट ग्यास दिन लागिएको प्रष्ट छ । सङ्क्रमणकालीन अवस्थामा ग्यासको माग अधिक भएकाले पूरा गर्न समस्या देखिएको उद्योगले जनाएको छ । यसैबीच नेपाल आयल निगमले आजदेखि ७.१ किलोग्राम ग्यास भरिएको सिलिण्डरमात्र बिक्री वितरण गर्न सम्पूर्ण ग्यास बिक्रेतालाई निर्देशन दिएको छ । निगमले उद्योगीसँगको छलफलपछि आधा ग्यास (७.१ किलो) भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको थियो । अब उप्रान्त १४.२ किलो ग्यास भएको सिलिण्डर बिक्री वितरण गरेको पाइएमा सिलिण्डर बिक्रेता तथा डिस्टिब्युटरमाथि कारवाही हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पूरा तौल भएको केही सिलिण्डर बिक्रेताले लुकाएको आशङ्का गरिएको छ । निगमले पूरा तौल भएको सिलिण्डरको मौज्दात रहेमा सम्बन्धित उद्योगमा फिर्ता गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी सम्पूर्ण ग्यास बिक्रेता, डिस्टिब्युटरले दैनिक शुरुवाती मौज्दात र निजको प्राप्त भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी बिक्री स्थलमा टाँस्न पनि निगमले निर्देशन दिएको छ । ग्यास वितरणलाई पारदर्शी बनाउन सम्पूर्ण उद्योगीलाई दैनिक ग्यास बिक्री वितरणको योजना निगममा पेश गर्न पनि यसअघि नै निर्देशन दिइसकेको छ । रासस

लक डाउन २५ गतेसम्म गर्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं । सरकारले लकडाउनको समयवधि आगामी २५ चैतसम्म बढाउने भएको छ । आइतबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले सात दिन लकडाउन थप्ने निर्णय लिएको उच्चस्तरीय समितिको स्रोतले बताएको छ । स्राेतका अनुसार लकडाउनकाे अवधि अब थप १४ दिनभन्दा बढी नहुने गरि मन्त्री परिषदलाई समितिले सिफारिस गरेकाे छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा   पठाइने बताइएकाे छ । अब मन्त्रिपरिषद्काे निर्णयले साे प्रस्तावलाई  स्वीकार वा अस्वीकार पनि गर्न सक्नेछ । आजै ४ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । यसबारे आवश्यक निर्णय मन्त्रिपरिषद्ले लिनेछ । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।

न्यूयोर्कमा क्वारेन्टाइन आवश्यक छैन- ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो “लकडाउन” गर्ने निर्णय बेठिक रहेको बताएका छन् । स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अरु बढ्ने चेतावनी दिइरहे पनि राष्ट्रपति ट्रम्पले लकडाउन समस्याको समाधान नरहेको जिकिर गरेका छन्। तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शनिबार नै स्थानीयबासीलाई अत्यावश्यक बाहेक अन्य परिस्थितिमा घरबाहिर ननिस्कन सुझाव दिएको छ । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, “न्यूयोर्कमा क्वारेन्टाइनको जरुरत छैन ।” स्थानीयबासीलाई अन्य राज्य र शहरको भ्रमणमा जाँदा वा न्यूयोर्क प्रवेश गर्दा क्वारेन्टाइनमा राख्नु पर्दछ भन्ने चौतर्फी माग गरिए पनि राष्ट्रपति ट्रम्पले यस्तो धारणा नै गलत रहेको दाबी गरेका हुन् । राष्ट्रपति ट्रम्पले यसअघि अरु राज्यहरु खासगरी फ्लोरिडा राज्यले चिन्ता व्यक्त गरेपछि आवातजावत खुलै राख्नु पर्ने धारणा अघि सारेका हुन् । उनले संवाददाताहरुलाई अति संक्रमण फैलिएको न्यूयोर्क निवासीका कारण छिमेकी राज्य फ्लोरिडामाथि दबाब परेको पनि बताए । तर न्यूयोर्कका गभर्नर एन्ड्रु कुमो र न्यूजर्जीका गभर्नर नेड लामोन्टले राष्ट्रपतिको भनाई प्रति तिब्र असन्तोष व्यक्त गर्नु भएको छ । अमेरिकी वित्तीय क्षेत्रमै संकट आउने भन्दै दुबै गभर्नरले मानिसको आवतजावतमा कडाई गर्नु पर्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, “ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सुझाव तथा न्यूयोर्क, न्यूजर्जी र कनेक्टिकट राज्यका गभर्नरसँगको परामर्शपछि मैले सिडिसीलाई कडा ट्राभल एड्भाइजरी (यात्रा सम्बन्धी सल्लाह) जारी गर्न आदेश दिएको छु ।” त्यसलगत्तै सिडिसीले तत्काल लागू हुनेगरी १४ दिनसम्म अतिआवश्यक परेको अवस्थामा बाहेक तीनवटा राज्यमा यात्रा नगर्न र घरभित्रै बस्न तीनै राज्यका स्थानीयबासीलाई आग्रह गरेको छ । संयुक्तराज्य अमेरिकामा भेटिएका कूल संक्रमित व्यक्तिहरु एक लाख २४ हजारमध्ये न्यूयोर्कमा मात्र ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । न्यूयोर्कमा शनिबार मात्र १५५ जनाको मृत्यु भएको छ, र यो सहित न्यूयोर्कमा कूल मृतकको संख्या ६७२ जना पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण अमेरिकामा २ हजार १८५ जनाको मृत्यु भइसकेको छ । छिमेकी राज्य न्यूजर्जीमा ११ हजार १०० भन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । (रासस/एएफपी)

कोरोनाकाे आशंकामा क्वारेन्टाइनमा राखिएका बुटवलका एक जनाकाे मृत्यु

काठमाडाैं । रुपन्देहीको बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा कोरोनाकाे आशंकामा क्वारेन्टाइनमा बसेका एक जनाकाे मृत्यु  भएकाे छ । अस्पताल स्राेतका अुसार उनकाे आज मृत्यु भएकाे हाे । कोरोना विशेष अस्पताल स्रोतका अनुसार उनी सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक पुरूष हुन् ।  उनी चैत १३ गते कोरोना विशेष अस्पताल बुटवल भर्ना भएका थिए । उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। उनी चैत ८ गते वैदेशिक रोजगार दुबईबाट नेपाल आएका बुझिएकाे छ।