कोभिड–१९ बाट विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, संक्रमित संख्या ६ लाख ६८ हजार
जेनेभा । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८ हजार पुगेको छ । प्राप्त विवरण अनुसार इटालीमा हालसम्म १० हजार २३ जनाको मृत्यु भएको छ । केही दिनयता यहाँ ज्यान गुमाउनेको संख्या बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिएको छ । इटालीमा हालसम्म ९२ हजारभन्दा बढी नागरिकमा कोभिड–१९ को संक्रमण देखिइसकेको छ । त्यसैगरी स्पेनमा ज्यान गुमाउने नागरिकको संख्या ५ हजार ९ सय ८२ जना पुगेको छ । स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो । यता संयुक्तराज्य अमेरिकामा विश्वमै सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देश बनेको छ । यहाँ अहिलेसम्म १ लाख २३ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार २ सय २९ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी अमेरिकी राज्य न्यूयोर्कमा बढी देखिएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३ सय जनाको मृत्यु भएको छ भने त्यहाँ ८१ हजार ४ सय ३९ जना सङ्क्रमित रहेका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ५ सय १७ जनाको मृत्यु भएको छ । हाल ३५ हजार ४ सय ८ जना सङ्क्रमित रहेका छन् । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ४ सय ५५ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ५८ हजार भन्दा बढी मानिस सङक्रमित रहेका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण २ हजार ३१४ जनाको मृत्यु भएको छ । बेलायतमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमण हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार १९ जनाको ज्यान गएको छ । यहाँका १७ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । युरोपेली अन्य मुलुकहरुमा पनि कोरोनाभाइरसको संक्रमण बढ्दै जानुका साथै मृतकको संख्या पनि बढेको छ । आवतजावत र अत्यावश्यक बाहेक अरु बेला नागरिकलाई घरबाहिर निस्कन हतोत्साहित गरेको भए पनि भूसको आगोजसरी कोरोना भाइरसले युरोपेली मुलुकहरुलाई आक्रान्त बनाएको छ । कोरोनाभाइरस सङ्क्रमणका कारण नेदरल्यान्ड्समा ६ सय ३९, बेल्जियममा ४ सय ३१, स्वीट्जरल्यान्डमा २ सय ६४, टर्कीमा १ सय ८, स्वीडेनमा १ सय ५, पोर्चुगलमा १ सय जनाको मृत्यु भइसकेको छ । दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमणका कारण १ सय ५२ जनाको मृत्यु भएको छ । यसैगरी यस सङ्क्रमणबाट अष्ट्रिया, नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएको छ । रासस/एपी/सिन्ह्वा/एएफपी
नुवाकोटमा १६८ जना क्वारेनटाइनमा
काठमाडाैं । कोभिड-१९ को संक्रमणको जोखिम न्यूनीकरणका लागि विदेशबाट फर्किएका १६८ जनालाई जिल्लाका क्वारेन्टाइनमा राखिएको छ । १६४ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् भने विदुर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा चार र तादी गाउँपालिकाले बनाएको क्वारेनटाइनमा एक जनालाई राखिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । विशेष गरी जिल्लामा भारत, कतार, मलेसिया र संयुक्त अरब इमिरेट्सबाट आएकाहरु धेरै क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा २२६ शय्या क्वारेन्टाइनका लागि र १४ शय्या आइसोलेशनका लागि तयारी अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए। जिल्लामा कुनै शंकास्पद बिरामी भेटिएका सुरक्षित रुपमा अस्पतालमा ल्याउन तीन एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । भारतलगायत तेस्रो मुलुकबाट जिल्लाका सयौँ नागरिक भित्रिएकाले उनीहरुको वडा कार्यालयमार्फत लगत संकलन गरी संक्रमणको जोखिमका बारेमा जानकारी दिने कार्य थालिएको स्थानीय तहले जनाएका छन् । रासस
महासंघकाे सरकारलाई ५० लाख रुपैयाँ नगद र डेढ कराेड बराबरकाे सामान सहयोग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । उद्योगी व्यवसायीहरुको छाता संगठन महासंघले कोरोना भाइरसबाट उत्पन्न हुने जोखिम रोकथाम र न्यूनिकरणका लागि सरकारलाई ५० लाख रुपैयाँ नगद सहयोग गरेको हो । आइतबार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर महासंघ अध्यक्ष भवानी राणाले ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बताइन् । अध्यक्ष राणाले महासंघले ५० लाख नगदसँगै डेढ करोड रुपैयाँ बराबरको मेडिकल सामाग्री र खाद्यान्न सहयोग गर्ने बताइन् । चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष राणासँगै बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, उपाध्यक्षहरु चन्द्र ढकाल, किशोर प्रधान र उमेशलाल श्रेष्ठ उपस्थित भएका थिए । हाल महासंघले लकडाउनका समयमा काम विहीन भई बसेका श्रमिकहरूलाई खाद्यान्न सामग्रीहरू उपलव्ध गराउने बताएकाे छ । आफ्नो देशैभर रहेको संजालमार्फत महासंघले उद्योग व्यवसायमा काम गर्ने श्रमिक कामदारहरूको तथ्यांक संकलन गरिरहेकोे बताएको छ । महासंघले यसअघि सरकारलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण पिपिई हस्तान्तरण गरेकाे थियाे ।
विदेशबाट फर्कनेलाई १४ दिन क्वारेण्टीनमा बस्न वैदेशिक बोर्डको अनुरोध
काठमाडाैं । वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्किएकालाई १४ दिन क्वारेण्टीनमा बस्न अनुरोध गरेको छ । बाेर्डले आइतबार एक सूचना जारी गर्दै १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । कोरोनाको जोखिम भएको देशबाट फर्कनेहरुमा कोरोनाको सङक्रमणको जोखिम हुने भन्दै १४ दिनसम्म आफ्ना परिवार, साथीभाइ तगा आफन्तसँग भेटघाट नगरी एकान्तबासमा बस्न बोर्डले अनुरोध गरेको हो । बाेर्डले ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने वस्ता समस्या देखिएको तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि बोर्डको अनुरोध छ । पछिल्लो समय विदेशबाट फर्किएकामा कोरोनाको सङक्रमण पुष्टि भएकाले विदेशबाट फर्कनुभएको छ भने कोरोनाको लक्षण देखिएको छैन भने पनि क्वारेण्टीनमा बस्न सरकारले पनि अनुरोध गरिरहेको छ ।
लक डाउन ८ दिन थप्ने सरकारकाे निर्णय
काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लक डाउन बढाउने निर्णय गरेको हाे । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो । जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको स्राेतले बतायाे । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । आजकाे निर्णय अनुसार अब २५ गतेसम्म लक डाउन रहनेछ ।
आवश्यक चिकित्सा सामाग्री नेपाल आइपुग्यो, देशैभर वितरण गरिने
काठमाडौं । ज्याक मा फाउण्डेशन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक चिकित्सा सामाग्रीको पहिलो टीप आज त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा काठमाडौंमा आइपुगेको छ । नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालयले उक्त अनुदानको रीसीट लिएको छ र देशभर वितरण गर्नेछ । यो वितरण ज्याक मा फाउन्डेसन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक मेडिकल सामाग्रीको एक हिस्सा हो । अनुदानमा २३ एसियाली देशहरुको लागी कुल ७४ लाख मास्कहरु, १ लाख सुरक्षात्मक कपडाहरुका साथै अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु छन् । दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले दुई संस्थाहरूलाई प्रतिनिधित्व गर्दै समारोहमा भा लिए जसमा स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई उक्त अनुदान प्रदान गरिएको थियो । यस पहलको समर्थन गर्न चीनकी राजदूत हौ यान्की तथा स्वास्थ्य र जनसंख्या मन्त्री भानुभक्त ढकालको पनि उपस्थित थियो । ‘हामी आशा गर्दछौं कि यो अनुदानले नेपाललाई कोविड १९ को फैलावट नियन्त्रण गर्न मद्दत र्पुयाउँछ। हामी विश्व समुदायलाई सहयोग र्पुयाउन सक्दो प्रयास गरिरहेका छौं। आवश्यक परको ठाँउहरुमा चिकित्सा सामाग्री र्पुयाउन सजिलो छैन, तर हामी कडा परिश्रम गरिरहेका छौं।’- ज्याकमा फाउन्डेसन यी दानहरू अलिबाबा फाउण्डेशन र ज्याक मा फाउन्डेशनले कोविड-१९ बाट प्रभावित एसिया, उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप र अफ्रिकाका देशहरूमा गरेको विभिन्न प्रकारका चिकित्सा सामाग्री सहयोग मध्ये एक हुन्। साथै, अधिक पहल र दानहरू आउँदो दिन र हप्ताहरूमा घोषणा हुन सक्नेछन्।
जिन्दगी फेरि मिल्दैन, अहिले नगरे कहिले गर्ने त !
केही वर्षअघि बलिउडमा एउटा फिल्म आएको थियो ‘जिन्दगी ना मिलेगी दोबारा’, जसको नेपालीमा अर्थ हुन्छ ‘जिन्दगी फेरि पाइने छैन’ । सुपरहिट भएको त्यो फिल्म शायद तपाईंले पनि हेर्नु भएको थियो । तर के तपाईंले कहिल्यै हाम्रो यही एउटै मात्र जिन्दगी छ भन्ने कुरामा गम्भीरतापूर्वक सोच्नुभएको छ ? योभन्दा अघि जिन्दगी थियो या पछि पनि हुनेछ भन्ने वारेमा कसैले पनि ग्यारेन्टीका साथ भन्न सक्दैन । तर अहिले हाम्रो जुन जिन्दगी छ, त्यो एउटा सत्य हो । र, यदि हामी अर्थपूर्ण जीवन जिउन चाहन्छौं भने हामीले यो सत्यलाई बुझ्नै पर्ने हुन्छ । ‘जिन्दगी ना मिलेगी दोबारा’लाई शायद केही मानिस यसरी बुझ्छन् कि जीवनलाई खूब एन्जोय गर, पार्टी गर, बन्जी जम्पिङ्ग गर, स्काई डाइभिङ्ग गर, आफूलाई मन लागेको ठाउँमा घुम्न जाऊ र साथै आफ्नो विस लिस्टमा जे जे आइटमहरु छन् सवैलाई पूरा गर । हुन त यी सवै जिन्दगी ना मिलेगी दोबाराकै हिस्साहरु हुन् । तर हामी त्यसलाई उक्त कथनको सानो हिस्सा मात्र मान्न सक्छौं, ठूलो होइन । वास्तविक रुपमा हेर्ने हो भने जिन्दगी फेरि पाइने छैनको दर्शन भर्खरै बताइको भन्दा काफी धेरै छ र आज यस लेख मार्फत् म यसै विषयमा तपाईंसँग आफ्ना केही विचारहरु सेयर गर्न गइरहेको छु । साथीहरु हाम्रो जीवन तीव्र गतिका साथ बित्दै गइरहेको छ । हिजो हामी स्कुलमा पढ्न जान्थ्यौं, आज हामी कलेजमा आइसकेका छौं । हिजो हामी अरु कोही व्यक्ति कार्यालय गएको देख्थ्यौं, आज आफैं जान थालिसक्यौं । हिजो हामी बच्चा थियौं र आज हाम्रा आफ्ना बच्चाहरु ठूला भइसकेका छन् । समय कत्तिको तिव्र गतिमा गुज्रिन्छ भन्ने कुरा त जो जति बढि उमेरको छ, उसले त्यत्तिनै राम्रोसँग जानेको हुन्छ । समयको महत्वलाई बुझ्नु पर्छ । किनभने हाम्रो जिन्दगी समयबाट नै बनेको छ । एक एक पल जोडिएर नै हप्ता, महिना र वर्ष बन्दछन् । एक किसिमले भन्न सक्छौं कि ‘जिन्दगी ना मिलेगी दोबारा’को मतलव यो पनि हो कि जुन समय बितिसक्यो त्यो फेरि फर्केर आउँदैन । बितिसकेको समय भनेको बितिसकेको जिन्दगी हो र त्यो कहिल्यै पनि फर्केर आउँदैन । त्यसो हो भने यसबाट एउटा जरुरी कुरा यो बुझिन्छ कि हामीसँग जति पनि समय बाँकी छ, त्यो सीमित छ र धेरै मूल्यवान पनि छ । त्यसैगरी दोस्रो कुरा हो हाम्रो काम । किनभने हाम्रो कामले नै हामीलाई युनिक बनाउँछ । हरेक मानिसले दिनभरीमा गर्ने कतिपय चिज त समान नै हुन्छ । सुत्ने, खाने, पिउने लगायतका कुराहरु हामी सवैले गर्दछौं । फरक हुन सक्ने भनेको हामीले गर्ने प्रमुख काम हो । कोही सफ्टवेयर इञ्जिनियरको काम गर्छन्, कोही स्कुलमा पढाउने काम गर्छन् त कोही आफ्नो व्यवसाय सञ्चालन गरिरहेका हुन्छन् । हामी सबै कुनै न कुनै काम गरिरहेका नै छौं । तर प्रश्न चाहिँ यो उठ्छ कि के तपाईं जे गरिरहनुभएको छ, त्यो त्यही काम हो जुन तपाईं भित्री मनदेखि गर्न चाहिरहनुभएको छ ? यदि तपाईं आर्थिक रुपमा स्वतन्त्र हुनुभयो भने पनि के त्यही नै काम गर्न मन पराउनुहुन्छ ? त्यसैगरी, के त्यो त्यही काम हो जसलाई तपाईं साँच्चै नै महान् काम सम्झिनु हुन्छ ? यदि हो भने त बधाई छ । तपाईंले त्यो काम गर्दै हुनुहुन्छ, जसले तपाईंलाई सन्तुष्ट र खुशी बनाउन सक्छ । तपाईं सही बाटोमा हुनुुहुन्छ । तपाईं ती थोरै मानिसमा पर्नुहुन्छ जसले आफ्नो मनको कुरालाई सुन्ने हिम्मत देखाए । र यस्तो गरेकोमा तपाईं धेरै धेरै बधाईको पात्र हुनुहुन्छ । तर यदि यस्तो होइन भने, अथवा तपाईं त्यस्तो काम गरिरहनुभएको छैन, जसले तपाईंलाई गर्व गर्न लायक बनाउँछ भने अब सोच्ने वेला भइसकेको छ । किनकि तपाईंले आफ्नो जिन्दगी फेरि पाउनुहुने छैन । साथीहरु, हाम्रो जीवन अमूल्य छ । हरेक मानिस यस दुनियामा असीमित शक्तिहरुका साथ आएका छन् । सबैको शक्ति अलग अलग छन् । कसैको शक्ति छर्लंग देखिन्छ भने कसैको चाहिँ लुकेको हुन्छ र कतिपय अवस्थामा त हामी आफैंले पनि आफ्नो शक्तिको वारेमा जान्न सकेका हुँदैनौं । र अझ दुःखको कुरा भनेको त लाखौं करोडौं मानिसहरु आफ्नो शक्तिका वारेमा नजानिकनै संसारबाट विदा भइसकेका छन् । यसो विचार गरौं त, यदि तपाईंलाई मरेपछि भगवानले यो बताउँछन् कि तिमीभित्र संसारकै प्रख्यात गायक बन्ने क्षमता थियो, अथवा तिमी एउटा ठूलो नेता बन्न सक्थ्यौ, अथवा तिमीबाट करोडौं मानिसहरुको जिन्दगी बदल्न सक्ने चिज आविष्कार हुन सक्ने थियो । तर तिमीले कहिल्यै प्रयास नै गरेनौ । हो, त्यतिखेर तपाईंलाई कस्तो महसुस हुन्छ होला । समय कहिल्यै पनि रोकिदैन । तर हामीले समयलाई समात्नै पर्ने हुन्छ । हामीले आफ्नो जीवनलाई यत्तिकै विताएर हुँदैन । करोडौं मानिसहरु जस्तो हामी बस् उपस्थित हुनका लागि मात्र यस धर्तीमा आएका होइनौं । हाम्रो जीवनको एउटा अर्थ छ, एउटा उद्देश्य छ । यदि हामी त्यो जान्दैनौं भने अब चाहीँ जान्नु छ । हामीलाई थाहा छैन कि यो जन्मभन्दा अघि हामी के थियौं अथवा यो जन्मभन्दा पछि हामी के हुन्छौं । वास्तवमा भन्नुपर्दा हामी यो कुरा जान्न पनि चाहँदैनौं किनकि हामी त यही जिन्दगीलाई आफ्नो उत्कृष्ट जीवन बनाउन चाहन्छौं । हो, यो मान्नै पर्छ कि अहिले हामी त्यो काम गरिरहेका छैनौं, जुन काम हामी मनदेखि नै गर्न चाहन्छौं । तर अब हामी यो चाहीँ मान्दैनौं कि हामी त्यही काम नै निरन्तर गरिरहन्छौं, जुन काम हामी गर्नै चाहँदैनौं । हामी हिम्मत गर्नेछौं र कुनै न कुनै उपाय निकाल्ने छौं । हामी सपना देख्नेछौं र त्यसलाई जसरी पनि पूरा गरेरै छाड्नेछौं । हामी मानव हौं । हामीसँग पहाड हल्लाउन सक्ने र आकास झुकाउन सक्ने क्षमता छ । सानातिना बाधा व्यवधानसँग हामी हार मान्ने छैनौं । परिवार तथा समाजको विरोध, असफलताको डर, भविष्यको चिन्तालगायतले अव हामीलाई रोक्न सक्ने छैन । हामी त अगाडि बढ्छौं बढ्छौं । अघि बढ्दा लडखडाइएला, लडिएला तर अब हामी रोकिने छैनौं । हामीले यो राम्रोसँग बुझेका छौं कि जे गर्नु छ, अहिले नै गर्नुछ, यहीं गर्नुछ । किनकि, हामीलाई थाहा छ यो जिन्दगी फेरि पाउन सकिने छैन । हो पक्कै पनि ‘जिन्दगी ना मिलेगी दोबारा …।’ (अच्छिखबरडटकमबाट भावनुवाद गरिएको ।)
सातै प्रदेशमा कोरोना परीक्षण ल्याबको लागि विज्ञ र कर्मचारी खटाउन सुरु
काठमाडौं । सातै प्रदेशमा कोरोना परीक्षण ल्याब सुरु गर्न सरकारले विज्ञ र कर्मचारी खटाउन सुरु गरेको छ । कोभिड १९ सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सातै प्रदेशमा कोरोना परीक्षण ल्याब सुरु गर्न कर्मचारी खटाउन सुरु गरिएकाे जानकारी दिएका हुन् । प्रदेश २ को परीक्षण ल्याब जनकपुरमा, गण्डकी प्रदेशको पोखरामा, बागमती प्रदेशको हेटौडा, कर्णली प्रदेशको सुर्खेत र सुदुरपश्चिमकाे धनगढीमा विज्ञ र कर्मचारी खटाईसकेको श्रेष्ठले जानकारी दिएका हुन् । ल्याब स्थापनाको लागि केही सामानहरु आईपुगेको श्रेष्ठले जानकारी दिए । हाल सम्म काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र केही दिनअघिदेखि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु गरिएको छ ।