सामाजिक सुरक्षा कोषमा गएका योगदानकर्ताको चैतको रकम सरकारले तिर्ने
काठमाडौं । सामाजिक सुरक्षा कोषमा गएका श्रमिकको चैतको रकम सरकारले तिर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्काे बैठकले श्रमिककाे चैतको रकम तिर्ने निर्णय गरेको हो । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले अहिले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएका हुन् । सामाजिक सुरक्षा काेषमा सहभागी भएका श्रमिकहरूले चैतकाे रकम काेषमा जम्मा गर्नु नपर्ने उनले बताए । काेषमा राेजगारदाताले जम्मा गर्नु पर्ने रकम पनि सरकारले जम्मा गरिदिने अर्थमन्त्रीले जानकारी दिएका छन् । लकडाउनका कारण रोजगारदाता र योगदानकर्ता दुवैको ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सरकारले उनीहरुको एक महिना बराबरको ३१ प्रतिशत रकम कोषमा जम्मा गरिदिन लागेको उनले जानकारी दिए । कोषमा हाल श्रमिकको पारिश्रमिकको २० प्रतिशत रोजगारदाताको तर्फबाट र कर्मचारीको तर्फबाट ११ गरी ३१ प्रतिशत रकम जम्मा हुँदै आएको छ । हाल सामाजिक सुरक्षा कोषमा १२ हजार ३ सय १५ रोजगारदाता र १ लाख ५३ हजार २ सय ७० योगदानकर्ता आबद्ध छन् । उनीहरूबाट हालसम्म कुल ८६ करोड ९९ लाख रुपैयाँ रकम संकलन भइसकेको सामाजिक सुरक्षा कोषले जनाएको छ । सरकारले याे लगायत धेरै प्याकेजकाे घाेषणा गरेकाे छ । सरकारले इन्टरनेटमा २५ प्रतिशत छुट दिएकाे छ । एक महिनाकाे घर वहाल कर छुट दिन सरकारले घरधनीलाइ अनुराेध गरेकाे छ ।
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो दुईवटा अनलाइन सेवा, कसरी लिने ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘म्याच्युरिटी क्लेम’ र ‘क्लेम इन्टिमेसन’ नामक दुईवटा अनलाइन सेवा संचालनमा ल्याएको छ । कम्पनीले लकडाउनको अवधिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो । जसमध्ये ‘म्याच्युरिटी क्लेम’ सेवा मार्फत आफ्ना बीमितहरुले बीमालेख म्याच्युरिटी हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा म्याच्युरिटीको समय पुगेका बीमितहरुले आफ्नाे बीमा लेखको म्याच्युरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याच्युरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ । त्यसैगरी ‘क्लेम इन्टिमेसन’ सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाडि बढाउनेछन् । नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नाे अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ । जस अन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा ‘भरच्युअल अफिस’को रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् । यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । कसरी लिने म्याच्युरिटी क्लेम र क्लेम इन्टिमेसन सेवा ? सेवाग्राहीहरुले म्याच्युरिटी क्लेम र क्लेम इन्टिमेसन सेवा लिनकाे लागि यसमा क्लिक गर्न सक्नेछन् । साथै, उक्त सेवा लिने ट्युटोरियलको लागि यसमा क्लिक गर्न सकिने छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम इसेवा, प्रभु पे र नेपाल इन्भेष्टमेन्ट बैंक मार्फत अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ । साथै, यस विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।
भिसा लागेर पनि विदेश जान पाइएन ? यही व्यवसाय गर्ने हो भने अब ७ दिनमै पाइन्छ सस्तो व्याजमा ऋण
काठमाडौं । विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण अधिकांश देशको अर्थव्यवस्था शिथिल भएको छ । नेपालीको रोजगारीको प्रमुख स्रोतको रुपमा वैदेशिक रोजगारी पनि कोभिड १९ संक्रमण र सन्त्रासले शिथिल हुने देखिएको छ । नेपालीका प्रमुख वैदेशिक रोजगार गन्तव्य मलेशिया, खाडी राष्ट्र जस्ता देशमा अहिले कामको लागि जानै नपाइने भएको छ । कोभिड १९ संक्रमणको कारण केही नेपालीले वैदेशिक रोजगारीको लागि भिसा पाएर पनि जान पाएका छैनन् । यस्ता नेपालीलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले विशेष कार्यक्रम ल्याउने भएको छ । एकातिर वैदेशिक रोजगारी गुमेको र नेपालमै उद्यमशीलता प्रबद्र्धन गर्नुपर्ने आवश्यकता रहेकोले विशेष कार्यक्रम ल्याउन लागिएको राष्ट्र बैंकको भनाइ छ । वैदेशिक रोजगारीको लागि भिसा लागेर पनि जान रोकिएकाहरुलाई व्याज अनुदान दिएर ७ दिनभित्रमा ऋण उपलब्ध हुने व्यवस्था राष्ट्र बैंकले मिलाउन लागेको छ । ‘वैदेशिक रोजगारमा जाने अनुमति लिइ जान नपाएका व्यक्तिले संक्रमणको जोखिम समाप्त भएपछि सहुलियतपूर्ण कर्जा लिइ उद्योग व्यवसाय संचालन गर्न चाहेमा निवेदन दिएको ७ दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ राष्ट्र बैंकले सर्कुलर जारी गर्दै भनेको छ । राष्ट्र बैंकले अहिले भूकम्प पीडित, वैदेशिक रोजागरीमा गएर फर्केका व्यक्ति, महिला, परम्परागत शीप तथा क्षमता भएका जस्ता समुहलाई लक्षित गरेर ५ प्रतिशत व्याज अनुदानमा ऋण प्रदान हुने व्यवस्था मिलाइरहेको छ । सो व्यवस्था अनुसार बैंक वित्तीय संस्थाले सम्बन्धित व्यक्तिलाई आफ्नो आधार दरमा २ प्रतिशत मात्रै व्याज लिनेगरी कर्जा दिनुपर्ने र सो व्याजको ५ प्रतिशत सरकारले अनुदान दिने व्यवस्था मिलाइएको छ । यसरी कर्जा लिदा कुनै बैंकको आधार दर १० प्रतिशत छ भने सो बैंकले २ प्रतिशत व्याज थप गरेर १२ प्रतिशत व्याज कायम हुन्छ । सो १२ प्रतिशतमा सरकारले ५ प्रतिशत अनुदान दिँदा सम्बन्धित ऋणीले ७ प्रतिशत मात्रै व्याज तिरे हुने कार्यक्रम अहिले पनि संचालनमा छ । राष्ट्र बैंकले अहिले कामका लागि विदेश जाने भिसा लागेर पनि जान नपाएका व्यक्तिहरुका लागि यस्तै कार्यक्रम ल्याउन लागेको हो । सम्बन्धित सामग्री कोरोना संकटपछि राष्ट्र बैंकको यस्तो आयो १९ बुँदे प्याकेज (सर्कुलरसहित)
कोरोना संकटपछि राष्ट्र बैंकको यस्तो आयो १९ बुँदे प्याकेज (सर्कुलरसहित)
काठमाडौं । विश्वभर सन्त्रास र संक्रमण फैलाइरहेको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाली अर्थतन्त्रमा परेको असर न्यूनिकरण र सम्बोधनको लागि नेपाल राष्ट्र बैंकले १९ बुँदे प्याकेज ल्याएको छ । राष्ट्र बैंकले आजै सर्कुलर जारी गरेर प्याकेज ल्याएको हो । सो प्याकेजमा बैंकबाट ऋण लिएका व्यक्तिहरुले ऋणको किस्ता आगामी असार मसान्तभित्र तिरे हुने भएको छ । ‘२०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिक/त्रयमासिक किस्ताहरुको (क्रेडिट कार्डसमेत) भुक्तानी २०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनु पर्नेछ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन । किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नु पर्ने छैन,’ राष्ट्र बैंकको सर्कुलरमा उल्लेख गरिएको छ । यस्तो छ १९ बुँदे सर्कुलर [pdf id=204225]
भाटभटेनी समूहले प्रत्येक प्रदेशमा २५/२५ लाख सहयोग गर्ने
काठमाडौं । भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोना विरोधी अभियानका लागि २५/२५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । ७ वटै प्रदेशमा गरि १ करोड ७५ लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्ने भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले गरेका हुन । समूहका अध्यक्ष मीनबहादुरले गुरुङ कोरोनाविरोधी अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५/२५ लाख रुपैयाँ आर्थिक सहयोग बताएका हुन । भाटभटेनी समूहले एक साताअघि संघीय सरकारद्वारा स्थापित कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो । भाटभटेनी समूहले विपत्तिको अवस्थामा सरकार तथा पीडितलाई निरन्तर सहयोग गर्दै आएको छ ।
विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने
काठमाडाैं । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो । भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । “झण्डा राखिएको घर कोही पनि नजाने र गाउँपालिकाको समूह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौँ”, उनले भने, “यसबाट अन्य तथ्याङ्क सङ्कलनमा पनि सहज हुनेछ ।” गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ । गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्वयम्सेविका रहेका छन् । अबको एक हप्ता उनीहरुलाई खाजाको व्यवस्था गरेर परिचालित गरिनेछ । अब स्वास्थ्य स्वयम्सेविकाले वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउने तथा वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए । रासस
कुनै लक्षण नदेखाएको डाक्टरबाट एक महिलामा कोरोना संक्रमण
काठमाडौं । चीनमा कोरोना लागेर पनि कुनै लक्षण नदेखाएको एक व्यक्तिबाट एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । चीनको हेनान प्रदेशको एक महिलामा कुनै लक्षण नदेखाएको व्यक्तिबाट कोरोना संक्रमण भएको पुष्टि भएका हो । एक लाईब्ररीमा सरसफाईको काम गर्न ५९ वर्षिय उक्त महिला उनले मार्च २१ मा एक अस्पतालमा कार्यरत उनको साथीसँग बसेर खाना खाएपछि गत मंगलबार उनमा कोरोनाको लक्षण देखिएको थियो । स्वास्थ्यकर्मीहरु शारिरक स्वास्थ्य जाँच्ने क्रममा डाक्टर जाङलाई कोरोना भएको पुष्टि भएको थियो । यद्यापी उनले कोरोनाके कनै लक्षण नदेखाएको चीनको अनलाईन पत्रिका ग्लोबल टाईम्सले जनाएको छ । यस्तै डाक्टरको सहकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरुले अर्का एक सहकर्मीसँग बसेर खाना खाएका थिए । तेस्रो सहकमी कोरोनाको उच्च जोखिम भएको अवस्थामा वुहान गएको ग्लोबल टाईम्सले उल्लेख गरेकाे छ ।
११३७ मा फोन आएपछि सामानसहित सरकारी टोली सुत्केरीको घरमा
काठमाडौं । सरकारले सामान सकिए घरघरमा आएर समान उपलब्ध गराउने भनेको थियो । त्यसै अनुरुप सरकारले ललितपुरको लेलेमा घर भएकी एक सुत्केरीलाई सामान पुर्याएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोल फ्रि नम्बर ११३७ मा फोन आयो र लेलेकी सुत्केरी महिलाले म सुत्केरी भएको केही दिन भयो । मैले खाना पाकाउने ग्यास पाइन भनेर वाणिज्य विभागमा फोन आयो । टोल फ्रिमा आएको फोनलाई वाणिज्य विभागले गम्भिरतका साथ लियो । वाणिज्यको टोलि ललितपुरको सुत्केरी महिलाको घर नजिकै भएको ग्यास डिलरमा गएर ति महिलाको घरमा ग्यास लगिदियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निर्देशक तथा प्रवक्ता रविन्द्र आचार्यले सुत्केरीको घरमा ग्यास र्पुयाएको बताए । मानवियताका हिसाबले पनि सुत्केरीले खान पकाउन ग्यास भएन भने पनि विभागले ति महिलालाइ ग्यासको व्यावस्था मिलाइदिएको आचार्यले विकासन्यूजसगँ बताए । सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज आपूर्तिका लागि भरपुर प्रयत्न गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकराले टोलटोलमा सामान पुर्याउने तयारी भइरहेको बताएका छन् । सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उनले जानकारी दिए । काठमाडौँ उपत्यकामा अत्यावश्यक वस्तु र्पुयाउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था उद्योग मन्त्रालयले गरेको छ । काठमाडौँ ललितपुर र भक्तपुरमा सात/सातवटा मिनीट्रक तयारी अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ । केही दिन अघि उद्योग मन्त्री लेखराज भट्टले पनि मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु र्पुयाइने बताएका थिए । जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यसका लागि मन्त्रालयले ११३७ टोल फ्री नम्बर पनि सञ्चालनमा ल्याएको छ । कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा सामान र्पुयाउनु पर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको मन्त्रीको भनाइ थियो । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन भइरहेको अवस्थामा यस्तो तयारी गरेको हो । सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको मन्त्रालयले जनाएको छ ।