नेपालमा रहेका अमेरिकीलाई फिर्ता लिन जहाज आउने
काठमाडौं । नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान मंगलबार जहाज आउने भएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । यो जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्ने अमेरिकी दूतावासले जनाएको छ । सोमबार स्थलमार्गबाट नेपालका विभिन्न भागमा रहेका अमेरिकी नागरिकलाई भने काठमाडौं ल्याइदैछ । नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिकाले मंगलबार चार्टर्ड उडानमार्फत अमेरिका फिर्ता लैजाने जानकारी गराएसँगै नेपाल पर्यटन बोर्डले अमेरिकी नागरिकलाई काठमाडौंमा ल्याउन सहजीकरण गरिरहेको छ ।
कोरोना अपडेट : इटालीमा भयावह कायमै, अमेरिकामा सङ्क्रमित १ लाख ४२ हजार
जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ७ सय ५६ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ७ सय ७९ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । सोमबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ । यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रही आएको देखिएको छ । इटालीमा सङ्क्रमण हुनेहरु ९७ हजार ६ सय ८९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ । यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाख ४२ हजार १ सय ७८ नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या ६ हजार ८ सय ३ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८० हजार १ सय १० पुगेका छन् । यहाँ १४ हजार ७ सय ९ नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ । संयुक्त राज्य अमेरिकामा २ हजार ४ सय ८४ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौं नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभर ७ लाख २३ हजार ३ सय १९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ३३ हजार ९ सय ९३ नागरिकको ज्यान गएको छ । सोमबार बिहानसम्म प्राप्त समाचारमा सङ्क्रमित व्यक्तिहरूमध्ये १ लाख ५१ हजार ७ सय ६६ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३ सय ४ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ४ सय ७० जना सङ्क्रमित रहेका छन् । यसैबीच ७५ हजार ७ सय व्यक्ति उपचारपछि घर फर्किएका छन् ।इरानमा यस सङ्क्रमणका कारण २ हजार ६ सय ४० जनाको मृत्यु भएको छ । हाल ३८ हजार ३ सय ९ जना सङ्क्रमित रहेका छन् । १२ हजार ३ सय ९१ जना उपचारपछि घर फर्किएका बताइएको छ । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ५ सय ४१ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६२ हजार ४ सय ३५ जना सङक्रमित रहेका छन् । यहाँका नौ हजार २ सय ११ उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ । उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण २ हजार ६ सय ६ जनाको मृत्यु भएको छ । सोमबार प्राप्त समाचारअनुसार यहाँ ४० हजार १ सय ७४ सङ्क्रमित रहेका छन् । यहाँका ७ हजार २० नागरिक उपचारपछि घर फर्किएका छन् । संयुक्त अधिराज्यमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार २ सय २८ व्यक्तिको मृत्यु भएको छ । यहाँका १९ हजार ६ सय ५८ सङ्क्रमित भएका छन् । यहाँका करिब ५ सय जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३ सय व्यक्तिको मृत्यु भएको छ । १४ हजार ८ सय २९ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ५ सय ९५ जना भने उपचारपछि घर फर्किएका छन् । नेडरल्याण्डमा यस सङ्क्रमणबाट ७ सय ७१ व्यक्तिको मृत्यु भएको छ । १० हजार ८ सय ६६ सङ्क्रमित भएका छन् । यसैबीच २ सय ५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा सङ्क्रमणको कारण ४ सय ३१ व्यक्तिको मृत्यु भएको छ । १० हजार ८ सय ३६ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ३ सय ५९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ५८ व्यक्तिको मृत्यु भएको छ । ९ हजार ६ सय ६१ सङ्क्रमित भएका छन् । ५ हजार २ सय २८ उपचारपछि निको भएर घर फर्किएका छन् । यसैगरी यस कोरोना भाइरस सङ्क्रमणबाट टर्कीमा १ सय ३१ मृत्यु भएको छ । ९ हजार २ सय १७ सङ्क्रमित भएका छन् । अष्ट्रियामा ८६ मृत्यु हुनुको साथै ८ हजार ७ सय ८८ सङ्क्रमित भएका छन् । ब्राजिलमा यस सङ्क्रमणबाट १ सय ३६ मृत्यु हुनुको साथै चार हजार २ सय ५६ सङ्क्रमित भएका छन् । स्वेडेनमा कोरोना भाइरस सङ्क्रमणबाट १ सय १० मृत्यु हुनुको साथै तीन हजार ७ सय सङ्क्रमित भएका छन । पोर्चुगलमा सङ्क्रमणबाट १ सय १९ मृत्यु भएको छ । ५ हजार ९ सय ६२ सङ्क्रमित भएका छन । क्यानाडामा सङ्क्रमणबाट ६५ को मृत्यु हुनुको साथै छ हजार ३ सय २० सङ्क्रमित भएका छन । सङ्क्रमणबाट डेनमार्कमा ७२ जनाको मृत्यु हुनुको साथै २ हजार ३ सय ९५ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट जापानमा ५४ मृत्यु भएको छ । १ हजार ८ सय ६६ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट भारतमा २९ को मृत्यु भएको छ । एक हजार २४ सङ्क्रमित भएका छन । कोरोना भाइरस सङ्क्रमणबाट पाकिस्तानमा १४ मृत्यु भएको छ । एक हजार ५ सय ९७ सङ्क्रमित भएका छन । त्यसैगरी यस महामारीबाट नर्वेमा २६, अष्ट्रेलियामा १७, इजरायलमा १५, मलेसियामा ३५, आयरल्याण्डमा ४६, चिलीमा ७, पोल्याण्डमा २२, रोमानियामा ४३, थाइल्याण्डमा ७, सिङ्गापुरमा ३, रुसमा ८, पेरुमा १८ लगायतको मृत्यु भएको छ । रासस/एपी/सिन्ह्वा/एएफपी
कोरोनाको प्रभाव: सिंगापुर एयरलाइन्सका उडान ९६ प्रतिशत कटौती, भारतीय वायुसेवा क्षेत्रमा ३.६ अर्ब डलर नोक्सानी
सिंगापुर । कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास स्वरुप विश्वका सबैजसो मुलुकले आफ्ना सीमा बन्द गरेसँगै ट्राभल उद्योगमा व्यापक असर पारेको देखिएको छ, खासगरी हवाई सेवाका क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटिए) का अनुसार हवाई कम्पनीहरुले यसै वर्षमात्र ३ खर्ब ६० करोड डलर बराबरको नोक्सानी व्यहोर्ने सम्भावना देखिएको छ किनभने सबैजसो देशमा घरेलु र अन्तर्राष्ट्रिय दुबै किसिमका व्यावसायिक उडानहरु लगभग बन्द अवस्थामा छन् । सिड्नीस्थित हवाई उड्डन केन्द्र (सिएपिए)को अनुमान अनुसार सरकारहरुबाट आवश्यक सहयोग नपाए मे महिनाको अन्त्यसम्ममा धेरै कम्पनी टाट पल्टिने अवस्थामा पुग्नेछन् । केन्द्रले यस वर्ष आधाजसो विश्वव्यापी सञ्जाल भएका एयरलाइन्सले ग्राहक नै नपाउने अवस्था पनि प्रक्षेपण गरेको छ । कम्पनी टाट पल्टिने अवस्थासम्बन्धी एडवार्ड अल्टम्यानले सन् १९६० को दशकमा विकास गरेको जेड–स्कोर विधिको प्रयोग गर्दै ब्लुमबर्गले केही विमान कम्पनी टाट पल्टिने अवस्था आउने औंल्याएको छ । ब्लुमबर्गका अनुसार पाकिस्तान इन्टरनेसनल एयरलाइन्स, स्पाइसजेट, नर्वेजियन, अमेरिकन एयरलाइन्स, स्काई वेस्ट, एयर एसिया, एसियाना एयरलाइन्स, भर्जिन अस्ट्रेलिया, कोरियन एयर, चाइना इस्टर्न र चाइना साउदर्न एयरलाइन्स सबैभन्दा ठूलो खतरामा रहेका छन् । यो सूची वास्तवमै पूर्ण होइन । यो विश्लेषणमा सरकारको जमानत, शेयरहोल्डरबाट हुने पूँजी लगानी, र अरु लगानीका स्रोतका बारेमा समावेश गरिएको छैन । जेड–स्कोरले मुख्यतः कम्पनीको तरलता स्थिति, ऋण तिर्ने क्षमता, नाफा, लाभप्रदता र पछिल्लो कार्यसम्पादन समेतका पाँच विषयलाई ध्यान दिएको छ । ट्राभल उद्योगसँग सम्बन्धित तथ्याँक उपलब्ध गराउने संस्था सिरियमका अनुसार अधिकांश एयरलाइन्समा अहिले नगद प्रवाहको अवस्था दयनीय छ किनभने विश्वका झण्डै एक तिहाई विमानहरु अहिले थन्क्याएर राखिएको छ । एसिया प्रशान्त क्षेत्रका विमानस्थलहरुले यस क्षेत्रका १२ वटा मुख्य विमानस्थलमा हवाई ट्राफिक गतवर्षको तुलनामा मार्चको दोस्रो साता औसतमा ८० प्रतिशतले कमी आएको बताएका छन् । सिंगापुर एयरलाइन्स जस्ता राम्रै ट्«याक रेकर्ड भएका कम्पनी पनि कोविड–१९ को जालोमा परेका छन् । महामारीको संकट उत्पन्न हुनु ठीक अघिसम्म सिंगापुर एयरलाइन्स विश्वमै १५औं ठूलो विमान सेवा थियो । यसले विश्वका ३५ भन्दा बढी मुलुकका करिब १४० स्थानमा उडान भरिरहेको थियो । अघिल्लो साता सिंगापुर एयरलाइन्सले अप्रिलको अन्त्यसम्म आफ्ना उडानलाई ९६ प्रतिशतले कटौती गर्ने घोषणा गरेको थियो । कम्पनीले आफ्ना सिंगापुर एयरलाइन्स र सिल्क एयरका १४७ मध्ये १३८ वटा विमानलाई ग्राउन्डेड गर्ने बताएको थियो । बजेट एयरलाइन्सका रुपमा चिनिएको स्कूटले पनि आफ्ना ४९ मध्ये ४७ वटा बिमान उडाउन छाडेको छ । कतिपय विमान कम्पनीहरुले विमान उत्पादकहरुसँग पनि थप बिमान खरिदमा ढिलाई गर्ने बारेमा छलफल शुरु गरेका छन् र यदि त्यसमा सहमति भए विगतमा अर्डर दिइसकेका विमानको भुक्तानीमा पनि ढिलाई हुने निश्चित छ । कम्पनीको उच्च नेतृत्वले व्यवस्थापन खर्चमा पनि कटौती गर्ने योजना सार्वजनिक गरिरहेका छन् । पाइलट समेतका धेरै कर्मचारीलाई विदा दिन थालिएको छ । करारमा रहेका कर्मचारीले अवकाश पाउने सम्भावना छ । यसबाट करिब १० हजार कर्मचारीमाथि प्रत्यक्ष असर पर्नेछ । सिंगापुरको आन्तरिक बजार छैन । सिंगापुर एयरलाइन्सको व्यावसायिक मोडेल नै सिंगापुरका नागरिक वा चाङ्गी एयरपोर्ट हुँदै यात्रा गर्नेहरुमाथि निर्भर छ । सिंगापुर सरकारले मार्च २४ देखि चाङ्गी एयरपोर्ट हुँदै यात्रा गर्न विदेशी नागरिकलाई पनि निषेध गरेपछि र विश्वका सबैजसो देशले हवाई यात्रा रोकेपछि सिंगापुर एयरलाइन्सले आफ्ना उडानको संख्या कटौती गर्नुको विकल्प थिएन । मार्च २४ मा स्टक बजारमा शेयर खरिदबिक्रीमा रोक लगाइएसँगै सिंगापुर एयरलाइन्सले एउटा आर्थिक उद्धार प्याकेज घोषणा गरेको थियो । सिंगापुर एयरलाइन्समा ५५ प्रतिशत शेयर रहेको सरकारी लगानी कम्पनी टेमासेक होल्डिङ्सको आडभरोसामा उक्त प्याकेज घोषणा गरिएको थियो । उक्त आर्थिक प्याकेजमा ३।७ अर्ब अमेरिकी डलर बराबरको नयाँ शेयर जारी गर्ने तथा ६.८ अर्ब डलर बराबरको परिवर्तनीय ऋणपत्र बिक्री गर्ने समावेश छ । बिक्री नहुने बाँकी शेयर र ऋणपत्र आफैं खरिद गर्ने पनि टेमासेकले जनाएको छ । कोरोनाको महामारीका कारण हवाई यात्रा बजारमा क्षति पुगेयता कुनै एयरलाइन्सले यतिठूलो आर्थिक प्याकेज घोषणा गरेको यो नै हो । सिंगापुर सरकारले गत बिहीबार घोषणा गरेको ३३।८ अर्ब डलरको कोरोनाभाइरस सिर्जित पूरक बजेट प्याकेजभन्दा थप हो । सरकारले ट्राभल र हवाई उद्योगलाई मद्दत गर्न १ अर्ब सिंगापुर डलरको अलग्गै व्यवस्था गरेको छ । आर्थिक दृष्टिबाट असर परेका कम्पनीहरुमा कार्यरत सिंगापुरका कामदारलाई उनीहरुले प्राप्त गर्ने ज्यालाको ७५ प्रतिशतसम्म भुक्तानी गरिने सरकारको घोषणामा छ । कोरोनाभाइरसको महामारीका कारण २१ दिने लकडाउन घोषणा गरेको भारतका विमान सेवाहरुमाथि पनि ठूलो असर पर्नेछ । सिएपिएको अनुमानमा भारतीय हवाई उद्योगले जुन ३० मा समाप्त हुने सन् २०२१ को आर्थिक वर्षमा करिब ३।३ देखि ३।६ अर्ब डलरको नोक्सानी व्यहोर्नु पर्नेछ । यो अनुमान अप्रिल १५ देखि लकडाउन खुल्छ र हवाई सेवा सुचारु हुन्छ भन्ने आधारमा गरिएको हो । सन २०२१ मा ३० देखि ५० प्रतिशत घरेलु र विदेशी हवाई उडानमा कमी आउने पनि सिएपिएले जनाएको छ । यसबाहेक, ब्लुमबर्ग क्वीन्टका अनुसार जुनमा समाप्त हुने आर्थिक वर्षभित्रै इन्डिगो र स्पाइसजेटले क्रमशः ७३ करोड र १९ करोड नोक्सानी व्यहोर्ने छन् । व्यापार व्यवसायको अवरोध अरु तीन महिना थप गरिए इन्डिगो एयरलाइन्समा नगद प्रवाह समाप्त झैं हुनेछ । एयर इन्डियामा सरकारको लगानी बिक्री गर्ने सम्भावना पनि तत्कालका लागि रोकिने देखिएको छ । एयर इन्डियाले सरकारको लगानी खरिद गर्न इच्छुकका लागि यसअघि दिइएको म्याद १७ तारिखलाई बढाएर अप्रिल ३० गरिसकेको छ । परिणामस्वरुप, सरकारले एयर इन्डियालाई जीवित राख्न थप लगानी गर्नुको विकल्प छैन । सिएपिएका अनुसार एयर इन्डियामा भारत सरकारले कम्तीमा ३० करोड डलर लगानी गर्नु पर्नेछ । सिएपिएका अनुसार हवाई क्षेत्रको वर्तमान अवस्थालाई सम्बोधन गर्न सरकारले हवाई उद्योगलाई सहयोग गर्न थप प्याकेज ल्याउनु आवश्यक छ । सरकारले संकट झेलिरहेका विमान कम्पनीका कर्मचारीलाई तलब दिने, विमानस्थल प्रयोग बापत लिइने शुल्कहरु मिनाहा गर्ने र हवाई इन्धनलाई जिएसटी अन्तर्गत ल्याउनु आवश्यक छ । सिएपिएले परिस्थिति सामान्य नहुँदासम्म वा तीनदेखि छ महिनासम्म यी व्यवस्थालाई निरन्तरता दिनुको विकल्प नरहेको जनाएको छ । रासस/एएनआई
कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक जनाको मृत्यु
काठमाडौं । कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक जना बिरामीकाे मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार कोरोनाको आशंकामा पाटन अस्पतालको आइसीयूमा राखिएको उनको आज मृत्यु भएको हो । उनलाई हिजाे उच्च ज्वराे आएर अस्पताल भर्ना गरिएको थियो । धादिङका घर भएका उनकाे डाक्टरले काेराेनाकाे आशंकामा नमुना संकलन गरी परीक्षणाका लागि पठाइएकाे थियाे । पाटन अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले हिजो अस्पतालमा भर्ना भएका उनलाई उच्च ज्वरोका कारण आइसीयूमा राखेकाे बताए । उच्च ज्वरो भएको कारण मात्र उनकाे कोरोना परीक्षणका लागि नमुना पठाइएको विकासन्यूजलाई बताए । उनको कोरोना परीक्षणका लागि नमुना पठाइएकोको उनले बताए । कोरोना लागे नलागेको भने पुष्टि भएको छैन ।
सुरक्षित खाद्यान्न आपूर्ति गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग
काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं ५ ले लकडाउनको समयमा सुरक्षित रुपमा खाद्यान्न तथा तरकारी आपूर्तिको माग गरेको छ । मञ्चका अध्यक्ष तेजकुमार पाठकले एक विज्ञप्ति जारी गर्दै अहिले कोरोना भाइरसको सङ्क्रमणको समयमा गरिएको लकडाउनका कारण बाहिरबाट आयात गरिएको र स्वदेशमै उत्पादन भएको तरकारी सडेर जाने अवस्था आएको भन्दै सुरक्षित आपूर्तिको व्यवस्था गर्न प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेको छ । अध्यक्ष पाठकले अहिले स्वदेशी उत्पादनलाई अवरुद्ध गरी विदेशी तरकारी फलफूल आयात गरी केही व्यापारीको मिलेमतोका आधारमा एकाधिकार गरेकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको छ । यस्तो संवेदनशील अवस्थामा प्रदेश नं ५ को कृषि मन्त्रालयको समन्वयमा स्थानीय सरकारहरुले आपूर्तिका लागि कृषि उपज खरिद र भण्डारण गरी सहज रुपमा आपूर्ति गर्न विज्ञप्तिमार्फत सुझाव दिइएको छ । मित्र राष्ट्र तथा सङ्घीय सरकारबाट आउने सहयोग सामग्री पिपिई, मास्कलगायतका सामान वितरण गर्दा सरोकारवालाले पाउन सक्ने गरी पारदर्शी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । रासस
गण्डकी प्रदेशमा निःशुल्क राहत प्याकेज वितरणको तयारी
पोखरा । गण्डकी प्रदेश स्तरीय आपुर्ती अनुगमन समितिको बैठकले निःशुल्क राहत प्याकेज वितरणको तयारी गरेकाे छ । मन्त्री लम्सालको संयोजकत्वमा सम्पन्न भएकाे समितिको पहिलो बैठकले उक्त तयारी गरेकाे हाे । बैठकले गण्डकी प्रदेशमा सहज रुपमा खाद्यान्न जनता सम्म पुगोस भन्ने हेतुले न्युनतम मुल्यमा खाद्य सामग्री वितरणको ब्यबस्थाका साथै सडक बालबालिका, दैनिक ज्यालामा काम गर्ने कामदार, क्वारेन्टाइनमा बसेका र आर्थिक रुपमा आफै किनेर खाने क्षमता नभएकालाइ निःशुल्क राहत प्याकेज वितरणको तयारी सुरु गर्ने निर्णय गरेको छ । बैठकले आजबाट नै मोबाइल एप्स सञ्चालनमा ल्याएर घर परिवार र स्थानिय तह स्तर सम्मको माग संकलन गर्ने, स्थानिय तहका प्रमखहरुसँग समन्वय गर्न नौ वटा टास्क फोर्स बनाउने, दैनिक उपभोग्य बस्तुको कालोबजारी र अभाव हुन नदिन अनुगमन गर्ने, प्रदेश बाहिरबाट आवश्यक उपभोग्य सामन भित्राउने र जिल्ला देखी स्थानिय तह सम्म आपुर्ती अनुमगन समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला र स्थानिय तह सम्मका समितिको कार्य जिम्मेवारी पनि तोकेको छ । मन्त्रालयस्तरमा वाणिज्य तथा आपुर्ति महाशाखाको नेतृत्वमा २र२ जना रहेको ९ वटा टास्क फोर्स बनाएर स्थानीयतहका प्रमुख ,उपप्रमुख, अध्यक्ष,उपाध्यक्ष र प्रशासकीय अधिकृत संग सम्पर्क गरी विवरणहरु संकलन गर्ने , माग भई आएका अत्यावस्यक बस्तुहरुको वितरणको उपयुक्त आपुर्ति र ढुवानी समेत तय गर्ने , अत्यावस्यक बस्तुहरुको मौज्दात संकलन गर्ने , प्रदेश बाहिरबाट आयात गर्नुपर्ने आवश्यक वस्तु प्रदेशमा भित्र्याउने । दैनिक अत्यावश्यक उपभोग्य वस्तुको कालोबजारी तथा अभाव हुन नदिन अनुगमन व्यवस्था प्रभावकारी बनाउने , मानव स्वास्थ्यमा हानी पुर्याीउने, गुणस्तरहिन मालवस्तु, खाद्यान्न तथा म्याद नाघेका औषधि नष्ट गराउन आवश्यक प्रवन्ध मिलाउने, लक्षित वर्ग र सडक वालवालिका र दैनिक ज्यालामा कामगर्ने कामदार, क्वारेन्टाइनमा बसेका र आर्थिक रुपमा आफै किनेर खाने क्षमता नभएका लाई दिनुपर्ने राहत प्याकेज सम्बन्धि गृहकार्य गर्ने निर्णय गरेको प्रेसित बिज्ञप्तिमा भनिएको छ । कुनै व्यक्ति वा संस्थाबाट प्राप्त खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरु संकलन गर्ने र प्रदेश सरकारको निर्णय अनुसार वितरण गर्ने भनिएको छ । त्यसै गरि जिल्ला स्तरीय आपुर्ति अनुगमन लाइ प्रभाबकारी बनाउन अत्यावस्यक वस्तुहरुको स्थानीय तथा जिल्ला स्तरको मौज्दात र मागको विवरण सुचना प्राप्त गरेको ५ दिन भित्र प्रदेश स्तरीय समितिमा पठाउने, प्रदेश स्तरीय आपुर्ति अनुगमन समितिले तय गरेको अत्यावश्यक वस्तुहरुको वितरण आपुर्ति, ढुवानी र अनुगमनको लागि सहजिकरण गर्ने, अत्यावश्यक उपभोग्य बस्तुहरुको सहज आपूर्तिका लागि बजार प्रकृया नियमित र सुचारु बनाउन बजार अनुगमनलाई प्रभावकारी बनाउने, संघिय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुबाट यस सम्वन्धमा जिल्लाभित्र हुने कामकारवाहीको समन्वय गर्ने र सो सम्वन्धि सूचना प्रदेश सरकारलाई दिने, कुनै व्यक्ति वा संस्थाबाट प्राप्त खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरु संकलन गरी वितरण गर्ने र सो को जानकारी प्रदेश सरकारलाई दिने रहेका छन् । समितिका सदस्य समेत रहेका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलले दिएको जानकारी अनुसार स्थानीय तहस्तरीय आपुर्ति अनुगमन समितिको कार्य तर्फ प्रदेश स्तरीय र जिल्ला स्तरीय आपुर्ति अनुगमन समितिले माग गरेको तथ्याङ्कको विवरण मन्त्रालयले उपलब्ध गराएको ढाँचा एप्समा संकलन गरी उपलब्ध गराउने, प्रदेश स्तरीय आपुर्ति अनुगमन समितिले तय गरेको अत्यावश्यक वस्तुहरुको वितरण,आपुर्ति, ढुवानी अनुगमन गर्ने, कुनै व्यक्ति वा संस्थाबाट प्राप्त खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरु संकलन गरी वितरण गर्ने र सो को जानकारी प्रदेश सरकारलाई दिने, दुध, अण्डा, मासु, पशुपंक्षिको दाना, ग्याँस, पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहजीकरण गर्ने, कोरोना संक्रमण को बारेमा जनचेतना तथा राहतका कार्यक्रमहरु संचालन गर्ने निर्णय भएका छन् । मास्क, सेनिटाईजर, साबुन, थर्मोमिटर, पन्जा प्रत्येक स्थानीय तहमा मागका आधारमा उपलब्ध गराउन सहजीकरण गर्ने, र तत्काल गर्ने कार्यहरुका सम्वन्धमा बैठकले अत्यावश्यक वस्तुहरुको माग संकलन र वितरण प्रणालीका सन्दर्भमा सवै जिल्लास्तरिय आपूर्ति अनुगमन समिति र स्थानीय तह स्तरिय आपूर्ति अनुगमन समितिले अत्यावश्यक बस्तुको मागको संकलन ५ दिनभित्र मन्त्रालयमा पेश गर्ने, साथै मोवाईल एप्सको प्रयोग गरी आम जनसमुदायमा प्रचार प्रसार गरी मागको संकलन गर्ने, संकलित माग बमोजिमको आपूर्ति गर्न सहज खाद्य प्याकेज जिल्ला स्तरिय उद्योग वाणिज्य संघ र ठूलो क्षमतामा आपूर्ति गर्न सक्ने आधिकारीक आपूर्तिकर्तालाई मात्र होम डेलिभरी गर्न जिल्ला अनुगमन समितिले अनुमति दिने, कोरोना संक्रमणको बारेमा जनचेतना तथा राहतका कार्यक्रमहरु संचालन गर्ने गराउने निर्णय गरेको पौडेलले जानकारी दिए । उक्त बैठक उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल संयोजक र भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा सह संयोजकमा सम्पन्न भएकाे थियाे ।
केही दिनदेखिकाे भाइरल तस्वीर, प्रहरीले भन्याेः छानविन गर्दैछाैं
काठमाडौं । एकजना सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको विषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले उक्त विषयलाई गम्भीरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जनाएको हो । ‘सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वराधारणलाई ग्यासकाे सिलिण्डर बाेकाएर सडकमा बसाएकाे तस्वीरकाे सम्बन्धमा सबैबाट प्राप्त भएकाे सुझाव, गुनासाेलाई प्रहरी प्रधान कार्यालयले गम्भीरताका साथ लिएकाे र आवश्यक छानबिन भइरहेकाे जानकारी गराउँदछाैं,’ सूचनामा भनिएकाे छ । के हो घटना ? कोरोना भाइरसको रोकथाम तथा जोखिम न्युनिकरणका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको छ । त्यसको उल्लघंन गर्नेमाथि प्रहरीले कारवाही गर्दै आएको छ । ‘लकडाउन’ उल्लघंन गर्दै बिनाकाम सडकमा हिँडिरहेका एक व्यक्तिलाई कारवाही स्वरुप ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिर केहीदिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको । कारवाहीको नाममा ‘अमानविय व्यवहार’ गरेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको कडा आलोचना भइरहेको छ भने ती प्रहरी अधिकारीमाथि कारवाही हुनपर्ने आवाज उठिरहेको छ । त्यही तस्वीर हेर्दै प्रहरी प्रधान कार्यालयले पनि त्यस्तो काम गर्ने प्रहरी अधिकारीलाई कारबाही हुने बताएको छ ।
एनआईसी एशियाले गर्याे दैनिक ज्याला मजुदुरी गर्नेका लागि सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा दैनिक ज्याला मजुदुरी व्यक्तिका लागि ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेकाे छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै एनआईसी एशिया बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा ५ लाख बराबर चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामाग्री वितरण गरेकाे हाे । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास लिएको जनाएकाे छ । कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू घरबाटै बसेर निःशुल्क तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ । उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । बैंकको मुलुकभर ३ सय १९ शाखा कार्यालयहरू, ४ सय ६१ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । २१ लाख भन्दा बढी ग्राहक रहेको उक्त बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । पछिल्लो समयमा ३४ भन्दा बढी स्थानीय निकायहरूमा बैंकले शाखा विस्तार गरी कार्य संचालन गरिरहेको जानकारी दिएको छ ।