विकासन्युज

मुक्तिनाथ विकास बैंक बन्यो फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर

काठमाडौं । एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ । फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको हो । ग्राहकले मुक्तिनाथको मोबाईल बैंकिङ्ग मार्फत कुल १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् । मुक्तिनाथ विकास बैंकले १ सय ३६ वटा शाखा, २२ वटा एटिएम, १४ हजार भन्दा बढि मर्चेन्ट नेटवर्क, ३२ हजार भन्दा धेरै रेमिट्यान्स् एजेन्ट मार्फत आफ्ना ६ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहक र मर्चेन्टबीचमा मोबाईल बैंकिङ्ग र क्युआर भुक्तानीलाई सक्रियता पूर्वक प्रोत्साहन गर्दै आएको छ ।

बुटवलमा मृत्यु भएको व्यक्तिमा देखिएन काेराेना‍- स्वास्थ्य मन्त्रालय

काठमाडौं । बुटवलमा मृत्य भएको व्यक्तिको नतिजा नेगेटिभ आएको छ । कोरोना आशंकामा उनलाई बुटवलको अस्पतालमा क्वारेन्टाईनमा राखिएको थियो । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा बुटवलमा मृत्य भएको व्यक्तिको नतिजा नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन् । हाल सम्म ९ सय ९३ जनाको कोरोना परिक्षण भएको छ जसमा ५ जनामा पोजेटिभ देखिएको छ भन्दा एक जना निको भएर घर फर्किसकेका छन् ।

कोरोना संक्रमित चारैजनाको परिवार र आफन्तको टेष्ट नेगेटिभ: प्रवक्ता डा. विकास देवकोटा

काठमाडौं । हालसम्म काेराेना संक्रमित सबैजनाको परिवारमा र आफन्तमा गरिएको टेष्ट सबै नेगेटिभ देखिएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा हालसम्म संक्रमित सबैजनाको परिवार र आफन्तमा गरिएको टेष्ट सबै नेगेटिभ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन् । यद्यपी अझै उनीहरुसँग यात्रा गर्न सबैको डाटाहरु खोजिरहेको उनले जानकारी दिए । हाल सम्म ९ सय ९३ जनाको कोरोना परीक्षण भएको छ जसमा ५ जनामा पोजेटिभ देखिएको छ भन्दा एक जना निको भएर घर फर्किसकेका छन् ।

महामारीको जोखिम न्यूनीकरणका लागि एफएनसीएसआईले सघाउने 

काठमाडौं । मुलुकमा देखिएको विषम परिस्थितिलाई सहयोग गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले स्थानीय, जिल्ला शाखा तथा प्रदेश संघहरुलाई सक्रिय बनाएको छ । नेपालमा कोरोना संक्रमित एक पछि अर्को गर्दै देखिन थालेको परिप्रेक्ष्यमा त्यसको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्न मातहतका निकायलाई आग्रह गरेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताएका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण नेपालमा देखिन थालेको हुँदा भाइरस संक्रमितहरुको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्नु हामी सबैको कर्तव्य भएको महासंघले स्पष्ट पारेको छ । यसका लागि चाहिने स्थानीयस्तरबाट उत्पादित आधारभूत सामग्रीहरु जुटाउन पहल गरी प्रदेश तथा स्थानीय सरकारसँगको समन्वयमा सम्बन्धित निकायलाई उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन महासंघले सबै स्थानीय, जिल्ला तथा प्रदेश समितिहरुलाई अनुरोध पनि गरेको छ । साथै दैनिक कामकाज गरी जीवन गुजारा गर्ने मजदुर वर्गलाई नेपाल सरकारले लागु गरेको देशव्यापी लकडाउनबाट जीवन निर्वाह गर्न मुश्किल भएको वर्तमान अवस्थामा त्यस वर्गलाई लक्षित गरी राहतको प्याकेज घोषणा गर्न समेत नेपाल सरकार समक्ष महासंघले अनुरोध गरेको छ । यसैबीच पछिल्लो समय कोरोना भाइरसले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै महासंघले आफ्ना घोषित कार्यक्रमहरुलाई स्थगन गरेको छ । अन्य मुलुकको तुलनामा नेपालमा हालसम्म न्यून संक्रमण देखिएको भएतापनि सजगता र सावधानी अपनाइएन भने यसले हाम्रो मुलुकमा पनि महामारीको रुप लिन सक्ने भएकाले यसतर्फ सजग रहन सबैसमक्ष महासंघले अपिल गरेको छ । नेपाल सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सव लगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आव्हान गरिसकेको सन्दर्भमा सो आव्हानलाई मध्येनजर गर्दे यस महासंघले घोषित आफ्ना कार्यक्रमहरु स्थगित गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम मुलुकको दर्जामा राखेको छ । महासंघद्घारा घोषित कार्यक्रम अन्तरगत यही चैत १४, १५, १६ राजधानीमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीहरु रहेका थिए ।

पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा शुरु गरेको छ । पशुपति क्षेत्रका विद्युतीय शवदाह गृह, भष्मेश्वरघाट, आर्यघाटलगायतमा शवदाह गर्न चाहने तर खर्च नहुनेलाई निःशुल्क शवदाहको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् । विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले ४ हजार रुपैयाँ शुल्क लिने गरेको छ । भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको एक हजार ५ सय रुपैयाँ शुल्क लाग्छ । यसैगरी आर्यघाटमा एक हजार ९ सय रुपैयाँ शुल्क लाग्छ । दाउरा भने आवश्यकतानुसार लाग्ने गर्छ । दाउरा ९ रुपैयाँ किलोमा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताए । पशुपतिमा जलाइने शवका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौंमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको २० रुपैयाँ लाग्छ । यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौंले व्यहोर्दै आएको छ । दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने (लोड अनलोड) को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन) ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुख रेग्मीले जानकारी दिए । यसअघि बेखर्ची भनी वडा कार्यालयको सिफारिस लिई आउनेलाई विभिन्न सामाजिक संस्थाले खर्च दिएर विद्युतीय शवदाह गृहमा निःशुल्क शवदाह गर्ने व्यवस्था गरिएको थियो । लकडाउनका समयमा ती संस्थासँग बेखर्चीको सम्पर्क हुन नसक्ने भएकाले कोषले नै निःशुल्क गर्ने व्यवस्था गरेको हो । रासस

सिटिजन्स बैंकले कोरोना रोकथामका लागि प्रत्येक प्रदेशलाई दियो ७/७ लाख रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना भाइरसको रोकथामका लागि प्रत्येक प्रदेशलाई ७ लाख रुपैयाँ दिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उक्त सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा कूल ४९ लाख रुपैयाँ सहयोग गरेको छ । यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावस्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताएका छन्। यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै, यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ र हरेक एटीएममा पर्याप्त मात्रामा नगद रहेको कुरा समेत बैंकले जनाएको छ ।

 डिश होमले अप्ठ्यारोमा ग्राहकलाई उधारो सेवा दिने 

काठमाडौं । डिश होमले यो अप्ठ्यारो समयलाई मध्यनजर गर्दै उधारो दिने भएको छ । डिश होमले १० दिनको क्रेडिट सेवा आफ्ना ग्राहकलाई दिने निर्णय गरेको हो । कोरोना भाइरसको महामारी फैलिएसँगै डिश होमले मोबाइलबाट साधारण एसएमएस पठाएर क्रेडिट सेवा (अप्ठयारोमा उधारो) दिने प्रक्रिया शुरु गरेको छ । ग्राहकहरुले रिचार्ज ब्यालेन्स सकिएको अवस्थामा थप १० दिनका लागि टिभि सिगंल खुलाउने सक्नेछन् । म्यासेज गर्दा क्रेडिट कस्टोमर आईडी टाईप गरि ३२५०० मा पठाएर ग्राहकले सेवा पाउने छन् ।

वीर अस्पतालमा कोरोना शंकास्पद दुई जनाको मृत्यु

काठमाडाैं । वीर अस्पतालमा कोरोना शंकास्पद दुई जनाको मृत्यु भएको छ । उनीहरूकाे आज मृत्यु भएकाे हाे । दुबैको थ्रोट स्वाव झिकेर कोरोना परीक्षणका लागि टेकु पठाइएको छ । दुबैको रिपोर्ट भने आउन बाँकी छ । वीर अस्पतलाका निर्देशक डा केदार सेन्चुरीका अनुसार अत्यधिक ज्वरो आएको भन्दै काठमाडौँ सतुंगल क्षेत्रका एक जना ३४ बर्षीया महिलालाई हिजो बेलुका अस्पताल ल्याइएको थियो । उनको आज विहान निधन भएको हो । यस्तै आज विहान अर्का एक जना ५० बर्षिय पुरुष लगभग बेहोस अवस्थामा ल्याइएको थियो । ‘उनको ट्राभल हिस्ट्री हेर्दा भर्खरै भारतबाट आएको भन्ने रहेछ । ज्वरो अत्यधिक थियो । उपचारकै क्रममा उनको केहीबेर अघि दिउसो निधन भएको हो,’डा सेच्नुरीले भने । डा सेन्चुरीले दुबै जनाको थ्रोट स्वाव कलेक्सन गरी कोरोना परीक्षण गर्न टेकु पठाएकाे बताए ।