विकासन्युज

‘लकडाउन’ले भान्सामा सामान सकियाे ? यस्ता छन् भान्सा व्यवस्थापन गर्ने स्मार्ट उपाय

काठमाडौं । सरकारले अहिले लकडाउनको घोषणा गरेको छ । चैत २५ गतेसम्मका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै यसले हाम्रो दैनिक क्रियाकलाप र भान्सामा पनि अवश्य नै असर पार्छ । विशेष गरि दैनिक आवश्यक पर्ने सामग्री नुन, तेल, चामल, चना, बोडी, मसला र ग्यास लगायतका अन्य दैनिक उपभोग्य सामानहरु थुपार्ने सर्वसाधारण एवं विशेषगरी गृहणीको लागि भान्साका सामाग्री खरिद गर्न समस्या पक्कै छ । अहिले धेरै मानिसहरु कतै लकडाउन फेरी लम्बिने त होइन की भन्ने मनसायले भान्साको व्यवस्थापन पनि गरिरहेको छन् । यदि तपाई हामीलाई लक डाउनको समयमा भान्सामा खाना पकाउनेलगायतमा समस्या भयो भने के गर्ने त ? हामीले तपाईहरुको लागि केही टिप्स तथा उपायहरु प्रस्ुतत गरेका छौं । जसले तपाईको व्यक्तिगत र भान्सा व्यवस्थापन गर्न मद्धत पुग्नेछ । भान्सामा सामानको जोहो के र कसरी गर्ने ? चामल र पिठो प्रत्येक व्यक्ति बाँच्न को लागि चामल र पिठो आधारभूत आवश्यकता हुन् । नेपाली भान्साका लागि यी दुई धेरै महत्वपूर्ण छन् । त्यसैलेकम्तिमा दुई हप्तासम्म बाँच्नको लागि पर्याप्त चामल र पिठो भण्डारण गर्ने प्रयास गर्नुहोस् । मसूर ः विभिन्न दालहरुमध्ये मसुर महत्वपूर्ण छ । यो जति स्वास्थ्यका लाभदायक त्यो भन्दा बढी आवश्यक छ । विभिन्न दालहरु पनि भण्डारण गर्नुहोस् । नुन र चिनीः धेरै आपतकालिन अवस्थामा नुन र चिनी सबैभन्दा आवश्यक छन् । जो जुनसुकै चिज पकाउन पनि आवश्यक पर्छ । त्यसैले तिनीहरूलाई राम्रोसँग एयर कडा बक्सहरूमा भण्डार गर्नुहोस्। मसलाः हल्दी , लसुन, अदुवा, जीरा धनियाँ, खुर्सानी (सुक्खा र ताजा), गरम मसाला राखि राख्नुस् । उदाहरण को लागी, हल्दी र अदुवामा पौष्टिक तत्व हुन्छ जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँछ । तेलः कम्तिमा दुई प्याकेट तोरी र रायोको तेल भण्डार गर्नुहोस् । चिया र कफीः हामी सबैलाई बिहानको बूस्टरको दैनिक खुराक चाहिन्छ, त्यसकारण चिया र कफीलाई भण्डारमा राख्नु आवश्यक छ। दुध पाउडरः हामी यस्तो अवस्थामा छौं जब घरबाट बाहिर निस्कन समयको आवश्यकता पर्छ। त्यसो भए धेरै उत्पादनहरू प्रयोग गर्न सजिलो राख्नु स्मार्ट निर्णय हो, जुन लामो समयको लागि भण्डारण गर्न सकिन्छ। लामो समय सम्म दुध भण्डार गर्न सम्भव छैन, त्यसकारण एक दुध पाउडर को एक विकल्पको रूप मा कम्तिमा एक राख्नु पर्छ । तरकारीहरूः अरु केही छैन भनेपनि कम्तिमा आलु, प्याज र टमाटर भण्डार गर्ने प्रयास गर्नुहोस्, जसले तपाईंको काम भान्सामा सजिलो बनाउँदछ । भान्सा व्यवस्थापन कसरी गर्ने ? १. ग्यासको प्रयोग कम गर्नुस् । पहिलेको जस्तो ग्यास पाउन सजिलो छैन र बाहिर जान सन्ने अवस्था पनि छैन । अर्को कम ग्यास प्रयोग गर्नाले भाँडाकुँडाहरू जलाउन रोक्दछ । त्यसैले तिनीहरूलाई सफा गर्न सजिलो हुन्छ। न्यानो पानीमा भिजाउँदा सफा गर्न पनि सजिलो हुन्छ । तपाईंले थोरै भाँडा माझ्नु पर्छ । सक्याे भने ग्यासकाे सट्टामा इन्डक्स प्रयाेग गर्नुहाेस् । २. भाँडाकुँडा तथा गिलास र झ्यालहरु सफा गर्नको लागि डिसवासको प्रयोग गर्नुस् । चुलो प्रयोग गरिसकेपछि सधैं गिलो कपडाले सफा राख्नुस् । यसले ग्रिम र खानालाई सतहमा टाँस्नबाट रोक्छ । ३. तरकारीका बोक्रा निकाल्दा तल एउटा अखबार वा कुनै पेपर राख्नुस् । ४. एक पटकमा सकेसम्म धेरै खाना पकाउनुस् । जस्तै, भात, रोटी, दाल र तरकारी । नकी ग्यास पनि कम सकिन्छ र अन्य समयमा पकाउने बेला त्यसलाई राख्दा पनि फरक पर्दैन । र यसले समय पनि बचत गर्दछ । ५. धेरै भात पकाउनुस्, तरकारी थोरै तेलमा पकाउनुस् । पछि बचेको भातलाई फ्राई गरेर खान सकिन्छ । ६. गहुँको पीठो, दाल, चामल, मसला, प्याज र आलु जस्ता महत्वपूर्ण चीजहरू स्टक गर्नुहोस्। आसपासका व्यक्तिहरूसँग साझेदारी गर्न आपूर्ति सन्तुलन कायम गर्न होर्डिंगबाट बच्नुहोस्। तपाईको घरमा नियमित रूपमा खानु हुने वस्तुहरूको सूची बनाउन नबिर्सनुहोस्। ७. धेरै भाँडो प्रयोगबाट बच्नुस् रामेन नूडल्स वा मग्गी किन्नुहोस्। दिनमा तपाईलाई खाना पकाएको जस्तो लाग्दैन । तिनीहरू काममा आउन सक्छन्। ८. पास्ता उमाल्नुहोस् र यसलाई विभिन्न परिकारमार राखेर खान सकिन्छ । ९ अदुवा लसुन पेस्ट अग्रिम बनाउनुहोस् र फ्रिज बनाउनुहोस् । १०. दूध वा दूध पाउडर छैन? चियाको लागि पातलो मिल्कमेड प्रयोग गर्नुहोस् वा त्यसमा क्रीम थप्नुहोस् । ११. केवल एउटा खानाको लागि ताजा तरकारीहरू प्रयोग गर्नुहोस्। यसले तपाईंलाई अधिक बारम्बार बाहिर जानबाट रोक्छ । १२. यदि तपाईंसँग पोहा छ भने त्यसालाई सुकाउनुस्, सामान नभएको समयमा फ्राई गर्नुस् र खानुस् । १३.बिहानको समय बचत गर्नुहा्स् । बिहानको समयमा दहि, चिउरा वा सर्वत खाजाको रुपमा लिनुहोस् । किनकि यसले तपाईलाई भोक लाग्दैन । १४. यदि समस्या नै भइहाल्याे भने ११३७ मा फाेन गर्नुहाेस् । सरकार गाडि लिएर तपाईकै घरमा आएर सामान पुर्याएर जान्छ ।

गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ: प्रवक्ता डा. खतिवडा

काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ । अर्थ, एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोनाका प्रभावका कारण दैनिक ज्यालादारीमा बाँच्ने तथा गरिखाने वर्गमाथि परेको प्रभाव कम गर्न आइतबारको मन्त्रिपरिषद्को बैठकले विशेष निर्णय गरेको र त्यसको व्यावहारिक कार्यान्वयन गर्न कुनै कसर बाँकी नराखिने दोहोर्याएका छन् । सरकारका प्रवक्ता डा खतिवडाले भने, ‘दैनिक ज्यालादारीमा काम गर्ने वर्ग लकडाउनपछि कठिनाइमा परेकाले उनीहरुको मर्कालाई ध्यानमा राखेर स्थानीय तहमार्फत लगत सङ्कलन गरी राहत दिने व्यवस्था गरिएको छ । यसले उक्त वर्गको हित गर्छ ।’ राहतका लागि स्थापना भएका कोषमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको हिस्सा रहने, अन्य सामाजिक सङ्घ संस्थासमेत परिचालित हुने भन्दै उनले विशेषगरी प्रदेश सरकारको समन्वयमा स्थानीय निकायले नै समस्यामा परेका नागरिकको पहिचान गर्ने स्पष्ट पारे । स्थानीय तहबाट लकडाउनको अवधिभर पुग्ने गरी राहत उपलब्ध गराइने जानकारी दिँदै उनले भने, ‘परिवार सङ्ख्याका आधारमा स्थानीय तहले राहत उपलब्ध गराउँछ र प्रदेश सरकारले समन्वय गर्छ ।’ गर्भवती, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी र टुहुरा बालबालिकाका लागि सरकारले विशेष हेरचाह गर्ने उनले स्पष्ट पारे । मन्त्री डा खतिवडाले औपचारिक क्षेत्रका मजदुरलाई रोजगारदाताले नै पारिश्रमिक उपलब्ध गराउनुपर्ने जानकारी दिए । यस्तै, पूर्णरूपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले दैनिक र महिनावारी ज्यालादारीमा कार्यरत कर्मचारीलाई चैत महिनाको पारिश्रमिक पूर्ववत भुक्तानी दिन कुनै कन्जुस्याईं गर्न नहुने उल्लेख गरेका छन् । सामाजिक सुरक्षा कोषमा आबद्ध भएका प्रतिष्ठानमा कार्यरत श्रमिक तथा रोजगारदाताका तर्फबाट चैत महिनामा गर्नुपर्ने योगदान रकम सरकारले उक्त कोषमा जम्मा गरिदिने जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानको उपायसमेत आइतबारको बैठकले खोज गरेको बताए । लकडाउनको समयमा खाना पकाउने एलपी ग्यासको अभाव देखिइरहेको अवस्थामा त्यसलाई परिपूर्ति गर्न विद्युतीय चुल्हो (इन्डक्सन)को प्रयोगलाई बढावा दिएको र त्यसमा भन्सार छुटसमेत दिइएको उल्लेख गर्दै उनले भने, ‘त्यसबाट आन्तरिकरूपमा उत्पादन भएको विद्युत्को खपत बढाउन मद्दत पुग्छ र विदेश जाने पैसासमेत रोकिन्छ ।’ लकडाउनका कारण उद्योग कलकारखाना समेत बन्द भएको र विद्युत्समेत खेर जाने अवस्था पैदा भएकाले पनि विद्युतीय चुल्होको प्रयोगलाई विशेष जोड दिन आम उपभोक्तालाई आग्रह गरिएको जानकारी दिँदै मन्त्री खतिवडाले भने- विषम अवस्थामा सञ्चालन हुने उद्योगलाई ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय भएको छ । चैत महिनाको विद्युत् महसुलमा समेत नेपाल विद्युत् प्राधिकरणले मासिक १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको महसुलमा २५ प्रतिशत छुट दिने गरी विशेष व्यवस्था गरिएको उनको भनाइ छ । मरिच, सुपारी, केराउ, छोकडा, मदिराजस्ता वस्तुको आयातमा अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाउने निर्णयका बारेमा थप स्पष्ट पार्दै मन्त्री डा खतिवडाले भने, ‘यी सामान आवश्यकताभन्दा बढी आयात भएको र तीन वर्षभन्दा बढीलाई पुग्ने देखिएकाले आयातमा रोक लगाइएको हो ।’ यस्तै विलाशी सवारी साधनको आयातमा विदेश जाने मोटो रकम राष्ट्रियरूपमा नै पूँजी निर्माणमा लगाउनु उत्तम हुने उनको भनाइ छ । सरकारले महँगा सवारी साधन आयातमा रोक लगाउने निर्णय आइबार नै गरेको थियो । सरकारले वित्तीय क्षेत्रमा तरलता सहज बनाउन र कर्जाको लागत घटाउन नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलगायत विद्यमान व्यवस्थामा पुनरवलोकन गरिसकेको जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले पुनःकर्जा कोषलाई बढाएर ६० अर्ब रूपैयाँ बनाइएको बताए । उक्त कोषको रकम कोभिड-१९ बाट बढी प्रभावित क्षेत्रमा कर्जा प्रवाह गरिनेछ । मन्त्री खतिवडाले उपचार लिन अस्पताल पुग्ने जो कोही नागरिकको उपचार गर्नुपर्ने अस्पतालको जिम्मेवारी भएको र कुनै पनि बहानामा स्वास्थ्य संस्था पन्छन नमिल्ने स्पष्ट पारेका छन् । लकडाउनको समयमा दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सरकारले आवश्यक र उपयुक्त निर्णय गरेको जानकारी दिँदै उनले कुनै पनि गलत काम कारवाही नगर्न र अवसर यही हो भनेर फाइदा लिन नखोज्न पनि आग्रह गरेका छन् । लकडाउनका समयमा तमासा गर्ने, जानीजानी अवज्ञा गर्ने, गलत प्रचार गर्ने प्रवृत्ति निरुत्साहन गर्न सुरक्षकर्मी परिचालित रहेको जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले यस्तो विषम अवस्थामा सरकारको काम कारवाहीप्रति आशङ्का प्रकट नगर्न र अनुशासित भइदिन आम नागरिकसँग आग्रह गरे । उनले आँफै अनुशासित र संयमित भई घरभित्रै बसेर लकडाउनको पूर्ण परिपालना गर्नसमेत सबैसँग अपिल गरेका छन् । रासस

कोरोना शंका लागे जुन पायो त्यही अस्पताल जान मिल्दैन, यी हुन् जानुपर्ने देशभरका अस्पतालहरु

काठमाडौं । धेरै मानिस कोरोना लागेको शंका लागेमा कहाँ जाने भनेर अलमल्लमा परेका छन् । कोरोनाको यकिनन् लक्षणलाई मानिसहरु कतिपय समय छुटाउन नसक्दा सिधै मुख्य अस्पतालमा जाँदा झनै उल्टै स्वास्थ्यमा ठूलो चुनौती बन्ने सक्ने प्रबल सम्भावना छ । ज्वरो आउने, सुख्खा खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुनु काेराेनाकाे स‌म्भावित लक्षण हाे । याे माैसमी रुघाखाेकीकाे पनि लक्षण हाे त्यसैले तपाईको लक्षण कोरोनाको संभावित लक्षणसँग मिलेको छ कि छैन भनेर सरकारले फिभर क्लिनिक संचालनको लागि तोकेको नजिकैको हब अस्पतालमा जानु पर्छ । सरकारले फिभर क्लिनिक संचालनको लागि देशभर २५ हब अस्पताल तोकेको छ । कोरोना लागेको शंका लागेका व्यक्तिहरु सरकारले तोकेको यो २५ अस्पतालमा जान सक्नेछन् । ताेकिएका ती अस्पतालबाट कोरोनाको लक्षणहरु मिल्न गएपछि मात्र ल्याबमा परीक्षणको लागि लैजाने व्यवस्था मिलाइको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड १९ बारे मन्त्रालयको नियमित ब्रिफिङमा बताएका थिए । फिभर क्लिनिकले तपाईको अवस्था जाँचेपछि लक्षण मिल्न भएको अवस्थामा ल्याबमा नमुना परीक्षणको लागि पठाईनेछ । फिभर क्लिनिक संचालनको लागि तोकिएका हब अस्पताल १. जनकपुर अन्चल अस्पताल जनकपुर उपमहानगपालिका, धनुषा २. गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज नगरपालिका, सप्तरी ३. सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल अमरगढी नगरपालिका, डढेलधुरा ४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा लेखनाथ महानगरपालिका, कास्की ५. मेची अञ्चल अस्पताल भद्रपुर नगरपालिका, झापा ६. राप्ती अञ्चल अस्पताल तुलसीपुर उपमहानगरपालिका, दाङ ७. राप्ती उपक्षेत्रीय अस्पताल घोराही उपमहानगरपालिका, दाङ ८. धौलागिरी अञ्चल अस्पताल बागलुङ नगरपालिका, बागलुङ ९. पाटन स्वास्थ्य विज्ञान एकेडेमी ललितपुर महानगरपालिका, लगनखेल १०. नारायणी उपक्षेत्रीय अस्पताल विरगंज महानगरपालिका, पर्सा ११. भेरी अञ्चल अस्पताल नेपालगंज उपमहानगरपालिका, बाँके १२. धुलिखेल अस्पताल धुलिखेल, नगरपालिका, काभ्रे १३. बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान धरान उपमहानगरपालिका, सुनसरी १४. मध्य पश्चिमी क्षेत्रीय अस्पताल विरेन्द्रनगर नगरपालिक, सुर्खेत १५. कोशी अञ्चल अस्पताल विराटनगर महानगरपालिका, मोरङ १६. भक्तपुर अस्पताल भक्तपुर नगरपालिका, भक्तपुर १७. भरतपुर अस्पताल भरतपुर महानगरपालिका, चितवन १८. बीर अस्पताल काठमाडौं महानगरपालिका १९. त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौं महानगरपालिका २०. श्री वीरेन्द्र अस्पताल काठमाडौं महानगरपालिका २१. सिभिल सेवा अस्पताल काठमाडौं महानगरपालिका २२ लुम्बिनी अञ्चल अस्पताल बुटवल उपमहानगरपालिका, रुपन्देही २३. स्वास्थ्य विज्ञान कर्णाली एकेडेमी चन्दननाथ नगरपालिका, जुम्ला २४. सेती अञ्चल अस्पताल धनगढी उपमहानगरपालिका, कैलाली २५. महाकाली अञ्चल अस्पताल भिमदत्त नगरपालिका, कन्चनपुर

कोरोना रोकथामको लागि कृषि विकास बैंकको प्रदेश कार्यालय भैरहवाले दियो ५ लाख रुपैयाँ

काठमाडौं । कृषि विकास बैंकको ५ नं. प्रदेश कार्यालय भैरहवाले कोरोना भाईरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कोषमा सो मात्राको सहयोग गरेको हो । कृषि विकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्य मन्त्री कार्यालयमा गई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त समयमा प्रदेश निर्देशकले कृषि बिकास बैंकले लक डाउनको अबधिमा समेत देशका विभिन्न शाखाहरुबाट बैंकका सेवाग्राहीहरुलाई सुरक्षित रुपमा सेवा प्रदान गरीरहेकोमा बैंकको ५ नं. प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुले समेत यस समयमा स्थानीय प्रशासनसंग समन्वय गरी बैंकिङ्ग सेवाहरु प्रदान गरीरहेको जानकारी गराएका छन् । यस अघि कृषि बिकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाले रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारत सिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट सुरक्षित राख्नको लागि उक्त नाकामा सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउनको लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको थियो । साथै संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न समेत बैंकले १० बोरा चुना समेत उपलब्ध गराएको थियो । साथै बैंकले नेपालगंज स्थीत रुपडिया नाकामा समेत ट्यांकी सहित सावुन पानिले हात धुने व्यवस्था मिलाएको थियो । साथै यस अघि कृषि बिकास बैंक केन्द्रीय कार्यालयद्धारा नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि खडा गरेको केन्द्रीय कोरोना राहत कोषमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

बिरामीको सेवा गर्नुपर्दा कहिल्यै बहाना बनाइँन- फ्लोरेन्स नाइटिंगेल

काठमाडाैं । नर्सिंग व्यवस्थालाई सुधार्नकै लागि आफ्नो सारा जीवन लगाएकी हुनाले नै फ्लोरेन्स नाइटिंगेललाई आधुनिक नर्सिंग आन्दोलनको जन्मदाता मानिन्छ । उनको जन्म १२ मई १८२० मा इटली को एउटा सम्पन्न परिवारमा भएको थियो । उनको परिवारमा उनका मातापिता र एकजना बहिनी थिए । फ्लोरेन्सका मातापिताले उनलाई नर्स बनाउन चाहेका थिएनन् । तर उनी भने मानिसहरुको सेवाका लागि नर्स बन्न उचित ठान्थिन् । उनलाई ऐस आरामको जिन्दगीसँग खासै लगाव थिएन । एक पल्टको कुरा हो फ्लोरेन्सकी हजुरआमा बिरामी पर्छिन् र त्यहि बेलामा फ्लोरेन्सले हजुरआमाको रातदिन सेवा गर्ने मौका पाउँछिन् । यो घटनापछि फ्लोरेन्सलाई थप हौसला प्राप्त हुन गई परिवारको विरुद्धमै गएर भएपनि नर्सिंगको पढाई गर्छिन् । फ्लोरेन्सको सपना थियो कि उनी एउटा राम्रो नर्स बन्न सकुन् र बिरामीको सेवा गरुन् । जुन समयमा फ्लोरेन्स नर्स बनेकी थिइन् त्यती बेला अन्य नर्सहरुले बिरामीलाई ठिकसँग हेरविचार गर्दैनथे । तिनीहरु बिरामीको नजिक जान समेत डराउँथे । फ्लोरेन्सले भने निष्पक्ष भावबाट बिरामीहरुको सेवा गर्न थालिन् । उनी बिरामीको नजिक जानमा घिन मान्दैनथिन् । त्यो समयमा उनले सम्पूर्ण नर्सहरुलाई आफ्नो जिम्मेवारीबाट भाग्न दिइनन् । नर्सहरु पनि उनले बताएको बाटोमा हिँड्न थाले । यस सँगसँगै फ्लोरेन्सले हस्पिटलको व्यवस्थालाई सम्हाल्न थालिन् । विस्तारै उनले नर्सिंग आन्दोलनको शुरुआत पनि गरिन् । फ्लोरेन्सले एउटा उत्कृष्ट लेडी नर्सको साथसाथै राम्रो लेखिकाका रुपमा पनि संसारलाई आफ्नो योगदान दिएकी थिइन् । लगन र दृढ विश्वासका कारणनै उनको नर्सिंग आन्दोलन सफल हुन पुगेको थियो । फ्लोरेन्स नाइटिंगेलले आफ्नो योगदान क्रिमिया युद्धको समयमा दिएकी थिइन् । जब क्रिमिया युद्ध चलिरहेको थियो तब त्यो समय उनले घाइते सैनिकहरुको सेवाका लागि भनेर ३८ जना नर्सहरुको दलसहित तुर्कि गएकी थिइन् । जब चिकित्सकहरु जान्थे तब उनी मैनबत्ती बालेर भएपनि घाइते सैनिकहरुको सेवा गर्थिन् । ब्रिटिश सरकारको ‘लेडी विथ द कैंप’ को उपाधी बाट र त्यसैगरी ‘रोयल रेड क्रस’ बाट पनि सम्मानित भएकी फ्लोरेन्स नाइटिंगेलको निधन भने १३ अगस्त १९१० मा भएको थियो । आफ्नो जीवन बिरामीहरुको सेवामै बिताएकी फ्लोरेन्स नाइटिंगेलका केहि भनाइहरु निक्कै नै चर्चित रहेका छन् । ती भनाइहरुले बिरामीको सेवामा अहोरात्र खटिने जोकसैलाई पनि थप उर्जा दिने गरेको छ । यस्ता छन् फ्लोरेन्स नाइटिंगेलका केहि चर्चित भनाइहरुः – मेरो सफलताको सबैभन्दा ठूलो रहस्य यो हो कि मैले कहिल्यै कुनैपनि किसिमको बहानाको सहारा लिइँन । – मलाई पूरा विश्वास छ कि सवैभन्दा ठूलो नायक उही हुन्छ जो घरेलु कामको साथै आफ्नो ड्यूटी गर्ने गर्छ । – कसैलाई गोली लाग्दछ भने सर्जरीको काम भनेको उसको शरीरबाट त्यो गोली निकाल्ने मात्र हो । उसको घाउ त प्रकृतिले नै ठिक गर्दछ । – मलाई मेरो जीवन धनदौलतका साथ गुजार्नु छैन । किनकी मेरो जीवन त मानिसहरुको भलाईको लागि हो । – नर्सिंग एउटा कला हो यदि यसलाई कला बनाइन्छ भने । यसका लागि पाइन आर्टस् प्रति एकदमै उत्कृष्ट भक्तिको जरुरत हुन्छ । – यदि मैले तपाईंलाई आफ्नो जीवनको जानकारी दिन्छु भने मैले यो देखाउनु पर्छ कि एउटा साधारण क्षमता भएकी स्त्रीले अचम्मको र गाह्रो बाटोको नेतृत्व गरेकी छे ।

सरकारले ल्याएको राहत प्याकेज प्रभावकारी बनाउन ग्रील तथा स्टील ब्यवसायी महासंघकाे समर्थन

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै सरकारले घोषणा गरेको राहत प्याकेज प्रभावकारी बनाउन नेपाल ग्रील तथा स्टील ब्यवसायी महासघ साथ रहेकाे जानकारी दिएकाे छ । विश्वमा तिब्र रुपले फैलिरहेको कोरोना भाइरस महामारीबाट बच्न सरकारले लकडाउन घोषणा गरेकोमा आम नेपाली जनतालाई नियम पालना गर्न महासंघका अध्यक्ष मोहन कटुवालले आग्रह गरेका छन् । ‘पुन सरकारले चैत्र २५ गते सम्म लकडाउनको समायावधी बढाउदा निश्चय पनि देशमा लघु घरेलु तथा साना उध्योग नराम्रो सग प्रभाबित भएको भन्दै उद्योग ब्यवसायमा काम गर्ने श्रमिकहरु अझ बढी प्रभावित भएका छ’ उनले भने । दैनिक जसो कमाएर घरपरिवार चलाउने श्रमिकहरुलाई अहिले कोरोनाले भन्दा पनी भोक भोकै मरिन्छ कि भन्ने चिन्ताले पिरोल्न थालेको छ। लकडाउन गर्नु सरकार र हामी सबैको बाध्यता तथा कोरोना भाइरस बाट बच्ने मुख्य उपाय भएको महासंघले जनाएको छ । यस्तो विषम अवस्थामा हामी जस्ता विभिन्न पेशा ब्यवसाय संगठनको नेतृत्वदायी भुमिकामा रहेकाहरुले आफ्नो पेसा ब्यवसाय सगठनमा रहेका ब्यवसायी, श्रमिक र आश्रित परिवारको हितलाइ ध्यानमा राखेर बर्तमान परिस्थितिको सामना गर्न उत्प्रेरित गर्नु पर्ने जिम्मेवारी आइपरेको छ । महासंघ नेपालको तर्फबाट यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई लकडाउन अवधिमा भोकै बस्न नदिन र संकटमा परेका श्रमिकहरुको यकिन पहिचान गरि उनिहरुलाइ न्युनतन राहत सामाग्रीहरु उपलब्ध गराउने कार्यमा लाग्न महासंघ मातहतका जिल्ला सघ, क्षेत्रीय समिती, इकाइ समिती र ग्रील तथा स्टील उद्योग ब्यवसायीहरु आग्रह गर्दै आएका छन् । साथै नेपाल सरकारले घोषणा गरेको राहत सामाग्रीहरु लक्षित बर्गले सहज किसिमले पाउन आफ्नो क्षेत्रमा रहेका राहतको आवस्यकता परेका श्रमिकहरुको तथ्यांक तयार गरि स्थानिय सरकारलाइ सहयोग गर्न र आफ्नो उद्योगलाइ चैत्र २६ गते सम्म बन्द राखेर लकडाउनको पुर्ण पालना गर्न समेत आग्रह गरेको छ । सरकारले चैत्र १६ गते कोरोना भाइरसबाट प्रभाबित उद्योगी, व्यापारी ब्यवसायी र आम नेपाली जनताको हितलाइ ध्यानमा राखी ल्याएको राहतको कार्यक्रम  बैंकको ब्याज तथा किस्ता असार मसान्त सम्म तिर्न ,घरभाडा छुट, वैद्युतमा २५ प्रतिशत छुट असंगठित क्षेत्रका श्रमिकलाइ राहत लगायतका प्याकेजको स्वागत गर्दै आगामी परिस्थितिलाइ हेरेर पुन राहतका कार्यक्रम घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ । विश्व नै संकटमा परेको अवस्थामा सबैले आ आफ्नो क्षेत्रबाट एकजुट भयेर आत्माबल बढाएर आपसी मतभेद लाई त्यागेर कोरोना भाइरसको प्रकोपबाट बच्न सक्दो सहयोग गर्न ग्रील तथा स्टील ब्यवसायी महासंघ अध्यक्ष कटुवालले जानकारी दिए ।

तीन जिल्लाका चेम्बर अफ कमर्सले वितरण गरे नगद सहित विभिन्न सामान

काठमाडौं । विभिन्न तीन जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण गरेका छन् । लमही (दाङ्ग), स्याङ्जा र पोखरा चेम्बर अफ कमर्स कास्कीले उक्त सहयोग सहित सुपथ पसल पनि संचालनमा ल्याएको चेम्बर अफ कमर्सका निर्देशक सुस्मिता लालले बताएका छन् । जसमध्ये लमही (दाङ्ग) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाई चैत १६ गते एक लाख एक हजार एक सय एक रुपैयाँ नगद हस्तान्तरण गरेको छ । त्यस्तै, स्याङ्जा चेम्बर अफ कमर्सले नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीलाई चत १६ गते ३ हजार माक्स वितरण गरेको छ । यसका साथै, २५ किलोको १२ वटा चामलको बोरा, आलु ५० किलो, तेल, नुन लगायतका सामानहरु वितरण गरेको छ । यसका साथसाथै १० वटा पिपिई पनि वितरण गरेको छ । पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्क बनाएको छ । यसका साथै पोखरा चेम्बर अफ कमर्स कास्कीले पाँच हजार माक्स प्रहरी प्रशासन, स्वास्थ्य निर्देशनालय र रुपा गाउँपालिकालाई वितरण गरेको निर्देशक लालले बताइन् ।

लकडाउनमा बीमा सेवा कसरी प्रवाह भइरहेको छ ? यसो भन्छन् नियामक र कम्पनीका प्रमुखहरु

काठमाडौं । बीमा क्षेत्र लकडाउनको समयमा बिमितलाई कुनै किसिमको मर्का नपार्ने गरी काम गर्न हर सम्भव प्रयास गरिरहेको छ । बीमा क्षेत्र पनि अत्यावश्यक सेवाभित्र पर्ने भए पनि विश्वव्यापी महामारीको सन्त्रासका बीचमा सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउने भनेर नियामक निकाय तथा सेवा प्रदायक कम्पनीहरु लागेका हुन् । सरकारले देशभर लकडाउन घोषणा गरेकोले बीमा कम्पनीहरुका सिमित शाखा मात्रै खुलेका छन् । शाखा बन्द भएपनि सेवा प्रवाहमा कुनै समस्या नहोस् भनेर सबै पक्ष मिलेर लागेको नियामक निकाय बीमा समितिको भनाइ छ । बीमा समिति अध्यक्ष चापागाईं बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले बिमितको सेवामा कमी आउँन नदिन प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिएको बताए । ‘अहिले म कार्यालयमै छुँ, हामीले सिङ्गो बीमा क्षेत्रलाई सहजिकरण गर्नुपर्छ, बिमितले पाउँने सेवालाई सकेसम्म नरोक्न बीमा कम्पनीलाई निर्देशन दिदै आएका छौँ’, बीमा समितिका अध्यक्ष चापागाईंले विकासन्युजसँग भने । सूर्या लाइफका सीइओ पाण्डे सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवनाथ पाण्डेले राज्यको नीति र योजना अनुसार नै आफूहरुले काम गरिरहेका बताए । ‘अहिले हामीले चाहेको जसरी बाहिर हिड्ने वातावरण छैन, सरकारले पनि बाहिर नहिड्न निर्देशन जारी गरेको छ, यस्तो अवस्थामा पनि बिमितलाई समस्या नहोस् भनेर हामीले सहजीकरणका विभिन्न उपाय अवलम्बन गरेका छौं, कुनै समस्या भए कम्पनीका माथिल्लो तहका अधिकारीसँग सम्पर्क गरेर सहयोग लिन सकिने व्यवस्था मिलाएका छौं,’ सीइओ पाण्डेले भने । सिटिजन लाईफका सीइओ पौडेल सिटिजन लाईफ इन्स्योरेन्सका सिइओ पोशकराज पौडेलले लकडाउनका कारण सेवा प्रवाह सामान्य रुपमा प्रभावित हुने भएपनि बिमितको सहजताको लागि हरसम्भव प्रयत्न भइरहेको जानकारी दिए । ‘अहिले सबैतिर लकडाउनको प्रभाव छ, यसको असर बीमा व्यवसायमा पनि परेको छ, बिमितलाई सेवा लिनुपर्ने अवस्थामा असर कम परोस् भनेर अनलाइन माध्यमबाट सेवा प्रवाह गर्नेलगायतका व्यवस्था मिलाएका छौं,’ सिटिजन लाईफका सिइओ पौडेलले भने । युनियन लाईफका सीइओ कर्ण युनियन लाईफका सिईओ मनोज कुमार लालकर्णले आफूहरुले ७ वटै प्रदेशमा बीमा सेवा सहज बनाउँन विशेष व्यवस्था गरेको बताउँछन् । ‘हामीले ७ वटै प्रदेशमा बीमा सेवा सहज बनाउँन लागिपरेका छौँ, सोही प्रयोजनको लागि ७ वटै प्रदेशका शाखा प्रमुखहरुसँग निरन्तर सम्पर्कमा रहेर आवश्यक व्यवस्था मिलाइएको छ, अभिकर्ता नै घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा हामीले घर भित्रबाट दिन सक्ने सेवामा जोड दिइरहेका छौँ’, युनियन लाईफका सिईओ लालकर्णले भने । राष्ट्रिय बीमा संस्थानका प्रशासक पाठक राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले अति आवश्यक कामका लागि बिमितहरुले आफूलाई सम्पर्क गरेको र त्यस्तो अवस्थामा आफूले काम गरिरहेको बताए । ‘अहिले हाम्रा केही कर्मचारी कार्यालयमा जाने र अति आवश्यक अवस्था भएका बिमितहरुको काम गर्ने गरिरहनु भएको छ, सर्वसाधारण हामी कहाँ आईपुग्ने अवस्था पनि छैन, तैपनि हामीले आवश्यक सेवा रोकेका छैनौँ’, बीमा संस्थानका प्रशासक पाठकले भने । सन नेपाल लाईफका सीइओ अर्याल सन नेपाल लाईफका सिईओ राजकुमार अर्यालले अहिले विशेष अवस्था भएको र सबै कम्पनीहरुले एउटै प्रकृया अपनाएर अघि बढिरहेको बताए । ‘अहिले अन्य बेला जस्तो छैन, यो विशेष अवस्था हो, यस्तो अवस्थामा सबै बीमा कम्पनीहरुले एउटै प्रकृयाबाट अघि बढिरहेका छन्, सम्पर्क गर्ने व्यक्तिहरु सबै संस्थामा तोकिएका छन् र सोही अनुसार हाम्रो कम्पनीमा पनि काम भइरहेको छ’, सन नेपाल लाईफका सिईओ अर्यालले भने । शिखर इन्स्योरेन्सका सीइओ पाण्डे शिखर इन्स्योरेन्स कम्पनीका सिइओ दिपप्रकाश पाण्डेले आवश्यकता अनुसार सर्भेयरसम्म पठाएर आफूहरुले काम गरिरहेको बताए । ‘अहिले लकडाउनको अवस्था छ, यस्तो बेलामा सरकार तथा बीमा समितिको निर्देशन मान्ने कुरा त छदैँछ, हामीले त्यसको साथ–साथै अति आवश्यक रहेको अवस्थामा हाम्रा सर्भेयर पाठाउँनेदेखि गर्न सकिने जति काम सबै गर्दै आएका छौँ’, शिखर इन्स्योरेन्स कम्पनीका सिइओ पाण्डेले भने । सगरमाथा इन्स्योरेन्सका सीइओ क्षेत्री सगरमाथा इन्स्योरेन्स कम्पनीमा सिइओ चंकी क्षेत्रीका अनुुसार घरबाट हुन सक्ने प्रविधिमैत्री सेवाहरु अहिले बिमितले पाईरहेका छन् । ‘हामीले बिमितलाई घर–घरमा सेवा दिईरहेका छौं, प्रविधिमैत्री सेवा सबै बीमा कम्पनीहरुले नै दिइरहेका छन्, हामीले मोवाईल तथा एपबाट हुने सेवाहरु आफ्नो वेवासाईटै दिन मिल्ने व्यवस्था बनाइसकेका छौं’, सिइओ क्षेत्रीले भने । अजोड इन्स्योरेन्सका सीइओ खत्री अजोड इन्स्योरेन्स कम्पनीका सिइओ कुमार बहादुर खत्रीले आफू समक्ष आएका कामलाई सकेसम्म नर्फकाईएको बताए । ‘हामीकहाँ आएका कामहरु सकेसम्म त्यतिकै फिर्ता पठाएका छैनौ, नेट र कम्प्युटर जताततै भएका कारण काम रोक्नुपर्ने अवस्था पनि छैन, सोही कारण यो संकटको बेलामा बढीभन्दा बढी प्रभावकारी सेवा दिने ध्याउन्नमा छौं,’ अजोड इन्स्योरेन्स कम्पनीमा सिइओ खत्रीले भने । एभरेष्ट इन्स्योरेन्सका सीइओ गौतम एभरेष्ट इन्स्योरेन्स कम्पनीका सिइओ कमल गौतमले अहिलेको समयमा हाईटेक प्रविधि रहेको र त्यसले व्यवसायमा प्रबद्र्धन तथा सेवा प्रवाहलाई राम्रो साथ दिएको बताए । ‘अहिले हाईटेक प्रविधि छ, ईन्टरनेटकै प्रयोगका कारण विभिन्न काम गर्न सकिन्छ, संकटको अवस्थामा हामी बिमितलाई बढीभन्दा बढी र गुणस्तरीय सेवा दिने प्रबन्ध मिलाइरहेका छौं,’ एभरेष्ट इन्स्योरेन्स कम्पनीका सिइओ गौतमले भने । सिद्धार्थ इन्स्योेरेन्सका सीइओ बैद्यवार सिद्धार्थ इन्स्योेरेन्स कम्पनीका सिइओ विरेन्द्र वैद्यवारले बिमितको आवश्यकता अनुसार काम गरेकोले समन्वय गर्न खासै समस्या नभएको बताए । ‘अहिले सबैतिर बन्द छ, भौतिक रुपमा कार्यालय जाने भन्दापनि अहिले अनलाईनबाट आवश्यक सेवा दिएर काम अघि बढिरहेको अवस्था छ’, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सिइओ वैद्यवारले भने ।