विदेशबाट फर्किएका व्यक्तिका बारेमा जानकारी दिनेलाई ५ हजार
काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिका बारेमा जानकारी दिनेलाई सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाँउपालिकाले ५ हजार रुपैयाँ दिने निर्णय गरेकाे छ । विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएसँगै विदेशबाट आएका मानिसहरु गोप्य रुपमा गाँउ प्रवेश गरेर संक्रमण नफैलियोस् भनि लकडाउन पछि उक्त निर्णय गरेकाे गाँउपालिकाका सूचना अधिकारी विशाल बाबु लिफङ राईले बताए । उनले भने – ‘विदेशबाट आइ लुकेर बसेका व्यक्तिको बारेमा पहिलाे पटक वडा कार्यालय तथा पालिकामा जानकारी दिने व्यक्तिलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।’ काेराेनाकाे संक्रमण फैलिए नदिन थुलुङ दुधकोशी गाँउपालिकाले अपनाएकाे याे उदाहरणीय तथा नयाँ उपायकाे रूपमा विस्तार भएकाे छ । उक्त गाँउपालिकाले पछिल्लो समय सबै मानिस गाँउ फर्किएसँगै करेसाबारी निर्माण तथा विस्तारलाई जोड दिएको जानकारी दिएको छ । सरकारले घोषणा गरेको सबै नियमको पालना गर्दै गाँउ गाँउका मान्छेबीच जमघट तथा भेला नहुन दिएकाे छैन । नाैं वडा रहेको उक्त गाँउपालिका १ सय ८० वटा करेन्टाइन र ५ वटा आइसोलेशन वेड रहेको सूचना अधिकारी राईले जानकारी दिए । हालसम्म उक्त पालिकामा भारत तथा दुवईबाट आएका ७ जना व्यक्ति होम करेन्टाइनमा बसिरहेको स्वास्थ्य अवस्था सामान्य रहेको गाँउपालिकाले जनाएको छ ।
एनएमबि बैंकले सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम कोरोना रोकथाम कोषमा दिने
काठमाडौं । एनएमबि बैंकले क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम कोरोना रोकथाम कोषमा दिने भएको छ । बैंकले कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका सरकारले स्थापना गरेको कोरोना सहायता कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । जसको लागि बैंकले सस्तो डिलसंग साझेदारी गरेको छ । जसमा समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम उक्त कोषमा योगदान दिइने बैंकले बताएकाे छ । दैनिक ज्यालादारीमा कार्यरत मजदुर तथा कर्मचारीलाई सहयोग गर्नु नै यस पहलको उद्देश्य रहेको छ । जसका जीविकाको स्रोतलाई भाइरसको फैलावट रोक्न सरकारले लगाएको बन्दाबन्दीले गम्भीर असर पारेको बैंकले जनाएको छ ।
कोरोना रोकथामको लागि कृषि विकास बैंकले प्रदेश १ लाई दियो ५ लाख रुपैयाँ
काठमाडौं । कृषि विकास बैंकले कोरोना भाईरस (कोभिड(१९) नियन्त्रण तथा रोकथामको लागि १ नम्बर प्रदेशलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कोषमा सो रकम सहयोग गरेको हो । कृषि विकास बैंकका १ नं. प्रदेशका प्रमुख घनेन्द्र अधिकारीले मुख्यमन्त्री शेरधन राईलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बैंकले सरकारले स्थापना गरेको कोरोना कोषमा एक करोड २५ लाख रुपैयाँ र हरेक प्रदेशमा खडा गरिएका कोषहरुमा प्रति प्रदेश पाँच लाख रुपैयाँका दरले ३५ लाख रुपैयाँ सहयोग गरेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए । साथै बैंकले लक डाउनको समयमा चैत १८ गतेदेखि २५ गतेसम्म देशभर खुल्ला रहने आफ्ना कार्यालयहरुको सूचि सार्वजनिक गरेको छ । बैंकले स्थानीय प्रशासनसँग समन्वय गरेर दैनिक ७० वटा भन्दा बढी शाखा सञ्चालन गर्ने जनाएको छ । चैत १८ गतेदेशभर ७६ वटा कार्यालय खुलेका छन् । १९ गते ७८ वटा कार्यालय खुल्नेछन् । २० गते ७६ वटा कार्यालय खुल्नेछन् । चैत २१ गते देशभरका ७३ वटा शाखा खुल्नेछ २२ गते ८० वटा शाखा खुल्ने छ । २३ गते ७६ वटा शाखा र २५ गते ७४ वटा शाखा खुल्ला रहने बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए । बैंकले सेवाग्राहीलाई एटिएम र मोबाइल बैंकिङ उपयोग गर्न अनुरोध गरेको छ । बैंकले लकडानको समयमा शाखा खोलेर निक्षेप राख्ने र झिक्ने बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
स्वास्थ्यकर्मीलाई घरमा बस्न नदिने विरुद्ध सामान्य प्रशासन कार्यलयमा उजुरी दिन पाइने
काठमाडौं । स्वास्थ्यकर्मीलाई घरबेटीले कोठामा बस्न नदिए सामान्य प्रशासन कार्यलयमा उजुरी दिन पाइने स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार खेम कार्कीले यदि घरबेटीले कोठामा बस्न नदिए सामान्य प्रशासन कार्यलयमा उजुरी दिन पाइने बताएका हुन् । उनले भने, ‘सुरुमा राम्रोसँग सम्झाउनु, बुझाउनुपर्छ। सम्झाउँदा अनि बुझाउँदा पनि भएन भने स्थानीय प्रशासनमा उजुरी दिनुपर्छ।’ काेराेनाकाे त्रासले सिन्धुलीमा घरबेटीले बस्न नदिएपछि २२ जना स्वास्थ्यकर्मी सिन्धुली अस्पतालमै बस्न बाध्य भएको खबर बाहिर आएकाे थियाे । एक घरबेटीलाई भने पुलिसले पक्डिसकेकाे छ ।
१७ अनलाइन बन्द गराउने काउन्सिलको निर्णयप्रति अनलाइन पत्रकार संघकाे आपत्ति
काठमाडाैं । नेपाल अनलाइन पत्रकार संघले नेपाल प्रेस काउन्सिलले १७ वटा अनलाइन बन्द गरेकाे कार्यप्रति आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै संघले यस कार्यप्रति आपत्ति जनाएकाे हाे । केही अनलाइन संचार माध्यमले ‘हुँदै नभएका कथा बुनेर, अनुमानका भरमा र पुष्टि नै नभएका तथा समाजलाई आतंकित र उत्तेजित पार्ने खालका समाचार दिने गरेको पाइएको’ भन्दै प्रेस काउन्सिलले ती संचार माध्यमलाई नेपालभर प्रकाशनरप्रशारण हुन नसक्ने गरी बन्द गराउन दूर सञ्चार प्राधिकरणमा पत्राचार गर्ने निर्णय गरेको थियो । तर, संघले काउन्सिलको यो निर्णयबाट आश्चर्यचकित भएको भन्दै काउन्सिललाई संविधान पढ्न सुझाव दिएको छ । ‘यो निर्याण गर्नुअघि नेपालको संविधान र त्यसले व्यवस्था गरेको विषय स्मरण गरिएको भए पनि यस्तो निर्णय गर्नु कति संबैधानिक हुन्थ्यो भन्ने थाहा हुने अनलाइन पत्रकार संघलाई लागेको छ’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ । संघका अध्यक्ष शिव प्रसाद सत्यालले सम्भावित संक्रमण रोक्न सरकारले विशेष निर्णय गरेको मौका छोपेर पत्रकारितामाथि गरिएको यो प्रकारको प्रहार अनलाइन पत्रकार संघलाई सह्य नभएकाे बताएका छन् । कुनै पनि बहानामा अनलाइन संचार माध्यम बन्द गर्ने गराउने कार्यको अनलाइन पत्रकार संघ घोर निन्दा र भत्सना गर्ने उनकाे भनाइ छ।
कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई होटलमा राखिने
काठमाडौं । कोरोना संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले होटलमा राख्ने व्यवस्था मिलाउने भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले कोरोना संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले होटलमा राख्ने व्यवस्था मिलाउने भएका जानकारी दिएका हुन् । उनले भने, ‘नेपालभित्रै अहिले संक्रमण फैलिसकेको छैन। बाहिरबाट आएको व्यक्तिमा मात्र संक्रमण देखिएको हो। तर नेपालमै फैलिए उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई हामीले सुबिधा सम्पन्न होटलमा राख्ने तयारी गर्दैछौं।’
कोरोनाको बारेमा गलत सूचना रोक्न डब्लुएचओ र राकुटेन भाइबरबीच सम्झौता
काठमाडौं । कोरोना भाइरस( कोभिड-१९) को बारेमा प्रवाह हुने गलत सूचना रोक्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र राकुटेन भाइबरबीच सम्झौता भएको छ । यी दुई संस्थाले गलत सूचना विरुद्ध अभियान छेड्न एकआपसमा समझदारी गरेका हुन्, जुन बहु-भाषिक अन्तरक्रियात्मक च्याटबट विश्वव्यापी रुपमा उपलब्ध हुनेछ । यो बटको एकमात्र उद्देश्य भनेकै भाइरसको विषयलाई लिएर तीव्रगतिमा फैलाइने झुठो जानकारी तथा गलत समाचारहरु विरुद्ध जुध्नु हो । सही सूचनाको खोजीमा रहेका विश्वका नागरिकहरुलाई सहयोग गर्न यो च्याटबट अँग्रेजी, अरेबिक, रसियन भाषामा उपलब्ध छ र चाँडै नै २० अन्य भाषाहरुमा पनि अनुवाद गरिनेछ । यसले महामारीलाई लिएर अत्यधिक रुपमा सोधिएका प्रश्नहरु एवं पछिल्लो ताजा समाचारहरुलाई प्रमुखता दिनेछ । ‘लेटेस्ट न्यूज’ (हालको ताजा समाचार) लाई डब्लुएचओको वेबसाइटबाट सिधै एउटै समयमा अद्यावधिक गरेर त्यसलाई सोझै यस भाइबर बटमा प्रेषित गरिन्छ । अन्य मुख्य खण्डहरुमा ‘प्रोटेक्ट योरसेल्फ’, ‘मास्क युजेज’ ‘ट्राभल रिकम्मेन्डेसन्स’ तथा भाइरसको बारेमा तपाईंको ज्ञान जाँच गर्न एक अन्तरक्रियात्मक ‘मिथ्स’ क्वीज रहेका छन् । यसैगरी च्याटबटमा रहेको ‘डोनेट नाउ’ बटनले प्रयोगकर्ताहरुलाई डब्लुएचओले महामारी विरुद्ध लड्न स्थापना गरेको कोभिड-१९ सोलिड्यारिटी रेसपन्स फण्डको लागि आफ्नो तर्फबाट चन्दा सहायता प्रदान गर्न सक्नेछन् । ‘विश्व स्वास्थ्य संगठनले नवीनतम् डिजिटल प्रविधिको सहायताले भरपर्दो सूचनाका साथ सम्भव भएसम्म विश्वका धेरैभन्दा धेरै नागरिकहरुमाझ पुग्ने लक्ष्य लिएको छ । सही सूचना शक्ति हो र यसले यस्तो महामारीको समयमा जीवनहरु बचाउन मद्दत पुग्छ ।’ डब्लुएचओका महा निर्देशक डा. टेड्रोस एद्हानम गेब्रेयेससले भने । ‘हामीले मानिसहरुलाई सम्पर्कमा रहिरहन साथसाथै स्थानीय एवं विश्वभरका सरकार तथा संसारभरका स्वास्थ्योपचार सम्बद्ध संस्थाहरुलाई संकटास्पद अद्यावधिकहरु उपलब्ध गराएर र गलत सूचना विरुद्ध लड्न पनि सहयोग गरिरहेका छौं । राकुटेन भाइबर र डब्लुएचओले यो विषम अवस्थामा व्यक्तिहरु र समुदायहरुलाई स्वस्थ एवं सुसूचित रहनका लागि मद्दत गर्न मिलेर संयुक्त रुपमा काम गरिरहेको छ । यो च्याटबट तपाईं आफैले प्रयोग गर्नुहोस्, अनि यसलाई आफ्नो प्रियजनहरुसँग साझा गरेर तपाईंका आफन्तहरुको सुरक्षा र सहायता गर्नुहोस् । डिजिटल सुरक्षित छ ।’ राकुटेन भाइबरका सिइओ जमेंल अगाउवाले बताएका छन् । यो च्याटबट निःशुल्क छ र विश्वभरका सबै भाइबर प्रयोगकर्ताहरुका लागि च्याटबट अहिले नै उपलब्ध भइसकेकोे छ । यसको अतिरिक्त भाइबरले भाइरससँगै अग्रपँक्तिमा रहेर रोगीहरुको सेवामा खटिइरहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको योगदानको कदर गर्न तथा उनीहरुको मनोबल उकास्न साथसाथै लक डाउनको समयमा समग्र विश्वलाई उत्प्रेरणा प्रदान गर्न र सकारात्मक भावहरु संचार गर्न खास रुपमा तयार पारिएको स्टिकर प्याक पनि प्रस्तुत गर्ने भएको छ । यो प्याक भाइबरको स्टिकर मार्केटबाट डाउनलोड गर्ने जोकोहीले च्याटबटमा छिटो र सजिलै पहुँच प्राप्त गर्नेछ । बट यो लिन्क https://vb.me/c6e9fa मार्फत् पनि प्राप्त गर्न सकिन्छ ।
ठूला करदाता कार्यालयमा गएर एनसेलले तिर्याे ४ अर्ब ६० कराेड राजश्व
काठमाडौं । निजी सेवा प्रदायक कम्पनी एनसेलले थप ४ अर्ब ६० करोड रुपैयाँ राजश्व बुझाएको । कम्पनीले मंगलबार पुँजीगत लाभकरवापत ठूला करदाता कार्यालयमा गएर सो रकम बुझाएको बताइएको हो । यसअघि सर्वाेच्चले २१ अर्ब १० कराेड रूपैयाँ तिर्नु पर्ने फैसला गरेकाे थियाे । सर्वोच्च अदालतले फैसला दिएपछि कम्पनीले समय समयमा बाँकी रहेको कर तिर्दै आइरहेको छ । पुसमा पनि ४ अर्ब ५० कराेड रूपैयाँ बुझाएकाे थियाे । सर्वोच्चको फैसला लगत्तै एनसेलले बाँकी रहेको करको करिब २० प्रतिशत रकम बुझाएको थियो। योसँगै एनसेलले पुँजीगत लाभकरवापत मात्रै अहिलेसम्म ३३ अर्ब रुपैयाँ हाराहारी रकम सरकारलाई बुझाएको छ । एनसेलले अब १४ अर्ब ४० कराेड रुपैयाँ बराबर लाभकर बुझाउन बाँकी छ ।