पाँच जिल्लाका चेम्बर अफ कमर्सले वितरण गरे नगद सहित विभिन्न सामान
काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण गरेका छन् । साथै, कोरोना रोकथामको लागि माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको जानकारी गराएको छ । सुन्दर बजार चेम्बर अफ कमर्स लमजुङले २ हजार थान सर्जिकल मास्क बितरण गरेको छ । सुन्दर बजार चेम्बर अफ कमर्स सुन्दर बजारले सुन्दर बजार नगरपालिका, नेपाल पत्रकार महासंघ लमजुङ सुन्दर बजार अस्पताल, नमुना सामुदायिक अस्पताल, ईलाका प्रहरी कार्यालय भोटेवडार, ईलाका प्रहरी कार्यलय सुन्दर बजार, भोटेवडार शहरी स्वस्थ्य क्लिनिक, सर्बोदय सेवा आश्रम, मानव सेवा आश्रम बेशिसहर, १२ वटा निजि क्लिनिकहरुलाई निशुल्क सर्जिकल मास्क वितरण गरेको छ । त्यस्तै, बाँके चेम्वर अफ कमर्सबाट उपभोग्य सामाग्री सहज तवरले उपलब्ध गराउन सुपथ पसल संचालन गरेको छ । घोराही चेम्वर अफ कमर्सले मास्क वितरण गर्ने कार्यक्रम तय गरेको छ भने दोलखा चेम्वर अफ कमर्सद्धारा मास्क वितरण कार्य गरेको छ । त्यसैगरी, अर्घाखाँची चेम्बर अफ कमर्सले अत्यावश्यकीय क्षेत्रमा प्रयोग गर्नेगरि जिल्ला प्रशासन कार्यालय मार्फत ३ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेको छ ।
एनआईसी एशिया र हिमालयन बैंकको कुन कुन शाखा खुले ? (सूचीसहित)
काठमाडौं । लक डाउनमा पनि एनआइसी एशिया बैंक र हिमालयन बैंकले विभिन्न शाखा कार्यालयहरुबाट बैंकिङ सेवाहरु दिँदै आएका छन् । बुधबार पनि एनआइसी एशिया बैंकले ३५ वटा शाखा मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवाहरु दिँदै छ । बैंकले बिहान ११ देखि दिउँसो १ बजेसम्म सबै प्रदेशबाट सेवा प्रदान गर्ने भएको छ । त्यस्तै, हिमालयन बैंकको पनि आज १७ वटा शाखा खुला भएका छन् । बैंकले जारी गरेको सूचना अनुसार उपत्यका भित्र ठमेल र कौशलटार शाखा मात्रै खुला हुने छन् । उपत्यका बाहिरका केही जिल्लाका शाखा १० देखि १२ बजे र केही बैंकको शाखा १० देखि १ बजेसम्म खुला हुने छन् । यससँगै, ग्राहकले आफुलाई पायक पर्ने बैंकको शाखामा गई बैंकिङ सेवा लिन सक्नेछन् ।
राहतले छाएकाे खुसी, ‘धन्य सरकार ! यति भए बाँचिन्छ’
काठमाडौं । ‘धन्य हो सरकार ! अब यति भए बाँचिन्छ ।’ एक अधवैंशे महिला एक बोरा चामल, एक लिटर तेल, एक केजी दाल, एक किलो नुन समाउँदै जोडले चिच्याउँदै अगाडि बढिन् । उनी तीन चारपटक उक्त शब्द दोहोर्याउँदै गन्तव्यतिर लागिन् । ‘हिजोदेखि चुल्हो बलेको छैन, अब गएर पकाउँछु ।’ सिद्धार्थनगर नगपालिका–१ म्यूडिहवाकी ३५ वर्षीया झिन्कू हरिजनको खुशी हो यो । उनको भान्सामा तेल र नुन सकिएको थियो । एक छोरा र तीन छोरीसँगै बस्दै आएकी हरिजन हप्ता दिनदेखि काममा जान पनि पाएनन् । उनी भैरहवा क्षेत्रमा दैनिकरूपमा घरघरमा पुगेर कपडा धुने, भाडा माँझ्ने काम गरेर गुजारा चलाउँदै आएकी थिईन । दैनिक घरेलु काम गरेर जीविकोपार्जन गर्दै आएकी हरिजनसँग यतिबेला पैसा पनि छैन र नजिकमा कुनै किराना पसल पनि नहुनाले दुई दिनदेखि भोकै विताइरहेकी छन् । कोरोना भाइरसको सङ्क्रमणले महामारी फैलिँदै जाँदा नेपालमा पनि सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण उनको दैनिक काममा जान पाएकी छैन । काममा जान नपाउँदा सोमबार साँझदेखि भुजा र चना खाएर बिताएको र मङ्गलबार बिहानै वडाका कर्मचारीको खबरले राहत वितरण लिन पुगेकी हरिजन राहत पाएपछि निकै खुशी थिईन । राहत थाप्न मङ्गलबार दिउँसो १२ बजेदेखि राहत लिन डेढ घण्टासम्म कुर्दा वडाध्यक्ष रमेश मल्ल वडासचिवसहित आए । उनीहरुले नआत्तिएर बस्न र केहीबेरमा राहत सामग्री लिएर नगरप्रमुख आउने जानकारी दिएपछि सबैजना ढुक्क भए । राहत सामग्रीसहित केहीबेरमा नगरप्रमुख हरि प्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले आएर वडा कार्यालयले तयार गरेको सूचिअनुसार उपस्थित सबैलाई खाद्यान्न वितरण गरे । खाद्यान्न पाएपछि झिन्कु मात्रै होइन, सोही ठाउँकी बहुरी अहिर पनि गद्गद् परे । परिवारमा पाँच छोरा र एक छोरीसहित भाडाको घरमा बस्दै आएकी बहुरी अहिर घर बनाउने श्रमिकको काम गर्छन। लकडाउनका कारण आठ दिनदेखि उनको पनि काम ठप्प छ । “काम नगरे खान पाइन्नँ, जसोतसो हप्ता दिन त चल्यो । यस्तै रहिरह्यो भने कसरी चल्छ र ?”, अहिरले निरास हुँदै भने, “सरकारले यस्तै दाल चामल दिए त बाचिएला नत्र …..” छेउमै रहेकाले सम्झाउँदै भने सरकार छँदै छ किन आतिएको ।” झिन्कु र बहुरीजस्तै १ सय ३९ जनाको घरधुरीलाई सिद्धार्थनगर नगरपालिकाले दैनिक जीवनमा अति आवश्यक खाद्यान्न सामग्री वितरण गरेको छ । परिवार सङ्ख्याको आधारमा दिइएको उक्त राहत सामग्री चार जनाको परिवार हुने घरधुरीलाई पाँच केजी, १० जनासम्म परिवार हुने घरधुरीलाई १० केजी चामल दिइएको नगर उपप्रमुख उमा काफ्लेले बताए । काफ्लेका अनुसार हरेक विपन्न परिवारलाई एक लिटर खानेतेल, एक केजी नुन, एक केजी दाल पनि प्रदान गरिएको छ । उनले भने, “शुरुमा केही कम वितरण गरेका छौँ, लकडाउन लम्बिँदै गयो भने फेरि दिन्छौं । सरकार छ, कोही भोकै बस्न पर्दैन ।” लकडाउनका कारण कोही पनि भोकै हुन नपरोस् भनेर नै सिद्धार्थनगर नगरपालिकाले नगरमा भएका मजदुरहरुको लगत सङ्कलन गरेको छ । नगरप्रमुख हरिप्रसाद अधिकारीका अनुसार नगरको १३ वटै वडामा एक हजार ८ सय ७२ ज्याला मजदुरी गरेर खाने परिवार रहेका छन् । “दैनिक काम गरेर बिहान बेलुकाको जोहो गर्नेहरु कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनमा परी घरभित्र बस्न बाध्य छन् । उनीहरुले काम गर्न पाएका छैनन् । उनीहरुको जीवनयापनलाई सहज बनाउन हामीले राहत वितरण शुरु गरेका हौँ”, नगरप्रमुख अधिकारीले भने । सिद्धार्थनगर पालिकाको कार्यपालिका बैठकले चार दिन अगाडि बिहान बेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमिकहरुको लगत सङ्कलन गर्ने निर्णय गरेको थियो । नगरले कोरोना भाइरस नियन्त्रण राहत कोष स्थापना गरेको छ । उक्त कोषमा नगरले यसअघि नै ११ लाख ५१ हजार रुपैयाँ जम्मा गरिसकेको छ भने विभिन्न सहयोगी व्यक्तिले पनि सहयोग गरिरहेका छन् । राहत कोषमा नगरका प्रमुखले २१ हजार रुपैयाँ, उपप्रमुखले १५ हजार रुपैयाँ र वडाध्यक्षले १० हजार रुपैयाँका दरले रकम जम्मा गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए । सिद्धार्थनगरमा १३ वडा छन् । लकडाउनका कारण खाद्यान्न, तरकारीमा देखिएको अभावलाई मध्यनजर गर्दै नगरले वडा कार्यालयको समन्वयमा टोलस्तरमा अत्यावश्यक वस्तुको प्रबन्ध मिलाउने तयारी गरिरहेको मरासिनीले बताए । नगरपालिकाले समाजसेवी कृष्णप्रसाद न्यौपाने, नारायणप्रसाद अग्रवाल, सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यापार सङ्गठनका अध्यक्ष नारयाणप्रसाद भण्डारी, बैंकर्स एशोसिएसनका अध्यक्ष रामराज उपाध्यायसहितले श्रमिकका लागि अत्यावश्यक खाद्यान्न व्यवस्थापन सहयोग समिमिसमेत गठन गरेको छ । रासस
नबिल र माछापुच्छ्रे बैंकको कुन कुन शाखा खुल्छन् ?(सूचीसहित)
काठमाडौं । लकडाउनको समयमा पनि नबिल बैंक र माछापुच्छ्रे बैंकको देशभरका विभिन्न शाखा कार्यालहरु खुल्ने भएका छन् । जसमध्ये बुधबार मात्रै नबिल बैंकको ३४ वटा र माछापुच्छ्रे बैंकको २९ वटा शाखा कार्यालय खुल्ने भएका छन् । उनीहरुले बुधबार एक सुचना मार्फत उक्त जानकारी गराएका हुन् । नबिल बैंकले जारी गरेको सूचना अनुसार बैंकको आज ६ वटा प्रदेशका ३४ वटा शाखा खुला हुने भएका छन् । प्रत्येक शाखा ११ देखि १ बजेसम्म खुला हुने बैंकले जनाएको छ । कर्णाली प्रदेशमा भने सोही प्रदेश सरकारले बिदा दिएको कारण बैंकको शाखा पनि बन्द हुने छ । त्यस्तै, माछापुच्छ्रे बैंकको पनि ६ वटा प्रदेशका २९ वटा शाखा खुल्ने भएका छन् । उक्त शाखा कार्यालयहरु विभिन्न समयमा खुल्ने बैंकले जानकारी गराएको छ ।
इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुनसक्छ, अनावश्यक खपत नगरौंः एनटीए
काठमाडौं । इन्टरनेट सेवामा ग्राहकहरुको माग बढेको कारण इन्टरनेटको गति कम भएको नेपाल दूरसंचार प्राधिकरण (एनटीए) ले जनाएको छ । सरकारले घोषण गरेको लकडाउनको कारण धेरैले इन्टरनेट प्रयोग गर्दा गति कम भएको र अत्याधिक प्रयोगका कारण कुनैपनि बेला सेवा अवरुद्ध हुनसक्ने भएकाले अनावश्यक काममा इन्टरनेटको प्रयोग नगर्न एनटीएले प्रयोगकर्तालाई सुझाएको छ । अहिले इन्टरनेटको गतिलाई असर पार्ने अन्य केही कारण नभई प्रयोगकर्ताहरुबाट माग ह्वात्तै बढेका कारण इन्टरनेटको गतिमा असर पुगेको एनटीएका सूचना अधिकारी सन्दिप अधिकारी बताउँछन् । ‘माग बढेकै कारण इन्टरनेटको गतिमा असर पुगेको हो, केही समयपछि यो समस्या आफै हटेर जान्छ तर तत्कालका लागि भने अनावश्यक प्रयोग गर्नु हुँदैन’, एनटीएका सूचना अधिकारी सन्दिप अधिकारीले विकासन्युजसँग भने । तत्काल समस्या समाधान हुँदैन अनावश्यक हाई स्ट्रिमीङ्ग भिडियो नहेर्न तथा गेम नखेल्न एनटीएले सुझाएको छ । तत्कालका लागि व्याण्डविथको कमी भएकाले माग अनुसारको आपूर्ति गर्न गाह्रो भएको हो । अहिले कोरोना भाइसरको कारण सरकारले लकडाउन गरिरहेको अवस्थामा घरबाटै इन्टरनेट चलाउनेहरु बढेको एनटीएले बताएको छ । लकडाउनभन्दा बाहेकको अवस्थामा अन्य काममा व्यस्त हुने प्रयोगकर्ताहरु अहिले इन्टरनेट प्रयोगमा व्यस्त छन् । घरभित्र रहदा विभिन्न प्रकृतिका काममा इन्टरनेट चलाईने भएपनि एनटीएले आवश्यकतामा मात्रै चलाउँन अनुरोध गरेको छ । व्याण्डविथ नै कमी भएको र अत्याधिक प्रयोगकर्ता भएको कारण इन्टरनेटको गति कम भएकोले यसलाई बढाउने विकल्प नभएको एनटीएको भनाइ छ । नेट स्लो भए उपाए छैन तत्कालका लागि नयाँ व्याण्डविथ राख्न सम्भव नभएको कारण देखाउँदै इन्टरनेट सेवा भन्ने बित्तीकै बलियो बनाउँन नसकिने एनटीएको तर्क छ । सेवा लिदै आएका ग्राहकहरुको हकमा सकेसम्म कुनै किसिमका अप्ठेरो आउँन नदिने अधिकारी बताउँछन् । विगत केही महिनादेखि विश्वमा देखिएको कोरोना भाइरसका कारण विश्वव्यापीमा रुपमा इन्टरनेट प्रयोग बढेको र नेपालमा पनि यही अवस्था रहेकोले कुनै पनि बेला सेवा नै अवरुद्ध हुन सक्ने एनटीएले जनाएको छ । सोही कारण प्रयोगकर्ताले सो कुरालाई बुझेर महत्वपूर्ण काममा मात्र इन्टरनेट प्रयोग गर्न अनुरोध गरेको छ । अहिले सेवा प्रदायकको दोष छैन एनटीएले अहिले अन्य बेला जस्तो नभई विशेष समय भएकोले सबैले आफ्नो तर्फबाट सहयोगी भुमिकामा काम गर्न आवश्यक रहेको बताएको छ । विभिन्न सन्दर्भमा सेवा प्रदायकहरुलाई गुणस्तरको माग गर्दै आएपनि अहिले भने माग अनुसारको सेवा प्रदान गर्न सेवा प्रदायकहरु लागिपरेको एनटीएको दाबी छ । सबैजनाले मनोरञ्जन लगायतका गतिविधिका लागि इन्टरनेट प्रयोग गर्ने हो भने तत्कालको लागि धान्न गाह्रो हुन्छ । सोही कारण आफूले पाएको सेवाको सही सदुपयोग गर्नुपर्ने एनटीएको अनुरोध छ ।
कोरोना भाइरसले यस वर्षको चैतदशैं प्रभावित
काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण यसपालिको चैतेदशैं प्रभावित बन्न पुगेको छ । विशेष महत्वका साथ मनाउने यो पर्व यस वर्ष सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै नमनाउन जिल्लाका स्थानीय तहले आग्रह गरेका छन् । चैतेदशैंमा जिल्लाका विभिन्न ठाउँमा मेला लाग्ने, बलि चढाउने, चेलीबेटी माइती जाने, छोरीचेली पुज्नेलगायतका धार्मिक संस्कारका कार्य गर्दा मानिसको भीड धेरै हुने भन्दै स्थानीय तहले चैतेदशैं भीडभाड जम्मा हुने गरी तडकभडकका साथ नमनाउन सूचना जारी गरिएका सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए । सरकारले देशलाई लकडाउन घोषणा गरेकाले त्यसमा सहयोग गर्न स्थानीय सरकारले यतिबेला परेका सबै चाडपर्व नमनाउन सूचना जारी गरेका हुन् । पूर्वीरुकुमका भुमे र सिस्ने गाउँपालिकाले सूचना जारी गर्दै चैतेदशैँको अवसरमा लाग्ने मेलापर्व, बलि चढाउनेलगायतका काम नगर्न भनेका छन् । चैतेदशैंको अवसरमा जिल्लाको सिस्ने गाउँपालिका वडा नं ५ मा रहेको प्रमुख पर्यटकीयस्थल देउराली गुफामा हरेक वर्ष मेला लाग्ने गर्छ भने विभिन्न ठाउँमा पूजापाठसहित बलि चढाउने धार्मिक प्रचलन रहेका छन् । यतिबेला मानवको जीवनरक्षाभन्दा पर्व ठूला नभएकाले यसपालिको चैतेदशैँ नमनाउन भनिएको गाउँपालिका अध्यक्ष बरालले बताए । भुमे गाउँपालिकाले पनि चैतेदशैंको अवसरमा बलि चढाए, भीडभाड गरे कारवाही हुने सूचना जारी गरेको छ । अहिले चाडपर्व नमनाउन आग्रह गरिएको र कसैले अटेर गरे कारवाहीका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय र प्रहरीमा सिफारिससहित पठाइने प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । रासस
मेगा बैंकको यी शाखा दिउँसो १ बजेसम्म खुल्ने
काठमाडौं । लकडाउनको समयमा मेगा बैंकले विभिन्न स्थानका शाखाहरुबाट बैंकिङ सेवा दिँदै आएको छ । बुधबार(आज) पनि बैंकले देशभरका ४० वटा शाखाहरुबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा सुविधा दिने भएको छ । बैंकले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ७ वटै प्रदेशको विभिन्न शाखा कार्यालयहरु खोल्ने भएको छ । जसमध्ये ग्राहकले आफुलाई पायक पर्ने शाखामा गई तथा उक्त शाखाका प्रमुखलाई निम्न नम्बरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपालीमा कोरोनाको सङ्क्रमण
काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका ८ जना नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा ८ जनामा कोरोना पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए । सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ । सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा सङ्क्रमण देखिने नेपालीको सङ्ख्या ९ पुगेको छ । पछिल्लो समय कोरोनाको सङ्क्रमण नेपालीमा पनि देखिन थालेकाले सजग भएर बस्न एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आग्रह गर्दै आइरहेको छन् । उनले सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गरेका छन् । रासस