इँटाभट्टाका १९ हजार मजदूर घर फर्किए, व्यवसायी मर्कामा
काठमाडौं । भक्तपुरका ६२ वटा इँटाभट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर फर्काइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै भक्तपुरका इँटाभट्टामा हजारौँ मजदूर काममा भन्ने समाचार गत १३ गते राससले सम्प्रेषण गरेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको ताकेतामा इँटा व्यवसायीले कामदारलाई घर फर्काएका हुन् । कोभिड–१९ को सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत २५ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । लकडाउनमा पनि इँटाभट्टामा कामदार रहँदा बजार जाने, दिनभरि पसल सञ्चालन हुने र सधैं बाक्लो जमघट भएकाले कोरोनामा जोखिममा मजदूर रहेका थिए । भक्तपुरका प्रजिअ होमकला पाण्डेले मजदूर घर फर्कन चाहेपछि व्यवसायीले उनीहरुलाई घर फर्काउने व्यवस्था गरेको छ । उनले घरजान चाहने मजदूरका लागि ५२ वटा सवारी पास जारी गरेको र त्यही सवारी साधनमा व्यवसायीले उनीहरुलाई घर फर्काएको जानकारी दिए। भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ ह्याम्बाले विगत १३ दिनदेखि काचो इँटा बनाउने काम बन्द गरेको छ । उनले भने, “भक्तपुरको इँटाभट्टामा काम गर्र्न १९ हजार मजदूरलाई घर पुर्याएका छौँ, इँटा बोक्ने केही मजदूर बाँकी छन् उनीहरुलाई पनि पठाउने व्यवस्था गर्दैछौँ, भारतका केही मजदूर छन्, उनीहरुलाई कसरी पठाउने भनेर छलफल भइरहेको छ, केही भक्तपुरमै भाडामा बस्ने, बच्चा यहीँ पढाउनेहरु बाँकी छन्, उनीहरु यतै बस्छु भनेका छन् ।” जेठको तेस्रो साता घर फर्कंदा हातभरि पैसा बोकेर खुशी हुँदै फर्कने मजदूर अहिले भने रित्तै हात घर फर्किएका छन् । “विगतका वर्षमा घर फर्कंदा मजदूर सबै हिसाब सकेर हातमा लाखौँ बोकेर खुशी हुँदै जान्थे, यस वर्ष कोरोनाका कारण सिडिओ साहेबले छिटो पठाऊ भने, लकडाउनले बैंक पनि खुलेनन्,” अध्यक्ष ह्याम्बाले भने, “गाउँ फर्कने मजदूरलाई रित्तै हात फर्काउँदा हामीलाई नमज्जा लागेको छ, शुरुमै घर पुगेका मजदूरले गाउँमा भोकै भयौँ पैसा पठाइदेऊ भन्छन्, बैंक नखुल्दा पैसा पनि पठाउन पाएनौं ।” लक डाउनले भारतबाट आयात हुने कोइला आउन छाडेको र मजदूर पनि गएपछि इँटाभट्टा बन्द हुन थालेका छन् । मजदूर घर फर्किएपछि खलभरि लाखौं काँचो इँटा असरल्ल छ, यसलाई चाङ लगाएर व्यवस्थित गरे अर्को साल शुरुमै इँटा पोल्न सकिने भएपछि मजदूर नहुँदा खेतमा इँटा बिग्रिने अवस्थामा पुगेको छ । अध्यक्ष ह्याम्बा भने, “हजारौँ रोपनी खेतमा काँचो इँटा छन्, त्यसलाई व्यवस्थापन गरेर जग्गा खाली गरी किसानलाई धान रोप्न दिनुपर्छ, नत्र किसानलाई क्षतिपूर्ति दिए, हामीले एकातिर इँटा उत्पादन कम भएर, अर्कोतर्फ काँचो इँटा बिग्रिएर र फेरि किसानलाई क्षतिपूर्ति दिए, भने यो तेहोरो नोक्सान कसरी व्यहोर्नु ” व्यवसायीको मर्का कसैले नबुझेको गुनासो गर्दै उनले हरेक वर्ष काम गर्न आउने मजदूरको चिन्ता व्यवसायीलाई बढी नै हुने बताए । रासस
पोखरामा नै हुने भयो कोरोना परीक्षण, अब एक घण्टामा नै रिपोर्ट
काठमाडाैं । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा मंगलबार काठमाडौँबाट परीक्षण गर्ने मेसिन ल्याइएको हो । बिहान ८ः०० बजे हेलिकप्टरमार्फत परीक्षण उपकरणसहित प्राविधिकको टोली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आइपुगेको हो । मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखिएको छ । उपकरणसँगै अब कोरोनाको परीक्षण एक घण्टामा नै गर्न सकिने वीर अस्पतालका विज्ञ बलराम गौतमले जानकारी दिए । यसअघि नमूना परीक्षणका लागि काठमाडौँ नै पठाउनुपर्ने बाध्यताका कारण प्रदेशबाट पठाइएको नमूनाको रिपोर्ट आउने २४ देखि ४८ घण्टासम्म लाग्ने गरेको थियो । ‘यो प्रोटेवल मेसिन हो, परीक्षण गरिएको एक घण्टामा रिपोर्ट आउँछ’, उनले भने, ‘परीक्षण सेवा आजैबाट शुरु गरिनेछ, हामी मेसिन सञ्चालन गरेर मात्रै फर्कन्छौँ ।’ पोखरामा नै परीक्षणका लागि उपकरण आएपछि अब नमूना काठमाडौँ पठाउन नपर्ने भएको छ । मेसिनबाट दैनिक १५ देखि २० वटा सम्म परीक्षण गर्न सकिने गौतमले जानकारी दिए । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा कोरोना भाइरस रोकथाम तथा उपचार समितिका संयोजक किरण गुरुङले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी प्रदेशमा रोक्नका लागि महत्वपूर्ण सहयोग पुग्ने बताए। रोगको समयमा नै पहिचान हुने भएकाले यसको न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । ‘आवश्यक सुरक्षा सामग्री (पिपिई) सहित उपकरण तथा किट प्राप्त भएसँगै स्वास्थ्यकर्मीले यसको भरपुर उपयोग गरी जनताको सेवामा समर्पित बन्नुपर्छ’, उनले भने । सामाजिक विकास मन्त्री नरदेवी पुनले सङ्घबाट प्राप्त सामग्री बुझ्दै प्रदेशमा यसको सदुपयोग हुने बताए। सबै मिलेर कोरोनाको विरुद्धमा सङ्घर्ष गर्नुपर्ने बेला आएको बताउँदै उनले महामारीको यस घडीमा जनताको स्वास्थ्य सुरक्षातर्फ गम्भीर बन्नु अपरिहार्य भएको आवश्यकता औँल्याए । पूर्व स्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले बिरामी भएर अस्पतालमा आउनेलाई उपचार नगरी फर्काउन नहुने उल्लेख गर्दै कोरोना सङ्क्रमणको उपचारका लागि सङ्घ सरकारबाट प्राप्त उपकरणलाई भरपुर उपयोग गर्नुपर्ने धारणा राखे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाले उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षालगायतमा सरकारको ध्यान पुग्नुपर्ने बताउँदै उपलब्ध सामग्रीले कोरोना महामारीको रोकथाममा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार उक्त मेसिन सञ्चालन गर्न पोखरामा दुईजना दक्ष प्राविधिक रहेका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष एवं सूचना तथा सञ्चार व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सङ्घ सरकारले उपलब्ध गराएको सामग्रीले प्रदेशवासीमा आशा एवं विश्वास जगाएको उल्लेख गरे । रासस
लकडाउनले अलपत्र परेकाहरुलाई निशूल्क खाना
काठमाडौं । लकडाउनमा अलपत्र परेकाहरुलाई अन्नपूर्ण भोजनालायले निशूल्कमा खान खुवाउन सुरु गरेको छ । मकवानपुरको चौकिटोलमा रहेको अन्नपूर्ण भोजनालयले निशुल्क खाना खुवाउ सुरु गरेको हो । विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमण भेटिएलगतै सरकारले देशलाई लकडाउन गरेपछि अलपत्र परेर समस्यामा परेका यात्रुहरुको लागि व्यवस्था गरिएको होटलकि संचालक लक्ष्मी श्रेष्ठले जानकारी दिइन् । ‘कमाइ मात्रै ठुलो हैन, विपदको घडीमा सहयोगको भावानाले अलपत्रमा परेका यात्रुहरुको बिजोग हेर्न नसकेर निशूल्क खाना सुरु गरेको हु,’ श्रेष्ठले भनिन् । आफ्नो होटलमा कार्यरत र आफुहरु बसेर खाइरहदा बाहिर यात्रुहरुअलपत्र परेर भोकै भएको देखेर आफुले निशूल्क खाना खुवाउन सुरु गरेको श्रेष्ठले बताइन् ।
आयोगले दुई करोड रुपैयाँ सरकारलाई फिर्ता दिने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अतिआवश्यक खर्चबाहेक विनियोजित बजेट रकमबाट दुई करोड रुपैयाँ सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कार्यमा सरकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगले चालू आर्थिक वर्षको कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमबाहेक अन्य कार्यक्रम स्थगन गरी उक्त रकम सरकारलाई फिर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारलाई फिर्ता गरिएको उक्त रकम कोरोना भाइरस नियन्त्रण र रोकथाममा प्रयोग गर्ने गर्न आग्रह गरेको छ । उक्त भाइरसविरुद्ध प्रभावकारी रुपमा लड्ने कार्यमा सरकारलाई आवश्यक सहयोग पुर्याउन आयोगले सबै निकाय, नागरिक समाज, मानव अधिकारकर्मी, उद्योग व्यवसायी तथा निजी क्षेत्रलाई आग्रह गरेको छ । आयोगले सन्त्रास र सङ्कटको यस घडीमा राज्यका सबै निकायको सक्रियता, समन्वय र सहयोगात्मक भावनाको महत्व रहने विश्वास लिएको छ । साथै, आयोगले उक्त भाइरसको सङ्क्रमणबाट बच्न र बचाउन गरिएको सरकारको निर्णयलाई पूर्णरुपमा पालना गर्न सबैलाई आग्रह गरेको छ । रासस
लकडाउन सकिए लगत्तै गभर्नरकाे टुङ्गाे लाग्छः डा. खतिवडा
काठमाडाैं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लक डाउन सकिने बित्तिकै गभर्नरकाे टुङ्गाे लाग्ने बताएका छन् । उनले हाल काेराेना भाइरसकाे कारण सरकारले लकडाउन घाेषणा गरेकाेले यसकाे समावधि सकिने बित्तिकै गभर्नरकाे विषमा निर्णय गरिने बताएका हुन् । एक सञ्चार माध्यमकाे कुराकानीमा उनले भनेका छन्, ‘अब यो लकडाउनको अवधि सकियोस्, त्यसपछि हामी गभर्नरकाे विषयमा निर्णय गर्छौँ ।’ विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला नेपाल सरकारकाे ध्यान पनि त्यसपट्टि गएकाे उनकाे भनाइ छ । अहिले अरू भन्दापनि काेराेनाकाे जाेखिम न्यूनिकरण र राेकथाममा सरकारकाे ध्यान गएकाे उनले बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण र कोरोनासँग जुध्ने सरजाम जुटाउने कार्यमा सरकार खटिरहेकाे उनकाे भनाइ छ । उनले काेराेनाका कारण नेपालकाे अर्थतन्त्रमा पनि असर पर्ने प्रष्ट पारेका छन् ।
घर फर्किदै गरेका २ सय ९८ नेपाली दशगजामा अलपत्र
काठमाडौं । स्वदेश फर्किंदै गरेका दुई सय ९८ जना नेपाली दसगजामै अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखम हुन नदिन भएको लकडाउनका कारण उनीहरु अलपत्र परेका हुन् । सङ्घीय सरकार र प्रदेश सरकारले सीमामा अलपत्र परेकालाई स्वदेश प्रवेश गराउने निर्णयसहित सबै जिल्ला प्रशासन कार्यलयमा परिपत्र गरेको भए तापनि रुपन्देही जिल्ला प्रशासन कार्यालयले तदारुकता देखाउन नसक्दा समस्या सिर्जना भएको जनाइएको छ । क्वारेन्टाइनको पर्याप्तता नहुँदा उनीहरुलाई केही समय रोक्नु परेको रुपन्देहीका प्रजिअ महादेव पन्थले बताए । उनले भने,, “ लकडाउन छ भन्ने थाहा पाउँदापाउँदै उहाँहरु आउनुभएछ तर आइसकेपछि व्यवस्थापन गर्नुपर्ने हाम्रो जिम्मेवारी हो । हामीले उहाँहरुको स्वास्थ्य जाँच गरेर, क्वारेन्टाइनको व्यवस्थापन गरेर मात्रै प्रवेशको व्यवस्था गर्दैछौँ । सङ्ख्या धेरै छ त्यसैले ढिला भएको हो ।” खुला आकाशमुनि दसगजामा बसेका नेपाली अनधिकृत रुपमा नेपाल प्रवेश नगरून् भनेर सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उनीहरुको सुरक्षा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए । उनले भने, “ आदेश आएपछि प्रवेश दिने हो । रातभरि हामी उहाँहरुकै सुरक्षाका लागि दसगजामै छौँ ।” नेपाल भारत मैत्री समाजका अध्यक्ष डा शान्तकुमार शर्माका अनुसार तीन दिनदेखि सुनौलीमा अलपत्र परेका नेपाली मङ्गलबार साँझ नेपाल प्रवेश पाउने भन्दै दसगजामा आएका थिए तर दसगजामा आउँदा उनीहरुलाई फेरि रोकियो । उहाँले भन्नुभयो, “ उनीहरुलाई भारतीय नगर पञ्चायतले खान–बस्नको व्यवस्था गरेको थियो । एक्कासि खबर पठाइएछ । अनि उनीहरु सुनौलीमा तीन दिनदेखि बस्दै आएको विद्यालय भवन छाडेर आए । यता दसगजाबाट प्रवेश दिइएन । रातभर खुल्ला आकाशमुनि बस्न बाध्य छन् ।” दसगजामा अलपत्र पर्ने विभिन्न जिल्लाको रहेको सशस्त्र प्रहरी बल डण्डाका प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिनुभयो । उनका अनुसार अर्घाखाँचीका १३३, गुल्मीका ७१, रुपन्देहीका २२, कपिलवस्तुका १०, बाँकेका आठ, धादिङका दुई, बाराका एक, प्यूठानका चार, पाल्पाका १५, तनहँुका सात, बाग्लुङका चार, चितवनका १९, नवलपरासीका एक, स्याङ्जाका एकजना रहेका छन् । रासस
सुनसान काठमाडौंका सडक (फोटोफिचर)
काठमाडौं । नेपाल सरकारले कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै गत मङ्गलवार बिहानबाट लागु हुनेगरी अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी लकडाउन गरेको छ। सरकारले चैत २५ गतेसम्मका लागि लकडाउन गरेसँगै अहिले काठमाडाैं लगायत देशैभरका सडक खाली भएका हुन् । सडकमा अत्यावश्यक सेवा बाहेका सवारी साधनहरूकाे आवगमन ठप्प छ । आज मंगलबार देशकाे राजधानी काठमाडाैंका सडक कस्ता देखिएका छन् त ? लकडाउनको सातौं दिन यस्ता देखिए काठमाडौंका सडक ।
टेलिकमले परिमार्जन गर्यो विभिन्न सेवाहरु, कसरी प्रयोग गर्ने ?
काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवाहरुमार्फत महशुल भुक्तानी तथा टपअप गर्ने व्यवस्थामा परिमार्जन गरेको छ । कम्पनीले हाल जारी रहेको लकडाउनको परिस्थितिमा ग्राहकहरुलाई सञ्चार सम्पर्कमा रहिरहन सजिलो होस् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थामा केही परिमार्जन गरेको हो । (क) मोबाइल भुक्तानी सेवा (एमपीओएस) तथा (केआईओएसके) मेसिन यस अन्तर्गत कम्पनीका आधिकारिक एमपीओएस सेवा प्रदायकहरु (जस्तैः स्टेसनरी पसल, किराना पसल, पत्रिका पसल आदि) तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआईओएसके मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ । (ख) विभिन्न भुक्तानी सेवाका एपहरु यस अन्तर्गत भुक्तानी सेवा प्रदायकहरु (जस्तैः इसेवा, खल्ती, आईएमईपे आदि) का एपहरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहज रुपमा गर्न सकिन्छ । (ग) विभिन्न बैंकका अनलाइन तथा मोबाइल बैंकिंङ सेवाहरु यसका लागि आफ्नो खाता भएका बैंकबाट अनलाइन बैंकिङ वा मोबाइल बैंकिङको सुविधा लिई सोही बैंकको वेभपेज वा मोबाइल एप प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहज रुपमा गर्न सकिन्छ । (घ) विभिन्न बैंकका भिसा/मास्टर्ड कार्डहरु चलनचल्तीको भाषामा डेविट कार्ड, क्रेडिट कार्ड वा एटीएम कार्ड भनिने यी कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न https://cardpay.ntc.net.np/ मा लगअन गर्नुपर्दछ । सो पश्चात् आफूले रिचार्ज गर्न चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्नु पर्दछ । त्यसपछि आफ्नो कार्ड नम्बर, कार्डको अवधि समाप्त हुने मिति कार्ड होल्डरको नाम र सीभीभी (अर्थात् कार्डको पछिल्लो भागमा छापिएको तीन अंक) तथा इमेल टाइप गरी ओके गर्नुपर्दछ । साथै, यस प्रक्रियामा ‘क्याप्चा’ र आफ्नो मोबाइल/इमेलमा आउने ६ अंकको कोड पनि प्रयोग गर्नुपर्दछ । माथि उल्लेख गरिएका महशुल भुक्तानी तथा टपअपका विकल्पहरुको अलावा व्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरिएको छ । हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा यूएसएसडी कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था रहेकोमा परिमार्जित व्यवस्था अनुसार एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिनेछ । यसका लागि मोबाइलबाट *422*SCode*MobileNumber*AmountInRupees# डायल गर्नु पर्दछ भने यसमा उल्लेख गरिएको एसकोड (सेक्युरिटी कोड) प्राप्त गर्न एसकोड टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्दछ । उदाहरणका लागि व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर ९८४१xxxxxx मा रु. २०० ट्रान्सफर गर्न *422*SCode*9841xxxxxx*200# डायल गर्नु पर्दछ । यूएसएसडी कोडको अलावा नेपाल टेलिकमको मोबाइल एपबाट पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । यसरी व्यालेन्स ट्रान्सफर गरेपछि रकम पठाउने र रकम प्राप्त गर्ने दुबै नम्बरमा ट्रान्सफर गरिएको रकम सहितको सन्देश १४१५ बाट एसएमएस अलर्टको रुपमा प्राप्त हुन्छ । कम्पनीका सेवाहरुको महशुल भुक्तानीका विकल्पहरु र व्यालेन्स ट्रान्सफरमा गरिएको परिमार्जनबाट कोरोना भाइरसको कारणले सिर्जित हालको विषम परिस्थितिमा पनि कम्पनीका ग्राहकवर्गलाई सञ्चारको सुविधा उपयोग गर्न सहज हुने कम्पनीको विश्वास रहेको छ ।