विकासन्युज

यी ६ स्थानमा वितरण हुँदै ग्यास

काठमाडौं । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि नेपाल ग्यास उद्योगले बुधबारदेखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्ने भएको छ । नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले काठमाडौं उपत्यकाका ६ स्थानमा ३ दिनसम्म ग्यास वितरण गरिने बताए । ‘बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण हुने छ,’ भण्डारीले भने ।  भण्डारीले ३ दिनसम्म दुई/दुई स्थानबाट ५६० वटासम्म सिलिण्डर वितरण गर्ने बताए ।

लकडाउनमा यसरी स्वस्थ राख्नुस् आफ्नो शरीर– डब्ल्यूएचओ

काठमाडौं । लकडाउनका बेला घरमै बस्दा पनि शारीरिक सक्रियता भने कायम राख्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । लामो समय बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्नेभन्दै घरभित्रै गर्न सकिने शारीरिक कसरत गर्न सङ्गठनले आग्रह गरेको हो । अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल, कम्प्युटर जस्ता बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेकोभन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घर वरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्नर स्वास्थ्यमा सुधार हुने बताएको छ । तालिका बनाएर घरमै व्यायामहरु गर्न समेत विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ । लकडाउनको समयमा घरमा भएका परिवारको साथ सक्रिय हुन र साथीहरुसँग सञ्चारका माध्ययमबाट सम्पर्कमा रहिरहन आग्रह पनि विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । यसो गरेमा शारीरिक र मानसिक दुवै स्वास्थ्य ठिक रहने बताएको छ । यो समयमा रचनात्मक काम गर्ने, नयाँ कुरा सिक्ने, कामको लक्ष्य बनाउने, घरमा बसेको बेला के गरियो भनेर समीक्षा गर्ने गर्दा मानिस दिक्क हुनबाट बच्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । लकडाउनका बेला शरीरलाई सक्रिय राख्न विश्व स्वास्थ्य सङ्गठनले दिएका सुझावहरु यस्ता छन् । –साना बच्चाहरुसगैं घर र घरको वरिपरि खेलहरु खेल्ने । –बच्चाहरुमा श्वास बढ्ने गरी वरिपरि दौडने, उफ्रने, चिप्लने जस्ता खेलहरु खेल्ने । –अनलाइनबाट शारीरिक शिक्षा लिएर उपयुक्त व्यायमहरु गर्ने । –घरमा नै उफ्रेर डोरी नाघ्ने जस्ता खेल खेल्ने । –तौल उठाउने जस्ता मांसपेशीमा बल पुग्ने खालका गतिविधिहरु गर्ने । –धेरै शारीरिक गतिविधि हुनको लागि घरको कामहरू गर्ने । –सिट अप, प्रेस अप जस्ता व्यायमहरु गर्ने । –परिवारका सदस्यहरु सहभागि भएर प्रतियोगिताकै रुपमा खेलहरु खेल्ने । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा

किन किन्यो स्वास्थ्य मन्त्रालयले ७ करोडको काम नलाग्ने र्यापिड टेष्ट किट ?

काठमाडौं । कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा मंगलबार स्वास्थ्य मन्त्रालयका अधिकारीले र्यापिड टेष्ट किट भरपर्दो नभएको भन्दै प्रयोग नर्गन आग्रह गरेका थिए । विश्व स्वास्थ्य संगठनले र्यापिड टेष्ट किट भरपर्दो नभएको भनेको हुनाले स्वास्थ्य मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले सो किट प्रयोग नर्गन आग्रह गरेका हुन् । ‘त्यो कीटको परीक्षणबाट रिजल्ट र त्यसबाट उत्पन्न हुने भम्र र क्षतिले थप समस्या ल्याउने भएकाले  विश्व स्वास्थ्य संगठन र मन्त्रालयले अनुमति नदिएको कीट प्रयोग नगर्नु होला,’ उनले भनेका थिए । तर कार्कीले प्रयोग नर्गन आग्रह गरेको उक्त किट स्वास्थ्य मन्त्रायले ७ करोडमा खरिद गरेकाे हो । मन्त्रालयले खरिद गरेका सामानको विवरणमा प्रतिपिस अमेरिकी ८ डलरको ७५ हजार पिस र्यापिड टेष्ट किट खरिद गरेको उल्लेख छ ।

कुमारी बैंकले सबै प्रदेश सरकारकाे काेषमा ७० लाख सहयोग गर्ने, गण्डकी प्रदेशलाई आजै १० लाख

काठमाडाैं । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा योगदान पुर्याएको छ । प्रत्येक प्रदेशबाट रु १० लाखको दरले बैंकले कूल रु ७० लाखको सहयोग पुर्याउने भएको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले उक्त रकम सहयोग पुर्याउने भएको हो । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा रू. १० लाखका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएको हो । सो सहयोग मार्फत कोरोना भाइरसको रोकथामका साथै न्यून आमदानी भएका अतिविपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग पुग्नेमा बैंक विश्वस्त रहेकाे छ । चैत्र १८ गते मंगलबारका दिन बैंकका गण्डकी प्रदेश प्रमुख नवीनराज पौडेलले उक्त प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई रु १० लाखको सहयोग रकम हस्तान्तरण गर्दै सहयोग प्रक्रिया शुभारम्भ गरेकाे बैंकले जनाएका छ । कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।

यस कारण बन्द गर्याे काउन्सिलले यी १७ अनलाइन (सूचिसहित)

काठमाडाैं । प्रेस काउन्सिल नेपालले गलल सूचना सम्प्रेषण गर्ने १७ अनलाइन समाचार पाेर्टललाई बन्द गरेसँगै नेपाल अनलाइन पत्रकार संघले त्यसको विरोध जनाएको छ । विश्वभर फैलिरहेकाे कोरोना  भाइरस (कोभिड–१९) संक्रमणले सबैलाई  त्रसित बनाइरहेकाे बेला ती अनलाइनले गलत सूचना प्रचार प्रसार गरेकाे भन्दै काउन्सीलले तिनीहरूलाई  बन्द गरेकाे हाे । कोरोना महामारीको अवस्थामा गलत सूचना प्रवाह गर्ने एकाध सञ्चारमाध्यमहरुका कारण पनि मानिसमा भ्रम र आतंक सिर्जना भएकाे भन्दै  उनीहरूलाई बन्द गरेकाे काउन्सिलले जनाएकाे छ । काउन्सिलकाे सिफारिसमा नेपाल दुर सञ्चार प्राधिकरणले ती अनलाइनहरू देशैभर प्रकाशन-प्रशारण हुने गरी ‘ब्लक’ गरिदिएकाे हाे । यस्तै, आधाकारिता पुष्टि नभएका र हुन नसक्ने सूचनालाई समाचारको नाम दिएर विभिन्न शीर्षकमा नागरिकसम्म पुर्‍याएर भ्रम सिर्जना गरेको आरोपमा ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई काउन्सिलले स्पष्टिकरण सोधेको छ । प्रेस काउन्सिलले पहिलो चरणमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टिकरण मात्रै सोधेको छ । सम्बन्धित निकायमा दर्ता बिना नै सञ्चालन गरेर जथाभावी भ्रम फैलाउने समाचार प्रकाशन गर्ने १७ अनलाइन सञ्चारमाध्यमहरुलाई भने बन्द (ब्लक) नै गरिएको काउन्सिलले जनाएको छ । यी हुन बन्द गरिएका अनलाइन  नेपाली अनलाइनन्यूज डटकम :  यो अनलाइनले चैत १० गते ‘वीरगञ्जमा एकजनामा देखियो कोरोना भाइरस’ शीर्षकको समाचार प्रकाशित गरेको कारण याे पनि बन्द भएकाे हाे ।  कास्कीखबर डटकम: कास्कीखबर डटकमलाई काउन्सिलले बन्द गरेको छ । यसले चैत ८ गते ‘धनुषाका जिल्लाका २ जना युवामा कोरोना भाइरस भेटियो, शेयर गरी नेपालीमाझ पुराइदिनुहोला’ शीर्षकको समाचार सम्प्रेषण गरेकाे थियाे ।  पवित्र टिभी डटकम : यो अनलाइनले फेब्रुअरी १९, मार्च १७, २४ र २७ तारिखमा ‘पत्रकारले मेयरलाई कोरोनाको बारेमा फोन गर्दा मेयरले फोन राख मु…! मा… चो…!! भनेपछि’, ‘सिराहामा ९ जना कोरोनाका बिरामी भेटिए, गाउँलेहरु आतंकित’, ‘कोरोना भाइरसको संक्रमण भइरहेकोले नेपालले चीनको बदनाम गर्‍यो’, ‘मलेसियामा लकडाउनको समयमा झन कोरोनाको डरलाग्दो रुप, १५१८ संक्रमितका साथै १४ जनाको मृत्यु’ शीर्षकमा समाचार छापेको थियाे ।  भिजिटस्टार्ट डटकम: यो अनलाइनले चैत ८ गते ‘नेपालमा कोरोना भाइरस लुकाउने कोसिस, इटालीको भन्दा भयावह अवस्था आउनसक्ने, डब्लुएचओ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियाे । न्युज ट्वेन्टीसेभेनमिडिया डटकम: यो अनलाइनले ‘दुःखद् खबर ! वीरगञ्जमा सिरहामा एकजना विरामीमा कोरोना संक्रमणको लक्षण देखियो, गाउँ नै आतंकित, सबैलाई घरबाहिर ननिस्कन आग्रह’ शीर्षकको समाचार प्रकाशन गरेको थियाे ।  मिडिया माइनेपाल डटकम: यो अनलाइनले चैत ९ गते ‘वीरगञ्जमा एकजना कोरोना संक्रमित फेला परे’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियाे  निगरानीखबर डटकम: यो अनलाइनले मार्च ४ मा ‘दार्चुलामा भेटियो कोरोना भाइरस’ शीर्षकमा समाचार छापेको थियाे । सिआइएनेपाल डटकम : यो अनलाइनले चैत १३ गते ‘डब्लुएचओको चेतावनी ः पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकिए नेपालमा महामारी’ शीर्षकको समाचार सामाग्री प्रस्तुत गरेको थियाे । हाम्रो अभियान डटकम : मिति नै उल्लेख नगरेर यो अनलाइनले ‘पत्रकार सम्मेलनमा गएका पत्रकार कोरोना संक्रमित, छोरीमा समेत पोजिटिभ’ शीर्षकमा समाचार प्रकाशन गरेको थियाे । नेपालडीप डटकम: यो अनलाइनले चैत ९ र १० गते ‘कोरोनाको मौका छोपी प्रहरी पत्रकार नै लुटपाटमा लागेपछि’, र ‘राजाको सक्रियताले प्रचण्ड चिन्तित, भने-भारतले राजालाई बुई बोक्यो’, र ‘मौसूफ नारायणहिटी सर्ने तयारी गर्नुहोस् : योगी आदित्यनाथ’, शीर्षकमा समाचार प्रकाशित गरेको थियाे ।  बीबीसीई नेपाल डटकम: यो अनलाइनले चैत १३ गते समाचार सम्प्रेषणका क्रममा ‘न्यूज २४ का दुईजना पत्रकारलाई कोरोना भाइरसको संक्रमणको पुष्टि’, ‘प्रधानमन्त्री ओलीले नेपालमा चीनको प्रभाव रोक्न, यस्तो एक्सन, बेइजिङ आत्तियो !’, ‘खुशीको खबर जापानले कोरोना भाइरसको औषधि पत्ता लगायो, ३४० बिरामीमा प्रयोग गर्दा बिरामी निको भए, पढेर शेर गरौं !’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । इन्यूज ट्वेन्टीफोर नेपाल डटकम : यो अनलाइनले १९ मार्चमा ‘खुशीको खबर : कोरोनाबारे नयाँ तथ्य पत्ता लगाए वैज्ञानिकले !’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियाे ।  ललितपुरखबर डटकम : यो अनलाइनले चैत ११ गते ‘चितवनमा मृत यादवलाई कोरोना भएको रिपोर्ट’ शीर्षकमा समाचार छापेको थियाे । एचखबर डटकम : यो अनलाइनले मिति नै उल्लेख नगरेर ‘थपिने भयो लकडाउनको अवधि, १८ गते नखुल्ने, सरकारको यस्तो निर्देशन, अब कहिले खुल्छ’, ‘खुशीको खबर सक्दो सेयर गर्नुस्, एक नेपालीले कोरोना भाइरसको औषधि पत्ता लगाएको दाबी’, ‘खुशीको खबर फ्रान्सबाट फर्केकी नेपाली युवती निको भएर डिस्चार्ज’ भन्ने समाचार प्रकाशित गरेको छ । यसमा शीर्षक एउटा, तस्बीर प्रधानमन्त्री केपी शर्मा ओलीको राखिएको थियाे । साथै यो अनलाइनले ‘विश्वकै सबैभन्दा सानो गौमाता, शेयर गरी पुण्य कमाउनुहोस्’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियाे । 

कोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रले २ करोड रुपैयाँ दिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कारोना रोकथाम कोषमा २ करोड रुपैयाँ दिने भएका छन् । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा शाहले उक्त रकम सहयोग गर्ने भएका हुन् । शाहले मंगलबार एक सूचनामार्फत बुहारी हिमानी शाहाको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारलाई दिने घोषणा गरेका हुन् ।

भावनाले सबै कुरा चल्दैन, जो जहाँ छन्, त्यहीँ रहनुपर्छ – उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमारनाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् । कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको सीमानाका बन्द भएको बेला नेपाल फर्कन खोजेका नेपाली नागरिकको सङ्ख्या दशगजा क्षेत्रमा देखिएको बेला नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भावनात्मक कुराका आधारमा मात्रै विपत्तिसँग जुध्न नसकिने बताए । कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका मन्त्री पोखरेलले सीमाना बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । “भारतका विभिन्न स्थानमा रोजगारी तथा अन्य सिलसिलामा पुगेका नेपाली नागरिक देश फिर्ताको माग गर्दै आएका छन् । केही नेपाली पौडेर महाकाली नदीसमेत पार गरेर आएका छन् । त्यसबाट कोरोनाको सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर जो जहाँ छन्, त्यहीँ राख्ने गरी व्यवस्था गरिएको हो”, मन्त्री पोखरेलको भनाइ छ । उनले भने, “भावनात्मक हिसाबले त उहाँहरुलाई फर्कन दिनुुपर्छ भन्ने कुरा स्वभाविक नै हो, तर यो भावना भन्दा परेको विषय हो । विपद्मा जो जहाँ छौँ, त्यहीँ बसौँ ।” भारतीय सीमाभित्र रहेका नेपालीको व्यवस्थापन भारतले गर्ने र नेपालमा रहेका भारतीय नागरिकको व्यवस्थापन नेपालले गर्ने नै तत्कालको लागि सबैभन्दा उत्तम विकल्प भएको बताए । विशेष गरी दार्चुलाको सीमापारि धार्चुला र कैलालीको नेपाल भारत सीमा क्षेत्रमा केही नेपाली जम्मा भई बसेका छन् । जोखिमपूर्ण वा सङ्कटको समयमा विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलले समेत जो जहाँ छन्, त्यही सुरक्षित राख्ने वा रहन दिने भनेको छ । उनले कोरोनाको परीक्षण, रोकथाम तथा अन्य व्यवस्थाका लागि सरकारले जुनसुकै खालको पनि प्रयत्न गर्ने र त्यसमा साथ सहयोग नेपाली नागरिक तथा सम्बद्ध सरोकार भएका सबै क्षेत्र र निकायको रहनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । चीनबाट ल्याइएका मेडिकल सामग्री तथा अन्य उपकरणका विषयमा अनावश्यक हल्ला चलाइएको भन्दै उपप्रधानमन्त्री पोखरेलले जोसुकै व्यापारी तथा सामान आयतकर्तालाई पनि सामान ल्याउन आग्रह गर्दासमेत नमानेका कारण छोटो बाटो अपनाउनुपरेको जानकारी दिए । विपद्को समयमा सबैका साथ सहयोग जरुरी रहेको भन्दै अनावश्यक हल्ला, टीका टिप्पणीले यस्तो समयमा काम नगर्ने उनको कथन छ । सरकारले आवश्यक परेको खण्डमा जुनसुकै देशबाट पनि ‘जि टु जि’ अवधारणमा सामान आयात गर्न सक्ने स्पष्ट पारे । उनले भने, “सरकार नागरिकको अभिभावक पनि हो । आवश्यक पर्दा विषम परिस्थितिमा विषम निर्णय पनि लिन्छ । त्यसका लागि सरकार तयार छ ।” उनले निजी अस्पताल र मेडिकल कलेजले समेत सरकारलाई साथ दिने र सहयोग गर्ने बताएको र एकाधले केही कमजोरी गरेको भए पनि सरकारको आग्रहलाई स्वीकार गर्ने विश्वास व्यक्त गरे । लकडाउनको समयमा सबै नेपाली नागरिक इमान्दार भएर घर तथा आफ्नै निवासमा रहेर देश र आफ्नैसमेत सुरक्षा गर्नुपर्ने उनको भनाइ छ । उनले विपद् समग्र मानव सभ्यता र संस्कृतिविरुद्धको प्रहार भएकाले यसमा सबैको उत्तिकै साथ र सहयोग रहनुपर्नेमा उपप्रधानमन्त्री पोखरेलले जोड दिए । आइतबारको मन्त्रिपरिषद् बैठकले दैनिक ज्यालादारी तथा श्रमिक वर्गका लागि विशेष राहत प्याकेज ल्याएको र त्यसको व्यावहारिक कार्यान्वयन गरिने भएकाले त्यस्ता व्यक्ति वा वर्गलाई नआत्तिनसमेत उपप्रधानमन्त्रीले आग्रह गरे । स्थानीय तहले नै कम आय भएका, ज्यालादारी तथा श्रमिक चिन्ने भएकाले विधिअनुसार नै उनीहरुले राहत पाउने र सरकारले उपलब्ध गराउने दृढता व्यक्त गरे । उपप्रधानमन्त्रीले सरकारले गरेका हरेक निर्णय नेपाल र नेपाली जनताको हितलाई केन्दमा राखेर भएकाले कुनै दुविधा नराख्न र गलत मनसाय राख्नेले चलाएको हल्लामा नलाग्नसमेत आग्रह गरेका छन् । रासस

सेलवेज ग्रुपले कोरोना रोकथामको लागि दियो २५ लाख रुपैयाँ

काठमाडौं । सेल्सबेरी ब्राण्डबाट सुपर मार्केट सञ्चालन गरिरहेको सेलवेज ग्रुपले कोरोना रोकथाम कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको हो । कम्पनीले विगत २९ वर्ष देखि अनवरत रूपमा सेल्सबेरी ब्राण्डबाट सुपर मार्केट सञ्चालन गरिरहेको छ ।