विकासन्युज

बीमा कम्पनीका प्रमुखले नै पाएनन् पास, समिति भन्छः पहल गर्दैछौं

काठमाडौं । अत्यावश्यक सेवाभित्र परेको बीमा सेवा प्रदायक संस्थाका प्रमुखले नै लकडाउनको समयमा सवारी साधन चलाउने पास पाएका छैनन् । पास पाउँन नसक्दा आफ्ना महत्वपूर्ण काम अघि बढ्न समस्या भएको कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुका लागि पासको पहल गरेपनि अझै पाउन नसकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विरेन्द्र बैद्यवारले अत्यावश्यक सेवामा पर्ने भएकाले आफूहरु सेवा रोक्न पनि नसक्ने र सरकारले प्रशासनले पास उपलब्ध नगराएको कारण सेवा सुचारु गर्न पनि नसकिने अवस्था पुगेको बताए । ‘कम्पनीका प्रमुख, आईटी सम्बन्धित कर्मचारी तथा महत्वपूर्ण विभागका कर्मचारीको लागि सवारी पासको व्यवस्था हुनुपर्छ, अनलाईनबाट सेवा प्रदान गर्न पनि केही प्राविधिक समस्या आए समाधानको लागि यस्ता कर्मचारीले पास नपाउँदा समस्या भएको छ,’ प्रमुख कार्यकारी अधिकृत बैद्यवारले भने । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमा समितिले पहल गरेको भएपनि अझै पास पाउन नसकिएको जानकारी दिए । ‘बीमा समितिले सहजीकरणको प्रयास गरिरहेको छ, तर कहिले सिडीओ कार्यालय केहिले कहाँ जानु भनेर अनावश्यक दुःख दिने काम भएको छ, हामीले सहज रुपमा पास पाउन सकेका छैनौं,’ प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने । सरकारी लगानी पनि रहेको राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले पनि आफूले पास नपाएको गुनासो गरे । ‘अहिले मसँग पास छैन, हिजोसम्मको लागि त अर्कै पासले काम गरिरहेको थियो, लकडाउनको अवधि थप भएपछि मात्रै पास अभाव भएको हो, कसले पास दिने भन्ने यकिन नभएकोले पनि समस्या परेको छ,ङ पाठकले भने । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले पास पाउँन कठिन भएको तथा राष्ट्र बैकले आफूहरुलाई समन्वय नगरेको बताए । सिडीओ कार्यालयले राष्ट्र बैंकमा गएर पास लिनु भन्छ, राष्ट्र बैंक बीमा कम्पनीहरुलाई पास दिने हाम्रो काम होइन, बीमा समितिमा जानु भन्छ, यस्तो हुँदा हामीलाई समस्या भएको छ,’ प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । बीमा समिति भन्छः पहल गर्दैछौं बीमा समितिले अहिलेको परिस्थिति अन्य बेलाको भन्दा फरक रहेकोले परिस्थिति बुझेर संयम हुन आग्रह गरेको छ । तर, बीमा व्यवसाय पनि अत्यावश्यक सेवाभित्र पर्ने भएकोले पासको लागि आवश्यक पहल भइरहेको समितिका अध्यक्ष चिरन्जीवी चापागाँईंले बताए । ‘बीमा सेवा पनि अत्यावश्यक सेवाभित्र परेकोले यो सेवा निर्वाध चलाउन आवश्यक समन्वय गरिरहेका छौं, अहिलेको परिस्थिति नै बेग्लै प्रकारको भएको कुरा सबैले बुझेकै छन्, तर पनि समितिको तर्फबाट गर्नुपर्ने आवश्यक पहल हामीले गरिरहेका छौं,’ अध्यक्ष चापागाँईंले भने । उनले पास नपाउँन्जेल घरबाटै काम गर्नुपर्ने तथा पाउँने वित्तीकै कम्पनीमा आएर सेवा सुचारु गर्नुपर्ने बताए ।

सनराइज बैंकले गर्याे सैनिक स्वास्थ्य महानिर्देशनालयलाई पिपिई सहयोग जारी

काठमाडौं । सनराइज बैंकले सैनिक स्वास्थ्य महानिर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिइ) दिएको छ । मंगलबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) सैनिक स्वास्थ्य महा निर्देशनालयका महानिर्देशक, सहायक रथी डा. नगेन्द्र के.सीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत नेपाल सैनिकले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताएको छ । सोही कार्यक्रममा महानिर्देशक, सहायक रथी डा.नगेन्द्र के.सीले सनराइज बैंकद्घारा निभाएको सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो भूमिका एकदम सराहनीय रहेको र यस्तो भूमिकाले सनराइज बैंक अझै माथि पुग्ने जानकारी दिए । साथै प्रमुख कार्यकारी अधिकृत पौड्यालले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग आग्रह गरेको छ । बैंकका ग्राहकलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन गर्न बैंकले थुपै्र योजना ल्याएको जनाएको छ ।

नेपाल भ्रमण वर्षकाे सचिवालय विघटन, संयाेजक बैद्यकाे पदपनि सकियाे

नेपाल सरकारले  नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेसँगै भ्रमण वर्ष सचिवालय पनि अब बिघटन हुने भएकाे छ । केशरमहलस्थित सचिवालयसमेत १ वैशाख २०७७बाट विघटन हुने भएको हाे । याे सँगै संयाेजक सुरज बैद्यसँगै समितिका पदाधिकारीहरूकाे पदपनि सकिने छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित भएको हो ।नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएकाे छ । सरकारले यस वर्ष ६५ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्षको घोषणा गरेको थियो । १ जनवरीमा धुमधामका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ भएको थियो । अब सरकार भ्रमण दशककाे तयारीमा छ ।

काेराेना राेकथाम गर्न केन्द्र र प्रदेश सरकारलाई नेपाल बैंककाे १ कराेड ३५ लाख सहयाेग

काठमाडाैं । नेपाल बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारहरूलाई ३५ लाख रुपैयाँ सहयाेग गर्ने भएको छ । बैंकले प्रत्येक प्रदेशलाई ५/५ लाखका दरले ३५ लाख रूपैयाँ सहयोग गर्ने जनाएकाे छ । बैंकले प्रत्येक प्रदेशसँग हातेमालो गर्न र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  सो रकम सहयोग गर्ने निर्णय गरेको बताइएको छ । अहिले विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे संक्रमण बढिरहेकाे समयमा विभिन्न संस्थाहरूले सरकारलाई सहयाेग गरिरहेका छन् । यसअघि बैंकले संघीय सरकारले स्थापना गरेकाे काेराेना संक्रमण नियन्त्रण, राेकथाम तथा उपचार काेषमा १ कराेड रूपैयाँ सहयाेग गरेकाे थियाे । बैंकले संघीय सरकार र प्रदेश सरकार सबैलाई गरी १ कराेड ३५ लाख रूपैयाँ सहयाेग गरेकाे हाे ।

उपत्यकामा खानेपानीको अभाव कम, घर घरमै पानी पुर्याउँदै केयुकेएल

काठमाडाैं । यो महिना वर्षको सबैभन्दा कम पानी उत्पादन हुने महिना भए पनि काठमाडौं उपत्यकामा खानेपानीको अभाव यो वर्ष अघिल्ला वर्षहरुमा भन्दा कम भएको छ । कोभिड-१९ को त्रासका कारण सरकारले ‘लकडाउन’ घोषणा गर्नु पहिले नै धेरैले उपत्यका छाडेकाले यो वर्ष पानीको अभाव कम भएको हो । काठमाडौँ उपत्यकामा हालको स्रोतले वर्षामा समेत मागअनुसार पानी वितरण हुन सक्दैन । चैत, वैशाखको महिना वर्षभरमै सबैभन्दा कम पानी हुने महिना भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । लिमिटेडले हाल क्षमतानुसार पानी वितरण गरिरहेको प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । भूकम्पका समयमा घरभित्र जान त्रासका कारण ट्याङकरबाटै बढी पानी वितरण गरिएकामा लिमिटेडले अहिले भने घरमै पानी पुर्याउन लागिपरेको छ । लिमिटेडले सार्वजनिक ट्याङ्कीबाट पनि पानी ग्राहकका घर घरमा जाने पाइपमै पठाउने गरेको छ । उनले भने, ‘सार्वजनिक धारामा मानिसको भीडभाड हुनसक्ने भएकाले हामीले सकेसम्म बढी पानी घर घरमै पठाइरहेका छौँ ।’ कर्मचारीलाई आवश्यक सावधानी अपनाएर फिल्डमा काम गरिरहेको उनले बताए । कर्मचारी फिल्डमा जान जोखिमपूर्ण भएकाले उपलब्ध भएसम्ममा सुरक्षा सामग्री दिइएको उनले बताए । उनले भने, ‘हामीले मास्क र पञ्जा र सेनिटाइजर दिए पनि एप्रोन दिन सकिएको छैन ।’ काठमाडौँ उपत्यकामा अहिलेको अवस्थामा सुख्खा मौसममा दैनिक नौ करोड लिटर पानी लिमिटेडले वितरण गर्दै आएको छ ।

कोरोनाको त्रासमा अस्पतालहरुले कुनै पनि ईमजेन्सी सेवा नरोकौं: प्रवक्ता डा. विकास देवकोटा

काठमाडौं । कोरोनाको त्रासमा अस्पतालहरुलाई अन्य ईमजेन्सी सेवा नरोक्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको त्रासमा अन्य अत्यावश्यक सेवाहरु बन्द नर्गन अस्पतालहरुलाई आग्रह गरेका छन् । कोभिड १९ सम्बन्धीको नियमित ब्रिफिङमा देवकोटाले विभिन्न अस्पतालले बिरामीहरुलाई कोरोनाको त्रासमा उपचार गर्न नमानेक कुराहरु बाहिर आएको र आगामी दिनमा यस्ता कार्य फेरि नदोरिहने आशा गरेको बताएका छन । कोभिड १९ बाहेको अन्य रोगमा पनि ज्वारो आउने र समयमा उपचार नपाउँदा बिरामीले अकालमै ज्यानु गुमाउनु पनि सक्ने हुनाले यस्तो कार्य नगरदिन उनले बताए । यदि कोरोनाको लक्षण देखाएका बिरामी छन् भने उनीहरुलाई एउटा सर्जिकल गाउन, मास्क र पन्जा लगाएर पनि पुग्ने मन्त्रालयका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले बताए । उनी भन्छन्,‘सबै कोरोनाको काराण बिरामी भएको त्रास मुक्ति गराउन जरुरी छ।’

सर्वोच्चको आदेश: निजी अस्पतालले कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाऊ

काठमाडौं । सर्वोच्च अदालतले कुनै पनि निजी अस्पतालले कोरोनाका बिरामीको उपचारबाट पन्छिन नपाउने गरी अन्तरिम आदेश गरेको छ । सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको हो । अदालतले मंगलबार आदेश जारी गर्दै कुनैपनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै उपचार गर्ने व्यवस्था मिलाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसमेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो ।

कुन उमेर समूहलाई कोरोना बढी जोखिम हुन्छ? यस्तो भन्छ चीनले गरकाे नयाँ अध्ययन

काठमाडाैं । चीनले काेराेना भाइरस (काेभिड-१९) सम्बन्धि एउटा नयाँ अध्ययन गरेकाे छ । याे अध्ययनका अनुसार ५० वर्षभन्दामाथि भएकाहरूलाई कोरोना बढी जोखिम हुने निश्कर्ष निकालेकाे हाे । सो  अध्ययनले संक्रमितहरुमा मृत्युदर १.३८ प्रतिशत रहेको देखाएको छ। यसअघि नै उमेर बढ्दै जाँदा कोरोना संक्रमितको मृत्यु दर पनि बढ्ने देखिएको थियो। तर, त्यसको व्यवस्थित विश्लेषण भएको थिएन। यो अध्ययनले १० वर्षमुनिका बालबालिकामा मृत्युदर ०.००१६ प्रतिशत मात्र रहने देखिएको छ भने ८० वर्षमाथि मृत्युदर ७.८ प्रतिशत पुग्ने देखिएको छ। अध्ययनअनुसार १० देखि १९ वर्षबीचका संक्रमितमध्ये ०.०४ लाई मात्र अस्पताल भर्नाको आवश्यकता पर्छ। ४० देखि ५० वर्षबीचका संक्रमितमध्ये ४ प्रतिशतलाई अस्पताल भर्नापर्ने आवश्यकता देखियो। तर, ५० नाघ्नेबित्तिकै यो संख्यामा नाटकीय वृद्धि देखिएको छ। ५० देखि ६० वर्षबीचका संक्रमितमध्ये ८ प्रतिशतलाई अस्पतालको उपचार आवश्यक पर्छ। यो अध्ययन चीनमा संक्रमण पुष्टि भएका ७० हजार १ सय १७ तथा वुहानबाट फिर्ता लगिएका ६ सय ८९ जना संक्रमितको तथ्यांक विश्लेषणमा आधारित छ। एजेन्सी याे अध्ययन हेर्न यहाँ थिच्नुहाेस् ः