विकासन्युज

को हुन् छैटौं कोरोना संक्रमित महिला ?

काठमाडौं । नेपालमा पुनः एक जनामा कोरोना संक्रमण देखिएको छ । काेभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण नेपालमा देखिएको बताएका हुन् । कतार एयरवेयजबाट चैत ४ गते आएकी ती संक्रमित ६५ वर्षीय महिला हुन् । उनी बाग्लुङकी रहेको मन्त्रालयले बताएको छ । उनी चैत ४ गते कतार एयरवेयजको क्युआर ६५२ नम्बरको फ्लाइटबाट काठमाडौं आएकी थिइन् । यसअघि सो फ्लाइटबाट आएका दुईजनामा कोरोना पोजेटिभ देखिएको थियो । यसअघिका दाेस्राे र पाँचाैं सक्रमित पनि त्यही क्युआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएका थिए । अब संक्रमितहरूमा ३ युवती र ३ पुरूष रहेका छन् । दोस्रो व्यक्तिलाई नेपाल आएको छैटौं दिनमा कोरोना भएको पुष्टि भएको थियो भने पाँचौंलाई ११ औं दिनमा र छैटौंलाई १६ औं दिनमा कोरोना भएको पुष्टि भएको हो । तेस्रो काेराेना संक्रमित धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ‘आज एउटा पोजिटिभ देखिएको छ, यसको विस्तृत विवरण आउन बाँकी छ, हाम्रो ट्रेसिङको काम गर्ने टोलीलाई र सम्बन्धित चिकित्सकहरुलाई यो कुरा जानकारी गराइएको छ’, प्रवक्ता डा. देवकोटाले भने । ‘उहाँहरुले केस पोजेटिभ आएपछि गर्नुपर्ने कार्य गर्न थाल्नुभएको छ। यो पोजेटिभ केसबारे अहिलेलाई योभन्दा बढी जानकारी छैन,’ उनले भने । मन्त्रालयले ती महिलामा संक्रमण भेटिएको पुष्टि गरे पनि यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने यस विषयमा आफूहरुलाई कुनै जानकारी नभएको बताए। सम्बन्धित समाचारः नेपालमा फेरि एक जनामा देखियाे काेराेना, पुगे छ जना संक्रमित नेपालमा थप एक जनामा देखियाे काेराेना, संक्रमितकाे संख्या ३ पुग्याे नेपालमा एक जनालाई देखियो कोरोना धनगढीमा भेटियो चौथो कोरोना संक्रमित बिरामी

राष्ट्रिय बीमा कम्पनीले पनि कोरोना रोकथाम कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले विश्वमा फैलिएको कोरोना संक्रमणको पूर्व तयारी स्वरुप नेपाल सरकारले अपनाएको सुरक्षा कोषमा सहयोग गरेको हो । अहिले ३ वटै तहका सरकारले कोरोना भाइसरको रोकथामकोलागि काम गरि रहेको अवस्था छ । नेपाल सरकाको निती बमोजिम काम गर्न सरकारकै स्वामित्वमा रहेको बीमा कम्पनीले सहयोग गर्नु अपरिहार्य ठानेको जनाएको छ । बीमा कम्पनीले कोरोना रोकथाम कोषमा १ करोड ६५ लाख रुपैयाँ र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोषहरुमा प्रदेश सरकारलाई ५ लाख रुपैयाँको दरले ३५ लाख रुपैयाँ सहयोग गरेको हो । उक्त सहयोग सम्बन्धि निर्णय बीमा कम्पनीको संचालक समितिले चैत्र २० गते बिहिबार गरेको प्रेस विज्ञप्तिमा उल्लेखित छ ।  

मुख्यमन्त्रीलाई माक्स लाउनै आउँदैन !

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९)को सन्त्रास छ । त्यो त्रासबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाल सरकारले कोरोना भाइरसको रोकथाम तथा जोखिम न्युनिकरणका लागि विभिन्न प्रयासहरु गरिरहेको छ । त्यो प्रयास केन्द्रदेखि प्रदेश र स्थानिय तहसम्म पुगेको छ । आम नागरिकहरु यसको सावधानी अपनाइरहेका छन् । सरकारले लक डाउन घोषणा गरेको छ । सबै नागरिक घरभित्रै बसेका छन् । प्रदेशका मुख्यमन्त्री, मन्त्रीलगायत सरकारका उच्च पदस्थ कर्मचारीहरू  विभिन्न क्षेत्र तथा ठाउँमा गएर नागरिकहरुलाई कोरोना सम्बन्धि सचेतना तथा सल्लाह सुझाव पनि दिइरहेका छन् । नेपाल सरकारले कोरोना भाइरसको रोकथाम तथा जोखिम न्युनिकरणका लागि कोरोनाविरुद्दको कोष पनि स्थापना गरेको छ । यो कार्य संघले मात्र होइन सातवटै प्रदेशले शुरु गरेका छन् । सातै प्रदेशले कोरोना भाइरसको जोखिम कम गर्नका लागि स्थापना गरेको कोषमा सहयोग गर्नेहरु संख्या पनि बढ्दै गएको छ । अहिले विभिन्न संघ संस्थाहरु र व्यक्तिहरुले पनि सहयोग गरिरहेका छन् । पछिल्लो समय सातै प्रदेशका मुख्यमन्त्रीहरु त्याे सहयोग थाप्न व्यस्त छन् । सहयोग थाप मात्र होइन उनीहरु कोरोनाको जोखिम कम गर्न विभिन्न ठाउँमा गएर नागरिकहरुलाई सचेतना सम्बन्धि सुझाव सल्लाह पनि दिइरहेका छन् । यसमा उनीहरुको प्रयास र सक्रियता अथक र अतुलनीय छ । कोरोनासँग लड्नको लागि विभिन्न सामाजिक संघ संस्था र व्यक्तिहरुको योगदान र भूमिका चित्रण गरि नसक्नु छ । उनीहरुले कोरोना भाइरससँग जुध्ने र यसको सावधानी अपनाउनका लागि विभिन्न उपायहरु बताउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनले पनि मानिसहरुलाई पटक–पटक हात धुन र पुरै मुख छोपिने गरी माक्सको प्रयोग गर्न आम नागरिक सबैमा अनुरोध गर्दै आएको छ । तर, यसकै सल्लाह सुझावलाई अवलम्बन गर्दै आम नागरिकलाई सचेतना गर्न हिडेका र प्रदेशको अभिभावकत्व भूमिका निर्वाह गरिरहेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको माक्स लगाउने तरिका भने हास्याँस्पद देखिन्छ । भलै उनीहरुले एक पटक मात्र त्यसरी माक्स लगाएका होलान् । तर, कोरोनाले एकछिनको लागि छुट है भनेर सर्नबाट पछि हट्छ र ? अब चित्रण गरौं सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको माक्स लगाउने तरिकाको । माक्स तल झारेर सहयाेग बुझ्दै प्रदेश एकका मख्यमन्त्री शेरधन राई । यो प्रदेश एकका मुख्यमन्त्री शेरधन राईको तस्वीर हाे । उनी एक बैंका कर्मचारीसँग तस्वीरमा छन् । त्यो तस्वीरलाई हामी सहज अनुमान गर्न सक्छौं कि त्यो तस्वीर प्रदेशले कोरोना भाइरसको जोखिम न्युनिकरुणका लागि स्थापना गरेको कोषमा सहयोग गर्ने बैंकका कर्मचारीसँगको हो । दुबै जनाले माक्स लगाएका छन् । तर, दुवै जनाले माक्स नाकभन्दा तल अर्थात चिउँडोमा राखेका छन् । अनुमान गरौं कि ती मुख्यमन्त्री राईले तस्वीर खिचाउँनका लागि मात्रै त्यो माक्स तल झारेका हाेलान । के तस्वीर खिचाउनका लागि भनेर कोरोनाले छुट दिन्छ र ? त्यतिखेर नजिकै कोरोना लागेको व्यक्ति छ भने कोरोना सर्न सक्दैन ? सहयोगको चेक थाप्दै प्रदेश दुईका मुख्यमन्त्री लालबाबु पण्डित ।  यो तस्वीर प्रदेश दुईका मुख्यमन्त्री लालबाबु पण्डितको हाे । उनीसँगै अन्य दुई चार जना व्यक्तिहरू छन् । यो तस्वीरमा पनि प्रदेश एककै जस्तो सहयोग लेनदेन भइरहेको छ । ती तस्वीरमा रहेका सबैले माक्स प्रयोग गरेका छन् । अझ मुख्यमन्त्री लालबाबु पण्डितले त एन ९५ माक्सको प्रयोग गरेका छन् । जुन कोरोना भाइरस नसर्नको लागि सुरक्षित मान्ने गरिएको छ । तस्वीरमा रहेका सबैको माक्स लगाउने तरिका राम्रै छ । उनीहरुले चिकित्सकहरुले भेन जसरी नै माक्सको प्रायोग गरेका छन् । तर मुख्यमन्त्रीले भने माक्स तल झार्दै तस्वीर खिचाइरहेका छन् । के उनको माक्सदेखि डराएर कोरोना उनी नजिक नआउला त ? माक्सबिना नै सहयाेग थाप्दै बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणी पाैडेल । यो तस्वीर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको हो । तस्वीरमा उनी पनि सहयोग थापिरहेका छन् । तस्वीरमा देखिएका सहयोगदाता निकै सुरक्षित देखिन्छन् । तर, मुख्यमन्त्री पौडेल भने बिना माक्स सहयोग थापिरहेका छन् । तस्वीर उनकै कार्यकक्षको जस्तो देखिन्छ । मानौं उनी कार्य कक्षमै भएपनि उनी सार्वजनिक मान्छे हुन् । उनलाई कोरोनाको डर नभएपनि उनले सर्वसाधारणका लागि भएपनि माक्सको लगाइदिनु पर्छ । सर्वसाधारणलाई माक्स लगाऊ, पटक पटक हात धौ भनेर निर्देशन दिने मुख्यमन्त्रीले माक्सको प्रयोग गर्नु पर्दैन ? माक्स तल झारेर सहयाेग थाप्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको तस्वीरु पनि ऋन्यको भन्दा फरक छैन । उनी पनि कार्यकक्षमै सहयोग थापिरहेका छन् । उनीसँगैका सहयोगदाताहरुले पनि माक्सको त प्रयोग गरेका छन् । तर, सबैले तल झारेका छन् । ती चार/पाँच जनामध्ये एकजनामा कोरोना यदि भएको भए कोरोनाको संक्रमण विस्तारको अवस्था के होला ?  माक्स तल झारेर नै सहयाेग थाप्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पाेखरेल । यी हुन् प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल । यिनको तस्वीर पनि अरुको भन्दा कम छैन । बरु उनलाई सहयोग गर्ने मान्छे राम्रो सचेत भएको तस्वीरले प्रष्ट्याउँछ । तर, उनी भने निडरले माक्स तल झारेर तस्वीर खिचाइरहेका छन् । कि मुख्यमन्त्री सम्झेर नै कोरोना डराउँछ ? हुन, सक्दैन विदेशमा मन्त्रीदेखि उच्च पदस्थका व्यक्तिहरुलाई कोरोनाको संक्रमण भएका समाचारहरु हामीले नै पढेका र सुनेका छौं । माक्सबिनै अनुगमनमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । यी हुन् कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तस्वीरमा उनी एक हेल्थ डेस्क अर्थात ज्वरो नाप्ने ठाउँमा अनुगमनमा पुगेको जनाउँछ । तर, यसरी बढी संक्रमणको आशंकामा रहेर ज्वरो नाप्ने ठाउँमा गएका मुख्यमन्त्री शाही बिना माक्समा छन् । मानौं उनी कोरोनादेखि डराउँदैनन् । तर, आम सर्वसाधारणले उनीबाट के सिक्ने ? के कर्णालीमा कोरोना पुगेको छैन भनेर मुख्यमन्त्री शाहीले तस्वीरबाट देखाउन खोजेका हुन् । जम्बाे टाेली र सामाजिक विकास मन्त्रीसहित अनुगमनमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलाेचन भट्ट । मन्त्री सुवेदी र भट्ट दुवैले माक्स तल झारेका छन् । अब सुदूरपश्चिमको कूरा गरौं । तस्वीरमा सुदूरपश्चिमका मुुख्यम्नत्रीसहहितको जम्बो टोली छ । सरकारले एक व्यक्ति अर्को व्यक्तिभन्दा एक दुई मिटर टाढा बस्नुस् भन्छ । यो टोलीले भने त्यो कूरा बिर्सेको तस्वीरबाट प्रस्ट पार्छ । अनि माक्स तल झारेर निरिक्षणमा हिँडेका छन् । आम सर्वसाधारणको सचेतनाका लागि फिल्डमा हिडेका उच्च र पदस्थ व्यक्तिहरुले माक्सको सही प्रयोग गर्नु पर्दैन ? अझ त्यो तस्वीरमा अर्को रोचक कूरा त के छ भने मुख्यमन्त्री भट्ट र प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी बाहेका अरुले माक्सको सही प्रयोग गरेका छन् भने उनीहरु दुवै जनाले माक्सको दुरुपयोग अर्थात माक्स लगाउन जानेका छैनन् । के उच्च पदस्थ व्यक्ती देख्ने बित्तिकै कोरोना भाइरस डराउँछ र ? देश सर्वसाधारणका लागि खटिरहेका सातै प्रदेशका मुख्यमन्त्रीको खटाई र कामको हामी सह्राना गर्दछौं । तर, सचेतना जोगाउन र सल्लाह सुझाव दिन नागरिक सम्म पुग्ने यी मुख्यमन्त्रीहरुको माक्स लगाउने तरिकाबाट आम सर्वसाधारण नागरिकले के सिक्ने ?

एकजना पनि विरामी नभेटिएको भन्दै, उत्तर कोरियाले गर्याे कोरोना भाइरस फ्रि भएको घोषणा

सोल । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको हो । उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले सो जानकारी दिँदै आजसम्म कोही पनि यसका सङ्क्रमित नभेटिएको बताएका हुन् । तर पनि उत्तर कोरियाले आफ्नो देशमा यसका विरामीहरु भेटिएपनि बाहिर नभनेको बताउने गरेका छन् । यसका कारण उत्तर कोरियाको आलोचना पनि हुने गरेको बताइएको छ । तर उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ । उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो सङ्क्रमणबाट बच्न सफल भएको बताए । उनले आफ्नो देशमा सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको जानकारी दिए । तर दक्षिण कोरियामा रहेका एकजना अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले भने आफूले उत्तर कोरियामा कोरोना भाइरसको एक विरामी भएको थाहा पाएको बताएका छन् । गत महिना आफूले यस्तो समाचार थाहा पाएको उनको भनाई थियो । दक्षिण कोरियासँगको सीमा क्षेत्रमा यसका एकजना संक्रमित रहेको आफूले थाहा पाएको उनले बताएका थिए । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘उत्तर कोरियामा केही न केही भएको’ बताए । उनले उत्तर कोरियालाई यस्तो महामारीका विरुद्धमा मिलेर लड्न र आवश्यक परे अमेरिकी सहयोग लिन एक पत्र पठाएको थियो । तर त्यस विषयमा उत्तर कोरियाको जवाफ भने नआएको अधिकारीहरु बताउँछन् । रासस/एएफपी

प्रधानमन्त्रीलाई प्रतिपक्षी प्रवक्ताको पत्र: ‘समाधान कोरौं समाधी नखनौं’

सम्माननिय प्रधानमन्त्रीज्यु, सर्वप्रथम यहाँको उच्च मनोबलको प्रशंसा गर्दै सिध्र स्वास्थलाभ कामना गर्दछु । विश्वब्यापी रूपमा फैलिएको कोरोनाको जोखिमसंग जुध्न यतिबेला अन्य सबै राजनैतिक विमती थाती राखेर हामी यहाँको साथमा उभिएका छौं र ‘सरकारमा संगै नरहेर पनि संगै लड्न सकिन्छ’ भन्ने संस्कार साथ यो संकटको घडी सरकारलाई साथ दिन सबै दल,संस्था र समुदायलाई अपील गरिरहेका छौं । प्रतिपक्षले सरकारलाई साथ दिनु भनेको म प्रस्ट्याउन चाहन्छु । ढिलासुस्ती, लापरबाही,अनियमितता र भ्रष्टाचारलाईपनी समर्थन गर्नु चाहिँ होइन । बरु सबै कमजोरीबारे प्रश्न उठाएर, तिनको निदान खोज्न घच्घच्याएर फेरिपनी सघाउनु संकटमुक्ती प्रतिको इमानदारीता हो । हाम्रो आग्रह छ यो प्रकरणमा चिनको सफलता एवं इटली र स्पेनको भयावह स्थितिबाट गहिरो शिक्षा लिउं । हामी थप चुक्यौं भने भीषण स्थिति ब्यहोर्नेछौं ,सहि ढंगले जुट्यौं भने नेपाल र नेपालीको रक्षा गर्न समर्थ हुनेछौं l थोकमा मृत्यु हेर्ने  कि एकएकलाई जोगाउने ? यो यक्ष प्रश्न इतिहासकै सबैभन्दा  गम्भीर प्रश्न बन्न पुगेको छ । प्रधानमन्त्रीज्यु, उपप्रधानमन्त्रीको नेतृत्वमा जारी अभियानले यथासक्य प्रयत्न निस्चयनै गरिरहेको छ । हामी त्यसलाई प्रोत्साहित गरिरहेकै छौं तर यस्तो संकटको घडी हरेक कदमको समिक्षा हरेक दिन गर्न एवं बिज्ञ र आफू बाहिरको मत निरन्तर आत्मसात गर्न अत्यावश्यक हुन्छ । हाम्रो आग्रह छ लक डाउनको दोस्रो चरणको यो घडी हालसम्मको प्रगति र कमजोरीको वस्तुनिस्ठ समिक्षा गरौं,कमजोरी अन्त्य गरौं र अब पछिल्लो कदम निकै ब्यवस्थित र प्रभावकारी ढंगले अघि बढाऔं । यो संक्षिप्त पत्रमा पृष्ठभुमि देखि समग्र विश्लेषणमा म जान चाहन्न । तत्कालीन परिस्थिति,प्रश्न र चुनौती बारे आम नेपालीको भावना प्रतिनिधित्व गर्दै प्रमुख प्रतिपक्षी दलका तर्फबाट यहाँको ध्यानाकर्षण गराउन चाहन्छु । समिक्षा १ः परिक्षण र उपचारमा गम्भीर लापरबाही १. परिक्षण, परिक्षण र परिक्षणका लागि विश्व स्वास्थ संगठनले जोड दिएको छ l तर अझैपनी ७ प्रदेशको कम्तिमा ७ ठाउँमा परिक्षण गर्न सक्ने गरि क्षमता विस्तार गरिएको छैन । संक्रमण फैलनबाट रोक्न परिक्षणको व्यापक दायरा विस्तार गर्नैपर्ने बिषयमा यतिका समयसम्म प्रगति नहुनुलाई गम्भीरतापुर्वक लिएर प्रदेश हुँदै सबै जिल्लामा विस्तार गर्न यहाँबाट तत्काल परिणाममुखी पहलको अपेक्षा छ । २. हालसम्म पांच नेपालीमा कोरोना संक्रमण देखिएको मध्ये एक स्वस्थ भएर फर्किए भने चार उपचाररत छन् । तर उनीहरुको परिवारका सदस्यको परिक्षण गर्न सरकारको सम्बन्धित निकायले थाहा छैन कुन साइतको प्रतीक्षा गरेको छ । उनीहरुसंगै हवाई या सडक यात्रा या घुलमिल गरेका अन्य  नागरिकको खोजविन शुरु गरियो तर परिक्षणको दायरामा ल्याइएको छैन । समुदायमा कोरोना फैलन छुट दिएझैं स्थिति हो यो । यहाँको जानकारीमा यो बिषयको गम्भीरता पुगेको छ कि छैन ? ३. यसबीचमा उपत्यका र बाहिरका अस्पतालमा केही बिरामीमा कोरोना आशंका गरियो,मृत्यु पश्चात् मात्रै परिक्षणको रिपोर्ट आयो । बुटवलको एक अस्पतालमा लास उठेन, बिराटनगरमा चार अस्पताल दौडाउंदा दौडाउंदै एक महिलाको मृत्यु भयो । कोरोना बाहेक अन्य रोगले पनि मृत्यु हुन्छ, तर सुरक्षित रुपले परिक्षण गर्न पिपीई नपाउँदा कयौं ठाउँमा कोरोनाको सन्त्रासले बिरामी हेर्न स्वास्थकर्मी हच्केका छन् । प्रधानमन्त्रीकै जिल्लामा चार बर्षे बालकको ज्वरो जचाँउन जांदा एक अस्पतालको गेटबाटै अभिभावक फर्काइए । यस्तो स्थिति समाधान गर्न यहाँको ध्यान तत्काल जान जरुरी भएको छ । ४. यसबीचमा विदेशबाट जति नेपाली आए,ती मध्ये थोरै मात्र क्वारेन्टाइनमा छन् । बांकी कहाँ छन् सरकारसंग तथ्यांकसम्म छैन । क्वारेन्टाइन, परिक्षण र उपचारको ब्यवस्थित कार्ययोजना कठोरता पुर्वक कार्यान्वयन गरेर समुदायलाई आश्वस्त राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउंदछु ।   समिक्षा २ः लज्जास्पद अभाव र अनियमितताको प्रश्न ! ५. कोरोना भाइरस प्राणघातक रहेको सूचना विश्वब्यापी भएको चार महिना पुगिसक्दापनि पीपिइ,परिक्षण कीट,भेन्टिलेटर लगायत अत्यावश्यक सामग्रीको पर्याप्त जोहो नगरिनु सरकारको गैह्रजिम्मेवारी थियो । यो प्रकरणको चार गल्ती क्रमशः स्मरण गराउन चाहन्छु । क) समयमै सामग्री आयातको योजना, तयारी र प्रक्रिया नथाल्नु । ख) लक डाउनमा पुगेपछि आकस्मिक रुपले खरिद योजना बनाउंदा आवश्यक पारदर्शी प्रक्रिया अवलम्बन नगरिनु । ग) बजार मूल्य भन्दा अत्यधिक रकम निकासा गराएर राज्यकोषको दुरुपयोग गरिनु । घ) विश्व स्वास्थ संगठनको मापदण्ड बाहिरका कतिपय कमसल सामग्री खरिद गरिनु । सम्माननिय प्रधानमन्त्रीज्यु, हामी यतिबेला यहाँको नेतृत्वमा आजको संकटबाट पार पाउन हर संभव साथ दिन तत्पर रहेका छौं । सरकार, प्रतिपक्ष र सबै दल संकटको यस्तो बेला एक ठाउँमा उभिनु भनेको राजनीतिप्रती नागरिकको असन्तोषलाई न्यून गर्ने अवसरपनि हो । तर नागरिक पंक्तिबाट जब `कात्रोमा पनि कमिसन ?´ भनेर प्रश्न आउँछ ,तब हामी नाजवाफ बन्छौं । प्रधानमन्त्रीज्यु समक्ष दुई विकल्प रहेकोे म सुझाउन चाहन्छु । एक,ढाकछोप गर्ने र त्यसको छिटा ब्यहोर्ने ,दुई सिंगो देशको आग्रह सुनेर निस्चित आरोपीहरुलाई पदमुक्त गर्दै अनुसन्धानलाई   सघाउने । समिक्षा ३ः राहत अपर्याप्त, प्याकेजमा उदार बनौं ! ६. सरकारले ल्याएको राहतको प्याकेजलाई सकारात्मक रूपमा लिंदै त्यो अपर्याप्त रहेकोे ध्यानाकर्षण हामीले गरिसकेका छौं । प्रधानमन्त्रीज्यु हरेक बर्ष असार मसान्तमा हामीले फ्रीज हुन लागेको बजेट कनिकाझैं छर्ने गरेका छौं, यसपालि त्यो नछरौं । अहिले नागरिक जोगाऔं,पछि पुल हालौंला,बाटो बनाऔंला । ज्यालादारी श्रमिककोमा राहत पुर्‍याउने तिब्रतामा ध्यान पुगोस् l रोजगार कार्यक्रमका नाममा अघिल्लो बर्ष पानी बगायौं हामीले ,अहिले बेरोजगार एवं शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहतको योजना तर्फ त्यो कार्यक्रमलाई किन नमोड्ने ? ७. तेहेर्‍याउन चाहन्छौं ब्यवसायीहरुको बैंक ब्याज घटाएर राहत अनुभुती गराउन सरकार किन गम्भीर नभएको ? प्रधानमन्त्रीज्युको निर्देशन सम्बन्धित मन्त्रालयलाई जाओस् । २० लाखसम्म ऋण लिएका साना ब्यवसायिको हकमा ३ महिनासम्मको ब्याज समेत मिनाहा गरियोस् । आज यिनलाई जोगाए भोलिको अर्थतन्त्र यिनैले उठाउने छन् प्रधानमन्त्रीज्यु । ८. छापा माध्यम क्रमशः बन्द हुंदैछन्, व्यवसाय चौपट भएपछि रेडियो, टिभी र अनलाइनपनि बिज्ञापन न्युनता हुँदै शुन्यताको मारमा पर्नेछन् । श्रमजीवी पत्रकारको चुल्हो क्रमश लक्ड हुन सक्छ लक डाउन लम्बिए l राज्यको चौथो अंगलाई बचाउन लोकतान्त्रिक संविधान भएको मुलुकमा गम्भीर ध्यान पुग्नुपर्‍यो प्रधानमन्त्रीज्यु । अनि काठमाण्डौं प्रेस माथी प्रधानमन्त्रीकै निकटटस्थको साइबर अपराधलाई अनुसन्धान र कार्वाहीको दायरामा सुम्पन जरूरी आग्रह म यसैमा गाँस्न चाहन्छु । समिक्षा ४ः नेपाली डायस्पोरा बारे सोचौं ९. नेपाल बाहिरपनि अर्को नेपाल छ प्रधानमन्त्रीज्यु,चालिस लाखको संख्यामा फैलिएको । हिजो निरन्तर रेमिटेन्स पठाएर देशको अर्थतन्त्र जोगाउने त्यो डायस्पोरालाई आज देशै संकटमा छ भनेर भुल्न मिल्दैन । क) अरु देशले आफ्ना नागरिक लगे र लगिरहेका छन् नेपालबाट l परदेशबाट घर फर्कन हाम्रा जो चाहन्छन् तिनलाई देशले ल्याउन सक्दिन भन्नुहुन्न । सोचौं, परामर्श गरौं र धैर्यसाथ आवश्यक निर्णयमा पुगौं । ख) सिमानामा आइपुगेर नारा लगाइरहेका अनुहार हेर्नोस् प्रधानमन्त्रीज्यु उनीहरु हिजो मत दिन आएका थिए, तपाईंलाई प्रधानमन्त्री बनाएर फर्किएका थिए ,दशैंमा आउन कतिले सकेनन्, कोरोना संकटमा आउँदा देश छिर्न सकेनन् । अलिअघी सम्म हजारौंलाई अव्यवस्थित ढंगले प्रवेश गराएका थियौं, आज सानो संख्यामा सिमानामा आइपुगेका नेपालीलाई व्यवस्थित रुपले प्रवेश गराउने दायित्व देशको हो । संकटमा परदेशीलाई त सेवा पुर्याउनु पर्छ भने संकटमा आफ्नो देशमा शरण नपाउनु भन्दा ठूलो अन्याय के हुन सक्दछ l अत्यन्तै कारुणिक यो यथार्थप्रती प्रधानमन्त्रीज्युको गम्भीर ध्यानाकर्षण गराउंदछु । हामी फेरिपनी यो संकटमा यहाँको साथमा छौं, दृढ ढंगले परिस्थितिको नेतृत्व गर्न यहाँलाई प्रतिपक्षी दलको हरसम्भव साथ र सहयोग रहनेछ। जय नेपाल ! विश्वप्रकाश शर्मा प्रवक्ता एवं प्रमुख सूचना, संचार तथा प्रचार विभाग

चीन कसरी सफल भयो कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संत्रासबाट सारा संसार त्रस्त भइरहेको समयमा कोरोनाको उद्गमस्थल मानिएको चीन भने हाल सामान्य स्थितिमा फर्किरहेको छ । कुनै समय भाइरसको इपिसेन्टर मानिएको वुहानमा समेत लकडाउन हटाइएको छ । बिगत एक हप्तादेखि आन्तरिक रुपमा कुनैपनि नयाँ संक्रमण देखिएको छैन । जसबाट यो भन्न सकिन्छ कि चीनले कोरोना बिरुद्धको लडाइमा प्रारम्भिक विजय हाँसिल गर्न सफल भएको छ । २१औं शताव्दिमा मानव सभ्यताको चुनौतिको रुपमा बिस्फोट भएको कोरोनाको माहामारी नियन्त्रण गर्न चीन कसरी सफल भयो त ? यो प्रश्न संसारभर उठिरहेको छ । चीनले धेरै मेहेनत गरेर नै कोभिड १९ संक्रमण नियन्त्रणमा लिएको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि चीनले उठाएका प्रमुख कदमहरु यस प्रकार रहेका छन् । संक्रमण देखापरेका क्षेत्रहरुमा पुर्ण लकडाउन जब कोरोना भाइरसको चरित्र तथा यसबाट निम्तिने महामारीको बारेमा थाहा भयो ततपस्चात संक्रमण देखापरेका क्षेत्रहरु (उहान, हुबेइ ) लगायतका क्षेत्रमा पुर्ण लकडाउनको घोषण गर्यो र पुर्णरुपमा लागु समेत गर्यो । लकडाउनको समयमा अत्यावश्यक बस्तुहरुको ब्यबस्था घरमै पुर्याउने व्यवस्था मिलाइयो । संकटकाल घोषण र सैनिक परिचालन चीन सरकारले कोरोनाको संक्रमणलाई राष्ट्रिय संकटकाल घोषण गर्यो । बिभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मीलाई संक्रमण फैलिएको क्षेत्रमा ल्याइयो । द्रुतगतिमा कोरोना विशेष नयाँ अस्पतालहरूको निर्माण गर्यो, जसवाट हजारौको संख्यामा रहेका संक्रमितलाई गुणस्तरीय उपचार गर्न सम्भब भयो । साथै अन्य बिरामीमा संक्रमण फैलिने जोखिम समेत न्युनिकरण भयो । लकडाउन कार्यान्वयन, स्वास्थ्यकर्मी व्यवस्थापन, विशेष अस्पताल निर्माणलगायतका संपुर्णको जिम्मा चाइनिज आर्मीलाइ दिइयो । पहुँचयोग्य, सजिलो उपचार तथा निःशुल्क परीक्षण चीनले संक्रमणको विस्तारलाई रोक्न अपनायको प्रमुख रणनीतिको रुपमा संक्रमितको पहिचान र अलग्याएर उपचारलाई लिन सकिन्छ । यो पद्धति सफलसमेत भएको छ । चीनमा कोरोना भाइरसको परीक्षण पश्चात संक्रमण भएको पुष्टि भएका बिरामीहरूलाई या त आइसोलेसन वा अस्पताल पठाइएको थियो । उहानमा शुरुमा बिरामी भएदेखि अस्पताल भर्ना हुन १५ दिन लागेको थियो । तर केहि दिनमै डाक्टरहरूले लक्षण देखिएका बिरामीलाई दुई दिनको लागि आइसोलेसनमा राखेर जाँच गरे । नतिजा पोजेटिभ आए तुरुन्त लस्पतालमा छुट्टै राखेर उपचार सुरु गरे । चीन सरकारले यो पनि स्पष्ट गर्याे कि उपचारको क्रममा हुने खर्चहरु जस्तै एम्बुलेन्स, खाना, औषधी, अस्पताल शुल्क, परीक्षण शुल्क र उपचार शुल्कलगायत सम्पूर्ण शल्क नलाग्ने घोषणा गर्यो । प्रविधिको समग्र क्षेत्रमा उपयोग यो संकटबाट पार पाउका लागि चीनले प्रविधिको भरपुर प्रयोग गरेको देखिन्छ । विध्यालयहरु बन्द थिए तर पढाईभने अनलाइन भइरहेको थियो । कतिपय अस्पतालहरु बन्द थिए तर अनलाइन परामर्श भने भैरहेको थियो । फलफूल, खाना, औषधीलगायतका अन्य अत्यावश्यक बस्तुको अनलाइन अडर्ड तथा होम डेलिभरीको व्यवस्था थियो जसबाट संक्रमणको चेन टुटाउन मद्दत मिल्यो । लकडाउनमा रहेका संपूर्ण मनिसले आफ्नो स्वस्थ्यस्थिति तथा शरीरको तापक्रम सरकारद्धारा जारी गरिएको एपमा विहान वेलुका लनिवार्य रुपमा अपलोड गर्नुपथ्र्यो, जसबाट संक्रमितको पहिचानमा ठुलो मद्दत मिल्यो । शासन प्रणालीको सहयोग चीनले आफ्नो देशमा कोरोना भाइरसबाट हुने संक्रमण नियन्त्रण गर्न सक्नुमा उसको शासन प्रणाली सहयोग सावित भएको देखिन्छ । अस्पतालबाट भाग्न खाज्ने स्वास्थ्यकर्मीहरुलाई दण्ड सजाय गरेको, कालावजारीयाहरुलाई तुरुन्तै जेल सजाय गर्ने गरेको समाचारहरु संचारमाध्यममा आएका छन् । भन्नुको मतलव के हो भने चीनका कानुनहरु कठोर छन् । व्यक्तिगत स्वतन्त्रता कम छ । निर्णय प्रक्रियामा केन्द्रीय सत्ता हाबी छ । तर कोरोना जस्ता माहामारी नियन्त्रणका लागि यस्तै व्यवस्था सहयोगी बन्यो । सायद यति कठोर कानुन नभएको भए चीनले यति कम मानवीय क्षतिमा र यति छिटो नियन्त्रण गर्न सक्दैन्थ्यो भन्नेहरु पनि छन् । चीनको कोरोना नियन्त्रणमा प्रशासनिक सक्रियता, कठोर कानुन र त्यसको कार्यावन्यन गर्ने पुरानै बानीले नै सफल भएको हो भन्ने प्रसस्त आधारहरु भेटिन्छन । चीनमा हालसम्म ३ हजार ३ सय १२ जनाको मृत्यू भएको छ भने भर्खरै संक्रमण सुरु भएको अमेरिकामा ५ हजार १ सय १० जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा संक्रमणको फैलावट समेत उच्च रहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले १ देखि २ लाख जनाको मावनीय क्षतिमा सिमित गर्नसके कारोना विरुद्ध अमेरिकाको जित हुने घोषणा नै गरेका छन् । तेस्तै, इटालीमा कोरोनाको कारण १३ हजार १ सय ५५ जनाले ज्यान गुमाइसकेका छन् । इटालीले नियन्त्रण गर्न सकिरहेको छैन भने मृत्यूदर समेत उच्च छ । कोरोना भाइरसको सबभन्दा डरलाग्दो पक्ष भनेको यसको संक्रमण दर असाध्यै उच्च हुनु हो । तसर्थ कोरोनाबाट हुने मृत्युदर घटाउने हालको एकमात्र विकल्प भनेको यसको संक्रमण दर घटाउनु नै हो । किनकि यसको औषधी हालसम्म बनिसकेको छैन । त्यसैले संक्रमणको महामारी नियन्त्रणको लागि हालको पद्दतिहरुमा चिनियाँ पद्दती नै उत्तम रहेको विश्व परिवेशले पुष्टी गरेको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुको सहयोगमा

नेपालमा फेरि एक जनामा देखियाे काेराेना, पुगे छ जना संक्रमित

काठमाडौं । नेपालमा पुन: एक जनामा काेराेना भाइरस (काेभिड- १९)काे संक्रमण देखिएकाे छ । काेभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण नेपालमा देखिएको बताएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएका परीक्षणमा छैटौं व्यक्तिको नमुना पोजेटिभ देखिएको हो । याे सहित नेपालमा हालसम्म छ जना काेराेना संक्रमित देखिएका छन् । त्यसमा एकजना पुर्ण रुपमा निकाे भएर घर फर्किसकेका छन् ।  आज देखिएका संक्रमित चैत ४ गते  दाेहाबाट नेपाल आएकी थिईन् । उनी क्यु आर ६५२ फ्लाइटमा नेपाल आएकी हुन् । उनी यस अघिका अन्य दुई काेराेना संक्रमितहरूसँगै आएका प्रवक्ता देवकाेटाले बताए । नेपालमा हालसम्म ११ सय ८४ जनामा कोभिड-१९ को परीक्षण गरिएको छ। त्यसमध्ये ११ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

जनकपुरमा कोरोना जाँच्ने मेसिन जडान

काठमाडौं । जनकपुरमा कोरोना जाँच्ने पिसिआर मेसिन आज जडान भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनकपुरमा कोरोना जाँच्ने पिसिआर मेसिन आज जडान भएको बताएका हुन् । बुटवल सुर्खेत, धनगढीमा भने पिसिआर मेसिन जडानको क्रममा रहेको देवकोटाले बताए । हाल काठमाडाै‌काे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा, धरानकाे वी.पी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाेखराकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान काेराेना परीक्षण भइरहेकाे छ । नेपालमा हालसम्म ११ सय ८४ जनामा कोभिड-१९ को परीक्षण गरिएको छ। त्यसमध्ये ११ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ। नेपाल हाल कोरोना संक्रमणको पहिलो चरणमा छ ।