विकासन्युज

प्रदेश सरकार मार्फत दैनिक मजदुरी गर्नेलाई उद्योग परिसंघले सहयोग गर्दै

काठमाडौं । नेपाल उद्योग परिसंघ सरकारसंग सहकार्य गर्दै कोरोनाभाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न लागि परेको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री लगायत अत्यावश्यकीय सामान उपल्ध गराउने कार्य गरिरहेको छ । आज सुदूरपश्चिम उद्योग परिसंघका संयोजक हेम विक्रम थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राहत सामाग्री उपलब्ध गराएका हुन् । त्यस्तै प्रदेश नं १ उद्योग परिसंघका प्रदीप शारदाले मुख्यमन्त्री शेरधन राईलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् । दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक/एक हजार थान प्यकेटहरु हस्तान्तरण गरिएको हो । आजै प्रदेश नं २ र काठमाण्डौ तथा ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाहरुलाई समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परिसंघले जनाएको छ । नेपालका सवै प्रदेशहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराई रहेको संघले जनाएको छ । यो रोगसंग जुध्न अग्रपंतिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य कर्मिहरु, आपत्कालीन व्यवस्थामा खटिरहेका हरेक व्यक्ति तथा संस्थाहरुको हौसला बढाई राख्न र संकट नटरेसम्म सवैलाई आत्मसंयम बनाई राख्न नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग परिसंघ सवैमा आग्रह गरेको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन सवैमा आग्रह समेत गर्दछ ।  यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आग्रह गर्दै आएको छ ।

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क निःशुल्क पाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म सस्तोडिलसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निःशुल्क पाउनेछन् । हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी सस्तोडिलले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ । यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्नेछ । यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट भुक्तानी गर्न सक्नेछन् । साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क निस्शुल्क उपलब्ध गराउने छ । जसकाे लागि सेलपेको ग्राहकहरुले सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत क्यिुआर कोड स्क्यान गरी भुक्तानी गरेमा १० थान मास्क निःशुल्क पाउनेछन् ।

वर्दियाको गेरुवा गाउँपालिकाको कोरोना कोषमा हरपल फुड्सले एक लाख सहयोग गर्ने

काठमाडौं । हरपल फड्स प्रा.लि.ले वर्दियाको गेरुवा गाउँपालिकाको कोरोना कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गर्ने भएको छ । अध्यक्ष जनक बहादुर धामीले उक्त गाउपालिकाको स्थानीय राहत कोषमा सो रकम जम्मा गरेका हुन् । उक्त राहत कोष कोरोना कोभिड १९ भाइरसले बिश्वमा आक्रान्त मच्चाइरहेको बेला बर्दिया जिल्ला क्षेत्र नं. २ अन्तर्गतकाे गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले स्थानीय सरकारको दायित्व र जिम्मेवारी बोध गरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि थालनी गरेको स्थानीय निकाय अभियान हो ।

सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन मानव अधिकार आयोगकाे आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रोजगारी, गाँस र बाँसको समस्या भई घर फर्केका नेपालीको आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेशभित्र बस्न पाउने वातावरणको सिर्जना गर्न आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा देशको अन्तर्राष्ट्रिय सीमासम्म आइपुगी अझै अलपत्रको स्थितिमा रहेका आप्रवासी कामदारलगायत सबै नेपाली नागरिकलाई निश्चित मापदण्डअनुरुप स्वदेशभित्रै बस्न पाउने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ का कारण नेपाललगायत विश्व नै ‘लकडाउन’ को अवस्थामा रहेको समयमा आफ्ना नागरिकको सुरक्षा र आधारभूत मानव अधिकारको सम्मान र संरक्षण गर्नु सरकारको प्रमुख दायित्व हुन आउँछ ।” कुनै पनि कठिन परिस्थितिमा हरेक देशका नागरिकले सरकारबाट थप भरोसाको अपेक्षा गर्ने भएकाले सीमा क्षेत्रमा आइपुगेका तर स्वदेश प्रवेश गर्न नदिइ फर्काइएका नेपालीको स्वास्थ्य, बसोबास तथा खाद्य आपूर्तिको व्यवस्था सम्बन्धमा उच्चस्तरीय सरकारी प्रतिनिधिले अनुगमन गरी निजहरुको सम्मानजनक अवस्थाको सुनिश्चित गरी घर फर्कने वातावरण सिर्जना गर्न आयोगको आग्रह छ । सङ्कट र सन्त्रासको परिस्थितिमा नागरिकका सबै अधिकार सामान्य अवस्थामा झैँ निर्वाधरुपमा प्रचलन हुन कठिन हुने भए तापनि संविधान र कानूनले व्यवस्था गरेका आधारभूत अधिकारको प्रचलनमा सरकार गम्भीर हुनैपर्ने र त्यसका लागि आवश्यक स्रोत र साधनको परिचालन तथा सम्बन्धित निकायबीच यथेष्ठ र शीघ्र समन्वयको अपेक्षा आयोगले गरेको छ । विषम परिस्थितिमा सरकारबाट नेपालको संविधान तथा नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि १९६६, मानव अधिकारको विश्वव्यापी घोषणापत्रअनुसार नागरिकले पनि आफ्नो कर्तव्य पूरा गरी सरकारबाट तोकिएका मापदण्डको पालना गर्न आयोग अनुरोध गरेको छ । रासस

विभिन्न बहानामा उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छ: मुख्यमन्त्री पौडेल

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताए । उनले एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर हो भन्ने बुझ्नु जरुरी रहेको उल्लेख गरे । “ती अस्पतालका संवेदनाहीन, मानवता विरोधी तथा २१औँ शताब्दीको मानव समाजलाई नै गिज्याउने गरी भएका घृणित क्रियाकलापप्रति दुःख व्यक्त गर्दै त्यस्ता क्रियाकलापलाई तत्काल सच्याउन अनुरोध गर्दछु”, पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ । उनले देशमा कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा नेपाली स्वास्थ्यकर्मीले निर्वाह गर्नुभएको भूमिका अन्त्यन्तै प्रशंसनीय र उदाहरणीय रहेको भन्दै जोखिमका बाबजुत पनि सङ्क्रमण रोकथामका लागि योजना निर्माण र त्यसको कार्यान्वयनमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई धन्यवाद ज्ञापन गरेका छन् । “यस्तो परिस्थितिमा पनि केही निजी स्वास्थ्य संस्थाले मानवीय मूल्य र मान्यताविपरीत विशेष प्रकृतिका बिरामीबाहेकको अवस्थामा बिरामीलाई अस्पतालमा भर्ना नै नलिइ फर्काइएको र उनीहरुले उपचार नै नपाइ तड्पिनु परेको भन्ने हृदयविदारक खबरले अत्यन्तै दुःखी तुल्याएको छ, ती अस्पतालका संवेदनाहीन, मानवता विरोधी तथा २१औँ शताब्दीको मानव समाजलाई नै गिज्याउने गरी भएका घृणित क्रियाकलापप्रति दुःख व्यक्त गरेका हुन् । उनले त्यस्ता क्रियाकलापलाई तत्काल सच्याउन अनुरोध गर्दै आफ्ना सेवालाई विगतमा जस्तै निरन्तरता दिनसमेत आग्रह गर्दै प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारभित्रका अस्पतालको छानविन गर्ने र दोषी देखिए कारवाही गरिनेसमेत जानकारी गराउँन सो सन्देशमा आग्रह गरेका छन् । अस्पताललाई केवल नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर हो भन्ने बुझ्नु जरुरी रहेको सन्देशमा उल्लेख छ । “यस विषम परिस्थितिको सामना गर्न हामी सबैको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक छ”, मुख्यमन्त्री पौडेलले भने । रासस

लकडाउनकाे असर : कृषि उत्पादनले बजार पाएन

काठमाडौं । कोरोनो भाइरस (कोभिड —१९) को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि कृषक वढी समस्यामा परेका छन् । तरकारी तथा दूध बिक्री गर्न नपाएको कृषकको गुनासो छ । रामपुर नगरपालिका–८ मा सञ्चालित रामपुर एग्रोफार्ममा दैनिक ११ कार्टुन अण्डा उत्पादन भइरहेको छ । तर बजारमा बिक्री गर्न नपाउँदा समस्या परेको सञ्चालक भुवन अर्याल बताए । “अण्डा उत्पादन भइरहेको छ, बिक्री गर्न पाइएको छैन, १२० कार्टुन अण्डा मौज्दात छ तर बिक्री नहुँदा व्यवसाय धान्नै मुस्किल परेको छ” उनले भने । उनको फार्ममा हाल तीन हजार लेयर्स जातको कुखुरा छ । दाना मात्रै दैनिक छ बोरा खुवाउन पर्छ तर अण्डा बेच्न नपाउँदा ठूलो समस्या परेको हुँदा बिहान साँझको समय तालिका बनाएर बिक्री गर्ने वातावरण नगरपालिकाले मिलाइदिन उनले आग्रह गरे । लकडाउनको अवस्थामा कृषकलाई दाना आयात गर्न कठिनाइ परेको छ । सवारीसाधन आवतजावतमा रोक लगाएपछि दाना आयात गर्न नपाउँदा पशुपालक तथा कुखुरापालक कृषकलाई व्यवसाय धान्नै गाह्रो परेको छ । रामपुर–८ रानीबासका हरिप्रसाद आचार्यको फार्ममा दैनिक सात पेटी अण्डा उत्पादन हुन्छ । लकडाउनले गर्दा फार्ममा रहेको ६० पेटी अण्डा बिक्री गर्न नपाएको उनको गुनासो छ । भैँसीपालक कृषक नरनारायण अर्यालले पनि लकडाउनको शुरुका चार दिन दूध दुहेर भैँसीलाई नै खुवाउन बाध्य भएको जनाए । दूध बिक्री गर्न बजार जान नपाएपछि करिब ६०० लिटर दूध दुहेर भैँसीलाई नै खुवाएको उनले बताए । “शुरुका चार दिन धेरै समस्या भयो, दूध दुहेर भैँसीलाई खुवाउनुपर्ने स्थिती पनि आयो, अहिले दिनको एक पटक मात्रै बिहानै ६ नबज्दै डेरी पसलमा लगेर दिने गरेको छु” अर्यालले भने । उनको फार्ममा हाल ५९ वटा उन्नत जातका भैँसी छन् । उनले दैनिक १६० लिटर दूध बिक्री गर्छन। लकडाउनले भैंसीलाई दानापानी खुवाउन कम गर्नुपरेको उनको गुनासो छ । रामपुर ६ तालपोखराका तरकारी उत्पादक कृषक नारायणप्रसाद भण्डारीले उत्पादन गरेका काक्रो रातको समयमा व्यापारीलाई घरमै बोलाएर बिक्री गरेको जनाए । लकडाउनले गर्दा कृषकहरुलाई उत्पादित वस्तु बजारसम्म पुर्याउन समस्या परेको छ । बिहान साँझ समय तोकेर उत्पादन भएका वस्तु बिक्री गर्ने वातावरण मिलाउन कृषकको अनुरोध छ । गाईलाई खुवाउन दाना र घाँसको अभाव भएको छ । रामपुर नगरपालिका वडा नं ६ को तातोपानीधाममा एक महिना अघिबाट मात्र सञ्चालनमा आएको गौशालामा हाल १३५ गाई छन् । गाईलाई खुवाउन दाना घाँसको अभाव परेपछि स्थानीयसँग घाँसपात दाना जुटाइदिन आग्रह गरिएको गौशाला संरक्षण समितिका अध्यक्ष तथा वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताए । रामपुर नगरपालिकाभित्र छाडा छाडिएका र हेयका रुपमा लिइएका गाईलाई संरक्षण गर्न नगरपालिकाले गौशाला निर्माण गरेको हो । अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्षमा गरी २०/२० लाख रकम नगरपालिकाले गौशाला निर्माणमा सहयोग गरेको छ । रासस

कोरोना रोकथाम कोषमा नेपाल टेलिकमकाे १२ करोड रुपैयाँ सहयोग

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । जसमध्ये कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको टेलिकमले जनाएकाे छ । आज(चैत २० गते) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको समुपस्थितिमा प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका सदस्य-सचिव नारायण प्रसाद बिडारीलाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले १२ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री खतिवडा र भट्टले प्राप्त आर्थिक सहयोगप्रति कृतज्ञता प्रकट गर्दै यस विषम परिस्थितिमा सबैलाई सचेत रहन आग्रह समेत गरेका थिए  । सो अवसरमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह(सचिव तथा कम्पनी सञ्चालक समिति सदस्य राधिका अर्याल र कम्पनीका प्रमुख वित्तीय तथा प्रमुख मानव संसाधन अधिकृत शैलजा राईको पनि उपस्थिति रहेको थियो । हाल नोबेल कोरोना भाइरस९कोभिड १९० महामारीको रुपमा विश्वभर फैलिरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको अवस्थामा नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा कम्पनीले आर्थिक सहयोग गरेको हो ।  

कोरोना भाईसरसँग जुध्न नेपाल सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरोना भाईसरसँग जुध्न १५ लाख रुपैयाँ सहयोग गरेको छ । महासंघले विश्वव्यापीरुपमा निम्तिएको एस किसिमको महामारीको रोकथाम तथा औषधोपचारमा सहयोग पुर्याउन सरकारले स्थापना गरेको कोरोना भाईरस(कोभिड-१९) संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल उक्त रुपैयाँ उपलब्ध गराउने भएको हो । साथै यस्तो विकराल अवस्थामा आगामी दिनहरुमा पनि महासंघले सरकारसँग हातमा हात मिलाउँदै आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदछौं । विश्वमै कोरोना भाईरसका कारण आर्थिक तथा मानवीय क्षती भईरहेको अवस्थामा नेपालमा यसको असर कम गर्दै मानवीय संकट आउन नदिन संघीय, प्रादेसिक तथा स्थानीय सरकारसंग थप समन्वय तथा प्रभावकारीताको अपेक्षा गर्दै सरकारले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्न महासंघले सबैसँग आग्रह गरेको छ ।