काठमाडौं । नेपालमा पुनः एक जनामा कोरोना संक्रमण देखिएको छ । काेभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण नेपालमा देखिएको बताएका हुन् ।
कतार एयरवेयजबाट चैत ४ गते आएकी ती संक्रमित ६५ वर्षीय महिला हुन् । उनी बाग्लुङकी रहेको मन्त्रालयले बताएको छ । उनी चैत ४ गते कतार एयरवेयजको क्युआर ६५२ नम्बरको फ्लाइटबाट काठमाडौं आएकी थिइन् ।
यसअघि सो फ्लाइटबाट आएका दुईजनामा कोरोना पोजेटिभ देखिएको थियो । यसअघिका दाेस्राे र पाँचाैं सक्रमित पनि त्यही क्युआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएका थिए । अब संक्रमितहरूमा ३ युवती र ३ पुरूष रहेका छन् ।
दोस्रो व्यक्तिलाई नेपाल आएको छैटौं दिनमा कोरोना भएको पुष्टि भएको थियो भने पाँचौंलाई ११ औं दिनमा र छैटौंलाई १६ औं दिनमा कोरोना भएको पुष्टि भएको हो । तेस्रो काेराेना संक्रमित धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
‘आज एउटा पोजिटिभ देखिएको छ, यसको विस्तृत विवरण आउन बाँकी छ, हाम्रो ट्रेसिङको काम गर्ने टोलीलाई र सम्बन्धित चिकित्सकहरुलाई यो कुरा जानकारी गराइएको छ’, प्रवक्ता डा. देवकोटाले भने ।
‘उहाँहरुले केस पोजेटिभ आएपछि गर्नुपर्ने कार्य गर्न थाल्नुभएको छ। यो पोजेटिभ केसबारे अहिलेलाई योभन्दा बढी जानकारी छैन,’ उनले भने ।
मन्त्रालयले ती महिलामा संक्रमण भेटिएको पुष्टि गरे पनि यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने यस विषयमा आफूहरुलाई कुनै जानकारी नभएको बताए।
सम्बन्धित समाचारः