माक्सकाे लागत ८ रुपैयाँ, बिक्री ७ रुपैयाँमा, उपभाेक्ताकाे हातमा सित्तैमा
काठमाडौं । कोरोना संक्रमणको महामारी र लकडाउनसँगै अधिकांश विजनेश म्यानहरुको दैनिकी तनावमा तर फुर्सदमा बितिरहेको छ । तर व्यवसायी दीपक मलहोत्राको दैनिक फरक छ । ‘मलाई एकछिन पनि फूसर्द छैन र सयम बितेको पत्तै हुँदैन’ विकासन्युजसँगको कुराकानीमा पहिलो वाक्य हो उनको । घर–फ्याक्ट्री आवतजावत नियमित छ उनको । पछिल्लो समय उनी माक्स उत्पादन र वितरण कार्यमा व्यस्त छन् । ‘बधाई छ तपाईलाई संकटको बेलामा पनि राम्रो व्यवसाय थाल्नु भयो । नाफा पनि राम्रो भएको होला’ विकासन्युज प्रतिनिधिले उनको तारिफ गरे । तर दीपकले आधा स्वीकार गरे, आधा अस्वीकार । ‘बधाई दिनुभयो । धन्यवाद । तर नाफा लिएर व्यापार गरिरहेको छैन । घाटा खाएर समाज सेवा गरिरहेको छु’ उनले जवाफ दिए । किन र कसरी ? प्रश्न स्वभाविक भयो । ‘हामीले शुरुमा निःशुल्क वितरण गर्ने प्रयोजनको लागि निम्बस ग्रुपबाट प्रति माक्स ७ रुपैयाँमा किनेर वितरण थालेको थियौं । पछि भारतबाट हामीले माक्स बनाउने मेसिन ल्यायौ । शुरूमा त्यसकाे पनि लागत प्रति माक्स ७ रुपैयाँ आयो । हामीले लागत मूल्यमा नै बेच्ने निर्णय गर्यौ’–उनले भने । ‘माक्स मेसिनले बनाउँछ । त्यसको लागत ५ रुपैयाँ २५ पैसा पर्छ । माक्सको इलास्टिकको जोडिको ७५ पैसा पर्छ । इलास्टिक मान्छेले सीउनु पर्छ । प्रतिमाक्स सिलाउने खर्च शुरूमा १ रुपैयाँ मात्र थियाे । हामीले ७ रुपैयाँ मूल्य तय गर्यौं’ उनले प्रष्ट्याउदै भने–तर पछि कामदारले १ रुपैयाँमा काम मानेनन् । माक्समा इलास्टिक लगाउने मान्छे नै नपाएपछि प्रतिपिस २ रुपैयाँ दिएर काम लगाएको छु । अहिले लागत प्रतिपिस ८ रुपैयाँ परेको छ । तर घाटा नै खाएर भएपनि ७ रुपैयाँमा बेचिरहेको छु ।’ घाटा कहिलेसम्म खाने त ? प्रश्न फेरी उठ्यो । ‘आईएमएस ग्रुपले संस्थागत सामाजिक उत्तरदाहित्व सम्झेर काम गरिरहेकाे छ । यो हाम्रो नियमित विजनेश पनि होइन । जब बजारमा सर्बसाधारणले सहज रुपमा र सरल मुल्यमा माक्स पाउन थाल्छन्, हामी उत्पादन बन्द गछौं’ उनले भने । अहिले माक्स उत्पादन गरिरहेको मेसिन एक गार्मेन्ट व्यवसायीसँगको साझेदारीमा राखिएको उनले बताए । अवस्था सामान्य भएपछि उक्त उद्योगले कपडा उत्पादन थाल्ने उनको भनाई छ । उक्त उद्योग लगाउन र ५ टन कच्चा पदार्थ किन्दा करिब १ करोड रुपैयाँ लगानी भएको उनले बताए । उनकाे कम्पनीले हाल दैनिक ५० हजार पिस माक्स उत्पादन गरिरहेकाे छ । माक्स बनाउन प्रयोग हुने फेब्रिक बाँकी भएपनि त्यसको इलास्टिक (कानमा बाँध्ने डोरी) सकिन लागेकोले उत्पादन नै राेकिने हाे कि भन्ने उनकाे चिन्ता छ उपभोक्तालाई सित्तैमा ८ रुपैयाँ लागत, ७ रुपैयाँमा बिक्री, उपभोक्तालाई सित्तैमा । सुन्दा अपत्यारिलो लाग्छ तर दीपककाे माक्स उत्पादन र बिक्री चक्र यसरी नै चलिरहेकाे देखिन्छ । प्रतिपिस ८ रूपैयाँ लागत भएकाे माक्स आफूले प्रति पिस ७ रुपैयाँ बेचिरहेकाे र उपभाेग गर्नेले सित्तैमा पाईरहेको उनले बताए । ‘हामीले ७ रुपैयाँमा बेचेको माक्स बजारमा बिक्री भईरहेको छैन’ उनले प्रष्ट्याउदै भने –‘सरकारी अस्पताल, स्वास्थ्य सेवा विभाग, प्रहरीलाई गरी करिव १ लाख पिस सित्तैमा वितरण गर्यौ । बाँकी सबै निजी अस्पताल, बैंक, नगरपालिका, गाउँपालिका वा सामाजिक संस्थालाई बेचिरहेका छौं । अस्पताल र बैंकहरुले आफ्ना कर्मचारी निःशुल्क वितरण गरेका छन् । नगरपालिका, गाउँपालिकाले आफ्ना कर्मचारीलाई र स्थानीयलाई निःशुल्क वितरण गर्न लगेका छन् । र, अरू माक्स सामाजिक कार्य गर्ने संस्थाहरुले लगेका छन् ।’ आईएमएसमा माक्स किन्न अडर गर्ने संघ संस्थाको चाप उच्च छ । कारण पनि उनले खुलाए । ‘एउटा संस्थाले हजार पिस माक्स सित्तैमा बाँढ्दा उसको खर्च ७ हजार रुपैयाँ मात्र हो । थोरै खर्च गरेर धेरै जनालाई सहयोग गर्न पाएकोमा संघ संस्थाका प्रतिनिधिले माक्स वितरणालाई प्राथमिकता दिएका छन् । ‘हामीसँग किनेर उपभोक्तालाई बेच्छु भन्नेलाई हामी बेच्दैनौ । फ्रिमा बाँड्नेको माग हुँदासम्म मात्र उत्पादन गर्छौं’ उनले भने । अहिले दैनिक १० लाख माक्स उत्पादन गरे पनि बिक्ने उनले बताए । तर आफूहरुले दैनिक ५० हजार पिस मात्र उत्पादत तथा बिक्री वितरण गरिरहेको उनको भनाई छ । कम्पनीको उत्पादन क्षमता दैनिक ७० हजार पिस भए पनि हाल दैनिक ५० हजार पिस मात्र उत्पादन हुने गरेकाे उनले बताए । उत्पादन कार्यमा आइएमएस ग्रुपले लगानी गरेको छ भने वितरणको काममा नेपाल चेम्बर अफ कमर्शले समन्वय गरेको उनले बताए । अनलाईन बिक्रेता सस्तो डिलसँग सामान किनेर सेलपेबाट भुक्तानी गर्नेलाई १० वटासम्म माक्स सित्तैमा दिइने पनि उनले बताए । लकडाउन तपाईलाई लागेको रहेनछ, लेखकले विट मार्दै भने । छैन । उनले दैनिकी पुरै सुनाए । ‘विहान उठेर एक्सरसाइज गर्छु । नुवाइधुवाई गर्छु । हलुका ब्रेकफाष्ट लिन्छु त्यसपछि दिउँसो के के गर्ने प्लान बनाउँछु । खाना खाएर सबैभन्दा पहिला ललितपुरस्थित लुभुमा रहेको फ्याक्ट्रीमा जान्छु । संक्रमणको जोखिम नहोस भनेर अहिले ड्राइभर राखेकाे छैन, आफै ड्राइभ गर्छु । एक टिप सामान लिएर अफिसमा झर्छु । दिनभर अफिसको काम गर्छु । साँझ घर फर्कन्छु ।’
कोरोना अपडेट: साढे ४८ हजार जनाकाे मृत्यु, ९ लाख ६१ हजारभन्दा बढी संक्रमित
काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वमा २४ घण्टाको अवधिमा ७४ हजार जनामा देखिएको छ । बिहीबार बेलुकासम्म विश्वभरी ९ लाख ६१ हजार ६ सय ३५ जना कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ६८ जना मानिसको मृत्यु भएको छ । हालसम्म ४८ हजार ७ सय ७० जनाको कोरोना भाइरसको कारण मृत्यु भईसकेको छ । बुधबार बेलुकासम्म ४४ हजार ३ सय २ जनाको मृत्यु भएको थियो । पछिल्लो समय कोरोना भाइरसको उच्च संक्रमणमा अमेरिका रहेको छ । अमेरिकामा २ लाख १५ हजारभन्दा बढी नागरिक कोरोना संक्रमित भएका छन् भने ५ हजार १ सय १३ जनाको हालसम्म मृत्यु भएको छ । उपचारपछि ८ हजार ८ सय ७८ जना घर फर्किएका छन् । कोरोना भाइरसबाट उच्च दर मृत्यु हुने राष्ट्रहरु इटाली, स्पेनमा पछिल्लो २४ घण्टाको अवधिका करिब ८ सयजनाको मृत्यु भएको छ । इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार १ सय ११ जना पुगेको छ भने स्पेनमा १० हजार ३ जनाको मृत्यु भइसकेको छ । इटाली र स्पेनमा संक्रमितको संख्या उस्तै रहेको छ । हालसम्म यी दुवै देशमा १ लाख १० हजारभन्दा बढी संक्रमित छन् । भने उपचार पछि स्पेनका २६ हजारभन्दा बढी नागरिक र इटालीका १६ हजार ८ सय भन्दाबढी घर फर्किएका छन् । त्यस्तै पछिल्लो २४ घण्टाभित्र चीनमा ६ जनाको मृत्यु भएको छ भने ९० जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म कोरोनाबाट ३ हजार ३ सय १८ जनाको मृत्यु भएको छ भने ८३ हजार १ सय ८५ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् । त्यस्तै ७६ हजार भन्दाबढी उपचार पछि घर फर्किएका छन् । युरोपेली राष्ट्रहरुमा पछिल्लो समय कोरोनाको संक्रमण उच्च मात्रामा फैलिएको छ । पछिल्लो समय जर्मनी ९ सय ५९ जनाको मृत्यु भएको छ । फ्रान्समा ४ हजार ३२ जना, इरानमा ३ हजार १ सय ६०, बेलायतमा २ हजार ३ सय ५२, स्वीट्जरल्याण्डमा ५ सय ५ जना, टर्कीमा २ सय ७७, बेल्जियममा १ हजार ११ जना, नेदरल्याण्डमा १ हजार ३ सय ३९ जना, अस्ट्रियामा १ सय ५८ जनाको मृत्यु भएको छ भने यी देशहरुमा १० हजारदेखि ८० हजार जनासम्म संक्रमित रहेका छन् । १० हजार भन्दा कम र ५ हजारभन्दा बढी नागरिकलाई कोरोना भाइरस संक्रमित राष्ट्र दक्षिण कोरिया १ सय ६९ जनाको मृत्यु भएको छ । त्यस्तै क्यानडामा १ सय २९, पोर्चुगलमा २ सय ९, ब्राजिलमा २ सय ४६, इजराइल ३३ जना, स्वडेनमा २ सय ८२ जना, अस्ट्रेलियामा २५, नर्वेमा ४६जनाको मृत्यु भएको छ । पछिल्लो समय नेपालमा ६ जनामा कोरोना देखिएको छ । जसमा ३ पुरुष र ३ महिलामा काेराेना देखिएकाे थियाे भने एकजना पुरुषलाई निको भएर घर फर्किसकेकाे अवस्था रहेकाे छ । पछिल्लाे समय विश्वकाे १ सय ९०भन्दा बढी मुलुकमा काेराेना भाइरस फैलिसकेकाे छ ।
तीन जनाकाे परिवारलाई १५ किलाे र बढी भएकालाई ३० केजी नि:शुल्क चामल वितरण गरिँदै
काठमाडाैं । काठमाडाैं उपत्यकाभित्रका स्थानीय तहहरुले खाद्यान्न वितरण गर्ने भएका छन् । उपत्यका नगरपालिका फोरम काठमडौंको आज बसेको बैठकले ३ जनासम्मको परिवार र ३ जनाभन्दा माथिको परिवारलाई राहत दिने कोटा तय गरेको हाे । जसअनुसार ३ जनासम्मको परिवारलाई १५ किलो चामल र ३ जना भन्दा धेरै भएको परिवारलाई ३० किलो चामल उपलब्ध गराउने निर्णय भएकाे बताइएकाे छ । यस्तै, ३ जनाको परिवारले १ प्याकेट नुन, १ लिटर तेल, चिनी १ किलो, एउटा साबुन पाउनेछन्। ३ जना भन्दा बढी हुने परिवारलाई २ प्याकेट नुन, २ लिटर तेल, २ केजी चिनी, ४ वटा साबुन पाउने भएका हुन् । आपूर्ति तथा राहत वितरणका लागि प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा स्थानीय सुरक्षा निकायसहितको कमिटी गठन गर्ने पनि निर्णय भएकाे छ ।
सीमामा रहेका नेपालीले तत्काल नेपाल आउन नपाउने
काठमाडौं । भारतीय सीमामा रहेका नेपालीले तत्काल नेपाल आउन नपाउने भएका छन् ।काेराेना भाइरस (काेभिड १९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले साे निर्णय गरेकाे हाे । अब उनीहरूले १४ दिन भारतमै क्वारेन्टाइनमा बसिसकेपछि मात्र नेपाल आउनु पर्ने भएकाे छ । नेपाल आउनका लागि भारतकाे धार्चुला, रुपैडिहा गाैरिफन्टालगायतका नाकामा अलपत्र रहेका नेपालीलाई सरकारले १४ दिन भारतमा नै क्वारेन्टाइनमा बसिसकेपछि मात्र स्वदेश भित्रिने दिने बताइएको हो । सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा . युवराज खतिवडाले तत्काल आवत–जावत खुला नगर्ने निर्णय गरेको बताए । ‘भारतीय सीमा क्षेत्रमा आइपुग्नु भएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र आउन अनुरोध गरेका छौं, १४ दिन क्वारेन्टाइन्मा बसेपछि मात्र नेपाल आउन दिनेछाैं,’ उनले भने ।
सहज बनाइँदै लकडाउन, उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने
काठमाडौं । सरकारले लकडाउनलाई सहज बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ । कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार अब अत्यावश्यक सेवाका लागि उद्योग सञ्चालन गर्न सकिने छ भने अन्य उद्योगहरुले कामदारलाई स्वास्थ्य सुविधासहित काम गराउन सक्नेछन् । तर उनीहरु ओहोर दोहोर गर्न पाउने छैनन् । कम्पनीभित्रै बस्नुपर्नेछ । अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले ढुवानीको साधनलाई अझ सहज गर्ने र नियमित रुपमा आयात भएका र दैनिक आपूर्ति हुने वस्तुहरुको लेखाजोखा राख्ने बताए । उनले मुलुकभित्र अति आवश्यक उद्योग सञ्चालन गर्ने निर्णय भएको बताए । अन्य उद्योगहरुले पनि भित्र कामदारलाई सुरक्षित राखेर, स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न सक्ने उनकाे भनाइ छ। तर,आवागमन रोकेर भित्रै राखेर सञ्चालन गर्न दिने भन्ने निर्णय भएकाे उनले बताए । उनले तामाकोशी, मेलम्चीलगायतका ठूला आयोजनामा पनि भित्रै कामदार राखेर काम सुचारु गर्न सकिने पनि बताए । अब लकडाउन सहज भएर राष्ट्रिय गाैरवका आयाेजनाहरूमा नियमित रूपमा काम गर्न सकिने छ ।
प्रभु बैंकले कोरोना नियन्त्रण कोषमा दियो १ करोड रुपैयाँ
काठमाडौं । प्रभु बैंकले कोरोना नियन्त्रण कोषमा १ करोड १ लाख रुपैयाँ दिएको छ । बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । चैत २० गतेका दिन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको पनि उपस्थिति रहेको थियो ।
काेराेना उपचार काेषमा प्राइम बैंककाे १ कराेड ७५ लाख सहयाेग, लकडाउनकाे बेलामा ८४ शाखाबाट सेवा सुचारू
काठमाडौं । प्राइम कमर्सियल बैंकले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार काेषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त काेषमा सहयाेग गर्ने बैंकहरू मध्ये अहिलेसम्म प्राइम बैंक सबैभन्दा धेरै रकम हाे । महामारी राेकथाम कार्यमा सबैले सहयाेग गर्नु पर्ने जनाउँदै उनले सक्दाे सहयाेग गर्न गरेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले विकासन्युजसँग भने । लकडाउनकाे बेलामा खान नपाएकाे मानिसहरूलाई खाद्यन्य वितरणा गरेर सहयाेग गर्ने डीआइजी विश्वराज पाेखरेलकाे पराेपकारी कार्यमा पनि बैंकले सहयाेग गरिरहेकाे बताए । लक डाउनकाे बेलामा बैंकले ८४ वटा शाखाबाट सेवा प्रदान गरिरहेकाे उनले बताए । ‘यस्ताे बेलामा हामीले जागिर खाने हाेइन, ड्युटी निर्वाह गर्ने हाे’ उनले भने । महामारीकाे बेलामा पनि स्वास्थ्य कर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीले पनि आफ्नाे कर्तव्य निर्वाह गरिरहेकाे उदाहरण दिदै बैंकका कर्मचारीलाई पनि आफ्नाे कर्तव्य निर्वाह गर्न प्रेरित गरेकाे उनले बताए ।
फेसबुक सम्बन्धी १२ रोचक तथ्यहरु
काठमाडाैं । सोशल मिडियाको सबैभन्दा ठूलो नेटवर्क भनेको फेसबुक नै हो । आज धेरै कमको स्मार्टफोनमा मात्र फेसबुकको एप भेटिँदैन होला । सन् २००४ बाट शुरुभएको यो सोसियल साइट छोटो समयमानै निक्कै चर्चित बन्न सफल भइसकेको थियो । आज फेसबुक तपाईं हाम्रो जीवनको एउटा हिस्सा बनिसकेको छ । हामीले फेसबुकमा धेरै रोचक कुराहरु हेर्ने र पढ्ने गरेका छौं । तर यो सोशियल साइटकै वारेका रोचक कुराहरु भने तपाईंलाई थाहा नहुन सक्छ । यस्ता छन् फेसबुकका १२ रोचक तथ्यहरुः १. फेसबुकको शुरुवात ४ फेब्रुअरी, २००४ मा भएको थियो । २. १९ फेब्रुअरी २०१४ मा फेसबुकले ह्वाट्सएप लाई किनेको थियो । ३. फेसबुकका फाउण्डर मार्क जुकरबर्ग स्यालरीको रुपमा हरेक वर्ष १ डलर मात्र लिने गर्दछन् । ४. फेसबुकमा हरेक दिन ३५ करोड भन्दा पनि बढि फोटोहरु अपलोड हुने गरेको छ । ५. फेसबुकमा हरेक मिनेट १८ लाख भन्दा बढि लाइक आउने गरेको छ । ६. फेसबुकमा ३ करोड भन्दा पनि बढि एकाउन्ट यस्ता छन् जसका सञ्चालकहरुको मृत्यु भइसकेको छ । ७. फेसबुकमा हरेक दिन कम्तीमा पनि ६ लाख ह्याक अट्याक हुने गरेको छ । ८. अमेरिकामा गरिएको एउटा सर्भेका अनुसार सन् २०११ मा अमेरिकामा ५ बिवाहमध्ये एउटा डिभोर्सको घटनामा फेसबुकनै कारणको रुपमा रहेको थियो । ९. फेसबुकमा तपाईं जोसुकैलाई पनि ब्लक गर्न सक्नुहुन्छ तर फेसबुकका मालिक मार्क जुकरबर्गलाई कहिल्यै पनि ब्लक गर्न सक्नुहुन्न । १०. फेसबुकले पनि गुगलले जस्तै तपाईंको हरेक गतिविधि माथि नजर राख्ने गर्दछ । ११. फेसबुकको सवैभन्दा बढि युजरहरु इण्डियामा रहेका छन् । १२. चीनले सन् २००९ मा आफ्नो देशमा फेसबुकमाथि प्रतिवन्ध लगाएको थियो । जसका कारण एकै दिनमा फेसबुकले ९ करोड भन्दा बढि युजरहरु गुमाउनु परेको थियो ।