काठमाडौं मेरियट होटलले बाल्यो प्रेम र आशाका बत्तीहरू !
काठमाडौं मेरियट होटलले प्रेम र आशाका बत्तीहरू बालकाे छ । यस होटलले हरेकलाई सम्मान गर्छ जसले यो बिस्वब्यापी कोरोना मुक्त गर्न निरन्तर सेवा र काम गर्दै आइरहेकाे छ ।
सुदूरपश्चिम: मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक
धनगढी । धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने मजदुरका लागि घरदैलोबाट राहत सङ्कलन गरेर फुडबैंक स्थापना गरिएको युवा समाजसेवी मदन भट्टले बताए । लकडाउनमा आय आर्जनको बाटो बन्द हुँदा असहाय, गरीबलाई रोगसँगै भोकले महामारी ल्याउन सक्ने अवस्थालाई मध्यनजर गरेर फुडबैंक स्थापना गरिएको स्थानीय युवा समूहले जनाएको छ । युवा समूहले उपमहानगरपालिका–३ को मसानटोलका दैनिक काम गरेर घर खर्च चलाउने विपन्न ९४ परिवारलाई खाद्यान्न वितरण गरिएको बताइएको छ । उपमहानगरपालिकाद्वारा लकडाउनका कारण छाक टार्न समस्या भएका करिब २०० परिवारलाई राहतस्वरुपको खाद्यान्न वितरण गरिएको छ । नगरप्रमुख नृपबहादुर वडका अनुसार राहत वितरणका लागि प्रत्येक वडामा अध्यक्षको संयोजकत्वमा सर्वदलीय तथा सर्वपक्षीय समिति गठन गरी लकडाउनले छाक टार्न समस्या भएकाको विवरण सङ्कलन गरिएको थियो । उक्त समितिले सङ्कलन गरेको विवरणका आधारमा राहत वितरण शुरु गरिएको हो । वडा नं ८ र ५ मा बिहीबार बिहानैदेखि राहत वितरण गरिएको थियो । अन्य वडामा पनि वितरणका लागि खाद्यान्न पु¥याउने काम भइरहेको बताइएको छ । धनगढी–८ का अध्यक्ष नारायणप्रसाद बरालले लकडाउनका कारण छाक नै चल्न नसकेका करिब दुई सय परिवारलाई राहत स्वरुपको खाद्यान्न वितरण गरिएको जानकारी दिनुभयो । त्यस्तै वडा नं ५ मा पनि खाद्यान्न वितरण गर्ने काम सुरु भएको अध्यक्ष हिरासिंह पातलीले बताए । वडाध्यक्षको सहयोग धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष दीपककुमार थापा क्षेत्रीले दैनिक मजदुरी गरेर छाक टार्ने मजदुर, सुत्केरी महिला र अनाथका लागि खाद्यान्न सहयोग गरेका छन् । वडाध्यक्ष थापाले उपमहानगरपालिकाका अन्तर्गतको नगरस्तरीय विपद् व्यवस्थापन खाद्यान्न समाग्री हस्तान्तरण गरेका हुन् । थापाले २१ कट्टा चामल, ५० किलो दाल, तीन बोरा सोयाविन, एक बोरा नुन, दुई पेटी तेललगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेकाे विपद् व्यवस्थापन समितिले जनाएको छ । बेहडाबाबा मन्दिरद्धारा खाद्यान्न धनगढीस्थित बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले खाद्यान्न सामग्री उपलब्ध गरेको छ । मन्दिर व्यवस्थापन सेवा समितिका सचिव पदमराज जोशीलगायतको टोलीले चामल ४८ कट्टा, आलु सात कट्टा, नुन दुई कट्टा नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई बुझाइएको छ । समितिका सचिव जोशीले अप्ठ्यारो अवस्थामा सबैलाई यसरी नै मानवीयता सम्झेर सहयोग गरिदिन आम जनसमुदायलाई अनुरोध गरे । धनगढीको हिमशिखर सहकारी संस्थाले पनि मजदुरी गरेर खाने वर्गका लागि भन्दै २० कट्टा चामल र पाँच पेटी खानेतेललगायतका खाद्यान्न सहयोग गरेको छ । रासस
छैटौं काेराेना संक्रमित वृद्धाको धौलागिरि अस्पतालमा उपचार हुँदै
गलकोट। बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याएर उपचार शुरु गरिएको छ । होम क्वारेन्टाइनमा बस्दै आएकी वृद्धालाई कोरोना पुष्टि भएसँंगै बिहीबार साँझ धौलागिरि अञ्चल अस्पतालमा ल्याएर आइसोलेशन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उक्त वृद्धाको स्वास्थ्य अवस्था भने सामान्य छ । संक्रमित वृद्धा यही चैत ४ गते बेल्जियम हुँदै कतारको दोहाबाट नेपाल आएकी थिइन् । क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आउनुभएका उनीसँगै बागलुङमा कोरोना संक्रमित दुई भएका छन् । उनी सवार विमानमा संँगै आएका बागलुङकै एक किशोरीमा कोरोना पुष्टि भएसंँगै वृद्धाको समेत स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । बिहीबार आएको नमूना स्वावको रिपोर्टमा पोजेटिभ देखिएकाले उनलाई अञ्चल अस्पतालमा ल्याएर उपचार गर्न थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए । “उपचाररत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ” पोखरेलले भने, “हामी सुरक्षित तरिकाले उपचारमा खटिरहेका छौँ, तपाईँहरु घरमै बस्नुहोस्, समस्या भए तुरुन्तै अस्पताललमा सम्पर्क राख्नुहोस् ।” चैत १५ गते भएको स्वास्थ्य परीक्षणमा बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको उडानमा चैत ४ गते नेपाल आएकी बागलुङकी युवतीमा कोरोना पुष्टि भइसकेको छ । उक्त युवतीको पनि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको दोस्रो पटकको स्वाब परीक्षणको काम भइरहेको छ । बागलुङमा दुई जनालाई कोरोना पुष्टि भएसँंगै बागलुङ कोरोनाको इपिसेन्टर बन्दै गएको भनी यहाँका नागरिकले थप सतकर्तता अपनाउन थालेका छन् । रासस
सरकारी निकायलाई अर्थमन्त्रालयको परिपत्रः गाडी नकिन्नु, तालिम र गोष्ठीमा पैसा खर्च नगर्नु
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनका कारण राजस्व असुली कम हुने र खर्च बढ्ने भन्दै अर्थमन्त्रालयले खर्च कटौतिका विकल्प थालेको छ । महामारी नियन्त्रण र प्रभावितलाई राहत दिन रकम आवश्यक पर्ने भएकोले खर्च कटौति गरेर रकमको व्यवस्था गर्न लागिएको हो । यसका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय तथा निकायहरुलाई परिपत्र गर्दै विभिन्न १४ शिर्षकमा छुट्टयाइएको बजेट खर्च नगर्न भनेको छ । ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सार्वजनिक गतिविधि र आवागमनलाई नियन्त्रण गर्न विभिन्न उपायहरु अवलम्बन गरिएको छ, यसबाट आर्थिक गतिविधि प्रभावित भएकोले राजस्व संकलनमा समेत असर परेको छ, विनियोजन ऐन २०७६ बमोजिम चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम हाललाई स्थगित गरी विभिन्न निकायहरुमा विनियोजित बजेटलाई आवश्यकता अनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण लगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा समेत उपयोग गरी स्रोत व्यवस्थापन गर्नुपर्ने भएको छ,’ मन्त्रालयले गरेको परिपत्रमा उल्लेख गरिएको छ । मन्त्रालयको परिपत्र अनुसार अव सरकारी निकायहरुले सेवा र परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अनुगमन, मूल्यांकन खर्च (अतिआवश्यक बाहेकको) र भैपरी आउने चाल खर्च शिर्षकमा अब खर्च गर्न पाउने छैनन् । यस्तै, सवारी साधन, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्च एबम् अन्य बौद्धिक सम्पत्ति प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति खर्च र भैपरी आउने पुँजीगत शिर्षकको स्वीकृत बजेट पनि अब खर्च गर्न नपाइने भएको छ । तर, २० चैतसम्ममा दायित्व सिर्जना भइसकेको अवस्थामा भने खर्च गर्न पाइनेछ । ‘विनियोजित बजेटमध्ये २०७६ चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेका र बोलपत्र आव्हान भइसकेका बोहकको बाँकी रहेको बजेट तत्काल लागू हुनेगरी रोक्का गरिएको छ,’ परिपत्रमा उल्लेख छ ।
वीरगञ्जका चिकित्सक मन्सुरीकाे गलत रिपोर्टका कारण बिरामीकाे मृत्यु भएकाे आराेप
काठमाडौं । नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरी परिवारजनले दोषीलाई कडा कारवाही र पीडितजनलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका हुन् । यही चैत १५ गते समान्य ज्वरो र रुघाखोकी लागेपछि नेशलन मेडिकल कलेजमा भर्ना गरिएका विजयलाई स्वास्थ्य जाँच गरी डा मन्सुरीले कोरोना भाइरसको सङ्क्रमण भएको बताएको मृतकका भाइ महेशले बताए । बेड नम्बर २४ मा भर्ना गरिएका दाइको वार्डबाट सबै बिरामीलाई अर्को वार्डमा सारेको र आफूहरुमाथि दुव्र्यवहार गरी प्रहरी लगाई ‘कोरोना भएको व्यक्तिलाई एक मिनेट पनि राख्न नसक्ने’ भन्दै अस्पतालले जबरजस्ती नारायणी अस्पतालमा पठाएको मृतकका अर्का भाइ राजाले बताए । नारायणी अस्पतालले बिरामीको अवस्था हेरी वीरगञ्जको हेल्थकेयरमा रिफर गरेको थियो । त्यस अवधिसम्म मिडियामा दाइ विजयको कोरोना लागेको खबर पनि अस्पतालले चारैतिर फैलाइसकेको भाइ महेशको आरोप छ । चैत १६ गते हेल्थकेयर, ब्योधालगायतका अस्पतालमा लगे पनि कोरोना लागेको हो भनी उपचार नगरेपछि बाध्य भएर राति करिब नौ बजे एम्बुलेन्स भाडामा लिई काठमाडौँ लगिएको उनले बताए । “बाटोमै दाइको अवस्था निकै बिग्रिसकेको थियो । टिचिङ अस्पतालमा भर्ना गराएपछि केहीबेरमै मृत घोषणा गरियो”, महेशले भने, “शवलाई फ्रिजमा राख्न लगाएर म र भाइ राजालाई क्वारेन्टाइनमा राखी खानसमेत दिइएन ।” त्यहाँका वरिष्ठ चिकित्सकहरूले आफूहरुलाई बोलाई सबै कुरा सोधपुछ गरेर कोरोना परीक्षणका लागि शव टेकु अस्पतालमा पठाइएको र परीक्षणमा दाइ विजयमा कोरोना भाइरसको सङ्क्रमण फेला नपरेपछि चैत १८ गते शव बुझाएको उनले बताए । उनका अनुसार त्यही दिन शवलाई बारा ल्याई दाहसंस्कार गरियो । मृतककी श्रीमती अन्तिमा सात महिनाको गर्भवती छिन् । बारा र पर्साका प्रहरी प्रशासनलाई समस्याका बारेमा जानकारी दिँदासमेत कुनै सुनवाइ नभएकाले दाइको ज्यान गएको भन्दै भाइ महेशले अरु नेपाली दाजुभाइको पनि दाइजस्तो ज्यान नजाओस् भनेर सबैलाई सचेत हुन आग्रह गरे । उनले यस्तो गैर जिम्मेबार नेशनल मेडिकल कलेजको खारेजी र डाक्टरमाथि कडा कारवाहीको माग गरे । कोरोना पुष्टि भएको रिपोर्ट दिने नेशनल मेडिकल कलेजका प्रबन्धक, चिकित्सक, नर्स र ल्याबमा काम गर्नेहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने मुद्दा दिने उनले बताए । रासस
अचम्मको व्यापार गर्छिन् पूजा: गधाको दूधबाट साबुन र फेसप्याक बनायो, मनग्य कमायो
साथीहरु, तपाईंले धेरै प्रकारका बिजनेस आइडियाहरुको बारेमा सुन्नुभएको होला । तर आज जुन तपाईं यस आर्टिकलमा पढ्नुहुन्छ त्यो किसिमको बिजनेसका बारेमा न कहिल्यै सुन्नुभएको होला न त कहिल्यै देख्नुनै भएको होला । हामी जीवनमा गधालाई कुनै महत्व दिँदैनौं र साथै त्यो मानिसलाई गधाको संज्ञा दिने गर्छौं जो कुनैपनि काम नगरिकन यत्तिकै बसिरहन्छ । अर्थात् गधा हाम्रो लागि यूजलेस जनावर हो । तर यो तपाईं र मेरा लागि युजलेस हुन सक्छ, पूजा कौलको लागि भने कदापी होइन । पूजा कौलले गधाको महत्व बुझिन् । उनले जानिन् की गधाको दूध धेरै नै फाइदाजनक हुन्छ । उनले यस क्षेत्रमा जानकारी जुटाइन् र खोलिन् आफ्नै विजनेस र त्यसलाई नाम दिइन् ‘अग्र्यानिको’ । अग्र्यानिकोले गधाको दूधबाट ब्यूटी प्रोडक्ट बनाउँछ र बेच्ने गर्दछ । को हुन् पूजा ? पूजा भारतको महाराष्ट्र राज्य अन्तर्गत्को सोलापुरकी स्थायी वासिन्दा हुन् । पूजाले जब आफ्नो पढाई पूरा गरिन् तब उनका सामू दुई अप्शन थिए । एउटा थियो सरकारी जागिर खाने र अर्को थियो आफ्नै कुनै बिजनेस गर्ने । पूजाले दोस्रो अप्शन रोजिन् र त्यही क्षेत्रमा अनुसन्धान गर्न थालिन् । उनले थाहा पाइन् की मिस्रको रानी धेरै सुन्दर थिइन् र त्यसको कारण थियो गधाको दूध प्रयोग गर्नु । यसैबाट पूजालाई उक्त बिजनेस आइडिया फुर्यो । पूजा यो दावा गर्छिन् की अग्र्यानिकोले शत प्रतिशत शुद्ध चीज मात्र बेचिरहेको छ । गधाको दूधको फाइदा पूजा भन्छिन् की, उनले जब अनुसन्धान गरिन् तब यो थाहा पाइन् की गधाको दूधमा भिटामिन सी, ए, बी र ओमेगा थ्री जस्ता महत्वपूर्ण तत्वहरु हुन्छन् र ती सवै तत्वहरु छालालाई कोमल र सुन्दर बनाउनका लागि धेरै नै आवश्यक मानिन्छ । अनुहारमा देखापर्ने दागहरु हटाउन पनि यसले मद्दत गर्दछ । कसरी हुन्छ काम ? पूजाले ती किसानहरुसँग सम्पर्क गरिन् जो गधा पाल्ने काम गर्थे । गधाको दूध भारतमा प्रतिलिटर ३ हजार रुपैयाँ पर्दथ्यो । तर पुजाले किसानहरुसँग कुरा गरेर २ हजार रुपैयाँ प्रतिलिटरको हिसाबले दूध किन्न सुरु गरिन् र ब्यूटी प्रोडक्ट उत्पादन गर्न थालिन् । पूजा त्यो दूधबाट तयार गरिएको साबुन, फेसप्याक र हनी सोप बेच्छिन् । उनी अनलाइन र अफलाइन दुवै तरिका अजमाउँछिन् र दुवै बाटनै ग्राहक उनिसम्म आइपुग्छन् । पूजाका अनुसार उनको टार्गेट भनेको २५ देखि ५० वर्ष सम्मका महिलाहरु हुन् । ती महिलाहरु जो आफैंलाई सुन्दर बनाउनका लागि धेरै पैसा खर्च गर्छन् तर सही उत्पादन चाहिँ भेटेका हुँदैनन् । पूजाको योजना छ की उनी आगामी वर्ष सम्म लगभग एक सय जना गधा पालक किसानहरुसँग सहकार्य गर्न सकुन् र अन्य धेरै उत्पादनहरु पनि बजारमा ल्याउँदै अग्र्यानिकको क्षेत्रमा केहि ठूलो काम गरुन् । सजिलो भने थिएन पूजा भन्छिन् की उनले गरेको काम सजिलो चाहिँ थिएन । किनकी एउटा महिलाको नाताले यस प्रकारको काम गर्दा समाजले सजिलै पचाउँदैनथ्यो । शुरुशुरुमा विहान जब उनी दूध लिन जान्थिन् तब उनलाई आफैं पनि एकदम असुरक्षित महसुस हुने गरेको थियो । पूजा अगाडि भन्छिन् की यदि उनी पुरुष हुन्थिन् भने उनलाई पक्कै पनि यस प्रकारको डर लाग्दैन थियो होला । तर विस्तारै उनको त्यो डर हराउन थाल्यो र उनी अगाडि बढ्दै जान थालिन् । जब उनी आफ्नो आइडिया कसैलाई बताउँथिन् तब मानिसहरु हाँस्ने गर्थे तर जब उनी यसको फाइदाको बारेमा बताउँथिन् तब जोसुकै पनि उनको कामको तारिफ गर्दथे । पूजाको साथ उनका क्लासमेट ऋषभ यश तोमर पनि छन् । पूजाको भनाइ छ की साना शहरहरुका उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्छ ताकि सकारात्मक सन्देश फैलन सकोस् । आज पूजा धेरै खुशी छिन् र उनको व्यापार राम्रोसँग चल्न थालिसकेको छ । भइरहेको आम्दानीलाई पूजाले फेरी पनि यहि व्यापारमै लगाउने गरेकी छिन् र कम्पनीलाई अझै अगाडि बढाउन कोशिस गरिरहेकी छिन् । (ज्ञानीपण्डितडटकमबाट भावानुवाद गरिएको) तस्विर साभारः फोब्र्सडटकम
कोरोना रोकथामका लागि म्याग्दीमा तीन करोड विनियोजन
म्याग्दी। कोरोना भाइरस रोकथामका लागि म्याग्दीमा करिब रु तीन करोड विनियोजन गरेका छन् । छ स्थानीय तह रहेको म्याग्दीमा बिहीबार मङ्गला गाउँपालिकाले विनियोजन गरेको रु ३० लाखसहित कोरोना रोकथामका लागि स्थानीय तह र अन्य निकायको बजेट रु दुई करोड ९६ लाख पुगेको हो । यसअघि अन्नपूर्ण गाउपालिकाले रु ७० लाख, बेनी नगरपालिका र धवलागिरि गाउँपालिकाले रु ५०/५० लाख, रघुगङ्गा गाउँपालिकाले रु ३४ लाख र मालिका गाउँपालिकाले रु २० लाख विनियोजन गरेका थिए । जिल्ला समन्वय समितिले विपन्नको खानपानको व्यवस्थापनका लागि छ स्थानीय तहलाई रु दुई–दुई लाख र बेनी अस्पताललाई औजार, उपकरण खरिद गर्न रु तीन लाख सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बेनी अस्पताललाई आइसोलेसन व्यवस्थापन गर्न रु पाँच लाख दिएको छ । विनियोजन भएको रकम कोरोना रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहत वितरणमा परिचालन हुने मङ्गला गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले बताए । उनका अनुसार कोषमा अध्यक्ष सतप्रसाद रोकाले व्यक्तिगतरुपमा रु एक लाख उपलब्ध गराएका हुन् । स्थानीय तहहरुले कोरोनाविरुद्धको सचेतना फैलाउन, विदेशबाट आएकालाई राख्ने क्वारेन्टाइन बनाउन र विपन्नलाई खाद्यान्न उपलब्ध गराउने सो बजेट परिचालन गर्ने जनाएका छन् । मङ्गलाका विभिन्न बस्तीमा लकडाउनको कार्यान्वयन र कोरोना रोकथामका लागि सचेतना फैलाउन १६ जना स्वंसेवक कार्यदल परिचालन गरिएको छ । बाबियाचौरको मङ्गला शिक्षा क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा नौ जनालाई राखिएको छ । पाँच वडा रहेको मङ्गला गाउँपालिकामा पछिल्लो एक महिनायता विदेशबाट आएका ३० मध्ये १५ दिन नपुगेकालाई क्वारेन्टाइनमा राखिएको थियो । बेनी अस्पतालको आइसोलेसनमा रहेका एक जनाको स्वाबको नमूना सङ्कलन गरेर परीक्षणका लागि पोखरा पठाइएको छ । बेनी र स्थानीय तहहरुले स्थापना गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ५१ जना रहेको प्रजिअ ज्ञाननाथ ढकालले बताउनुभयो । “जिल्लाभर १२५ श्ययाको क्वारेन्टाइन बनाइएको छ”, उनले भन्नुभयोे, “एक महिनायता विदेशबाट आएका ११५ जनाको लगत सङ्कलन भएकामा १५ दिन नपुगेका र शङ्कास्पदलाई क्वारेन्टाइनमा राखिएको हो ।” रासस
चेम्बर अफ कमर्सद्वारा विभिन्न जिल्लामा नगद सहित खाद्यान्य सहयोग
काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा नगद सहयोग गरेको छ । साथै, चेम्बरले माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्रा र कार्यकारी सदस्य नवराज ढकालबाट नेपाल प्रहरी महानिरीक्षकलाई प्रहरी प्रधान कार्यालय नक्सालमा ५ हजार थान माक्स हस्तान्तरण गरिएको छ । त्यस्तै, गोदावरी चेम्बर अफ कमर्सले नगरपालिकाको विपत कोषमा खाद्यन्न सहयोग गरेको छ । यसले एक टन चामलको सहयोग गरेको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले अगलागी पिडित तारा कार्की (विष्ट) तथा रमेश कार्कीलाई नगद १३ हजार २ सय ७० रुपैया सहयोग गरेको छ । त्यसैगरी, देवदह चेम्बर अफ कमर्सले २५ हजार ५ सय ५५ रुपैया नगरपालिकालाई हस्तान्तरण गरेको जनाएको छ ।