चेम्बरद्वारा ट्राफिक प्रहरी महाशाखा र टेकु हस्पिटललाई माक्स र पञ्जा हस्तान्तरण
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ट्राफिक प्रहरी महाशाखा र टेकु हस्पिटललाई २५ सय माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राले शुक्राबार उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । यसका साथै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्वारा टेकु हस्पिटल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) का डाक्टर राजेश शाहलाई १ हजार माक्स पनि हस्तान्तरण गरिएको छ ।
देश लकडाउनमा: कुलमानलाई भने भ्याइनभ्याई
काठमाडौं । जब घरमा झ्याप्प बत्ति निभ्छ अनि राजधानीवासीले कुलमान घिसिङ गयो भन्छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारीको जिम्मेवारी सम्हालेपछि राजधानीको लोडसेडिङको अन्त्य गर्ने लोकप्रिय काम गरेर जनमानसको मन जित्न सफल भएको नाम हो कुलमान घिसिङ । उनी देशलाई विद्युतको आत्मनिर्भर बनाउनको लागि अहोरात्र खटिरहेका छन् । लोडसेडिङको मारमा खेपेर दिक्दार महसुस भएका आम नागरिकहरु अहिले घिसिङको जयजयकार गर्छन् । घिसिङको हरेक गतिविधि र कामप्रति सबैको चासो बढ्दै गएको छ । उनी अहिले एक सेलिब्रेटीका नाममा पनि परिचित छन् । देश अहिले लकडाउनमा छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गइरहेको बेला सरकारले यसको जोखिम कम गर्न लकडाउनको घोषणा गरेको छ । सरकारले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्न निर्देशन गरेसँगै सबै कर्मचारी फुर्सदिला बनेका छन् । तर, कुलमान घिसिङलाई भने यो लकडाउनले झन बढी व्यस्त बनाएको छ । फेरिएन दैनिकी लक डाउनको समयमा कुलमानको दैनिकी कसरी बित्छ ? खाने–पिउने तालिका के छ ? कुन बेला उठ्छन्, कुनबेला सुत्छन् ? घरपरिवार र अफिसलाई कसरी समय दिन्छन् ? याे सबैको चासो र जिज्ञासाको विषय हो । किनभने जनताले उनलाई एक आइडलका रुपमा बुझ्छन् । देशमा भइरहेको लकडाउनले कुलमान घिसिङको दैनिकीलाई खासै फरक नपारेको उनी बताउँछन् । किनभने उनी आफ्नो नियमित कार्य पहिले जस्तै गरिरहन्छन् । उनको पहिले जस्तै अफिस जाने र घर आउने काम रोकिएको छैन । अहिले पनि आफु दिनभर कार्यलयमै व्यस्त हुने उनी बताउँछन् । विकासन्यूजसँगको टेलिफोन वार्तामा उनी भन्छन, ‘कामको चापले गर्दा धेरैजसो समय कार्यालयमा बित्छ, लकडाउनको समयमा घरपरिवारसँग घुम्ने भन्ने कूरा पनि भएन, तर पहिलेकोभन्दा परिवारलाई अलि बढी समय दिने गरेको छु ।’ कुलमानको एकदिन कुलमान बिहानै पाँच बजे उठ्छन् । एक लिटर मनतातो पानी पिउँछन्, बाथरुम जान्छन्, फ्रेस हुन्छन् । शरीर हल्का भएपछि व्यायाम गर्छन् । केही आसनको योगाभ्यास गर्छन् । लकडाउन हुनुभन्दा पहिले योगाभ्यास अलि कम गर्थे । अहिले अलि बढी गर्ने गरेको उनी बताउँछन् । त्यसपछि नुहाउँछन् । कालो चिया पिउँदै आज दिउसो के गर्ने भनेर बिहानै टाइमटेवल बनाउँछन् । देशमा लकडाउन भएको बेला कोही पुस्तक पढ्ने, कोही घर परिवारसँग टाइमपास गरेका भिडियोहरु पछिल्लो समय सामाजिक सञ्जालमा आइरहेका छन् । तर, उनी भने पहिले जसरी नै काम गरिरहेको बताउँछन् । बिहान दश नबज्दै अफिस पुग्छन् । बेलुका पाँच बज्दा पनि उनी कार्यालयकै काममा व्यस्त हुन्छन् । जबसम्म उनी आफुले गर्न लागेको काम सकाउँदैनन् त्यतिसम्म आफ्नो सिटबाट हलचल गर्दैनन् । बरु उनलाई आजभोली भेट्न आउने मान्छेको कमि भएको छ । त्यो समयमा अफिसमा बसेर नीति नियमका काम बनाउने तथा टुङ्ग्याउने गरेको उनी बताउँछन् । दिनभरको कामको धपेडी र थकानसँगै उनी १० बजे नै सुति हाल्छन् । लकडाउनले आफ्नो दैनिकीमा असर नपारेको उनी बताउँछन् । कर्मचारी अनलाइनबाटै काम गर्दै कुलमान घिसिङ एक असल व्यवस्थापक भनेर पनि चिनिन्छन् । अहिले कोरोनाको त्रास र सरकारले लकडाउन घोषणा गरेसँगै प्राधिकरणका कर्मचारीहरुले घरमा बसी अनलाइनबाटै काम गरिरहेको उनी बताउँछन् । ‘अफिसमा आवश्यक काम पर्यो भने जो आवश्य छ उसैलाई बोलाइन्छ, नभए उनीहरु अहिले घरबाटै काम गरिरहेका छन्, कुनै ठाउँ लाइन गयो वा तार काटियो भने नो लाइटका साथीहरु हुनुहुन्छ,’ उनले भने । सबै कर्मचारीहरु मिलेर देशभरको विद्युत आपुर्ति सहज बनाउने काममा जुटिरहेकाे उनको भनाइ छ । सबैलाई अफिस आउन बाध्यात्मक नभएको उनले बताए । प्राधिकरणले यस अघि गर्ने काम कुनै पनि नरोकिएको उनले बताए । पहिले जुन–जुन ठाउँमा काम भइरहेको थियो त्यो नियमित नै भइरहेको उनको भनाइ छ । आफुले पनि सबै कर्मचारीहरुसँग समन्वय गरेर आफुले पहिले गर्न नभ्याएका कामहरु गरिरहेको उनले बताए । बिहान बेलुका पढ्नेदेखि परिवारलाई समय दिने र अफिसको काम नरोकिने तरिकारले सेडुअल मिलाएर निरन्तर काम गरिरको उनको भनाइ छ ।
सनराइज बैंकले गण्डकी प्रदेश सरकारलाई दियो ५० थान पीपीई
काठमाडौं । सनराइज बैंकले गण्डकी प्रदेश सरकारलाई ५० थान पीपीई( व्यक्तिगत सुरक्षात्मक उपकरण ) हस्तान्तरण गरेको छ । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोग कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेशमा सहयोग पुर्याउन गण्डकी प्रादेशिक कार्यालय मार्फत उक्त उपकरण हस्तान्तरण गरेको हो । ५० थान पीपीई मध्ये ५ थान पुनः प्रयोग गर्न मिल्ने बैंकले जनाएको छ । सनराईज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी.ले सामाग्री हस्तान्तरण गर्दै गण्डकी प्रदेशमा समेत कोरोना भाइरस रोगको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवामा खटीने सबैको सुरक्षाको लागि सनराईज बैंककाे गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त उपकरण गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेशको पर्वत जिल्ला निवासी सनराईज बैंकका प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पौडेलका अनुुसार यो समयमा पीपीईको सबैभन्दा ठुलो महत्व भएकाले २ हप्ता सम्म पीपीईको खोजी गरी कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई हौषला बढाउन यो सहयोग गरेको बताए । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सनराईज बैंक लि.बाट प्राप्त भएको यी सामाग्री नेपाली सेनालाइ ५ थान, नेपाल प्रहरीलाई ५, सशस्त्र प्रहरी बललाई ५ थान र सामाजिक विकास मन्त्रालयलाई ३० थान हस्तान्तरण गरी यो समयमा पिपिई अत्यन्तै उपयोगी सामाग्री भएको बताउँदै सनराईज बैंकलाई धन्यवाद दिएका छन् ।
‘डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन’
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न महानगरपालिकाबाट चालिएका कदमहरुबारे आज सञ्चारकर्मीहरुलाई जानकारी दिँदै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने – “डेरामा बस्नेहरुलाई मात्र राहत बाँड्ने भन्ने होइन । काठमाडौँमा घर भएरै पनि खाद्यवस्तु किनेर खान सामथ्र्य नराख्ने घर परिवारलाई समेत राहत बाँड्ने हो ।” सरकारी सेवामा रहेका डेरावालहरुले यस्तो राहत नपाउने प्रमुख शाक्यले स्पष्ट पारे । राहत वितरणलाई अघि बढाउन महानगरपालिकाले जनसङ्ख्याको आकारका आधारमा आठ लाख, छ लाख र चार लाख रुपैयाँका दरले वडाहरुलाई सहयोग रकम निकासा गरिसकेको जानकारी पनि उनले दिए । उनले भने – “महानगरपालिकाले अहिले टोल टोल र वस्ती वस्तीमा कीट नाशक औषधि छर्कने अभियानलाई अघि बढाइरहेको छ ।” विपद्का बेला सन्त्रासको वातावरण सिर्जना नगरिदिन सञ्चारकर्मीहरुसँग आग्रह गर्दै उनले भने – “विदेशबाट फर्केका नागरिकलाई अपराधी सरह नभै सम्मानपूर्वक व्यवहार गरौं । ऊ स्वयं पनि एकान्तवासमा रहनुपर्छ । परिवारका सदस्यसँगै घुलमिल नगरेर बसिदिनुपर्छ । हरेक नागरिकले आफैं सुरक्षित बनेर छिमेकी, समाज, देश र सम्पूर्ण मानव जातिलाई सुरक्षित पार्छु भन्ने भावना राख्नुपर्छ ।” सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको पहिचान र उसको स्वास्थ्य परीक्षण गर्न सहज होस् भन्ने हेतुले महानगरपालिकाले ‘कोभिड – १९ सर्भिलेन्स सर्भिस’ एप्प सञ्चालनमा ल्याइसकेको छ । यसमा केही व्यक्तिहरुले आफ्ना विवरण भरेर पठाइसकेका छन् । राहत बाँड्दा दोहोरिन सक्ने र पाउनु पर्ने चाहीँ छुट्न सक्ने संभावनाबारे राखिएको एक जिज्ञासामा उनले भने – “हामीले लक्ष्यित वर्गको प्रारम्भिक विवरण तयार पारेका छौं र त्यसकै आधारमा वितरण गर्ने काम भइरहेको छ । कसैले खानै नपाउने स्थिति नआओस् भन्नेमा हामी सचेत छौं ।” तात्कालिक रुपमा लकडाउन अवधिभरका लागि क्यालोरीको गणना गरी खाद्यवस्तु वितरण गरिएको उनले बताए । उनका अनुसार राहत पाउनु पर्ने व्यक्तिहरुको यकिन विवरण आजै ३२ वटै वडाबाट प्राप्त हुनेछ । कुनै ठाउँ वा वस्तीमा अत्यावश्यकीय वस्तुको अभाव देखिए ढुवानीमा सहजीकरण गरिदिने प्रवन्ध पनि महानगरपालिकाले मिलाएको उनले जानकारी दिए । सर्वसाधारण नागरिकका लागि राहत वा अन्य कुनै विषयमा जानकारी लिन वा सहयोग माग्न महानगरपालिकाले हटलाइन ११८० को व्यवस्था पनि गरेको छ । रासस
नेपाल लिकर्सद्वारा मोरङको बुढीगंगा गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण
काठमाडाैं । नेपाल लिकर्स प्रालिले मोरङको बुढीगंगा गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । लक डाउनका कारण दैनिक ज्यालादारी काम गर्दै आएका परिवारलाई हात मुख जोर्न समस्या पर्दै गएपछी नेपाल लिकर्स प्रालिले राहत सामग्री हस्तान्तरण गरेको हाे। कम्पनीका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर राजेश वीर सिंह तुलाधरले गाउँपालिकालाई राहत सामग्री हस्तान्तरण गरेका हुन् । नेकपा बुढीगंगा गाउँ कमिटीको संयोजनमा राहत सामाग्री हस्तान्तरण गरिएको हो । नेपाल लिकर्स प्रालिले ५० बोरा चामल, २ बोरा नुन, ३ कार्टुन तेल गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीलाई हस्तान्तरण गरिएको हो । राहत सामाग्री नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले गाउँपालिका अध्यक्ष माझीलाई हस्तान्तरण गरेको जनाइएको छ । साहत सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष माझीले संकटको अवस्थामा हस्तान्तरण गरिएको राहतका लागि नेपाल लिकर्स प्रालिका अध्यक्ष तुलाधर, जनेरल म्यानेजर कलमप्रसाद सिटौलालाई धन्यवाद व्यक्त गरे । राहत हस्तान्तरणमा गाउँपालिका उपाध्यक्ष अमृता गच्छदार लगायतका विभिन्न वडाका वडाध्यक्षहरुसहितका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सले कोरोना रोकथाम कोषमा दियो एक करोड रुपैयाँ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम कोषमा एक करोड रुपैयाँ दिएको छ । कम्पनीले नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा योगदान स्वरुप उक्त रकम सहयोग गरेको छ । नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ । यस महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेको छ ।
मेगा बैंकले गण्डकी र सुदूरपश्चिम प्रदेशलाई दियाे ५-५ लाख रूपैयाँ
काठमाडौं। मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार, गण्डकी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५/५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो । मेगा बैंक गण्डकी प्रदेश प्रमुख कमल कँडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् । यसैगरी, मेगा बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख सागर ओझाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् । मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५-५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । अन्य प्रदेशहरुमा पनि क्रमशः रकम हस्तान्तरण गरिने मेगा बैंकले जनाएको छ । मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गरेको यो सहयोगमा सञ्चालक समितिका सदस्यदेखि मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीहरुले पनि व्यक्तिगत योगदान गरेका छन् ।
पोखरामा देखिएको भनेका सातौं कोरोना केस पोजेटिभ हाईन: प्रवक्ता डा. विकास देवकोटा
काठमाडौं । पोखरामा देखिएको भनेका सातौ कोरोना केस पोजेटिभ नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड– १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. विकास देवकोटाले पोखरामा देखिएको भनेको केस पोजेटिभ नभएको बताएका हुन् । नेपालमा हालसम्म ६ जना कोरोना संक्रमित देखिएका छन् । त्यसमा एकजना पुर्ण रुपमा निको भएर घर फर्किसकेका छन् । हिजोमात्रै बेल्जियमबाट आएकी ६५ वर्षिय वृद्धामा कोरोनाको छैटौं संक्रमण भेटएिको थियो । उनी दोस्रो र पाँचौं संक्रमितसँगै चैत ४ गते कतार एयरवेजको फ्लाईट नं क्यु आर ६५२ मा दोहाबाट नेपाल आएकी थिईन् । शुक्रबार साँझ ४ बजेसम्म नेपालमा कुल १३ सय ५६ जनाको कोरोना परीक्षण भएको छ । नपालभर १ सय २० जना आईसोलेसनमा छन् ।