विकासन्युज

लकडाउन :  कुखुरा फार्ममा चल्ला व्यवस्थापन गर्न कठिनाइ

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनले बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा प्रत्यक्ष असर परेको छ । फार्मबाट उत्पादित चल्ला लकडाउनका कारण बिक्री वितरण हुन नसक्दा व्यवस्थापन गर्न समस्या भएको कुखुरा विकास फार्म खजुराका फार्म प्रबन्धक शङ्कर न्यौपानेले जानकारी दिए । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमातहत रहेको कुखुरा विकास फार्म खजुराबाट प्रत्येक हप्ता उत्पादन हुने आठदेखि १० हजारसम्म चल्लाको बिक्री वितरण कार्य ठप्प भएपछि व्यवस्थापनमा कठिन परिस्थिति आएको प्रबन्धक न्यौपानेको भनाइ छ । “गत हप्ता जसोतसो केही चल्ला कार्यालयको फार्ममा र कार्यालयभन्दा बाहिर किसानको फार्ममा लगेर पालिएको छ, आगामी हप्ताको चल्लालाई व्यवस्थापन गर्न निकै गाह्रो हुने भएको छ”, उनले भने, “अब आउने हप्ताको चल्ला व्यवस्थापन गर्न सकिएन भने खाल्टोमा हाल्नुपर्ने बाध्यता हुनसक्छ ।” उनका अनुसार, कोरोना भाइरसको त्रासका कारण फार्ममा कार्यरत कर्मचारी आवतजावत गर्ने परिस्थिति नहुँदा चल्लाको रेखदेखमा समेत जनशक्ति अभाव भएको छ । फार्ममा हाल करिब नौ हजार कुखुरा छन् । तिनको दाना, पानी, रेखदेख, ह्याचरी मेसिन सेट गर्ने, चलाउने, चल्ला क्यान्डलिङ्ग गर्नेजस्ता दैनिक गर्नुपर्ने काम गर्नका लागि पनि कर्मचारीको अभाव हुन पुगेको छ । “फार्ममा दैनिक घरबाट आउने–जाने कर्मचारीलाई फार्मभित्रै राखेर काम गरिएको छ । फार्ममा बस्न सम्भव नभएका कर्मचारीलाई बिदा दिएर म आफैँ कुखुराको हेरविचारमा खटिएको छु”, प्रबन्धक न्यौपानेले भने । फार्ममा अहिले चार हजार कुखुराले अण्डा दिइरहेका छन् भने अर्को वर्ष अण्डा दिन तयारीका लागि चार हजार पालिएको छ । लोकल जातको कुखुरा र तिनका चल्ला गरी एक हजारको सङ्ख्यामा रहेका छन् । कोरोना भाइरसको त्रासका कारण कुखुराको दानासमेत उपलब्ध नहुँदा दाना पूर्ति गर्न कठिन भएको फार्मका प्राविधिक कमल चन्दले बताए । दाना कम्पनीले मौज्दात सकिएको र लकडाउनमा ढुवानीको समस्या दर्शाउँदै आएको चन्दको भनाइ छ । लकडाउनले निजी क्षेत्रबाट ब्रोइलर कुखुरापालन गरेर जीविकोपार्जन गर्दै आएका किसान पनि प्रत्यक्ष प्रभावित भएका छन् । कुखुरा दैनिकरूपमा खपत हुने होटल व्यवसाय बन्द भएपछि बिक्री वितरण ठप्प भएको खजुरा गाउँपालिका–२ स्थित व्यवसायी लक्ष्मीबहादुर थापाले बताए । उनका अनुसार बिक्री गर्ने समयका कुखुरासमेत लकडाउनका कारण खोरमै दाना खुवाएर पाल्नु पर्दा आर्थिकरूपमा थप क्षति भइरहेको छ । कोरोना भाइरसको त्राससँगै अधिकांशले मासु खानसमेत बन्द गरेको उनको भनाइ छ । नेपाल भेटेरेनरी एशोसिएशनका केन्द्रीय अध्यक्ष शीतलकाजी श्रेष्ठले माछा–मासु खाँदैमा कोरोना भाइरस सर्ने भन्ने कुरा गलत रहेको बताउँदै माछामासुको नियमित प्रयोगले भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमताको विकास गर्न सघाउने हुँदा राम्रोसँग पकाएर खानुपर्ने सुझाव दिए। रासस

उडान प्रभावित हुँदा एनआरएनए कोरियाले पठाउने किट नेपाल आउन अझै अन्योल

काठमडौं । एनआरएनए कोरियाले कोरोना भाइरस परीक्षण गर्ने चार हजार किटसहित अन्य स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । एक हप्ताअघि नै नेपाल आई पुगिसक्ने उक्त किट विमान उडान प्रभावित हुँदा पठाउन समस्या भएको जनाएको छ । यससँगै उक्त किट नेपाल कहिले पुग्छ भन्ने अन्योल अझै कायमै छ । एनआरएनए कोरियाले जानकारीपत्र जारी गर्दै नेपाल पठाउने भनिएको उक्त चार हजार किट २४ घण्टाभित्र नै सुरक्षितरूपमा भण्डारण गरिनुपर्ने अनिवार्य बाध्यता र विमान उडान तालिकाको अनिश्चितताका कारण खरिद गरिएको किट नेपाल पठाउन नसकिएको हुँदा सुरक्षितरूपमा उत्पादक कम्पनीमा नै भण्डारण गरिएको जानकारी दिएको छ । उक्त किट पठाउन कोरियन एअरको सउल–काठमाडौं चार्टर्ड उडान तालिकाको निश्चिततासँगै यथाशक्य छिटो नेपाल सरकारसमक्ष हस्तान्तरण गरिने जनाएको छ । जानकारी पत्रअनुसार उक्त चार हजार किटबाहेक अन्य स्वास्थ्य सामग्री दुई हजार पिपीइ सेट, १० हजार एन–९५ मास्क, २० हजार सर्जिकल मास्क, दुई हजार नेपाल पुग्ने गलेस, दुई हजार प्रोटेक्टिङ भाइजर, १० हजार ग्लोब्स र ५०० थर्मोमिटरचाहिँ आजै चीनको ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासलाई जिम्मा लगाउने भएको छ । उक्त स्वास्थ्य सामग्री नेपाल एअरलाइन्सको विमान आगामी चार्टर्ड गरेका बखत नेपाल पुर्याइने छ । कोरिया सरकारले कोरियाबाट निर्यात गर्न बन्द गरेपछि उक्त स्वास्थ्य सामग्री चीनमै खरिद गरिएको हो । दुई हजार किट नेपाल पठाउने उद्देश्यका साथ एनआरएनए कोरियाले केही दिनअघि यहाँका नेपालीबाट प्रतिव्यक्ति एक किट सहयोगअभियान अन्तर्गत दुई दिनमै एक करोड ४० लाख रूपैयाँ बढी आर्थिक सहयोग गरेका थिए । रासस

कालीमाटीमा खुद्रा तरकारी बेच्न रोक, दुईपांग्रे सवारीसाधन लैजान प्रतिबन्ध

काठमाडौं । कालीमाटी तथा तरकारी बजार विकास समितिले शनिबारदेखि कालीमाटी फलफूल तथा तरकारी बजारभित्र खुद्रा किनमेल गर्न बन्द गराउने भएको छ । कालीमाटी तरकारी बजार भित्र दुईपांग्रे सवारीसाधन प्रवेश समेत रोक लागाइएको कालीमाटी तथा तरकारी बजार विकास समितिले जनाएको छ । कालीमाटी तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खुद्रा पसल र दुईपांग्रे सवारीसाधका कारण तरकारी बजारमा अत्यधिक भिड भएको भन्दै बजार व्यवस्थित गर्न शनिबारदेखि खुद्रा बजार बन्द र दुईपांग्रे सवारीसाधन प्रवेश समेत रोक गर्ने निर्णय गरिएको बताए । उनले भने बजारभित्र रहेको ६५ वटा खुद्रा पसल भोलिदेखी बन्द हुनेछन् । लकडाउन गरेपनी तरकारी लगायतका खाद्य सामाग्री किनमेल गर्न केही समय बजार खुला गर्ने सरकारले निर्णय गरेको थियो । चैत १६ देखि कालीमाटी तरकारी बजार होलसेल खरिद बिक्रीका लागि बिहान दुईदेखि सात बजेसम्म र खुद्रा बिक्रीका लागि साँझ पाँच देखि सात बजेसम्म खुल्ला हुँदै आएको छ । शुक्रबार जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, व्यापारिक संघ, संस्थासहितको छलफल भएपछि अत्यधिक भिड हुने पसल बन्द गर्ने सहमति भएको हो ।

राष्ट्रपतिकाे सन्देशः ढुक्क रहनुस्, काेराेनासँगकाे लडाईँ जितिनेछ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले काेराेना भाइरस (काेभिड १९) सँगकाे लडाईँ जितिने बताएकी छन् । शुक्रबार साँझ विश्वव्यापी काेराेना महामारीका सन्दर्भमा देशवासीका नाममा सन्देश जारी गर्दै उनले  काेराेनासँगकाे लडाईँ जित्ने बताएकी हुन् । राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको यस लडाइँमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल गर्नेछ भन्नेमा आफू पूर्णरुपमा विश्वस्त रहेको बताइन। त्यसैले सबैलाई ढुक्क भएर बस्न अनुराेध गरेकी छन् । उनले कोरोनाबाट संक्रमित भई उपचाररत सम्पूर्ण नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् । उनले कोभिड–१९ कोरोना भाइरसको गम्भीरतालाई मनन् गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आह्वान गरेकी छिन्।  जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै सरकारले पूरै देशमा लकडाउन गरेको हो भन्दै उनले यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गरेकी हुन्। संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल  अछुतो रहन नसके पनि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण नदेखिएको बरु बाहिरबाट संक्रमित भई आएकाहरुलाई पत्ता लगाएर उपचार गरिएको अवस्था भएको बताउँदै राष्ट्रपति भण्डारीले  नेपाल सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र  फैलन नपाएको  स्पष्ट पारिन। लकडाउनले गर्दा हाम्रो दैनिक जीवनमा केही अप्ठ्यारा सिर्जना भए  पनि सबैलाई आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घर बाहिर ननिस्कन पनि राष्ट्रपतिले आह्वान गरिन। ‘आआफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ’, सन्देशमा भनिएको छ ।

भाटभटेनीले भन्याेः पित पत्रकारिता नगर्नुस्, भाडामा बसेको संस्थासँग हामीलाई जाेड्न मिल्दैन

काठमाडाैं । भाटभटेनी सुपरस्टोर्सले सञ्चार माध्यमलाई पित पत्रकारिता नगर्न आग्रह गरेको छ । कुनै एक कम्पनीले ल्याएको स्वास्थ्य उपकरण र सामग्री गुणस्तरहीन रहेको भन्ने विषयमा अहिले मिडियामा समाचार प्रकाशित भएको र यस सन्दर्भमा भाटभटेनी समूहको नाम पनि अनर्गल तवरले जोडिएकोले यस्ताे नगर्न आग्रह गरेको हाे । अहिले विवादमा रहेको कम्पनी ओम्नी समूहको कार्यालय पुल्चोकस्थित भाटभटेनीको माथिल्लो तल्लामा रहेको र उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउँदै आएकाेले भाडामा बस्ने संस्थासँग आफ्नाे नाम नजाेड्न आग्रह गरेकाे छ । आज एक विज्ञप्ती जारी गर्दै उसले संसारभर फैलिएको र हाम्रो देशमा पनि आइपरेको कोभिड-१९को समस्यामा जुध्नका लागि भाटभटेनी समूहले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको समेत बताएकाे छ । संस्थाले देशलाई कोरोनाको संक्रमणसँग लड्नका लागि प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा एक करोड रूपैयाँको आर्थिक सहयोग प्रदान गरिसकेको बताएकाे छ । यस्तै सातवटै प्रदेशमा रहेको कोरोना रोकथाम कोषमा प्रतिप्रदेश २५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा पनि गरिसकेको बताएकाे छ ।

अष्ट्रेलियाका प्रधानमन्त्रीले भनेः विदेशी नागरिक स्वदेश फर्कनुहोस्’

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विद्यार्थी र घुम्न आएका मानिसहरुले स्वदेश फर्कने समय आएको बताएका छन् । कोरोनाले संसारभर तहल्का मच्चाइरहेको बेला अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यस्तो भनेका हुन् । यो महामारीकाे बेला आफ्नाे खर्चहरु धान्न नसक्नेहरुलाई मोरिसले देश फर्कन भनेका हुन् । शुक्रबारको राष्ट्रिय क्याबिनेटसँगको भेटपछि मोरिसनले यस्तो भनेका हुन् । अष्ट्रेलियाले पहिला आफ्नो नागरिकलाई ध्यानमा राखेर उनीहरुलाई सक्दो आर्थिक सहयोगमा केन्द्रित  हुने बताएका छन् । यद्यपी, डाक्टर, नर्स मह्त्वपूर्ण सिप भएका अन्तर्राष्ट्रिय नागरिकहरु भने बस्न सक्ने उनकाे भनाइ छ । अष्ट्रेलियामा ५ लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू छन् । उनीहरु धेरै जसोले महामारीको क्रममा आफ्नो जागिर गुमाइसकेका छन्।

कोरोनासँग जुध्न परिसंघको सहयोग जारी, ५ नं प्रदेशलाई राहत वितरण

काठमाडाैं । नेपाल उद्योग परिसंघ सरकारसंग सहकार्य गर्दै कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न लागि परेको छ । शुक्रबार एक कार्यक्रममा ‘प्रदेश नं ५ उद्योग परिसंघ’का संयोजक एजाज आलमले पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई राहत सामाग्री उपलब्ध गराएका छन् । त्यस्तै आजै परिसंघका अध्यक्ष सतिशकुमार मोर तथा उपाध्यक्ष शुलभ अग्रवालले ललीतपुर महानगर पालिका वडा नं १२ का वडा अध्यक्ष नारायण अवालेलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् । दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक एक हजार थान प्यकेटहरु हस्तान्तरण गरिएको हो । नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने छन् । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री लगायत अत्यावश्यकीय सामान उपल्ध गराउने कार्य गरिरहेको छ ।  

कामना सेवाले धनगढी उप-महानगरपालिकालाई दियो १ लाख बराबरको खाद्यान्न सामग्री

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चैत २० गते धनगढी उप-महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले धनगढी उप-महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी १ लाख रुपैयाँ बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो । बैंकका धनगढी शाखा प्रमुख हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्ष बहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी उप-महानगपालिकाका प्रमुख नृप बहादुर वड तथा उप-प्रमुख सुशीला मिश्र भट्ट मार्फत हस्तान्तरण गरेका हुन् । प्रमुख वडले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति उप-महानगरपालिका तथा सम्पूर्ण नगरवासीहरुको तर्फबाट धन्यवाद दिँदै उक्त सामग्री उप-महानगरपालिकाको विपत व्यवस्थापन कोष मार्फत वितरण गरिने बताए । हाल नोबेल कोरोना भाइरस (कोभिड-१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ ।