तीन जिल्लामा र्यापिड डायग्नोस्टिक किटबाट काेराेना परीक्षण गरिने
काठमाडौं । कैलाली, कन्चनपुर र बाग्लुङ जिल्लामा कोरोना संक्रमणको परीक्षणको लागि र्यापिड डायग्नोस्टिक किट प्रयोग गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रीपरिष्दकाे बैठकले स्वास्थ्य मन्त्रलायलाई उक्त जिल्लाका मानिसहरुलाई र्यापिड डायग्नोस्टिक किट प्रयोग गरेर परीक्षण गर्नलाई आदेश दिएसँगै ती जिल्लामा र्यापिड डायगनस्टिम प्रयोग गरिने बताए । काेभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा आईतबार देवकोटाले आज नै त्यसको लागि स्वास्थ्यकर्मीहरु पठाउन लागेको जानकारी दिए । कैलाली कन्चनपुरमा क्वारेन्टाईनमा बसेका सबै मानिस र बाग्लुङ जिल्लाका संक्रमितसँग संम्पर्क आएका मानिसहरुको र्यापिड डायग्नोस्टिक किट प्रयोग गरेर परीक्षण गरिने उनले बताए । पहिला सबैलाई र्यापिड डायग्नोस्टिक किट प्रयोग गरेर परीक्षण गरीने र त्यसपछि पोजेटिभ आएका व्यक्तिहरुलाई पुर्ण सिपिआर प्रयोग गरेर परीक्षण गरिने उनकाे भनाइ छ । र्यापिड डायग्नोस्टिक किटले यकिन् नतिजा दिन नसके पनि पोजेटिभ र नेगेटिभको प्रतिशत देखाउने जसले परीक्षण गर्न कति आवश्यक रहेको देखाउने स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारी बताउँछन् ।’ हाल देशभर १ सय १३ जना व्यक्ति आईसोलेसनमा छन् । त्यसमा काठमाडौं १२ जना र उपत्यका बाहिर १ सय १ जना रहेका छन् ।
लकडाउनमा कार घरमै थन्कियो ? यस्ता सावधानी अपनाउँदा बिग्रिन पाउँदैन
सरकारले अहिले लगातार १५ दिनसम्म गरेको लकडाउनका कारण हामी आफ्नो घरमै बस्न बाध्य छौं । लकडाउन फेरी लम्बिन्छ या लम्बिँदैन भन्ने सन्दर्भमा अहिले नै केहि भन्न सकिने अवस्था पनि छैन । हामी घरमै बसेपछि हाम्रो कार पनि घरमै रहने भयो । यसरी कारलाई लामो समयसम्म नकुदाइकन घरमै राख्नुपर्दा त्यसमा विभिन्न किसिमका खराबीहरु देखा पर्न सक्दछन् । आज तपाईंलाई यस लेख मार्फत् कारलाई कण्डिसनमा राख्ने वारेमा केही सुझाव दिन खोजिएको छ ताकी भविष्यमा कार कुदाउनु पर्दा तपाईंले कुनैपनि किसिमको झन्झट बेहोर्नु नपरोस् । बाहिरी भागको सफाई गर्ने कारको बाहिरी भागलाई राम्रोसँग सर्फ पानीले धुनुहोस् । यदि कारलाई सफा नगरीकनै राखिन्छ भने बाहिरी धुलोहरु कारको रंगसँग टाँसिन पुग्नेछन् । याद राख्नुहोस्, कारलाई धोइसकेपछि एउटा सुक्खा कपडाले राम्रोसँग पुछ्नु पर्ने हुन्छ । इन्टेरियरको सफाई गर्ने हामी अक्सर कारमा चाउचाउ, चक्लेट, बिस्कुट लगायतका कुराहरु राख्ने गर्दछौं । यसरी राखिएका कुराहरु पोखिएका वा छरिएका पनि हुन सक्छन् । छरिएका चिजहरु कुनाकाप्चामा पसेर कारका एसोसरिजहरु जाम हुन सक्छन् । त्यसैले लामो समय सम्म कारलाई थन्क्याएर राख्नुपरेको खण्डमा कारको इन्टेरियरको सफाइमा ध्यान पुर्याउनु राम्रो हो । ग्यारेजमा पार्क गर्नें वा कभरको प्रयोग गर्ने आफ्नो कारलाई हावाहुरी र धुलोबाट जोगाउन जरुरी हुन्छ । त्यसैगरी अहिलेको विदामा केटाकेटीहरु पनि घरमै खेल्ने कुद्ने भएको हुनाले कारमा कोर्न पनि सक्छन् । यी सम्पूर्ण समस्याबाट जोगाउनका लागि आफ्नो कारलाई ग्यारेजमा पार्क गर्ने गर्नुहोस् । यदी घरमा ग्यारेज छैन भनेपनि कार कभरको प्रयोग गरेर यस्ता समस्याहरुबाट मुक्ति पाउन सकिन्छ । ह्याण्ड ब्रेक नलगाउने भिरालो बाटो वा भिरालो जमीन बाहेकका अवस्थामा लामो समयसम्म कार पार्क गर्नुपरेको खण्डमा ह्याण्ड ब्रेकको प्रयोग नगर्नुहोस् । यदि गरिन्छ भने ब्रेक प्याड वा ब्रेक शू लक हुने सम्भावना रहन्छ । ब्याट्रीलाई सुरक्षित राख्ने लामो समयसम्म कार प्रयोग नगरिँदा ब्याट्रीमा समस्या आउन सक्छ । त्यसैले बढिमा पनि ४ देखि ५ दिनमा कारको इञ्जिन १५ मिनेटसम्मका लागि अन राख्नुहोस् । यसरी इञ्जिन अन भइरहँदा कारको ढोकाहरु खुला राख्न नबिर्सिनुहोस् । यसका साथै इञ्जिन अन भएकै वेलामा कारका लाइटहरु, एसी, वाइपरलगायत चिजहरु पनि चेक गर्नुहोस् । ग्रिप र राइड क्वालिटीमा ध्यान दिने यदि कारलाई एउटै स्थानमा लामो समयसम्म राखिन्छ भने टायरमा फ्ल्याट स्पट विकसित हुन सक्छन् । यसले कारको ग्रिप र राइड क्वालिटीमा नकारात्मक असर गर्दछ । यस्तो समस्याबाट बच्नका लागि केहि दिनको अन्तरालमा कारलाई थोरै अघि पछि लैजाने गर्नुपर्दछ ताकि टायरको अवस्थामा परिवर्तन आओस् ।
चेम्बरले दाङ र झापामा वितरण गर्यो नगद सहित विभिन्न सामानहरु
काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा विभिन्न स्थानमा नगद सहित अन्य सामानहरु वितरण गर्दै आएको छ । सोही अनुरुप चेम्बरले दाङ र झापामा पनि नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । दाङ चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष श्रीधर महराले जिल्ला व्यवस्थापन कोषको लागि जिल्ला प्रशासन कार्यालयलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । यसका साथसाथै सञ्चारकर्मीहरुलाई लागि माक्स र पन्जा वितरण गरेको छ । चेम्बर अफ कमर्स झापाले बिर्तामोड नगरपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा हुनेगरी ५१ हजार रूपैयाँ हस्तान्तरण गरेकाे छ । यसका साथै इलाका प्रहरी कार्यलय अनारमनीलाई २ सय थान मास्क वितरण गरिएको छ ।
कोरोनासँग जुध्न युएईले गर्याे ७० अर्ब डलरको आर्थिक प्याकेज घोषणा
अबु धाबी । युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ । तेलको धनी राष्ट्र युएईको केन्द्रीय बैंकले गत महिना ३५ अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको थियो । बैंकले अघि सारेको पछिल्लो प्याकेजमा खासगरी बैंकहरुले सामना गर्नु परेका वित्तीय र तरलता अभावलाई सम्बोधन गरिएको छ । नयाँ कदममा डिमान्ड डिपोजिटमा यसअघि बैंकहरुले राख्नुपर्ने सुरक्षणलाई १५ प्रतिशतबाट ७ प्रतिशतमा झारिएको छ जसबाट ग्राहकले बाँकी रकम बैंकबाट झिक्न पाउने छन् । यसबाट बैंकहरुसँग करिब १७ अर्ब डलर तरलता उपलब्ध हुनेछ । युएईमा हालसम्म एक हजार ५०५ जना कोरोनाभाइरसबाट संक्रमित व्यक्ति छन् भने १० जनाको मृत्यु भएको छ । युएईमा हाल यात्रामा प्रतिबन्ध लगाउनुका साथै सपिङ मल र मनोरञ्जनका स्थलहरु बन्द गरिएका छन् । गत शनिबार रातिदेखि नै दुबईमा दुई साता लामो लकडाउन घोषणा गरिएको छ । सरकारले दुबईमा व्यापक स्वास्थ्य परीक्षण अभियान चलाउने निर्णय पनि गरेको छ । रासस/एएफपी
सङ्क्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा
काठमाडौं । कञ्चनपुरको बेदकोटका ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले थप सावधानि अपनाएको छ । भारतको उत्तराखण्डबाट ती सङ्क्रमित व्यक्ति गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए । “भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोकामा आइपुग्यो ।” ब्रह्मदेवस्थित शसस्त्र प्रहरी बल बिओपी पोष्टका प्रमुख शसस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने–“गाडीको पछाडी पट्टी राखेर हाम्रो टोलीले गड्डाचौकी पुर्याएको थियो ।” उनले सो दिन खटिएका शसस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको बताए ।“उद्धार गरिएकामध्ये एक जनालाई सङ्क्रमण देखिएपछि त्यो दिनको ड्युटी टोली ब्यारेकभित्रै सेल्फ क्वारेन्टाइनमा छ ।” उनले भने, “हाम्रोमा अवस्था सामान्य छ, कुनै समस्या छैन ।” शसस्त्र प्रहरी बलले गत चैतको पहिलो सातादेखि नै कञ्चनपुरको सीमानाकामा कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानीका साथ खटिएको शसस्त्र प्रहरीले जनाएको छ । चैतको दोस्रो साता लकडाउनको शुरुवात बेला सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार तथा स्वास्थ्य परीक्षणमा महत्वपूर्ण भूमिका समेत निभाएको थियो । शसस्त्र प्रहरी बलले भारतीय सुरक्षा निकायसित पनि आवश्यक समन्वय तथा सहकार्य गर्दै आएको जनाएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि सङ्क्रमित भेटिएका व्यक्तिको उद्धार तथा स्वास्थ्य परीक्षणमा खटिएको टोली सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी दिए । “अरुमा त्यस्तो कुनै समस्या छैन ।” उनले भने, “सङ्क्रमितले आश्रय लिएको बेदकोटको सुन्दरपुरमा रहेको क्वारेन्टाइन अहिले अनुगमन गरेका छौँ ।” सङ्क्रिमतसँगै क्वारेन्टाइनमा आश्रय लिएकाको अवस्था सामान्य रहेको बताए। “अहिले सुन्दरपुरको क्वारेन्टाइनमा २५ जना बस्दै आएका छन ।” उनले भने–“यहाँ क्वारेन्टाइनमा बस्न आउने बढिरहेका पनि छन् ।” कञ्चनपुरका नौ वटै स्थानीय तहले पनि भारतलगायत तेस्रो मुलुकबाट घर फर्किएकाको तथ्याङ्क सङ्कलन गरेर सावधानि अपनाउन क्वारेन्टाइन बस्न आग्रह गरेका छन् । सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ्गमा कोरोना भाइरस परीक्षणका लागि र्यापिट टेस्टिङ किट प्रयोग गर्ने निर्णय गरेको छ । सङ्क्रमण अरुमा नफैलियोस भनेर सरकारले किट प्रयोग गर्ने निर्णय गरेको हो ।” सहायक प्रजिअ उपाध्यायले भने – “टिक कञ्चनपुर आइसकेपछि त्यसको तत्काल व्यवस्थापन गछौं।” रासस
मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक
काठमाडौं । विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मन, इजरायल लगायतका युरोपियन देशका रहेका छन् । माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको छ । आफ्नो देशमा भन्दा कोभिड–१९को जोखिम नेपालमा कम भएकाले ती पर्यटक स्वदेश फर्किन नमानेको बताइएको छ । नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्याङ्कसमेत निकाल्न नसकिएको र सम्पर्क समेत हुन सकेको छैन । तिलिचो वेसक्याम्पतिर कति विदेशी नागरिक रहेका छन् भन्ने एकिन नभएको प्रजिअ पौडेलले बताए । ‘विदेशी नागरिकले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेको बताए । त्यसैले हामी स्वदेश फर्किदैनौं, हाम्रो देशमा कोभिडको जोखिम बढी छ, नेपालमा हामी सुरक्षित छौं भन्ने गर्छाै’ उनले भने । सो भाइरसको जोखिम नेपालमा कम रहेको र यहाँ सङ्क्रमण फैलिन समेत नसक्ने अमेरिकन नागरिक डेभिडको भनाइ छ । “हामी नेपालमा सुरक्षित छौ ” उनले भने । रासस
लकडाउनमा साना व्यापारी: बिहानै कुद्छन्, दिनभरी सुत्छन्, साँझ पर्यो कि खट्छन्
काठमाडौं । काठमाडौं मैतिदेवीका शिशिर पुनलाई अहिले देश लकडाउन भएको महसुस भएको छैन । मैतीदेवी चोक नजिककोै भित्री गल्लीमा उनको सानो डेरी पसल छ । उनी बिहान बेलुका डेरी पसल खुला गर्छन् अर्थात डेरीमा भएको दुध दहि बिक्री गर्छन् । डेरी खुला गरेको समयमा त्यहाँ मासिनको भिड लाग्ने गर्छ । ‘पहिले धेरै पसलहरु खुला हुन्थे, व्यापार कम हुुन्थ्यो, अहिले यता नजिकै मैले मात्र पसल खुला गर्ने गरेको छु, पहिलेको भन्दा राम्रै व्यापार हुन्छ,’ पुनले भने । डेरीमा दुध दहि पहिलेको भन्दा अहिले धेरै बिक्री हुने गरेको उनको भनाइ छ । पहिले दिनभरी कमाएको भन्दा अहिले दुई घण्टामै बढी आम्दानी गरिरहेको उनले बताए । उनले बेलुका साढे पाँच बजेदेखि सात बजेसम्म डेरी खुला गर्ने गरको बताए । मुखमा माक्स, हातमा ग्लोभ्स लगाएर आफुलाई सुरक्षित बनाएका उनले कोरोना भाइरसबाट टाढा रहने तरिका र व्यापार पनि बन्द नगरी काम गरिरहेको बताए । पछिल्लो समय लकडाउनको कारण सामान बिक्रि भएन, उत्पादन गरेको सामान पनि त्यतिकै खेर फाल्नु पर्यो लगायतका व्यापारीहरुका भनाईसहितका समाचारहरु पनि विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । तर, त्यसैमा पनि कसैलाई भने धेरै फाइदा भइरहेको व्यापारीहरु बताउँछन् । सरकारले देशलाई लक डाउन घोषणा गरेसँगै सबै सवारी साधानहरु ठप्प छन् । विभिन्न ठाउँ तथा क्षेत्रमा उत्पादन भएको सामान तथा दैनिक उपभोग्य सामान जस्तै, तरकारी, दुध दहिलगायतका सामानहरु ओसार पसार गर्न असहज भइरहेको छ । सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति तथा ढुवानी गर्ने व्यवस्था गर्ने भने पनि लकडाउनको प्रत्यक्ष प्रभाव भने सामान ओसार पसारमा परेको दृखिन्छ । विभिन्न क्षेत्र तथा ठाउँमा उतपादन भएका वस्तुहरु बजारसम्म ढुवानी गर्न समस्या भइरहेको व्यापारीहरु बताउँछन् । जसको प्रत्यक्ष असर उपभोक्तालाई परिरहेको छ । विभिन्न तरकारी तथा फलफुल लगायतका सामनहरु संकलन केन्द्रहरुसम्म सामान ढुवानी गर्ने व्यवस्था नहुँदा किसानले उत्पादन गरेको वस्तु नष्ट गर्नु रिेका समाचारहरु पनि आइरहेका छन् । यसले पनि दैनिक अत्यावश्यकीय वस्तु दूध, फलफूल, तरकारीलगायतले बजार पाएका छैनन् । तर, काठमाडौं नजिकैका किर्तिपुर, भक्तपुरमा उत्पादन भएका वस्तुहरुले पनि बजार पाइरहेका छन् । व्यापारीहरुले पहिलेको भन्दा महँगो मूल्यमा सामान बिक्री गरिरहेका छन् । यस्तै, घट्टेकुलोमा विगत ४/५ वर्षदेखि तरकारी पसल सञ्चालन गर्दे आएकी रुपिका मगरलाई पनि कतिखेर बिहान होला र तरकारी बिक्री गरौंला भन्ने हुन्छ । उनी बिहानै तीन चार नबज्दै अर्थात उज्यालो नहुँदै उनी तरकारी बजारमा गएर हरियो तरकारी ल्याउँछिन् । पसलमा थन्क्याउँछिन् । दिनभरी पसल बन्द गर्छिन् । बेलुका पाँच/साढे पाँच बज्ने बित्तिकै पसल खोल्छिन् र धमाधम तरकारी बेच्नमा व्यस्त हुन्छिन् । उनको पसलमा पनि तरकारी लिन आउनेको भिड लाग्छ । उनको पनि शिशिरको जस्तै जवाफ छ । पहिले धेरै पसल हुन्थे, व्यापार कम हुन्थ्यो अहिले धेरै पसल बन्द छन् । धेरै मानिसहरु आफ्नो पसलमा आउने गरेको उनको भनाइ छ । विश्वमा फैलिएको कोरोना भाइरसको महामारीले मानिसमा त्रास छाएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि विश्वमा व्यापारदेखि मानिसको ओहोरदोहोरमा समेत प्रत्यक्ष समस्या परेको छ । अन्तर्रा्ष्ट्रियदेखि स्थानीय व्यापारमा समेत कोरोना भाइरसको असर परेको छ । सरकारले लकडाउन घोषणा गरेसँगै सर्वसाधारण नागरिक दिउसो बाहिर देखिँदैनन् । तर, जब साँझ पर्छ उनीहरु सामान ल्याउन नजिकैको खपसलमा गएर सामान खरिद गरेर फर्किन्छन् । सरकारले लकडाउनको घोषणा गरेपनि सडकपेटीलेखि साना व्यापार गर्ने व्यापारीहरुले भने साँझ बिहान व्यापार गरिरहेका छन् । उनीहरूले सामान्य समयमा जस्तै तरकारी, मकै फलफूल र अन्य व्यापार गरिरहेको पाइन्छ । बिनाअनुमति ढुवानीका साधन रोकिने भएकाले कृषि उपज आपूर्ति गर्ने निजी साधन चल्न नपाउँदा आपूर्तिकर्ता अन्योलमा परेका हुन् । त्यसले गर्दा पनि गाउँ तथा विकट ग्रामिण क्षेत्रको फलफुल तरकारी बजारमा आउन पाएको छैन । त्यसको फाइदा स्थानिय किसानहरुले उठाइरहेका छन् । बजारमा ती सामानको अभाव देखाउँदै महँगो मूल्यमा फलफूल तरकारी तथा डेरीका वस्तुहरु बिक्री गरिरहेका छन् ।
लकडाउन: माथिल्लो तामाकोशीको निर्माण जारी राख्ने प्रयास, इन्धन र निर्माण सामग्री आयातमा समस्या
काठमाडौं । सरकारले केही ठूला विकास निर्माणका आयोजनालाई काम अगाडि बढाउन मार्ग प्रशस्त गरेपनि निर्माण सामग्री, इन्धन ढुवानीलगायत कारणले जटिलता उत्पन्न भएको पाइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको यही २० गते बसेको बैठकले केही ठूला आयोजनाको काम जारी राख्न सक्ने निर्णय गरेको थियो । निर्माणाधिन आयोजनाले काम जारी राख्ने प्रयत्न गरेपनि निर्माण सामग्री, मजदुरलाई मानसिक रुपमा तयार नपार्दासम्म काम गर्न अझै समस्या रहेको जनाएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण जारी राख्न हरसम्भव प्रयास गरिरहेको छ । लकडाउनको समयमा काम गर्न अप्ठ्यारो भएपनि आफूहरुले निर्माण जारी नै राखेपनि केही अत्यावश्यक सामग्रीको आयातसमेत सहज नहुँदा जटिलता पैदा भएको आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेकाअनुसार काम जारी राख्न हरसम्भव प्रयास भइरहेको छ, तर निर्माण सामग्रीको आयातमा देखिएको असहजताका कारण केही समस्या देखिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको कूल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ । कोरोना सङ्क्रमणको त्रास पछि पछिल्ला केही दिनमा आयोजनाको काममा समस्या पैदा भएको छ । सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै अन्य उद्योगले पनि आफ्नै आवासीय मजदूर परिचालन गरेर सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको थियो । समितिको बैठकले तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानीलगायत आयोजनाका मजदूर धेरै रहेकाले सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिई भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने चैत २० गतेको निर्णयमा समावेश थियो । सोही निर्णयका आधारमा माथिल्लो तामाकोशीको काम जारी भएपनि अपेक्षाअनुसार काम गर्न भने लकडाउनका कारण समस्या देखिएको छ । आयोजनाको बाँध तथा बालुवा थिग्र्याउने पोखरीको यही चैत ३ गतेदेखि परीक्षण गरिएको थियो । परीक्षण सफल भएको छ । त्यसको समग्र पक्षको मूल्याङ्कन भने जारी नै छ । स्वदेशी लगानीमा निर्धाणाधीन आयोजनाको प्रमुख काम करिब सम्पन्न हुने चरणमा पुगेको भएपनि कोरोना कहरमा परेको छ । आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा भने अपेक्षित प्रगति नभएको हो । तर, कूल ६८३ मिटर लामो दुई वटा ठाडो सुरुङमध्ये कोरोना कहर देखिनु अघिसम्म कूल ४६३ मिटर पाइप जडान भइसकेको प्रवक्ता न्यौपानेको भनाइ छ । उनका अनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा १७५ मिटर पाइप जडान भएको छ । त्यसमा अब १३५ मिटर पाइप जडान गर्न बाँकी छ । यस्तै कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये कूल २९० मिटरमा पाइप जडान भएको छ । सो सुरुङमा अब ८३ मिटर पाइप जडान गर्न बाँकी रहेको छ । समग्रमा हेर्दा दुवै सुरुङको २२० मिटर पाइप जडान कार्य बाँकी छ । निर्माण व्यवसायी र कामदारलाई विश्वासमा लिएर पाइप जडानको कार्य जारी राख्ने प्रयासमा आयोजना रहेको छ । आयोजनाको केही सामान नेपाल भारत सीमा क्षेत्रमा आइपुगेको भएपनि लकडाउनका कारण आयोजना स्थलमा पुर्याउन समस्या पैदा भएको छ । “बाटो सहज नभएका कारण ती सामान आयातमा जटिला देखिएको छ । कुनै उपाय लगाएर भएपनि सामान ल्याउने प्रयत्न भने जारी छ”, प्रवक्ता न्यौपानेले भने। आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । मुख्य सुरुङमा अन्तिम चरणको ढलान सम्पन्न हुनै लागेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वैशाखभित्र ठाडो सुरुङमा पाइप जडानको कार्य सम्पन्न गर्न गत फागुन १४ गते आयोजनास्थल पुगेर निर्देशन दिएका थिए । कोरोनाको त्रासका कारण सो समयभित्र काम सम्पन्न हुने वा नहुने भन्नेमा भने आयोजनाले तत्कालै केही भन्ने अवस्था छैन । आगामी असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः अन्य युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै जाने लक्ष्य राखिएको छ । आयोजनाका अनुसार माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमशः सात र पाँच दिनमा आइसकेकाले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले बताएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको तेस्रो भागमा पाइप जडान शुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष घिसिङले गत फागुन १४ गते निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारसँग संयुक्तरूपमा निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गरे । ठेकेदार कम्पनीले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यकारी निर्देशक घिसिङले आगामी असारभित्र कम्तीमा पनि एउटा युनिटबाट विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाई त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिए। पहिलो युनिटबाट कूल ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलगायतको गम्भीर चासो छ । विशेषगरी आयोजनाको लट–२ को ठेकेदारले पनि विगतमा भन्दा काममा केही सुधार गरेको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकलको ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २०७५ पुस २३ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्सम्याकोले नै गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका टेक्सम्याकोका प्रमुखलाई फोन गरी निर्माणमा ढिलाइ नगरिदिन आग्रह गरेका थिए । केही महिनाअघि ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिसिङ, कार्यकारी निर्देशक घिसिङ, माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठसहितको टोलीले कोलकातास्थित टेक्सम्याकोको मुख्यालय गई कम्पनीको उच्च व्यवस्थापनलाई भेटेर निर्माणमा तीव्रता दिन भने । आयोजनाको सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कङ्क्रिटिङ गर्ने काम सम्पन्न हुने चरणमा छ । मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ । विद्युत् गृहका सम्पूर्ण उपकरण जडान भई तयारी अवस्थामा छन् । प्रसारण लाइनको १२७ टावर निर्माण र ४७ किलोमिटर तार टाङ्ने कार्य सम्पन्न भएको छ । रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २२० केभी सबस्टेशनको सिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ । उपकरणहरु जडान गरी चार महिनाभित्रमा सबस्टेसन सञ्चालनमा ल्याउन लक्ष्यका साथ काम भइरहेको छ । रासस