विकासन्युज

लकडाउन लगत्तै सुजुकीले चेकअप क्याम्प गर्ने, वारेन्टी र फ्रि सर्भिस अवधि पनि थपिने 

काठमाडौं । सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले लकडाउन लगत्तै चेकअप क्याम्प गर्ने भएकाे छ । नेपाल सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरे लगत्तै सातदिने चेकअप क्याम्प संचालन गर्ने भएको छ । सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि पनि दुई महिना बढाउने भएको छ । यो चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था ठिक छ कि छैन जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्नु रहेको छ । क्याम्पमा कम्पनीले इन्जिन आयल लगायत अन्य कन्जुमेबल सामग्रीमा विशेष छुट उपलब्ध गराउनेछ । कोभिड १९ भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई सीजी मोटोकर्प सम्मान गर्दछ । यो अवधिमा ग्राहक वर्गमा आफ्नो सुजुकी गाडीको अवस्थासम्बन्धी हुनसक्ने चिन्ताप्रति कम्पनीको ध्यान आकर्षित भएको छ र योे योजनाले उनीहरुको चिन्ता हटाउने कम्पनीकाे अपेक्षा छ ।

कामना सेवा विकास बैंकद्वारा विभिन्न ठाउँमा राहत वितरण, कहाँ कहाँ ?

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई राहत वितरण गरेको छ । संस्थाले लकडाउनको परिस्थितिको कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटवलमा आश्रित उक्त बालबालिका असहाय व्यक्तिहरुलाई राहत स्वरुप चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरु प्रदान गरेको हो । संस्थाका सञ्चालक भिम प्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा उक्त राहत सामग्री सेवा आश्रमका संयोजक सरु अधिकारी र सह संयोजक टीकामाया थापालाई हस्तान्तरण गरेका थिए । यसैगरी लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरुलाई समेत जीविकोपार्जनको लागि निकै गाह्रो भएकोले उनीहरुलाई राहत प्रदान गर्नको लागि बुटवल उप-महानगरपालिका वडा नंं. ७ का अध्यक्ष कमल थापा मार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो । यसैगरी सुर्खेत जिल्ला वीरन्द्रनगर नगरपालिका वडा नंं. ७ लाई ६४ हजार रुपैयाँ बराबरका चामल, दाल, नुन, तेल लगायतका खाद्य साम्रगी हस्तान्तरण गरेको छ । बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि पीडित तथा विपन्न वर्गलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ । यसैगरी बैंकले आजै कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नंं. १ गुगौली स्थित आगो लागिबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । यही चैत २१ गते भिषण आगो लागिबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकु सहित सम्पूर्ण सामानहरु नष्ट भएका थिए । बैंकका बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गरेका थिए । साथै, बैंकले भण्डारखाल तथा पशुपति क्षेत्र आसपासमा रहेका बाँदर तथा कुकुरहरुलाई स्याउ, केरा, चोकोपाई, बिस्कुट लगायतका फलफुल तथा खाद्य वस्तुहरु खुवाउने प्रवित्र कार्य गरेको छ । जयबागेश्वरी युवा क्लबको संयोजन र सहकार्यमा बैंकका नायव महाप्रन्धक हरी प्रसाद लम्साल लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा फलफुल तथा खाद्य सामाग्रीहरु वितरण गरिएको थियो । बैंकले लगातार ५ दिनसम्म यस ठाउँमा रहेका बाँदर तथा कुकुरहरुलाई खाना खुवाउने निर्णय गरेको छ । लकडाउनको यस विषम परिस्थितिमा मानिसहरुमा आश्रित यी जनावरहरु खानाको अभावमा छट्पटाइ रहेका थिए । यस कार्यको लागि बैंकका सम्पूर्ण कर्मचारीहरुले १ दिन बराबरको तलब योगदान गरेको संस्थाले जनाएको छ ।

विदेशबाट आएका व्यक्तिसँग सम्पर्क भएको मान्छेलाई क्वारेन्टाइनमा बस्न सरकारको आग्रह

काठमाडौं । सरकारले विदेशबाट फर्केकासँग सम्पर्कमा आएका व्यक्तिलाई दुई हप्तासम्म घरमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार एक सूचना जारी गर्दै विदेशबाट फर्केका वा कोरोना भाइरस रोग लागेका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई उक्त अनुरोध गरेको हो । विज्ञप्तीमा अन्य व्यक्तिसँग एक मिटरकाे दुरी कायम गरी बस्न पनि अनुराेध गरिएकाे छ । आफुलाई उच्च ज्वरो आउने, स्वास फेर्न गाह्रो हुनेर खोकी लागेमा नजिकैको स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न समेत आग्रह गरिएको छ ।

कोरोनाको कहर किसानमा: दानाको अभाव, दूध उत्पादन घट्यो

पाल्पा माथागढी गाउँपालिका-२ रुप्सेका अगुवा कृषक कृष्ण भट्टराईले दैनिक कम्तीमा एक सय लिटर दूध उत्पादन गर्थे । दूध बिक्रीबाट राम्रो आम्दानी गर्ने उनलाई अहिले भने दानाको अभावले अप्ठेरोमा पारेको छ । उनले गाईको दाना नपाएको धेरै दिन भयो । घाँसपातले मात्र नपुग्ने भएपछि दूध उत्पादन घटेको छ । त्यसैले भट्टराइ यतिखेर चिन्तामा छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा सम्भावित सङ्क्रमण रोक्न सरकारले देशैभर लकडाउनको घोषणा गरेपछि यतिखेर शहरबजार मात्र होइन ग्रामीण क्षेत्रका किसान पनि नराम्ररी प्रभावित भएका छन् । कतै दूधले बजार नपाउँदा सडकमा दूध पोखेका त कतै अन्य कृषिजन्य उत्पादनले बजार नपाएका समाचार आइरहेका छन् । पाल्पाका किसानको समस्या पनि यस्तै छ । यहाँका धेरै किसानलाई अहिले पशुलाई दाना नपाइने समस्याले सताएको छ । लकडाउनसँगै गाईभैँसीलाई आवश्यक पर्ने पराल तथा दाना आपूर्ति हुन नसक्दा अब के खुवाउने भन्ने चिन्ता एकातिर छ भने अर्कातर्फ आवश्यकताअनुसारको दाना खुवाउन नपाएकोले दूध उत्पादन पनि ह्वात्तै घटेको छ । ‘सरकारले एक्कासी लकडाउनको घोषणा गरेपछि दानाको बन्दोबस्त गर्नै पाइएन, गाईलपाई दाना जति खुवाउन सक्यो उति धेरै दूध आउने हो, अहिले त दाना खुवाउनै नपाउँदा दिनदिनै दूध घट्दै गएको छ ।’ उनले दुःखेसो गरे । भट्टराईले बजारमा दैनिक एक सय लिटर दूध बिक्री गर्दै आइरहेकोमा लकडाउनपछि हाल ७० देखि ७५ लिटर मात्र दूध उत्पादन हुने गरेको बताउँछन्। दानाको अभाव भएपछि भकारीमा राखेको धान झिकेर कुटेको र गाईलाई चामलको पीठो खुवाउनु परेको उनले सुनाए । ‘गाईलाई खुवाउने दाना जति सबै सकियो, लकडाउनको समय अझै थपिँदै गएको छ, गाडी चलेका छैनन्, ल्याउने अन्य माध्यम पनि छैन,’ उनले थपे, ‘गाईले दूध घटाउँदै जान थालेपछि अहिले दानाको विकल्पमा चामल तथा पीठो खुवाउने गरेको छु ।’ लकडाउनका कारण कृषक समस्यामा परेको बताउँदै उनले सरकारले दानापानी कृषकको घरदैलोसम्म लैजाने व्यवस्था गरिदिन सरकारसँग आग्रह पनि गरे । आँफुले सात वर्ष अघिदेखि गाई पाल्न थालेको बताउने उनको यस्तो समस्या पहिलोपटक भोगेको अनुभव छ । उनको फार्ममा हाल ११ गाई छन्, तीमध्ये दुहुना नौवटा छन् । दानाको अभावमा दैनिकजसो २५ देखि ३० लिटर दूध उत्पादन घटेपछि उनी चिन्तित छन् । रुप्से क्षेत्रमा मात्र झण्डै २२ जना दूध उत्पादक कृषकले यस्तो समस्या भोग्दै आएका छन् । पशु चौपायालाई पर्याप्त दाना खुवाउन नपाउँदा उत्पादन घटेकोमा कृषकले गुनासो गरेका छन् । गाउँमै बसेर केही व्यवसाय गरौँ भनेर पशुपालनमा लागेका कृषक यतिखेर भने लकडाउनको मारमा परेका छन् । रामपुर नगरपालिका–६ का अगुवा कृषक कृष्णकुमार अर्याल पनि दूध उत्पादन कम हुदै गएकोमा चिन्तित हुनुहुन्छ । उनको फार्ममा हाल उन्नत जातका ३० भैँसी छन् । उहाँले पनि दैनिक करिव १ सय लिटर दूध लिने गरेकोमा हाल लकडाउनको समयमा दानाको अभाव सिर्जना हुन थालेपछि घटेर ८० लिटरमा पुगेको बताउँछन् । “धेरै पशु भएपछि थोरै दानाले निर्वाह गर्छु भनेर पनि हुने रहेनछ, दैनिकजसो दुई/तीन बोरा जति दाना चाहिएकै हुन्छ,” उनले भने, “बाहिरबाट ढुवानी गरेर दाना ल्याउन पाइएको छैन यसरी दाना खुवाउन नपाएपछि दिनानुदिन दूध घट्दै छ ।” घाँसपातले मात्र दूध उत्पादन बृद्धि नहुने हुँदा पशुको लागि दाना नभई नहुने भएकाले लकडाउनसँगै देखिएको दाना अभावको समस्या क गरौँ भनेर सोच्नै नसकेको अर्यालले बताए । रामपुर नगरपालिका–४ सदावर्त बस्ने विनोद श्रेष्ठले लकडाउन लम्बिन थालेपछि आफुसँग थोरै मौज्दात रहेको दाना पनि खुवाउन कमगर्दै गएको बताउँछन् । उनले दूध उत्पादनलाई नै आम्दानी बनाएर एक वर्षअघि गाई तथा भैंसीपालन व्यवसाय थालनी गरेका हुन् । दूधालु पशुलाई प्रशस्त दानापानी खुवाउन नपाउँदा व्यवसाय नै धरापमा पर्ने स्थिति आउन थालेको उनी गुनासो गर्छन् । “ठुलो लगानीमा पशुपालन व्यवसाय थालनी गरियो, बाहिरबाट ल्याइएका उन्नत जातका पशुलाई स्थानीय पशुलाई जस्तो सामान्य दाना दिएर टार्छु भनेर पनि नहुदो रहेछ, एक छाक दाना तलमाथि गरियो भने स्वाट्टै दूध घटाइहाल्ने रहेछ” श्रेष्ठले भने । विपद्को यस्तो बेलामा त स्थानीय सरकार तथा राज्यका निकायले दानापानी, चोकर आदि गोठगोठसम्म लैजाने प्रबन्ध गरिदिनुपर्ने कृषकको माग छ । दूध बेचेर केही गर्छु भन्ने सोँच राखेर व्यवसाय गरेका कृषक लकडाउनले गर्दा व्यवसाय नै चौपट हुने अवस्थामा आएकोमा चिन्तित छन् । रामपुर नगरपालिका क्षेत्रमा मात्रै सात वटा दुग्ध डेरी सञ्चालनमा छन् । यहाँ दैनिक कम्तीमा पनि एक हजार ५०० लिटर दूध सङ्कलन हुने गरेको थियो । तर अहिले त्यति दूध छैन, घटेर दैनिक एक हजारमा सीमित भएको छ । अहिले यहाँ दैनिक १ हजार मात्र दूध सङ्कलन भइरहेको छ । बेझाड बजारको अमृत दुग्ध भण्डारमा दैनिक ३०० पचास लिटर दूध सङ्कलन हुने गथ्र्यो । हाल यहाँ दुईको हाराहारीमा मात्र मात्र सङ्कलन हुन्छ । लकडाउन सुरु भएपछि कृषकबाट दूध कम आउन थालेको डेरी सञ्चालक गणेश आचार्यले बताए । “पहिलाको अनुपातमा कृषकबाट १ सय लिटर दूध कम आएको छ,” उनले भने, “दूध कम किन भयो भनेर सोध्दा कृषकहरूले दाना, चोकर खुवाउन पाइएको छैन भन्नुहुन्छ ।” पशुले दूध कम दिन थालेपछि बिहान साँझ दुई पटक डेरी पसलमा दूध बिक्रीगर्ने कृषकले एक समय मात्र बिक्री गर्न थालेकका छन् । रामपुरमा गाईको दूध खरिदमुल्य प्रतिलिटर ५२ देखि ६० रुपैयाँ छ भने भैँसीको प्रतिलिटर ६५ देखि ७५ रुपैयाँ छ । बिक्री मुल्य गाईको रु ७५, भैँसीको रु ८५ रहेको दुग्ध डेरी व्यवसायीहरु बताउँछन् । कृषकबाट दूध कम आउन थालेपछि छुर्पीको उत्पादन भने बन्द नै गरिएको छ । दूध नै कम भएपछि छुर्पी उत्पादन बन्द भएको उनीहरुको भनाई छ । पाल्पा जिल्लामा दैनिक छ हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ ठूलो मात्रामा दूध उत्पादन गर्ने संस्था डुम्रे दुग्ध उत्पादक सहकारी तिनाउ र चिनारी दुग्ध उत्पादक सहकारी तानसेन हुन् । डुम्रे दुग्ध उत्पादक सहकारीले मात्र दैनिक तीन हजार लिटर र चिनारी दुग्ध उत्पादक सहकारीले ६०० लिटर दूध उत्पादन गरी सदरमुकाम तानसेन, पोखरा बजारमा बिक्री गर्दै आइरहेका छन् । पशु आहार दाना चोकरको अभाव हुदा जिल्लामा करिव दुई हजार लिटर दूध उत्पादन घटिसकेको र यो घट्ने क्रम अझै जारी रहनसकने जिल्ला भेटेरीनरी तथा पशुविज्ञ केन्द्र पाल्पाका प्रमुख डा.चन्द्रबहादुर राना बताउँछन्। पाल्पा दूधमा आत्मनिर्भर जिल्ला हो र यहाँ दूध र दुग्धजन्य उत्पादन राम्रै भइरहेकामा अहिले भने यो लकडाउनले गर्दा दूध उत्पादन घट्दा किसानलाई मर्का परेको डा.रानाले बताए । सदरमुकाम तानसेनमा एक हजार पाँच सय लिटर दूध खरिद गर्ने डेरीले अहिले दैनिक ५०० लिटर मात्र दूध कृषकबाट आउने गरेकोले त्यसैमा सीमित हुनुपरेको पनि उनले जानकारी दिए। ठूला कृषकले दूध डेरी पसलमा ल्याउने गरेका छन् । साना कृषकले दूध घटेपछि बजार लैजानै छाडेका छन् । जिल्लामा करिव ४०० को हाराहारीमा दूध उत्पादक कृषक छन् । यहाँका कृषकले दूध बिक्री गरेर राम्रै आम्दानी गर्न सफल पनि भएका छन् । यहाँका किसानलाई दूध उत्पादन र बिक्री आयआर्जनको राम्रो विकल्प भएको छ । दूधको बजार राम्रो हुदै जानु र दिनप्रतिदिन माग पनि त्यही रुपमा बढ्दै जाँदा पछिल्ला वर्षमा यहाँ ठूला पशुफार्म खुल्ने क्रम बढ्दो छ । विगतमा विदेशिएका युवा स्वदेश फर्केर यहीँ केही गर्नुपर्छ भन्ने सोचका साथ पशुपालनमा आकर्षित भएका पनि देखिएका छन् । तर समय समयमा हुने बन्द हड्ताल, विविध खालका आन्दोलन तथा अहिले आएर लकडाउनको समस्याले कृषकलाई कहिले उत्पादन घट्ने त कहिले बजारै नपाउने जसता समस्याले पिरोल्ने गरेको उनीहरुको अनुभव छ । सरकारले सम्भावित कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न लकडाउनको समय थप गरेसँगै यतिखेर पनि पशुपालक कृषकहरु आफ्ना गुनासोहरु सम्बन्धित निकायमै पुगेर पोख्ने सोँचमा छन् । रासस

शिवमले ३८० घर परिवारमा वितरण गर्यो खाद्यान्न, आईसोलेसन बेडका लागि आर्थिक सहयोग पनि

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनको लागि १० वटा आईसोलेसन बेड बनाउन आर्थिक सहयोग गरेको छ । अन्तराष्ट्रिय जगतलाई नै आक्रान्त बनाईरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) को महामारीको यस अवस्थामा कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त सहयोग गरेको हो । शिवमले मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप-महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरु संगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको हो । यसका साथै मकवानपुर गढी गांउपालिकामा आईसोलेसन बेड सहितको १० बेडको क्वारेन्टाइन बनाउन समेत आर्थिक सहयोग उपलब्ध गराएको जानकारी गराएको छ । केही दिन देखी देशमा जारी लक डाउनका कारण सबै नेपालीको दैनिक जिवन नराम्ररी प्रभावित बनाएको छ । कोभिड १९ को संक्रमण फैलने क्रमलाई नियन्त्रण गर्न लक डाउन मात्र एक उपाय भएकोले यो अझ लम्विन सक्ने सम्भावना देखिएको छ । यस लक डाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबै भन्दा पिडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनि खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरुमा समेत स्थानिय तहसंगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरीले बताए ।

हिमालयन बैंकका सीईओ अशोक राणालाई मातृशोक

काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई मातृ शोक परेको छ । उनकी आमा विजया राज्य लक्ष्मी राणाको आइतबार निधन भएको हो । अशोक राणा प्रथम गभर्नर हिमालयन शमशेर राणाको छोरा हुन् । हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स दुबैको संस्थापक अध्यक्ष पनि हिमालयन शमशेर राणा हुन् । उनकाे पार्थिक शरिरकाे अत्यष्टि आजै पशुपति आर्यघाटमा गरिएकाे पारिवारिक स्राेतले जनायाे ।

एफएनसीसीआईले श्रमिकलाई वितरण गर्यो ४ हजार प्याकेट राहत सामग्री

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले लकडाउनबाट प्रभावित श्रमिक/कामदारहरुलाई पहिलो चरणमा चार हजार प्याकेट राहत सामग्री वितरण गरेको छ । महासंघले कोरोना भाइरस(कोरोना १९) संक्रमण रोकथामका लागि मुलुकभित्र जारी लकडाउनका समयमा बिहान बेलुका हातमुख जोर्न समस्या भएका श्रमिकहरूको सहयोगार्थ सो मात्राको सामग्री सहयोग गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र महासंघका अध्यक्ष भवानी राणाले आज काठमाडौंमा एक कार्यक्रमबीच संयुक्त रूपमा राहत सामग्री हस्तान्तरण गरेका हुन् । राहत सामग्रीमा प्रतिप्याकेट १० केजी चामल, १ केजी दाल रहेको छ । उक्त राहत सामग्री उद्योग वाणिज्य संघ काभ्रे, काठमाडौं महानगरपालिका वडा नम्वर ३१, मध्यपुर थिमि वडा नम्वर ३ र ६, काठमाडौं महानगरपालिका वडा नम्वर १६, उत्पिडित सुकुम्वासी वस्ती, वडा नम्वर ११ थापाथली, अन्तराष्ट्रिय आप्रवासी समुदाय, डोलेश्वर महादेव समिति, कामनपा वार्ड नम्वर १ र २०, नेपाल चलचित्र प्राविधिक संघ, गणेश केसी समेतको टोल, सुन्दरीजल चाइना गेट, पशुपति क्षेत्र आश्रम सबै, नवजिवन चिल्ड्रेन होम हात्तिवन ललितपुर लगायतका संघ संस्था मार्फत वितरण गर्ने गरी सो अवसरमा हस्तान्तरण गरियो । राहत सामग्री वितरण कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू जय सिवाकोटी, आकाश अधिकारी, रविन श्रेष्ठ र नेपाल विज्ञापन संघका पदाधिकारीहरूको सहभागिता थियो । बाँचौ र बचाऔं अभियानमा महासंघद्वारा कोरोना भाइरस विरुद्ध सहयोग अभियान २०२० संचालन गरी राहत सामग्री संकलन कार्य जारी गरिएको छ । महासंघले यस अघि ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा ५० लाख नगद सहयोग गर्नुका साथै बाँकी १ करोड बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू सहित जम्मा १ करोड ५० लाख बराबरको सहयोग गर्ने घोषणा गरेको थियो । सोही सहयोग अन्तर्गतनै महासंघले केही समय अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) हस्तान्तरण गरेको थियो भने थप स्वास्थ्य सामग्री संकलनमा पनि महासंघ लागिरहेको छ । महासंघले संस्थागत सामाजिक उत्तर्दायित्व समेतलाई मनन गर्दै मुलुकलाई परेको अप्ठेरो समयमा सरकारलाई हरतरहले सहयोग गर्दै आएको छ ।

खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ: प्रवक्ता डा. विकास देवकोटा

काठमाडौं । भक्तपुरका खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना (कोभिड (१९) संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरका खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएकाे बताएका हुन् । खरीपाटीमा सिल्क एयर र थाइ एयरबाट आएका नेपालीहरुलाई राखिएको थियो ।