विदेशमा रहेका नेपाली विद्यार्थीका पीडाः अमेरिका भन्छः होस्टेल खाली गर, अष्ट्रेलिया भन्छः देशै छोड
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणले विश्वव्यापी महामारीको रुप लिएको कारण अहिले संसारभर स्वास्थ्य सेवा र केही महत्वपूर्ण अत्यावश्यक वस्तु तथा सेवाबाहेक सबै प्रकारका बन्दव्यापार, सेवा, उत्पादन जस्ता क्षेत्र बन्द छन् । कोभिड १९ संक्रमण र सम्भावित संक्रमणको त्रासले धेरै देशले लकडाउन गरेर मानिसलाई घरबाट बाहिर निस्कन रोक लगाइरहेका छन् । यसैकार संसारभर धेरै मानिसले जागिर गुमाएका छन् । रोजगारी गुमेका कारण धेरैलाई जिविकोपार्जनमा ठूलो समस्या परेको छ । यसरी समस्यामा पर्नेहरुमा विदेशमा अध्ययनरत विद्यार्थी पनि छन् । संसारभरका विद्यार्थी आफ्नो देश छोडेर अध्ययनको लागि अन्य देश जाने गरेका छन् । नयाँ संस्कृति, नयाँ समाज, नयाँ परिवेश जस्ता परिस्थितिको सामना गर्दै स्वतन्त्रताका साथ केही पैसा कमाउने र आफ्नो भविष्य उज्ज्वल बनाउने सपना सहित विशेष गरेर युवाहरु अध्ययनका लागि विदेश जाने गरेका छन् । यसरी विदेशमा गएका विद्यार्थीलाई कोरोना भाइरस संक्रमणले ठूलो असर गरेको छ । यस्तो असर पर्दा विश्वभरका विद्यार्थीसँगै नेपाली विद्यार्थी पनि प्रभावित भएका छन् । भखरै मात्र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो जिविकोपार्जन गर्न नसक्ने अन्तराष्ट्रिय विद्यार्थीलाई सक्दो चाँडो घर फर्कन सल्लाह दिएका छन् । सरकारसँग छैन यकिन तथ्यांक नेपालबाट पनि विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या उच्च रहेको छ । नेपालको शिक्षा मन्त्रालय अन्तगर्तको उच्च शिक्षा महाशाखाका अनुसार २०६५ सालयता ३ लाखभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्नको लागि मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । मन्त्रालयबाट एनओसी लिएका विद्यार्थीले विश्वका १ सय २४ देशमा अध्ययन गर्न विवरण मन्त्रालयमा पेश गरेका थिए । यद्यपि एनओसी लिएका सबै विद्यार्थी अध्ययनको लागि विदेश जान पाउँदैनन् । शिक्षा मन्त्रलयले पनि नेपालबाट अहिलेसम्म कति विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् भन्ने यकिन तथ्यांक राखेको छैन । मन्त्रालयको आधार भनेको एनओसी लिएकाहरुको संख्या नै हो । अष्ट्रेलियमा ६० हजार, जापानमा ३५ हजार नेपाली विद्यार्थी नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का अध्यक्ष प्रकाश पाण्डेका अनुसार अष्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । यसमध्ये गतवर्ष मात्रै करिब ८ हजार विद्यार्थी अध्यनको लागि गएका थिए । यस्तै, अमेरिकामा करिब १३ हजार, जापानमा करिब ३५ हजार, करिब भारतमा १ लाख र बेलायतलगायत अन्य देशमा करिब ५ हजार भन्दा कम नेपाली विद्यार्थी रहेको पाण्डे बताउँछन् । के गर्दैछ सरकार ? विदेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले सामना गरिहेका समस्या र गर्नुपर्ने समाधानका उपायका बारेमा काम गर्न गत शनिबार शिक्षा मन्त्रालयले सहसचिव रामशरण सापकोटाको संयोजकत्वमा समिति बनाएको छ । समितिले विदेशमा रहेको विद्यार्थीको संख्या, अवस्था जस्ता विषयमा खोजी गरी आवश्यक निर्णय र पहल गर्ने सापकोटाले बताए । समस्यामा रहेका विद्यार्थीलाई दुतावासहरुको माध्यमबाट उद्धार गर्न सरकारले पहल थालेको सापकोटाले जानकारी दिए । यस्तै इक्यानले पनि नेपाली विद्यार्थीले विदेशमा भोग्नु परेका समस्या र समाधानको विकल्पका बारेमा पहल थालेको छ । गत शनिवारदेखि सरकार तथा शैक्षिक परामर्श संघले सम्बन्धित देशका नेपाली दुतावाससँग समन्वय गरेर समस्यामा परेको नेपाली विद्यार्थीको तथ्यांक संकलन गर्न सुरु गरेका छन् । खाना–बस्नमा समस्या भएर मारमा परेका विद्यार्थीले आफू रहेको देशको नेपाली दुतावासको वेभसाईटमा गएर ‘ईमरजेन्सी ईन्फरमेसन कलेक्सन’ फारम भरी सहयोग लिन सक्ने व्यवस्था सरकारले मिलाएको छ । शैक्षिक परामर्श संघ के गर्दैछ ? जागिर गुमाएका नेपाली विद्यार्थीका लागि आफूहरुले सम्बन्धित देशको नेपाली संस्थाहरुसँग समन्वय गरेर सहयोग अगाडी बढाईरहेको ईक्यानका अध्यक्ष पाण्डेले जानकारी दिए । ‘मारमा परेको विद्यार्थीका लागि हामीले हाम्रो तर्फबाट सक्नेसम्मको सहयोग सुरु गरेका छौं, अहिले हामीले विद्यार्थीको लागि सबैभन्दा महत्वपूर्ण र अति आवश्यक रहेको बस्ने ठाउँ, खाना र स्वास्थ्यको लागि आवश्यक सहयोग गरिरहेका छौं,’ अध्यक्ष पाण्डेले विकासन्युजसँग भने । एनआरएनएको भरथेग यस्तै, गैरआवाशीय नेपाली संघ (एनआरएनए) ले खान, बस्न समस्यामा परेका नेपाली विद्यार्थीलाई आवश्यक र सम्भव भए जति सहयोग गर्नका लािग सम्पर्क गर्न भनेकोले पनि आधारभूत तहको सहयोग प्राप्त भएको अध्यक्ष पाण्डेको भनाइ छ । एक्काकाे कोषमा १६ हजार डलर यस्तै, अस्ट्रेलियाकाे शैक्षिक परामर्शदाता संस्था एक्कासँगकाे समन्वयमा एउटा कोष स्थापना गरेको र सो कोषमा अहिलेसम्म १६ हजार अस्ट्रेलियन डलर जम्मा भइसकेको पाण्डेले जानकारी दिए । यस्तो रकम पनि विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको लागि आवश्यक सहयोग गर्न खर्च गरिने उनकाे भनाइ छ । छात्रवृत्ति दिलाउन इक्यानको पहल यस्तै, आफूहरुले विभिन्न विश्वविद्यालयहरुसँग सम्पर्क गरी अहिलेको समयमा विद्यार्थीहरुसँग कलेज फि नमाग्न, अनलाईन कक्षा संचालन गरेको अवस्थामा छात्रवृत्रि प्रदान गर्न जस्ता सकेजति सहयोग गर्न आग्रह गरिएको उनको भनाइ छ । कलेजले शुल्क मागे हामीसँग सम्पर्क गर्नुः इक्यान इक्यानले नेपाली विद्यार्थीसँग तत्कालका लागि कुनै पनि प्रकारको शुल्क नलिन सम्बन्धित कलेजसँग आग्रह गरिसेको छ । तर, आफ्नो आग्रह नमानेर कुनै पनि कलेजले शुल्क मागे इक्यान वा आफूलाई विदेश अध्ययनको लागि परामर्श दिने शैक्षिक परामर्श संस्थासँग सम्पर्क गर्न इक्यानले नेपाली विद्यार्थीसँग अनुरोध पनि गरेको छ । ‘विद्यार्थीको समस्या हामीले नजिकबाट नियालिरहेका छौं, सहयोगको लागि आवश्यक र सकेसम्म पहल र प्रयास पनि गरिरहेका छौं, यो विश्वव्यापी महामारी हो भन्ने बुझेर विद्यार्थीले पनि सोही प्रकारको सावधानीका उपाय अपनाउनु पर्छ, यो महामारी हो, जति पनि लम्बिन सक्छ, त्यसैले १४–१५ दिनमा हरेस नखान सबै विद्यार्थीसँग आग्रह पनि गरेका छौं,’ अध्यक्ष पाण्डेले भने । मुख्य दायित्व परिवारकै यद्यपि विद्यार्थीको मुख्य दायित्व परिवारकै रहेको पाण्डे बताउँछन् । कुनै पनि देशले विद्यार्थीलाई राम्रो आर्थिक अवस्था भएमात्रै विदेशमा अध्ययनको लागि जान भन्ने गरेकोले परिवारले सोही अनुसारको दायित्व निर्वाह गर्नुपर्ने अध्यक्ष पाण्डेको भनाइ छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीले बैधानिक कामबाट बढीमा उनीहरुको पकेट खर्च मात्रै धान्ने भएकोले रोजगारी नपाउने र कोठामै बस्नुपर्ने अहिलेको परिस्थितिमा परिवारको सहयोग जरुरी भएको उनको भनाइ छ । एक जनालाई ५ सय अमेरिकी डलर पठाउँन पाइन्छ विदेशमा अध्ययनरत विद्यार्थीलाई खान बस्नकै समस्या परेको महसुस गरी नेपाल राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार विदेशमा अध्ययन गरिरहेका विद्यार्थीका लागि परिवार वा आफन्तले प्रतिविद्यार्थी ५ सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सम्बन्धित विद्यार्थीले पाउने गरी पठाउन पाइने व्यवस्था मिलाइएको छ । नेपाली विद्यार्थीलाई समस्या परेको महसुस गरेर एनओसी लिएका वा नलिएका विद्यार्थीलाई पनि प्रतिव्यक्ति ५ सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा जुनसुकै देशमा पनि पठाउन पाइने व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । कसरी पठाउन पाइन्छ रकम ? विभिन्न देशमा अध्ययनरत विद्यार्थीलाई खान बस्न नै समस्या भएपछि प्रतिव्यक्ति ५ सय अमेरिकी डलर बराबर रकम पठाउन पाइने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले १९ चैतमा बैंक वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर नलिएका विद्यार्थीलाई पनि प्रतिव्यक्ति ५ सय अमेरिकी डलरसम्म रकम पठाउन पाउने व्यवस्था गरिएकोले सटही सुविधा दिन भनेको छ । कोभिड १९ संक्रमणले अधिकांश देशमा लकडाउन गरिएको कारण नेपाली विद्यार्थीलाई खान बस्न नै समस्या भएकोले नो अब्जेक्सन लेटर नलिएका विद्यार्थीलाई पनि रकम पठाउन पाइने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख बमबहादुर मिश्रले जानकारी दिए । ‘यो महामारीको बेलामा नेपाली विद्यार्थीलाई आवश्यक खर्चको व्यवस्थापन गर्न सहज होस भनेर प्रतिविद्यार्थी ५ सय अमेरिकी डलरसम्म पठाउन पाइने व्यवस्था गरिएको हो, कुनै नेपाली अभिभावकले विदेशमा अध्ययरत विद्यार्थीलाई रकम पठाउन चाहेमा नजिकको बैंक वित्तीय संस्थामा गएर रकम साटेर पठाउन सक्ने बाटो खोलेका छौं,’ कार्यकारी निर्देशक मिश्रले भने । यसरी रकम पठाउनको लागि पठाइएको रकम प्राप्त गर्ने लाभग्राही विदेशमा रहेको नेपाली विद्यार्थी हुनुपर्नेछ । यस्तै, निर्वाह खर्च वापतको रकम पठाउँदा रकम पाउने व्यक्ति विदेशमा रहेर अध्ययन गरिरहेको खुल्ने कागजसहित बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्नेछ । रकम पठाउँदा प्रतिविद्यार्थी बढीमा ५ सय अमेरिकी वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म एक एकपटक मात्र पठाउन सकिनेछ । विद्यार्थीका अभिभावक/आफन्तले मात्र यसरी रकम पठाउन पाउने, सटही सुविधा माग गर्ने व्यक्तिले अन्य बैंक तथा वित्तीय संस्थाबाट यस प्रकारको सटही सुविधा नलिएको स्वघोषणा गर्नुपर्ने, सटही सुविधा सम्बन्धी विवरण महिना समाप्त भएको ७ दिनभित्रमा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागमा सम्बन्धित बैंक वित्तीय संस्थाले रिपोर्टिङ गर्नुपर्ने लगायतका शर्त भने तोकिएको छ । यसरी लिइएको रकम दुरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक/आफन्त स्वयम जिम्मेववार हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ । अमेरिका भन्छः होष्टेल खाली गर, अष्ट्रेलिया भन्छः देशै छोड करिब ४ वर्षदेखि अमेरिकाको टेक्सास राज्यको ड्यालसमा बस्दै आएकी २५ वर्षीय दालामु शेर्पाले अहिले आफ्नो काम गुमाएकी छिन् । उनी एक व्युटी पार्लरमा काम गर्दै आएकी थिइन् । उनी अमेरिकामा नर्सिङ अध्ययन गर्दै थिइन् । ‘यहाँ धेरै नेपाली विद्यार्थी स्टोर, रेस्टुरेन्टहरु, डेलिभरीमा काम गर्छन्, अस्पताल, ग्यास स्टेसन स्टोरहरु बाहेका सबै बन्द छन्, स्टोरहरुको काम पनि कम समय मात्रै पाइन थालेको छ, यसैकारण धेरैको आम्दानीको श्रोत गुमेको छ,’ उनले भनिन् । तर, एक दुई वर्षभन्दा लामो समयदेखि बस्दै आएका विद्यार्थीलाई भने नयाँलाई जस्तो समस्या नपर्ने उनले बताइन् । भर्खरै नेपालबाट आएर विश्वविद्यालयको होस्टेलमा बस्नेहरुलाई सबैभन्दा धेरै समस्या परेको उनको भनाइ छ । अहिले विश्वविद्यालयहरुले होस्टेलमा बस्दै आएका विद्यार्थीलाई त्यहाँबाट निस्कन आदेश दिएको उनले बताइन् । भर्खरै आएका विद्यार्थीसँग काम पनि नहुने र कतिपयको आफन्त पनि नहुनेले बढी समस्या भोग्नुपरेको शेर्पाको भनाइ छ । ‘अमेरिकी सरकारले सबैलाई वर्कपर्मिट कार्ड दिने भनेपनि कार्ड प्राप्त गर्न ३ देखि ४ महिना लाग्ने भनिएको छ, अहिले नै खान बस्न नपाएका विद्यार्थीको लागि यो सुविधा पनि त्यति उपयुक्त नहुन सक्छ,’ शेर्पाले भनिन् । वर्कपर्मिट कार्डले अन्तराष्ट्रिय विद्यार्थीलाई जहाँ पनि काम गर्न दिन्छ । वर्कपर्मिटबिना अन्तराष्ट्रिय विद्यार्थीले कानुनी रुपमा कलेजभित्र बाहेक अन्य ठाउँमा काम गर्न पाउँदैनन् । जापानको सिजनेकामा ३ वर्षदेखि बस्दै आएकी मिना पच्छाईले जापानमा लकडाउन नभएकोले खासै समस्या नभएको बताइन् । ‘यहाँ त सबै कामहरु स्भाविक रुपमा चलिरहेको छ, कतै पनि केही बन्द भएको छैन, स्वास्थ्य सुरक्षाको हिसाबले भने भन्न सकिदैन,’ पच्छाईले भनिन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी मोनिका मगर हाल स्वास्थ्य सेवामा संलग्न र केही पेशाहरु बाहेक सबैले जागिर गुमाएको बताउँछिन् । अष्ट्रेलियाली प्रधानमन्त्रीले पनि आफ्नो जिविकोपार्जन गर्न नसक्ने विदेशी विद्यार्थीलाई आफ्नै देश फर्कन आग्रह गर्दै गरेको अवस्थामा झन् धेरै अन्योलता बढेको उनी बताउँछिन् । भखरै आएका विद्यार्थीलाई बढी प्रभाव पर्ने उनी बताउँछिन् । अष्ट्रेलियाले एक वर्ष पूरा नगरेका विदेशी विद्यार्थीलाई कुनै प्रकारको राहत प्याकेज प्रदान गर्न नसक्ने बताएको छ । अष्ट्रेलिया एक वर्ष पूरा नगरेका करिब ८ हजार नेपाली विद्यार्थी रहेका इक्यानको अनुमान छ ।
अब बिरामी रिसिभ सेना र स्वास्थ्यकर्मीले गर्ने
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले सँगै संकटको अवस्थामा बिरामी रिसिभ गर्ने जिम्मा नेपाली सेना र स्वास्थ्यकर्मीलाई दिने निर्णय गरेकाे छ । काेराेना भाइरसकाे संक्रमण तथा शंका लागेका व्यक्तिकाे रिसिभ अब सेना र स्वास्थ्यकर्मीले गर्ने भएका हुन् । यस्तै, स्वास्थ्य सामग्री खरिद सरकारले गर्ने भएकाे छ । अब सरकार टु सरकार मार्फत सामान खरिद हुनेछ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समिति बैठकले स्स्थ्य सामग्री प्रतिस्पर्धामार्फत खरिद गर्ने र अपुग भएमा सरकाररले सोझै खरिद गर्ने निर्णय गरेको हो। यस्तै, समितिले अहिले निर्धारण गरिएका क्वारेन्टाइन र राहतको मापदण्डलाई परिमार्जन गर्ने निर्णयसमेत गरेको छ। समितिले १४ दिनसम्म क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण भएपछि मात्रै घर जान दिने निर्णय गरेको छ।
कोरोना अपडेट: संक्रमितको संख्या १२ लाख ३१ हजार नाघ्याे, ६७ हजारभन्दा बढीको मृत्यु
काठमाडौ । विश्वभरी कोरोनाबाट संक्रमितको संख्या १२ लाख ३१ ह्जार ६ सय ५२ पुगेको छ । महामारीको रुपमा स्थापित भएको कोरोना भाइरसबाट हालसम्म ६७ हजार ३७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै २ लाख ६३ हजार ७ सय १४ जना नागरिक उपचारपछि घर फर्किएका छन् । पछिल्लो समय ३ लाख ११ हजारभन्दा बढी नागरिक कोरोना भाइरसबाट संक्रमित छन् । भयाहक स्थितिमा रहेको अमेरिकामा हालसम्म ८ हजार ८ सय २ जना नागरिकको मृत्यु भइसकेको छ । युरोपेली मुलुकमा कुल कोरोना संक्रमितको ४० प्रतिशतभन्दा बढी नागरिक रहेका छन् सबैभन्दा बढी स्पेनमा १ लाख ३० हजार ७ सय ५९ जना नागरिक संक्रमित छन् भने १२ हजार ४ सय १८ जनाको मृत्यु भएको छ । त्यस्तै ३८ हजारभन्दा बढी नागरिक उपचारपछि घर फर्किएका छन् । सबैभन्दा बढी मृत्युदर रहेको इटालीमा १ लाख २४ हजार ८ सय ८४ जना कोरोना संक्रमित रहेका छन् भने १५ हजार ३ सय ९५ जना नागरिकले ज्यान गुमाएका छन् । जर्मनी ९७ हजारभन्दा बढी नागरिक कोरोना संक्रमित छन् भने १ हजार ४ सय ७८ जना नागरिकको ज्यान गइसकेको छ । फ्रान्समा ८९ हजार ९ सय ५३ जना कोरोना संक्रमित छन् भने ७ हजार ५ सय ६० जनाको मृत्यु भएको छ । कोरोनाको उद्गम स्थल चीनमा पछिल्लो समय नयाँ संक्रमितको संख्या घटेको छ । हालसम्म ८३ हजार ४ सय २३ जना नागरिकमा कोरोना संक्रमित छन् भने ७७ हजारभन्दा बढी उपचारपछि घर फर्किए । हालसम्म ३ हजार ३ सय २९ जनाको मृत्यु भएको छ । त्यस्तै इरान, बेलायत, टर्की, स्वीट्रल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, क्यानडा, स्वीडेन, नर्वे, अष्ट्रेलिया, ब्राजिल, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएसँगै संक्रमितको संख्या बढेको छ ।
विदेशमा रहेका विद्यार्थीलाई इक्यानले सहयोग गर्ने, यसरी दर्ता गर्न सकिन्छ समस्या
काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले उच्च शिक्षाका लागि विदेशी भूमिमा रहेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने भएकाे छ । जसकाे लागि इक्यानले आपतकालीन फारम (http://tiny.cc/dengmz) मार्फत समस्या दर्ताको शुरुवात गरेको छ। विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ भनिने कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरु समस्यामा पर्ने अवस्थालाई ध्यानमा राख्दै इक्यानले त्यस्ता विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले ‘इक्यान कोभिड १९ आपतकालीन रजिष्ट्रेसन फारम’को शुरुवात गरेको अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए। ‘कोरोना भाइरसका कारण दुःख पाएका विद्यार्थीहरुलाई खाना, बस्न र स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या समाधानको पहल गर्न फारम बनाइएको हो, जहाँ विद्यार्थीले आफ्ना समस्या दर्ता सक्छन्,’ पाण्डेले भने । उनका अनुसार संसारका कुनै पनि देशमा भएका विद्यार्थीहरुले आफ्नो समस्या फारममा दर्ता गर्न सक्छन्। उनीहरुका समस्या समाधानका लागि नेपाल सरकार शिक्षा मन्त्रालय, सम्बन्धित देशका दूतावास, एनआरएनए, नेपाल स्थित परामर्श संघहरु, सम्बन्धित देशमा रहेका परामर्श संघ, कन्सलटेन्सी तथा विभिन्न संघ संस्थासँग सहकार्य गरी सहयोग गरिनेछ। अध्यक्ष पाण्डेका अनुसार इक्यानले ती विद्यार्थीमा परेको समस्या समाधानमा के गर्न सकिन्छ भन्ने विषयमा शिक्षा मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको समेत जानकारी दिए। शिक्षामन्त्रालयसँगको छलफलमा विदेशमा रहेका विद्यार्थीलाई आवश्यक परेमा नेपालबाट अभिभावकले कसरी पैसा पठाउने र कतिसम्म पठाउन सकिने विषयमा समेत छलफल भइरहेको छ। यसअघि नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विद्यार्थीलाई बढीमा ५०० अमेरिकी डलर खर्च पठाउन सक्ने व्यवस्था गरिसकेको छ। सो रकमलाई हालको महामारीको अन्त्य नभईन्जेल प्रति महिना १००० अमेरिकी डलर बनाउन मन्त्रालयलाई अनुरोध गरिएको छ। नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश गएका विद्यार्थीहरुलाई कुनै पनि प्रकारको समस्या नहोस भन्ने उद्देश्यले समस्या समाधान गर्नु पहिलो कर्तव्य भएकाले इक्यानले अग्रसरता लिएको उनको भनाइ छ। जसमा विद्यार्थीले इक्यानले बनाएको रजिष्ट्रेसन फारममा (http://tiny.cc/dengmz) आफ्ना सम्पूर्ण विवरण भरेर आफूलाई परेको समस्याबारे जानकारी दिन सक्छन्। कोरोना भाइरसका कारण हाल विश्वका एक तिहाइ मानिसहरु लकडाउनमा छन् । जसले गर्दा सम्पूर्ण कारोबार सुस्त हुँदा त्यसको असर सम्पूर्ण अर्थतन्त्रमा परेको छ । जसले गर्दा विदेशमा रहेको विद्यार्थीलाई समेत असर परेको छ। हाल सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययनरत छन् भने भारत, जापान, अमेरिका, न्यूजिल्याण्डसँगै युरोपका धेरै देशमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।
सरकारले काेराेना राेकथामका लागि देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका खटाउने
काठमाडाैं । सरकारले काेराेना राेकथामका लागि देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका खटाउने निर्णय गरेकाे छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे राेकथाम तथा नियन्त्रण गर्नकाे लासग सरकारले ग्रामीण स्वास्थ्य स्वयंसेविका खटाउने निर्णय गरेको हाे । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।
कोरोना विरुद्ध उद्योग परिसंघकाे सहयाेग जारी, भक्तपुरमा पनि खाद्यान्न समाग्री वितरण
काठमाडाैं । नेपाल उद्योग परिसंघ विभिन्न तहका सरकार मानवीय सहायताका संस्थाहरुसंग सहकार्य गर्दै कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको छ । आज भक्तपुर स्थित ‘आफ्नो घर आश्रम नेपाल’ तथा ‘मावीय आस्था नेपाल’लाई परिसंघका अध्यक्ष सतिशकुमार मोरले खाद्यान्न समाग्री हस्तान्तरण गरेका छन् । यी संसथाहरुले सडक वालवालिका, विपन्न तथा खान नपुग्नेहरुलाई आश्रय दिने गरेका छन् । त्यस्तै स्थानीय निकाससंगको समन्वयमा मनोहरा आसपासका क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गमा समेत खाद्यान्न वितरण गिरएको थियो । दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका प्यकेटहरु वनाई हस्तान्तरण तथा वितरण गरिएको हो । नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने छन् । यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आर्दिक आग्रह गर्दछ । यस्ता कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन परिसंघले अपिल गरेकाे छ ।
उद्योगी पुशपति मुरारका भन्छन्, ‘लकडाउनले मै हुँ भन्ने अहमता नै हराउँदै गयाे, दैनिक ५० लाख घाटा भइरहेको छ’
काठमाडौं । विश्वव्यापी फैलिरहेकाे कोरोना भाइरसको माहामारी रोक्नका लागि नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनका कारण ठूला उद्योगीदेखि सर्वसाधारण मजदुरसम्म घरमै बसिरहेका छन् । सधैँ अति व्यस्त र सक्रिय रहने उद्योगीहरु मध्येका एक हुन पशुपति मुरारका पनि । लकडाउनको समयमा पशुपति मुरारका के गर्दैछन् ? उनी कसरी दिन कटाउँदैछन् ? पशुपति मुरारकाको पनि दिनचर्या लकडाउनले बदलिएको छ । लकडाउनभन्दा अगाडि दिनमा ११/१२ घन्टा व्यस्त हुने मुरारका लकडाउनका बेला घरपरिवारसँग नै दिन विताइरहेका छन् । उनी भन्छन मेरो सिमेन्ट, स्टील र पेन्टस् उद्योगमा गरी २५ सय मजदुर थिए । अहिले सबै मजदुरहरु क्वारेन्टाइममा बसेका छन् । उनको सबै उद्योगहरु ठप्प नै छन् । मुरारका भन्छन्, ‘ मेरो उद्योगमा प्रति दिन ५० लाखको नोक्सानी भइरहेको छ । नाफाको त कुरै नगराैं ।’ उद्योगी मुरारकाले लकडाउनले मै हुँ भन्ने अहमता नै हराउँदै गइरहेको बताए । रोग धनी गरिब सबैलाई लागिरहेको छ, विश्व नै कोरोनाको त्रासमा रहेका बेला उनी घरमा नै बसेर दिन कटाइरहेका छन् । दिनभर व्यक्तिगत तथा कार्यालयको काममा व्यस्त हुनेहरु सबै घरमा थुनिएका छन् । अरुबेलामा एकछिन पनि फुर्सद नहुने उद्योगी व्यवसायीहरु पनि यतिबेला फुर्सदिला बनेका छन् । लगभग सबै उद्योगीको दैनिकी उस्तै छ, भेटघाटमा समय खर्चिनु परेको छैन । उद्योगीहरुलाई परिवारसँग रमाउन समय मिलेको छ । धेरैजसो घरबाहिर जानुपर्ने भएपनि अहिले उनलाई ढुक्कजस्तै छ । पूरै दिनभर नै परिवारलाई समय दिन पाएका छन् । घरमै बसे पनि उद्योगी मुरारका व्यवसायीहरुसगँ नियमित सम्पर्कमै हुन्छन् । उद्योगीहरुसँग अब भोलिका दिनमा कस्तो होला उद्योगको अवस्था भनेर फोनमा नै छलफल गर्छन । अरुबेला भेटघाट र काममा व्यस्त हुने मुरारकालाई अहिले फोनमा कुरा गर्न भ्याई–नभ्याई छ । उनी हरेक दिन बिहान ६ बजे उठेर ७ बजेसम्म योग गर्छन् । योग गरे पछि विश्वमा के भइरहेको छ भनेर अनलाइन, टेलिभिजन हेर्ने गर्छन । उनले खाना खाए पछि उद्योग सम्बिन्धी पुस्तकहरु अध्ययन गर्ने गरेका छन् । पुस्तक अध्ययन, साथिभाईहरुसगँ फोनमा कुराकानी, भिडियो कन्फ्रेन्स र परिवारसगँ छलफल गर्दै लकडाउनको समय विताइ रहेका छन् मुरारका । प्रत्यक्ष भेटघाट हुन नपाएपछि उद्योगी अहिले भिडियो कन्फ्रेन्समा जोडिएर छलफल गर्ने गरेको मुरारका बताउछन् । उनी भन्छन् कोरोना भाइरसको कहरले अहिले नयाँ बिजनेशका बारेमा केही सोच्न सकेको छैन । यस्तो बेलामा बिजनेशका बारेमा नयाँ आइडिया पनि आउँदैन । उनले परिवारका कसैलाई पनि बाहिर निस्कन दिएका छैनन् । पहिले स्वास्थ्य, त्यसपछि अरु भएको उनी बताउछन् । भूकम्पको बेलाभन्दा पनि यो समय भयावह भएको उनको भनाइ छ । भूकम्पको बेला सबै मानिसहरु एक ठाउँमा बस्न त मिल्थ्यो । तर अहिले बाहिर निस्कन पनि नमिल्ने उनी बताउछन् ।
कोरोना कहरको समयमा सरकारी अस्पताललाई ब्रिटानिया सहयाेग
काठमाडाैं । नेपालमा सबैभन्दा धेरै रुचाइएको बिस्कुट ब्रिटानियाले विश्वव्यापी महामारी बनेको कोभिड-१९ को यो विषम परिस्थितिमा पर्सामा अवस्थित सरकारी हस्पिटल नारायणी अस्पतालमा सेवारत डक्टरहरुका लागि सुरक्षा पोशाक सहायता स्वरुप उपलब्ध गराएको छ । ब्रिटानिया प्याक गरिएको खाद्य उत्पादनहरु उत्पादन गर्ने एक बृहत्तर कम्पनी हो जसका उत्पादनहरुमा गूड डे, डाइजेस्टिभ, मेरीगोल्ड टु ट्रिट, टाइगर र केकहरु रहेका छन् र यी उत्पादनहरु नेपाल लगायत विश्वका अन्य धेरै राष्ट्रहरुका सबै उमेर समुहका उपभोक्ताहरुले अत्यधिक मनपराउने गरेका छन् । ब्रिटानिया यो जटिल अवस्थामा निस्वार्थ भावका साथ स्वास्थ्योपचारमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरुको सेवाभावको सह्राहना गर्दछ र साथै नेपाल सरकारले कोरोना भाइरसको सँक्रमण फैलिन नदिनका लागि अबलम्बन गरेको कदमहरुको पनि खुलेर प्रशँसा गर्दछ । आम जनमानसलाई ब्रिटानिया हामी सबैको सुरक्षाको लागि सरकारद्वारा जारी गरिएको नियन्त्रण सीमा र लकडाउनलाई कडाईका साथ पालना गर्न पनि अनुरोध गर्दछ । ब्रिटानिया यो अत्यन्त विषम परिस्थितिमा देशको साथमा खडा छ र आफ्नो साझेदार विशाल ग्रुपसँग समन्वय गर्दै नेपाली नागरिकहरुलाई सर्व सुलभ तरिकाले सुपथ मोलमा स्वाथ्यबद्र्धक स्न्याकहरु निरन्तर उपलब्ध गराउन प्रतिबद्ध छ ।