विकासन्युज

‘एजेन्ट’लाई कमिसन नदिन निगमलाई पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कमिसन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिएको छ । अष्ट्रेलियन दूतावासले आफ्ना २ सय ७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ गते गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टका रुपमा घुसाइएको भनिएको बोन ट्राभल्सलाई कमिसनबापतको भुक्तानी हाललाई रोक्न मन्त्री भट्टराईले निगमलाई निर्देशन दिएको हो । पर्यटनमन्त्री भट्टराईले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेन्टका निर्देशक टङ्कनिधि दाहाललाई एजेन्टलाई कमिसनबापतको भुक्तानी हाललाई रोक्न निर्देशन दिँदै एजेन्ट घुसाइएका विषय स्पष्ट पार्न आग्रह गरेका हुन् । यसअघि निगमको चार्टर्ड फ्लाइटमा ट्राभल एजेन्सी घुसाएर २७ लाख रुपैयाँ भन्दाबढी नोक्सानी गरेको समाचार प्रकाशन भएलगत्तै मन्त्री भट्टराईले तत्कालै निगमका नेतृत्वलाई बोलाएर यो विषय स्पष्ट पार्न निर्देशन दिए । उक्त सम्बन्धमा निगमको वाणिज्य विभागले भने अष्ट्रेलियन दूतावासले नै चार्टर्ड सेवा सहजीकरणका लागि बोन ट्राभल्सलाई एजेन्ट नियुक्तिका लागि लेखेको पत्रका कारण बोन ट्राभल्सलाई ‘एजेन्ट’ तोकिएको जानकारी गराएको थियो । तर मन्त्री भट्टराईले एजेन्ट घुसाएको विषयमा सबै तथ्य र प्रक्रिया स्पष्ट पार्न भनेको छ । नियतबस एजेन्ट घुसाएर अनियमितता गरिएको भए यसमा संग्लनलाई कारवाहीको दायरामा ल्याउने चेतावनी मन्त्री भट्टराईले दिए । अष्ट्रेलियन दूतावासले दिएको काठमाडौं–अष्ट्रेलिया–काठमाडौं उडानबापतको चार लाख ३९ हजार २०० डलर र प्रत्येक यात्रुको ट्याक्ससमेत गरी पाँच करोड ४८ लाख ४३ हजार रुपैयाँ निगमको खातामा जम्मा भइसकेको छ । बोन ट्राभल्सले ‘एजेन्ट’ भएर काम गरेबापत पाँच प्रतिशत अर्थात् २७ लाख ४५ हजार ७७० रुपैयाँ पाइसकेको समाचार प्रकाशित भएको छ । तर निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अष्ट्रेलियन दूतावासले तिरेको पैसा निगमको खातामा जम्मा भएको र बोन ट्राभल्सलाई कसिमनबापतको रकम दिइ नसकिएको बताए । उनले भने, “त्यो निगमकै खातामा छ, बोन ट्राभललाई दिइएको छैन ।” यही चैत १९ गते बुधबार निगमको जहाज काठमाडौँबाट अष्ट्रेलियन नागरिक बोकेर अष्ट्रेलियाको ब्रिसबेन उडेको थियो । नेपाल एअरलाइन्सले प्रतिघण्टा १८ हजार १०० डलरका दरले शुल्क लिएको छ । निगमले २५ घण्टा (काठमाडौँ–अष्ट्रेलिया–काठमाडौं) उडानको चार्टरबापतको रकम पाँच करोड ४९ लाख १५ हजार ४०० रुपैयाँ तिरेको हो । यही उडानमा नेपाल वायुसेवा निगमले एजेन्ट घुसाएर अनियमितता गरेको समाचार बाहिर आएपछि मन्त्री भट्टराईले ‘एक्सन’ लिएका हुन्। रासस

कोभिड–१९: तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास

काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि यहाँका अन्य जिल्लामा त्रास बढ्न थालेको छ । भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि यहाँका पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, दाुर्चला र डडेल्धुराका स्थानीयमा त्रास बढ्न थालेको हो । यहाँका पहाडी जिल्लाबाट कामका लागि वर्षेनी बढीभन्दा बढी स्थानीयवासी भारततर्फ जानेको गरेको र अहिले पनि कामका लागि भारततर्फ गएका नेपालीहरु सीमावर्ती विभिन्न नाकाबाट फर्किने क्रम जारी राखेकाले स्थानीयवासीमा त्रास बढ्न थालेको दिपायल पिपल्लाका स्थानीयवासी किरण भण्डारीले बताए । उनले भने, “भारतबाट आएकामा कोरोना देखिन थाल्यो, हाम्रो गाउँका पनि धेरै जना भारतबाट आएका छन्, गाउँमा कोरोना आएको छ की भन्ने चिन्ता लाग्दै छ ।” सुदूरपश्चिम प्रदेशमा शनिबार देखिएका सङ्क्रमितमध्ये दुई कैलाली र एक कञ्चनपुर जिल्लाका रहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । सङ्क्रमितमध्ये दुईजना भारतबाट रोजगारी गरेर फर्किका युवा भएकाले उनीहरुको साथमा आएका अन्य नागरिकमा पनि कोरोनाको सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा डोटीका गाउँमा त्रास फैलिने अवस्था सिर्जना भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए । उनले भने, “हुलका हुल मान्छे भारतबाट आएका छन्, कसैमा कोरोना देखिन थालेको छ, त्यही कारणले पनि अन्य नागरिकमा चिन्ता बढ्न थालेको हो ।” सङ्क्रमणको पुष्टि भएका कैलालीका २१ वर्षीय युवा चैत ११ गते लकडाउनपछि गौरीफण्टामा थुनिएका ९९९ मध्येका एक भएको खुल्नमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । उनीहरुसँगै डोटी आएका केही व्यक्तिलाई जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएको भए पनि सबै नागरिक क्वारेन्टाइनमा नभएका कारण पनि समस्या हुनसक्ने भन्दै यहाँका पहाडी जिल्लामा त्रास बढ्न थालेको स्थानीयवासी बताउँछन् । डोटीमा मात्रै चैत ११ गते यता भारतबाट आएका ४३४ जना क्वारेन्टाइनमा छन् । लकडाउनभन्दा अगाडि आएका सयौँ युवा गाउँगाउँ पसिसकेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले लकडाउनभन्दा पहिले जिल्ला प्रवेश गरेका नागरिकको खोजी कार्य गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बताए । उनले भने, “लकडाउनभन्दा पहिले जिल्ला प्रवेश गरेकाको खोजीकार्य शुरु गरेका छौं, सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने छौं ।” जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि सम्पूर्ण तयारी पूरा गरिसकेकाले कोही कसैले डराउनुपर्ने अवस्था नरहेको प्रजिअ पौडेलले जानकारी दिए । जिल्लामा अहिलेसम्म कोरोनाको शङ्कास्पद बिरामी भेटिएका छैनन् । जिल्ला अस्पताल डोटीका अनुसार हालसम्म तीनको स्वाब परीक्षण गरिएको भए पनि सबैको नतिजा ‘नेगेटिभ’ आएको छ । कैलाली र कञ्चनपुरमा चारजना सङ्क्रमितको पुष्टि भएपछि सतर्कता बढाउने प्रयत्न सरोकारवालाले गरिरहेका छन् । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा आइसोलेसन कक्ष बढाउन थालिएको छ । जिल्ला अस्पतालमा अहिले १० वटा आइसोलेसन कक्ष बनाइएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रमेश मलासीले बताए । उनले भने, “कोरोना नियन्त्रणका लागि हामी निकै सजग भएका छौँ, सोहीअनुरुप अस्पतालमा कक्षको सङ्ख्यासमेत थप गरेका छौँ ।” जिल्लामा रहेका निजी अस्पतालमा पनि अवस्थाअनुसार आइसोलेसन कक्ष बढाउने तयारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । रासस

काेराेना जाच्न शिक्षण अस्पतालमा पीपीई बुथ, चिकित्सकलाई पनि काेराेना सर्नबाट जोगाउने

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा सोमबारदेखि नेपालमै पहिलो पटक पीपीई बुथ राखिएको छ । अस्पतालको आइसोलेशन वार्डको बाहिर वुथ राखिएको हो । कोरानो भाइरस (कोभिड १९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो । सम्भावित संक्रमितको घाँंटीबाट र्याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथको प्रयोग गरिएको जनाइएको छ । चिकितसक बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट र्याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शुन्य हुने जनाइएको छ । संभावित संक्रमितको घाँंटीबाट र्याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्ने हुन्छ । डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बनाएको हो । साथै, यसमा अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोग पनि रहेको जनाइएको छ । अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा अरुण कुँवरले नेपालमै पहिलो पटक शिक्षण अस्पतालमा यो बुथ राखिएको जानकारी गराए । अबका दिनमा यो बुथ काठमाडौंको बीर अस्पताललगायत कोरोनाको परीक्षण हुने मुख्यमुख्य अस्पतालहरुमा राखिने डा कुँवरले जनाए । बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवालले सोमबार एक कार्यक्रमवीच अस्पताललाई यो बुथ हस्तान्तरण गरेका छन् । यस क्रममा उनले बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा महाबीर पुनः डा अरुण कुँवर, अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा शंकर ढकाल, ईन्जिनियर हरेराम हुमागाई, ईन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई विशेष धन्यावद व्यक्त गरे । उनले बुथको प्रयोगले कोरोना भाइरस (कोभिड १९)को उपचारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

लकडाउनकाे समयमा पनि सेवा दिँदै छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारी

काठमाडौं । बसुन्धरा स्थित छिन्नमस्ता भगवती ऋण तथा सहकारीले आफ्ना ग्राहकहरूलाई अहिलेको विषम परिस्थितिमा आइपरेको समस्याको समाधानको निम्ति सुरक्षाको परिधि भित्र रहेर सेवा दिँदै आइरहेको छ । बचत गर्नुको उद्देश्य नै समस्या परेको बेला सहयोग होस् भन्ने मुल्य मान्यतालाई बुझ्दै आफ्नो ग्राहकलाई आर्थिक समस्या नहोस् भन्ने आफ्नो धारणा रहेको संस्थाका अध्यक्ष उद्धव प्रसाद ढुँगेलले बताए । यस सहकारीकाे पाँच हजार भन्दा बढी सेयर सदस्य रहेका छन् ।

भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका २ सय गाडी

काठमाडौं । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङकर, खाना पकाउने एलपिजी ग्यासका ५३ र मालवाहक ट्रक १७ भित्रिएको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । सोही नाकाबाट रिफाइन तेल बोकेका १४ गाडी र तीन कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि भित्रिएको उनले बताए । यहाँ लकडाउन पूर्णपालना गराउनका लागि पूर्ण रुपले कडाइ गरिएको छ । भारतसँग जोडिएका १०९ वटै नाकामा कडाइ गरी आवतजावत बन्द गरिएको छ । दुई हजार सवारी साधन नियन्त्रित अहिलेसम्म लकडाउन उल्लंघन गर्ने दुई हजार १ सय ३५ सवारी साधनलाई नियन्त्रणमा लिइएको तथा अत्यधिक मूल्य लिई कालोबजारी गर्ने २५ जनालाई कारवाही गरिएको छ । त्यस्तै प्रदेश नं २ का १ सय ४२ क्वारेन्टाइनमा आइतबारसम्म ८ सय ६५ जना क्वारेन्टाइनमा, एक हजार ८० जना होम क्वारेन्टाइनमा र २७ जना आइसोलेशनमा बसेको सचिव घिमिरेले बताए । आइतबारसम्म प्रादेशिक अस्पतालमा ३४ जनाको स्वाब परीक्षणका लागि लिएको छ । तीमध्ये ६ जनाको नेगेटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको उनले बताइएको छ । रासस

‘लकडाउन’ बैशाख ३ गते सम्म !

काठमाडाैं । लकडाउन पुनः एक हप्ता थपिने भएकाे छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) संक्रमण राेकथामका लागि नेपाल सरकारले लकडाउन एक हप्ता थप्ने तयारी गरिरहेकाे बताइएकाे छ । ‘लकडाउन’को अवधि आगामी ३ वैशाखसम्म लम्बिने भएको हाे । आइतबार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले ‘लकडाउन’ अवधि थप ७ दिनलाई थप्नको लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे । साे निर्णय अनुसार नै मन्त्रिपरिषद्काे बैठकले निर्णय गर्नेछ । सोही निर्णय अनुमोदन र अन्य विषयमा छलफल गर्नका लागि साेमबार ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । यसअघि पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेल संयोजक रहेको समितिको सिफारिसमा ‘लकडाउन’ एक हप्ता सारिएकाे थियाे । पहिलो चरणमा ११ चैतदेखि १८ चैतसम्मको समय थप गरिएकोमा दोस्रो पटकको निर्णयबाट २५ चैतसम्म लम्बाइएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकबाट ३ बैशाखसम्म लकडाउन अवधि थप्‍ने तयारी गरिरहेकाे बताइएकाे छ । स्राेतका अनुसार अन्य प्रदेशहरूले पनि लकडाउन लम्ब्याउने सिफारिस गरेकाेले त्यही अनुसार मन्त्रिपरिषद्काे बैठकले निर्णय गर्नेछ । स्राेतका अनुसार उच्चस्तरीय समिति र प्रदेशशरूले सिफारिस गरेबमाेजिम नै मन्त्रिपरिषद्काे बैठकले लकडाउन बैशाख ३ गते सम्मका लागि सारिनेछ ।

कोरोना विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक छ : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताए। “कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ”, उनले भने, “हामी सबै यस अभियानमा जुट्नुपर्छ ।” रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । “अब हामीले आजदेखि कोरोना विरुद्धको अभियानको दायरा फराकिलो बनाएका छौं”, मन्त्री ढकालले भने, “उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षालाई ध्यानमा राखी उपचार प्रक्रिया अघि बढाएका छौँ ।” कैलालीमा विदेशमा नगएको व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाले सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको उनको भनाइ थियो । सो अवसरमा नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनका प्रतिनिधिले मन्त्री ढाकाललाई ६० लाख रुपैयाँ बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेका थिए । फाउन्डेसनले थ्री एम एन ९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको हो । नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने सो अवसरमा फाउन्डेसनले मन्त्री ढकाललाई जानकारी गराएको थियो । फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको सो अस्पतालले जनाएको छ । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउन्डेसनले यसअघि नै रु ५० लाख उपलब्ध गराइसकेको छ । रासस

लक्ष्मी लघुवित्तले कोरोना कोषमा १४ लाख सहयोग गर्ने, प्रत्येक प्रदेशलाई २-२ लाख

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कोरोना रोकथाम कोषमा १४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थाले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । संस्थाले देशको सातवटै प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्धारा स्थापित उक्त कोषमा २ लाख रुपैयाँको दरले सहयोग गर्ने भएको छ । उक्त सहयोग रकम सो प्रयोजनको लागि प्रदेश सरकारहरुले राष्ट्रिय वाणिज्य बैंकमा खोलिएका बैंक खातामा जम्मा गरिने संस्थाले जनाएको छ । संस्थाले विपन्न वर्गको आर्थिक तथा समाजिक स्थिति सुधार गर्न लघुवित्त सेवा प्रदान गर्ने र सामाजिक उत्तरदायित्व समेत वहन गर्ने उद्देश्य अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट यो रकम प्रदान गर्ने निर्णय गरेको हो ।