सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आँखा अस्तपताललाई वितरण गर्यो पीपीई
काठमाडौं । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आँखा अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पिपिइ दिएको हो । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पीपीई र ५०० थान माक्स हस्तान्तरण गरेका छन् । साथै, तिलगंगा आँखा अस्तपतालमा पनि ५ थान पीपीई बंैकका प्रमुख कार्यकारी अधिकृतले हस्तान्तरण गरेका छन् । हालसम्म बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनाएको छ ।
चेम्बर अफ कमर्सद्धारा विभिन्न स्थानमा नगदसहित स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा नगद सहयोग गरेको छ । साथै, चेम्बरले माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । धादिङ चेम्बर अफ कमर्सद्धारा सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ । चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष र व्यवसायिक प्रतिष्ठानका संचालक युवा नेता महादेव पोखरेलले शिवराज नगरपालिका प्रकोप व्यवस्थापन कोषमा रु ५५ हजार ५ सय ५५ हस्तान्तरण गरेका छन् । चेम्बर अफ कमर्स तौलिहवाले एक सय घर परिवारलाई राहत वितरण गरिएको छ । तुलसीपुर चेम्बर अफ कमर्सद्धारा मजदुरलाई माक्स वितरण गरिएको छ । गल्याङ चेम्बर अफ कमर्सद्धारा गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा ५१ हजार १ सय हस्तान्तरण गरियो । हरिवन चेम्बर अफ कमर्स र स्वाभिमान अस्पतालको सहकार्यमा स्वाभिमान सहकार्यमा स्वाभिमान अस्पतालमा १६ वटा वेडमा क्वारृन्टाइन र आइसोलेसन सेवा सुचारु गरिएको छ । काभ्रे चेम्बर अफ कमर्सले माक्स, सेनिटाइर र पञ्जा वितरण गरिएकोे छ ।
ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोभिड–१९ रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिइ), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको उनको सचिवालयले जनाएको छ । मन्त्री पुनले पिपिइ सेट ११० थान पर्ठाए । प्रयाप्त पिपिइको अभावमा महामारीका बेला स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेका छन् । यस्तै पञ्जा एक हजार थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क एक हजार थान रोल्पा पठाइएको छ । ती स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले जानकारी दिए । रोल्पाका १० वटै पालिकामा ती सामग्री पुग्नेछन् । जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री सङ्कलन गरिएको हो । जिल्लाबाट सङ्घीय संसद्मा प्रत्यक्ष निर्वाचित सांसदका हैसियतमा आपत्का समयमा मतदातासँगै रहेको सन्देश दिन मन्त्री पुनले ती सामग्री जिल्ला पठाएका हुन् । यसअघि पहिलो चरणमा ४० थान पिपिइ, चार हजार थान मास्क र १० थान ज्वरो नाप्ने थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र नौ गाउँपालिकामार्फत सम्बन्धित स्वास्थ्य संस्थामा पुगिसकेका छन् । रासस
गृहमन्त्री थापाले भने,‘समग्र अवस्थाको मूल्याङ्कन गरेर ‘लकडाउन’ बढाउँछौं’
काठमाडौं । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो । नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी गरिएको जानकारी दिए । राष्ट्रिय समाचार समिति ९रासस० लाई विशेष अन्तरवार्ता दिनुहुँदै गृहमन्त्री रामबहादुर थापाले लकडाउनको समय बढाइने जनाए । सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो । यस्तै चैत १८ गते पुनःलकडाउनको समय थप गरेर भोलि मङ्गलबारसम्मका लागि थप गरिएको थियो । लकडाउनलगायतका मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्ने उद्देश्यले आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । रासससँगको कुराकानीका क्रममा गृहमन्त्री थापाले भने, “लकडाउनको अवधि थप गर्ने विषयमा छलफल जारी छ । सम्भवतः आज भोलि नै थप हुने निर्णय हुनसक्छ ।” उनले यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो । कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी ९लकडाउन० को अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले कोभिड– १९ को सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरुपमा (मास स्केलमा) परीक्षण प्रक्रिया शुरु गर्ने निर्णय समेत गरेको थियो । समग्र अवस्थाको मूल्याङ्कन गरेर नागरिकको स्वास्थ्य अवस्थालाई समेत केन्द्रमा राखेर महत्वपूर्ण निर्णय लिइने मन्त्री थापाले जानकारी दिए । कोभिड– १९ उच्चस्तरीय समितिको आइतबारको बैठकमा समेत लकडाउनको अवधि थप गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । त्यसो त सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेश मातहत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै लकडाउनको अवधि थप गर्न सङ्घीय सरकारलाई आग्रह गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म नौ जनामा कोभिड– १९ को सङ्क्रमण भएको छ । यसैबीच गृहमन्त्री थापाले लकडाउनको समयमा कालोबजारी तथा अन्य गैरकानूनी गतिविधि नियन्त्रणका लागि सरकारले सुरक्षा निकायलाई प्रभावकारीरुपमा परिचालन गरेको र कुनै पनि समस्या आउन नदिन सचेत रहेको बताए । दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा शान्ति सुरक्षाका विषयलाई महत्वका साथ आफूहरुले संयोजन एवं निर्देशन गरेको उनको भनाइ छ । यस्तै सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पताललाई कोरोना उपचारका लागि ‘डेडिकेटेड’ अस्पतालका रुपमा तोकेर आवश्यक साधान तथा स्रोत उपलब्ध गराइएको उल्लेख गर्दै गृहमन्त्री थापाले विपद्को समयमा सुरक्षा निकायको भूमिका थप महत्वपूर्ण हुने बताए । अस्पतालका लागि चिकित्सक एवं अन्य कर्मचारीको प्रबन्ध भएको, स्वास्थ्य सामग्री तथा उपकरणको समेत प्रबन्ध भएको जानकारी दिँदै उनले विपद्को समयमा नागरिकको सुरक्षा र अन्य प्रबन्धका लागिसमेत सुरक्षा निकाय नै अग्रमोर्चामा रहेर काम गर्ने स्पष्ट पारे । लकडाउनको समयमा अनावश्यक आवागमन रोक्नका लागि नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप परिचालन गरिएको उल्लेख गर्दै उनले मुलुकभित्र पनि महत्वपूर्ण भूमिकामा नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक मात्रामा परिचालन गरिएको बताए । नागरिकलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनसमेत सुरक्षा निकायले सहयोग गरेकाले लकडाउन उल्लङ्घन नगर्न सबैलाई आग्रह गरे । “आफ्नो र परिवारको स्वास्थ्यका लागिसमेत सबै नागरिक आफू आफैँमा जिम्मेवार हुनुपर्छ । कुनै अत्यावश्यक सामग्री खरिद तथा अन्य कुनै अत्यावश्यक काम परेको खण्डमा नजिकको सुरक्षाकर्मीको सहयोग लिन म आग्रह गर्दछु”, गृहमन्त्री थापाले भने । खाना पकाउने ग्यास तथा दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्न र सहज आपूर्तिका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वका अनुमगन समिति बनाइएको र सो समितिले दैनिक जसो नै प्रतिवेदन दिने गरेको र सोही प्रतिवेदनका आधारमा सरकारले आवश्यक निर्णयसमेत गर्ने गरेको उनको भनाइ छ । गृहमन्त्री थापाले लकडाउनको समयमा देशभित्रको समग्र शान्ति सुरक्षाको अवस्थासमेत मजबूत रहेको बताए । रासस
मेगा बैंकको सहयोग जारी, बागमती र कर्णाली प्रदेशलाई दियाे ५-५ लाख रूपैयाँ
काठमाडाैं । मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारलाई सहयोग हस्तान्तरण जारी राखेको छ । कोरोना रोकथामका लागि प्रदेश सरकारलाई सहयोग मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले बागमती र कर्णाली प्रदेश सरकारलाई ५-५ लाख रुपैंया सहयोग गरेको हो । मेगा बैंक हेटौंडा शाखाका प्रबन्धक निरञ्जन देवकोटाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन्। यसैगरी, मेगा बैंक वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ५ लाख रुपैंया सहयोग हस्तान्तरण गरे । मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५-५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । सोही अनुसार, प्रदेश नम्बर १, २, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा यसअघि ५-५ लाख रुपैंया हस्तान्तरण गरिसकेको छ ।
लकडाउनले डिमाण्ड बढेका विजनेश, रेभिन्यु भने ह्वात्तै घट्यो
काठमाडौं । देश लकडाउनमा छ । आम सर्वसाधरणहरु घरभित्रै छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस भाइरसको नियन्त्रण तथा रोकथामका लागि विश्व लागि परिरहेको छ । विभिन्न देशहरुले आ आफ्नै तरिकाले यसको विधि अपनाई रहेका छन् । धेरै देशहरुले लकडाउन गरेका छन् । यसले पनि अहिले विश्व बजार सुनसान छ । कोरोना भाइरसको संक्रमणका कारण नेपाल पनि अछुतो रहन सकेको छैन । अहिले नेपाली बजारमा पनि आर्थिक गतिविधीहरु ठप्प बनेका छन् । दैनिक ज्यालादारी गर्नेदेखि उद्योगी व्यवासयीसम्म घरभित्रै छन् । सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै मानिसहरुले आफ्ना दैनिक गतिविधीमा सरिक हुन पाएका छैनन् । फलस्वरुप त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा परिरहेको छ । सरकारले अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्न निर्देशन दिएसँगै सबै व्यावसायिक सेवाहरु बन्द छन् । सकारले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । हुनत आम सर्वसाधारणहरु ती अत्यावश्य सेवामा सहभागी हुने क्रम बढ्दै गएको छ । तर, त्यसबाट हुनु पर्ने फाइदा ती सेवाहरुलार्य नभएको सरोकारवालाहरुले बताएका छन् । अत्यावश्यक सेवामा सरकारले टेलिफोन, सञ्चार, इन्टरनेटलगायतका सेवाह्रुलाई सुरु गर्न निर्देशन दिइसकेको छ । तर, ती सेवाहरुमा डिमाण्ड भोलुम बढेपनि बिजनेश ग्रोअप अर्थात रेभिन्युमा भने कमि आउँदै गएको छ । नेपाल टेलिकमका कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले लकडाउनको समयमा धेरै रेभिन्यु घटेको बताए । उनले यो समयमा डेटाको माग बढेपनि राजश्वमा भने वृद्धि नभएको बताए । ‘नाफा–नोक्सान जे भएपनि अत्यावश्यक सेवा भएकोले सेवा दिनै पर्छ, लकडाउनभन्दा अगाडिको राजश्व अहिले आँकलन गर्न पनि मिल्दैन, हाम्रो डेटा डिमाण्ड बढेपनि रेभिन्यु भने घट्दै गएको छ, उनले भने । टेलिकमले अहिले उपभोक्ताको सेवाका लागि नेट विस्तार, सफ्टवेर बढाउने, सर्भरको लिंक क्षमता बढाउनेलगायतका कम्प्युटरबाट गरिनो कामहरु गरिरहेको उनको भनाइ छ । भएका ग्राहकहरुको सेवाका लागि गुणस्तर मेन्टेन गर्ने काम भइरहेको उनले बताए । ‘अहिले फ्याम्ली र व्यावसयिक कल ह्वात्तै घटेको छ, इन्टरनेश्नल कल भ्वाइसकल र रोमिङ नै हाम्रो मुख्य राजश्व संकलन गर्ने स्रोत हुन, ती नभएपछि राजश्वमा स्वभाविक रुपमा गिरावट आउँछ,’ उनले भने । भ्वाइसकल २० देखि ३० प्रतिशत घटेको उनको भनाइ छ । तर, डेटा डिमाण्ड भने ३० देखि ४० प्रतिशतसम्म बढेको उनले बताए । नेपाल सरकारले २५ प्रतिशत छुट दिनु भन्ने निर्देशन दिएसँगै डेटामो आएको फाइदा डिस्काउण्टमा जाने गरेको उनले बताए । त्यसैले पनि टेलिकमको राजश्वकमा गिरावट आएको उनको भनाइ छ । अहिले नेपाल टेलिकम मात्र नभएर सबै सरकारी तथा निजी सेवा प्रदाय कम्पनीहरूकाे राजश्वमा ह्रास आएको बुझिएको छ । यस्तै, अत्यावश्यक सेवा मध्येको इन्टरनेट सेवाको राजश्वमा पनि परिवर्तन आएको छैन । इन्टरनेटको डिमाण्ड बढेपनि बिजनेस ग्रोअप भने नभएको नेपाल दुरसञ्चार प्राधिकरणका सुचना अधिकारी सन्दिप अधिकारीले बताए । उनले नयाँ नयाँ लाइन जोड्ने प्रक्रिया रोकिएको भएकोले पहिलेको ग्राहकलाई सेवा दिन समस्या भइरहेको बताए । ‘अहिलेको इन्टरने सेवा निरन्तर चल्नको लागि सहज गरिरहेका छौं, सबै होम क्वारेन्टाइनमा भएकोले डिमान्ड बढेको छ, व्यापार भने बढेको छैन उनले भने,’ उनले भने । अत्यावश्यक सेवा भएकोले दिइरहेको तर राजश्व पहिलेको भन्दा घटेको बुझिएको उनको भनाइ छ । अहिले इन्टरनेट सस्तो र मानिसहरुले समय बिताउनका लागि भएपनि चलाउने हुुनाले भएको सेवालाई नै मेन्टेन भइरहेको उनले बताए । सरकारले इन्टरनेटमा छुट दिने भन्ने निर्देशनले पनि आएको राजश्व पनि पुनः कम हुने उनको भनाइ छ । यस्तै,केबल नेटवर्क अर्थात डिटिएच सेवा प्रदायक कम्पनीहरुको रेभिन्युमा पनि गिरावट आएको बुझिएको छ । डिसहोमका जनरल म्यानेजर रमेश सापकोटाले पहिलेको भन्दा अहिले राजश्वमा गिरावट आएको हुन सक्ने बताए । त्यसको निश्चित भने पछि थाहा हुने उनले बताए । अहिले नयाँ ग्राहक थप्न सकिएको अवस्था छैन, पुरानै ग्राहकलाई थप सेवा दिइरहेका छौं, घरभित्रै भएकोले पुराना ग्राहक थप सक्रिय भएका छन्, रिचार्ज नपाएकोले पनि टिभी हेर्न सकिरहेका छैनन्, उनले भने । ‘लकडाउन हुनुभन्दा केही दिन अगाडि राजश्व बढेको थियो, अहिले घटेको छ, कति घट्यो त्यो भने पछि थाहा हुन्छ,’ उनले भने । आफुहरुले रिचार्ज नपाएका ग्राहकका लागि १० दिनसम्मका लागि क्रेडिट सेवा दिइरहेका उनको भनाइ छ । अहिले लक डाउनको समयमा सर्वसाधारणहरु घरभित्रै भएकोले पनि अत्यावश्य सेवाको माग बढेको छ । तर, उनीहरु घरबाहिर आउन नपाउनाले पनि आर्थिक गतिविधीमा कमि आएको देखिन्छ ।
सुदूरप्रदेशमा संक्रमित बढेकाले लकडाउन थप सशक्त हुनेछ : मुख्यमन्त्री भट्ट
काठमाडौं । नेपालमा पुष्टि भएका कोभिड–१९ का नौ संक्रमितमध्ये चार सुदूरपश्चिम प्रदेशका छन् । शनिवबार एकसाथ सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भएको पुष्टि भएपछि रोगको रोकथाम र निगरानीमा चुनौती थपिएको छ । अहिलेसम्म विदेशवाट स्वदेश फर्किएकामा यो रोगको संक्रमण भएको देखिएकामा फर्किएका संक्रमित व्यक्तिमार्फत धनगढीका ३४वर्षीया एक महिलामा यो रोग सरेको देखिएको छ । संक्रमित व्यक्तिमार्फत स्थानीयवासीमा कोरोना सरेको घटना यो नेपालमा पहिलो भएको चिकित्सकले बताएका छन् । सुदूरपश्चिम प्रदेशमा संक्रमित बढ्दै गइरहेका बेला कोरोना संक्रमण फैलिन नदिन प्रदेश सरकारले केकस्ता रणनीति अपनाएको छ, तयारी कस्तो छ भन्नेलगायत समसामायिक विषयमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँंग रासस सुदूरपश्चिम प्रदेशप्रमुख सिद्धराज भट्ट र प्रकाश मिश्रसँग भएका कुराकानीका अंशः विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण फैलिन नदिन प्रदेश सरकार केकस्तो रणनीति अपनाएर अघि बढिरहेको छ ? कोरोना संक्रमण फैलिन नदिनका लागि प्रदेश सरकारले आफ्नो क्षमताअनुसारको तयारी गरिरहेको छ । यो भनेको क्वारेन्टाइन बनाउने र त्यहाँ मानिसलाई राख्ने, जाँच गर्ने कुरा हुन् । संक्रमितको उपचारको व्यवस्था मिलाउने कुरामा प्रदेश सरकार लागिपरेको छ । त्यसका साथै हामीले प्रदेशमा उपलब्ध नौ वटै अस्पतालमा उपचारको व्यवस्था मिलाउने तयारी थालेका छौंँ । हामीले अब थप पन्ध्र वटा भेन्टिलेटर स्थापना गर्ने निर्णय पनि गरेका छौंँ । जनतामा विश्वास कायम रहिरहने गरी हामी काम गरिरहेका छौं । केही दिनअघिसम्मको तथ्यांकमा भारतबाट सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर नेपाल प्रवेश गरेका एक लाख ३४ हजारभन्दा बढी नेपालीमध्ये झण्डै दुई हजार पाँच सय मात्र हाल क्वारेन्टाइनमा बसेका छन् भन्ने छ, भित्रिने अरु व्यक्तिलाई क्वारेन्टाइनमा बस्ने व्यवस्थापन किन हुन सकेन ? यसबाट कत्तिको जोखिम हुन्छ ? हामीले भारतबाट आउनेहरुलाई सिमानामा प्रारम्भिक जाँचपछि मात्र प्रवेश दिएको र उनीहरुको तथ्याङ्क राखेको अवस्था हो । यहाँबाट प्रारम्भिक जाँच भइसकेपछि उनीहरु कहाँ गए, के गरिरहेका छन् भन्ने सूचना र जानकारी स्थानीय तहमार्फत प्रदेश सरकारले राखेको छ । शनिबार मात्र पोजेटिभ संक्रमण देखिएकाहरु क्वारेन्टाइनमै बसेका थिए । थप अरु व्यक्तिलाई पनि समस्या देखिए तुरुन्त उद्धार र उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउने गरी काम गरिरहेको अवस्था हो । अब सवैलाई क्वारेन्टाइनमा राखेर सकिने अवस्था पनि नरहेका कारण होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । उहाँहरु होम क्वारेन्टाइनमा बसेको नबसेको भनेर प्रदेश सरकारले निगरानी गरिरहेको छ । कोरोनाको रोकथाम र निगरानीका लागि प्रदेशमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अवस्था के छ निजी मेडिकलहरुसंँग समन्वय कत्तिको गर्नुभएको छ रु सामान्य बिरामी भएको व्यक्तिले पनि यति बेला सहज रुपमा उपचार नपाएको भन्ने गुनासो आउन थालेको छ नि ? प्रदेशमा आवश्यक स्वास्थ्य सामग्री केही दिनका लागि पुग्ने भए पनि लामो समयका लागि पर्याप्त नभएको अवस्था त हो तर आत्तिहाल्नुपर्दैन किनभने केन्द्र सरकारले पनि थप केही स्वास्थ्य सामग्री ल्याइरहेको र प्रदेश सरकार आफैले पनि तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरीदका लागि बोलपत्र आह्वान गरिसकेको छ । हामीले केन्द्र सरकारलाई सुदूरपश्चिममा चार जना संक्रमित देखिसकेको हुनाले यस प्रदेशलाई केन्द्र बनाएर आवश्यक सामग्री र चिकित्सकको टोली पठाउनुपर्ने कुरा भनिसकेका छौं । हामीले निजी मेडिकलहरुलाई भनिसकेका छौं, कुनै पनि जनताले औषधि उपचार पाएनौं भनेर आउने स्थिति नदेखियोस् । यदि त्यस्तो अवस्था आइहाल्यो भने हामी कडा कारवाही गर्न बाध्य हुनेछौंँ । निजी मेडिकल सञ्चालकहरुले पनि यस संकटको बेला स्वास्थ्य सेवा दिने काममा पछि नहट्ने प्रतिबद्धता गर्नुभएको छ । कोराना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरु सुरक्षाको पहिलो घेरामा हुन्छन्, उहाँहरुले प्रयोग गर्ने उपकरणलगायत स्वास्थ्य सामग्री प्रदेशमा पर्याप्त छन् ? हामीसँंग केही दिनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री छन् तर पर्याप्त छैनन् । यो संकट निश्चित भूगोल र देशमा मात्र निम्तिएको होइन । तसर्थ सचेत हुँदै प्रदेश सरकार लागिरहेको छ । अहिले हामीसँंग सामान्यरुपमा आवश्यक पर्ने ह्याण्ड स्यानिटाइजर, पिपिई ,सर्जिकल मास्क लगायतका अति आवश्यक स्वास्थ्य सामग्रीको पर्याप्तता धेरै छैन तर हुँदै नभएको पनि हैन । जारी लकडाउनको समय लम्बिँदा खाद्यान्नलगायत तरकारी ढुवानीमा समस्या आइरहेको भन्ने जनगुनासो बढेको छ । यसले गर्दा मानिसले पैसा भएर पनि सहज रुपमा खाद्यान्न किन्न पाइरहेका छैनन् । या समस्या समाधानका लागि केकस्तो प्रयासमा हुनुहुन्छ ? तपाईँले भनेको एउटा कुरामा म असहमति जनाउँछु । मानिसले पैसा भएर पनि नियमित किन्ने ठाउँबाट किन्न नपाएका हुन् तर किन्न नै नपाएका भने होइनन् । खाद्यान्न,तरकारी तथा फलफूलको ढुवानी सुदूरपश्चिम प्रदेशमा पर्याप्त रहेको र ढुवानीमा समस्या नभएको स्पष्ट पार्छु । अर्को कुरो, यस संवेदनशील अवस्थामा औषधि, खाद्यान्न,तरकारी, फलफूललगायत अति आवश्यक सामग्री खरीदको नाममा भिडभाड गर्ने र लकडाउनको पालना नगर्नेलाई भने कारवाही गरिनेछ । लकडाउनको प्रभावकारी कार्यान्वयनमा समस्या आइरहेको भन्ने एकथरीको भनाइ छ, थप व्यवस्थित बनाउन प्रदेश सरकारको भूमिका के हुन्छ ? लकडाउनको शुरुआती समयमा केही खुकुलो भए पनि हाल कडाइका साथ अघि बढेको छ । सुदूरपश्चिमभरि लकडाउनको उल्लंघन गर्ने सयौंँ सवारीसाधन कारवाहीमा परेका छन् । अब प्रदेशमा संक्रमित बढेको अवस्थामा लकडाउन थप सशक्त हुनेछ । लकडाउनका समयमा कतियय ठाउँमा कालोबजारी बढेको भन्ने जनगुनासो पनि सुनिन थालेको छ । कालोबजारी रोक्न प्रदेश सरकारले के गरिरहेको छ ? संकटको बेला कसैले कसैलाई समस्यामा पार्नुहुँदैन र महामारीको गलत फाइदा कसैले पनि लिनु हुँदैन भन्ने कुराको चेतना हुँदाहुँदै पनि यस किसिमको गलत काम गर्नेहरुमाथि प्रदेश सरकार कडारुपमा प्रस्तुत हुनेछ । यदि कसैले महामारीको बेला कालोबजारी गरेको पाइए प्रचलित कानूनअनुसार हदैसम्मको कारवाही हामी गर्नेछौंँ । यसका लागि हामीले अनुगमन टिम पनि बनाएका छौं । अनुगमनका क्रममा कालोबजारी गरेको पाइएमा वा उपभोक्ताको गुनासो आए हामी सम्बन्धितलाई कारवाही गर्नेछौं । अहिले अव्यवस्थित र रुपमा भीड जम्मा गरेर राहत वितरण भइरहेको छ, यसले गर्दा कोरोनाको संक्रमण अझै बढ्ने चिन्ता स्वास्थ्यकर्मीले गरिरहेका छन् । यसलाई कसरी व्यवस्थित गर्नुहुन्छ ? हेर्नुस्, मानिसहरु सामान्य समय जस्तै जसरी राहत वितरण गर्ने तस्वीर लिने अनि प्रचार गर्ने काममा लागेका छन् । यसो गर्दा जोखिम बढ्ने सम्भावना निकै बढी हुन्छ । त्यसैले हामीले आइतबारदेखि अव्यवस्थित रुपमा विभिन्न नाममा वितरण गरिँदै आएका राहत वितरणमा रोक लगाएका छांैँ । मानिसहरुले संवेदनशीलतालाई बुझिदिनुप¥यो । यदि कसैलाई सहयोग गर्ने इच्छा चाहना भए देशमा तीन तहका सरकार छन् । कुनै पनि सरकारसँंग समन्वय गरेर वितरण गर्न सकिने छ । हैन भने कुनै सामाजिक दूरी कायम नगरी भीडभाड गरेर राहत वितरण गर्न पाइने छैन । संक्रमण फैलिन नदिनका लागि सरकारले संक्रमितको कन्टयाक ट्रयाकिङ गर्ने कुरामा सरकार असफल भएका कारण समस्या देखिएको भन्ने जनगुनासो छ नि ? त्यस्तो हैन । हामीले धनगढीमा खासगरी दुवईबाट आएका व्यक्तिलाई संक्रमण देखिसकेपछि उहाँहरुको सम्पर्कमा आएका व्यक्तिलाइ ट्रयाकिङ गरेका छौँ । हामी यस विषयमा गम्भीर नै छांैँ । हामीले तेस्रो मुलुक मात्र हैन भारतबाट आएकालाई समेत ट्रयाकिङ गरेका छौँ । सरकारले केही गरेन, सरकार हरायो भन्नु भनेको विरोधका लागि विरोध मात्र हो । विरोध गर्नेहरु गरिहन्छन्, हामी आफ्नो काममा लागिरहन्छौं । अन्त्यमा, यस संकटको घडीमा प्रदेशका जनतालाई के भन्न चाहनुहुन्छ ? सरकारले जुन लकडाउन गरेको छ त्यसलाई सफल बनाउन म पहिले सबैलाई आग्रह गर्न चाहन्छु । यो कसैले निम्ताइदिएको समस्या होइन र सामान्य अवस्था पनि होइन । त्यसैले गभ्भीरताका साथ लिइदिन हुन म हार्दिक अनुरोध गर्न चाहन्छु । अर्को कुरा, सुदूरपश्चिममा चार जना संक्रमित देखिइसकेपछि सबैले अझ बढी सतर्क रहन जरुरी छ । यदि परिवारका कोही सदस्य बाहिरबाट आएका छन् भने केही दिन टाढा नै बस्नु उपयुक्त हुन्छ । म सम्पूर्ण सुदूरपश्चिमवासी जनतालाई सुरक्षित भई होम क्वारेन्टाइनमा बसिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
कोरोना संक्रमण नियन्त्रणमा अमेरिकाले जस्तै हेलचेक्र्याई गर्दैछ नेपाल
काठमाडौं । नेपालमा कोरोनाको पहिलो संक्रमण पुष्टि भएको आज ३ महिना १३ दिन पुगेको छ । हालसम्म नेपालमा ९ जनामा कोरोेनाको संक्रमण पुष्टि भएको छ भने १ जना उपचारपछि निको भएर घर फर्किसेका छन् । यस्तै, ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हालसम्म कोरोना संक्रमणको कारण नेपालमा मृत्यु भएको पुष्टि भने भएको छैन । यो समाचार तयार पार्दासम्मको विश्वब्यापी तथ्यांक हेर्ने हो भने अवस्था भयावह छ । संराभर करिब १३ लाख संक्रमित भएका छन् भने करिब ७० हजारको मृत्यु भैसकेको छ । र यो संख्या भने तीब्र गतिमा बढिरहेको छ । विश्वव्यापी आँकडालाइ आधार मानेर हेर्ने हो भने नेपालमा संक्रमणको अवस्था हालसम्म सामान्य नै देखिन्छ । तर यथार्थमा भने परिस्थिति ठिक विपरित रहेको छ । कोरोनाको संक्रमण चरणलाइ हेर्नेहो भने नेपाल दोस्रो चरणमा प्रवेश गरिसकेको छ । कसरी फैलिन्छ त कोरोना संक्रमण ? कोरोना संक्रमणको फैलाबट सुरुवाती चरणमा अत्यन्त सुस्त देखिए पनि तेस्रो चरणपछि एक्कासी बिस्फोट हुनेगेको देखिन्छ । कोरोना संक्रमणको चरणहरु तथा संक्रमणले कसरी लिन्छ त माहामारिको रुप ? संयुक्त राज्य अमेरिकाको उदाहरण हेरौँ । २० जनवरीमा अमेरिकामा कोरोनाको पहिलो संक्रमण देखापरेको थियो । उक्त व्यीक्त १५ जनवरीमा चीनको उहानबाट अमेरिकामा गएका थिए । संक्रमण पुष्टि भएको दोस्रो दिन अर्थात २२ जनवरीमा ट्रम्प प्रशासनले अमेरिकामा स्वास्थ्य संकटकाल घोषणा गर्यो र चीनबाट आउने सम्पूर्ण यात्रीहरुलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध लगायो । अमेरिकी प्रशासन संक्रमण नियन्त्रणका लागि केही सजग पनि देखियो । यो संक्रमणको पहिलो चरण थियो, जसमा संक्रमित क्षेत्रबाट आएका व्यक्तिमा मात्र संक्रमण देखिएको थिथो । यो समयमा चीनबाहेक अन्य देशहरुबाट भने अमेरिका प्रवेशमा कुनै प्रतिवन्ध थिएन । सुरुआती दिनमा अमेरिकाले कोरोना संक्रमणको परीक्षणमा समेत खासै ध्यान दिएन, जसबाट विदेशबाट संक्रमित भएर आउने मानिसहरुले उनीहरुको सम्पर्कमा आउने अमेरिकीहरुमा संक्रमण सारे । यसबाट विदेश नगएका तर विदेशबाट आएका मानिसँग सम्पर्कमा रहेका मानिसहरुमा भित्रभित्रै संक्रमण फैलिन थाल्यो । यो संक्रमणको दोस्रो चरण थियो, जसमा संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुको सम्पर्कमा आएका मानिसमा मात्र संक्रमण देखिन्छ । पहिलो संक्रमण देखापरेको १ महिना ६ दिनपछि अथार्त २६ फेब्रुअरीमा क्यालिफोर्नियामा यस्तो व्यक्तीमा संक्रमणको पुष्टि भयो जो न विदेश गएको थियो न विदेशवाट आएको कोहि व्यक्तिसँग सम्पर्कमा नै थियो । र, उसले कुनै संक्रमित व्यक्तिलाई भेटेको पनि थिएन । यो समयसम्मपनि अमेरिकामा परप्क्षणको मात्रालाइ खासै बढाइएको थिएन । यो संक्रमणको तेस्रो चरण हो । यो चरणमा संक्रमणको स्रोत पत्ता लगाउन अत्यन्त कठिन हुन्छ तथा संक्रमण सामुदायिकस्तरमा फैलिसकेको हुन्छ । हाल अमेरिका संक्रमणको चौथो चरण अर्थात माहामारीको चरणमा छ । जाहाँ गत बिहीवार तथा सुक्रबार (२४ घण्टामा) १५ सयभन्दा धेरै मानिसको मृत्यु भयो । जुन एउटा देशमा एकैदिनमा मृत्यु भएको हालसम्मकै उच्च सङ्ख्या हो । अमेरिका हाल संक्रमणको मामलामा प्रथम स्थानमा छ जुन लगभग साँढे तीन लाखको संख्यामा रहेको छ । यो संख्या क्रमशः दोस्रोे, तेस्रो र चौथो स्थानमा रहेको स्पेन, इटाली र जर्मनी तीनवटै देशका संक्रमित सङ्ख्याको योग भन्दापनि बढि हो । कहाँ चुक्यो अमेरिका ? पहिलाे असफलता अमेरिकाको पहिलो असफलता भनेको उसले संक्रमितको प्रवेशमा रोक लगाउन नसक्नु नै हो । जब अमेरिकामा कोरोनाको पहिलो संक्रमण देखियो त्यसपछि उसले विदेशयात्रा र आवागमनमा कडाइका साथै धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने थियो, जुन हुन सकेन । दोस्रो असफलता अमेरिकाको दोस्रो गल्ती भनेको संक्रमितको पहिचान तथा सुरुवाती फैलावट नियन्त्रण हुन नसक्नु नै हो । कोरोना संक्रमणको सामुदायस्तरमा फैलावट सुरु भएको संकेत पाउनासाथ पूर्ण लकडाउन गरेर थप फैलावट नियन्त्रण तथा तेस्रो चरणको प्रवेशबाट रोक्न सकिन्थ्यो तर त्यस्तो भएन । मार्चको तेस्रो हप्तासम्म खास कुनै पनि कडाइ गरिएन, जसबाट संक्रमण तेस्रोबाट चौथो चरणमा प्रवेश गर्यो । तेस्रो असफलता अमेरिकाको तेस्रो गल्ती तथा असफलता भनेको उसले लकडाउनको पूर्ण कार्यान्वयन गर्न गराउन सकेन । अमेरिकी नागरिकले लकडाउनलाई छुट्टीको रुपमा लिए । स्कुल क्याम्पसहरु बन्द गरियो, कार्यालयहरु बन्द भए । तर, मानिसहरुले यो समयलाई बिदाको समयको रुपमा लिए । छुट्टी मनाउन कोही समुन्द्री किनारमा गए, कोही पिकनिक तथा पार्टीमा रमाउन थाले, जसबाट सामाजिक दुरी (सोसल डिस्ट्यान्स) कायम हुन सकेन र संक्रमण झन तिब्रदरमा फैलियो । सरकारले घोषण गरेको प्रतिबन्धको कारण सडक तथा सुपरमार्केटहरुमा भिड लाग्यो, जसबाट तिब्ररुपमा फैलिरहेको संक्रमणमा आगोमा घिउ थप्ने काम भयो । चौथो असफलता अमेरिकाको चौथो गल्ती तथा असफता भनेको उसले पर्याप्त मात्रामा सुरक्षा उपकरणहरुको जोहो गर्न सकेन । पूर्वतयारीमा चुक्यो । संक्रमणको फैलावट नियन्त्रणमा चुकेको अमेरिका संक्रमणको उपचारमा समेत चुकेको छ । विषेश गरी मेडिकल उपकरणको सप्लाइ तथा वितरणमा भने व्यापक समस्या उत्पन्न भयो । आपतकालिन समयको लागि भनेर राखिएको उपकरणहरु बेकामको रहेको भन्ने स्वास्थ्यकर्मीहरुबाट आयो । संक्रमितको उपचारका क्रममा प्रयोग हुने पीपीइ, मास्क, पन्जा, प्रोटेक्टिभ गगल्स, जुत्तालगायतका उपकरणको अभावमा स्वास्थ्यकर्मीहरु असुरक्षित रुपमा नै उपचारमा संलग्न भए, जसबाट स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुन पुगे । केही व्यापारीहरुसँग सामग्रीहरु भएपनि १० गुणासम्म मुल्यबृद्धी भयो फलस्वरुप सम्पूर्ण उपचार क्षेत्र नै अस्तव्यस्त भयो । यसैकार पनि संक्रमणले झन भयाभह रुप धारण गर्यो तथा स्वास्थ्यकर्मीहरुको अभाव हुनथाल्यो । पाँचौँ असफलता अमेरिकाको पाँचौं गल्ती वा असफलता भनेको सरकारको नीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन नहुनु पनि हो । मुल्यबृद्धी नियन्त्रणका लागि सरकारबाट निर्देशनहरु जारी गरियो, हिँडडुलमा प्रतिबन्ध, जमघट, भेला, पार्टीमा बन्देज, सामाजिक दुरी कायम गर्ने, यथाशिघ्र स्वास्थ्य उपकरणको व्यवस्था गर्नेलगायतका निर्देशनहरु सरकारबाट जारी गरियो, जुन व्यवहारमा लागू भएन, कागजमा मात्रै सिमित भयो । फलस्वरुप अमेरिका संक्रमणको यस्तो दुस्चक्रका फस्यो कि आगामी इस्टरसम्ममा पुरानै रुपमा फर्किने घोषणा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि १ देखि २ लाखको बीचमा मृत्युदरलाई सिमित गर्नसके कोरोना बिरुद्धको लडाइमा अमेरिकाको जित भएको मानिने घोषणा गरे । अब नेपाललाई अमेरिकासँग तुलना गरेर हेरौं अमेरिकाले जस्तै नेपालले पनि सुरुवाती चरणमा संक्रमण नियन्त्रणमा खासै चासो दिएको देखिदैन । चीन बाहिर दक्षिण कोरिया, इरानलगायतका देशहरुमा संक्रमण देखियो । यति मात्रै होइन, नेपालले आफ्नो देशको तीनतिरको सिमाना साझा गर्ने तथा खुल्ला सिमाना रहेको छिमेकी देश भारतमा समेत संक्रमण देखापरिसकेको थियो । त्यति बेलासम्ममा नेपालले सिमानाका तथा अन्तर्राष्ट्रिय उडानमा समेत पूर्णरुपमा रोक लगाएर संक्रमण भित्रिनबाट रोक्न सकिन्थ्यो, जुन गरिएन । उल्टो हाम्रो सरकारका मन्त्रीहरु तथा उच्चपदस्त अधिकारीहरु नेपाललाई कोरोना मुक्त देश घोषणा गदै विदेश भ्रमणमा निस्किए । नेपालीमा कोरोनाको प्रतिरोधी क्षमता धेरै छ । नेपालमा कोरोनाको संक्रमण फैलिदैन भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिनसमेत पछिपरेनन् । विदेशबाट फकिर्नेहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने व्यबस्था गर्नुपर्ने थियो । तर त्यसो गरिएन । अझ स्वास्थ्य मन्त्रीले त संक्रमणले माहामारीको रुप धारण सबै नागरिक आफ्नै क्वारेन्टाइनमा बस्नुपर्ने विवादास्पद अभिव्यक्ति दिन भ्याए । विदेशवाट फर्किएका मानिसहरु १४ दिनसम्म एकान्तबास (सेल्फ क्वरेन्टाइन ) मा बस्नेछु भनेर सपथनामा त भरे, तर पालना भने गरेनन् । भेटघाट, जमघट, विवाह, पार्टी, घुमफिर लगायतमा व्यस्त रहे । जसवाट संक्रमण दोस्रो चरणमा पुग्यो । राज्यले पनि एकान्तबासको सपथनामा भर्न लगाएर आफ्नो जिम्मेवारी पुरा भएको ठान्यो । पालना गरे नगरेको विषयमा कुनै चासोनै राखेन । राज्यसंयन्त्र कतिसम्म गैरजिम्मेवार भयो भने विदेशवाट कति मानिस नेपाल फर्किए तथा थाक ठेगाना कहाँ हो भन्ने बारेमा पनि सरकारले यकित तथ्यांक राखेन । नेपालमा कोरोनाको पहिलो संक्रमण देखिएको पनि साँढे तीन महिना वितेको छ । आजसम्म अत्यावश्यक मेडिकल उपकरणको समेत जोहो गर्न राज्यले सकेको छैन । उपकरण खरिदमा हिनामिना भएको तथा उक्त प्रक्रियामा तलुकदार कार्यालयदेखि प्रधानमन्त्री सचिवालयका अधिकारीसम्म विवादमा ताएिका छन् । मेडिकल उपकरण खरिद प्रक्रिया नै रद्द भएको छ भने अब उपकरण खरिदको जिम्मा नेपाली सेनालाइ दिने चर्चा चलेको छ । अहिले रद्द भएको मेडिकल खरिद प्रकरणमा विवादमा तानिएका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नै सेनाले गर्ने भनिएको खरिद प्रक्रियाको पनि नेतृत्व गर्ने भएका छन् । हाम्रो सरकार कोरोना नियन्त्रणको लागि विगत १४ दिनदेखि देशभर लकडाउन घोषणा गरेर तथा अन्य काम गरेर बसेको छ । यो बीचमा बृहत रुपमा परीक्षण तथा संक्रमितको पहिचान तथा उपचारमा विशेष पहल गर्नुपर्ने भएपनि त्यतातिर सरकारको ध्यान गएको देखिएको छैन । अमेरिका तथा नेपालको घटनाक्रम हेर्दा कोरोना संक्रमणको नियन्त्रणमा नेपाल पनि अमेरिकी पथमा नै अघि बढेको देखिन्छ । कागजी निर्णयमा सिमित सरकार, नियम नमान्ने जनता, परीक्षण तथा संक्रमितको पहिचानमा देखिएको उदासिनता, मेडिकल उपकरणको अभाव, पर्याप्त अस्पताल तथा उपकरणकोे कमी, जस्ता तथ्यले कोरोनाको वैश्विक महामारीलाई नेपालले पनि निम्ता दिए जस्तो आभाश मिलेको छ । अमेरिका तथा नेपालमा फरकचै के छ भने अमेरिकन पथमा हुदाहुदै पनि नेपाल संक्रमणमा अमेरिकाभन्दा डेढ महिना पछाडी छ । नेपालमा कोरोना संक्रमण भर्खर दोस्रो चरणमा प्रवेश गरेकोले युद्धस्तरमा काम गरेर नागरिक बचाउन सक्ने मौका सरकारलाई पर्याप्त छ भने हामी आफै पनि सजग भएर सम्भावित संक्रमणबाट जोगिन सक्ने अवसर छ । अन्तराष्ट्रिय संचारमाध्यमकाे सहयाेगमा