विकासन्युज

वाग्मती सरकारको आगामी बजेटको तयारीसम्बन्धी गृहकार्य शुरु

काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारले आगामी वर्ष ल्याउन लागिएको बजेटमा जनमुखी व्यावहारिक र कषि र उद्योगको उत्पादनलाई कार्यान्वयन गर्नेतर्फ उच्च प्राथमिकता दिने बताए । मन्त्री ढुङ्गेलले वाग्मती सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेटको तर्जुमा गर्न यहाँ प्रदेश नीति योजना आयोगका पदाधिकारी, अर्थविज्ञसँग बजेट तर्जुमाको लागि छलफल र बजेटको मस्यौदा तयारको लागि गृहकार्य भइरहेको जानकारी दिए । आगामी आर्थिक वर्षको लागि प्रस्तुत हुने बजेटमा राष्ट्रिय गौरवको आयोजनालाई प्रदेशको १३ जिल्लामा समानुपातिक ढङ्गले वितरण गर्न ऊर्जा उत्पादन, कृषि सडक खानेपानी, स्वास्थ्योपचार केन्द्रलगायत सर्वसाधारण जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने योजनालाई स्थलगतरुपमा सबल तुल्याउन समीक्षा गरिने पनि बताए । उनले सरकारले चालु आर्थिक वर्षमा ल्याइएको पूँजीगत बजेटमा कूल पूँजीगत बजेटमा १४ प्रतिशत मात्रै खर्च भएकामा कुन कुन कारणले खर्च हुन नसकेको हो भन्नेबारे समीक्षा गरिने र आगामी वर्ष सञ्चालन हुने योजनालाई कार्यान्वयनतर्फ सुदृढ तुल्याउने उपाएको अवलम्बन गरिनेतर्फ पनि विज्ञको सुझाव प्रस्तुत हुने जानकारी दिए । मन्त्री ढुङ्गेलले सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत चालु आवमा प्राथमिकतामा राखिएको हेटौंडाबाट–काठमाडौं सुरुङमार्गको निर्माणलाई उच्च प्राथमिकताको साथ कार्यान्वयन गर्नेतर्फ थप सुझाव समावेश गरिने भने । उनले प्रदेशअन्तर्गतका ११९ स्थानीय तहबाट आएका सुझाव र प्रदेशसभाका सदस्यले सिफारिस गरेका राष्ट्रिय महत्वका आयोजना र योजनालाई क्रमशः समावेश गर्नेतर्फ अध्ययन भइरहेको पनि उल्लेख गरे ।

प्रदेश २ मा १ सय ३ जनाको स्वाब परिक्षण, सबै रिपोर्ट निगेटिभ

जनकपुरधाम । प्रदेश २ बाट १ सय ३ जनाको कोरोना परिक्षण भएको छ । परिक्षण भएका सबैको रिपोर्ट निगेटिभ आएको प्रदेश २ सरकारले जनाएको छ । प्रदेश २ सरकारले मंगलबार गरेको मिडिया ब्रिफिङ मार्फत उक्त जानकारी दिएको हो । सामाजिक विकास मन्त्रालय प्रदेश नम्वर २ का सचिव रामप्रसाद घिमिरेले मिडिया ब्रिफ मार्फत दिएको जानकारी अनुसार प्रदेश २ मा हालसम्म ९ सय ३६ जनालाई क्वारेनटाइनमा राखिएको छ । यसैगरी, १२ सय १३ जनालाई होम क्वारेनटाइनमा राखिएको छ । मिडिया ब्रिफिङमार्फत उनले भने, ‘नेपाल सरकारले लागू गरेको लक डाउनलाई पूर्ण रुपमापालन गराउन सुरक्षा निकाय र स्थानीय सरकारकाहरुले भारतीय सीमा क्षेत्रमाउच्च सतर्कता सावधानीअपनाई रहेका छन् । खुला सीमाका कारण लुकीछिपी नेपाल पस्न सक्ने अवस्थालाई मध्यनजर गर्दे सीमा क्षेत्रमा सुरक्षाका हर संभव प्रकृयाहरुलाई कार्यान्वय नगरिएको छ ।’ भारतहुँदै सप्तरी जिल्ला स्थित डाक्नेश्वरी नगरपालिकाको सीमा क्षेत्रबाट लुकीछिपी प्रवेश गरिरहेका पाँच जना नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको घिमिरेले जनाए । गत चैत २३ गते रातको समयमा नेपालप्रवेश गरिरहेका पाँचजनालाई चैत्र २४ गते स्थानीय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईमा राखिएको जानकारी उनले दिए। उनका अनुसार पाँच जनामध्ये तीनजनामुस्लिम समुदाय सम्वद्ध तकलिवी जमात अर्थात धार्मिक भेलाकालागि नेपालबाट भारत गएको बुझिएको छ । पाँच जनामध्ये एक/एकजना डाक्नेश्वरी नगरपालिका वडा नम्वर १ र ५ का नागरिक रहेको र वाँकी ३ जना वडा नम्वर ७ का रहेको खुल्नआएको छ । प्रदेश नम्वर २ अन्तर्गत भारतसँग सीमा जोडिएका १०९ वटै नाकाहरु पूर्ण रुपमाबन्द रहेको घिमिरेले जानकारी दिए । अति आवश्यक सामाग्रीहरुको आयात तथा निर्यातलाई निर्वाध रुपमा चल्न दिने नेपाल सरकारको निर्देशन अनुरुप पर्सा जिल्लामा रहेका विभिन्न भन्सारबाट मालवाहक सवारीका साधनहरु नेपालभित्रि रहेका छन् । जस अनुरुप सोमबार चैत्र २४ गते पर्सा जिल्ला स्थित एकीकृत भन्सार जाँच चौकीबाट १ सय ६४ वटा मालवाहक सवारी साधनहरु नेपाल भित्रिएका छन् भने १ सय ७ वटा खाली सवारीका साधनहरु भारत गएका छन् । कृषहरुबाट उत्पादित कृषि उत्पादनलाई बजार तथा उपभोक्तासम्म पुर्याउन प्रदेश नम्वर २ को भूमीब्यवस्था कृषितथा सहकारी मन्त्रालयले विभिन्नकार्यहरु गरिरहेको उनले बताए । प्रदेशमा रहेका कृषि सम्वद्ध सम्पूर्ण सरोकारवालाहरुलाई विउविजन, तथाचल्ला, अण्डा, तरकारी र दुध जस्ता छिटै नाशहुने बस्तुहरु र पशु स्वास्थ्य सेवा सम्वद्ध सेवाहरु निरन्तर सञ्चालनगर्न आह्वान गरिएको छ । डि.डि.सी ढल्केबर र सहकारी युनियनको सहयोगमाकिसनाले उत्पादन गरेका तरकारी, दुध र दग्धजन्यपदार्थहरु मोवाईल भ्यानतथा डिडिसिका ३० वटा आएटलेट मार्फत बजार वा उभोक्तासम्म पुर्याउने कार्य भइरहेको उनले जनाए । कोरोना भाइरस नियन्त्रणका लागि सरसफाईको प्रभावकारी भूमिका रहने तथ्यलाई मध्यनजर गर्दै यस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पीउने पानीको सहज आपूर्तिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको छ भने यसै साताबाट क्वारेन्टाईन र अस्पताल क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गर्न गइरहेको जानकारी दिए।

कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि विश्व बैंकको तीन अर्ब बढी सहयोग

काठमाडौं । विश्व बैंकले कोभिड–१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई तीन अर्ब ४८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा आज विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थसचिव शिशिरकुमार ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका स्वास्थ्य सामग्री र उपकरण खरिद, सघन उपचार कक्ष र ‘आइसोलेसन वार्ड’स्थापना, देशका विभिन्न भागमा अवस्थित अस्पताल, प्रयोगशाला तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिमा उक्त रकम खर्च गरिनेछ । परियोजना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यान्वयन गर्नेछ । आजैदेखि उक्त परियोजना लागू हुनेछ । तीन साताको अवधिमा परियोजनामा लगानी गर्नेसम्बन्धी सम्पूर्ण काम पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ । सचिव ढुङ्गानाले कोरोना भाइरसका कारण उत्पन्न अकल्पनीय परिस्थितिमा अन्तर्राष्ट्रिय विकास सङ्गठन (आइडीए)बाट बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराएकामा हार्दिक आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेर भविष्यमा पनि बैंकले सहायतालाई निरन्तरता दिने विश्वास व्यक्त गरे । यसैबीच, भिडियो कन्फ्रेन्सिङको माध्यमबाट आजै केही आर्थिक पत्रकारहरूसँग कुरा गर्दै देशीय प्रबन्धक हदादले कोभिडविरुद्ध नेपाल सरकारले समयमै चालेका सुरक्षात्मक कदमको सराहना गरेका हुन् । नेपालका विकासका साझेदारसँगको समन्वयमा बैंकले कोभिड–१९ बाट नेपालको अर्थतन्त्रमा पर्ने प्रभावको अल्प, मध्य र दीर्घकालीन मूल्याङ्कन गर्ने जानकारी दिँदै उहाँले पर्यटन, विप्रेषण, श्रम, व्यापार एव रोजगारीका क्षेत्रलाई गतिशील तुल्याउन बैंकले थप सहयोग गर्ने बताए । आगामी शुक्रबार अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, एशियाली विकास बैंक, एशियाली पूर्वाधार विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकका उपाध्यक्षले सामूहिकरुपमा स्थितिको विश्लेषण गरी भावी सहयोगको रुपरेखा तयार पार्ने जानकारी उनले दिए । नेपालको आर्थिक विकासको संवाहक निजी क्षेत्र र साना तथा मझौला उद्योगलाई पनि बैंकले सघाउने जनाएको छ । रासस

कोरोना विरुद्ध नेशनल माइक्रोफाइनान्सकाे ६० लाख सहयाेग, विपन्नलाई मात्रै ५० लाख

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले कोरोना विरुद्धकाे अभियानमा ६० लाख रुपैयाँ सहयाेग गर्ने भएको छ । संस्थाले नेपाल सरकारवाट स्थापना गरिएको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खातामा १० लाख रुपैयाँ र स्थानीय सरकारको समन्वयमा संस्थाको समूहमा आवद्ध सदस्यहरु मध्ये हालको विपन्न दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अति विपन्न परिवारहरुलाई खाद्यान्न व्यवस्थापनको लागी ५० लाख रुपैयाँ गरी कुल ६० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । यस वित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले सरकारको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको प्रयासमा सहयोग पुर्याउन र दैनिक ज्याला मजदुरीको कार्य गरी दैनिक जिवनयापन गर्दे आएको हालको विपद्मा प्रभावित संस्थामा आवद्ध अति विपन्न समूह सदस्यहरुलाई तत्काल राहत पुर्याउन थोरै भएपनि सहयोग पुग्ने विश्वास गरिएकोे छ ।

त्रिवि स्नातक चौथो वर्षको परीक्षा पनि स्थगित हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्नातक चौथों वर्षको परीक्षा सर्न भएको छ । मंगलबार कक्षा ११ र १२ को परीक्षा स्थगित भएसँगै बैशाख १६ गतेदेखि हुने भनिएको स्नातक चौथो वर्षको परीक्षा सर्न परीक्षा नियन्त्रण कार्यलयका सह-परीक्षा नियन्त्रक घनश्याम ठाकुरले बताए । परीक्षा कति समयकाे लागि स्थगित भएको सुचना केही दिनमै सार्वजनिक गर्न उनले बताए । प्रश्नपत्र छाप्नुपर्ने, ठाउँठाउँमा पुराउनुपर्ने, केन्द्र तोक्ने कामहरु यो अवस्थामा हुन नसक्ने भएकोले परीक्षा स्थगित गर्न लागिएको उनले जानकारी दिए । कोरोनाको संभावित संक्रमणलाई लिएर सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । यसअघि शिक्षा मन्त्रलायले चैत ६ गतेको एसईई र सबै विश्वविद्यालयको चैतकाे परीक्षा स्थगित गरेको थियो ।

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्मका लागि बन्द

काठमाडाैं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। सरकारले काेराेना भाइरसकाे जाेखिम कम गर्नका लागि अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे हाे। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो। बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएकाे छ । यसभन्दा अगाडि सरकराले आन्तरिक उडान बैशाख ३ गतेसम्मका लागि बन् द गर्ने निर्णय गरेकाे थियाे ।

जापानले गर्याे आपतकाल घोषणा, १० खर्ब डलरको आर्थिक प्याकेजको व्यवस्था

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले मंगलबार कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गरेका छन् । “जनताको जीवन र अर्थव्यवस्थालाई गम्भीर असर पार्ने अवस्था आएको मैले अनुभव गरेको छु । म आजै बेलुका आपतकालीन अवस्था घोषणा गर्नेछु,” आबेले भने । “विशेष गरी टोकियो र ओशाका जस्ता सहरी क्षेत्रहरूमा” नयाँ संक्रमणको तीव्र वृद्धिलाई औंल्याउँदै उनले एक दिनअघि सोमबार नै आपतकाल घोषणाको योजना सार्वजनिक गरेका थिए । यो घोषणा मंगलबार मध्यरातदेखि लागू हुनेछ । नयाँ व्यवस्था अनुसार प्रभावित सातै क्षेत्रका गभर्नरहरुले आमजनतालाई आआफ्ना घरभित्रै बस्न र व्यापार व्यवसाय बन्द गर्न लगाउन सक्नेछन् । तर यो युरोप र संयुक्तराज्य अमेरिकाका कतिपय क्षेत्रमा देखा पर्ने लकडाउन जस्तो कडा प्रतिबन्ध होइन । जापानमा आपतकालीन अवस्थामा पनि मानिसहरू बाहिर घुमफिर गर्न वा व्यापार व्यवसाय खुला राख्न सक्नेछन् । यहाँ घरभित्र बस्न वा व्यवसाय बन्द नगर्नेमाथि कुनै दण्डसजायको व्यवस्था गरिएको छैन । यो आपतकाल करिब एक महिनाका लागि हुनेछ । विज्ञहरू र स्थानीय नेताहरूले आपतकाल घोषणाका लागि जोड दिएका थिए । यसैसाता टिबिएस प्रशारण संस्थाले गरेको सर्वेक्षणमा सहभागी ८० प्रतिशत जनताले आपतकाल घोषणालाई समर्थन गरेका थिए । घोषणाबाट सात क्षेत्र प्रभावित हुनेछन् टोकियो, छिमेकी चिबा, कानागावा र साइतामा, ओशाकाको पश्चिमी क्षेत्र र छिमेकी ह्योगो, र फुकुओकाको पश्चिमी क्षेत्र । संक्रमण बढ्दै गएपछि तत्काल आपतकाल घोषणा गर्न सरकारमाथि चिकित्सा विशेषज्ञहरू सुझाव दिएका थिए । आइतबार मात्र टोकियोको शहरी इलाकामा एकै दिन १४३ जनामा कोरोना संक्रमण देखिएको थियो । हुनत यो संख्या विश्वका धेरै भागमा देखिएको संख्याभन्दा कम हो । राजधानी टोकियोका चिकित्सकहरूले यस हप्ता शहर पहिले नै “गम्भीर अवस्था” मा रहेको र अस्पतालको क्षमता कम रहेको भन्दै चेतावनी दिएका थिए । आपतकालको घोषणाको पक्षमा देखिनु भएका टोकियोका गभर्नर युरिको कोइकेले मंगलबार टोकियो निवासीहरुलाई हिँडडुललाई सीमित गर्न अनुरोध गर्न आग्रह गरे । “यसले दैनिक जीवनमा असुविधा हुन सक्छ, तर म सबैको सहयोगको लागि आह्वान गर्दछु किनकि जीवन खतरामा छ,” उनले भने । गभर्नर कोइकेले मंगलबार साँझ पत्रकार सम्मेलन गरी टोकियोमा अबलम्बन गरिने उपायहरुका बारेमा जानकारी गराउने अपेक्षा गरिएको छ । सरकारका प्रवक्ता योशिहिडे सुगाले सार्वजनिक यातायातलाई कम नगरिने तर “व्यक्ति–व्यक्ति बीचको सम्पर्क र दूरी घटाउन उचित उपायहरू अपनाउने छौं” उनले भने “संक्रमणलाई थप फैलिनबाट जोगाउन हामी सबै सम्भावित नीतिहरू अख्तियार गर्नेछौं ।” “म तोकिएका क्षेत्रका बासिन्दाहरूलाई शान्तपूर्वक व्यवहारका लागि आग्रह गर्न चाहन्छु ।” आपतकाल घोषणाबाट जापानको आर्थिक अवस्थामा पर्ने प्रभावका बारेमा चिन्ता बढेको छ, र प्रधानमन्त्री आबेले सोमबार १० खर्ब डलरको एक प्रोत्साहन प्याकेज घोषणा गरेका थिए । यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब २० प्रतिशत हो । युरोप र संयुक्तराज्य अमेरिकाका केही भागमा देखा परेको भाइरसको प्रकोपबाट हालसम्म जापान जोगिएको छ । जापानमा हालसम्म ४ हजार १ सय ११ जना भाइरसबाट संक्रमित भएका छन् भने ९७ जनाको मत्यु भएको छ । प्रस्तावित आर्थिक प्याकेजमा मार्चको अन्त्यसम्ममा करिब २० लाख मानिसलाई फ्लुसँग सम्बन्धित औषधि (एभिजान) खरिद गर्न पनि प्रयोग गरिनेछ । अनुसन्धानमा यो औषधि कोविड–१९ को उपचारमा निकै उपयोगी हुने देखिएको छ । साथै, कोरोना महामारीका कारण आर्थिक अवस्था कमजोर भएका प्रत्येक परिवारलाई करिब २ हजार ८ सय अमेरिकी डलर उपलब्ध गराउन पनि उक्त आर्थिक प्याकेजबाट खर्च हुनेछ । अमेरिकी सरकारले पनि कोरोना महामारीका कारण अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न गत महिना २० खर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको थियो । अमेरिकी इतिहासमै यो सबैभन्दा ठूलो आर्थिक प्याकेज हो । त्यसैगरी, जर्मनी, फ्रान्स, बेलायत, इटाली, स्पेन र ठूला अर्थतन्त्र भएका अरु मुलुकहरुले पनि आर्थिक प्याकेज घोषणा गरेका छन् । रासस–एएफपी

देशभर ९ हजार बढि क्वारेन्टिनमा

काठमाडौं । मंगलबारसम्म देशभर ९ हजार २ सय २८ जना कोरोना शंकामा क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ताका डा. विकास देवकोटाले देशभर ९ हजार २ सय २८ जना क्वारेन्टिनमा रहेको जानकारी दिएका हुन् । यस्तै काठमाडौंमा १६ जना र उपत्यका बाहिर ८४ जना आईसोलेसनमा रहेको उनले जानकारी दिए । मंगलबार साँझसम्म टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १७ सय ९६ जनाको कोरोना परीक्षण भएको छ जसमा ९ जना बाहेक सबै नमुना नेगेटिभ रहेको छ ।