युएईमा सँगै बस्ने १२ मध्ये ७ नेपालीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । विदेशी भूमी कोरोना भाइरस (कोभिड १९) को महामारी । सँगै बस्ने आफूसहित ७ जना साथीमा कोरोना पोजेटिभ देखिएपछि मनमा शंका उपशंका बोकेर सँगै बस्नुपर्ने वाध्यता । दुवईस्थित २ कोठामा सँगै बस्दै आएका १२ जना नेपालीमध्ये ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तर, सँगै बसेका अन्य नेपाली भने त्रासमा छन् । यो घटना यूएई स्थिति अल अरेबिया ट्याक्सी एलएलसीमा कार्यरत नेपालीको हो । जो विगत तीन हप्तादेखि लकडाउनमा बसिरहेका छन् । उक्त कम्पनीमा अगाडी नै खाने र बस्ने खर्च श्रमिकले आफै गर्नुपर्ने थियो । सो नियम अनुसार आफ्नो सहजताका लागि लामो समयदेखि २ वटा कोठामा १२ जना नेपाली सँगै बस्दै आएका थिए । सबै जना सोही कम्पनीका ट्याक्सी चालक हुन् । ५ जनालाई संक्रमण भइसकेको छ भने २ जनालाई पनि मंगलबार संक्रमण पुष्टी भएको छ । एक जनालाई भने अस्पतालमा राखिएको सोही कम्पनीमा काम गर्ने धादिङका एक युवकले जानकारी दिए । ‘त्रासपूर्ण स्थितिमा बस्न बाध्य छौं, दुई वटा कोठा हो, खानादेखि सबै सामाग्री एउटै प्रयोग गर्न विवश छौं, पछिल्लो समय ५ जनालाई कोरोना पुष्टी भएको थियो, अहिले म र अर्काे साथीलाई पनि कोरोना लागेको पुष्टि भयो बाँकी ५ जनाको रिपोट भोलि वा पर्सिमा आउँछ’ उनले भने । यो घटनाको बारेमा दुबईस्थिति नेपाली दूतावासमा सम्पर्क गर्दा दूताबासले खासै चासो नदेखाएको उनले बताए । स्वदेशमा रोजगारी नपाएर वार्षिक रुपमा लाखौंको संख्यामा नेपाली विदेशिन बाध्य छन् । सो कम्पनीमा कामकै क्रममा भेटिएका १२ जना नेपाली लामो समयदेखि सामूहिक रुपमा दुई वटा कोठामा बस्दै आएका थिए । एक हप्ता अगाडी ३ जनामा कोरोना पुष्टि भएसँगै अन्य दुईजनामा र आजमात्र (मंगलबार) दुइ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको उनले बताए । १२ जनामध्ये ७ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टी भएकामध्ये झापाका एक जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य संक्रमित काठमाडौं, झापा, उदयपुर, मोरङका ती व्यक्तिहरु भने कोठामा नै छन् । सिन्धुपाल्चोक २ जना र मोरङ, सुनसरी, नवलपरासीका १/१ को भने कोरोनाको रिपोट आउन बाँकी रहेको छ । यो सारा अवस्था बारे दूतावासलाई जानकारी दिन फोन गर्दा तत्काल फोन नलागेको गुनासो गर्दै लामो समयपछि सम्पर्क भएर आफ्नो समस्या सुनाउँदा पनि सहयोगको आश्वासन मात्रै दिएको उनले बताए । के गर्दै छन् सम्बन्धित निकायहरु ? कोरोना संक्रमितको संख्या बढेसँगै रोजगारीका लागि विदेश (प्रवास) मा रहेका नेपालीको अवस्था बारे प्रधानमन्त्री केपी शर्मा ओलीले चाँसो र सक्रियता बढाएका छन् । सोमबार बेलुका युएई सरकार प्रमुखसँग नेपालीको स्वास्थ्य अवस्था तथा उपचारको विषयमा प्रधानमन्त्री ओलीले कुरा गरेका छन् । यूएई सरकारले उपचार तथा स्वास्थ्य सेवाका लागि आफ्नो देशको नागरिकसरह उपचार गराउने प्रतिवद्धता व्यक्त गरेका प्रधानमन्त्रीले सार्वजनिक रुपमा जानकारी दिएका छन् । विदेशमा रहेका नेपालीको सहयोग तथा द्रुतको रुपमा काम गर्ने दूतावास भने खासै सक्रिए देखिएको छैन । पछिल्लो समय आफ्नो देशका नागरिकको स्थिति कस्तो छ भन्ने विषयमा सक्रियता बढाए पनि सम्बन्धित पीडितले राहत महसुस गर्न पाएका छैनन् । दुवईस्थित नेपाली दूतावासले अल अरेबिया ट्याक्सी एलएलसी कम्पनीको बारेमा सो देशको सरकारमा कुरा राखेको जानकारी दिएको छ । दूतावासले नेपालीको अवस्था र स्थितिको जानकारी लिन सक्दो पहल गरेको जनाएको छ । करिब ५० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन् । कोरोना भाइरसको संक्रमण प्रमुख रोजगार गन्तव्यमा नै व्यापक रुपमा फैलिएको छ । कोरोना संक्रमण फैलिएर रोजगारी कटौति जस्ता समस्या देखिएपनि विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन नसकिने बैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । अहिलेसम्म कोरोना संक्रमण विश्वका २ सय ८ देशमा फैलिएको छ । यस्तै, नेपालमा पनि कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । युएईमा कोरोना संक्रमितको नेपालीको संख्या १३ पुगेको छ । युएईमा एक नेपाली महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । युएईमा अहिलेसम्म २ हजार ७६ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ भने ११ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमित आठै जनाको स्वास्थ्य सामान्य: प्रवक्ता डा. विकास देवकोटा
काठमाडौं । आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । हालसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ जसमा एक जना निको भएर घर फर्किसकेका छन् ।
लक्ष्मी बैंकले प्रत्येक प्रदेशलाई दियो १०-१० लाख रुपैयाँ
काठमाडौं । लक्ष्मी बैंकले कोरोना रोकथामको लागि प्रत्येक प्रदेशलाई १०-१० लाख रुपैयाँ दिएको छ । बैंकले देशभरका ७ वटै प्रदेशको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १० लाखकाे दरले कुल ७० लाख रुपैयाँ सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम प्रदान गरेकाे हाे ।
भारतकाे अस्पतालबाट फरार भएका काेराेना संक्रमित नेपालमा भेटिए
काठमाडौं । भारतकाे एक अस्पतालबाट फरार भएका काेराेना संक्रमित नेपालमा भेटिएका छन् । भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमबार राती भागेका कोरोना भाइरस सङक्रमित एक जना नेपाली फेला परेका हुन् । धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ। शुक्रबार उनमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो। तर, सोमवार राती अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो। बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले भने ‘हामीले १० टोली परिचालन गरेका थियौँ, अहोरात्र काम गर्यौँ र अहिले पनि हामी फिल्डमा नै छौँ।’ ‘भर्खरै हामीलाई उनी फेला परेको जानकारी प्राप्त भएको छ। उनका अनुसार ६५ वर्षका ती व्यक्तिलाई एक्ल्याएर कोभिड-१९ को उपचार गरिनेछ। बागपतका प्रहरी प्रमुख यादव भन्छन्, हामी उनी किन भागे भनेर बुझ्न खोज्छौँ।’ उनले उनको स्वास्थ्यको अस्पतालले गर्ने बताए । चिकित्सकहरूले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ। तर तनाव वा अरू कारणले उनी भागेका हुन सक्छन्। खेकडाको अस्पतालमा कोभिड-१९ को उपचार गराइरहेका उनी एकमात्र व्यक्ति भएको प्रहरीको भनाइ छ। बीबीसी सुनसरीका एक काेराेना संक्रमित अस्पतालबाट फरार
कुवेत सरकार प्रमुखसँग नेपालीको अवस्था बुझ्दै प्रधानमन्त्री ओली
काठमाडौं । विश्वमा काेराेनाकाे महामारी फैलिएसँगै कुवेतमा रहेका नेपालीलाई अप्ठयारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले गर्न कुवेत सरकारले प्रतिवद्ध रहेकाे जनाएकाे छ । मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ कार्यरत नेपालीको सुरक्षा र कलयाणको बारे कुवेतका प्रधानमन्त्री सबाह अल(खालेद अल हमद अल सबाहसँग फोनमा कुराकानी गरेका थिए । सो कुराकानीमा प्रधानमन्त्री अल हमद अलले नेपालीलाई खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटमार्फत सार्वजनिक गरेका छन् । ओलीले पछिल्लो समय प्रवासमा रहेका नेपालीको अवस्थाबारे चाँसो देखाएका छन् । यस अगाडी बहराइन र युएईका सरकार प्रमुखसँग पनि नेपाली अवस्थाको बारेमा जानकारी राखेका थिए । हालसम्म कुवेतमा ७ सय ४३ जना काेराेना संक्रमित छन् भने एक जनाको ज्यान गएको छ । पछिल्लो समय त्यहाँ रहेका २ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।
गभर्नर महाप्रसाद अधिकारीका दर्जन चुनाैति
काठमाडौं । विश्वभर संक्रमण फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट जोगिन विभिन्न देशले गरेको लकडाउनका कारण संसारभरका आधा जति मानिस आफ्नै निवासमा छन् । सरकारले लकडाउन घोषणा नगरेका देशमा पनि मानिसको आवतजावत कम छ । सरकारले मानिसको आवागमन र भिडभाडमा नियन्त्रण गरेपछि उपभोग्य बस्तुको आपूर्ति प्रणालीमा समस्या सिर्जना भएको छ । आपूर्ति प्रणालीमा समस्या र मानिस एकै ठाउँमा कुजिएर बस्दा उपभोगमा कमी आएको छ । आपूर्ति र उपभोगमा कमी आएपछि उत्पादन पनि घट्ने नै भयो । उत्पादन प्रक्रियामा संलग्न मानवशक्ति पनि लकडाउनले निवासमै छ । उत्पादन, आपूर्ति र उपभोगमा कमी आएको कारण विश्व आर्थिकमन्दीको अवस्थामा पुगेको छ । विश्वभर लाखौं मासिनले रोजगारी गुमाएका छन् । संयुक्त राष्ट्र संघ जस्ता निकायले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो मानवीय संकटको नाम दिइएको कोभिड १९ सन्त्रास कहिलेदेखि सकिने हो भन्ने यकिन छैन । विश्व अर्थव्यवस्थाको नेतृत्व गरिरहेका अमेरिका, चीन, जापान, दक्षिण कोरिया, जर्मनी, बेलायत, फ्रान्स, इटली, दक्षिण कोरिया, भारत जस्ता देशलाई कोरोना संक्रमणले हाराभारा खेलाइरहेको छ । यीमध्ये अधिकांश देशको अर्थतन्त्रमा गम्भीर समस्या आएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । नेपालले पनि विगत २ सातादेखि लकडाउन गरेर देशभर मानिसको आवागमन ठप्प पारेको छ । अत्यावश्यक सेवामा संलग्न बाहेकका सर्वसाधारण आफ्नै बासस्थानमा छन् । उद्योग प्रतिष्ठान बन्द छन्, आपूर्ति प्रणाली ध्वस्त भएको छ । उत्पादनमा कमी आएको छ । दैनिक ज्यालादारी गरेर पेट पाल्नेहरु भोकोपेट बस्नुपर्ने अवस्थामा पुगिसकेका छन् । अर्थात विश्व अर्थव्यवस्थासँगै नेपाली अर्थतन्त्र पनि गम्भीर समस्यामा परेको छ । यही संकटको बीचमा सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सरकारको आर्थिक सल्लाहकार मानिने केन्द्रीय बैंकको चाबी दिएर सरकार अधिकारीसँग धेरै भर गरेको देखिन्छ । नेपालमा लकडाउन लागू गरिएको २ साता बितिसकेको छ । बन्दाबन्दी ८ दिन थपेर बैशाख ३ गतेसम्म पुर्याइएको छ । यो प्रकारको महामारीको कारण नभएपनि यो पुस्ताको नेपालीसँग लामो समयसम्म बन्दाबन्दी भोगेको अनुभव छ । २०६२/६३ सालको आन्दोनको बेलामा १९ दिनसम्म देश पूरै ठप्प भएको, शक्तिशाली भूकम्पको त्रासदी र त्यसपछिको नाकाबन्दीको सामना गरेका नेपाली यो पुस्ता अहिले २३ दिन बन्दाबन्दी सामना गर्दैछन् । तर, पहिलाका यी परिस्थितिभन्दा अहिलेको परिस्थिति भिन्न छ । दोस्रो जनआन्दोलन, भूकम्प वा नाकाबन्दीको समयमा नेपालले जुन प्रकारको आर्थिक क्षति वा नोक्सानी व्यहोरोको थियो, त्यसको क्षतिपूर्ति वा त्यसबाट माथि उठ्नको लागि नेपालका द्धिपक्षीय वा बहुपक्षीय दातृ निकाय सहयोगको लागि तयार थियो । अहिलेको परिस्थिति फरक छ । विश्व समुदाय नै आर्थिक समस्यामा परेकोले विश्व बैंक, अन्तराष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंक जस्ता बहुपक्षीय बाहेक द्धिपक्षीय दातृ निकायले नेपाललाई धेरै सहयोग गर्न सक्ने अवस्था देखिदैन । विश्व बैंक, अन्तराष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंकले पनि ऋणको प्रस्ताव गरेका छन्, अनुदानको कुरै छैन । यस्तो अबस्थामा नेपाल राष्ट्र बैंकको कमाण्ड सम्हाल्न पुगेका अधिकारीसमक्ष केही विशेष प्रकृतिका चुनौति रहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्री बताउँछन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर समेत रहेका क्षेत्रीका अनुसार नेपालमा पनि लकडाउन बढ्दै गएकोले लकडाउनबाट उत्पन्न प्रतिक्रियको सामना कसरी गर्ने भन्ने नै अहिलेका गभर्नरको चुनौति हुने बताउँछन् । ‘यस्तो संकटको बेलामा संकटबाट मुक्ति पाउन तथा आर्थिक गतिविधिलाई पुनरुत्थान गर्न सरकारले धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ, राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापार व्यवसायमा आएको मन्दीको कारण राजस्व असुली पनि कम हुने देखिएको छ, यस्तो अवस्थामा सरकारलाई चाहिने नगद व्यवस्थापन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकको नै हो, त्यसैले नगदको व्यवस्थापन कसरी गर्ने र त्यसबाट उत्पन्न हुन सक्ने मुद्रास्फीतिलाई काबुमा कसरी राख्ने भन्ने नै पहिलो चुनौति हो,’ क्षेत्रीले भने । गभर्नर अधिकारी सामु अर्काे चुनौति पनि छ । देश संघीयतमा गएको लामो समय भएको छैन । संघीय सरकारको लागि नगद व्यवस्थापनको काम केन्द्रीय बैंकले गर्ने भएपनि ७ वटा प्रदेश सरकार र स्थानीय सरकारले ल्याउने बजेट र कार्यक्रमको लागि आवश्यक पर्ने नगदको व्यवस्थापन कसरी गर्ने र प्रदेश सरकारको केन्द्रीय बैंकको रुपमा रहेका राष्ट्र बैंकका शाखा कार्यालयहरुमा कसरी अधिकार प्रत्यायोजन गरेर सहजीकरण गर्ने भन्ने अर्काे चुनौति पनि छ । राष्ट्र बैंकका गभर्नरअघि अर्काे चुनौति भनेको देशको शोधनान्तर अवस्था कसरी बचाइ राख्ने पनि हो । संसारभरका देश नै आर्थिक संकटमा परेकोले द्धिपक्षीय सहयोग प्राप्त हुने सम्भावना कम भएको, वैदेशिक रोजगारीमा देखिएको संकटको कारण रेमिटान्स आय कम हुने र अन्तराष्ट्रिय व्यापार पनि घट्ने भएकोले विदेशी मुद्राको संचिति घट्ने र शोधनान्तर अवस्था नोक्सानीमा गएर अर्काे प्रकारको समस्या आउन सक्ने पूर्व उपध्याक्ष क्षेत्री बताउँछन् । ‘वैदेशिक रोजगारी गुम्ने र त्यसले रेमिटान्स आय घट्ने प्रष्टै देखियो, यस्तै आफै पनि समस्यामा परेका कारण नेपाललाई सहयोग गरिरहेका मित्रराष्ट्रले पनि धेरै सहयोग गर्न सक्ने अवस्था देखिदैन, वैदेशिक व्यापारमा पनि समस्या देखियो, यसैकारण नेपालको शोधनान्तर स्थिति नोक्सानीमा जाने देखिन्छ, यसको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न गम्भीर भएर आएको छ,’ क्षेत्रीले भने । गभर्नर अधिकारीसमक्ष अर्काे चुनौति भनेको राष्ट्र बैंकको स्वायत्तता कसरी जोगाउने भन्ने हो । अहिले संसदमा दर्ता भएको राष्ट्र बैंक ऐनले राष्ट्र बैंकको स्वायत्तता खुम्च्याउने भएकोले त्यसलाई जोगाइराख्न पहल गर्नु पनि उनको चुनौति हो । अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंकको स्वायत्तता खोस्ने प्रयास गरेको, तत्कालिन गभर्नर चिरञ्जीवि नेपालले स्वायत्तता जोगाउन नसकेको आरोप लाग्दै आएको छ । शक्तिशाली अर्थमन्त्रीको विश्वास पात्र अधिकारीलाई राष्ट्र बैंकको स्वायत्तता जोगाउन पनि सजिलो छैन । नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान कोरोना संक्रमण पछि देखिएका र सोभन्दा पहिला देखिकै समस्या समाधानमा नवनियुक्त गभर्नर अधिकारीको विशेष भूमिका रहने बताउँछन् । यस्तै, लकडाउन बढ्दै गएको कारण राजस्व प्रभावित हुने र त्यसले सरकारलाई चाहिने आवश्यक रकम व्यवस्थापन गर्न समस्या पर्ने देखिएको त्यसको व्यवस्थापनमा राष्ट्र बैंक कसरी अघि बढ्छ भन्ने कुरा पनि महत्वपूर्ण हुने अध्यक्ष गाेल्यानकाे भनाइ छ । गोल्यानले राष्ट्र बैंकको अर्काे प्रमुख चुनौति वित्तीय स्थायित्वमा देखेका छन् । ‘सरकारले घोषणा गरेको लकडाउन कति लामो समयसम्म जान्छ भन्ने यकिन छैन, विश्व परिवेश पनि त्यस्तै खालको छ, लकडाउनका कारण उद्योग प्रतिष्ठान चलेका छैनन्, व्यापार व्यवसाय बन्द छ, धेरैको रोजीरोटी गुम्ने खतरा छ, यस्तो अवस्थामा बैंकको ऋणको साँवा व्याज समयमै असुली नहुने र बैंकको खराब कर्जा (एनपीएल) बढ्ने अवस्था आउन सक्छ, त्यस्तो परिस्थितिमा बैंक वित्तीय संस्थालाई पनि जोगाउने, ऋणीको वास्तविक समस्या पनि सम्बोधन हुने गरी कसरी वित्तीय स्थायित्व प्रदान गर्ने भन्ने अर्काे चुनौति हो,’ एनएमबी बैंकको संचालक समिति अध्यक्ष समेत रहेका गोल्यानले भने । अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर अधिकारीबीच ‘टुनिङ’ मिल्ने भएकोले वित्त नीति र मौद्रिक नीतिको समन्वयबाट उपयुक्त निकास निस्कनेमा क्षेत्री र गोल्यान आशावादी देखिएका छन् । अध्यक्ष गोल्यान भने अवका दिनमा साना तथा मझौला उद्यम व्यवसाय प्रबद्र्धन गरी नेपालमै उत्पादन र रोजगारी बढाउन विशेष कदम चाल्न उपयुक्त अवसर भएकोले सोही अनुसारको कार्यक्रमहरु ल्याउन केन्द्रीय बैंकसँग आग्रह पनि गरे
लकडाउनमा टेलिकमः ३० प्रतिशत घट्याे भ्वाइसकल, ४० प्रतिशतले बढे इन्टरनेट चलाउने
काठमाडौं । सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै सम्पूर्ण व्यवसायहरु ठप्प बनेका छन् । लकडाउनको समयमा सरकारले अत्यावश्यक सेवालाई सुचारु राख्न निर्देशन दिएपनि तिनीहरुमा व्यापार भने उल्लेख्य भएको छैन । सर्व साधारणहरु घरभित्रै भएकोले पनि अर्थतन्त्र चलायमान हुन पाएको छैन । नागरिकहरुका लागि सबैभन्दा अत्यावश्यक सेवा भनेको सुचना तथा सञ्चार हो । अआजभोली लकडाउनको समयमा धेरै मानिसहरु मोबाइलकै साहारमा दिन कटाइरहेका छन् । देश लकडाउन भएकोले पनि सबै घरमा छन् । टेलिकमका अनुसार अहिले फोन गर्ने अर्थात भ्वाइसकल गर्ने ग्राहकको संख्या ३० प्रतिशतले घटेको छ । लकडाउन हुनु भन्दा पहिलेको तुलनामा अहिले सो संख्या घटेको हो । नेपाल टेलिकमका कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले यो अवधिमा भ्वाइसकल गर्ने ग्राकहको संख्यामा ३० प्रतिशतले कमि आएको बताए । ‘पहिले घर परिवार एक आपसमा टाढा हुन्थे, अहिले सबै सँगै छन्, पहिले व्यापारी पनि धेरै कल गर्थे, अहिले त्यो संख्या पनि घटेको छ, त्यसकारण पनि भ्वाइसकल घटेको हो,’ उनले भने । इन्टरनेश्नलकल भ्वाइसकल र रोमिङ नै टेसलिकमका मूख्य आम्दानीका स्रोत भएकोले ती नै अहिले घटेपछि विजनेश पनि नभएको उनले बताए । अहिले इन्टरनेट डेटा डिमाण्ड भने ३० देखि ४० प्रतिशतसम्म बढेको उनले बताए । तर, नेपाल सरकारले २५ प्रतिशत छुट दिनु भन्ने निर्देशन दिएसँगै डेटामा पनि आएको फाइदा डिस्काउण्टमा जाने गरेको उउनको भनाइ छ। अहिले नेपाल टेलिकमले डाटा शुल्क ३० प्रतिशतसम्म घटाएको उनले बताए । सरकारले चैत्र १६ गते इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई २५ प्रतिशत शुल्क घटाउन निर्देशन दिएपछि टेलिकमले ३० प्रतिशतसम्म शुल्क घटाएको जनाएको छ । जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको उनको भनाइ छ । नयाँ व्यवस्था अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा पर्ने टेलिकमले जनाएको छ । यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गदा चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने बताइएको छ ।
गभर्नरमा अधिकारीकाे पदबहाली, दुबै डेपुटीले गरे प्रशंशा
काठमाडाैं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले चैत २५ गते(आज) पद बहाली गरेका छन् । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ चैत २४ गतेको निर्णय अनुसार अधिकारी बैंकको रिक्त गभर्नर पदमा नियुक्त भएका हुन् । पदबहालीअघि उनले आजै सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ मा बैंकको गभर्नरले प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ। गभर्नर अधिकारीको पदबहालीपछि उनको स्वागतमा बैंक परिसरमा एक संक्षिप्त स्वागत कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्रसमेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उनले बैंकको छवि, स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने प्रतिबद्धता समेत जनाएका छन्। कोरोना भाइरसको संक्रमणका कारण व्यावसायिक वातावरण प्रभावित भएको अवस्थामा त्यसलाई समुचित सम्बोधन गर्नका निम्ति नेपाल राष्ट्र बैंक तयार रहेको धारणा गभर्नर अधिकारीले राखे । कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पुयाउँछ भन्ने कुराको कुनै निश्चितता नरहेको र आउने चनौतीलाई सम्बोधन गर्नको निम्ति नेपाल राष्ट्र बैंकले आवश्यक पहल गर्ने धारणा उनले राखे । नेपाल राष्ट्र बैंकसँग अनुभवी र सक्षम जनशक्ति रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बैंकका लक्ष्य र उद्देश्य प्राप्तिको निम्ति एकजुट भएर अघि बढ्न कर्मचारीहरुलाई आह्वान समेत गरेका छन् । कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ प्रणालीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम व्यक्तिलाई बैंकले गभर्नरको रुपमा पाएको उल्लेख गर्दै गभर्नर अधिकारीको सफल कार्यकालको निम्ति शुभकामना दिए । त्यस्तै डेपुटी गभर्नर शिबराज श्रेष्ठले सक्षम, इमान्दार र वित्तीय प्रणालीलाई बुझेको व्यक्तिलाई सरकारले गभर्नर नियुक्त गरेको उल्लेख गर्दै शुभकामना दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका कार्यबाहक अध्यक्ष रुद्रप्रसाद तिम्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रेशमराज रेग्मी र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशमबहादुर बल्छौडीले नवनियुक्त गभर्नर अधिकारीलाई सफल कार्यकालको निम्ति शुभकामना दिए। काे हुन् अधिकारी ? अधिकारी नेपाल राष्ट्र बैंकको सत्रौं गभर्नर हुन् । पूर्वी पहाडको खोटाङमा जन्मिएका अधिकारी वि.सं. २०४२ मा राष्ट्र बैंकको सेवा २०७६ साल चैत २५ गते, मंगलबार प्रवेश गरेका हुन्। उनी बैंकको उप-निर्देशक, निर्देशक, कार्यकारी निर्देशक हुँदै २०६७ पुसदेखि २०७२ पुससम्म बैंकको डेपुटी गभर्नरको जिम्मेवारीमा रहेका थिए भने गभर्नरमा नियुक्त हुनुपूर्व उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । उनले सन् १९९३ मा भारतको मद्रासस्थित द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सीको अध्ययन पुरा गरेका छन् ।