विकासन्युज

महालक्ष्मी विकास बैंकले कोरोना रोकथामको लागि ५० लाख रुपैयाँ दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । जसमध्ये संस्थाले संघीय सरकारलाई १२ लाख रुपैयाँ, प्रत्येक प्रदेश सरकारलाई ४ लाख रुपैयाँका दरले २८ लाख रुपैयाँ र विभिन्न स्थानिय क्षेत्रहरुमा १० लाख रुपैयाँ सहयोग गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताएका छन् । बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने विकास बैंकले जनाएको छ । यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

इरानले आईएमएफलाई भन्योः ऋण दिनमा भेदभाव हुनु हुँदैन, हामीलाई पनि ५ अर्ब डलर सहयाेग चाहियाे

काठमाडौं । इरानका राष्ट्रपति हसन रूहानीले बुधबार अन्तर्राष्ट्रिय य मुद्रा कोष (आईएमएफ) लाई कोरोना भाइरस विरुद्ध लड्न ५ अर्ब अमेरीकी डलरको आपतकालीन कोष प्रदान गर्न अपील गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रोहानीले मन्त्रिपरिषद्को बैठकमा भनेका छन, ‘म अन्तर्राष्ट्रिय संस्थाहरूलाई आफ्नो दायित्व पूरा गर्न अपिल गर्दछु, हामी आईएमएफका सदस्य हौं, ऋण दिनेमा कुनै भेदभाव हुनु हुँदैन ।’ उनले याे संकटकाे समयमा अन्तर्राष्ट्रिय मुद्रा कोषले इरानलाई ऋण सहयाेग गर्नु पर्ने धारणा राखेका छन् । उनले विश्वभर फैलिरहेकाे काेराेना भाइरससँग लड्नकाे लागि ५ अर्ब अमेरिकी डलर ऋण सहयाेगकाे अपील गरेका हुन् । इरानी राष्ट्रपतिले पनि अमेरिकाले लगाएको प्रतिबन्धको घोर भर्त्सना गर्दै यसलाई आर्थिक र चिकित्सा आतंकवाद भएको धारणा राखेका छन् । इरानमा हालसम्म ६२ हजार ५ सय ८९ जना कोरोना संक्रमित रहेका छन् । जसमा ३ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ । हालसम्म २७ हजार ३९ जना निको भएर घर फर्किसकेका छन् । (बीबीसी हिन्दी)

उद्योगी अग्रवाललाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कालोबजारीको आरोपमा पक्राउ परेका जगदम्बा समूहका प्रबन्ध निर्देशक सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । ३ हजारदेखि पाँच हजार रुपैयाँसम्म पर्ने थर्मलगनलाई अग्रवालले १५ हजार रुपैयाँसम्म बिक्री गरिरहेको सूचनाका आधारमा उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलिले मंगलबार पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट ६७ थान थर्मलगन पनि बरामद गरेको थियो । कालोबजारीको आरोपमा पक्राउपरेकाले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । जगदम्बा ग्रुप नेपालका सबैभन्दा ठूलो उत्पादन मुलक उद्योगमा पर्छ । जगदम्बा स्टील, जगदम्बा सिमेन्ट लगायत ठूला उद्योग यो समूहले चलाउँदै आएको छ ।

आगामी जुन ३० तारिखसम्म राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि स्थगित भएको हो । राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले भने, “हाम्रो अहिलेको सर्वोच्च प्राथमिकता नै विश्वका सबै संकटपूर्ण ठाउँमा खटाइने बर्दीधारी सैनिकहरुमा कोविड–१९ नभएको सुनिश्चित गर्नु रहेको हुन्छ ।” उनले केही विशिष्ट अवस्थामा यस व्यवस्थामा सामान्य फेरबदल हुन सक्ने स्पष्ट गरे । राष्ट्रसंघको उक्त निर्णयका बारेमा शान्ति सैनिक र प्रहरी पठाइरहेका सबै मुलुकलाई जानकारी गराइएको पनि उनले बताए । तर राष्ट्रसंघका अन्य निकायहरु जस्तै राष्ट्रसंघीय बालकोष (युनिसेफ), विश्व खाद्य कार्यक्रम र शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (युएनएचसीआर) का कार्यक्रमहरु द्वन्द्वग्रस्त मुलुकहरुमा यथावत रहेको राष्ट्रसंघले जनाएको छ । प्रवक्ता डुजारिकले युनिसेफ र विश्व खाद्य कार्यक्रमले जोर्डान सरकारसँग मिलेर शरणार्थीहरुलाई मद्दत गरिरहेको, खाद्य सहयोग तथा अरु कार्यक्रमलाई निरन्तरता दिएको बताए । डुजारिकका अनुसार युएनएचसिआरले पूर्वी अफ्रिकामा रहेका शरणार्थीको ठूलो हिस्सामा कोविड–१९ को संक्रमण रोक्न, उपचार गर्न र प्रसारलाई नियन्त्रणमा राख्न काम गरिरहेको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको नयाँ प्रतिवेदनले कोरोनाभाइरसको महामारीका कारण विश्वभर स्वास्थ्यकर्मीको सुरक्षामा खतरा उत्पन्न भएको र यसबाट खासगरी अग्रमोर्चामा काम गर्नुपर्ने नर्सहरु रहेको जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले “विश्वका नर्सहरुको स्थिति प्रतिवेदन २०२०” सार्वजनिक गर्दै नर्सहरु कुनै पनि स्वास्थ्य प्रणालीका मेरुदण्ड रहेको बताए । “विश्वभर हाल २ करोड ८० लाख नर्सहरु कार्यरत छन् जबकी विश्वमा अहिले ५९ लाख नर्सको कमी छ । नर्सको कमी सबैभन्दा बढी अफ्रिका, दक्षिणपूर्व एसिया, पूर्वी भूमध्यसागरीय क्षेत्र र दक्षिण अमेरिकामा छ ।” विश्व स्वास्थ्य दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले मानव स्वास्थ्यका लागि विश्वभरका सबै स्वास्थ्यकर्मीले दिनरात केही नभनी कोरोना महामारी विरुद्ध संघर्ष गरिरहेकामा त्यसको उच्च प्रशंसा गरेको जानकारी दिए । रासस–एएनआई

किटनासक औषधि छर्न सौरभ ज्योतिले दिए ७ लाख बराबरको ब्याकप्याक स्प्रेयर

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. ले कोरोना महामारी विरुद्धको यस महायुद्ध जित्नको निमित्त सहयोगको अर्को कदम अघि बढाएको छ । हाण्डाले सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्नको निमित्त ७ लाख रुपैयाँ बराबरको १० थान होण्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर सहयोग स्वरुप प्रदान गरेको छ । अहिलेको यस विषम परिस्थितीमा कोरोना भाईरसलाई केहि हदसम्म नियन्त्रण गर्नको लागि ज्योति समुह अन्तर्गतको स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. का अध्यक्ष सौरभ ज्योतिले मंगलबार एक कार्यक्रम माझ नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई उक्त सहयोग प्रदान गरेका हुन् । यसका साथै उनले भविष्यमा समेत नेपाल सरकारसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

काठमाडाैं ।  दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व तेमाल जात्रा यस वर्ष प्रभावित भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण सबै राजनीतिक दलका प्रतिनिधि, बौद्धनाथ क्षेत्र विकास समिति, महानगरीय प्रहरी वृत्त बौद्धलगायत सरोकार भएका निकायका अधिकारीको बैठकले जात्रा स्थगित गरिएको काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिए । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकीदेखि नै बौद्ध चैत्यमा आई दीयो बाले दिवङ्गत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ । यसै विश्वासका आधारमा वर्षेनी लाखौँ भक्तजनले बौद्ध चैत्यमा आई बत्ती बाल्ने गर्थे । पूर्णिमाका दिन बिहानसम्म बौद्धमा बत्ती बाली बालाजु २२ धारा स्नान गरेर जामाचो, स्वयम्भूलगायत तीर्थस्थलमा दर्शन गर्ने विधि छ । यो विधि पनि यसपटक प्रभावित भएको छ । बौद्ध चैत्यमा लामा गुरुले गर्ने पूजा पाठलगायत नित्य कर्म भने विधिपूर्वक सम्पन्न गरिएको वडाध्यक्ष लामाले भने । बालाजु २२ धारामा स्नान गरेरमा पाप पखालिई पूण्य कमाइने धार्मिक विश्वाससमेत छ । जामाचो उपत्यका नजिकको पदमार्गका रुपमा समेत स्थापित भएको छ । जहाँ चैत्र शुक्ल पूर्णिमाकै अवसरमा धेरै धार्मिक पर्यटक पुग्ने गर्थे । तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे बलले विसं १८१९ मा तेमाल जात्रालाई राजकीय मान्यता दिई जात्रा मनाउन प्रजालाई बौद्ध क्षेत्रमा पठाएको इतिहास छ । कार्तिक शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोकको नमोबुद्ध, मार्गशीर्ष शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोककै धनेश्वर र चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा लाग्ने तेमाल जात्राका बीचमा सम्बन्ध रहने गरेको समितिका कार्यकारी निर्देशक वसन्त लामा बताए । जामाचो जान चैत्र शुक्ल पूर्णिमाका दिन मात्र रानीवनस्थित नेपाली सेनाको चेकपोष्ट खुल्ने गरेको छ । जामाचोको ३५ मिटर तलको गुफामा बुद्ध ध्यान गरेर बसेको मूर्ति पनि यहाँ जाने दर्शनार्थीका साथै स्वदेशी एवं विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ । जामाचो जान हाल जीपलगायत सवारी जानसक्ने मोटरबाटो भए पनि बाइसधाराबाट छोटो बाटो हिँडेरसमेत जानसकिने समितिका कार्यकारी निर्देशक लामाले बताए । सत्ययुगमा विपश्वी बुद्धले जामाचोबाट उपत्यकाको दहमा कमलको फूल रोपेपछि त्यहीँबाट स्वयम्भू ज्योतिको उत्पत्ति भएको बौद्ध धार्मिक मत छ । त्यही बेलादेखि चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने परम्परा शुरु भएको हो ।

काेराेना संक्रमित बेलायतका प्रधानमन्त्री आज पनि आईसीयूमै, अवस्था स्थिर

काठमाडाैं । काेराेना संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आज पनि सघन उपचार कक्ष (आईसीयू)मै रहेका छन् । अहिलेसम्म उनकाे अवस्था स्थीर रहेकाे अन्तर्राषट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  उनमा कोरोनाभाइरसको संक्रमण बढी खतरापूर्ण स्थितिमा पुगेको भन्दै चिकित्सकको सल्लाहमा आइतबार लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको हो । तर, अहिले उनकाे अवस्था स्थीर छ । प्रधानमन्त्री जोनसनको अवस्था स्थिर रहेकाेले उनलाई भेंटिलेटरमा नराखिएको जनाइएकाे छ। बीबिसी हिन्दी 

वेदास कलेजले आफ्नै सफ्टवेयरद्वारा शुरू गर्याे अनलाइन क्लास, के के छन् सुविधा ?

काठमाडाैं । वेदास कलेजले आफ्नै सफ्टवेयर विकास गरेर अनलाइन क्लास सञ्चालन शुरू गरेका छौं । कलेजले नेपालमै पहिलोपटक यस्तो सफ्टवेयरको विकास गरी सञ्चालनमा ल्याएकाे हाे । कलेजले प्राविधिक पार्टनर एमपर्सेप्ट टेक्नोलोजिसँगको सहकार्यमा एमपर्सेप्ट क्लासरुप सफ्टवेयरको विकास गरेकाे हाे । यही सफ्टवेयरको माध्यमबाट कलेजले विद्यार्थीहरुलाई लकडाउनका समयमा पनि नियमितरुपमा अध्ययन अध्यापन गराउँदै आएका छ । यस्तो कक्षामा विभिन्न आधुनिक सहयोगी सुविधाहरुको साथै एक आधुनिक र प्रयोग गर्न सजिलो इन्टरफेस साथमा हुन्छ । सफ्टवेयरमा क्लास सञ्चालनका लागि आवश्यक सबै सुविधाहरु रहेका छन् । यसमा सिमलेस अडियो र भिडियो कन्फेरेन्स, पठनपाठनका समयमा स्क्रिन शेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा र कुराकानी, प्रत्यक्ष सत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकरहरुलगायतका सुविधाहरू छन् । यो सफ्टवेयरमा प्रत्येक व्यक्तिगत विषयका लागि फाइल व्यवस्थापन र वाह्य स्रोतका सामाग्रीलाई पनि व्यवस्थापन गर्दछ । अरु विशेषताहरूमा समुहगत शिक्षा अर्थात ग्रुप एजुकेशन प्रमोशन, ह्वाइटबोर्ड र कस्टम ह्वाइवोर्ड अप्सनहरू, शिक्षक तथा विद्यार्थीहरूका लागि व्यक्तिगत तथा सामुहिक च्याटरुम, प्रत्यक्ष कक्षाकोठाको रेकर्डिङ, सहकर्मी र आत्म मुल्यांकन तथा सुरक्षा र गोपनियतालगायतका सुविधा पनि रहेका छन् । यसमार्फत अध्ययन गर्ने विद्यार्थीहरूले कक्षाकोठामै बसेको अनुभव गर्नेछन् । मोबाइल, ल्यापटप र कम्प्युटरबाट पनि यसको प्रयोग गर्न सकिन्छ । यसको प्रयोगका लागि विद्यार्थीले आफ्नो आइडी र पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ । यस कदमले नेपालको शैक्षिक प्रणालीलाई एउटा अर्काे उचाईमा पुर्याउन टेवा दिने कलेजकाे विश्वास छ । साथै, यसलाई लकडाउन अवधिमा मात्रै होइन आगामी दिनहरुमा ‘अफ आवर’ मा सधै प्रयोग गर्न सकिने कलेजले बताएकाे छ । पाण्डे ग्रुपद्वारा संचालित यस कलेजले विगत १० वर्षदेखि नै प्रविधिको उच्चतम प्रयोग गरी शैक्षिकमैत्री वातावरणमा अत्याधुनिक सुविधासहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस कलेजमा बिएससी सिएसआइटी, बिसिए, बिबिएम, बिबिएस, एमबिएस तहको अध्ययन अध्यापन हुँदै आएको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले दक्ष तथा अनुभवी प्रध्यापकहरुद्वारा उच्चस्तरको शिक्षा प्रदान गर्दै आएको छ । कलेजले अरु कोर्षहरुमा पनि नियमित रुपमा एकेडेमिक तथा नन एकेडेमिक अतिरिक्त कोर्षहरु संचालन गर्दै आएको छ । यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले इन्टरर्नशिप प्लेसमेन्टको अवसर प्राप्त गर्दै आएका छन् भने डिग्री हासिल गरेका विद्यार्थीहरुले जब प्लेसमेन्टको अवसर प्राप्त गर्ने गर्दछन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका हरेक क्षेत्र प्रभावित भएको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले पनि लकडाउन घोषणा गरेको छ । सरकारले देशभर लकडाउन घोषणा गरेसँगै सबै क्षेत्र ठप्प प्रायः छ । उज्यालो भविष्यको आधार अर्थात मानव जीवनको अत्यावश्यक आवश्यकता शिक्षा पाउनबाट विद्यार्थीहरू वञ्चित छन् । कतिपय शैक्षिक संस्थाले विभिन्न विदेशी सफ्टवेयरहरु प्रयोग गरी अनलाइन अध्ययन अध्यापन गर्दै गराउँदै आएका छन् ।