चेम्बरकाे मास्क वितरण कार्य जारी, जाजरकोटमा आफ्नै लगानीमा हात धुने धारा निर्माण
काठमाडौं । चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा विभिन्न जिल्लामा सहयोग गर्दै आएको र उक्त सहयोग जारी राखेको छ । यससँगै, आज(बुधबार) पनि विभिन्न जिल्लाका चेम्बरले विभिन्न स्थानमा माक्स लगायत विभिन्न सामानहरु वितरण गरेको छ । जसमध्ये चितवन चेम्बर अफ कमर्सले १० हजार मास्क वितरण गरेको छ । त्यस्तै, खैरहनी नगर चेम्बर अफ कमर्सले १४ सय ५० माक्स नगर पालिकालाई र ५ सय ३० माक्स इलाका प्रहरी कार्यालय खैरहनीलाई वितरण गरेको छ । त्यसैगरी, चेम्बर अफ कमर्स जाजरकोटले स्वास्थ्य सेवा कार्यालय अन्तरगत रहेको जिल्ला अस्पतालमा हात धुने धारा निर्माण गरेको छ । कमर्सले आफ्नै लगानीमा जिल्ला अस्पतालमा हात धुने धारा निर्माण गरेको हो ।
उहानको लकडाउन समाप्त, सडकमा मानिसको भीड
उहान । कोरोना भाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक हुन् । “म ७० दिनभन्दा बढी समयदेखि घरबाहिर निस्किएको थिइनँ,” भावुक मुद्रामा झेङकुनले भने । शहरको मध्यभागबाट बग्ने विशाल याङ्जी नदीको पुलबाट शहरको झिलिमिली नियाल्न आइपुग्नु भएका झेङकुन अनायाश भावुक भएका थिए । “यति धेरै दिन घरभित्र बस्दा म पागलझैं भएको थिएँ ।” झण्डै १ करोड १० लाख मानिसको बसोबास रहेको उहानका सडकहरू एकाएक सवारी साधनले भरिएका थिए भने बिमानस्थल, रेल र बस स्टेशनहरूमा लामालामा लाइन देख्न सकिन्थ्यो । उहानबाट आफ्ना घर फर्कन चाहने तथा अन्यत्रै काम गर्ने हजारौं मानिस सबेरै यहाँ भेला भएका थिए । सडकका ठाउँठाउँमा राखिएका पहेंला अवरोधहरू हटाइएका थिए । यद्यपि आवासीय घरहरुका ढोकामा सुरक्षा पहरा अझै राखिएको छ । टोङले आफ्नो अपार्टमेन्ट कम्प्लेक्सका बासिन्दालाई भाइरस देखिएपछि अरु मानिसको आउजाउका लागि बन्द गरिएको थियो । छिमेकी कामदारहरुले ती कठिन दिनहरुमा खानेकुरा ल्याइदिने गरेको टोङले सम्झिए । शहर बन्द भएपछि त्यस्ता उपायहरू अपनाउनुको विकल्प थिएन । शहरमा भाइरसको प्रकोप बढेसँगै अस्पतालमा मानिसको भिड देखिन थालेपछि जनवरी २३ देखि उहानमा लकडाउन शुरू भएको थियो । विद्यालयहरू अझै बन्द छन्, भवनमा प्रवेश गर्नेक्रममा सबै मानिसको शरीरको तापक्रम जाँचिन्छ र मास्क लगाएर मात्र खुला ठाउँमा जान कडा नियमहरु जारी गरिएका छन् । शहरको नेतृत्वले सामाजिक र व्यावसायिक जीवन फिर्ता ल्याउने सन्दर्भमा कोरोनाभाइरसको दोस्रो संक्रमणको खतरालाई विचार गरेको बताएका छन् । तैपनि, यात्रा गर्न पाउनु पनि ठूलो राहत हो । बिमान र रेलद्वारा बुधबार मात्र ६५ हजार भन्दा बढी मानिस आआफ्ना गन्तव्यतर्फ लाग्ने अपेक्षा गरिएको छ । उहानका बासिन्दाहरूलाई अब कुनै आधिकारिक अनुमति बिना यात्रा गर्न पाउने छुट दिइएको छ तर सबैले मोबाइलमा स्वास्थ्य विवरण अनिवार्य रुपमा अद्यावधिक गर्नु पर्नेछ । यसबाट व्यक्तिको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी प्राप्त गर्न र अनुगमन गर्न सरकारी निकायहरुलाई सहज हुनेछ । लकडाउन खुलेसँगै पुल, सुरुङ र राजमार्गका टोल बुथहरूमा सवारी साधन र मानिसको भिड देखिन केही समय लागेन । मानिसहरु घुम्न, बाहिर निस्कन र शहर छाड्न कति आतुर थिए भन्ने यसैबाट देखिन्थ्यो । जिल्ला प्रहरी प्रमुख यान सियाङशेङका अनुसार करिब एक हजार सवारी साधन त मध्यरातमा उहानको सिमानाको व्यस्त राजमार्ग टोल बुथबाट बाहिरिएका थिए । बिमानस्थलका अधिकारी लोउ ग्वेइका अनुसार एमयु२५२७ ले उहान तियान्हे अन्तर्राष्ट्रिय एयरपोर्टबाट बिहान ७.२५ बजे नै हैनान प्रान्तको तटीय शहर सान्याका लागि पहिलो उडान भरेको थियो । यो शहर समुद्री बीचहरुका लागि प्रख्यात छ । “चालक दलले उडान अवधिभर चश्मा (गगल्स), मास्क, र पञ्जा लगाउने छन्,” चीफ उडान कर्मचारी गुओ बिन्क्सुलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । “यो धेरै सहज हुनेछ किनकि हामीले यस उडानका लागि धेरै तयारी गरेका थियौं ।” बिमानस्थलमा चेन यातिङले आफूलाई सुरक्षित राख्न थप व्यवस्था गरेका थिए । उनले सेतो सुरक्षा कवज पहिरिनुका साथै ग्लोभ्स, मास्क र बेसबल टोपी लगाउनु भएको थियो । उनले दक्षिणी शहर ग्वान्झाउतर्फ उड्ने तयारीमा थिए । “हामी एक राम्रो युगमा बाँचिरहेका छौं,” चेनले भने, “आजको यो उपलब्धि त्यति सजिलो थिएन ।” चीनमा भेटिएका कूल संक्रमितमध्ये यही शहरमा मात्र ८२ हजारभन्दा बढी हुनुका साथै ३ हजार ३ सयभन्दा बढीको मृत्यु भएको थियो । यहाँ नयाँ संक्रमितको संख्या निरन्तर घट्दै गएको छ । सरकारले बुधबार शहरमा कुनै नयाँ घटना नदेखिएको जनाएको छ । कोरोनाभाइरस सम्बन्धी चीनको गणनाको सत्यताका बारेमा प्रश्नहरू गरिए पनि उहान र हुबेको अभूतपूर्व लकडाउन सफल भएको छ र यही विधि विश्वका अन्य देशले पनि अपनाउन थालेका छन् । “उहानका मानिसहरूले धेरै नै संकट झेले र उनीहरुमा मानसिक र मनोवैज्ञानिक असर पनि परेको थियो,” स्थानीयबासी झाङ सियाङले बताए । “उहानका मानिसहरु आफ्नो दृढ इच्छाका लागि अब विश्वभर नै चिनिने भए ।” लकडाउनको अवधिमा उहानका बासिन्दाहरूले खाना किन्न वा बिल्कुलै आवश्यक मानिने अन्य कार्यहरूमा भाग लिन मात्र आफ्नो घर छोड्न पाउँथे । केहीलाई शहर छोड्न अनुमति दिइएको थियो, तर उनीहरूसँग कोरोना संक्रमण नभएको बलियो प्रमाण हुनु आवश्यक थियो । उनीहरुले कहाँ र किन जान लागेको भन्ने सरकारी प्रमाण पनि साथमै राख्नु पर्दथ्यो । त्यसपश्चात पनि अधिकारीहरूले उनीहरूलाई चिठीमा छाप छैन भन्दै फिर्ता पठाउन सक्थे । हुबे प्रान्तकै अन्य भागका बासिन्दाहरूलाई तीन साता पहिले उहानबाट बाहिर जान खुला गरिएको थियो । तर उनीहरुले पनि आफू स्वस्थ रहेको प्रमाण पेश गर्नु पर्ने व्यवस्था गरिएको थियो । शहर छोड्ने मानिसहरूले अन्तिम गन्तव्यमा पुग्नेक्रममा धेरै किसिमका चुनौती पार गर्नुपर्ने हुन्थ्यो, जस्तै १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने तथा न्यूक्लिक एसिड परीक्षण गरियो। उहान शहर ठूलाठूला उद्योगका लागि प्रमुख केन्द्र हो, विशेषगरी सवारी साधन यहाँ उत्पादन हुने गर्दछन् । धेरैजसो प्रमुख प्लान्टहरुले उत्पादन पुनः सुरु गरेका भए पनि धेरै मानिसलाई रोजगारीको अवसर सिर्जना गर्ने साना र मझौला व्यवसायहरू संघर्षरत छन् किनभने यस्ता उद्यमका उत्पादनको माग अहिले ह्वात्तै घटेको छ । उहान नगर सरकारका अनुसार यस्ता उद्यम व्यवसायका लागि सरकारले २० अर्ब युआन (२ अर्ब ८० करोड डलर) को प्राथमिकताप्राप्त ऋणको व्यवस्था गरेको छ । रासस–एपी
कोरोनाको महामारीमा अस्पताल नआउने पाँच जना डाक्टर बर्खास्त
काठमाडौं । बिना जानकारी अस्पताल नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालले पाँच जना डाक्टरलाई बर्खास्त गरेको छ । कारोना महामारीको समयमा केही कारण ५ डाक्टरलाई बर्खास्त गरेको हो । करारमा नियुक्त वि डाक्टरहरु करिब ८÷१० दिन देखि बिना जानकारी अस्पताल नआएको काराण उनीहरुलाई बर्खास्त गरेको अस्पताल श्रोतले जनाएको छ । महामारीको बेलामा उपचारमा नखटिने चिकित्सकलाई कारबाही गर्न प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन दाहालले निर्देशन दिएको अस्पताल श्रोतले बताए ।
ट्वीटरका संस्थापक डोर्सेले १ अर्ब डलर सहयोगको घोषणा
वासिङ्टन । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन् । उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ । ट्वीटमा डोर्सेले आफ्नो सम्पत्तिको झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्नेगरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख गरेका हुन् । फोब्र्सका अनुसार डोर्सेको कूल सम्पत्ति करिब ३३ अर्ब अमेरिकी डलर रहेको छ । रासस/एएफपी
बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्यो, वन्यजन्तु असुरक्षित
काठमाडौं । बाँके राष्ट्रिय निकुञ्ज नेपालमा बाघ संरक्षणका लागि उपयुक्त थलो बन्दै गएको छ । निकुञ्जमा बाघका लागि वासस्थान, खानेपानीका साथै आवश्यक अन्य वातावरणको व्यवस्थापनका कारण बाघको सङ्ख्या बढेको हो । उक्त निकुञ्जले जनाएअनुसार सन् २०१८ को गणनामा बयस्क बाघको सङ्ख्या २१ पुगेको छ । सन् २०१३ मा यहाँ चारवटा बाघ मात्र थिए । तर निकुञ्जमा बाघलगायत अन्य वन्यजन्तु बढेसँगै राजमार्गका कारण वन्यजन्तुहरु असुरिक्षत पनि हुन पुगेका छन् । “बाघका लागि आहारविहार, बस्ने वातावरण र ठाउँ आदिको व्यवस्था गरेपछि बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ” निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भने । बाघको सङ्ख्या सन् २०२२ सम्ममा २५० पुर्याउन सकिने प्रतिबद्धता नेपालको रही आएको छ । त्यो पूरा गर्न सकिने उहाँले बताए । यहाँ भइरहेको बाघको बृद्धिले पनि यसलाई सजिलो बनाएको उक्त निकुञ्जको धारणा छ । तर पनि यस निकुञ्जमा पर्ने राजमार्गका कारण यहाँका बाघ लगायतका अन्य वन्यजन्तुहरुको सुरक्षा भने जोखिममा रहेको बताइएको छ । बाघको सङ्ख्या यहाँ बढ्दै गएको छ तर पनि अरु वन्यजन्तुलाई पनि राजमार्गमा के कसरी जोगाउने भन्ने जोखिम भने कायमै रहेको यस निकुञ्जका अधिकारीहरु बताए । राष्ट्रिय निकुञ्जको राजमार्ग आसपासमा वन्यजन्तु दुर्घटनामा पर्न थालेकाले असुरक्षित हुने गरेको निकुञ्ज अधिकारीहरुको भनाइ छ । यो राष्ट्रिय निकुञ्जभित्र पूर्व–पश्चिम क्षेत्रमा ७२ किलोमिटर र कोहलपुर–बबई रत्न राजमार्ग करिब ३० किलोमिटर पर्दछ । वन्यजन्तुहरु राजमार्गबाटै वारपार गर्ने गर्दछन् । यस क्रममा वन्यजन्तुहरु दुर्घटनामा पर्ने समस्या रहेको निकुञ्ज अधिकारीहरुको भनाइ छ । यसले एकातर्फ राजमार्गका कारण वन्यजन्तु असुरक्षित रहेको देखाउँछ भने अर्कातर्फ राजमार्ग पनि वन्यजन्तुका कारण असुरक्षित हुन पुगेको पनि देखिन्छ । वन्यजन्तुले सडक पार गर्ने क्रममा सवारी दुर्घटना पनि हुनसक्ने देखिन्छ । निकुञ्जको सुक्खा क्षेत्रमा बसोबास गरी आएका वन्यजन्तु पानी पिउन राप्ती नदीको किनारमा पुग्ने गर्दछन् । ती जनावर पानी पिउन प्रायः रातको समयमा जाने र त्यस समयमा पनि राजमार्गमा सवारीसाधनहरु सञ्चालन भइरहने भएकोले राजमार्ग पार गर्ने क्रममा ती वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेको पाइएको छ । त्यसैगरी त्यही सडक भएर यात्रा गर्ने व्यक्तिहरुले पनि सडकमा जथाभावी खानेकुरा फ्याँक्ने गरेकाले पनि ती खानेकुरा टिप्न जाँदा केही जनावर गाडीको ठक्करले मारिएका निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिए । उक्त निकुञ्जले दिएको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको अवधिमा २६४ जनावर सडक दुर्घटनामा परेर मरेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा ४५, आर्थिक वर्ष २०७४/७५ मा ७२, आर्थिक वर्ष २०७३/७४ मा ८३, आर्थिक वर्ष २०७२/७३ मा ५० र आर्थिक वर्ष २०७१/७२ मा २४ वटा वन्यजन्तुको मृत्यु दुर्घटनाबाट भएको छ । यसरी राजमार्ग वरपर भएको दुर्घटनामा परेर मृत्यु हुनेमा बँदेल, मृग, खरायो धेरै रेहका आदि छन् । यस्तो दुर्घटना खासगरेर सुक्खायाममा बढी हुने गरेको पनि पाइएको छ । सुख्खा याममा पानी पिउन धेरै जनावर राप्ती किनारमा जादा दुर्घटना परेको उक्त निकुञ्जका अधिकारीहरुको अनुभव छ । गत वर्ष मात्र दुर्घटनाको जोखिममा परेका र घाइते अवस्थामा भेटिएका ४ सय ३१ वन्यजन्तुको उद्धार गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन् । यहाँ जैविक विविधताको दृष्टिले आठवटा पारिस्थितिकीय प्रणाली, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रजातिका पन्छी, ५८ प्रजातिका माछा, ३२ प्रजातिका स्तनधारी, २२ प्रजातिका सरीसृप तथा छ प्रजातिका उभयचर पाइन्छन् । त्यसैगरी यस निकुञ्जमा सालक, हुँडार, चौका, जङ्गली हात्ती र पाटेबाघजस्ता संरक्षित स्तनधारी वन्यजन्तु, कालो गरुड र राजधनेशजस्ता पन्छी र अजिङ्गर, सुनगोहोरो जस्ता संरक्षित घस्रने वन्यजन्तु समेत रहेका छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ मानिएका पङ्छी पनि अभिलेख गरिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको हुँदा ठूला वन्यजन्तुका लागि यो महत्वपूर्ण वासस्थान पनि हो । विसं २०६७ देखि यस राष्ट्रिय निकुञ्जको सुरक्षा व्यवस्थाको जिम्मा नेपाली सेनाले लिएको छ । विसं २०७४ देखि नेपाली सेनाको श्रीमेहर गण यसको सुरक्षार्थ तैनाथ रहेको छ । यो राष्ट्रिय निकुञ्ज नेपालको पछिल्लो पटक घोषित भएकोले भौतिक पूर्वाधार निर्माण गर्नेदेखि लिएर सुरक्षा प्रदान गर्नेसम्मको काम गर्दै आएको श्रीमेहर गणका प्रमुख सेनानी जीवन शर्मा बताउँछन् । खासगरी यो निकुञ्जको स्थापना बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले विसं २०६७ मा भएको हो । यस निकुञ्जभित्र पर्या–पर्यटन प्रवद्र्धनका लागि पक्की मचान, वन्यजन्तुका लागि पानीपोखरीहरुको निर्माण पनि गरिएको छ । निकुञ्जभित्र हुनसक्ने आगलागी नियन्त्रणका लागि विभिन्न स्थानमा पोखरीहरु निर्माण गरिएको छ । त्यसैगरी हात्तीको वासस्थानका लागि सेडघरहरु निर्माण गरिएको छ भने चोरी शिकारी हुन नदिन र त्यहाँ भित्र हुने जनावरको गतिविधि बुझ्न जङ्गलभित्र ठाउँठाउँमा आधुनिक क्यामराहरु राखिएको छ । पछिल्लो समयमा मध्यवर्ती क्षेत्रका स्थानीयवासीको सोँचमा पनि परिवर्तन आएको बताइएको छ । मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने समुदायमा केही वर्षअघिसम्म निकुञ्जप्रति त्यस्तो सकारात्मक धारणा नरहेकोमा अहिले भने संरक्षणप्रति नै उनीहरु जुट्न थालेका छन् । निकुञ्जमा घुम्न आउने पर्यटकका कारण त्यहाँका मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउनसक्ने चेतना अहिले उनीहरुमा आएको देखिन्छ । त्यसैले यहाँका बासिन्दा पनि संरक्षणको अभियानमा सक्रिय रुपमा लागेको कोहलपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सदस्य कृष्ण थारु बताउनुहुन्छ । हाल यस निकुञ्जअन्तर्गत नौवटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति रहेका छन् । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरुप बाघको संख्या बढाउन यहाँ विशेषगरी बाघको वासस्थानको उचित व्यवस्थापन गरिएको छ । यसै उद्देश्यले बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमी कोर र ३४३ वर्ग कि.मि. मध्यवर्ती क्षेत्र गरी जम्मा ८९३ वर्ग किमी क्षेत्र समेटेर सरकारले नेपालको दशौं राष्ट्रिय निकुञ्जको रुपमा यो निकुञ्जको स्थापना गरेको हो । निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग तथा राष्ट्रिय र सामुदायिक वन हुँदै भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेन्चरीसँग जोडिएको छ । उत्तरतर्फ चुरे पर्वत र दक्षिणमा पूर्व–पश्चिम राजमार्ग तथा कम्दी जैविक मार्गहुँदै भारतको सलेहवा वाइल्डलाइफ सेन्चरी क्षेत्रसँग समेत जोडिएको छ । बाँके राष्ट्रिय निकुञ्जमा बढी पर्यटक भित्र्यान गत पुसको दोस्रो साता हात्ती सफारीको पनि आयोजना गरिएको थियो । मध्यवर्ती क्षेत्रका विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्यगरी बालापुर, खड्गबार र गाभरमा होमस्टे (घरवास पर्यटन) पनि सञ्चालनमा ल्याइएको छ । ती घरबासमा विदेशी र स्वदेशी पर्यटकको आगमन हुन थालिसकेको यसका सञ्चालकहरु बताउँछन् । निकुञ्जको ओभरी, खड्गबार, बुच्चापुर, गाभर र अगैयाबाट पर्यटकलाई निकुञ्जभित्र प्रवेश गर्ने सुविधा उपलब्ध छ । बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्नु अघि विमानस्थलबाट झरेका विदेशी तथा स्वदेशी पर्यटकहरु बाँके राष्ट्रिय निकुञ्जको अवलोकन गरेर मात्र बर्दिय जाने गरेका छन् । यस निकुञ्जलाई पनि सरकारले यसै वर्ष घोषणा गरेको १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा ५७औं स्थानमा समेटेको छ । रासस
लकडाउन भर कृषि विकास बैंकको २०७ वटा शाखा खुल्ने, कुन शाखा कहिले ? (सूचीसहित)
काठमाडाैं । कृषि विकास बैंकले हाल जारी रहेकाे लकडाउनकाे अवधिभर देशभरका २०७ शाखा कार्यालय खाेल्ने भएकाे छ । बैंकले आज चैत २६ गतेदेखि आगामी २०७७ बैशाख ३ गतेसम्म ७ वटै प्रदेशका विभिन्न शाखाहरूबाट बैंकिङ सेवा दिने एक सूचना मार्फत जानकारी गराएकाे छ । उक्त सूचनामा बैंकले कुन शाखा कुन दिन कुन समयमा खाेल्ने सबै उल्लेख गरेकाे छ । साथै, बैंकले ग्राहकलाई सजिलाे हाेस् भन्ने हेतुले उक्त शाखाका सम्बन्धित व्यक्तिहरूकाे सम्पर्क नम्बर पनि उपलब्ध गराएकाे छ । यसै अनुसार ग्राहकले आफुलाई पायक पर्ने नजिकैकाे शाखाहरूबाट बैंकले दिने बैंकिङ सेवा सुविधा अर्थात निक्षेप राख्न र नगद झिक्न सक्नेछन् । बैंकले एक जिल्लामा न्युनतम एक शाखा हुने गरि जिल्ला प्रशासन कार्यालयसँग समन्वयगरी सेवा सञ्चालन गरिएको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताएका छन् । बैंकका उप महाप्रबन्धक दिर्घ बहादुर अर्यालको नेतृत्वमा प्रशासन प्रमुख निर्मल प्रसाद उपाध्ययाले सेवा प्रवाह गरिरहेका शाखाहरुको अनुगमन गरिरहेका बैंकले जनाएकाे छ । ललितपुर शाखाबाट सेवा दिँदै त्यस्तै, बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ र एटीएम सेवा उपयोग गर्न आग्रह पनि गरेको छ । साथै, एलसी, टीटी, प्रतितपत्र लगायतका सेवाका लागि भने कर्पोरेट कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। कुन शाखा कहिले कुन समयमा खुल्छन् ? [pdf id=206617]
लकडाउनमा दाल चाहियो कि ताजा तरकारी ? औषधी र रेष्टुरेन्टका खानासमेत अर्डर गर्ने यस्ता छन् विकल्प
काठमाडौं । देश लकडाउनको स्थितिमा छ । सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन लम्बाएर बैशाख ३ गतेसम्म पुर्याएको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनको आज १७औं दिन हो । लकडाउनमा सबैलाई घरबाट ननिस्कन अनुरोध गरिएको छ । स्वास्थ्य सेवा, खाद्यन्न र केही महत्वपुर्ण सेवामा संलग्न भएका बाहेक सबै मासिन अहिले घरमै छन् । खाद्यन्न किन्नलाई सरकारले बिहान र साँझको केही समय छुटाएको छ । तर, आँखाले नदेख्ने भाईरस कहाँ कहाँ छ भनेर हामी अनविज्ञ छौं । एक मानिसबाट अर्का मानिसमा थुकको छिटाहरुबाट सर्ने कोरोना भाइरसबाट जोगिन पूरै संसार लकडाउनमा छ । नेपाल कोरोना भाइरसस संक्रमणको दोस्रो चरणमा अर्थात विदेशबाट आएका संक्रमित व्यक्तिले दोस्रोलाई कोरोना सारिसकेको छ । त्यसैले सर्तकर्ता बढाउन अझ जरुरी छ । त्यसैले घरै बस्नु र अत्यावश्यक सामाग्री घरमै मगाउनु सबैभन्दा उत्तम उपाय हो । तपाईलाई थाहा न होला तर भाटभटेनी जस्ता धेरै सुपरमार्केटले लकडाउनको समयमा घरघर अत्यावश्यक सामाग्री जस्तै नुनु, तेल, औषधी, रेष्टुरेन्टको खाना, बेकरी आईटम्स अर्गानिक खाना, खाना पकाउने ग्यासलगायत डेलिभर गरिरहेका छन् । भाटभटेनीले तोकेको ५ हजारभन्दा कमको सामाग्री अर्डर गर्न नपाईने भएकोले एक्लै बस्नेहरुको लागि उपयुक्त हुनसक्छ । त्यसैले यदि तपाई ५ हजारभन्दा पनि कम मूल्यको सामान अर्डर गर्ने विकल्प सोचिरहनु भएको छ भने यो सामग्री उपयोगी हुन सक्छ । १. भाटभटेनी भाटभटेनी सुपरस्टोरले हाल काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, विराटनगर, विराटनगर, भैरहवा, नेपालगंजमा होम डेलिभरी सेवा दिईरहेको छ । तपाईले ईन्स्टाग्रामबाट वा भाईबरबाट आफुलाई आवश्यक परेको सामान घरमै मगाउन सक्नुहुनेछ । घरमै सामान मगाउनको लागि भाटभटेनीले भाईबर नं ९८०१२३४८८६१ दिएको छ । यो नम्बरमा सम्पर्क गरेर सामान अर्डर गर्न सकिन्छ । कम्पनीका अध्यक्ष मिनबहादुर गुरुङले सबै सामग्री लकडाउनअघिकै मुल्यमा विक्री गरिएको बताएका छन् । भाटभटेनीमा फेन गरेर कम्तिमा ५ हजार रुपैयाँ बराबरको सामान अर्डर गर्नुपर्ने हुन्छ । २. भोजडिल्स भोजडिल्स घर वा अफिसबाट रेष्टुरेन्टको खाना अर्डर गर्ने एप हो । तर हाल लकडाउनको समयमा यसले अत्यावश्यक सामग्रीहरु डेलिभर गर्दै आएको छ । तपाईले यो एप डाउनलोड गरेर सामग्रीहरु अर्डर गर्न सक्नुहुन्छ । यसमा ताज तरकारी–फलफूलदेखि लिएर दैनिक उपभोग्य बस्तु तथा बालबालिकाको डाईपर साथै औषधीहरु पनि अर्डर गर्नसक्नुहुन्छ । भोजडिल्समा १ हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री अर्डर गर्नुपर्ने हुन्छ । यसले पनि निःशुल्क होमडेलिभरीको व्यवस्था मिलाएको छ । ३. दराज डट कम नेपालमा अनलाईन सपिङको बहार ल्याउनेमा दराजको मुख्यभूमिका छ । लकडाउनको समयमा दराजले बिगमार्टसँगको साँझदारीमा १५ सयभन्दा माथिको सामग्रीहरुको अर्डर लिने व्यवस्था गरेको छ । दराज डककममा गएर अत्यावश्यक बस्तुको अर्डर गरेमा त्यस्तो सामान तपाईले भनेकै स्थानममा आइपुग्छ । चामल, नुन, तेल, हात धुने सामाग्री, बालबालिकाको खानेकुरा, स्याम्पु, मन्जनलगायतका अत्यावश्यक सामाग्री तपाईले अर्डर गर्न सक्नुहुन्छ । हाल काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र यसले सेवा प्रदान गरिरहेको छ । ४. सेल्सबेरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले पनि लकडाउनको समयमा घरघरमै सामानहरु पुराउने व्यवस्था गरेको छ । तपाईले भाइबर वा फोन गरेर सामाग्री मगाउन सक्नुहुनेछ । सेल्सबेरी सातदोबाटो (९८०१२३४८९७), सेल्सबेरी सितापाईला (९८०१९०५२१९), सेल्सबेरी महाराजगंज (९८०१९७१३१२) मा सम्पर्क गरी तपाईले आवश्यक सामाग्री मगाउन सक्नुहुन्छ । यस्तै, खाद्यन्नहरुको लागि दरबारमार्ट डटकम रहेको छ जसमा तपाईले १ हजार माथिको सामाग्री मगाउन सक्नुहुन्छ । साथै मेरोकिरना डटकम (०१–४४११०००), निमबसबजार र सस्तोडिलबाट पनि अनलाईन अर्डर गरी सामान घरमै पाउन सक्नुहुन्छ । ताजा तरकारी, मासुको लागि १. फुडमाण्डु रेष्ट्रेन्टको खाना घरघर पुराउने फुडमाण्डुले लकडाउनको समयमा रेष्टुरेन्टको खानालाई केही समयको लागि बन्द गरेर ताजा तरकारी, मासु, फलफूल, बेकरी आईटमहरु घरघर पुराउन सुरु गरेको छ । तपाईले यसको वेभसाईटमा गएर १५ सय भन्दा माथिको सामाग्री दिउँसो १२ बजेपछि मगाउन सक्नुहुन्छ । २. काठमाडौं आर्गनिक्सडटकम काठमाडौं आर्गनिक्सले पनि घरघरै आर्गनिक सामाग्रीहरु लकडाउनको समयमा पुराउने गरेको छ । आर्गनिक खानेकुरामा रुची राख्नेले यहाँबाट आर्गनिक दाल, चामल, मह, मसला साथै मुलाको अचार र अन्य आवश्यक भान्सका सामग्री अर्डर गर्न सकिन्छ । १५ सय रुपैयाँभन्दा बढी मुल्यको सामाग्री तपाईले यसबाट अर्डर गर्न सक्नुहुनेछ । यसको सेवा शुल्क १ सय ५० रहेको छ । यस्तै सामाग्री तपाईले ग्रिनग्रोथडट लाईफ, लेशेर्पाडेलिभरी डटकम र खेतीफुड डटकमबाट पनि अर्डर गर्न सक्नुहुनेछ । औषधी १. जिभी एप तपाईले जिभी एपबाट सजिलै आवश्यक सबै प्रकारको जेनरल मेडिसीन (सिटामोल, खोकीको औषधी) मेडिकल उपकरण (थर्मोमिटर, प्रेसर जाँच्ने मेसिन, व्हील चेयर), बालबालिकाको र व्यक्तिगत हेरचाहको लागि क्रिमहरु अर्डर गर्न सक्नुहुनेछ । ५ सय रुपैयाँभन्दा कम मुल्यको सामग्रीको लागि ५० रुपैयाँ सेवा शुल्क तिनुपर्नछ भने त्योभन्दा माथिको मूल्यका औषधी तथा स्वास्थ्य उपकरण अर्डर गरेमा अतिरिक्त शुल्क तिर्नु पर्दैन । २. ईजीकेयर डटकम यस्तै डाक्टर सम्बन्धी सेवाको लागि तपाईले ईजिकेयर डट कमडट एनपीको वेभसाईट प्रयोग गर्न सक्नुहुन्छ । यसले औषधी उपकरणको साथै डाक्टरसँग सम्पर्क गराइदिन्छ । रेष्टुरेन्टको खाना र बेकरी आईटम्स १. काइरोस क्याफे, झम्सिखेल झम्सिखेलस्थित काईरोस क्याफेले यो समयमा रेष्टुरेन्टको खाना मनपराउनेहरुको लागि खाना डेलिभरी गर्ने गरेको छ । उपल्बध खानाको मेन्यु उनीहरुको ईन्स्टाग्राम र फेसबुक पेजमा पाउन सकिन्छ । क्याफेको संम्पर्क नं ९८१३४९३९०२ मा सम्पर्क गरेर पनि खाना अर्डर गर्न सकिन्छ । २. नौलो बेक्स, कुपण्डोल कुपण्डोलस्थित यस बेकरी क्याफेले केक, पिज्जा, बर्गर, डुनोट, बे्रडका साथै अन्य धेरै बेकरी आईटम डेलिभर गर्ने गरेको छ । क्याफेको संम्पर्क नं ९८६१५१६३९० मा सम्पर्क गरेर पनि अर्डर गर्न सकिन्छ । यस्तै लाजिम्पाटस्थित पियाने एण्ड एभरफ्रेस नोम्याण्डको संम्पर्क नं ९८४३४२८३५२ र भिनो बिस्ट्रो फ्रेन्च कर्नरको सम्पर्क नं ९८४९४८०४३२ बाट पनि तपाईले रेष्टुरेन्टको खाना घरमा नै मगाउन सक्नुहुन्छ । अन्य ग्यास नेपाल आयल निगमले केयर होम, अस्पताल, शोक परेका परिवार, अशक्तहरु, निशुल्क खाना बाँडिरहेको संस्थालाई घरघरमै ग्यास पुर्याउने व्यवस्था गरेको छ । यसका लागि ४२६३८४५, ९८५१२०१२६२र ९८५१०६७७२४ मध्ये कुनै नम्बरमा सम्पर्क गर्नुपर्ने निगमले भनेको भनाइ छ ।
काेराेनासँगै आगलागीका डरले रातैभरि जाग्राम
काठमाडौं । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ डढेलो बढेसँगै यहाँका २० भन्दा बढी बस्तीका बासिन्दा आगलागीको डरले राति सुत्न नसकेका हुन् । पूर्वपश्चिम राजमार्गको दायाँबायाँ रहेको वनक्षेत्रमा दिनहुँ डढेलो बढ्दै गएपछि यससँगै जोडिएका जिल्लाका बर्दिवास र गौशाला नगरपालिकाका २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा परेका यहाँका बासिन्दाको गुनासो छ । हुरीबतासको मौसममा डढेलोको क्रम रोकिएको छैन । यसले बस्ती भेट्ने डरले आपूmहरु अचेल केही दिनयता रातैभरि जाग्राम बसेर कटाउँदै आएका वनसँगै जोडिएको गौशाला–८ बेलगाछीको ढल्केवर बस्तीकी गृहिणी मञ्जु मञ्जरीले बताए । जताततै आगलागीले ठूलो क्षति गरेका खबर सुन्न थालिएपछि झन् बढी त्रास बढेको यहाँका बासिन्दा बताउँछन् । “साँझपख बस्ती नजिकै वनमा डढेलोको मुस्लो देखिन्छ”, मञ्जरीले भने, “कसरी निदाउन सक्नु रु” आफूहरु साना लालाबाला काखमा च्यापेर जागेरै रात कटाउने गरेका मञ्जरीसहितका ढल्केवरका बासिन्दाको भनाइ छ । वनसँगै जोडिएको बर्दिवास–५ गणन्ता बस्तीका सामाजिक कार्यकर्ता कारमान स्याङ्वाले भने, “अहिले कोरोनाको त्रासले आम मानिस घरघरै लकडाउनमा छन्, सुरक्षा गस्ती पनि कम भएको छ”, स्याङ्वाले भने, “यस्तो अप्ठ्यारो बेला पनि डढेलो भने रोकिएन ।” पछिल्लो दुई सातायता वनक्षेत्रमा बढेको डढेलो लगाउने क्रमले बस्तीमा आगलागीको जोखिम बढेसँगै बहुमूल्य काठ हुने साखुका नयाँ लाथ्रा (भर्खरका कलिला रुख) डढेर खरानी बनेका स्याङ्वासहितका गणन्तावासी बताउँछन् । बर्दिवास–१, ३, ४, ५, ८, १० र ११ मा वनसँगै जोडिएका २० भन्दा बढी बस्ती छन् । वनमा डढेलो देखिनासाथ आगलागीको डरले मुटु काम्ने गरेको बर्दिवास–५ सोनापेटी बस्तीकी १७ वर्षीया किशोरी सानीमाया तामाङ बताउछिन् । बर्दिवासकै वडा नं २ र १४ पनि वनक्षेत्रसँग सीमा जोडिएका छन् । यसैगरी गौशाला नगरपालिकाका रामनगर, बेलगाछी, भाण्टाबारी, ढल्केवर, बटुवा, लक्ष्मीनियाँ र कान्तीबजार वनक्षेत्रसँगै जोडिएका बस्ती हुन् । वनक्षेत्रमा डढेलो देखिनासाथै बस्तीमा त्रास छाउने गरेको बटुवाका बासिन्दा सूर्यनारायण महतो बताए । पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको दायाँबायाँ गरी सागरनाथ वन विकास परियोजना, धार्मिक वन, साझेदारी वनक्षेत्र र सामुदायिक वनक्षेत्र गरी अहिले १६ हजार हेक्टर क्षेत्रफलमा वन कायम छ । यसअघि विभिन्न समयमा भएका अतिक्रमण, चोरीतस्करी र डढेलोले आठ हजार हेक्टर क्षेत्रफलको वन उजाड भइसकेको बर्दिवास–५ का वडाध्यक्ष दलबहादुर थापामगरले भने । खासमा वनक्षेत्रमा देखिने डढेलोचाहिँ यससँगै जोडिएका बस्तीबाट घाँस–दाउरा गर्न र वस्तु चराउन आउने गोठालाले लगाउने गरेका बूढापाकाको भनाइ छ । वनमा रुखबिरुवाले पुराना पात झारेर नयाँ मुना पलाउने बेलामै डढेलो देखिने गरेको छ । यतिखेर सुकेर झरेका पतिङ्गरमा डढेलो लगाए त्यसपछि वर्षा हुनासाथ राम्रो घाँस पलाउने र चरण बढ्ने आसले घाँसे र गोठालाले डढेलो लगाउने गरेका गौशाला–१ का ६५ वर्षीय चन्देश्वर महतो बताए । यद्यपि कहिलेकाहीँ हावाहुरीबीच रुखरुखबीच हुने घर्षणले पनि डढेलो लाग्नसक्ने महतोको भनाइ छ । पछिल्लो कालमा वन सुरक्षा गस्तीको लापरवाहीले डढेलो नियन्त्रण हुन नसकेको यहाँका (बर्दिवास र गौशालाका) बासिन्दा बताउँछन् । वर्षेनी डढेलोको चपेटामा वन परिरहे पनि अहिलेसम्म कसैलाई पक्राउ गरेर कारवाही गरेको थाहा नपाइएको बटुवाका सामाजिक कार्यकर्ता ७० वर्षीय लक्ष्मी महतोले जानकारी दिइन । यसैबीच डिभिजन वन कार्यालय महोत्तरीले भने वनक्षेत्रमा सुरक्षा गस्ती झन् बढाइएको जनाएको छ । “कार्यालयसँग रहेको जनशक्ति हामीले गस्तीमा पठाइरहेका छौं”, डिभिजन प्रमुख हेमन्तप्रसाद साहले भने । रासस