विकासन्युज

कुवेतमा ३ नेपाली कोरोना संक्रमित, दूतावासमा गुनासो बढ्दाे

काठमाडौं । कुवेतमा ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समय नेपालीको प्रमुख रोजगार गन्तव्यको रुपमा स्थापित भईरहेको कुवेतमा ३ जना नेपालीमा कोरोना संक्रमण रहेको दूतावासले जानकारी दिएको छ । कोरोना फैलिएसँगै पछिल्ला दिनमा कुवेतमा रहेका नेपालीको गुनासो बढ्दै गएको कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले बताए । उनले भने, ‘कोरोनाको संक्रमण बढ्दै गएसँगै कम्पनीहरु बन्द भईसकेका छन् । भीडभाडजन्य सबै काम बन्द छ, स्वास्थ्य अवस्थामा चिन्ता मात्र नभई रोजगार गुम्ने हो कि भन्ने आम मानिसमा एक खालको त्रास उत्पन्न भएको छ ।’ चीनको उहानबाट शुरुभएको कोरोनाले विश्वभरीका ८३ हजार ४ सय ४२ जनाको मृत्यु भएको छ भने १२ लाख ५६ हजारभन्दा बढी नागरिक संक्रमित छन् । कुवेतमा साझ ५ बजेदेखि विहान ६ बजेसम्म कर्फू चलिरहेको छ । त्यस्तै कोरोना संक्रमित बढेसँगै कुवेत सरकारले मार्च १ तारिकदेखि आशिंक आममाफी घोषणा गरेको राजदूत भण्डारीले जानकारी दिए । रोजगारीमा कुवेत रहेका विभिन्न देशको श्रमिकलाई निशुल्क आ आफ्नो देश फर्काउने व्यवस्था सरकारले गरेको छ । आंशिक आममाफी घोषणामा कोरोना नियन्त्रण भएसँगै पून कुवेत रोजगारीको लागि जान पाउने व्यवस्था छ । पछिल्लो समय कुवेतमा ८ सय ५५ जनामा कोरोना भाइरस देखिएको छ । त्यस्तै १ जनाको मृत्यु भएको छ, भने १ सय ११ जनाको कुवेतका नागरिक उपचार पछि घर फर्किएका छन् ।

साउदीमा कोरोनाबाट निको भएर काममा फर्किए तीन नेपाली

काठमाडौं । साउदी अरबमा कोरोनाको संक्रमण भएका ४ जना नेपाली नागरिकहरु मध्ये ३ जना निको भइ काममा फर्किएका छन् । साउदी स्थिति नेपाली राजदूतावासले प्रेस विज्ञप्ती जारी गर्दै  पछिल्लो समय  नेपालीमा कोरोना संक्रमण नदेखिएको जानकारी गराएकाे हाे ।  तीन जनालाइ पुन रूपमा निकाे भएकाे र एक जना कोरोना संक्रमित नेपालीको उपचार भइरहेको जानकारी दिँदै राजदूतावासले उनीहरूकाे नाम गोप्य राखेको छ । साउदी अरबमा तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २९३२ पुगेको छ । आज थप १३७ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ६३१ जना निको भएका छन् ।

लकडाउन नभएको संसार

काठमाडौं । ‘सबैतिर लकडाउन छ । बजार पुरै बन्द छ । घरमा बस्दा बस्दा वाक्कदिक्क भईयो । जीउ दुखेर हैरान भयो’ धेरै नेपालीहरुले सुनाउने गनगन हो यो । तर लकडाउन नभएको संसार धेरै ठूलो छ । मानिसलाई सबैभन्दा प्यारो आफू र आफ्नो परिवार हो । श्रीमान–श्रीमती, छोरा–छोरी, बुबाआमा र, अन्य सदस्यहरु । तपाई स्वस्थ्य रहनुहोस् । परिवारसँगै रमाउनुहोस् । एकले अर्कालाई माया गर्नुहोस् । प्रेममा लकडाउन छैन । मायामा लकडाउन छैन । फूर्सद छ । सक्दो प्रयास गर्नुहोस् । हिजो बुझाउन नसकेको कुरा आज बुझाउनुहोस् । विगतमा असफल भईरहेको प्रेम पनि यहि बेला सफल हुन सक्छ । संसारमा सबैभन्दा महँगो बन्दै गएको विषय ज्ञान हो । नयाँ सोच हो । तपाई अध्ययन गर्नुहोस् । लेखपढ गर्न लकडाउन भएको छैन । कल्पना गर्नुहोस् । अवचेतन मष्तिस्कलाई ब्यूँझाएर चेतनयुक्त बनाउनुहोस् । नयाँ सोचका साथ नयाँ योजना बनाउनुहोस् । नयाँ आइडिया अगाडि बढाउनुहोस् । आफ्नो क्षमताको विकास गर्नुहोस् । क्षमता विकासका कार्य गर्न लकडाउन गरिएको छैन । विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं मानिसहरु विभिन्न विषयका प्यासी हुन्छन्, भोका हुन्छन् । साथी सर्कल बढाउने धेरै मान्छेकाे चाहाना हुन्छ । पुरानो सम्बन्ध नविकरण गर्ने समय यहि हाे । पुराना फोटो एल्वम खोल्नुहोस् । पारिवारिक सम्बन्धका सदस्यहरुलाई सम्झनुहोस् । तपाईका स्कूलका साथी कहाँ छन् ? कलेजका साथी कहाँ छन् ? पुराना प्रेमि/प्रेमिका कहाँ छन् ? के गर्दैछन् । खोजी गर्नुहोस् । फोन गर्नुहोस् । भिडियो कल गर्नुहोस् । च्याट गर्नुहोस् । इमेल गर्नुहोस् । टेलिफोन सेवा बन्द भएको छैन । इन्टरनेट सेवा बन्द भएको छैन । म्यासेन्जर, भाइवर, ह्वाट्स्एप, जुम लगायत सित्तैमा घण्टौं कुरा गर्न मिल्ने माध्यमहरु छन् । प्रयोग गर्नुहोस् । फाइदा लिनुहोस् । चिनजान, सम्बन्ध, सम्पर्कले धेरै काम गर्छ । अझ राम्रो जागिरको अवसर मिल्न सक्छ । विजनेश विस्तारको लागि नयाँ नेटवर्क बन्न सक्छ । अरुबाट नयाँ आइडिया लिएर तपाईं आफैंले नयाँ काम शुरु गर्न सक्नुहुन्छ । कुराकानी गर्न र सम्बन्ध विस्तार गर्न लकडाउन भएको छैन । तपाईले धेरै तिर सुन्नुभएको छ–योग, ध्यान, मेडिटेशन आदि इत्यादि । यी सबै कुरा सिक्ने समय अहिले नै हो । योग अभ्यास गर्नुहोस् । मेडिटेशन गर्नुहोस् । घर भित्र गर्न सकिन्छ । कोठाभित्र गर्न सकिन्छ । कौसीमा गर्न सकिन्छ । तपाईं स्वस्थ्य बन्नुहुन्छ । पहिलाभन्दा उर्जासिल बन्न सक्नुहुन्छ । नजाने यूट्युव हेर्नुहोस् । मम बनाउने  विधिदेखि बम बनाउने सुत्र समेत यूट्युव वा गुगल हेरेर सिक्न सक्नुहुनेछ । जहाँ लकडाउन भएको छैन । याद गर्नुहोस्, लकडाउन त घरबाहिर ननिस्कन मात्र हो । तर तपाईं घरभित्रै बसेर विश्व जान्न र बुझ्न सक्नु हुनेछ । नेपालभित्रै कुन जिल्ला कुन एरियामा पर्छ । विश्वमान चित्रमा कुन देश कहाँ पर्छ ? कसको छिमेकी को रहेछ ? कुन देशको भूगोल कति रहेछ ? गुगल म्याप हेर्नुहोस् । संसारका रमणिय क्षेत्रका डकुमेन्ट्रीहरु हेर्नुहोस् । तपाईंले कल्पना गरेको भन्दा नयाँ संसार देख्न सक्नुहुनेछ । एयरपोर्ट बन्द भएकोमा के चिन्ता ? तपाईंलाई संसार देख्नुछ, जान्नु छ र बुझ्नु छ भने लकडाउन भएकाे छैन । तपाईंले नजानेको कुरा धेरै हुन सक्छ । आर्ट बनाउने रहर छ, प्रयास गर्नुहोस् । बोल्ने, लेख्ने भाषा सुधार गर्नु पर्नेछ, मौका यहि हो । टाइप गर्न आउँदैन, अभ्यास गर्नुहोस् । डिजिटल पेमेन्ट गर्न आउँदैन, मोवाइल बैकिङ चलाउन आउँदैन, सिक्नुहोस् । नयाँ सिकाइकाे लकडाउन भएकाे छैन । अँ । इन्टरनेट नभएको ठाउँमा नि ? पढ्न, लेख्न रुची नभएको मान्छेले के गर्ने नि ? तपाईंकाे मनमा लाग्न सक्छ । बाँसुरी बजाउन सिक्ने चाहना छ, उत्तम सयम हो । गाउन, नाच्न सिक्ने रहर छ, सहि समय यहि हो । घरभित्र खेलिने खेलहरु सिक्न मन छ, मज्जाले सकिन्छ । तपाईं  किसान ? मकै छोडाउनुहोस् । बारीको नियालो काट्न लकडाउन भएको छैन । डोको डालो बनाउनुहोस् । गोठमा पराल छ, गुन्द्री बनाउनुहोस् । ऊल हुनेले गलबन्दी बनाउनुहोस्, ढुंगा हुनेले मूर्ति बनाउनुहोस् । बालमत्लव, इन्टरनेट किन चाहियो ? चैत ११ गते मेरो घर अगाडिको रुखमा भर्खरै पालुवा पलाउँदै थिए । रुख नाङ्गो थियो । अहिले पातले ढकमक्क भएको छ । लकडाउन हुनुपूर्व मेरी छोरीलाई उमेर सोध्दा १५ वर्षको भएँ भन्थिन । अहिले १६ वर्षकी भएँ भन्छिन् । हामी सबैको उमेरमा लकडाउन भएको छैन । हरेक दिन विहान घाम उदाएकै छ । राती तारा झकमक्क चम्किएकै छन् । यहि बीचमा अलिअलि पानी पनि परेकै छ । चैते हुरी चलेकै छ । मलाई लाग्छ संसारमा धेरै कुरा खुला छ । लकडाउन हुनुपूर्व तरकारी, दाल चामल किन्न बजार जानु पर्थ्याे, अहिले अनलाईनबाट अडर गर्दा घर मै आईपुग्छ । बैंक, बीमा कम्पनीहरु ग्राहकलाई अनलाईन कारोबार सिकाईरहेका छन् । हिजो फरक बैंकको एटिएमबाट पैसा निकाल्दा पैसा काट्थ्यो । लकडाउनसँगै निःशुल्क भएको छ । लकडाउनलाई छिचोल्दै डाक्टर, वकिल, पत्रकार लगायतका पेशाकर्मी अनलाईनबाट सेवा दिन शुरु गर्दैछन् । मनोरञ्जनकर्मी त लकडाउन हुनुपूर्व नै यूट्युवमा हावी भईसकेका छन् । पानी, विजुली, फोन, इन्टरनेट, स्कूल फी सबै अनलाईनबाट तिर्न प्रणालीको विकास भएको धेरै भयो । धुलो खान र लाइन बस्न बानी परेकाहरु मात्र हो, भौंतारिँदै हिँड्ने । स्कूल कलेजहरुले पनि अनलाईनबाट पढाउने अभ्यास हुँदैछ । सिटिङ मिटिङ डिजिटल मिटिङमा रुपान्तरण भईसक्यो ।  यस्ता अनेकाै परिवर्तन हाम्रा अगाडि छन्, मात्र हामीले अनुसरण गर्न बाँकी छ । हो, केही अप्ठ्याराहरु पक्कै छन् । अप्ठ्यारालाई सप्ठ्यारो बनाउने प्रयास गर्नुहोस् । सोच्नुहोस्, तपाईले आफ्नो इलमशैलीमा पनि परिवर्तन गर्न सकिन्छ कि ? भुल्नै नहुने सत्य के हो भने, हामीले चाहे जस्तो संसार हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि हुनेवाला छैन ।

कोरोना भाइरसबाट पैसालाई कसरी संक्रमणरहित बनाउने ? डा. रवीन्द्र पाण्डेकाे धारणा यस्ताे छ

काठमाडाैं । हामीले दैनिक रुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा फोहोर हुन्छ | एउटा नोटमा सयौं किसिमका ब्याक्टेरिया, फंगस तथा भाइरस हुन्छन | पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकोले पैसा बिभिन्न रोगको संवाहक हुनसक्छ । कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन । नोटभन्दा क्वाइनमा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ । नोटमा २ दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ । रुघा लागेको व्यक्तिको म्युकस, मयल, ठाउँ अनुसारको फोहोर नोटमा लामो समयसम्म रहन्छ । स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहन सक्ने बताएको छ। क्यासको बिकल्पको रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ | कार्ड पनि संक्रमित हुनसक्छ । ओंलाइन कारोबार भने सुरक्षित मानिन्छ ।  – चीनमा कोरोना संक्रमण सुरु भएदेखि पुराना नोट नष्ट गरिंदै आएको छ | टर्कीमा पैसालाई संक्रमणरहित बनाउने मेसिनको प्रयोग गरिएको छ । त्यस्तै कोरियामा नोटलाई १५० डिग्री सेल्सियसको तापक्रम दिएर मात्र बजारमा पठाइन्छ भने हंगेरीमा नोटलाई १४ दिन क्वारेन्टाइनमा राखेर तथा १७० डिग्री से तापक्रम दिएर बजारमा पठाइन्छ | यसको लागि अल्ट्राभ्वाइलेट रे को प्रयोग गरिन्छ । त्यस्तै कुवेतमा पैसालाई ४ हप्ता क्वारेन्टाइनमा राखिन्छ भने अमेरिकाले पनि संक्रमित ठाउँबाट ल्याएको पैसालाई क्वारेन्टाइनमा राख्दछ । – अध्ययनले बताएको छ, १० % कोरोना भाइरस ४ घण्टासम्म मात्र नोटमा रहन्छ | जसलाई रातभर सुख्खा ठाउँमा राख्ने हो भने वा २ घण्टा घाममा राख्ने हो भने सामान्यतया संक्रमणरहित हुन्छ | केहि देशमा नोटलाई सर्फ पानीमा भिजाएर घाममा सुकाउने गरिएको पाइन्छ भने किटाणु मार्नको लागि नोटमा आइरन गर्ने पनि अभ्यास रहेको छ । –  क्वाइनलाई स्प्रिट वा स्यानिटाइजरले सफा गरेर घाममा सुकाएर सुरक्षित गरिन्छ | हाम्रो परिप्रेक्ष्यमा ग्लोभ लगाएर मात्र पैसाको कारोबार गर्ने, पैसालाई भान्सा, बैठक वा सुत्ने ठाउँमा नराख्ने, प्रयोग भएको पैसालाई सुख्खा ठाउँमा फिजारेर राख्ने तथा सामान किन्दा खुद्रा मिलाएर दिने ( पैसा फिर्ता लिनु नपर्ने गरि ) गर्नु उपयुक्त हुन्छ । –  यी जति उपाय गरेपनि सबैभन्दा प्रभावकारी उपाय भनेको हात धुने नै हो | पैसा छोएपछि हातले नाक, मुख तथा आँखामा नछुने एबम साबुनपानीले मिचिमिची हात धुने नै हो | जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेकाे फेसबुकबाट साभार गरिएकाे । 

बिहीबारदेखि एनसीएचएल-इसीसी र एनसीएचएल-आईपीएसको क्लियरिङ्ग समय वृद्धि

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) बाट सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग ( एनसीएचएल इसीसी) र अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल आईपीएस)मा बिहीबारदेखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ्ग र सेटल्मेन्ट हुने भएको छ । सोही व्यवस्था अनुसार एनसीएचएल इसीसी को रेगुलर सेसनमा दिनको १ः३० बजेसम्म जम्मा गरिएका चेकहरु र एनसीएचएल आईपीएस मा दिनको १ः०० बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् । उक्त समय सीमा पछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था रहेको छ । हालको लकडाउनको अवस्थामा बैंक वित्तिय संस्थाहरुका सीमित शाखाहरुबाट मात्र कारोबार हुँदै आएको र ग्राहकहरुलाई शाखासम्म पुग्न समेत अप्ठेरो भएकोले, लकडाउनको दोस्रो हप्तासम्म एनसीएचएल इसीसी र एनसीएचएल आईपीएस मार्फत् प्रत्येक दिन ११ः३० बजेसम्म प्राप्त भएका कारोबारको मात्र सोही दिनमा क्लियरिङ्ग हुँदै आएको थियो । चैत्र मसान्तमा अत्यावश्यक सेवा सुविधा अन्तर्गतका भुक्तानीहरुको चाप अधिक हुने हुँदा लकडाउनको तेस्रो हफ्ताको लागि क्लियरिङ्ग र सेटल्मेन्टको समय परिवर्तन गरिएको हो । कर्मचारीहरुको तलब भत्ता, सरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर लगायतका भुक्तानीहरु चैत्र मसान्तमा अधिक मात्रामा हुने गर्दछन् । एनसीएचएलको कनेक्ट आईपीएसबाट भने साविक बमोजिम चौबिसै घण्टा यसको मोबाईल एप्स, वेबसाइट अथवा बैंक वित्तिय संस्थाका मोबाईल र ईन्टरनेट बैंकिङ्गबाट कारोबार गर्न सकिन्छ । लकडाउनको दौरान एनसीएचएलले पहिलो र दोस्रो हफ्तामा क्रमश १८ अर्ब ६ करोड रुपैयाँ र ३५ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार फर्छौट गरेको छ । एनसीएचएलले हाल एनसीएचएल इसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस, कनेक्ट आरटीजीएस र एनपीआई गरी पाँचवटा राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ, जसमा नेपाल राष्ट्र बैंक लगायत प्राय सबै बैंक वित्तिय संस्थाहरु आबद्ध छन् ।

सरकारकाे कोरोना कोषमा सहयाेग गर्ने बढे, हालसम्म करिब २ अर्ब रुपैयाँ जम्मा

काठमाडौं। सरकारले कोरोना कोषमा सहयाेग गर्नेकाे संख्या बढ्दै गएकाे छ । काेराेना राेकथाम तथा न्युनिकरणका लागि विभिन्न व्यक्ति तथा संस्थाले सरकारलाई सहयाेग गरेसँगै काेष पनि बढ्दै गएकाे हाे । हाल सम्म काेषमा एक अर्ब ८८ करोड रुपैयाँ जम्मा भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बुधबार साँझसम्म एक अर्ब ८८ करोड रुपैयाँ जम्मा भएको बताइएकाे छ। बुधबार मात्रै दुई करोड ७१ लाख पाँच हजार छ रुपैयाँ कोषमा जम्मा भएको छ । योसँगै अहिलेसम्म एक अर्ब ८८ करोड २९ लाख ३९ हजार ५३ रुपैयाँ कोषमा जम्मा भएको बताइएको हाे । बुधबार नेपाल लाइफ इन्स्योरेन्सले २४ लाख ३४ हजार, अर्थ मन्त्रालयले ११ लाख ९६ हजार, राष्ट्रिय समाचार समितिले पाँच लाख ८३ हजार, डिपार्टमेन्ट अफ हाइड्रोलोजीले चार लाख ३३ हजार, नारायणी अस्पतालले चार लाख ३१ हजार, रक्षा मन्त्रालयले दुई लाख ६७ हजार, न्याय परिषद् सचिवालयले दुई लाख ४३ हजार रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महिला आयोगले समान एक लाख ९४ हजार रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै, अहिलेसम्म नाम नखुलेको विभिन्न व्यक्ति तथा संस्थाबाट दुई करोड आठ लाख २० हजार ५८७ रुपैयाँ कोषमा जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेपालमा हालसम्म ९ जनामा काेराेना भाइरस देखिएकाे छ । जसमा एकजनालाइ निकाे भएर घर फर्किसकेका छन् भने ८ जना उपचाररत छन् । सरकारले पछिल्लाे समय काेराेना परीक्षणकाे दायरा पनि बढाएकाे छ ।

तिनाउ मिसन डेभलपमेण्ट बैंकले प्रदेश नं. ५ काे काेषमा दियाे १० लाख रूपैयाँ

काठमाडाैं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले  प्रदेश नं. ५ को कोरोना बिपत कोषमा १० लाख रूपैयाँ प्रदान गरेको छ ।  विकास बैंकले विश्वब्यापी रुपमा फैलिरहेको कोरोना (काेभिड १९) भाइरसको रोकथाम तथा संक्रमितहरुलाई उपचार सहयोगको लागि उक्त सहयाेग प्रदान गरेकाे हाे । उक्त १० लाखको चेक बैंकका अध्यक्ष टिकाराम घिमिरेले प्रदेश नं ५ का मुख्यमन्त्री शंकर प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंक संचालक समिति सदस्य जीवन प्रसाद वझा, राजेन्द्र प्रसाद वझा र प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठको उपस्थिति थियाे ।

आइतबारदेखि भरी ग्यास सिलिण्डर पाइने

काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ । पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए । उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर बिक्रीको निर्णय गरेको उनले बताए । बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते अपराह्न १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सबै कम्पनीका ग्यास भण्डारगृह भरिएर बुलेटमै ग्यास राखिँदै आएको बताए । उनका अनुसार देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिएको थियो । “एक साताअघिसम्म ग्यासको मागअनुसार डिपोमा ग्यास पुर्याउन भ्याइनभ्याइ थियो तर तीन दिनदेखि ग्यासको खपत नहुँदा डिपोमै राख्नुपरेको छ”, उनले भने, “आधा सिलिण्डर ग्यास बिक्री हुन थालेपछि उपभोक्ताहरुले ग्यास लिनै मानेका छैनन् ।” ग्यास बिक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहालले काठमााडैँ उपत्यकाका ३० प्रतिशत उपभोक्ताले आधा सिलिण्डर ग्यास लिनै नमानेको जिकिर गरे । रासस