आफ्नो प्रणालीबाट ग्राहकको सूचना चोरी भएको भायनेटद्वारा स्वीकार, यी सावधानीहरु अपनाउन आग्रह
काठमाडौं । भायानेट कम्यूनिकेशन प्रा.लि. आफ्नो ग्राहकहरुको सूचना प्रणालीमा साइबर घटना भएको स्वीकारेको छ । जसमा केही व्यक्तिगत डाटा जस्तै कि नाम, ठेगाना, इमेल ठेगाना र फोन नम्बरहरुमा अनाधिकारिक घुसपैठ गरिएको कम्पनीले पत्ता लगाएको छ । यससँगै भायानेटले डाटा उल्लंघनको श्रोत पहिचान गरी त्यसको रोकथाम गरिसकेको जानकारी गराएको छ । कम्पनीको प्राविधिक टोलीले भविष्यमा हुनसक्ने यस्ता सम्भावित कमजोरीहरुमा नजर राख्न र आवश्यक सुरक्षाको व्यवस्था पनि कार्यान्वयनमा ल्याइसकेका छ । कम्पनी अहिले नेपाल सरकारको साइबर क्राइम ब्यूरोसँग सम्पर्कमा रहेको र सम्बन्धित निकायसँग ती डाटाहरु कहाँ अपलोड भएका छन् भनेर पत्ता लगाउन आवश्यक कदम चाल्न अनुरोध गरेको छ । यो घटनाको बारेमा आन्तरिक टोली, साइबरसेक्योरिटि विज्ञद्वारा विस्तृत छानबिन गरिदै र ब्यूरोद्वारा सम्भावित प्रभावको चाँडै नै समाधान हुने कम्पनीले आशा गरेको छ । यो अप्ठ्यारो घडिमा ग्राहकहरुलाई निम्न लिखित सावधानीहरु तुरुन्तै अपनाउन कम्पनीले आग्रह गरेको छ । १. कुनै पनि नचिनेको नम्बरबाट आएको कल र एसएमएसको जवाफ नदिन र गैर-प्रमाणित एवं शंकास्पत इमेल नखोल्न र आफ्नो व्यक्तिगत जानकारी यस्ता श्रोतहरुलाई नदिन आग्रह गरेको छ । २. यदि भायानेटबाट कल आयो भने, आएको कल भायानेटकै निम्न आधिकारिक नम्बरहरुबाट आएको सुनिश्चित गनुपर्नेछ: – ९८०१०४६४१० – ०१–५९७०४४४ वा – ०१४२१७५५५ यी नम्बरहरु सेभ गर्न अनुरोध गरेको छ । त्यस्तै, आएको कल वास्तवमै भायानेटबाट आए-नआएको सजिलै चिन्न सकिनेछ । ३. यदि भायानेटबाट कुनै पनि इमेलहरु आयो भने कृपया उक्त इमेल @vianet.com.np डोमेनबाट आए-नआएको सुनिश्चित गर्नुपर्ने छ । ४. यदि कुनै पनि समस्या परेमा यी नंम्बरमा सम्पर्क गर्न सकिनेछ: कल सेन्टरः ०१-५९७०४४४, ९८०१०४६४१० फेसबुक च्याट सपोर्टः fb.com/vianetnepal ईमेलः [email protected]
नेपालमा यी पाँच कारणले कम देखियाे कोरोना भाइरसकाे सङ्क्रमण
काठमाडाैं । हालसम्म नेपालमा ९ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। त्यसमध्ये एक जना निको भइसकेका छन् भने ८ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा राखेर उपचार गरिदैँछ। बुधवार साँझसम्मको विवरण अनुसार सङ्क्रमणको आशंकामा थप १ सय ३४ जनालाई आइसोलेशनमा राखिएको छ। उनीहरूको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको छ। नेपालमा भेटिएका सङ्क्रमितमध्ये ८ जना विदेशबाट आएका छन् भने एकजना विदेशबाट आएका व्यक्तिकी आफन्त रहेकी छन्। नेपालको स्वास्थ्य सेवाको अवस्था र सुरुमै नेपालले विदेशबाट आउने नागरिक तथा विदेशीहरूका लागि बन्देज नलगाएको कारण देखाउँदै कतिपयले नेपालमा थप सङ्क्रमित हुनसक्ने बताउने गरेका छन्। त्यस्तो अनुमानलाई खण्डन गर्नेहरूले चाहिँ नेपालमा हालसम्म कुनै पनि एक स्थानमा एकै खाले लक्षण देखिएर धेरै मानिसहरू बिरामी भएको वा मृत्यु भएको नदेखिनुले त्यस्तो अनुमानलाई झूटो सावित गरिदिएको बताउछन्। विज्ञहरूले चाहिँ नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनु वा कम फैलिनुमा विभिन्न कारणहरूले भूमिका खेलेको हुनसक्ने बताएका छन्। विज्ञहरूले देखेका पाँच सम्भावित कारणहरू यस्ता छन्: १. परीक्षण नै नहुनु कतिपय चिकित्सकहरूले नेपालमा परीक्षण नै कम भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको बताएका छन्।उनीहरूका भनाइमा जति थोरै परीक्षण भएको छ त्यसैका आधारमा नेपालमा कोरोनाभाइरस धेरै फैलिएको छैन भन्न सकिदैँन। स्वास्थ मन्त्रालयका अनुसार बुधवारसम्म कुल २ हजार ३ सय ६६ नमुनाको परीक्षण गरिएको छ। त्यसमध्ये २ हजार ३ सय ५७ नमुनामा सङ्क्रमण देखिएको छैन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व प्रमुख डा. बाबुराम मरासिनी नेपालमा परीक्षणको गति र सङ्ख्या बढाउनु पर्ने बताउँछन्। उनी भन्छन्, “यो कुरा त हामीले सुरुदेखि नै भनिरहेका छौँ। विशेषगरी ज्यानुअरीदेखि नेपालमा धेरै पर्यटकहरू आए त्यसबेला नै नेपालमा धेरैमा सङ्क्रमण भएको पनि हुनसक्छ।” त्यस्तो सङ्क्रमण समयक्रममा आफैँ ठीक भएर गएको हुन सक्ने उनको भनाइ छ। ‘नेपाल जर्नल अफ इपिडिमियोलोजी’मा हालै प्रकाशित एउटा लेखमा पनि नेपालमा परीक्षण नै कम भएको उल्लेख गरिएको छ। नेपाली र विदेशी गरी ६ जना चिकित्सकहरू मिलेर लेखेको उक्त लेखमा “परीक्षणको अभावमा थोरै मानिसहरूको मात्र सङ्क्रमण पत्ता लागेको हुनसक्ने उल्लेख छ। यसरी कम परीक्षण हुनुमा परीक्षणक काठमाण्डू केन्द्रित हुनु, किटको अभाव र चिकित्सकहरूले नमुना लिन नमान्नुलगायतका कारणहरू रहेको केही सरकारी चिकित्सकहरूले बताए। तर सरकारले केही दिनअघिदेखि काठमाण्डू बाहिर पनि परीक्षण सेवा विस्तार गरेको छ भने तीव्र रूपमा परीक्षण गर्ने जनाएको छ। कतिपय चिकित्सकहरूले को अनुभवअनुसार उपत्यका बाहिर सेवा विस्तार गरिए पनि लक्षण देखिएकाहरूको थुकको नमुना लिन धेरै चिकित्सकहरू तत्पर देखिएका छैनन्। त्यसको उदाहरण दिँदै आफ्नो नाम सार्वजनिक गर्न नचाहने एकजना चिकित्सकले भने, “सुदूरपश्चिममा भेटिएका सङ्क्रमितहरूको स्वाब लिनका लागि त्यहाँका चिकित्सकले नमानेपछि नेपाली सेनाका चिकित्सक पठाएर लिइएको थियो। अझै पनि चिकित्सकहरू नमुना लिन तत्पर छैनन्। त्यसैले नमुना सङ्कलन र परीक्षण बढाउने भनेर मात्र हुँदैन।” २. नेपालीको जीवनशैली कतिपय चिकित्सकहरूले नेपालीहरूको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुनसक्ने तर्क गर्ने गरेका छन् । तर, उनीहरूकै भनाइमा यसबारे विस्तृत अध्ययन नभई ठोकुवा गर्न भने सकिदैँन। उनले विभिन्न पत्रपत्रिकामा आलेख नै प्रकाशित गरेर नेपाली जीवनशैलीको प्रभावले कोरोनाभाइरस फैलने सञ्जालहरू भत्किएको हुनसक्ने उल्लेख गरेका छन्। उनले भने, “हामीले धेरै पानी खेलाउने रहेछौँ अनि खानेकुराहरू पनि धेरै पकाएर खान्छौँ। त्यस्तै हात मिलाउने, अङ्कमाल गर्ने वा म्वाइँ खाने चलन पनि हाम्रोमा कमै छ। यस्ता क्रियाकलापले कोरोनाभाइरस फैलनबाट रोकेको हुनसक्छ।” उनले नेपालमा विगतमा सार्स र स्वाइन फ्लूको सङ्क्रमण पनि अन्यत्रजस्तो नेपालमा नदेखिएको स्मरण गर्दै अन्यत्रको हेरी भारतमा पनि सङ्क्रमणको फैलावट दर कम भएको बताए। पुनले भने, “हाम्रो खानपान र जीवनशैलीले कोरोनाभाइरस फैलने साङ्गलोलाई कतै न कतै चुडाँइरहेको छ भन्ने एउटा दरिलो तर्क हो। ३. नेपालीको प्रतिरक्षा प्रणाली ‘बलियो‘ हुनु विज्ञहरू नेपालीहरूमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरसको फैलावट कम भएको हुनसक्ने बताउँछन्। परीक्षण कम भएको अवस्थामा पनि नेपालमा कोरोनाभाइरससँग मिल्दोजुल्दो सङ्क्रमण एउटै टोल वा गाउँमा फैलिएको खबर अहिलेसम्म नआएको कुराले त्यसलाई पुष्टि गर्ने उनीहरूको तर्क छ। उनीहरूका बुझाइमा कोरोनाभाइरस फैलिएकै भए पनि नेपालीहरूको प्रतिरक्षा प्रणालीका कारण सामान्य लक्षणहरू मात्र देखिँदा धेरै अस्पतालसम्म नपुगेका हुनसक्छन्। डा. मरासिनी भन्छन्, “कतिपय रोगसँग लड्ने क्षमता जाति अनुसार फरक हुने गर्छ। त्यसबारे धेरै अध्ययन अनुसन्धान पनि भएका छन्। अमेरिकामा पनि गोरा र काला जातिबीच कुनै एउटा रोगसँग लड्ने क्षमता कम र बढी पाइएको छ।” “अर्को उदाहरण हेर्ने हो भने थाइल्यान्डमा दादुरालाई खासै ठूलो रोगै मानिदैन। त्यहाँका मानिसहरूले त्यसलाई पचाएको जस्तो देखिन्छ। तर हाम्रोमै दादुरा निकै घातक पनि भएको छ।” डा. पुन चाहिँ हाल नेपालमा भेटिएका ९ जना सङ्क्रमितमा एकदमै सामान्य खालका लक्षणहरू मात्र देखिनुलाई त्यसको गतिलो प्रमाण मान्छन्। उनी भन्छन्, “नेपालमा देखिएका ९ जनामै किन माइल्ड (कम) लक्षणहरू मात्र देखियो त? अहिले टेकुमै हामीले उपचार गरिरहेका बिरामीहरूलाई पनि हामीले राख्नैपर्ने भएकाले मात्र राखेका हौँ। अन्य रोग लागेको थियो भने उहाँहरूलाई घरै पठाइसक्थ्यौँ। कसैमा पनि कुनै गम्भीर लक्षण नै देखिएको छैन।” तर यसमा नेपालीहरूको प्रतिरक्षा प्रणालीले कति भूमिका खेलेको छ भन्ने चाहिँ अनुसन्धानकै विषय भएको उनले बताए।पुनका अनुसार नेपालीका लागि कोरोनाभाइरस नौलो पनि होइन। किनकी कोरोनाभाइरस एउटा प्रजाति हो र अहिलेको भाइरस सातौँ नम्बरको हो। सातमध्ये मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मेर्स) अर्थात् मेर्स-सीओभी पनि कोरोनाभाइरसकै कारण लाग्ने गर्छ। पुन उक्त भाइरस मध्यपूर्वमा मात्र धेरै फैलिएकाले त्यहाँ काम गर्ने धेरै नेपालीमार्फत् उक्त भाइरस नेपाल आएको हुनसक्ने ठान्छन्। तर त्यसको परीक्षण नगरिँदा नेपालमा नभेटिएको र नेपालीले उक्त भाइरसलाई पचाएको हुनसक्ने उनको अनुमान छ। त्यस्तै सार्सका बेलामा पनि नेपालमा नआएको देखिएको छ। त्यसबेला पनि परीक्षण कम हुँदा नदेखिएको हुनसक्ने उनी बताउँछन्। त्यस बाहेकका ह्युमन कोरोनाभाइरस भनिने चारवटा कोरोनाभाइरस रहेका छन्। पुनले भने “नेपालमा ह्युमन कोरोनाभाइरसहरू जन्मदेखि ६ महिनासम्मका शिशुहरूमध्ये ८ प्रतिशतमा देखिको एउटा अनुसन्धानले देखाएको थियो। त्यसले मलाई कतै हाम्रोमा एन्टीबडीको काम गर्यो कि जस्तो लाग्छ।” ४. बीसीजी खोपको प्रभाव क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ। कोरोना भाइरस सङ्क्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ। नेपालमा पनि बालबालिकाहरूलाई यो खोप अनिवार्य रूपमा लगाइदिने गरिन्छ। त्यसले गर्दा पनि नेपालमा सङ्क्रमण कम फैलिएको र सङ्क्रमितहरूलाई पनि उक्त खोपको प्रभावका कारण सामान्य लक्षणहरू मात्र देखिएको हुनसक्ने विज्ञहरूको भनाइ छ। मरासिनी भन्छन्, “यो विषय त अहिले सबैतिर चर्चामा आयो। खासगरी युरोप र अमेरिकामा यो मात्र नभई अन्य खोपहरू पनि लगाउन चलन कम छ। नेपालमा भने हामीले अनिवार्य नै खोप लगाउँछौँ। त्यसको प्रभाव पनि हुनसक्छ।” ५. भाइरस फैलाउने पूर्वाधार नै कम हुनु विशेषगरि कम विकसित देशहरूमा कोरोनाभाइरसको सङ्क्रमण निकै कम देखिनुको अर्को कारण भनेको भाइरस फैलाउन मद्दत गर्ने खालका शहरी पूर्वाधारकै कमी हुनसक्ने पनि चिकित्सकहरूको तर्क छ। विकसित देशहरूमा जमिनमुनी सब वे र मेट्रो रेललगायतका यातायातका संरचनाहरू रहेका छन्। त्यस्ता पूर्वधार भारतका महानगरहरूमा पनि बनेका छन्। “नियमित सफा राखिए पनि त्यस्ता संरचनामा मानिसहरूको भिडभाड भइरहने गर्छ। त्यहाँ कृत्रिम रूपमा तापक्रम त मिलाइएको हुन्छ तर घामको प्रकाश कहिल्यै पर्दैन। भाइरस त्यस्ता स्थानमा लामो समय टिक्छ भन्ने त प्रमाणित भइसकेकै कुरा हो। नेपालमा भने त्यस्ता संरचना नै छैनन्,” मरासिनी भन्छन्। नेपालमा प्राय: यातायातका साधनहरूमा भिडभाड भए पनि घामको प्रकाशमै हिड्ने खालका रहेको र सार्वजनिक यातायातमा विदेशीहरू चढ्दै नचढ्ने गरेकाले सङ्क्रमण कम गर्दा सङ्क्रमण कम भएको हुनसक्ने उनको तर्क छ। त्यस्तै ठूला ठूला लिफ्टलगायतका पूर्वाधारहरूमा कोचिएर मानिसहरू बस्ने तथा एक जनाले छोएको स्थानमा अर्कोले छुने क्रियाकलाप हुने गर्छन्। तर नेपालमा काठमाण्डू भित्र केही स्थानमा बाहेक अन्यत्र यस्ता पूर्वाधार नै नभएकाले पनि सङ्क्रमणको फैलावटको साङ्लो चुडाएको हुनसक्ने उनले बताए। उनले भने, “त्यति मात्र होइन युरोप अमेरिका तिर हेर्दा चिटिक्क तर पानीको खासै प्रयोग नहुने खालका शौचालयहरू पनि प्रयोगमा हुने गर्छन्। त्यसले पनि सङ्क्रमण फैलाउन भूमिका खेलेको हुनसक्छ। हाम्रोमा त चिटिक्क नभए पनि शौचालयमा पानी अनिवार्य चाहिन्छ।” सङ्क्रमण फैलाउन भाइरसलाई कति बेरसम्म बचाएर राख्न सक्ने खालका पूर्वाधार छन् भन्नेले पनि भूमिका खेल्ने उनको दाबी छ। बीबीसी
तीन महिनापछि तातोपानी नाका सञ्चालनमा
काठमाडौं । नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो । कोभिड —१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ । अत्यावश्यक सामग्री आयात गर्न नाका खोलिएको उहाँले बताउनुभयो । रासस
कुखुरा व्यवसायमा कोरोनाको कहर: दैनिक २२ करोड नोक्सान
काठमाडौं । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् । तर व्यवसायी भने महामारी रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का कारण उत्पन्न यो अवस्था टुलुटुलु हेरेर बस्नु बाहेकको अर्को विकल्प पाएका छैनन् । दुई साताको लकडाउनले मात्र नभएर बिगत दुई वर्ष यता नै कुखुरापालन व्यवसायमा देखिएको उतारचढावका कारण धेरै कृषक विस्थापित पनि भइसकेका छन् । बैंक सारेर ऋण थपेका कृषक मात्र टिकेको व्यवसायीहरुले बताउँदै आएका छन् । तर यतिखेरको यो महामारीले त झन् कति व्यवसायी र यससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएका किसान विस्थापित हुने हुन् भन्ने कुराको आँकलन अहिले नै गर्न गाह्रो भएको छ । चितवन कुखुरापालन व्यवसायको प्रमुख जिल्ला हो । कुखुरापालक कृषक एवं व्यवसायीहरुरुको छाता संस्था नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्र्रेल लकडाउन शुरु भएदेखि नै दैनिक कम्तीमा पनि २२ करोड ४० लाख ६० हजार यो व्यवसायमा घाटा भइरहेको बताए । पोख्रेलको भनाइमा चल्लामा ३ करोड ४५ लाख ७० हजार रुपैयाँ, ब्रोईलर तयारी कुखुरामा १५ करोड रुपैयाँ, अण्डामा ३ करोड ४५ लाख ९० हजार रुपैयाँ र अन्यमा ५० लाख रुपैयाँ दैनिक नोक्सान व्यहोर्नु परेको छ । “यो आजसम्मको अवस्था हो, यो लकडाउन अझै लम्बिँदै जाने हो भने यो नोक्सानीले कुन रुप लिने हो अहिले नै भन्न अझै गाह्रोछ” उनले भने । पोख्रेल व्यवसायी टिक्नै मुस्किल हुने अवस्थामा पुगेको बताए । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष समेत रहेका पोखे्रलका अनुसार देशभरमा ८ वटा लेयर्स् चल्ला उत्पादन गर्ने ह्याचरी छन् । तीनले सातामा २ लाख चल्ला उत्पादन गर्दछन् । प्रतिगोटा चल्लाको लागत मूल्य रु ९० पर्दछ । हाल ती खोरहरुमा १ लाख माउ छन् । अमेरीका, जर्मन, हल्याण्ड र फ्रान्सबाट ल्याइएका ती माउको प्र्रतिगोटा रु १ हजार पर्ने पोख्रेलले बताए । ब्रोईलर चल्ला उत्पादन गर्ने ३ सय २२ ह्याचरी छन् । ती ह्याचरीले सातामा ३५ लाख चल्ला उत्पादन गर्ने उनको भनाई छ । नेपालसँगै थाईल्याण्ड, मलेसिया, फिलिपिन्स, अमेरीका, बेलायत र भातबाट ब्रोईलर प्यारेन्ट ल्याउने गरिन्छ । ती माउ पतिगोटा ६ सय ५० रुपैयाँ पर्दछ । ब्रोईलर चल्लाको लागत मूल्य ५७.४५ पैसा पर्ने पोख्रेल बताए । उनका अनुसार कोईलर र कलर ब्र्रोईलर चल्ला उत्पादन गर्ने ह्याचरी १४ वटा छन् । जसले सातामा ४ लाख चल्ला उत्पादन गर्दै आएका छन् । कलर ब्रोईलर र कोईलर भारत र युरोपबाट ल्याइएका हुन् । कलर ब्रोईलरको माउ (प्यारेन्ट) १ हजार रुपैयाँ र कोईलर तीन सय रुपैयाँमा ल्याइएका हुन् र तिनको लागत मूल्य ४० रुपैयाँ पर्ने गर्दछ । हाल देशभरका ह्याचरीमा १ लाख ४० हजार माउ रहेका छन् । नेपालमा माउ (प्यारेन्ट) उत्पादन गर्ने ग्रयाण्ड प्यारेन्ट ह्याचरी २ वटा रहेका छन् । ती ह्याचरीले मासिक ७० हजार प्यारेन्ट उत्पादन गर्दछन् । पोख्रेलको भनाईमा ती ह्याचरी बाहेकका सबै ह्याचरीको चल्ला खाल्डो खनेर पुर्नुपर्ने बाध्यता रहेको छ । धेरैतिर अब यस्तै गर्नुपर्ने वाध्यता पनि आइसकेको छ । गतवर्ष फागुन यता चल्लाको मूल्य आउन नसक्दा निकै नोक्सान बेहोर्नु परेको उनको भनाई छ । चरल्लाको मूल्य नपाएपछि व्यवसायीहरुले १० दिन चल्ला उत्पादन वन्द समेत गरेका थिए । नेपालमा सातामा ४ लाख चल्ला उत्पादन गर्ने अबिनास ह्याचरी पनि छ । जसको ह्याचरीमा मात्र ६ अर्ब भन्दा बढी लगानी भएको जनाउदै आएको छ । गएको एक वर्षमा ह्याचरी क्षेत्रमा मात्र ३ अर्ब ६५ करोडभन्दा बढी नोक्सान भएको दाबी पोख्र्रेलको छ । नेपालमा कुखुरापान क्षेत्रमा १ खर्ब २० अर्ब रुपैयाँ लगानी भएको व्यवसायीहरु बताउँछन् । जसमध्ये ह्याचरीमा मात्र २० अर्ब भन्दा बढी लगानी भएको पोख्रेलको अनुमान छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केसीले कृषक टिक्ने अवस्था घट्दै गएको बताए । धेरै कृषक यस अघिनै विस्थापित भइसकेको उनले बताए । अण्डा उत्पादन गर्ने कृषकले बिगत दुई वर्षयता निरन्तर घाटा व्यहोर्नु परेको छ । केसीका अनुसार अहिले कृषकले उत्पादन गरेको अण्डा भण्डारण गरेर राखिएको छ । बिकेको अण्डा प्रतिगोटा ७ मा बिक्री भएको छ । लागत मूल्य मात्र प्रतिगोटा ११.५० पैसा भन्दाबढी पर्दछ । एउटै अण्डामा ४.५० पैसा नोक्सान छ । केही अण्डा बिक्री भएको भए पनि अन्य गोदाममै छ । गर्मी बढेकालेले अब त अण्डा नष्ट गर्नुको अर्को विकल्प पनि नभएको उनको भनाई छ । देशभरमा दुई हजार २ सयभन्दा बढी कृषक प्रत्यक्ष रुपमा यस पेशामा संलग्न छन् । जसले १ लाख जनशक्तिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको केसीको भनाई छ । संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल अण्डा गोदाममा थन्किएको र खुखुरालाई दाना खुवाउन कच्चा पदार्थ किन्ने पैसाको अभाव भएको बताए । उनले भने “हामी त पालिन्छौ नै कुखुरा कसरी पाल्ने ।” सबै किसानका सामु चिन्ता भएको जानकारी दिए । अहिले पेटभर खान नपाएका कुखुराले पछि पनि राम्रो उत्पादन दिन नसक्ने कँडेलको भनाई छ । अठार देखि १९ हप्ताका लेयर्स कुखुराले अण्डा दिन थाल्दछन् । ती कुखुराबाट राम्रो व्यवस्थापन भएमा ८२ हप्तासम्म अण्डा लिन सकिन्छ । कँडेल अहिले लकडाउन मात्र भन्दा पनि पहिलेदेखिकै समस्याले गर्दा टिक्न गाह्रो हुदै गएको बताउनुहुन्छ । लेर्यसमा मात्र रु २० अर्ब भन्दाबढी लगानी भएको उहाँको भनाई छ । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट सरकारले तत्काल सम्बोधन गर्न नसके नेपालको आत्मनिर्भर यो व्यवसाय विस्थापित हुने चिन्ता व्यक्त गरे । अहिलेकै अवस्थामा धान्नसक्ने कोही नभएको भन्दै उनले सरकारले तत्काल अनुदान दिन सक्नुपर्ने बताए । बैंक ऋणको ब्याज एकवर्ष मिनाहा गर्नुपर्ने, ऋणको तिर्नुपर्ने सावा एक वर्ष सार्नुपर्ने, चालु पूँजी बराबर पुनर्कर्जा दिनुपर्ने उनले बताए । साना लेयर्स तथा ब्रोईलर किसानका लागि स्थलगत अनुगमन गरी विस्थापित हुन नदिन कुखुरा गोटाको आधारमा नगद सहयोग गर्नुपर्ने र दानाको कच्चा पदार्थ मकै तथा भटमासको पिनामा भन्सारमा लग्दै आएको कृषि सुधार शुल्क हटाउनुपर्ने व्यवसायीको माग छ । यो लकडाउन कति जान्छ भन्न नसकिने भन्दै बिष्टले यत्तिकै अवस्थामा सहयोग नपाएमा ८० प्रतिशत कृषक विस्थापित हुने त्रास रहेको बताए । त्यस अवस्थामा बाहिरका उत्पादन छिरेमा नेपालको अर्थतन्त्रमा ठूलो असर पुग्ने बिष्टको भनाई छ । अन्य पेशाजस्तो यो पेशा नभएकाले यसको मर्मलाई तत्काल बुझिदिन सम्बन्धित निकायलाई अनुरोध गर्दै आएको बताए । नेपाल दाना उद्योग संघका पूर्वकेन्द्रीय अध्यक्ष डा तिलचन्द्र भट्टराई कुखुराले दाना नै खान नपाउने स्थिति आएको जानकारी दिए । अण्डा थन्किएर वसेको, ब्रोईलर कुखुरा विक्री नभएको र चल्ला मार्नुपर्ने बाध्यतामा रहेको उनको भनाई छ । नगदमा दानाको कच्चा पदार्थ किनेर उद्यारोमा कति दिन बिक्री गर्न सक्ने उनले गुनासो गरे । कुखुरा पालन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १२ लाखले रोजगारी पाएको र नेपालको अर्थतन्त्रमा यस व्यवसायले महत्वपूर्ण भूमीका खेलेको उनको भनाई छ । उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका भट्टराईका अनुसार पछिल्ला वर्षहरुमा चितवनभन्दा बाहिर ठूला फार्म सुरु भएका छन् । कुल उत्पादनको ३० प्रतिशत हाराहारी चितवनले ओगटेको उनको भनाई छ । नेपालमा कुखुराको दानाका लागि आवश्यक पर्ने धेरै कच्चा पदार्थ बाहिरबाट आउने गर्दछ । समग्रमा ६५ प्रतिशत कच्चा पदार्थ त बाहिरैबाट आउने भट्टराईको भनाई छ । मकै ७० प्रतिशत, भटमासको दाना र पिना ९५ प्रतिशत, औषधि ८० प्रतिशत र सूर्यमुखी पिना ४० प्रतिशत बाहिरबाट नै आउने गरेको छ । ढुटो भने नेपालकैले पुग्ने गरेको छ । भट्टराईको भनाइमा गत वर्ष कच्चा पदार्थमा ४० अर्ब रुपैयाँ खर्च भएको थियो । कुखुराजन्य पदार्थ एक खर्ब ६ अर्ब रुपैयाँभन्दा बढीको बिक्री भएको तथ्याङ्क छ । यो उत्पादनस्थलकै मूल्य हो । उनका अनुसार एक दिने चल्ला सात अर्ब ५८ करोड रुपैयाँ, दाना ४५ अर्ब ७९ करोड रुपैयाँ, अण्डा १७ अर्व ९३ करोड रुपैयाँ, मासु ३४ अर्ब ९७ करोड रुपैयाँ र मल ५० करोडको बिक्री भएको थियो । रासस
भारतमा काेराेनाका बिरामीकाे उपचारमा संलग्न चिकित्सककाे मृत्यु, मध्यप्रदेशमा हलचल मच्चियाे
काठमाडौं । भारतको मध्यप्रदेशमा पर्ने इन्दौर जिल्लामा कोराना भाइरस संक्रमितको उपचारमा संलग्न एक चिकित्सकको मृत्यु भएको छ । संक्रमित बिरामीको उपचारमा संलग्न डा शत्रुघन पंजवानीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ती सञ्चार माध्यमहरुले चिकित्सा स्वास्थ्य प्रमुखले ९सीएमएचओ० ले चिकित्सकको मृत्यु भएको पुष्टि गरिसकेको पनि उल्लेख गरेका छन् । केही दिनअघि डा। पंजवानीले भिडियो जारी गर्दै आफू पूर्ण रुपमा स्वस्थ रहेको र आफूलाई संक्रमण नभएको दाबी गरेका थिए । उनले आफूविरुद्ध अफवाह फैलाइएको भन्दै आपत्तिसमेत जनाएका थिए । यो सँगै इन्दौरमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
भारतमा तीव्र रूपमा बढ्दै ‘कोभिड १९’ का सङ्क्रमित
मुम्बइ । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । हालसम्म (बिहीबार दिउँसाे) १ बजेसम्म ५ हजार ९ सय ७९ जनामा काेराेना देखिएकाे छ । तयस्तै १ सय ८३जनाकाे मृत्यु भएकाे छ । भने नयाँ सङ्क्रमितकाे संख्या १ सय ८३ पुगेकाे विश्व स्वास्थ्य संगठनकाे भर्खरैकाे तथ्यांकमा समावेष छ । प्राप्त समाचारअनुसार यहाँ बिहीबार बिहानसम्म ५ हजार ७ सात ३४ जनामा यसको सङ्क्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । महाराष्ट्रमा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र सङ्क्रमितहरुको संख्या त्यहाँ १ हजार १३५ जना पुगेको बताइएको छ । पछिल्लो २४ घन्टा अर्थात बिहीबार बिहानसम्म मात्र महाराष्ट्रमा कोभिड १९ का ५० भन्दा बढी सङ्क्रमित थपिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका सङ्क्रमितहरुको संख्या १ हजार १ सय ३५ पुगेको बताइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी सङ्क्रमितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । ती ६० मध्येका २५ जना बृहनमुम्बई म्युनिसिपल कर्पोरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् । भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ५ सय ४० जना संक्रमित थपिएका छन् । भारतमा पछिल्ला केही दिनमा यतिधेरै विरामी भेटिन थालेका हुन् । हिजो पनि त्यहाँ ७ सय ४३ जना संक्रमित भेटिएका अधिकारीहरुको भनाई छ । भारतमा बिहीबारसम्म ५ हजार ७ सय ३४ जना संक्रमित पाइएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कुराको जानकारी दिएको हो । यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ४ सयभन्दा बढी सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा अहिले पनि भारतमा ५ हजार भन्दा बढी विरामी अस्पतालमा उपचाररत छन् । मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार यहाँ ५ हजार ९५ जना विरामी अस्पतालमा छन् । गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १७ रहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । यसरी भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १सय ६६ जना पुगेको पनि भारतको स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा उल्लेख गरिएको छ । महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना सङक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७ सय ३८ पुगेको छ । त्यसपछिका बढी सङ्क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका सङ्क्रमितको संख्या ६ सय ६९ रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस/एएनआई
कोरोना परिवेश: चुनौतीलाई यसरी बदलौं अवसरमा
आज कोरोना भाइरस महामारीको चपेटामा जसरी हामी परेका छौं, त्यसलाई सहज रुपमा लिन सकिने अवस्था भने अवश्य छैन । जुनसुकै घट्नाको पनि राम्रा नराम्रा दुबै पक्ष हुन्छन् चाहे त्यो सानो होस् या विश्वलाई नै हल्लाउन सक्ने बिकराल परिस्थिती । कोरोनाको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ विश्वका धेरै देशले गरेको लकडाउनका कारण धरासायी बन्दै गएको आर्थिक स्थिती, करोडौंको संख्यामा बेरोजगारहरु बढ्नु, मानवको मस्तिष्कमा नराम्रोसँग डरले जरा गाड्नु लगायतलाई यसको नराम्रो पक्षका रुपमा लिन सकिन्छ भने परिवारका सदस्य लगायत आफन्त तथा चिनेजानेका सबैसँग व्यवहारिक तथा भावनात्मक रुपमा सम्बन्ध बलियो बनाउने अवसर प्राप्त हुनु र त्यसैगरी मनपरेको विषयमा पढ्ने, सिक्ने अवसर प्राप्त हुनु लगायतलाई चाहिँ यसको राम्रो पक्षका रुपमा लिन सकिन्छ । कोराना नामक विषय अथवा घट्ना जस्तोसुकै भयावह भएता पनि हामिले आफुलाई मानसिक रुपमा सवल बनाइरहनु पर्ने हुन्छ । भनिन्छ नि, रुखको हाँगामा बसेको चरालाई हाँगा भाँचिने डर हुँदैन कारण हो उसले हाँगालाई भन्दा पनि आफ्नो पखेटालाई पूर्ण विश्वास गरेको हुन्छ । ठिक त्यसैगरी तपाईं हामीले पनि आफू माथि पूर्ण विश्वास राख्दै माथि बताइएका राम्रा पक्षतर्फ मात्र आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गर्ने हो भने अहिलेको विकराल अवस्थामा पनि तपाईंमा भएको उर्जा घट्न पाउने छैन । यस लेखमार्फत् केही उपायहरुका बारेमा चर्चा गर्न गइरहेको छु जसको प्रयोगबाट तपाईं कोरोना भाइरसका कारण देखिएका चुनौतीलाई अवसरको रुपमा बदल्नमा सफल हुनुहुनेछ । आफूलाई व्यस्त राख्ने अहिलेको त्रासमय अवस्थामा आफ्नो मनलाई सवल बनाउन एकदम जरुरी छ । होइन भने डिप्रेसन, उच्च रक्तचाप, मुटुको रोग, मधुमेह जस्ता रोगहरु लाग्न सक्ने वा बढ्न सक्ने संभावना प्रवल रहन्छ । मानसिक रुपमा सवल भइरहनका लागि सवैभन्दा राम्रो उपाय हो आफूलाई व्यस्त राख्नु । तपाईं पनि आफूलाई घरभित्रै विभिन्न किसिमका काममा व्यस्त बनाइरहनुहोस् । घर सफा गर्ने, कोठाका सामान तथा लुगाफाटाहरु मिलाउने, गमला तथा बगैंचाका फूलहरुको हेरचाहमा समय दिने लगायतका कामबाट तपाईं आफूलाई व्यस्त राख्न सक्नुहुन्छ । ध्यान, योग अथवा व्यायाम गर्ने अहिलेको फुर्सदको समयलाई भरपूर सदुपयोग गर्दै ध्यान, योग अथवा व्यायाम गर्ने बानी बसाउनुहोस् र साथै परिवारलाई पनि यसका लागि आग्रह गर्नुहोस् । महिलाहरुको सवालमा भन्नुपर्दा चाहिँ उनिहरुले रुपलाई जति ध्यान दिन्छन् शरीरलाई चाहिँ त्यति माया गर्ने गरेको पाइँदैन । सुन्नमा जति नमिठो लागे पनि यो सत्य हो कि शरीर स्वस्थ नभैकन रुपमा मात्र चमक पटक्कै आउँदैन । त्यसैगरी आज कोरोना भाइरसले स्वास्थ्यमा निम्त्याएको संकटबाट पनि हामिले स्वास्थ्य प्रती दायित्वको बोध गरिसकेको अवस्था छ । आफ्ना रहर तथा इच्छा पूरा गर्ने हाम्रो समाजमा प्रायःजसो महिला दिदीबहिनीहरुले (केहि पुरुषहरुले पनि) विभिन्न किमिका सामाजिक मर्यादामा बस्नुपर्ने कारणबाट आफू भित्र पलाएका रहर वा धोकोलाई मनभित्रै दबाउनुपर्ने बाध्यता छ । तर अहिले भने घर भित्रनै बसिरहनु पर्ने भएकोले र बाहिरका कोहि पनि घरभित्र नआउने भएकाले यो समयलाई सदुपयोग गर्दै आफुलाई मनपर्ने संगीत सुन्ने, मनोरञ्जनात्मक फिल्म हेर्ने, ज्ञानबद्र्धक पुस्तकहरु पढ्ने, खुलेर नाच्ने, उपयोगी कुराहरु इन्टरनेटबाट सिक्ने, परिवारसँगै बसेर रमाउने लगायतका कामहरु गर्न सक्नुहुन्छ । पर्याप्त मात्रामा घाम ताप्ने लामो समय लक डाउनमा बस्नुपर्दा हामीले आफ्नो शरीरलाई नजिकबाट नियाल्ने मौका पाएका छौं । यो वेलामा आफ्ना शारीरिक कमी कमजोरीलाई मनन गरी के कस्ता पोषण तत्व बढि या कमी भएको छ इन्टरनेटको सहायताबाट सो आँकलन गर्दै आहार तालिका बनाई अवलम्वन गर्न सकिन्छ । पानी प्रशस्त पिउनाले शरीरलाई फाइदा त पुग्छ नै त्यसैगरी पर्याप्त मात्रामा घाममा बस्ने गर्नाले पनि शरीरले भिटामिन डि प्राप्त गर्न सक्छ । व्यवसाय वा जागिरमा प्रयोग हुने कुरा सिक्ने व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा वा जागीर खाइरहेको अवस्थामा दिनभरी हामिलाई भ्याइनभ्याइ भै रहेको हुन्छ । समय अभावका कारण व्यवसाय वृद्धि गर्न वा आफूलाई योग्य बनाउनका लागि चाहिने कतिपय नयाँ कामहरु सिक्न सकिँदैन । तर अहिलेको समयमा चाहिँ हामी ढुक्क भएर आफ्ना व्यवसायिक उपयोगीमूलक कृयाकलापहरु सिक्न सक्छौं । घरघरमा इन्टरनेट जोडिएको अवस्था छ । यसलाई सहि उपयोग गर्ने बेला पनि यहि नै हो । भावानात्मक सम्बन्धलाई प्रगाढ बनाउने यो समयमा श्रीमान-श्रीमती दुवैले घर व्यवहार सम्बन्धी काम मिलेर गर्ने, बच्चाहरुको पढाई लेखाइमा ध्यान दिने र त्यसैगरी राम्रो अभिभावकत्व निभाउन भरपूर प्रयास गर्ने तर्फ ध्यान दिनुहोस् । साना नानीहरुलाई परिचारिकाले जस्तो हेरचाह गर्ने, असल साथी झैं बनेर उनीहरुको रुची तथा आवश्यकताका कुरामा ध्यान दिने गर्नुहोस् । यदि आफ्ना सन्तान अलि ठूला उमेरका छन् भने एउटा सच्चा प्रेमी झैं उनीहरुसँग मनका कुरा सुन्ने सुनाउने वातावरण सृजना गर्नुहोस् । त्यसैगरी यदी घरमा ज्येष्ठ नागरिकहरु हुनुहुन्छ भने उहाँहरुको कुरा सुन्ने, उहाँहरुको भोगाइलाई मनन गर्दै जीवनमा पाठ सिक्ने लगायतका काम गर्ने गर्नुहोस् । माथि बताइएका उपायहरुका अलावा व्यस्तताका कारण नजिक हुन नसकेका साथीभाई, नातागोता, व्यवसायिक सम्पर्कका ब्यक्तिहरु लगायतसँग सामाजिक सञ्जाल मार्फत् सम्पर्क कायम राखी सम्बन्धलाई अझ दिगो बनाउने प्रयास गर्नुभयो भने पनि तपाईं हाल कोरोना संक्रमणका कारण देखिएको चुनौतीलाई सहि रुपमा अवसरमा बदल्नमा सफल हुनुुहुन्छ । (लेखिका अर्लि चाइल्ड डेभलपमेन्टकी प्रशिक्षक हुनुहुन्छ)
कोरोना भाइरसलाई जितेकाहरुको अनुभव: ‘सकभर हुन नदिँऊ, भए आत्मबल बढाऊँ’
सांकेतिक तस्वीर अमेरिका । धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएस“गै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका हुन् । पाँच वर्षअघि अमेरिका आएका गौली अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत छन् । कोभिड–१९ को त्रास बढिरहँदा आफूलाई समेत सङ्क्रमण भएपछि केही आत्तिएको तर घरमै सेल्फ आइसोलेसनमा बसेर चिकित्सकको सल्लाहबमोजिमको गतिविधि गरेपछि अहिले स्वस्थ अनुभव गरेको उनले बताए । “झण्डै १० दिन कोरोनाविरुद्वको लडाइँमा अन्ततः मैले जित्न सकेँ । यसका लागि आत्मबल बलियो हुनु जरुरी छ । ठूलो औषधि भनेकै सकारात्मक सोच रहेछ”, गौलीले भने, “मुख्य कुरा म तन्दुरुस्त छु, मलाई सर्दैन भनेर कसैले नसोच्नुहोला र सङ्क्रमण भइहाल्यो भने हेलचेक्र्याई नगर्नुहोला ।” कोरोना लाग्दैमा मरिन्छ भनेर डराइनहाल्न अनुरोध गर्दै गौलीले लागेको खण्डमा पनि घरमै बसेर आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक खाना खाने र चिकित्सकको सल्लाहअनुरुप गतिविधि गर्दा यो रोगमाथि जित हासिल गर्न सकिने आफ्नो अनुभवलाई साटे । शुरुमा ज्वरो आएको, ज्वरोपछि खोकी लागेको, ज्वरो घट्दै नघटेको र विस्तारै दिनहरु बित्दै जा“दा श्वास फेर्न कठिन भएको स्मरण गर्दै गौलीले भने, “तर, आफ्नो आत्मबल बढाउँदै चिकित्सकको सल्लाहअनुरुपका गतिविधि गरे, आफूलाई भित्रबाट हार्न नदिन म लागिरहे । अहिले आराम अनुभव गरेको छु ।” आफूलाई कोभिड–१९ को सङ्क्रमण देखिएपछि अरुलाई सर्न नदिनका लागि आफैँले सजगकता अपनाउन पर्ने गौली बताउँछन् । “तातो पानी प्रयोग गर्ने, घरका सदस्यस“ग समेत दूरी कायम गर्ने गर्नुपर्दछ । मैले त रुम नै बेग्लै गरेको थिए”, उनले भने, “तातोपानीको बाफ लिने गर्थे, श्रीमती र बुबा पनि छ–सात फिट पर बस्नुहुन्थ्यो । मैले सर्न नदिन विशेष ख्याल गरेँ । त्यसैले होला बुबा र श्रीमतीलाई अहिलेसम्म देखिएको छैन । आगामी दिनमा पनि नदेखियोस् ।” उता इङ्गल्याण्डको साउथ इस्ट लण्डनमा कपुरका नामले परिचित पोखराका पद्म राणा पनि कोभिड–१९ को सङ्क्रमणका कारण उपचारपछि घरमै सेल्फ आइसोलेसनमा बसेर अहिले निको भएका छन् । उनी २० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । “मैले अस्पतालमा जाँच गर्न जाँदा मलाई निमोनिया र कोभिड सङ्क्रमण भएको थियो । तर पनि म अत्तलिन । अस्पतालमा रहँदा पनि मैले आत्मबल कहिल्यै घट्न दिइनँ”, उनले कोभिड–१९ सङ्क्रमणपछिको अनुभव साट्दै राससस“ग टेलिफोन सम्पर्कमा भने, “कोरोना सङ्क्रमणबाट बच्न ‘ब्यालेन्स डाइट’मा ध्यान दिनुहोस्, तातोपानी, सुप र झोलिलो पदार्थ भएको पोषणयुक्त खाना खान खानुहोस् । साथै सकेमा तातोपानीको बाफ लिन, अझ सकिन्छ भने दिनमा कम्तीमा दुईपटक स्टिम बाथ लिनुहोस् यी सबै घरमै बसेर गर्न सकिन्छ । नियमित ब्यायाम गर्न र अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्किन पनि उनी सबैमा आग्रह गर्छन् ।” अमेरिकाको न्यूयोर्क बस्दै आएकी ४४ वर्षीया नीमा शेर्पाको परिवारलाई नै कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । श्रीमान्–श्रीमती र दुई छोरासहित चार सदस्यीय नीमाको परिवार घरमै सेल्फ आइसोलेसनमा बसेको थियो । नेपाल सोलुखोम्बुका नीमा २२ वर्षअघि अमेरिका आएका हुन् । नीमा पेशाले नर्स छन् । नर्सिङ पेशामा भएका कारणले पनि आफ्नो परिवारलाई रिकभर गर्न सजिलो भएको उनले बताए । “घरमै एकले अर्काको आत्मबल बढायौँ । खोकी र ज्वरोको औषधि सेवन ग¥यौँ”, उनले, “लक्षणबाट नै कोभिड सरेको ठानेकी थिएँ, त्यही अनुसार नै मैले आफू र आफ्नो परिवारको शक्ति बढाउनका लागि गर्नुपर्ने काम गर्न थालेकी थिएँ । परीक्षण गरेको पाँच–सात दिनपछि बल्ल रिपोर्ट आएको थियो तर हामी त्यसअघिदेखि नै घरमा आराम गरेर एकले अर्कालाई ‘टेक केयर’ गरी बसेका थियौँ । रिपोर्ट आइपुग्दासम्म हाम्रो अवस्थामा केही सुधार भइसकेको थियो ।” उनले सकभर कोभिड हुन नदिने तर्फ नैं जोड दिनुपर्ने र भैहाल्यो भने पनि परिवारमा हुनुहुन्छ भने छुवाछुत जस्तो गरी होइन बरु एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्दछ, आत्तिनुहुदैंन उनले भनिन् । पछिल्लो समयमा आइरहेको तथ्याकंले पनि सङ्क्रमण पछिको रिकभरी रेट बढी देखाएको छ यो सुखद पक्ष भएकाले कोभिड–१९ को सङ्क्रमण भैहाले पनि आफ्नो आत्मबल बढाएर चिकित्सकीय परामर्शमा अगाडि बढ्दा फेरि पहिलाकैं अवस्थामा फर्कन सकिने निमाको बुझाई छ । अमेरिकाकै न्यूयोर्क निवासी ५० वर्षीय जीवन बम कोभिड–१९ सङ्क्रमणमा पर्नुभएको थियो । अहिले उनी पनि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई स्वस्थ बनाएकाे बताए । कैलाली टीकापुरका उनी २० वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ । “कोभिड–१९ लागिहाल्यो भने पनि शुरुदेखि नै लापरवाही गर्नुभएन, आराम गर्ने, ज्वरो नापिरहने, १४ दिनसम्म घरमा बस्ने, यदि ज्वरो घटेन भने इमर्जेन्सीमा जाने, निमोनिया हुन नदिने, शरीरमा शक्ति बढाउन केही न केही खाइरहने गर्नुपर्छ ।” बमले आफ्नो अनुभव साट्दै भने, “यो बेला आफ्नो आत्मबल बढाउनुपर्छ, आफूलाई कमजोर हुन दिनुहुँदैन ।” “शुरुमा ज्वरोको लक्षण देखिएपछि विस्तारै खोकी र स्वासप्रश्वासमा समस्या भयो । मलाई सङ्क्रमण भएको थाहा पाएपछि पनि म आफूलाई निको पार्न सक्छु भन्ने आत्मबलका साथ सेल्फ आइसोलेसनमा बसे”, उनले भने, “कोरोना सङ्क्रमण हु“दैमा मरिहाल्छु भनेर पनि सोच्नुहु“दैन । मैले ती सबै सोचिन तर हेलचेक्र्याइ पनि गरिनँ । परिवारका सदस्यहरुबाट टाढा रहे, दूरी बनाए । नियमित चिकित्सकले भनेअनुसार गतिविधि गरे अहिले सुधार भएको अनुभव गरेको छु ।” न्यूयोर्ककै अर्का कोभिड–१९ को सङ्क्रमणमा पर्नुभएका भोजपुरका शम्भु मोक्तान पनि घरमै सेल्फ आइसोलेसनपछि अहिले आफूले स्वस्थ महसुस गरेको बताउनुहुन्छ । पाँच दिन अस्पताल भर्नापछि मोक्तान घरमै सेल्फ आइसोलेसनमा हुनुहुन्छ । मोक्तान गएको १९ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । कोभिड–१९ को सङ्क्रमण भएको १५ दिनपछि अहिले आफू कोभिड–१९ को सङ्क्रमणले च्याप्नु अघिजस्तै बोल्न, हिँड्न र खान सक्षम भएको मोक्तानले बताए । अहिले आफूलाई विभिन्न देशबाट आफ्नो अनुभव साट्न आग्रह गर्दै सम्पर्क गर्ने गरिएको जनाउँदै उनले शुरुआती लक्षणदेखि अस्पतालको उपचार पद्धति र सेल्फ आइसोलेसनमा बस्दा आफूले गरेका गतिविधि बताउने गरेको उल्लेख गरे । सकभर कोभिड–१९ को सङ्क्रमण हुन नदिनका लागि विशेष ख्याल गर्न आग्रह गर्दै उनले यदि कोरोना लागिहाल्यो भने पनि आफ्नो आत्मबल बढाएर चिकित्सकले भनेअनुरुपको कार्य गर्न सबैलाई सुझाव दिन्छन् यस्तै स्पेनको बार्सिलोनामा कोरोना भाइरसको सङ्क्रमणपछि अस्पतालमा उपचार गराई विष्णु रिजाल अहिले घरमा सेल्फ आइसोलेसनमा बसेका छन् । सङ्क्रमणका कारण सिकिस्त बिरामी भएका बार्सिलोनामा बस्दै आएका अर्घाखाँचीका रिजाल आइसीयूमा भर्ना भएका थिए । घरमै आराम गरिरहेका उनी उनी कोरोनाको सङ्क्रमण भएमा उच्च मनोबल राख्न र रोग नलुकाउन सबैलाई आग्रह गर्छन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै “जन्मपश्चात मृत्यु शास्वत सत्य हो । तर त्यो सत्यको विरोधमा हामी सङ्घर्षशील रहिरहन्छाैं । सायद यही नै जीवनप्रति को मोह पनि हो । दुई हप्ता अस्पतालको कष्टकर बसाइपछि घर फर्केको छु अहिले ठिक भएको छु” उनले भनेका छन् । यस्तै अमेरिका न्यूजर्सीका बेगम पण्डित पनि आफूलाई कोभिड–१९ को सङ्क्रमणको लक्षण देखिएलगत्तै सेल्फ आइसोलेसनमा बसेका थिए । ४७ वर्षका पण्डित लक्षण देखिएलगत्तै आइसोलेसनमा बसेका कारण उनका परिवारका अन्य सदस्यमा कोरोना सङ्क्रमण हुन पाएन । सङ्क्रमण पुष्टि भएपछि घरमै आराम गर्न र गाह्रो भएमा मात्र अस्पतालमा आउन चिकित्सकले सुझाव दिएलगत्तै पण्डित आफू घरमै बसेको बताउँछन् । “अहिले घरमै आराम गरिरहेको छु । आराम अनुभव गर्न थालेको छु”, उनले भने, “कोरोना लाग्दैमा आत्तिहाल्नुपर्ने छैन । यसलाई हल्कारूपमा पनि लिनुहुँदैन । चिकित्सकले भनेअनुसारको गतिविधि गर्दा यो निको हुन्छ । आत्मबल बढाएर रोगविरुद्व लड्ने हो । तर सकेसम्म लाग्न नै दिनुहुँदैन ।” उता अमेरिका म्यासाच्युट्स बोष्टनका राम धिताललाई पनि कोभिड–१९ को सङ्क्रमण भएको थियो । २५ वर्षदेखि अमेरिका बस्दै आएका छन् । उनी घरमै सेल्फ आइसोलेसनमा बसेका थिए । अहिले आफूले पूर्ण स्वास्थ्यलाभ गरेको उनले बताए । “कोरोनाभाइरस पोजेटिभ देखिएपछि चिकित्सकको सल्लाहमा घरमा बसेर आराम गरे”, उनले भने,“मेरो पहिलादेखि नै मुटुको समस्या थियो, त्यसले गर्दा अलि चिन्तित थिएँ तर म डराएको थिइनँ, नियमको पालनाले मलाई ठिक हुन्छ भन्ने नै लागेको थियो ।” उनले सङ्क्रमणको अवधिभर आफूलाई तापक्रम बढ्ने र घट्ने भइरहने गरेको सुनाए । उनले घरमा आफू आइसोलेसनमा रहँदा चिकित्सकको परामर्शमा ज्वरो घटाउने औषधि पनि खानुभयो भने घरेलुरूपमा सजिलै गर्न सकिने तातोपानी, बेसार, ज्वानो आदिको प्रयोगलाई तीव्र बनाएको जानकारी दिए । त्यसो त आफ्नै छोरी नर्स र श्रीमती पनि स्वास्थ्य क्षेत्रमै काम गर्ने भएकाले पनि आफूलाई हेरचाह राम्रो भएको उनलाई लागेको छ । बेलुकाको समयमा त मैले भिक्स हालेको तातोपानीको बाफ सिरकले छोपेर लिने गर्दथे । बेलुकी खोकी लाग्दा ज्वानोपानी पनि खान्थे । उनले भने, “विश्व स्वास्थ्य सङ्गठन वा सिडीसीको गाइडलाइन्समा भएका सुझावको पालनाका साथै नेपालमा प्रचलित घरेलु उपायहरुको अवलम्बन गर्न समेत धिताल सबैमा आग्रह गर्छन् । अहिले पनि क्वारेन्टाइन ‘मेन्टेन’ गरेर घरमै बसेका छौँ । सकभर कोभिड–१९ को सङ्क्रमण लाग्न नैं नदिनेतर्फ सबैको ध्यान हुनुपर्नेमा चिकित्सकको समेत भनाइ छ । कोभिड–१९ लाग्दैमा मरिहालिन्छ भनेर डर पाल्न नहुने बताउँदैं अमेरिका नेपाल मेडिकल फाउन्डेशनका अध्यक्षसमेत रहेका डा सन्तोष सापकोटाले लक्षण देखिए बेलैमा चिकित्सकको सम्पर्कमा जान सबैमा सुझाव दिन्छन् । कोभिड–१९ लाई गम्भीरतापूवर्क लिइ सकभर लाग्न नै नदिनेतर्फ जोड दिनुपर्ने बताउँदै डा सापकोटा भन्छन्, “रोग लाग्नु भनेको मान्छेको स्वास्थ्यमा असमान्य स्थिति सिर्जना हुनु हो , त्यसैले सकभर लाग्न नै नदिन सचेत बन्नुपर्दछ । यदि लागिहाल्यो भने पनि चिकित्सकको परामर्शमा होम आइसोलेसनमा बसेर पनि निको हुन सकिन्छ, यो निको हुने दर धेरै छ ।” रासस