विकासन्युज

समापन हुँदै क्वारेन्टाइन अभियान नाट्य उत्सव, शनिवार कर्णाली र गुरुकुलको नाटक

काठमाडौं । भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को १६ औं दिन शनिबार दुई नाटक प्रदर्शन गर्दै समापन हुने भएको छ । कोभिड–१९ संक्रमणको सन्त्रासपछि सरकारले लकडाउनको घोषणा गरेलगत्तै चैत १४ गतेदेखि क्वारेन्टाइनमा बस्दा सहज बनाउने अभियानका साथ उत्सव सुरु भएको थियो । नाट्य उत्सवका रूपमा दैनिक नाटकको भिडियो प्रदर्शन गरिने कार्यक्रम आजबाट समापन भए पनि भिन्न स्वरूपमा अन्य भर्चुअल कार्यक्रम भने निरन्तर भइरहने उत्सव निर्देशक केदार श्रेष्ठले जनाए । ‘नाटकको भिडियो लाइभ स्ट्रिमिङमात्रै समापन गरिएको हो । रङ्गमञ्चसँग सम्बन्धित अन्य धेरै कार्यक्रमहरू तय हुँदैछन् । जसअन्तर्गत आइतबार नाटककै समय ५ बजे रङ्गमञ्च र भर्चुल माध्यमको विषयमा प्यानल डिस्कसनको योजना बनेको छ’, उनले भने । उत्सवको नियमित समय बेलुकी ५ बजे रङ्गमञ्च, कला, साहित्यका सन्दर्भमा कार्यक्रमहरू जारी राखिने नाट्य उत्सवका प्रस्तुति संयोजक प्रशुन सिन्धुलियले बताए । उनले भने, ‘अरू नयाँ र सिर्जनात्मक कार्यक्रम हुनेछ ।’ शनिबार (आज)को नाटक शनिबार दिउँसो १ बजे कर्णाली आर्ट सेन्टरको नाटक ‘गर्भछिटा’को भिडियो प्रदर्शन हुँदैछ । हिरा बिजुली नेपालीको लेखन र निर्देशन रहेको नाटकमा कर्णालीकै स्थानीय कलाकारहरुको अभिनय छ । जसमा विष्णुमाया परियारको साथमा राज मल्ल, गोविन्द सुनुवार, गणेश बहादुर खड्कालगायतको अभिनय देख्न पाइनेछ । त्यस्तै साँझ ५ बजे आरोहण गुरुकुलको नाटक ‘ताराबाजी लै लै’को भिडियो प्रदर्शन हुँदैछ । तत्कालिन गुरुकुलका अधिकांश कलाकारहरू रहेको नाटकले बाल्यकालिन समयमा पु¥याउँछ । गुरुकुलका अधिंकाश कलाकारहरू बालबालिकाको भूमिकामा छन् । नाटक नर्वेका रङ्गकर्मी मोर्टन क्रोगले कार्यशालाका क्रममा सिर्जना गरेका हुन् । को को छन् ‘ताराबाजी लै लै’ मा ? नाटक ‘ताराबाजी लै लै’मा भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, राजकुमार पुडासैनी, सौगात मल्ल, रामहरी ढकाल, अरुणा कार्की, प्रमिला कटुवाल, राजन खतिवडा, प्रविण खतिवडा, मणिराम पोखरेल, ओमप्रकाश कर्ण, महेश शाक्य कर्मा, समुना केसी, पशुपति राई, सरस्वती चौधरी, सुरेश चन्द, विपिन कार्की, सजन थापा मगर, रविन्द्रसिंह बानियाँलगायतले अभिनय गरेका छन् । जो सिनेमा र रङ्गमञ्चमा स्थापित भइसकेका छन् । काभिड–१९को संक्रमणबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको हो । नाटकको भिडियो थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल facebook.com/theatreMall  बाट लाइभ स्ट्रिमिङ गरिनेछ ।

टेकु अस्पताल भन्छ– ‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए । उनले भने, “अस्पतालमा उपचारको क्रममा रहेका कोभिड सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुई दिनभित्र अन्तिम रिपोर्ट आउनेछ, त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिनेछ ।” टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ । यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ । निर्देशक डा राजभण्डारीले विगतका तुलनामा पछिल्ला दिनमा अस्पतालको सेवामा सहजता आएको छ । जनशक्ति तथा उपकरणको कमी छैन । कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको र लकडाउनका कारण पनि उल्लेख्य सङ्ख्यामा बिरामी नआएको उनको भनाइ छ । “अस्पतालमा अहिले पहिलाभन्दा बिरामीको चाप कम छ । क्षयरोगलगायत अन्य सरुवा रोगका बिरामीलाई अन्यत्रै सिफारिस गरिएको हुनाले कोभिडको उपचारमा सहजता आएको छ”, निर्देशक डा.राभण्डारीले भने । यसैबीच अस्पतालले उपलब्ध गराउँदै आएको रेबिजको भ्याक्सिन भने नियमित भइरहेको छ । अहिले दैनिक ७० जनासम्म रेबिजको सुई लगाउन अस्पताल आउने गरेको अस्पतालका निर्देशक राजभण्डारीले जानकारी दिए । टेकु अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वारेन्टाइन कक्ष छन् । अहिले २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य उच्चगतिमा भइरहेको पनि निर्देशक राजभण्डारीले बताए । ‘अक्सिजन प्लाण्ट’ सहितको सघन उपचारकक्ष तयार गरिँदैछ । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गरी बिरामीको कपडा धुलाइका लागि अस्पतालमै वासिङ मेसिन, विद्युत्का लागि ‘पावर ब्याकप’ तयार गरेको अस्पतालले जनाएको छ । विश्व माहामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखा परेपछि यो निकै चिन्ताको विषय बनेको थियो । तर, कोरोनाको सङ्क्रमण देखिएपछि नेपालमा पहिलोपटक टेकु अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि निको भएर घर फर्किन लागेका छन् । यसअघि नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण फेला परेका एक नेपाली उपचारपछि घर फर्किसकेका छन् । कोभिड पहिलोपटक देखापरेको चीनको वुहान शहरबाट अएका उनी उपचारपछि घर फर्किएका थिए । नेपालमा दोस्रोपटक गत चैत १० गते १९ वर्षीया युवतीमा कोभिडको सङ्क्रमण देखापरेको थियो । नेपालमा हालसम्म नौ जनामा कोभिडको सङ्क्रम देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन् । नेपालमा दोस्रोपटक गत चैत १० गते कोभिडको नयाँ सङ्क्रमित फेला परेको थियो । चैत ४ गते कतार एयरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । त्यस्तै चैत १२ गते पुनः एक जनामा कोभिड पोजेटिभ देखिएको थियो । कोभिड पोजेटिभ देखिएका ती पुरुष व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन । यस्तै चैत २० गते बागलुङ्का ६५ वर्षीया एक ज्येष्ठ नागरिकमा कोभिड पुष्टि भएको थियो । पछिल्लोपटक चैत २२ गते एकै सुदूरपश्चिममा एकै दिन थप तीन जनामा कोभिड सङ्क्रमण भेटिएको थियो । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरिएको छ । हिजो मात्रै ६३० परीक्षण गरिएको थियो । आठ सय बढी परीक्षणको क्रममा छ । हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या १२५ रहेको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताए । बागलुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेष्टसम्बन्धी तालिम दिइएको र परीक्षणसमेत शुरु गरिएको उनले बताए । सङ्कटको समयमा जनशक्ति अभाव नहोस् भन्दै मन्त्रालयले सेवा बाहिरका र सेवा निवृत्त चिकित्सकलाई स्वेच्छिकरुपमा सेवामा आबद्ध हुन आग्रह गरिसकेको छ । मन्त्रालयले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने जनाएको छ । विभिन्न अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार हालसम्म विश्वभर हाल १६ लाख ९९ हजार ६३२ कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यीमध्ये एक लाख ३४ हजार २७ जनाको मृत्यु भएको छ भने तीन लाख ७६ हजार ३३ जना उपचारपछि घर फर्किएका छन् । हाल विश्वका करिब २१० देशमा कोभिड–१९ फैलिएको बताइएको छ । रासस

गाई किसानका पीडा : सरकार नुनपानी खुवाएर कहिलेसम्म बचाउने

काठमाडौं । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपालमा जारी लकडाउनका कारण पशुपालन किसान निकै पीडामा परेका छन् । उपत्यकामा उन्नत जातका गाई व्यावसायिकरूपमा पाल्नेको सङ्ख्या उल्लेख्य रहेको बेलामा कोरोना प्रभावका कारण पशुलाई खुवाउने दानादेखि पशुआहारको अभाव र दूध बिक्री नहुँदा किसान दोहोरो मारमा परेका छन् । ‘दूध उत्पादनका लागि घरमा केही गाई पाल्ने साना किसानभन्दा पनि करोडौं खर्चेर व्यावसायिकरूपमा गोठ (फार्म) सञ्चालन गरेर गाई पाल्ने किसानलाई यतिखेरे गाई पाल्नु न छोड्नु भएको छ ‘ उनले भने । चाँगुनारायण नगरपालिका–२ झौखेलमा डेस्टिनेशन एग्रो फार्म सञ्चालक प्रदीपराज पन्तले ठूला व्यावसायिक पशुपालकहरु यतिखेर निकै मारमा परेको बताए । नेपाल डेरी फार्मस् एशोसिएशनका अध्यक्षसमेत रहेका पन्तको झौखेलस्थित गोठमा ९० उन्नत जातका गाई छन् । तर गोठमा गाईलाई खुवाउने कुरा नभएपछि बचाउन मुस्किल परेको छ । लकडाउनका कारण आवश्यक दाना, दाना उत्पादन गर्ने कच्चा पदार्थ र भुसा आयात नभएपछि उपत्यकाका अधिकांश पशुपालक व्यवसायी निकै मर्कामा परेको उनको भनाइ छ । दुई चार गाई पाल्ने साना किसानलाई दैनिक खुवाउन घाँस तथा पिठो, ढुटोको समस्या कम भए पनि व्यावसायिकरूपमा गाई पाल्नेका लागि ठूलो समस्या भएको छ । साना किसानको दूध स्थानीयस्तरमा बिक्री गर्ने, दही तथा घ्यू बनाउने गरे पनि ठूला किसानको दूधसमेत बिक्री गर्ने ठाउँ नहुँदा उत्पादन नै घटा छ । अध्यक्ष पन्तले भने, “खुवाउने कुरा नै नभएपछि दूध उत्पादन पनि घटाएका छौं, उत्पादन भएको दूध पनि बिक्री गर्नसकेका छैनौं, सबै दूधलाई पनिर, घ्यू बनाउन उद्योग नै चाहिन्छ, फार्ममा सम्भव हुन्न, हामी किसान निकै मर्कामा पर्यौं ।” आफ्नो गोठका गाईबाट ६ सयदेखि ७ सय र अन्य साना किसानबाट उठाउने करिब ३ सय गरी दैनिक ९ सय लिटर दूध बिक्री गर्दै आएका पन्तले लकडाउनपछि साना किसानको दूध लिन छाडेका छन् भने आफ्ना गोठमा पनि दूध उत्पादन घटाएर २ सय लिटरमा झारेका छन् । उनले भने, “एकातिर खानेकुरा नभएर दूध घटेको छ, अर्कोतिर दूध बिक्री गर्ने ठाउँ नभएपछि उत्पादन नै घटाएका छौँ ।” सुन्दरीजलका बाबुराम कार्कीको पीडा त झन् ठूलो छ । गोठमा २८८ उन्नत जातका गाई छन् । तर खानेकुरा नहुँदा नुनपानी खुवाएर बचाउनुपरेको छ । लकडाउनपछि सर्लाही, बारा, पर्सा, रौतहटबाट भुसा आउन छाडेको छ, दाना उद्योग बन्द छन् । अलिअलि दाना र घाँस पाइए पनि निकै महङ्गो छ, न औषधि छ, न प्राविधिक छन्, उपत्यकामा चरन क्षेत्र छैन । “भोकले गाई कराएको सुन्दा मन भारी हुन्छ, आँखा रसाउँछ”, आफ्नो पीडा सुनाउँदै उनले भने, “यस्तै अवस्था रहे अब पलायन हुनुको विकल्प छैन, गाईलाई नुनपानी मात्रै खुवाएर कहिलेसम्म बचाउनु, कम्तीमा दाना र भुसामात्रै आउन सकेको भए पनि गोठका गाई भोकै त हुँदैनथे ।” ऋणको साँवाब्याज कसरी तिर्नेभन्दा पनि गाई कसरी बचाउने भन्ने चिन्ताले निकै पिरोल्छ उनलाई । दैनिक एक हजार ५ सय लिटर दूध बिक्री गर्दै आएका कार्कीले अहिले कतिपय गाईले दूध दिनै छाडेको र कतिपयले थोरै दूध दिने गरेको बताए । कतिपय मिठाई पसल र होटल बन्द भएपछि बजारमा दूध खपत हुन छाडेको छ । चाँगुनारायण–९ ताथलीमा ३५ गाईसहित बाख्रापालन गर्दै आएका एशोसिएशनका सचिव भानु पराजुलीको गुनासो पनि उस्तै छ । दैनिक सयलिटर दूध उत्पादन गर्दै आएको उनले उत्पादित दूधलाई घरघरमा बिक्री गरिरहेको भएपनि गाईलाई खुवाउने कुरा नहुँदा सास्ती खेप्नुपरेको बताए । आफ्नो गोठ अलि गाउँमा भएको र थोरै गाई भएकाले चोकर, ढुटो खुवाएर जेनतेन अहिलेसम्म धानेको बताउँदै उनले यस्तै अवस्था रहे उपत्यकाबाट व्यावसायिक गाई पाल्नेहरु पलायन हुनेछ भने । उपत्यकामा अहिले कम्तीमा २० व्यावसायिक गाईफार्म र सयौँको घरमा सानाकिसानले गाई पालिरहेका छन् भने दैनिक ३५ हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ भने उत्पादित दूध होटल, मिठाइपसल, चियापसल र घरहरुमा खपत हुँदै आएको व्यवसायी बताए । एशोसियसनका अध्यक्ष पन्तले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री, कृषि विभाग, अर्थ मन्त्रालय, योजना आयोगसम्म पुगेर २३ बुँदे माग राख्दा पनि सुनुवाइ नभएको बताए । एशोसिएशनले बैंकबाट लिएको ऋणको ब्याज दुई, कृषि उपज प्रशोधनमा पाँच र बिक्रीवितरणतर्फ सात प्रतिशत ब्याज कायम हुनुपर्ने, साँवा भुक्तानीको समय पछाडि सार्ने, सहुलियत ऋण प्रवाह गर्नुपर्ने, कर्जाको सीमा रकम अधिकतम १० करोड रुपैयाँ पुर्याउनुपर्ने र कर्जा भुक्तानी १५ वर्षको हुनुपर्ने माग राखेको छ । त्यसैगरी किसानको उत्पादन बिक्रीमा समस्या भए २५ प्रतिशत मुनाफामा सरकारले खरिद गर्नुपर्ने, विभिन्न औजार एवं एक सवारी साधन खरिदमा एक प्रतिशत मात्रै कर लाग्नुपर्ने, जस्तोसुकै अवस्थामा पनि सहज पशु आहारको आयात हुनुपर्ने, स्वदेशी उत्पादनमा सहुलियत दिनुपर्ने, कृषक मेसेनरी सामानमा ७५ प्रतिशत अनुदान दिनुपर्ने, गाईगोठ निर्माणमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्नुपर्नेलगायतको माग राखिएको अध्यक्ष पन्तले जानकारी दिए । रासस

१० एसएसपीलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीतर्फ १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ । प्रहरी नियमावली २०७१ (संसोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस समितिको यही चैत २८ गतेको निर्णयले बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । बढुवा सिफारिसमा परेका एसएसपीहरुमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी रहेका छन् । गृहसचिवको नेतृत्वमा उक्त बढुवा समिति रहेको छ । रासस

सञ्चय कोषका ऋणिलाई व्याजमा १० प्रतिशत छुट, कोरोना पीडितलाई २ लाख क्षतिपूर्ति

काठमाडौं । कर्मचारी सञ्चाय कोषबाट कर्जा लिएको ऋणिले चार महिनाको व्याजमा १० प्रतिशत छुट पाउने भएका छन् । कोषबाट घर सापटी, घर मर्मत कर्जा, शैक्षिक कर्जा र सरल कर्जा लिएका सञ्चयकर्ताले चैत, बैशाख, जेठ र असार चार महिनाको व्याजमा १० प्रतिशत छुट पाउने भएका हुन् । कोरोना भाइरसको संक्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्नको लागि कोषले उक्त छुट दिन लागेको हो । साथै, कोषले २०७७ असार मसान्तसम्ममा बुझाउनु पर्ने किस्ता रकम साउनसम्म बुझाउन सकिने गरि समय वृद्धि गरेको काेषका सहप्रशासक राजेन्द्र काफ्लेले जानकारी दिए । यस्तो छुट सुविधा कोषका संस्थागत ऋणिको लागि पनि भएको उनले विकासन्युजलाई बताए । साथै, कोषमा नियमित सञ्चय कोष कट्टी गरिरहेका सञ्चयकर्ताको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएमा त्यसलाई दुर्घटना मानी क्षतिपूर्ति बापत २ लाख रुपैयाँ पनि दिने निर्णय गरेको छ ।

सिटिजन्स बैंकले बढैयाताल गाउँपालिकाको काेराेना कोषमा दियो १ लाख रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बढैयाताल गाउँपालिकाले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोनाभाइरस (कोभिड-१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो । यस अघि पनि बैंकले कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा ४९ लाख रुपैयाँ सहयोग गरेको थियो । यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा न्युन आय भएका नेपालीहरुको दैनिक अत्यावश्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

भारतमा तहल्काः कोरोना फैलाउन नेपालबाट मान्छे पठाइएको आरोप

भारतकाे एक टेलिभिजनमा देखाइएकाे तस्वीर काठमाडौं । भारतमा कोरोना भाइरस फैलाउन नेपालबाट मान्छे पठाइएको भारतले आरोप लगाएको छ । भारतको पश्चिमी चम्पारण (बेतिया) जिल्लाका प्रमुख जिल्ला अधिकारी कुन्दन कुमारले माथिल्लो निकायमा एक गोप्य पत्र लेख्दै नेपालबाट भारत छिरेको एक समुहले भारतमा कोरोना सारिरहेको आरोप लगाएका छन् । नेपालको सीमावर्ती क्षेत्रबाट भारतको बिहारमा योजनाबद्ध तरिकाले कोरोना भाइरस फैलाउन खोजिएको रिपोर्ट सार्वजनिक भएपछि यसले भारतीय सुरक्षाबल भित्र ठूलो भूईंचालो ल्याएको छ । पत्रमा प्रहरी अधिक्षकका माध्यमबाट सीमा सुरक्षा बलको ४७ औं बटालियनलाई सीमा पारीबाट कोरोना संक्रमित मानिसहरुलाई भारतमा प्रवेश गराइएको उल्लेख छ । उनीहरुको उद्देश्य एउटा रणनीति अन्तर्गत भारतमा संक्रमण फैलाउने लेखिएको छ । यसरी प्रवेश हुनेमा सबै मुस्लिम रहेको समेत पत्रमा उल्लेख छ । पत्रका अनुसार पर्सा जिल्लाको जगनाथपुर गाउँ निवासी जालिम मुखिया नाम गरेका एक जना हतियार तस्करले उनीहरुलाई भारत पठाएको उल्लेख छ । बेतियाका जिल्ला प्रमुख अधिकारीले सीमा सुरक्षा बलसँग सीमामा गस्ती बढाउन समेत अनुरोध गरेका छन् । पत्रबारे भारतका गृह उपसचिवले प्रतिक्रिया दिँदै सबै कोणबाट जाँच भइरहेको बताएको नवभारत टाइम्सले उल्लेख गरेको छ । गृह उपसचिव अमिर सुबानीका अनुसार, नेपालसँग जोडिएको विषय भएपनि अधिकारीहरुलाई अलर्ट गरिएको छ । अहिलेसम्म प्राप्त सूचना अनुसार, कुनै पनि शंकाष्पद व्यक्ति भारतमा घुसपैठ भने नगरेको तर सम्भावना रहेको उनले बताए । देखें, बिहार में नेपाल से 30-40 कोरोना संक्रमित मरीज घुसने की खबर पर क्या बोले गृह विभाग के अपर सचिव आमिर सुबहानी pic.twitter.com/UANLaH2Fby — NBT Hindi News (@NavbharatTimes) April 10, 2020 बेतियाका प्रमुख जिल्ला अधिकारीले भने आफूले विश्वस्त जासुसी श्रोतबाट सुचना पाएको दावी गरेका छन् । भारतीय मिडियामा प्रकाशित टिप्पणी अनुसार, विगत दुई दिन यता बिहारमा अचानक संक्रमितहरुको संख्या बढेको छ । अहिलेसम्म बिहारमा ६० जनामा संक्रमण देखिएको छ । भारत र नेपालका प्रधानमन्त्रीबीच आज मात्रै टेलिफोन संवाद भएको थियो । यो विषयमा भारतले कुनै चासो व्यक्त गरे या नगरेको कुरा भने नेपालको कुनै पनि निकायले सार्वजनिक गरेको छैन । (नवभारत टाइम्स डटकममा प्रकाशित समाचारका आधारमा तयार पारिएको)  न्युज 18 बिहारमा प्रसारण एक रिपाेर्ट #बड़ी_खबर : नेपाल के रास्ते कोरोना संदिग्धों को बिहार भेजने की तैयारी, SSB की चिट्ठी से हुआ खुलासा #बड़ी_खबर : नेपाल के रास्ते कोरोना संदिग्धों को बिहार भेजने की तैयारी, SSB की चिट्ठी से हुआ खुलासा #IndiaFightsCOVID19 | #TotalLockdown | #StayHome Gepostet von News18 Bihar am Donnerstag, 9. April 2020

अब एसईई परीक्षाका तयारी डिसहोमबाट गर्नुहोस्

काठमाडौं । एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम संचालन गर्नभएको छ । स्याटेलाइट टेलिभिजन प्रशारक डिसहोमले लकडाउनको समयमा एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम संचालन गर्नभएका हो । कम्पनीले अंग्रेजी, गणित र विज्ञान विषयको तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ । कक्षा हरेक दिन बिहान ७ः३०, मध्यान्ह १२ः३० र बेलुका ६ः३० बजेको समयमा च्यानल नम्बर १०१ बाट प्रशारण हुनेछ । कोरोनाभाईरसको महामारी फैलिएसँगै नेपाल हाल लकडाउनमा छ र चैत ६ गतबाट हुने भनेको एसईई परीक्षा अर्का सुचना नआएसम्मको लागि स्थगित भएको थियो ।