प्रभु लाइफ इन्स्योरेन्सले प्यूठानका अस्पताललाई वितरण गर्यो ५० थान पीपीई
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्यूठान जिल्लास्थित अस्पतालहरुमा वितरण गर्नका लागि ५० थान(पीपीई) उपलब्ध गराएको छ । इन्स्योरेन्सले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । कम्पनीले चैत २८ गते उक्त स्वास्थ्य सम्बन्धी सामाग्रीहरु प्यूठान जिल्ला, प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपति मार्फत् उपलब्ध गराएको थियो । उक्त अवसरमा प्यूठान नगरपालिका प्रमुखले प्रभु लाइफ इन्स्योरेन्सप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका थिए ।
कोरोना सङ्क्रमित ८ जनाकै अवस्था सामान्य: स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको भन्दै हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताए । उहाँले गत २४ घण्टामा ६३० वटा परीक्षण गरिएको जानकारी दिए । आठ सय बढी परीक्षणको क्रममा छ । हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनका व्यक्तिको सङ्ख्या १२५ रहेको छ । प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताए । बागलुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालीम दिइएको र परीक्षणसमेत शुरु गरिएको सो अवसरमा जानकारी दिइयो । सङ्कटको समयमा जनशक्ति अभाव नहोस् भन्दै मन्त्रालयले सेवा बाहिरका र सेवा निवृत्त चिकित्सकलाई स्वेच्छिकरुपमा सेवामा आबद्ध हुन आग्रह गरेको छ । मन्त्रालयले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने भएको छ । विपत्मा सहयोगका लागि स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको सेवा सुविधा काट्ने किसिमको निणय मन्त्रालयले नगरेको भन्दै उच्च मनोबलका साथ काम गर्न मन्त्रालयले आग्रह गरेको छ ।
सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँडः संस्थागतलाई ९५ प्रतिशत र सर्वसाधारणलाई ५ प्रतिशत वितरण
काठमाडौं । सिटिजन्स बैंकले निष्काशन गरेको ऋणपत्र(डिबेञ्चर) शुक्रबार बाँडफाँड भएको छ । जसमा सर्वसाधारण समूहबाट आवेदन दिने सबैले माग गरेजति पाएका बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेशराज पोखरेलका अनुसार रितपूर्व आवेदन दिनेमध्ये संस्थागत लगानीकर्तालाई ९५ प्रतिशत र सर्वसाधारण लगानीकर्तालाई बाँकी ५ प्रतिशत ऋणपत्र वितरण गरिएको छ । उक्त ऋणपत्रमा ३१७ जना आवेदकहरुले रितपूर्वक आवेदन दिएका थिए । ‘त्यस्तै, म्युचअल फण्ड अन्तर्गत माग गर्ने सबैले शतप्रतिशत बैंकको ऋणपत्र पाएका छन्’ उनले विकासन्युजसँग भने – ‘मागभन्दा १२ करोड रुपैयाँ बढी आवेदन परेकाले उक्त रकम चाँहि फिर्ता गरिने छ ।’ कम्पनीले फागुन २० गतेदेखि चैत ४ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो । जसमा २ अर्ब ६२ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । त्यसमध्ये सर्वसाधारण तर्फबाट माग गर्ने सबैले माग गरेजति पाएका छन् । साथै, व्यक्तिगत तवर मार्फत आवेदन गर्नेको हकमा आंशिक बाँडफाँटमा नपरेका डिबेन्चर वापत बाँकि रकम आवेदकहरुले आफ्नो आवेदनमा उल्लेख गरेको बैंक खातामा चैत ३० गते आइतबारदेखि आईपीएस मार्फत सिधै बैंक खातामा रकमान्तर गरिने सीईओ पोखरेलले बताए । १०.२५ प्रतिशत व्याजदर तोकिएको यस ऋणपत्रको अवधि भने १० वर्ष रहेको छ । बैंकले प्रतिकित्ता १ हजारको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमध्ये १५ लाख कित्ता विभिन्न संघ संस्थालाई र बाँकी १० लाख कित्ता सर्वसाधारणलाई बिक्रीमा राखेको थियो । त्यस्तै, सर्वसाधारण मध्येबाट ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको थियो । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको थियो । बैंकले जारी गरेको ‘१०.२५% सिटिजन्स बैंक ऋणपत्र-२०८६’ ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले ‘इक्रा एलबिबिबि प्लस’ ग्रेड दिएको छ । जसले बैंकको वित्तीय अवस्था औषत भन्दामाथि अर्थात सुरक्षित रहेको बुझाउँछ ।
लकडाउनको मौकामा चोरीतस्करी
दाङ। दाङ र आसपासका जिल्लामा लकडाउनको मौका छोपी वनमा चोरीतस्करीका घटना बढेका छन् । तस्करले जिल्लाका बजारदेखि टाढा रहेका वन क्षेत्रमा गएर काठ चोरी गरेका छन् । जिम्मेवार तहका व्यक्ति नै रुख फँडानीमा संलग्न रहेको पाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । यसपटक अधिकांश नयाँ ठाउँमा तस्करले काठ कटान गरेका छन् । कार्यालय प्रमुख दीपक ज्ञवालीले बन्दाबन्दी शुरुभएदेखि हालसम्म छ वनका वन पैदावार चोरी तथा तस्करीका घटनामा १० जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेकाहरुबाट सयौँ क्युफिट काठ, तीन ट्रयाक्टर तथा रुख काट्न प्रयोग गरिने औजार बरामद भएको छ । बरामद गरिएको काठ मुचुल्का तयार गरी सुरक्षितसाथ राखिएको प्रमुख ज्ञवालीले बताए। चोरीमा संलग्नको विस्तृत विवरण केही दिनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । लकडाउन अवधिमा बढेको काठ तस्करी, चोरी निकासी र वन्यजन्तु शिकारका घटना बढन नदिन विभिन्न समूह बनाएर वन गस्ती शुरु गरिएको कार्यालयले जनाएको छ । वन गस्ती शुरु अर्घाखाँची– शीतगंगा नगरपालिका वडा नम्वर ११ खयरभट्टीमा काठ चोरी तस्करी बढेको छ । लकडाउनमा मानिस घरभित्रै बसेको मौका छोपी कपिलवस्तुसँग सिमाना जोडिएको क्षेत्रमा तस्करले काठ चोरी गरेका हुन् । विश्वमा फैलिएको कोराना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको समयमा खयरभट्टीमा नेपाल सरकारको जनहितमा जारी निर्देशनलाई अवज्ञा गर्दै लुकिछिपी वन विनाश र तस्करी बढेको हो । लुकीछिपी काठको तस्करी बढेपछि वन कार्यालयले वन गस्ती शुरु गरेको छ । गस्ती गर्दा सालका ठूला सात रुख काटेर झण्डै रु डेढ लाख मूल्यको चोरी भएको भेटिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख शिव शर्माले बताए । स्थानीय सामुदायिक वन उपभोक्ता समिति र आफ्नो मातहतका कर्मचारीलाई राम्रोसंँग हेरविचार गर्नसमेत आग्रह गरिएको डिभिजन वन प्रमुख शर्माले बताए । नदीजन्य वस्तु पनि शिकार जीतपुर–लकडाउनको मौका छोपी कपिलवस्तुको बाणगङ्गा नदीमा नदीजन्य वस्तुको चोरीतस्करी मौलाउँदै गएको छ । रातभर दर्जनाँै सवारी साधन र भ्याकु मेशिन प्रयोग गरेर डम्पिङ गरिएको करीब चार सय ट्रयाक्टर गिटीबालुवा बाणगङ्गा नगरपालिकाले बरामद गरेको छ । नगरका उपप्रमुख चक्रपाणि अर्याल, प्रमुख प्रशासकीय अधिकृत चूरामणी पन्थी, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशी, सञ्चारकर्मीसहितको टोलीले स्थलगत अध्ययन गर्दा चोरी गरेको पाइएको हो । बाणगङ्गा –८ वालापुरको नदी किनारमै रातभर थुपारिएको नदीजन्य पदार्थ जफत गरिएको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले अभियुक्तलाई प्रहरीको जिम्मा लगाइएको बताए । उपप्रमुख अर्यालले यस्तो राष्ट्रिय संकटका बेला रातभर नदी उत्खनन गर्नेलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयसमक्ष जानकारी गराइएको बताए । सो क्षेत्र ठेक्का नलागेको क्षेत्र भएको पनि उहाँले प्रष्ट्याए । उक्त क्षेत्रमा करीब चार सय ट्रयाक्टर मिश्रण रातभरमा थुपारिएको थियो । केही दिनयता बाणगङ्गा नदीमा नदीजन्य पदार्थको दोहन अत्याधिक भैरहेको बाणगङ्गा–५ मधौलियाका स्थानीयवासीले बताएका छन् । रासस
यसरी हुँदैछ लकडाउनमा ठूला आयोजनाका काम
काठमाडौं । सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । सरकारले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेको छ । आयोजना स्थलमा एक एम्बुलेन्स अनिवार्य रुपमा राख्नैपर्ने, निर्माण स्थलमा खटिएका कामदारलाई आइसोलेशनमा बसे जस्तै गरी स्थानीयवासीसँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै आयोजना स्थलमा एक मेडिकल टिम अनिवार्य रुपमा राख्ने व्यवस्था गरिएको छ । कुनै स्वास्थ्य समस्या देखिने बित्तिकै उपचारको प्रबन्ध गर्न व्यवस्था गरिएको छ । कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ । सोही आधारमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको काम शुरु गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनका अनुसार निर्माण सामग्री आयातमा समेत सहजीकरण गरिएको छ । निर्माण सामग्री लिन जाने सवारी साधनलाई विशेष पास उपलब्ध गराइनेछ । त्यस्ता पास लिएका सवारी साधनले तोकिएको स्थानमा पुगेर निर्माण सामग्री ल्याउने र अन्य कुनै पनि नागरिकलाई चढाउने वा यात्रा गर्न नपाउने व्यवस्था गरिएको छ । निर्माण सामग्रीको आयातमा देखिएको समस्या समाधान गर्न निर्माण सामग्री लिन जानेले पास लिने, सामग्री लिएर फर्कने व्यवस्था गरिएको छ । निर्माण सामग्री लिन जाँदा मान्छे चढाएर लैजाने र आउँदा पनि मान्छे चढाउने जस्तो विकृति देखिएपछि सिमितलाई पास दिएर आयात गर्न दिने व्यवस्था गरिएको छ । निर्माण सामग्रीलगायत आयातमा केही जटिलता देखिएको गुनासो आएपछि त्यसलाई व्यवहारिकरुपमा हल गर्नेतर्फ मन्त्रालयले विशेष प्रबन्ध गरेको मन्त्री पुनको भनाइ छ । मन्त्रालयले नै पहल गरेर उच्चस्तरीय समितिमा छलफल भएर यस्तो खालको निर्णय भएको उनको भनाइ छ । “ठूला आयोजनाहरुमा काम गर्ने भन्ने छ । विद्युत्का आयोजना मात्रै नभई, अन्य खालका उद्योग सञ्चालन गर्ने भन्ने निर्णय भएअनुसार नै प्रक्रिया अगाडि बढाइएको हो”, मन्त्री पुनले भने । विशेष गरी कोरोनाको सङ्क्रमण फैलन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने विषय प्रमुख प्राथमिकतामा छ । अन्य नागरिकसँग घुलमिल नहुने वातावरण बनाउने, हरेक आयोजनामा एक एम्बुलेन्स र मेडिकल यूनिट रहनै पर्ने व्यवस्था गरिएको मन्त्री पुनले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी लगायतका आयोजना सञ्चालन भइरहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ । हाल आयोजनाको सबैभन्दा जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडानको काम भइरहेको छ । आयोजनामा केही दिन पहिले मात्रै बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीको परिक्षण गरिएको थियो । सरकारको विशेष व्यवस्था पछि राष्ट्रिय गौरवकै आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको कामसमेत अगाडि बढेको छ । निर्माण व्यवसायी सिनो हाइड्रोले लकडाउनको समयमा समेत काम गरिरहेको छ । निर्माणमा रहेका केही आयोजनाको निर्माण सामग्री पनि रहेको र मजदुर पनि रहेकाले समस्या परेको भने अवस्था छैन । निर्माण सामग्री आयातमा जाँदा सङ्क्रमण हुन सक्ने खतरा पनि रहेकाले त्यसलाई पनि विचार गरेर नै आवश्यक व्यवस्था गरिएको छ । निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजनाको कामलाई निरन्तरता दिन अत्यावश्यक निर्माण सामग्री ढुवानीको लागि गृह मन्त्रालयले आवश्यक समन्वय गरेको छ । गृह मन्त्रालयले जलविद्युत् आयोजनाले पनि सरकारले तोकेको सुरक्षा मापदण्ड भित्र रहेर काम गर्नुपर्ने सर्त अगाडि सारेको छ । ढुवानीको पास लिन आयोजनाले सामान कहाँबाट ल्याउने र कहाँ लैजाने भन्ने मार्ग उल्लेख गरेर ऊर्जा मन्त्रालयमा निश्चित विवरणसहित निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसमा ढुवानी गर्ने साधनको प्रकार, सवारी साधनको नम्बर, सवार हुने व्यक्तिको नाम र अत्यावश्यक सामानको परिमाण उल्लेख गर्नुपर्ने हुन्छ । यस्तै चालक तथा सहचालकले पञ्जा, मास्क र सेनिटाइजर लगायतका सुरक्षा सामग्री प्रयोग गर्नुपर्नेछ । सोही आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक पत्राचार गरिनेछ । मन्त्री पुनले गृह मन्त्रालयसँग पनि समन्वय गरेर सरकारी तथा निजी क्षेत्रका आयोजनालाई समेत काम गर्न मार्ग प्रशस्त गरिएको बताए । त्यसो त गृहमन्त्री रामबहादुर थापाले रासससँगको कुराकानीका क्रममा समेत ठूला आयोजनाको सहज सञ्चालनका लागि आफूहरुले विशेष व्यवस्था गरिदिने बताएका थिए । रासस
कोरियामा रहेका नेपालीले पठाए ४ हजार थान कोरोना परीक्षण कीट
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ । एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार किट र पाँचसय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन नेपाल पठाइएको सङ्घले जनाएको छ । कोरियन एयरलाइन्सको विमान चार्टर्ड गरेर ती सामग्री नेपाल पठाइएको हो । स्वास्थ्य सामग्री बोकेको उक्त जहाज आज अपराह्न नेपाल आइपुग्ने बताइएको छ । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको संयोजन तथा त्यहाँ रहेका अभियन्ताको सहकार्यमा सहयोग सङ्कलन अभियान सञ्चालन भएको थियो । अभियान शुरु गरेको चार दिनमै रु एक करोड ४० लाख ७९ हजार ७७५ सङ्कलन भएको एनआरएन दक्षिण कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिए । मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीलाई एनआरएनएले आग्रह गरेको थियो । कोरियामा उत्पादित कीटले कोरोना लागे/नलागेको तीन घण्टामा नतिजा दिने बताइन्छ । यसको मूल्य प्रतिकीट २० डलर पर्छ । पहिलो चरणमा ४२ हजार भन्दा डलर बढीको कीट र २४ लाख रुपैयाँ बराबरको पीपीईलगायतका सामान नेपाल पठाइएको हो । कीटका लागि कोरियामा रहेको सम्बन्धित कम्पनीसँग सम्झौता भएलगत्तै कीट खरिद गरी बिहीबार दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिए । यसैगरी दोस्रो चरणमा अन्य अत्यावश्यक सामग्री तथा उपकरण पठाउने तयारी रहेको महासचिव सुवेदीले जानकारी दिए । दोस्रो चरणको सहयोग चार्टर्ड विमानको अभावमा चीनको ग्वाङझाउस्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाइने एनआरएनएले जनाएको छ । रासस
२४ घण्टामा ६ सय ३० को कोरोना परीक्षण, थपिएन नयाँ संक्रमित
काठमाडौं । गएको २४ घण्टामा ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाल गएको २४ घण्टामा पिसिआर मेसिनबाट ६ सय ३० जनाको कोरोना परीक्षण भएको बताएका हुन् । काठमाडौंमा ४ सय १ जना र काठमाडौं बाहिर २ सय २९ जनाको कोरोना पहिचानको लागि नमुना परीक्षण भएको देवकोटाले बताए । साथै पछिल्लो २४ घण्टामा पनि कुनै नयाँ कोरोना भाईरस संक्रमित थपिएका छैनन । हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् जसमा एक जना निको भएर घर फर्किसकेका छन् । देशभर हाल १ सय २५ जना आईसोलेसनमा र ८ हजार ६ सय ६० जना क्वारेन्टिनमा छन् । यस्तै र्यापिड डायगोनेस्टिक किटबाट हालसम्म कैलालीमा ३ सय ३९, कन्चनपुरमा १ सय ३७, कपिलबस्तुमा २१ र बागलुङमा १९ जना गरेर कुल ५ सय १६ जनाको कोरोना परीक्षण भएको छ । यो सबै परीक्षणको नतिजा नेगेटिभ आएको देवकोटाले बताए । देवकोटाले भने, ‘अन्य ठाउँमा पनि यसको प्रयोगबाट परीक्षण भईरहेको तर नतिजा आउन बाँकी रहेको छ ।’ यस्तै बिहिबार ईपिडियोमोलोजी र रोग नियन्त्रण महाशाखा र नेपाली सेनाले डडेलधुराबाट १ सय ९९, बैतडीबाट ४ सय २५ र कर्णाली प्रदेशबाट ८५ गरेर कुल ७ सय ९ वटा नमुना काठमाडौंमा परीक्षणको लागि ल्याएको पनि उनले जानकारी दिए । देवकोटा भन्छन्, ‘यो सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा छन् ।’
दातृ संस्थालाई अर्थमन्त्रीको आग्रह,‘वैदेशिक ऋणको सावाँ व्याज भुक्तानीको समयावधि केही वर्ष सार्नु पर्यो’
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिडाले वैदेशिक दातृ संस्थाहरुलाई वैदेशिक ऋणको सावाँ व्याज भुक्तानीको समयावधि केही वर्ष सार्न आग्रह गरेका छन् । बहुपक्षीय विकास बैंकहरु, अन्तर्रा्ष्ट्रिय मुद्रा कोष , अन्तर्रा्ष्ट्रिय वित्त निगम लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच शुक्रबार भिडियो कन्फ्रेन्स गर्दै उनले सो कूरा अपील गरेका हुन् । कोरोना भाईरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयास सम्बन्धी जानकारी गराउँदै उनले नेपाल जस्तो सीमित स्रोत साधन भएको भुक्तानीको समावधि सारियो भने देशले स्वास्थ्य पूर्वाधार क्षेत्रमा थप लगानी गर्न र आर्थिक पुनरुत्थानमा ठूलो सहयोग पुग्न सक्ने धारणा राखे । उनले परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकटको समाधान नहुने भएकोले नवीन सहायता, नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र हाम्रो जस्तो जोखिमयुक्त देशको संकटको समाधान हुने धारणा राखे । नियमित रुपमा उपलव्ध भइरहेको अतिरिक्त थप स्रोत साधनबाट मात्र यो संकट समाधान हुन सक्ने बताउँदै उनले विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्नुपर्ने उनको भनाइ थियो । उनले पहिलेको कुनै पनि संकट भन्दा अहिलेको संकटको दायरा फराकिलो र असर पनि सर्वथा उच्च रहेकोले यसबाट उम्कन र विकासको पुनर्उत्थान गर्न पनि अभूतपूर्व सामाजिक र आर्थिक उपायहरु अपनाउनुपर्ने बताए । माननीय अर्थमन्त्रीले यो विश्वव्यापी संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव भए तापनि देश भित्रको संकट व्यवस्थापनमा राष्ट्रिय प्रयास सर्वोपरी रहनेमा जोड दिए । भिडियो कन्फरेन्समा सहभागीहरुले कोरोना भाईरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीति बीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाहरुले गर्नसक्ने सहयोग बारे आ(आफ्नो धारणा राखेका थिए । उक्त छलफलमा विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्ट्विग सेफर,अन्तर्रा्ष्ट्रिय मुद्रा कोषका डाईरेक्टर च्याञ्योङ्ग रि, अन्तर्रा्ष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, एशियाली विकास बैकका भाईस प्रेसिडेन्ट सिजिन चेन, एशियाली पूर्वाधार विकास बैकका भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर डि. जे. पान्डिन, नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि भेलीरी जुलिएन्ड, नेपाल स्थित विश्व बैकका कन्ट्री म्यानेजर, नेपाल स्थित एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टरसँग प्रत्यक्ष छलफल भएको थियो । सो छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिव, राजस्व सचिव, अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिवको समेत उपस्थिति थियो ।