एलआईसी नेपालको प्रिमियम लकडाउनपछि तिर्दा नि हुने, जरिवाना नलाग्ने (भिडियाे सहित)
काठमाडौं । एलआईसी नेपालको जीवन बीमाको प्रिमियम शुल्क लकडाउन पूर्णरुपमा खुले पछि मात्र तिर्दा हुने भएको छ । कम्पनीले उक्त शुल्क तिर्नुपर्ने भएमा हालको परिस्थिति सामान्य भएपछि मात्र तिर्न ग्राहकलाई सूचित गरेको छ । साथै, लकडाउन पछि तिर्दा ढिलो तिरे बापत लाग्ने जरिवाना तिर्न नपर्ने कम्पनीले जानकारी गराएको छ । सोही क्रममा एलआईसी नेपालले आफ्नो विज्ञापन एजेन्सीको साथमा महामारी सम्बन्धी सूचनामूलक टेलिभिजन विज्ञापन प्रकाशित गरेको छ । यस विज्ञापन महामारीको समयमा रहेको जिवनशैली र एलआईसी नेपालले दिएको सुविधाहरुलाई प्रकाश पारिएको छ । ब्लिज एड्भरटाइजिङ्ग एण्ड रिसर्च प्रा. लि.का कृएटिभ प्रमुख राजेश रोयले स्कृप्ट लेखन, निर्देशन, सम्पादन तथा अन्तिम उत्पादन गरेका हुन् । साथै, कम्पनीले आफ्नो यो विज्ञापन मार्फत सबैलाई नियम र कानून कडाईका साथ पालना गर्न प्रोत्साहन गरेको छ ।
प्रकृतिमाथि न्याय गराैं, जित मान्छेकै हुनेछ
कास्कीकाे सराङकाेटबाट देखिएकाे दृष्य विश्व समुदायलाई आतङ्कित पार्न बेला बेलामा अनेक सङ्कटहरु देखिने गरेका छन् । जीवन गति जति सहज ढङ्गले चलाउनका निम्ति मानिसले प्रयत्न गरिरहेको हुन्छ ठिक त्यसका विपरीत मानव समुदायलाई आतङ्कित पार्न अनेक महामारीहरु आइलाग्छन् । कहिले प्राकृतिक त कहिले मानव सिर्जित समस्याहरु महामारीका रुपमा देखिने गरेका छन् । समय कालखण्डमा देखिएका अनेकौ रोगका महामारी मध्ये कोरोना भाइरस पनि एक हो । “ ‘कोभिड–१९’ एउटा सङ्क्रमित र सरुवा रोग हो जुन कोरोना भाइरस भन्ने नयाँ जीवाणुका कारणले लाग्दछ” भनेर विश्व स्वास्थ्य सङ्गठनले यसलाई परिभाषित गरेको छ । डब्लु.एच.ओ.ले ‘कोभिड–१९’ नाम दिएको यसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा समेत गरिसकिएको छ । जब कुनै पनि समस्याले विकराल रुप लिन्छ त्यो नै महामारी हो । विश्वलाई आतङ्कित बनाएको नोभेल कोरोना भाइरसले पनि यतिबेला महामारीको रुप लिएको छ जसले मानव जातिको भविष्यलाई अन्यौलग्रस्त र त्रस्त बनाएको छ । चीनको उहानबाट सन् २०१९ डिसेम्बर अन्त्यमा सर्वप्रथम देखा परेको भाइरस आज विश्वव्यापी महामारीका रूपमा हावाको गतिमा विश्वका २०९ मुलुकका लाखौँ मानिस सङ्क्रमित भएका छन् भने हजारौँले ज्यान गुमाइसकेका छन् । युरोप र अमेरिकामा भयावह रूपमा सङ्क्रमण फैलिएको छ । उच्च ज्वरो, सुख्खा खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिनु यस रोगका लक्षणहरु हुन् । मानव बीचमा सीमित तबरले सर्ने सम्भावना रहेको अनुमान गरिएको यो रोगको हालसम्म कुनै औषधि पत्ता लागि नसकेको अवस्थामा ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहनु वा आफूलाई उच्च ज्वरो र खोकी लागेको छ भने पनि अरु व्यक्तिबाट टाढा रहनुका साथै मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ । खोक्दा वा हाछ्युँ गर्दा नाक, मुख टिस्यु पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई जथाभावि नफाली बिर्काे भएको फोहोर फाल्ने भाँडोमा फाल्ने अनि साबुन पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजरले हात सफा गर्ने गर्नुपर्दछ । भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने साथै हात मिलाउनुको सट्टा नमस्कार गर्नु समेत उपयुक्त मानिएको छ । सामाजिक दुरी कायम गरेर वा एकान्तबास बसेर पनि यसको सङ्क्रमणबाट बच्न सकिन्छ । सामान्य रुघाखोकीदेखि गम्भीर श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ । नोभल कोरोना भाइरसले गर्दा हुने रोगका लागि कुनै खास उपचार छैन यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार भने हुन्छ । लक्षणका आधारमा बिरामीको उपचार हुने हुनाले आफूलाई सङ्क्रमणको शङका लागेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु बुद्धिमानी हुन्छ । मानब जीवनलाई चुनौति दिने मार्गबुर्ग, इबोला, रेविज, एचआइभी, स्मलपक्स, हान्ता, इन्फ्लुएन्जा, डिङ्गो, रोटा, सार्सक्रोनो, सार्स क्रोनो–२ र नोबेल क्रोनो भाइरसहरुको संक्रमण बेलाबेलामा संसारव्यापी रुपमा फैलिने गरेको छ । कुनै समस्या पूर्व स्वार्थमा लिप्त भई मस्त रहने र सङ्कट निम्तिएपछि हतास र उदास बन्ने मानवीय चरित्र देखिन्छ । समस्याका पहाडहरु चुलिएपछि मानिस ब्युँतिएको अवस्था हो यो । हुन त भविष्य निश्चित होइन र छैन पनि । तर, यो महामारी बीचको विषम परिस्थितिले हाम्रो भविष्यबारे थप अन्यौल सिर्जना गरेको छ । हरेक समस्याले आफ्नो साथमा ठूलो अवसर पनि लिएर आएको हुन्छ । ओ हेनरीले भने झै हरेक समस्या नै अवसरको अर्को रुप हो । समस्या निन्तिएपछि आत्तिनु र पछुपाउनु भन्दा पहिले नै सचेत बनेर मानवले कदम चाल्ने हो भने कतिपय सङ्कट नै नआउने र कतिलाई सजिलै टार्न सकिने कुरालाई नकार्न सकिँदैन । प्राणी जगतको चक्रिय प्रणाली नबिगारीकन मान्छेले उन्नति गर्न सक्थ्यो तर मान्छे अति स्वार्थी भयो । उसले सम्पूर्ण प्राणी जगतको स्वार्थलाई त ख्याल गरेन, स्वयम् आफ्नै प्रजातिको स्वार्थलाई पनि ख्याल गरेन । यो धर्तिमा मानव अन्य प्रजाति मध्ये एक हो र उसको अधिकार अन्य प्रजाति सरह मात्र हो भन्ने कुरा मानवले बिर्सदै गएको देखिन्छ । कोरोना यस्तो व्याधी हो जसले प्रियजनहरुबीच स्नेहमय स्पर्शलाई निषेध मात्र गरेको छैन ममतामय चुम्बनलाई वर्जित गरी ऐक्यबद्धताकारी अङ्कमाललाई मनाही गरेको छ । यसले मानिसलाई लाचार मुद्रामा ‘हात धोऊ, दूरीमा रहू’ भन्ने मन्त्र जप्न विवश तुल्याएको छ । मानिसको निकटता मन नपराउने कोरोना जनको असमायिक काल बनिरहेको छ । मृत्यु प्राकृतिक सत्य हो र पनि मानिसले यसलाई सहजै स्वीकार्न सक्दैन । मृत्यु वा कालको नाम लिने, सुन्ने बित्तिक्कै पनि ऊ तर्सन्छ । मानिस न चाहेर जन्मेको हो न चाहेर नै ऊ मृत्यु वरण गर्दछ । यही सत्यबोध भएपनि मृत्यु मानिसका लागि असहज र अप्रिय विषय हो । मानिस मरेपछि लास जलाएर फर्कदासम्म मानिसले जे जस्ता कुरा सोचिरहेको हुन्छ त्यसपछि ऊ ती सबै कुरा बिर्सेर पुनः ईर्ष्या र अहङ्कारतर्फ नै केन्द्रित हुन पुग्छ । मानिस कतिसम्म स्वार्थी र अहङ्कारी छ भने ऊ अरु पशुप्राणीको प्राण रमाइरमाइ सहजै चुस्न लालायित देखिन्छ । वर्तमान समयमा मानव गतिविधिले पृथ्वीको सतहलाई नर्क बनाउदै लागेको छ । जमिनको सतहको एक तिहाई भन्दा बढी सम्पूर्ण जीवको साझा बासस्थानमा मानवले बलपूर्वक एकछत्र राज गरेको छ । यो धर्तिमा मानव अन्य प्रजाति मध्ये एक हो र उसको अधिकार अन्य प्रजाति सरह मात्र हो भन्ने कुरा मानवले बिर्सदै गएको देखिन्छ । विषाक्त बायुमण्डलको खतरनाक बिष सोस्ने सर्प, खतरनाक कार्बन र धातुजन्य बिष सोस्ने जङ्गल तथा खतरनाक किटाणु पचाइदिने जङ्गली जनावरहरुको मानिसले बिनास गरिरहेको छ । त्यसपछिको परिणाम भनेको यस्तै यस्तै महामारी र अन्त्यमा आफ्नै प्रजातिको बिनास हो । मानिस यो पृथ्वी सबै पशुपन्छीको साझा घर हो भन्ने भुलेर ‘मै बाँचु मै हाँसुँ’को लयमा केन्द्रित हुन पुगेको पाइन्छ । आफूलाई सानो चोट लागेपनि दुख्ने ऊ अरुको चोट र पीडामा रमाइरहेको कारण नै यी र यस्ता विपत्ति निम्तिएको देखिन्छ । यदि मानिसले यस्ता विपत्तिबाट पाठ सिकेर आफूलाई हिंसाबाट टाढै नराख्ने हो भने भविष्यमा पनि यस्ता महामारी निम्तिइ मानव अस्तित्व नै सङ्कटमा नपर्ला भन्न सकिँदैन । प्राणी जगतको चक्रिय प्रणाली नबिगारीकन मान्छेले उन्नति गर्न सक्थ्यो तर मान्छे अति स्वार्थी भयो । उसले सम्पूर्ण प्राणी जगतको स्वार्थलाई त ख्याल गरेन, स्वयम् आफ्नै प्रजातिको स्वार्थलाई पनि ख्याल गरेन । यो धर्तिमा मानव अन्य प्रजाति मध्ये एक हो र उसको अधिकार अन्य प्रजाति सरह मात्र हो भन्ने कुरा मानवले बिर्सदै गएको देखिन्छ । विपत्तिमा हो कि झै गर्ने र विपत्ति टरेपछि पुनः मत्त हुने अनि अरुको अस्तित्व नस्वीकार्ने मानवीय प्रवृत्तिकै कारण मानिस अनेक विपत्ति सहन विवश मात्र छैन आफ्ना प्रियजनलाई असमयमै गुमाउन समेत ऊ बाध्य बनेको छ । विपत्ति पनि मानव समुदायमा अनेक रुप लिएर देखापर्ने गरेका छन् । कहिले आँधिहुरी, बाढी पहिरो, भूकम्प जस्ता विपत्ति आइलाग्छन् त कहिले रोगका महामारी उसका लागि चुनौति बनेर देखापर्छ । भूकम्पले घरभित्रका मानिसहरुलाई लखेट्दै बाहिर निकालेर खुला डबलीमा भेट मात्र गराएन तिनका मनमन नजिकिए अनि बाँचेसँगै, मरेसँगै भन्ने भावना तिनका भयाक्रान्त चित्तमा पैदा भयो । तर विशाल हिमाल नाघेर जब कोरोना आतङ्क आइलाग्यो, यसले मानिसहरुलाई लखेट्दै घरभित्र हुल्यो । निरीह मानिस आफ्नै घरमा वा अस्पतालमा थुनियो । नरम थुनाको नाम भयो क्वारेन्टाइन अनि अलि कडा थुनाको नाम भयो आइसोलेसन उर्फ एकान्तवास । भूकम्पले मानिसहरुमाझ समभाव, प्रेम र सहयोगको भावना सञ्चारसँगै निकटताको सिर्जना गरेको भएपनि कोरोनाजन्य प्रकोपले मानिसहरु बिच दूरीको सिर्जना गरेको अवस्था छ । कोरोना कै कारण मानिस मानिसबाटै टाढिनु पर्ने स्थिति पैदा भएको छ तर त्यो दुरी तनको होस् मनको नहोस् । कोरोना भाइरस (कोभिड–१९)को माहामारीले विश्वका शक्तिशाली मुलुकको अवस्था पनि हायल–कायल छ । यसको रोकथाम र नियन्त्रणका लागि कोरोना संक्रमित अधिकांश मुलुकले ‘लकडाउन’ विधि अपनाइरहेका छन् । यसलाई नै कोरोना रोकथामको उत्तम तरिका मानिएको छ । इरानमा बालककाे ज्वाेराे नापिदै कोरोना महाव्याधिकै सिलसिलामा हिजो आफूलाई शत्रुतापूर्ण व्यवहार गरेर खुइल्याउन लागि परेको शक्तिसम्पन्न राष्ट्र समेत सहयोगको प्याकेज पुर्याएर उसले त्यहाँ कोरोना नियन्त्रणका लागि भूमिका निर्वाह गर्ने काम गरेको छ । लामो समयदेखि समाजवादको अभ्यास गर्ने बाटोमा अग्रसर भएकै कारण अमेरिकाको कठोर नाकाबन्दी भोगिरहेका क्युबाले यसबेला निर्वाह गरेको भूमिका पनि उल्लेखनीय छ । खासगरी, क्युबाले आफू कहाँ कोरोना हुँदा हुँदै पनि ‘रिभोल्युसनरी फाइटर’ भनेर इटाली, स्पेनलगायतका मुलुकहरुमा स्वास्थ्यकर्मी र स्वयसेवक पठाए । आपतको यो बेलामा क्युबाले आफूविरुद्धको अमेरिकी नाकाबन्दीमा सहयोगी राष्ट्रहरुमा समेत सहयोग पठाएर एउटा उदाहरणीय नमूना पेश गरेको छ । यसले भावी दिनहरुमा विश्व राजनीतिमा नयाँ आयाम सुरुवात हुने सङ्केत समेत देखापरेको विश्लेषण हुन थालेको छ । यसले शस्त्रअस्त्रका बिच शक्तिको होड देखाउने मुलुकका लागि गतिलो पाठ सिकाएको मात्र छैन पद, प्रतिष्ठा र पैसाले सबथोक होइन भन्ने सन्देश प्रवाहमा पनि यसले सहयोग पुर्याएको छ । सुख र सुविधाको पछि लागेर सहर छिरेकालाई पुनः आफ्नै थात थलो फर्काएको छ कोरोनाले । पिढी कुरेर परदेशिएका सन्तानको पर्खाइमा रहेका वृद्ध बाबु आमासँग सन्तानको अकस्मात भेट गराएको छ । आफ्नै गाउँपाखा पखेरा भुलेर,उर्वर भूमि बाँझै राखेर सहरमा हराइरहेकालाई त्यो बाँझो जमिनलाई उर्वर बनाउने मौका प्रदान गरेको छ । टाढिएकालाई नजिक बनाएर सधैँ हतारमा रहने जनलाई परिवारसँग नजिक हुने अवसर अनि आत्मनिर्भरताको पाठ समेत यसले सिकाएको छ । वातावरणीय प्रदूषण न्यूनीकरण भई सुन्दर प्राकृतिक परिदृश्यको नियाल्न पाइएको छ यतिबेला । ‘बशुधैव कुटुम्बकम्’ भन्ने हाम्रो मूल मन्त्रले सार्थकता पाओस् । मानिस कतिसम्म स्वार्थी र अहङ्कारी छ भने ऊ अरु पशुप्राणीको प्राण रमाइरमाइ सहजै चुस्न लालायित देखिन्छ । वर्तमान समयमा मानव गतिविधिले पृथ्वीको सतहलाई नर्क बनाउदै लागेको छ । पृथ्वीमा रहेका साढे सात अर्ब मानिसलाई बचाउन अहिले संसारभर रहेका राज्य र नागरिकहरुले के गर्न सक्छन् ? त्यसको लागि उनीहरुले गर्दै आएका गल्ति र महाभूलहरुको समीक्षा गर्नु जरुरी हुन्छ । कोरोना जस्ता महामारी लगातार के कारणले आइरहेका छन् ? यो बहसले नै हामीलाई हाम्रा गल्तिहरुबाट बचाउन मद्दत गर्ने छ र मानव प्रजातिको अस्तित्व लम्ब्याउन गहन भूमिका खेल्ने छ । मानव जनसङ्ख्याले पृथ्वीको चक्रिय प्रणाली (इकाेसिस्टम) लाई चुनौति दिंदै आएको छ । जसको परिणाम स्वरूप वर्तमान भूगर्भीय समय क्रममा जीव जगतका अन्य प्रजातिहरूको व्यापक र निरन्तर लोप हुँदै गएको छ किनकि जल र स्थलमा रहेका जीवात्माका वासस्थान हामीले विनाश गर्दै गएका छौँ , दुर्लभ जनावरका प्रजातिहरूको व्यापक रुपमा तस्करी गरेका छौँ , शिकार गरेका छौँ र वातावरण प्रदूषण मार्फत भएको जलवायु परिवर्तनको परिणामले धेरै थरिका जीव प्रजातिहरूको लोप हुने अबस्था आएको छ जसको जिम्मेवार केवल हामी हौँ । वाताबरण विद्हरुको एक अन्वेषणले बताउछ कि औद्योगिक क्रान्ति सुरु भएदेखि वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा ३०५ प्रतिशतसम्म बढेको छ । त्यो स्वयम् मानव स्वास्थ्यका लागि कति घातक छ भन्नु नपर्ला । धर्तिको स्वास्थ्य बिग्रदै गएकोले त्यसले अन्य जीव सहित मानब स्वास्थ्यमा पनि अत्यान्त खतरनाक प्रभाव पार्न थाल्छ । कोरोना जस्ता महामारी पनि अस्वास्थ्य धर्तीका नै उपज हुन् भनेर पुष्टि गर्ने प्रसस्त आधारहरु देखिन्छन् । यस किसिमले हेर्दा अब मानिसले आफू र आफ्ना आचरण सुधार्न ढिला गर्नु हँदैन । कोरोनाको प्रकोप नियन्त्रणमा आएपछि विश्व राजनीति, विश्व सामाजिक सम्बन्ध र अन्तर्र्रािष्ट्रय सम्बन्धमा नयाँ बहसको बाटो पैदा हुन्छ भन्ने लाग्छ । कोरोनाको संक्रमण हुँदैमा मानिस मरिहाल्ने होइन । त्यसको लागि उपयुक्त सावधानीहरु र उपचारमा संलग्न हुनेहरुले आवश्यक प्रतिरक्षात्मक सामग्रीको प्रयोग गर्दा त्यो सरिहाल्दैन भन्ने कुरा विश्वका विज्ञहरुले बारम्बार भन्दै आइरहेका छन् । तर यो कुरा बुझाउन कमी नै भएजस्तो लाग्छ मलाई । कोरोनाको संक्रमणलाई एकछिन बिर्सेर हेर्ने हो भने, निमोनियाबाट मात्र वर्षमा लाखौँ मान्छे मरिरहेको हुन्छन्, क्यान्सरबाट गत वर्ष करिब १४ लाख मान्छे मरेका थिए, डेंगुबाट लाखौँ मान्छे मर्छन्, मलेरियाबाट वार्षिक ८ लाख मान्छे मर्छन् । अरु त अरु सामान्य रुघाखोकीबाट पनि वर्षेनी लाखौं मानिसहरु विश्वभरिमा मर्ने गर्छन् । ती रोगहरुले मानिसलाई आतङ्कित बनाएको छैन । कोरोनाले निम्त्याएको सन्त्रास डरलाग्दो छ । यसको संक्रमणको विस्तार रकेटको गतिमा छ । अहिलेसम्म यसको खोप–औषधिहरु पत्ता नलागिसकेको हुनाले र आफ्नो रक्षा आफै गर्ने भन्ने कुरामा पनि ध्यान नदिँदा यो अत्यन्तै डरलाग्दो ढङ्गले विश्वभरि नै फैलिन पुग्यो । हुन त मानव समुदायले थुप्रै महामारीको सामना गर्दै आएको छ । एक शताब्दी अघि स्पेनिस् फ्लुले करिब पाँच करोड मानिसको ज्यान लिएको थियो । मानव समुदायमा समय समयमा देखा पर्ने यस्ता विपत्तिको कारण केलाएर शान्ति कायम गर्न सबै प्रकारका हिंसामुक्त राष्ट्र निर्माणमा केन्द्रित हुन जरुरी भइसकेको छ । आफ्नो स्वार्थका लागि अरुलाई प्रयोग गर्नुु मुर्खता शिवाय केही हुनै सक्दैन भन्ने बुझेर आत्मानुशासनको पालना गर्नुपर्छ । कोरोना महामारी यति बेला विश्व समुदाय आतङ्कित बनेको मात्र छैन यसले व्यापार,व्यावसाय,उद्योग,पर्यटन चौपट बनेको स्थिति छ । विश्व अर्थतन्त्र धरासायी हुने आँकलन विज्ञहरुले गरेका छन् । विश्वका पौने दुई करोड मजदुरहरुले आफ्नो रोजगारी गुमाउने अवस्था पैदा भएको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् यसले मजदुर वर्गको रोजिरोटी खोसिने देखिन्छ । बेरोजगारी अर्को जटिल समस्या बनेर आउन सक्ने कुरालाई नकार्न सकिँदैन । यसकारण अब राज्यले आम नागरिकका साझा समस्यालाई चाँडो उचित सम्बोधन गर्न आवश्यक छ । लकडाउनका कारण निम्नवर्गको अवस्था ज्यादै दयनीय बन्न पुगेको छ । यदि यसको सम्बोधन नभए र उचित राहत पुर्याउन नसके भोक युद्ध हुनसक्ने खतरा पनि उत्तिकै दखिन्छ । एकातिर कोरोना महामारी रोक्न घरभित्रै बसेर यसका विरुद्ध लड्नु त छँदै छ अर्कोतिर आम मानिसमा यसले पारेको मानसिक त्रास हटाउँदै सरकारले सबै हिसाबले नागरिकको सुरक्षा गर्नुपर्ने स्थिति पैदा भएको छ । यस अवस्थामा सरकारले विगतका सङ्कटको अवस्थाबाट पाठ सिक्दै बुद्धिमतापूर्वक आवश्यक कदम चाल्नुपर्ने कुरामा दुई मत छैन । नेपालमा त झन् सङ्कटको घडीमा समेत भ्रष्टाचार मौलाउने गरेको कुरा घाम जत्तिकै छर्लङ्ग छ । यस्ता भ्रष्ट व्यक्ति पहिचान गरी कडा कारर्वाही नगरे विदेशी सहयोग र जनताले गाँस कटाएर गरेको सहयोग पनि बालुवामा पानी बन्न पुग्ने देखिन्छ । यस घडीमा सबै प्रकारका शत्रुता भुलेर,घमण्ड तोडेर ईर्ष्या छोडेर मानव उद्दार र सेवामा लाग्नु पर्ने तथ्य भुल्नु हुँदैन । सत्य,तथ्यपूर्ण समाचार मात्र सम्प्रेषण गरी आम जनमानसलाई सुसुचित गर्न सञ्चार माध्यमहरु पनि लाग्नुपर्छ । हामीलाई पुर्खाले नासोका रुपमा छाडेर गएको यो सुरम्य प्रकृति,साझा धर्ति नबिगारिकन सुम्पनैपर्छ । हाम्रो भविष्य हामीले नै कोर्नु छ, सजाउनु छ । अँध्यारो पछि पक्कै हुनेछ सुनौलो विहानी । अन्ततः हार्ने छ कोरोना भाइरसले । विपत्ति पर्दा मात्र हारगुहार गर्ने, ईश्वर पुकार्ने नगरी यो धर्तिलाई सिँगार्न सबै मानिस एकजुट भएर उठ्नु छ । महामारीका विरुद्ध लड्नु छ र बढ्नु छ अगाडि । धर्तिलाई फलाम र कंक्रिडले ढाकेर भौतिक सुविधामा लिप्त बनिरहे मानिसले अरु यस्ता थुप्र विपत्तिको सामना गर्ने दिन झन् नजिकिँदै छ । हामीले प्रकृति माथिको दोहन नरोकेर धर्तिलाई उजाड बनाइरह्यौ भने हामी भोक र प्यासले तड्पितड्पि मर्नुपर्ने दिन नआउला भन्न सकिन्न । साथै हामीलाई हाम्रा भावी सन्ततीले समेत धिक्कार्ने छन् । हामीलाई पुर्खाले नासोका रुपमा छाडेर गएको यो सुरम्य प्रकृति,साझा धर्ति नबिगारिकन सुम्पनैपर्छ । हाम्रो भविष्य हामीले नै कोर्नु छ, सजाउनु छ । अँध्यारो पछि पक्कै हुनेछ सुनौलो विहानी । अन्ततः हार्ने छ कोरोना भाइरसले । धैर्य गरौँ धैर्यताको फल मिठो हुनेछ । गुकाएका आफन्तको अनुहार सम्झेर जागाउन लागौँ पालुवा । वर्तमानको सदुपयोग गरौँ भविष्यत् आफैं उज्ज्वल बन्ने छ । यो विपत्ति यो चुनौतिले अर्को एउटा सुनौलो अवसर पनि त लिएर आएको हुन सक्छ । परोपकार नै हाम्रो धर्म हो । जसरी सूर्य अरुकै लागि उदाउँछ त्यसरी नै हामी पनि अरुका लागि बाँचौँ । यो महामारीको समयमा अहोरात्र खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, सञ्चारकर्मी सबैप्रति नमन । सूर्य,चन्द्रमा,पृथ्वी, वायु, नदी पहाड सबैले आफ्नो कर्तव्य पूरा गरेजस्तै हामी पनि आफ्नो कर्तव्यबाट टाढा नभागौँ । बस् सबै ठिक हुनेछ । (तस्वीरहरू गुगलबाट लिइएका हुन्) दाङसिङ–८, नुवाकोट (हालः पोखरा–११) [email protected]
भारतबाट लुकिछिपी प्रवेश गरेका १५ भारतीय किशोरको रिपोर्ट नेगेटिभ
काठमाडाैं । लकडाउनका अवस्थामा गत चैत २२ गते राति लुकिछिपी भारतबाट महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ आएको छ । करीब १५ दिनसम्म साथीका घरमा लुकिछिपी बसेका ती किशोरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको थियो । भारत, उत्तर प्रदेश राज्यको एक मदरसामा पढ्दै गरेका तिनीहरु बहेडा गाउँका एक साथीसँग आआफ्ना घर फर्किने क्रममा भारत बिहारको सीतामढीमा लकडाउनका कारण घर जान नसकेपछि साथीसँगै महोत्तरीको बहेडामा आएर बसेका थिए । चैत २२ गते राति आएर बसेका ती किशोरलाई महोत्तरी जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको सहयोग एवं समन्वयमा छुट्टै घरमा क्वारेन्टाइन बनाई राखिएको थियो । उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका ल्याब टेक्निसियन शम्भु कुशवाहाले बताए । टेक्निसियन कुशवाहाका अनुसार १३ देखि १८ वर्ष उमेरका ती किशोरको अवस्था सामान्य छ । रासस
के तपाईंलाई खान बस्नकाे समस्या भयाे? अब यी १७ नम्बरमा फाेन गर्नुस्
काठमाडाैं । ‘लकडाउन’का कारण के तपाईं कुनै समस्यामा पर्नुभएको छ ? यदि पर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी काठमाडौंले तपाईलाई सहयोग गर्न सक्छ । नेकपा जिल्ला कमिटी काठमाडौंले ‘लकडाउन’को समयमा काठमाडौंभित्र कुनै समस्यामा परे आवश्यक सहयोग उपलब्ध गराउन जिल्लाका अध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यको टेलिफोन नम्बरसमेत उपलब्ध गराएको छ । नेकपा जिल्ला कमिटी सचिव हिमाल शर्माका अनुसार समस्या वा उल्झनमा परेका काठमाडौंमा रहेका जो कोहीलाई पनि खान र बस्नेको व्यवस्था गरिनेछ । ‘तपाईहरु जहाँ हुनुहुन्छ, त्यही रहनुस् । खान, बस्नको समस्याले कोही कसैले पनि काठमाडौं छाड्नु पर्दैन ।’- उनले भने । नेकपाले समस्यामा परेका नागरिकलाई सहयोग गर्न वडाका जनप्रतिनिधि, प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सदस्य, प्रदेश तथा सङ्घीय सांसदहरुको सम्पर्कमा जानसमेत आग्रह गरेको छ । समस्यामा परेकाले आवश्यक सम्पर्क गर्नसमेत आग्रह गरिएको छ । नेकपाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई, नेताहरु रामशरण ढुङ्गाना, सरिता न्यौपाने, मधुसुदन तण्डुकार, महेश्वर फुयाँल र ईश्वर सापकोटालाई समस्यामा परेकाले सम्पर्क गर्न भनेको छ । यस्तै केन्द्रीय सदस्य सावित्रा भुसाल, रामेश्वर फुयाँल, सुरेन्द्र मानन्धर, नारायण सिलवाल , वसन्त मानन्धर, अञ्जना विसङ्खे, मुक्ति प्रधान, कुमार पौडेल, पार्वती थापा र दिलीप महर्जनलाई सम्पर्क गर्न आग्रह गरेको छ । नेकपाले सामाजिक दूरी कायम गर्दै लकडाउनलाई पूर्ण पालना गर्न, कुनै अफवाहको पछाडि नलाग्न आग्रह गरेको छ । यस्तै आफू बच्न र अरुलाई पनि बचाउन आग्रह गरेको सो पार्टीले जनाएको छ । रासस
भारतीय बैंक र सेयर बजार खुला, नेपाली सेयर बजारकाे तयारी यस्ताे छ
काठमाडाैं । आजदेखि भारतमा लकडाउनको केही प्रतिबन्धमा छुट दिइएको छ । तर, यो छुट सबै राज्यमा लागू हुने छैन । केही राज्यले त कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणलाई ध्यानमा राख्दै कुनै किसिमको छुट नदिने बताइसकेका छन् । याे सँगै अब भारतीय बैंक र सेयर बजार पनि खाेलिने भएकाे छ । केन्द्र सरकार र राज्य सरकारको सबै कार्यालय खुल्नेछ । सार्वजनिक क्षेत्रमा मास्क (मुखावरण) लगाउन वा अनुहार ढाक्न अनिवार्य गरिएको छ । आजदेखि खेती, फूल र कृषिसँग जोडिएका गतिविधि सुरु गर्न इजाजत दिइएको छ । साथै सबै स्वास्थ्य सेवा निरन्तर चलिरहेनेछ, यसमा आर्युवेदसँग जोडिएको सेवा पनि पर्छ । महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेण्टी अधिनियम (मनरेवा) सँग जोडिएका मनदुरहरुलाई काम गर्ने इजाजत दिइएको छ तर उनीहरुको शारीरिक दुरीलाई निकै सतर्क भएर पालना गर्नुपर्छ । खेतीसँग जोडिएका सामान, कल, पुर्जाको सप्लाई गर्न सकिनेछ । औषधि बनाउने कम्पनी र मेडिकल उपकरण बनाउने कारखाना खोल्न सकिनेछ । चिया, कफी र रबर प्लान्टेशनलाई ५० प्रतिशत कर्मचारीहरुको उपस्थितिमा काम गर्न सक्ने इजाजत दिइएको छ । तेल र ग्याससँग जोडिएका सबै गतिविधि यथावत रहनेछ । पोस्टल सर्भिस पनि यथावत रहनेछ, पोस्ट अफिस खुल्नेछ । गौशाला र जनावरहरुको शेल्टर होम खुलाउन सकिनेछ । आवश्यक सेवाहरुको आपूर्तिमा छुट दिइएको छ । निर्माण कार्यलाई अनुमति दिइनेछ । राजमार्गको होटल, ट्रक मर्मत गर्ने पसल र सरकारी कामसँग जोडिएका कल सेण्टर खुल्न सक्नेछन् । इलेक्ट्रिशियन, आईटी, प्लम्बर, मोटर मेकानिक, कार्पेन्टर र यस्तै किसिमका स्वरोजगार व्यक्तिका लागि काम गर्ने इजाजत दिइएको छ । तर यी सबै छुट कोरोनाको हटस्पट र प्रभावित क्षेत्रमा रहनेहरुका लागि पनि हुनेछैन । ग्रामीण इलाकामा चलिरहेको उद्योगधन्दा खोल्ने अनुमति छ तर शारीरिक दुरीलाई पालना गर्नुपर्छ । कुनै पनि राज्य सरकार या केन्द्रशासित प्रदेशलाई यो नियमको नजरअन्दाज गर्ने अनुमति दिइएको छैन । विभिन्न राज्य र केन्द्रशासित प्रदेशले चाहे भने स्थानीय आवश्यकताका अनुसार लकडाउनलाई अझ कडाइ गर्न सक्नेछन् । के–के बन्द रहनेछ ? रेल, मेट्रो, सडक र हवाई यात्रा आउँदो मे ३ सम्म बन्द रहनेछ । शपिङ मल, सिनेमाघर, अडिटोरियम, खेल परिसर, स्विमिङ पुल, मनोरञ्जन पार्क, बार, जिम, रेस्टुरेण्ट सबै बन्द रहनेछन् । स्कुल, कलेज र सबै शिक्षण संस्थान पनि मे ३ सम्म बन्द रहनेछ । तर यी संस्थाहरुको शैक्षिक सेशनलाई भने व्यवस्थित गर्नुपर्नेछ । यसको लागि उनीहरुले अनलाइन कक्षाको सहारा लिन सक्छन् । यसका लागि दूरदर्शन र अन्य शैक्षिक च्यानलको सहयोग लिन सक्नेछन् । मन्दिर, मस्जिद, गुरुद्वारा, चर्च र कुनै किसिमको धार्मिक स्थल पूर्णरुपमा बन्द रहनेछ । यसका लागि कुनै पनि धार्मिक आयोजनाको अनुमति हुने छैन । विवाह, सार्वजनिक कार्यक्रम, सामाजिक उत्सव, सांस्कृतिक कार्यक्रम, सेमिनार, राजनीतिक कार्यक्रम, कन्फ्रेस, खेला आयोजनामा प्रतिबन्ध रहनेछ । अन्तिम संस्कारमा २० जनाभन्दा धेरै उपस्थित हुन सक्ने छैनन् । नेपाली सेयर बजारकाे तयारी के हुन्छ ? नेपालकाे सेयर बजार लकडाउन अवधिभर बन्द हुने भएको छ । सरकारले लकडाउनकाे अवधि थप बढाएपछि बैशाख ३ गते बसेको नेप्से सञ्चालक समितिले बैशाख १५ गतेसम्म सम्पुर्ण सेयर बजार बन्द गर्ने निर्णय गरेको थियाे। नेप्सेले यस अघि लकडाउन अवधिभर अर्थात् बैशाख ३ गतेसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । सरकाले हाल जारी रहेको लकडाउनलाई पुनः वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेसँगै नेप्सेले पनि कारोबार बन्द हुने अवधि बढाएको हो । अब भने लकडाउन जहिलेसम्म रहन्छ सेयर बजार पनि त्यससम्म नै राख्ने मनसायमा नेप्से छ ।
कोरोना भाइरस संक्रमणः मान्छेले मासु खान छोड्नै पर्ने हो ?
काठमाडौं । सन् २००२ को सार्स रोग र त्यसैगरी २०१३ मा पश्चिमी अफ्रिकामा फैलिएको इबोलाको समय पनि यस्तै नै भयो, जुन हाल कोभिड–१९ को महामारीमा भइरहेको छ । यस्तो परिस्थिति कुनैपनि महामारीमा हुन सक्छ । यी सवै जनावरबाट मानवमा फैलिएको भाइरसवाला महामारीका उदाहरणहरु हुन् । एउटा नयाँ अध्ययन अनुसार केवल मानव मात्र यी महामारीहरुको शिकार भएका होइनन् । प्रकृतिको साथ जुन प्रकारको छेडछाड भइरहेको छ, त्यसले यी महामारीहरुलाई प्रोत्साहन दिएको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाको भेटनरी स्कुलकी रिसर्चर क्रिस्टीन जोनसन भन्छिन्, ‘मानवले नै विषाणुहरुलाई जनावरबाट आफूहरुसम्मको बाटो देखाइरहेको छ । चुप लागेर आगामी महामारीलाई पर्खनुभन्दा अघि नै हामीले जरुरी कदम उठाउनै पर्छ ।’ साइन्स जर्नल ‘प्रोसिडिंग्स अफ द रोयल सोसाइटी बीः बायोलोजिकल साइन्सेज’मा हालै मात्र यस सिलसिलामा एउटा रिसर्च पेपर प्रकाशन भएको छ । लुप्तप्राय: प्रजाति यस रिसर्च पेपरकी लिड राइटर क्रिस्टीन जोनसन भन्छिन्, ‘वन्य जीवहरु र तिनका आवाससँग हामी जुन प्रकारले छेडखानी गरिरहेका छौं, त्यसको सीधा नतिजा बमोजिम यी भाइरस जनावरबाट बाहिर निस्केर हाम्रो दुनियाँमा आइपुगे । प्रकृतिको साथ छेडछाडको यो नतिजा हो कि अब यी जनावरहरु आफ्ना विषाणु हामीसँग सेयर गरिरहेका छन् ।’ ‘मानवका गतिविधिले कतिपय प्रजातिहरुलाई विलुप्त हुने अवस्थासम्म पुर्याइदिएका छन् । यतिमात्र होइन जनावरको दुनियाँको परिस्थितिहरु हाम्रो दुनियाँमा उपस्थिति जनाइरहेका छन् । यो दुर्भाग्यपूर्ण कुरा हो कि हाम्रो अनावश्यक हस्तक्षेपले संकटको परिस्थिति ल्याइदिएको छ जस्तो कि हामी हाल कोभिड–१९ को महामारीबाट गुज्रिरहेका छौं ।’ क्रिस्टीन जोनसन र उनका सहयोगीहरुले यस्तै १ सय ४२ ज्ञात ‘केस’हरुको अध्ययन गरेका छन् जहाँ केही रोग जनावरबाट निस्केर मानवसम्म पुगे । क्रिस्टीनका टिमले यो जानकारीलाई विलुप्त हुने अवस्थामा पुगेका जनावरहरुको रेड लिस्टसँग मिलाएर हेरे । यो रेड लिस्ट इन्टरनेशनल यूनियन अफ कन्जर्वेशन फर नेचर (आईयूसीएन) ले तयार गरेको हो । मानव हस्तक्षेपको असर क्रिस्टीन भन्छिन्, ‘हामीसँग जुन तथ्यांक छ, त्यसले यो बताउँछ कि लुप्तप्राय प्रजातिहरुबाट भाइरसको संक्रमण हुने दुई प्रक्रियाहरु हुन्छन् । एउटा त शिकार र तस्करीबाट वन्य जीवहरुलाई मार्ने गरिएको छ । यसबाट मानव जनावरहरुको सम्पर्कमा आइरहेको छ ।’ ‘जनावरहरुको रगत, मलमूत्र अथवा जनावरबाट निस्कने अन्य चीजहरुको सम्पर्कमा मानव आइरहेको छ र यसले मानवमा संक्रमणको खतरा बढेर गएको छ । यी जनावर बजारमा बेचिन्छन् । मानवले ती जनावरहरुलाई अन्य जनावरसँग थुनेर राख्छन् । यसो हुँदा विषाणुहरुलाई एउटा जनावरबाट अर्को जनावरसम्म पुग्न सजिलो भएको छ ।’ ‘यदी ती वन्य जीवहरु आफ्नो प्राकृतिक आवासमै रहन्थे भने यस्तो कहिल्यै पनि हुँदैनथ्यो । दोस्रो पक्रियामा इकोसिस्टमसँग मानवको छेडछाड हो । जुन प्रकारले मानवको आवादी बढ्दै गइरहेको छ र बढ्दो आवश्यकता पूर्तिका लागि जमीनको प्रयोग गरिरहेको छ । त्यसबाट आउने समयमा नयाँ विषाणुहरु बारम्बार देखापर्ने आशंका बढ्दै गएको छ ।’ भाइरसबाट हुने महामारीहरु सन् २०१२ मा प्रतिष्ठित अमेरिकी विज्ञान पत्रकार डेभिड क्वाम्मेनले आफ्नो किताब ‘स्पिलोवरः एनिमल इन्फेक्शन एण्ड द नेक्स्ट ह्यूमन पेण्डामिक’मा यस वारेमा चेतावनी दिएका थिए । डेभिड क्वाम्मेनले आफ्नो कितावमा जनावरहरुबाट मानवसम्म पुग्ने भाइरसजनित महामारीहरुको लामो लिस्ट बताएका छन् । यी महामारीहरु हुन्, मारबर्ग (सन् १९६७), लास्सा (सन् १९६९), निपाह (सन् १९९८), एचआईभी (सन् १९८१), हेंड्रा (सन् १९९४), एवियन इन्फ्लुएन्जा भाइरस (सन् १९९७) र स्वाइन फ्लू भाइरस (सन् २००९) । त्यसैगरी सन् २००२ मा फैलिएको सार्स महामारीको शुरुवात चमेराबाट भएको थियो । कोरोना भाइरसको वारेमा पनि यही अनुमान गरिएको छ कि यो चमेराहरुबाट शुरु भयो । तर मानव र चमेराहरुको बीचमा कुन जनावर विचौलिया बन्यो, त्यो वारेमा प्रष्ट हुन सकेको छैन । अमेरिकाको मोन्टानाबाट डेविड क्वाम्मेनले बीबीसी मुन्डोलाई बताए कि, ‘मानव सधैं जंगली जनावरहरुको सम्पर्कमा रहँदै आएको छ । यसैले विषाणुहरु जनावरबाट मानवसम्म आइपुग्नु कुनै नौलो कुरा होइन । १४औं शताब्दिमा फैलिएको बुबोनिक प्लेग जसलाई ब्ल्याक डेथ पनि भनिन्छ, यसको एउटा अर्को उदाहरण हो कि मानवले कति धेरै नोक्सान व्यहोर्नु परेको थियो ।’ महामारीहरुबाट शिक्षा तर डेविड क्वाम्मेन याद दिलाउँछन् कि जनावरहरुबाट मानवलाई हुने संक्रमणको अवस्था लगातार बढ्दै गइरहेको छ । र, यसको कारण पनि छ । उनी भन्छन्, ‘मानवको आवादी यति धेरै पहिले कहिल्यै थिएन । त्यसैले हामी प्रकृतीसँग लगातार छेडछाड गरिरहेका छौं । धेरै मानिसहरु जंगली जनावरको सम्पर्कमा आइरहेका छन् किनकि उनीहरु शिकार गर्छन् र त्यसलाई खान्छन् ।’ ‘भाइरस जनावरबाट मानवसम्म पुग्नका लागि यो एकदम अनुकूल परिस्थिति हो । यसको साथै हामीसँग तीव्र गतिका यातायातका साधन छन् । मानौं एउटा भाइरसले कुनै एकजना मानिसलाई संक्रमित गर्छ र करिव २० घण्टा भित्र ऊ आधा दुनियाँको यात्रा तय गर्छ । हामी कंगो, बोर्नियाँ र अमेजन जस्ता स्थानसम्म पुगेका छौं र त्यहाँ हामीले उद्योग लगाएका छौं । वन्य जीवहरुको जिन्दगीमा दखल दिएका छौं । हामी आफ्नो पाल्तु जनावरहरुको साथ तीनका बीचमा गएर बसेका छौं ।’ कोरोना भाइरसबाट फैलिएको महामारीबाट के शिक्षा पाइन्छ त ? यस सम्वन्धमा डेविड क्वाम्मेन भन्छन्, ‘मेरो नजरमा यस महामारीबाट दुईओटा शिक्षा पाइन्छ । यदि हामी भविष्यमा यस्तो स्थितिबाट बच्न चाहन्छौं भने हामीले आफ्नो खानपानमा क्रान्तिकारी परिवर्तन ल्याउनु पर्ने हुन्छ, ताकि जंगली जनावरहरुको प्राकृतिक आवासको विध्वंस रोक्न वा कम गर्न सकियोस् ।’ ‘दोस्रो यो हो कि यदि हामी भविष्यमा आउनेवाला महामारीहरुबाट बच्न चाहन्छौं भने हामीले आफ्नो सार्वजनिक स्वास्थ्यको व्यवस्थालाई दुरुस्त राख्नु पर्छ । हामीलाई प्रशिक्षित मानिसहरुको आवश्यकता पर्छ । पर्सनल प्रोटेक्टिव इक्विपमेन्ट, किट्स, जाँचको व्यवस्था र भ्याक्सिनको व्यवस्थामा हामीले ढिलो गर्न हुँदैन । राजनेताहरुले यो बुझ्नुपर्छ कि महामारीहरु वास्तवमै खतरा हुन् ।’ (बीबीसी हिन्दीबाट भावानुवाद)
डोल्पामा स्वाब परीक्षण गरिएका पाँचको रिपोर्ट नेगेटिभ
डोल्पा । डोल्पामा स्वाब परीक्षण गरिएका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार जिल्लामा पुगेको कोभिड–१९ द्रुत परीक्षण किटबाट पहिलोपटक पाँचको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला बाहिरबाट आएर होम क्वारेन्टाइनमा रहेका दुईसहित पाँच जनालाई पहिलोपटक द्रुत डाइग्नोस्टिक परीक्षण (आरडिटी) गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा सिजन रावलले जानकारी दिए । डोल्पाका स्थानीय तहले भारत तथा अन्य मुलुकबाट आएका सर्वसाधारणको यकिन तथ्याङ्क नदिँदा धमाधम परीक्षण गर्न नसकिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । स्वास्थ्यकर्मीको टोली गाउँपालिकामा भारतबाट आएका आठ जना सर्वसाधारणको दु्रत डाइग्नोस्टिक परीक्षणका लागि आइतबार किटसहित चिकित्सकको टोली जगदुल्ला गाउँपालिका सदरमुकाम दुनैबाट हिँडेको छ । उनीहरुको परीक्षणका लागि जिल्ला अस्पतालमा कार्यरत डा मछिन्द्र बडुवालको नेतृत्वमा चार जनाको टोली आइतबार गाउँपालिकातर्फ गएको जिल्ला अस्पतालले जनाएको छ । उक्त टोलीले जगदुल्ला गाँउपालिकामा दु्रत परीक्षण कीटद्वारा स्वाब परीक्षण सकेर मुड्केचुला गाउँपालिका जाने बताइएको छ । मुड्केचुला गाउँपालिकामा पनि भारतबाट आएका केही सर्वसाधारण रहेकाले उनीहरुको पनि परीक्षण गर्ने अस्पतालले जनाएको छ । स्थानीय तहले कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिको द्रुत परीक्षणका लागि बोलाएको खण्डमा तुरुन्तै किटसहित चिकित्सकको टोली खटाएर परीक्षण गरिने डा रावलले बताए । डोल्पामा कोरोना आरडिटी परीक्षण किट १४० थान, मलेरियाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने ल्यान सेट आइपुगेको छ । जिल्लामा तीन हजारभन्दा धेरै मानिस भित्रिएको भए पनि कुन स्थानीय तहमा कति जना विदेशबाट आए भन्ने तथ्याङ्क कसैसँग छैन । रासस
सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क र १ थान साबुन सित्तैमा पाईने
काठमाडौं । सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क र १ थान साबुन नि:शुल्क पाउने भएका छन् । उनीहरुले पेलेस एपको कुपन सेक्शनको खेती फुडबाट सामग्रीको खरिद गरी उक्त सामान सित्तैमा पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको अग्रणी ई-कमर्स प्लेटफार्म पेलेस एपसँग सहकार्य गरी उक्त सेवा सुविधा दिने भएको हो । लकडाउनकाे समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी पेलेस एपले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ । यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्नेछ । यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि पेलेस एपको कुपन सेक्शनको खेती फुडबाट सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट अग्रिम भुक्तानी गर्न सक्नेछन् । साथै, कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क नि:शुल्क उपलब्ध गराउने छ । जसको लागि सेलपेको ग्राहकहरुले पेलेस एपको कुपन सेक्शनको खेती फुडबाटसामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत अग्रिम भुक्तानी गरेमा १० थान मास्क र १ थान साबुन नि:शुल्क पाउनेछन् ।