विकासन्युज

बैंकले आफ्नो नाफाबाट ऋणीलाई ६ अर्ब ३६ करोड छुट दिँदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणीका लागि बम्पर छुटको योजना ल्याउने भएका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण ऋणीलाई समस्या परेकोले ६ अर्ब ३६ करोड रुपैयाँ व्याज छुटको स्कीम ल्याउन लागिएको हो । बैंक तथा वित्तीय संस्थाको संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले ऋणीलाई चैत र बैशाख महिनाको व्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ३१ खर्ब ८५ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको औसत व्याजदर ११.९४ प्रतिशत छ । सो व्याजदर अनुसार ३१ खर्ब ८५ अर्ब ६२ करोड रुपैयाँको वार्षिक व्याज रकम ३ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ हुन आउँछ भने मासिक व्याज रकम ३१ अर्ब ६९ करोड रुपैयाँ हुन्छ । परिसंघले चैत र बैशाख महिनाको व्याज रकमको १० प्रतिशत छुट दिने निर्णय गरेको हो । परिसंघले छुट दिने भनेको व्याज रकम ३१ अर्ब ६९ करोडको १० प्रतिशत व्याजका दरले मासिक ३ अर्ब १७ करोड रुपैयाँ हुन्छ । र, २ महिनाको व्याज छुट दिदा करिब ६ अर्ब ३६ करोड रुपैयाँ हुन्छ । बैंकको ध्यान नाफामा मात्रै केन्द्रीत हुन्छ भन्ने आरोप लागिरहेको समयमा संकटको बेलामा ऋणीलाई राहत दिन आफूहरुले यस्तो निर्णय गरेको बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बताए । कोरोना भाइरस संक्रमणका कारण ऋणीलाई समस्या परेकोले बैंकको तर्फबाट बेग्लै राहत कार्यक्रम ल्याउन छलफल भइरहेको केही दिन अघि नै बताएका थिए । बैंकबाट ऋण लिएर उद्यम व्यवसाय गरिरहेका ऋणी समस्यामा परेकोले केही न केही राहत कार्यक्रम ल्याउन पहल भएको परिसंघका उपाध्यक्ष तथा मेगा बैंक संचालक समिति अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । परिसंघले ल्याउन लागेको राहत कार्यक्रमका विषयमा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग समन्वय गरिने उनको भनाइ छ । परिसंघ सदस्य तथा सिद्धार्थ बैंक संचालक समिति अध्यक्ष मनोज केडियाले अर्थतन्त्रका सम्पूर्ण अवयव नै बन्द भएकोले ऋणीलाई बैंकहरुको तर्फबाट केही राहत दिनुपर्छ भन्नेमा सबैं बैंक तथा वित्तीय संस्थाका संचालकहरु सहमत भएको बताए । ‘उद्यम व्यवसाय चल्यो भने सर्वसाधारणले उपभोग्य बस्तु पाउँछन्, सरकारले राजस्व पाउँछ, अहिलेको लकडाउनले सबै कुरा ठप्प भएको छ, यस्तो बेलामा उद्योग मर्ने र बैंकमात्रै मोटाउने हुन सक्दैन भनेर बैंकको तर्फबाट राहत रकम कार्यक्रम ल्याउन लागिएको हो,’ केडियाले भने । यस्तै, परिसंघले साना तथा मझौला उद्यम व्यवसाय गर्नको लागि १ करोड रुपैयाँसम्मको ऋण सहुलियत व्याजमा दिने निर्णय पनि गरेको छ । परिसंघले दिने भनेको छुट रकम सरकार वा नेपाल राष्ट्र बैंकले प्रदान गर्ने बाहेकको हो । यस्तो रकम विदेशबाट फर्केका तथा महिलाले संचालन गर्ने उद्यम व्यवसायले पहिलो प्राथमिकता पाउने छन् । परिसंघले बैंक तथा वित्तीय संस्थाहरुको संचालन खर्च कटौतिका विषयमा अध्ययन गर्न विषेशज्ञ सहभागी भएको एक अध्ययन समिति बनाउने निर्णय पनि गरेको छ । सो समितिले गरेको सिफारिसका आधारमा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकसँग समन्वय गरी खर्च कटौति गर्नेछन् ।

क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या

टोरन्टो । क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय घरमा आगो समेत लगाइदिएका थिए । क्यानाडाको इतिहासमा सबैभन्दा विभत्स मानिएको यस घटनामा संलग्न व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएको प्रहरीले जनाएको छ । मारिएका व्यक्तिमध्ये एक जना प्रहरी अधिकृत पनि रहेका छन् । हेलिफ्याक्सबाट उत्तरतर्फ करिब १०० किलोमिटरको दुरीमा रहेको सानो ग्रामीण शहर पोर्टापिकमा उक्त घटना भएको हो । प्रहरीका अनुसार एउटा सानो घरभित्र र बाहिर सबैभन्दा बढी मानिसका शव भेटिएका थिए । घटनालगत्तै प्रहरीले स्थानीयवासीलाई घरभित्रै बस्न र घरका ढोकामा ताला लगाउन अनुरोध गरेको थियो । क्यानाडा सहित यो ठाउँ पनि कोरोनाभाइरस महामारीका कारण लकडाउनको अवस्थामा छ । प्रहरीले बन्धुकधारी ५१ वर्षीय ग्याब्रिएल वोर्टम्यान भएको बताएको छ । उनी पनि पोर्टापिककै अस्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनले प्रहरीको पोशाक लगाउनुका साथै रोयल क्यानेडियन लेखिएको प्रहरी कारमा सवार थिए । ‘यो हाम्रो प्रान्तको इतिहासमा भएको हिंसाको सबैभन्दा विभत्स घटना हो,’ नोभा स्कटियाका प्रमुख स्टिफन म्याकनीलले बताए । क्यानेडियन प्रहरीका प्रवक्ता डानियल ब्राइनले उक्त संदिग्धका अतिरिक्त १६ जनाको मृत्यु भएको पुष्टी गरे । क्यानाडामा सामूहिक गोलीकाण्डका घटना कमै हुने गरेका छन् । सन् १९८९ मा मोन्ट्रियलको इकोल पोलिटेक्निक कलेजमा बन्दुकधारी मार्क लेपिनले १४ जना महिलाको हत्या गरेपछि क्यानाडाले आफ्नो बन्दुक नियन्त्रण कानुनमा संशोधन गरेको थियो । क्यानाडामा अहिले दर्ता नभएका ह्यान्डगन (हाते बन्दुक) वा एकै पटक धेरै गोली हान्न सक्ने (आरपिडब्लु) स्वचालित हतियार राख्न अवैध बनाइएको छ । हतियार किन्नुअघि पर्याप्त प्रशिक्षण, व्यक्तिगत जोखिम मूल्याँकन, दुई जनाको सिफारिस, पति वा पत्नीलाई पूर्व जानकारी तथा फौजदारी रेकर्डको जाँच गरिन्छ । उक्त घटनालगत्तै प्रधानमन्त्री जस्टिन ट्रुडोले एउटा हस्तलिखित विज्ञप्ति प्रकाशन गरी ‘एक देशको रूपमा, यस्ता क्षणहरूमा हामी एक अर्कालाई सहयोग गर्न एकताबद्ध हुन्छौं । हामी सबै पीडित परिवारको साथमा छौं, उनीहरूलाई यो कठिन समयमा सहयोग गर्नेछौं’ भनेका छन् । प्रहरी प्रमुख क्रिस लिथरले घटनाको मुख्य उद्देश्य अनुसन्धानको क्रममा रहेको जानकारी दिए । उनले अहिलेसम्मको अनुसन्धानले घटनामा एक व्यक्ति मात्र संलग्न रहेको देखिएको बताए । उक्त घटना लगत्तै पुगेको प्रहरी र संदिग्ध व्यक्तिबीच गोली हानाहान भएको पनि लिथरले बताए । (रासस–एपी)

प्रभु-पे दुर्गम वस्तीको पनि सारथी बनेको छः सीईओ रेग्मी

देश लकडाउनमा छ । विश्व कोरोना भाइरस (कोभिड १९) सँगको लडाइँमा छ । सबै घरभित्रै छन् । मानिसहरुका दैनिक गतिविधीहरुदेखि सबै व्यापार व्यावसाय ठप्प छन् । तर, यतिखेर एउटा व्यवसायले भने बजार निकै तताएको छ, त्यो हो डिजिटल वालेट । नेपालमा धेरै डिजिटल वालेटहरु छन् । उनीहरुले अहिले घरमै बसेका नागरिकहरुलाई सहज तरिकाले आफ्नो सेवा दिइरहेका छन् । ती डिजिटल वालेटहरू मध्येको एक हो प्रभु-पे । प्रभु ग्रुपबाट सञ्चालित प्रभु-पेले यो समयमा कसरी काम गरिरहेको छ ? आफ्ना ग्राहकलाई कसरी सेवा दिइरहेको छ ? र व्यापार विस्तार तथा नयाँ रणनीतिका बारेमा विकासन्युजका सन्तोष रोकायाले प्रभु-पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खुशल रेग्मीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश लकडाउनको समय छ, ग्राहकहरुलाई सेवा कसरी दिइरहनु भएको छ ? देशमा लकडाउन भएदेखि नै हामी घरबाटै काम गरिरहेका छौं । हामीले हाम्रा ग्राहकलाई कसरी सन्तुष्ट बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ २४सै घण्टा टेलिफोन गर्न सक्ने सुविधा पनि राखेका छौं । हामी पहिलेको भन्दा ग्राहकको सेवामा झन बढी समर्पित भएर काम गरिरहेका छौं । अफिस समयभन्दा पनि बढी हाम्रा ग्राहकले सेवा पाइरहेका छन् । लकडाउन हुनुभन्दा अगाडि हामीले केही पूर्व तयारी गर्नाले अहिले काम गर्न केही सहज भएको छ । अहिले ग्राहकलाई चाहिने भनेको रेमिट्यान्स र टपअप हो । हामीले त्यसलाई बढी जोड दिइरहेका छौं । अहिले त्यसैको नै कारोबार बढिरहेको अवस्था छ । हामीले देशका विभिन्न ठाउँमा रहेका हाम्रा एजेन्ट र मर्चेन्टहरु मार्फत काम गरिरहेका छौं । ग्राहकले हामीलाई फोन गर्नुहुन्छ । हामीले हाम्रा एजेन्टहरुलाई सम्पर्क गरेर ग्राहकको समास्याको समाधान गरिरहेका छौं । रेमिट्यान्सको सुविधा चाहियो फोन आउने बित्तिकै उनीहरुलाई हाम्रा मर्चेन्टको विवरण दिन्छौं । उनीहरुमार्फत नै समस्याको समाधान हुन्छ र उनीहरुले सहजै हाम्रो सेवा पाउँछन् । यो लकडाउनको समयमा कारोबारको अवस्था कस्तो छ ? अहिले अफिस खोलेरै गर्नु पर्ने कारोबारहरु भएका छैनन् । तर, जुन डिजटलबाट हुने कारोबार हो त्यो चाहिँ बढेको छ । प्रभु पेको कारोबार ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कुनै कारोबार भएन कुनै कारोबार बढेको छ । यसले पनि हाम्रो व्यापारमा सन्तुलन ल्याएको छ । कोरोबार बढेको चाहिँ कुन–कुन हो ? हाम्रो सबैभन्दा बढी त रेमिट्यान्स बढेको छ । इन्टरनेटको पेमेन्टहरु राम्रो नै भएको छ । कतिपयले पहिले घरमा भएको टिभी थन्क्याएर राखेका थिए । तर, अहिले टीभीको रिचार्ज गर्ने संख्या बढेको छ । टपअप, इन्टरनेट रिचार्ज लगायतका कारोबार बढेका छन् । पहिले मानिसहरुमा अफिसमा इन्टरनेट चलाइन्छ भनेर रिचार्ज कमै गर्थे । अहिले त्यो संख्या पनि बढेको छ । कारोबार बढ्याे भन्नु भयो, कतिले बढ्यो, तपाईहरु नाफामा हुनुहुन्छ ? हामीलाई नोक्सान भयो भन्ने अवस्था छैन । किनकि हामी सन्तुलनमा छौं । केही गतिविधी घटेको छ भने केही बढेको छ । अहिले धेरै व्यापार घटे भन्ने पनि सुन्नमा आउँछ तर हाम्रो व्यवसायमा त्यस्तो अवस्था छैन । हुनत हाम्रो जस्तै सेवा दिने धेर डिजिटल वालेटहरु छन् । हाम्रोमा बाहिरबाट आएको रेमिट्यान्स पनि रिसिभ गर्न मिल्छ । हाम्रो कसैले रेमिट्यान्स आयो भने कुनै एजेन्टकोमा धाउनु पर्दैन । पिन नम्बर राखेर वालेटमै रकम राख्न सकिन्छ । सो रकमलाई चाहे अनुसार बैंकमा ट्रान्सर्फर गर्न सकिन्छ । मानिसहरु वालेट गर्ने बढेका छन् । यी सबै समग्रमा ३० प्रतिशतले बढेको छ । यो भनेको हाम्रो लागि सकरात्मक पक्ष हो । अझै बढ्ने दर छ । हाम्रो प्रमोसन पनि राम्रो छ । हामी सामाजिक सञ्जालमा बढी फोकस गरेर काम गरिरहेका छौं । प्रत्येक दिन फरक फरक डिजाइन र कोभिड १९ सम्बन्धि सन्देशहरु दिएर प्रमोसन गरिरहेको छौं । हामीले अहिले बारफोनको सेवा दिएका छौं । जसबाट स्मार्टफोन नभएकाहरु पनि सजिलै सेवा पाइरहेका छन् । नेपालमा अझै पनि बारफोन चलाउने मान्छे धेरै छन् । त्यो जनसंख्यालाई मध्येनजर गर्दै हामीले बारफोनको सेवा ल्यायौं । हामीले यो पाइलट प्रोजेक्ट बनाएर दुर्गमका मानिसलाई पनि हाम्रो सेवामा ल्यायौं । हामी यसलाई पछि नै लञ्च गर्ने मनासायमा थियौं । तर, कोरोनाका कारण कर्णाली र सुदूरपश्चिमका मानिसलाई रिचार्ज गर्न पनि समस्या भएको कुरा सुन्नासाथ उनीहरुलाई बढी मध्येनजर गर्दै यो सेवा ल्यायौं । उक्त सेवा युएसएसडी मार्फत मोबाइल रिचार्ज, टेलिफोन बिल भुक्तानीलगायतका धेरै कारोबार गर्न सकिन्छ । प्रभु-पेमा युएसएसडीको प्रयोगकर्ताको आकर्षण कस्तो छ ? लकडाउनको समयमायसलाई मध्येनजर गर्दै दिनानुदिन बढ्दाे क्रममा छ । युएसएसडी प्रयोगकर्ताहरुले पनि हाम्रो सेवा सुविधाको बारेमा बुझ्दै हुनुहुन्छ । हामी अहिले ग्राहकहरुलाई त्यस सम्बन्धि बुझाई पनि रहेका छौं । त्यसको फिडब्याक राम्रो आइरहेको छ । सहजै तरिकाले उनीहरुले प्रयोग गरिरहनु भएको छ । बारफोन प्रयोगकर्ताले पैसा ट्रान्सर्फर गर्नको लागि चार तरिका अपनाउन सक्छन् । पहिला वालेट टु वालेट बार फोन भएको मान्छेलाई टन्सफर गर्न सक्छन् । त्यसमा एजेन्ट पनि हुन सक्छ । अर्को, प्रभुको सञ्जाल अन्तर्गत सहकारी संस्थाको खातावालबाट पनि ट्रान्सर्फर गर्न सकिन्छ । एकले अर्को वालेटबाट नै गर्न सक्छ । तेस्रो, कियोक्स (प्क्ष्इक्प्) मेसिनबाट पनि मानिसहरुले हाम्रो सेवा लिन सक्छन् र चौथो रेमिट्यान्स लोड गर्न सक्छन् । गाउँघरका मानिसहरुले बढी यसको सेवा लिइरहेका छन् । प्रभु-पे डिजिटल वालेटहरुमा पछाडि आएको पनि हो, देशभर मर्चेन्ट तथा एजेन्ट के कति बनाउनु भयो ? हाम्रो सञ्जाल धेरै ठूलो छ । हाम्रो प्रभु ग्रुपको आ–आफ्नै एजेन्टहरु छन् । डिजिटल वालेटका मात्रै छुट्टै मर्चेन्ट छन् । त्यसैले कसैको जस्तो सिमीत भन्दा पनि हाम्रो गु्रपमा सहकार्य गरेर अगाडि बढ्न सहज भइरहेको छ । हामी हाम्रो प्रभु गु्रपको मर्चेन्ट र एजेन्टहरुसँग पनि समन्वय गरेर अगाडि बढिरहेका छौं । बजारमा तपाई जस्तै डिजिटल वालेटहरु अन्य धेरै छन्, उनीहरुसँग प्रतिस्पर्धा कसरी गर्दै हुनुहुन्छ ? जति बढी प्रतिस्पर्धा भयो त्यति नै आम नामगरिकमा सचेतना तथा यो डिजिटल पेमेण्ट सम्बन्धि जानकारी हुन्छ । डिजिटल पेमेण्ट मार्केट बढ्नु भनेको यो सेवा झन प्रभावकारी र गुणस्तरीय हुनु हो । एउटैले गरेर मात्र देशभरी नै सेवा दिन सम्भव पनि हुँदैन । तपाई धेरै प्रतिस्पर्धा त छ भन्नु हुन्छ । तर, जिजिटल वालेटहरुले १० प्रतिशत पनि मार्केट ओगटेको छैन । कहाँ छ त प्रतिस्पर्धा ? यसलाई प्रतिस्पभर्धा भन्न मिल्दैन । अहिले प्रभु पे स्मार्ट फोन नभएपनि सर्वसाधारणले बोक्ने अथवा चलाउने (बारफो)मोबाइलसम्म पनि पुगेको छ । त्यहाँ हामी एक्लै छौं । यो फाष्ट मुभर भन्दा पनि फष्ट मुभर हुनु नै ठूलो कुरा हो । त्यसैले हाम्रो कसैसँग प्रतिस्पर्धा गर्नु छैन । हाम्रो आफ्नो नै नेटवर्क छ । आम–नागरिकले अन्य डिजिटल वालेटभन्दा प्रभु-पे नै किन रोज्ने ? हामीलाई सबैले राम्रो छ भन्छन् । हामी ग्राहकको सेवामा कुनै कम्प्रमाइज गर्दैनौं । हामी पनि सबै जस्तो नै हो । तर, हामी पछि आएको हौं । हामीले राम्रो सेवा दिइरहेका छौं । नेपाल र नेपाली बजारले चाहिने सेवा समेटेका छौं । जनता र मार्केटलाई के चाहिन्छ भन्ने कुरा मनन् गरेर सेवा दिएका छौं । विकटमा गएर पनि सुविधा दिएका छौं । हामीले सर्वसाधारणमैत्री बनेका छौं । हामीले आफुभन्दा पनि ग्राहकको सेवालाई मध्येनजर गर्दै काम गर्छौं । हाम्रो ठूलो ग्रुप छ । हामी भर पर्दो र विश्वासिलो छौ । त्यसैले पनि हामी कहाँ ग्राहकहरु आफै आउँछन् । अहिले तपाईहरुको व्यवसाय प्रवर्द्दन गर्ने पनि एउटा उचित समय हो, तपाईले यो समयलाई कसरी सदुपयोग गर्दै हुनुहुन्छ ? हाम्रो ग्राहकको वृद्धिदर दैनिक बढ्दै गएको छ । वृद्धिदर राम्रो छ । हामीले भविश्यलाई हेरेर काम गरिरहेका छौं । विभिन्न हामी दैनिक ग्राहकहरुसँग सम्पर्कमा हुन्छौं । भनेको समस्या छिनभरमै समाधान गर्छौं । यस प्रभु पे वालेटको प्रयोगबाट घरमै बसेर मोबाइलबाटै कुनै पनि बैंक तथा वित्तीय संस्थाको रकम एउटा खाताबाट अर्कोमा ट्रान्सफर गर्न, बिजुली तथा पानीको बिल भुक्तानी गर्न, किनमेलमा खर्च भएको बिलको रकम भुक्तानी गर्न, प्रभु टिभी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न सकिन्छ । डिजिटल पेमेन्टहरुको एउटा मुख्य उद्देश्य क्यासलेस बनाउने पनि हो, तपाईको बुझाइमा नेपालमा यो कतिको सम्भव छ ? यसमा सचेतनाको कमि छ । मान्छेहरु अझै पनि पुरानै कारोबारमा छन् । धेरैले वा सरकारले नै नागरिकलाई यसप्रति विश्वास दिलाउन सकिरहेको अवस्था छैन । क्यासलेस गराउने भन्ने तर १० प्रतिशत मार्केट पनि नओगेट्ने भन्ने हुन्छ ? जस्तै, हामीले हाम्रा वालेट प्रयोगकर्ताहरुको लागि सिजनल रुपमा बीमाको सुविधा पनि दिएका छौं । एकलाख सम्मको दुर्घटना दिने सुविधा छ । नियमित ग्राहकलाई १० लाखसम्मको बीमाको सुविधा पनि छ । यसरी नै ग्राहकलाई विश्वस्त बनाएर काम गर्न आवश्यक छ । नागरिकको मन जित्न दिन सक्नुपर्छ । डिजिटलमा जानु पर्छ केही भयो भने हामी जिम्मेवमरी छौं भन्ने खालको वातावरण सबैले सिर्जना गर्न सक्नु पर्छ । अहिले सबैको ध्यान यसमा गएको छ । सबैले क्याम्पियन पनि चलाइरहनु भएको छ । आशा गरौं यो चाँडै सम्भव हुनेछ । सबैले चलाउँदा सबैलाई फाइदा हुन्छ । डिजिटल कारोबारहरुमा सँगै सुरक्षाको चुनौती पनि उत्तिकै छ भन्छन् नी ? जहाँ अवसर हुन्छ त्यहाँ चुनौती अवश्य नै हुन्छ । चुनौतीको सामना र समाधान कसरी गर्ने भन्ने कुरामा भर पर्छ । यसको लागि नेपाल राष्ट्र बैंकले पनि नियमन गर्ने काम गरिरहेको हुन्छ । त्यसकै परिधीमा रहेर हाम्रो सिस्टम राखेका छौं । उसको मापदण्ड अनुसार नै हामी काम गरिरहेका हुन्छौं । हामी हाम्रा ग्राहककको डाटा अथवा रकम सुरक्षित राख्छौं भनेर पनि हामीले आफ्नै मापदण्ड र प्रतिवद्धता जनाएका छौं । कतिपय अवस्थामा त कमजोरी पनि हुन्छन् तर त्यसको समाधान गर्दै अगाडि बढ्नु पर्छ । व्यापार विस्तार गर्ने योजना तथा नयाँ रणनीति के छ ? व्यापार विस्तार त गर्नु नै पर्यो । ग्राहक अथवा प्रयोगकर्ता बढाउनका लागि व्यापार विस्तार अपरिहार्य हुन्छ । रेजिष्टे«सन गराएर त काम नै हुँदैन । त्यसमा एक्टिभ प्रयोगकर्ताहरु पनि चाहिँन्छ । हामीले नाफामुलक हुनु पर्ला । नेपाल राष्ट्र बैंकले दिएको क्षेत्राधिकार भित्र रहेर हामीले काम गर्नु नै पर्छ । यसलाई ध्यानमा दिएर काम गरिरहेका छौं । अहिलेको लकडाउनले जनमानसमा एक किसिमको सचेतना वृद्धि गरेको छ । हामीले पनि लकडाउन सकिएको लगत्तै केही त गर्नै पर्छ भनेर पनि सोचिरहेका छौं । अहिले पनि हामी बसिरहेका छैनौं । काम गरिरहेकै छौं । अहिले फोनबाटै नयाँ नयाँ मर्चेन्ट बनाउने काम पनि गरिरहेका छौं । हामी व्यापार विस्तारको प्रक्रियामा नै रहेका छौं । हामी अब हाम्रा केही नयाँ प्रडक्ट बजारमा ल्याउने सोचेका छौं । सायद त्यो लकडाउनको समय भित्रै ल्याउँ छौं । त्यो पनि लगभग ग्रामिण स्तरका सहकारी आधारित छ । हामी त्यसको आन्तरिक गृहकार्यमा नै छौं । धेरैले लकडाउनमा व्यापार चौपट भयो भनिरहेका छन् तर हाम्रो राम्रो नै भइरहेको छ । वृद्धि पनि राम्रो भइरहेको छ । डिजिटल पेमेण्टको सबै ३० प्रतिशतले वृद्धि भएको छ । हाम्रो सम्पूर्ण गतिविधि तथा कारोबार बढेको छ । यसलाई निरन्तरता दिन हामी लागि परेका छौं । अहिले डिजिटल वालेटहरु बढी शहरकेन्द्रित भए भन्ने पनि छ, यसमा तपाईका धारणा के छ ? हो, यसलाई नै मनन् गरेर विभिन्न विकट क्षेत्रमा गएर काम गरिरहेका छौं । यसलाई नै मध्येनजर गर्दै युएसएसडी बार फोनको कार्य सुरु गरेका हौं । हामी ग्रामिण भेगमा डिजिटल पहुँच पुर्याउन सक्छौं भन्ने मान्यताका साथ अगाडि बढिरहेका छौं । यो भन्दा राम्रो के होला र ?

साेमबार माछापुच्छ्रे बैंकले यी शाखाबाट बैंकिङ सेवा दिँदै (सूचीसहित)

काठमाडाैं । काेराेना भाइरसको सम्भावित जाेखिमका कारण सरकारले घाेषणा गरेकाे लकडाउनकाे समयमा माछापुच्छ्रे बैंकले विभिन्न शाखा कार्यालयहरु सञ्चालन गरिरहेको छ । बैंकले स्थानीय तहसंगकाे सहकार्यमा हरेक दिन विभिन्न स्थानका शाखाहरू सञ्चालन गरेकाे हाे । लकडाउनकाे कारण सबै शाखा कार्यालयहरू हरेक दिन खाेल्न सम्भव नभएको कारणले हरेक दिन फरक फरक शाखा खाेलेर ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। जसकाे जानकारी बैंकले एक सूचना मार्फत गराएकाे छ । बैशाख ८ गते(आज) पनि बैंकले विभिन्न शाखाहरू बाट बैंकिङ सेवा दिने भएकाे छ । बैंकले फरक फरक शाखाहरू फरक फरक समय अर्थात बिहान १० बजेदेखि १ बजेसम्मकाेअविधि निम्न शाखाहरूबाट ग्राहकहरुलाई सेवा दिने भएकाे छ ।

वडाध्यक्षले नै कुहिएकाे दाल बाँडेपछि…

काठमाडाैं । बाराकाे कलैया उपमहानगरपालिकाका दुई वडाध्यक्ष जनतालाई कुहिएकाे दाल बाँडेका छन् । कलैया उपमहानगरपालिका वडा– १ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारीले कुहिएकाे दाल बाँडेका हुन् । उनीहरूलाई कुहिएकाे दाल बाँडेकाे भन्दै प्रहरीले पक्राउ पनि गरेकाे छ । कलैया उपमहानगरपालिका वडा– १ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई आइतवार  प्रकाउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार  अहिले जनप्रतिनिधि र कर्मचारी सहित ५ जना नियन्त्रणमा छन् । यस विषयमा  अनुसन्धान भइरहेकाे बताइएकाे छ ।  

जेठ १५देखि शैक्षिक संस्था खुल्ने, एसईई परीक्षाको यस्ताे छ तयारी

काठमाडाैं । लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु आगामी जेठ १५ देखि खुल्ने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक सञ्चारमाध्यमकाे कुराकानीमा जेठ १५ देखि शैक्षिक संस्था खाेनल्ने तयारी भइरहेकाे बताएका हुन् । उनले काेराेना महामारीकाे संक्रमण कम हुने बित्तिकै र लकडाउन खुल्ने बित्तिकै सबै शैक्षिक संस्था खाेलिने स्पष्ट पारेका हुन् ।  अहिले महामारीका कारण विश्व विद्यालय तथा सिटिइभिटी अन्तर्गत परिक्षाहरु समेत रोकिएकाले लकडाउन खुलेको तेस्रो हप्तादेखि उक्त परिक्षाहरु समेत सञ्चालन हुने मन्त्री पोखरेले जानकारी गराएका छन् । यस्तै, लकडाउन खुलेकाे तीन हप्तापछि एसईईकाे परीक्षा गर्ने तयारी भइरहेकाे उनले बताए । लकडाउन खुलेको एक हप्ताभित्र कक्षा एक देखि नौ सम्मको नतिजासमेत सार्वजनिक हुने उनले बताए ।  मन्त्री पोखरेलले कक्षा १२को परिक्षा संघले, १० को प्रदेशले र आठ कक्षाको स्थानीय सरकारले गर्ने व्यवस्था रहेकाले तीनै तहका सरकारसंगको समन्वयमा रहेर एकदेखि नौ सम्मको नतिजा समेत लकडाउन खुलेको हप्ता दिन भित्रै सार्जजनिक हुने बताए ।अहिले देशभरका दुई सय ४३ शैक्षिक संस्थाहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग भइरहेको जनाउदै मन्त्री पोखरेलले यद्यपी संकट कति लामो समयसम्म जान्छ र कस्तो स्वरुप लिन्छ भन्ने कुराले पनि प्रभाव पर्न सक्ने जनाएका छन् ।

भाेकमरीकाे जाेखिम बढ्दाे, खाद्यान्न संकटबाट बच्ने उपाय खाेज्दै स्थानीय तहलाई कृषि मन्त्रीकाे पत्र

काठमाडौं । ‘मानिसले सबै कुरालाई केही समय पर्खिन सक्छ, तर भोकलाई कहिल्यै पर्खन सक्दैन ।’ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले कुनै समय कुनै सन्र्दभमा व्यक्त गरेकाे उक्त भनाइ अहिले आम मानिसमा चरितार्थ साबित बन्ने त होइन भन्ने शङ्काले पिरोलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ को महामारीबाट जोगिन विश्वका आम मानिसलाई एकान्त बासमा बस्न आह्वान गरेका कारण कृषि उत्पादनमा गिरावट आउन सक्ने सम्भावनाबाट डराउँदै विश्व समुदायले शङ्का गरेको हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन । सोही सन्दर्भमा नेहरुले भोकबाट तडपिएको मानिस अन्ततोगत्वा गोलाबारुददेखि पनि डराउँदैन र त्यसपछि निम्तिन सक्ने युद्ध रोक्न कुनै पनि सरकारलाई हम्मेहम्मे पर्ने चेतावनी दिएका थिए । नेहरुले भारतमा जनसङ्ख्या वृद्धि हुँदै गएको तुलनामा उत्पादन बढ्न नसकेपछि त्यस प्रकारले चुनौती दिएका थिए ।  त्यसको केही वर्षपछि हरियाणालगायतका प्रदेशमा गहुँको उत्पादन दोब्बरले वृद्धि भएको थियो । अहिले पनि विश्वमा सबैभन्दा धेरै गहुँ उत्पादन गर्ने देश भारत हो भने धान उत्पादन गर्ने देश चीन हो । विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या भएको देश चीन हो । चीनपछि भारत जहाँ एक अर्ब ३२ करोड जनसङ्ख्याको बसोबास छ । आजको अवस्थासम्म पुग्दा भारत खाद्यान्नमा आत्मनिर्भर छ । छिमेकी मुलुक भारतलाई नेपालले विसं २०३५ सम्म चामल बिक्री गर्दै आएको थियो यद्यपि केही वर्षदेखि भने नेपालले उल्टै भारतबाट प्रतिमहिना झण्डै रु दुई अर्बको चामल आयात गर्दै आएको छ । लकडाउनअघि एकान्तबासमा बस्नु पहिले जम्मा गरी राखेको मौज्दातमा खाद्यान्न क्रमशः सकिँदै गएको छ । दैनिक काम गरेर जीवन चलाउनुपर्ने कृषि मजदुर वा आम श्रमजीवी जनता खाद्यान्नको समस्याबाट छटपटाइरहेका छन् । कृषि उत्पादन भएन भने कोरोनाभन्दा भोकमरीको पीडा भयानक र डरलाग्दो हुन्छ । गत वर्षको तुलनामा यस वर्ष नेपालमा धानको उत्पादन एक प्रतिशतले घटेर करिब ५१ लाख मेट्रिक टनमा सीमित हुन पुगेको यसअघि आयोजित पत्रकार सम्मेलनमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरिसकेको छ । हालको जनसङ्ख्यमा वृद्धि हुन गई झण्डै तीन करोड जनसङ्ख्या पुगेको विज्ञले अनुमान गरेका छन् । धान विशेषज्ञ भोलामानसिंह बस्नेतका अनुसार तीन करोड जनताका लागि झण्डै ७० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । जनसङ्ख्याको वृद्धिलाई हेर्दा नेपालीका लागि करिब १९ लाख मेट्रिक टन धान अपुग देखिन्छ । चीनको हुवेइ प्रान्तको वुहान शहरमा सन् २०२० को डिसेम्बर ३१ देखि देखिन शुरु भएको कोरोना भाइरसको फैलावट आजसम्म आइपुग्दा यस महामारीले विश्वका २१० देशलाई अक्रान्त पारिसकेको छ । भाइरसको सङ्क्रमणबाट जोगिन विश्व समुदाय लकडाउनमा बसेको बस्यै गर्दा अर्कातर्फ खाद्यान्नको अभाव हुन गई कतै विश्वमा द्वन्द्व निम्तिने त होइन भन्ने चिन्ता सर्वत्र देखिन्छ । नेपालको संविधानले आम नागरिकलाई खाद्यान्नको सुनिश्चितता गरे पनि उत्पादननै नभएपछि अधिकार कसरी प्राप्त गर्न सकिएला यो सबैका लागि सोचनीय विषय हो । नेपालका पहाडी भूभागमा मकै छर्ने समय शुरु भइसकेको छ । बजार लकडाउनका कारण किसानले सहजै मकैको बीउ पाउन सकेका छैनन् । केही किसानले धानको बीउ राख्न शुरु गरिसकेका छन् । केही समयपछि आलु भित्र्याउने र गहुँ काट्ने समय पनि शुरु हुन्छ । यो अवस्थासम्म पुग्दा सरकारले कृषि तथा कृषिजन्य उत्पादन, बजारीकरण तथा बीउको सहजीकरण र कृषि कर्म गर्ने किसानलाई आवश्यक सुरक्षाको बन्दोबस्त गरी लकडाउनबाट छुटकारा दिनुको विकल्प नभएकाे साना किसान राष्ट्रिय महासङ्घका पूर्वअध्यक्ष उद्धव अधिकारी बताउँछन् । नेपालमा सालिन्दा कृषि उत्पादन घट्दै गएको कृषि, तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । चामल, मकै, कोदो, फापर, मासु (बङ्गुर, राँगा, र खसी–बोका), माछा, फलफूल तथा ताजा तरकारी गरी वार्षिक नेपालले विभिन्न देशबाट रु चार खर्बभन्दा बढीको खाद्यान्न आयात गरेको विभिन्न तथ्याङ्कमा उल्लेख छ । यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले स्थानीय सरकारलाई पत्र लेख्दै खाद्य सङ्कट निम्तिन सक्नेमा सचेत गराएका छन् । मन्त्री भुसालले प्रेषित गरेकाे पत्रमा अन्तर्राष्ट्रिय बजारमा खाद्यान्न सङ्कट शुरु भइसकेको र कतिपय राष्ट्रले खाद्यान्न निकासी रोकिसकेको अवस्थामा स्थानीय सरकारले समयमा नै खेती गर्न सुझाव दिए । मन्त्री भुसालले स्थानीय युवालाई कृषिमा आउन प्रेरित र लगानीको वातावरण मिलाइदिन तथा बजारको सुनिश्चित गर्न स्थानीय सरकारलाई आग्रह गर्दै स्थानीय क्षेत्रमा रहेका टुक्रा जमीनको एकीकरण, खेतीयोग्य जमीनलाई घडेरी रुपान्तरणमा रोक, जमीनको चक्लाबन्दी र बाँझो जमीनलाई तत्काल उपयोगमा ल्याउनुपर्ने उल्लेख गरेका छन् । रासस

गाउँ प्रवेश गरे ३० हजार रूपैयाँ जरिवाना, अपरिचित व्यक्तिलाई राेक्न पुल बन्द

चंखेली । हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा ५ नेप्का गाउँमा अनुमतिविना गाउँ प्रवेश गर्ने जो कोहीलाई रु ३० हजार जरिवाना तोकिएको छ । गाउँमा कोभिड–१९ को संक्रमण फैलिन नदिन वडा नं ५ कार्यालयले यस्तो निर्णय गरेको हो । छपन्न घरधुरी रहेको सो वडाले मुगु र हुम्ला जिल्लाको चंखेली सीमाबाट दैनिक हुम्ला प्रवेश गर्न थालेपछि नेप्का गाउँमा अनुमतिविना प्रवेश गर्नेलाई जरिवाना गर्ने निर्णय भएको वडाध्यक्ष भैरव तामाङले जानकारी दिए । सूचनाको पहुँच नभएकाले युवकलाई दैनिक पालो लगाएर बाटामै राख्ने गरिएको वडाध्यक्ष तामाङले बताए । लकडाउनको अवधिभर आआफ्नो घरमा सामाजिक दूरी कायम गरी सुरक्षित रुपमा बस्नसमेत निर्देशन दिइएको जनाइएको छ । संक्रमण डरले पुल नै बन्द उत्तरी नाम्खा गाउँपालिका वडा नं ३ मा कोरोना भाइरसको संक्रमणको जोखिमबाट जोगिन स्थानीयवासीले टुक्सोखोल्मु पुल नै बन्द गरेका छन् ।अपरिचित व्यक्तिलाई गाउँमा छिर्न नदिन पुल बन्द गरिएको हो । कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले स्थानीय युवा पालो मिलाएर पुलमा २४ सै घण्टा खटिने गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए  । वडा नं ३ को खगालगाउँ नजीकै टुक्सोखोल्मु पुल र लामाखोल्सीमा गाउँका युवा पालो मिलाएर खटिन्छन् । कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन गाउँपालिकाले आवतजावत रोक्नाका साथै लकडाउनको उल्लंघन गरी गाउँ प्रवेश गरे जरिवाना तिराउनेसमेत निर्णय गरेको छ । महिला खटिए जिल्ला सदरमुकाम सिमकोट वडा नं ५ र ६ का महिला गाउँमा जो कोहीलाई प्रवेश गर्न नदिन खटिएका छन् । कोरोना संक्रमण डरले सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँ भित्रने मुख्य नाकामा पालो हालेर बिहान ६ देखि राति १० बजेसम्म खटिने गरेको वडा नं ६ का कलशुरा रोकायाले बताए । रासस